
२०
हो, त्यो घटना घट्नुभन्दा पहिलेको स्थिति यस्तै थियो ।
हाम्रो बीचमा एक किसिमले युद्धविरामको स्थिति कायम थियो । यो स्थिति नै यथावत् कायम राखिछाड्नु आवश्यक थियो । परन्तु एक दिन मैले अनायसै कुनै एउटा कुकुरलाई तक्मा दिइएको कुरा चलाएँ । “तक्मा कहाँ हो र ? प्रशंसापत्र मात्रै पो त दिइएको हो !” – उसले मेरो कुरा काट्दै भनी । अनि त के चाहियो र ! कलह शुरु भैहाल्यो । लहरो तान्दा पहरो गर्जन लागिहाल्यो । हामी एक अर्कालाई भन्नु-नभन्नु भन्न थाल्यौं । ‘अँ , यो त कसलाई थाहा नभएको हो र ! सधैँ यस्तै त हुन्छ ! तपाईंले नै त भन्नुभएको हो … ।’ “अहँ, मैले यस्तो कुरा भनेको हुनैसक्तैन !’ ‘मलाई फटाहा भन्न खोज्नुहुन्छ, हैन त ? …’ अब ठूलो रडाको मच्चिन कत्ति पनि बेर लाग्नेछैन र त्यस रडाकोमा कि त मेरो ज्यान बाँकी रहनेछैन, कि त उसको ज्यान जानेछ भन्ने मलाई लाग्न थाल्यो । जे जस्तो काण्ड मच्चिन आँटिसकेको थियो त्यसबाट म कोसौं टाढा भाग्न चाहन्थें र डढेलोबाट जस्तै त्यसबाट पनि असाध्य डर लाग्नेगर्थ्यो । म आफ्नो मनको क्रोध मनभित्र नै लुकाएर राख्न चाहन्थेँ, तर म चाहिँ रीसले चूर भैसकेको थिएँ । उसको अवस्था पनि मेरै जस्तो थियो, अझ मेरोभन्दा पनि बढी नराम्रो थियो भन्नुपर्छ । मैले जे भने तापनि ऊ त्यसलाई बंग्याएर अर्थको अनर्थ गर्न पुग्थी । उसको एक-एक लवजले विषमिश्चित झीरले जस्तै च्वास्स च्वास्स घोच्नेगर्थ्यो । ऊ मेरो मर्मस्थलमा नै चोट पर्ने गरीकन शब्दवाण प्रहार गरिरहेकी थिई । कलहको आगो झन् झन् दन्कँदैगइरहेको थियो । “चूप लाग् !” वा यस्तै कुनै शब्द ओकेल्दै म चिच्याएँ । ऊ जुरुक्क उठेर केटाकेटीहरूको कोठातर्फ दगुर्न थाली । मैले आफ्नो कुरा पूरै सुनाउने हेतुले उसलाई रोक्ने चेष्टा गरेँ । मैले टप्प उसको हात समातेँ । उसले आफूलाई निकै दुखेको जस्तो बहाना गरी र चिच्याउँदै भन्न लागी “केटाकेटी हो, तिम्रा बा मलाई कुट्दैछन् !” “फटाहा कुरा नगर् !” – मैले कड्केर भनें । पहिलोपटक मात्र हो र यस्तो पिटेको !” – उसले कराउँदै यस्तै किसिमको केही शब्द भनी । केटाकेटीहरू दगुर्दै आइपुगे र उसको वरिपरि झुम्मिइहाले । उनीहरूलाई उसले शान्त पार्ने कोशिश गरी । धेरै बहाना नगर् ! – मैले भनें । “तपाईंलाई त जे पनि बहाना गरे जस्तै लाग्छ क्या रे ! तपाईं त कुनै मान्छेलाई मारिसकेपछि पनि त्यसले बहाना गरिरहेको छ भनेर पुष्टि गर्न खोज्नुहुन्छ । मैले अब बुझे । तपाईंले