आफ्नो उमेरभन्दा पनि दोब्बर उमेरका महिलाको भूमिका खेलेर बलिउडमा चर्चा कमाएकी शेफाली शाहको पछिल्लो समय जलसा फिल्म ओटिटी प्लेटफर्ममा रिलिज भएको छ ।
जलसा सुटिङका बेला तपाईंका लागि खास कुरा के थियो ?
मेरा लागि फिल्म नै पूरा अनुभव बन्यो । फिल्म निर्देशक सुरेश त्रिवेणी र विद्या वालनसँग काम गर्नु सुन्दर पक्ष थियो । मेरा लागि विशेष चाहिँ विद्या वालनको भूमिका रहेको मायाको छोरोको भूमिका खेल्ने बच्चा कसी भाटला (फिल्ममा सूर्य)सँग मीठो सम्बन्ध बन्यो । हामी नजिक भयौँ ।
तपाईंका भूमिकाहरू प्रायः सन्देशमूलक हुन्छन् नि ? भूमिका छनोट गर्दा तपाईंका केही सीमा बनाउनु हुन्छ हो ?
कस्तो फिल्म छनोट गर्ने भन्ने कुरामा मेरो कुनै सीमारेखा छैन । ह्युमन नामक वेब शृंखलामा मेरो चरित्रमा कुनै नैतिकता थिएन । त्यस्तो भूमिकाबाट त मानिसहरूलाई मैले केही सिकाउन सक्दिनँ । त्यसमा डा. गौरीनाथको भूमिकाका लागि मेरा लागि कुनै रिफरेन्स प्वाइन्ट पनि थिएन । मैले एउटा खतरा उठाएँ र त्यो भूमिकालाई बेग्लै किसिमले व्यक्त गर्ने प्रयास गरेँ ।
लेख्न त त्यसलाई एउटा सिंहिनीको जस्तो तरिकाले लेखिएको थियो तर मैले मृगिणीजस्तै गरी अभिनय गरेँ । मानौँ कि, लेडी डायनाको शरीरमा जोकरको दिमाग घुसाइएजस्तो । यसअघि मैले त्यस्तो भूमिका निभाएकै थिइनँ ।
आफूले निभाएका चरित्रहरू के कस्तो गरेँ भनेर कहिल्यै फर्केर ती फिल्म र चरित्रलाई हेर्नुहुन्छ ?
प्रोजेक्ट तयार हुँदा एक पटक त हेरिन्छ नै । त्यसपछि म फर्केर कहिल्यै हेर्दिनँ । म ती चरित्र र काम गराईलाई मूल्याङ्कन पनि गर्दिनँ किनभने जे भयो, त्यो भइसक्यो । त्यसलाई पुनः हेरेर म यो गर्न सक्थेँ, यस्तो गरेको भए अझ राम्रो हुन्थ्यो भन्ने कुरा सोचेर फाइदा होलाजस्तो मलाई लाग्दैन ।
आउँदा दिनमा कस्ता काम गर्दै हुनुहुन्छ ? भन्न मिल्ला ?
डाक्टर जी, एउटा मल्टिस्टारर फिल्म हो । संवेदनशील विषय छ तर निकै रमाइलो पनि । त्यसपछि आलिया भट्टसँग समानान्तर भूमिका भएको डार्लिङ्स फिल्म छ । यो एउटा डार्क कमेडी फिल्म हो । निकै निजी र आवश्यक विषयमा आधारित छ । त्यसपछि थ्री अफ अस र दिल्ली क्राइमको दोस्रो सिजनमा पनि काम भइरहेको छ ।
दिल्ली क्राइमभन्दा याद आयो, तपाईंलाई मन परेका क्राइम ड्रामा, थ्रिलर सोका रूपमा के हेर्न सिफारिस गर्नुहुन्छ ?
म हेर्न त धेरै कुरा हेरिरहेकी हुन्छु । पाँच वटा मात्र भन्नुहुन्छ भने, ह्वेन दे सी अस, ब्रड चर्च, पपेट मास्टर, फार्गो र ट्रु डिटेक्टिभलाई मेरा रूचिका शृंखला मान्छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।