चाहनुभएको पनि त हो!” – उसले तर्क झिकी । “ऊफ्, तँ मरिहाले नै हाइसन्चो हुन्थ्यो मलाई !” _ मैले चिच्याएर भने । आफ्नो मुखबाट कस्तो कुवाक्य निस्केको सुनेर मलाई नै त्यतिखेर कस्तो डर लागेको थियो त्यो त अहिलेसम्म पनि म सम्झनेगर्छु । यस्तो कर्णकटु र भयङ्कर शब्द पनि मेरो मुखबाट निस्कन सक्छ भन्ने त मलाई नै विश्वासै हुँदैन । यी शब्दहरू मैले भनेकै हुँला भन्नेमा समेत मलाई पत्यार, लाग्दैन । यस्तो कुवाच्य उच्चारण गरिसकेपछि म दगुर्दै आफ्नो अध्ययन-कक्षमा पुगें र चुरोट सल्काएर सर्को तान्न थालें । ऊ बैठककोठातर्फ लम्किरहेको मैले पदचाप सुनें । त्यसपछि उसले लुगा फेर्न थालेको पनि चाल पाएँ । ऊ कहाँ जाने तरखर गर्दैछ भनेर मैले सोधे । उसले कुनै उत्तर नै फर्काइन । “जा, तँ भर्सेलोमा नै पर् !’ – मैले मनमनै सोचेँ र फनक्क फर्केर आफ्नै अध्ययन-कक्षमा पसे । अनि पलङमा लेटेर चुरोट तान्न थालेँ । मेरो मथिंगलमा नाना थरीका योजना र विचारहरू चक्कराउन थाले । कहिले उससित कसरी बदला लिने र उसबाट छुटकारा पाउने भन्ने कुरा सोच्न पुग्थेँ त कहिले चाहिँ यो सब रडाको कसरी साम्य पार्ने र हाम्रो बीचमा कुनै खटपट नै, नभएको जस्तो उससित मेलमिलाप गर्ने भन्ने गुन्न पुग्थेँ । त्यहाँ पल्टेको पल्टयै म सोच्दैथिएँ र एकपछि अर्को चुरोट सल्काएर धुवाँको फोहरा छोड अर्को कतै भागेर नै पो गइहालूँ कि; कतै गएर लुकिहालूँ कि, अमेरिकातिर नै पो लागूँ कि भन्ने पनि केहिलेकाहीँ मनमा विचार उठ्ने गर्थ्यो । यस्तो विचार गर्दागर्दै म कस्तोसम्म कल्पना गर्न पुग्थेँ भने यसबाट छुट्कारा पाइएपछि त कति हाइसन्चो होला, मेरो जीवनमा कुनै अर्को आइमाई पनि त आउन सक्छे जो यसभन्दा कता हो कता राम्री होली र एकदमै अर्कै किसिमकी होली । कुनै न कुनै किसिमले यसवाट छुट्कारा पाइहालुँला । यसलाई पारपाचुके नै दिइहालुँला वा यस्तो कुनै तरीका पनि अजमाउँला जसले गर्दा यो मरेर नै जाली । म मनमनै तर्कवितर्क गर्न लागें । मलाई के लाग्न थाल्यो भने मैले यस्तो कुरा सपनामा समेत सोच्नु हुँदैन, म जुन कुरा सोच्दैछु सो ठीक होइन र जुन कुरा सोच्नुपर्ने हो सो म सोचि नै रहेको छैन । यसैले गर्दा म चुरोटपछि चुरोट सल्काउन थालें ।
घरको सबै काम पूर्ववत् नै चलिरहेको थियो । सुसारे आई र सोध्न लागी M’madame'(फ्रेन्च मालिक्नी) कहाँ होइसिन्छ ? कैले फर्किबक्सने हो ?’ नोकर आयो र “चिया ल्याउँ कि’ भनेर सोध्न थाल्यो । म भोजनकक्षतिर लागें । केटाकेटीहरूको आँखामा नै प्रश्न र ‘शत्रुताको भाव झल्किरहेको देखिन्थ्यो । खास गरी जेठी छोरी लीजाको दृष्टिमा मैले यो भाव देखें । हुर्किसकेकी हुनाले कुरा पनि बुझ्न थालिसकेकी थिई उसले । हामी चूपचाप चिया खान लाग्यौं । मेरी पत्नी चाहिँ फर्कदै फर्किन । झमक्क साँझ परिसक्दा पनि ऊ घर आइन । मेरो अन्तरआत्मामा दुई परस्परविरोधी भावनाहरू उर्लन थालेका थिए । एकातिर मेरो मनमा उसप्रति क्रोध चढ्न थालेको थियो; किनभने घर फर्किनुपर्छ भन्ने थाहा पाउँदापाउँदै पनि ऊ घर नफर्केर मलाई र केटाकेटीहरूलाई सताइँदैथिई । अनि अर्कोतिर मलाई कुन कुराको डर लाग्न थालेको थियो भने सके अब ऊ घर फर्केर आउँदै नआउली र उसले आत्मघात समेत गर्न बेर छैन ! म उसलाई खोज्न जाँदो हुँ । तर जानेनै कहाँ र? के उसकी बहिनीकहाँ ? तर त्यहाँ गएर उसको बारेमा सोध्नु पनि त मूर्खता हुनेथियो । उसले चाहेको पनि त यही नै हो । जे गर्न चाहन्छे गरोस् ! उसले दु:ख दिन नै खोजेकी हो भने आफैंलाई दुःख दिएर सताऔस् ! यसपल्ट यस्तो भएन भने अर्कोपल्ट उसले झन् भयङ्कर रडाको मच्चाउली । ‘कर्थकदाचित्, ऊ आफ्नी बहिनीकहाँ पनि नभए के गर्ने ? कतै उसले आत्माघात नै त गर्ने पक्का मनासय लिएकी होइन वा यतिञ्जेलसम्म आत्महत्या नै त गरिसकिन ? रातको एघार बजिसक्यो, बाह्र बजिसक्यो,? ,,एक पनि बजिसक्यो ।.म सुत्ने कोठामा पनि गइनँ । त्यहाँ एक्लै पल्टेर प्रतीक्षा गर्नु पनि त मूर्खता नै हुनेथियो । न त यहाँ नै म निदाउन सकें । म आफूलाई कुनै न कुनै काममा अल्झाएर राख्न चाहन्थें । चिट्ठी लेखूँ वा कुनै किताब नै पढूँ भन्ने विचार सुझ्यो, तर कुनै काममा पनि मन लागेन । अध्ययन-कक्षमा एक्लै बसेर पीर गर्न थालें, मनमा जङ पनि चल्यो र अनेकौं तर्कनाहरूले पनि सताउन थाले । कतै खिटिक्क आवाज आउनासाथै कान ठाडा भैहाल्थे । तीन बज्यो, चार समेत बज्यो- ऊ भने फर्केर आउँदै आइन । मिर्मिरे हुन लाग्दा म भुसुक्क निदाएँ । त्यसपछि नीद खुल्यो । तैपनि ऊ आएकी होइन ।
घरको कामकाज यथावत् नै चलिरहकै थियो । सबै हड्बडाएका थिए र सबै नै मतर्फ नै विस्मयपूर्ण र प्रश्नात्मक नजरले हेर्नेगर्थे, मानौं सारा दोष मेरै होस् ! मेरो मनमा भने त्यही परस्परविरोधी भावनाहरू नै उर्लिरहेका थिए – कुनै बेला म क्रुद्ध हुन पुग्थेँ र त्यसबाट मलाई निकै सासनाको अनुभव हुन्थ्यो भने कुनै बेला चाहिं उसको बारेमा धन्दासुर्ता र चिन्ता लाग्नेगर्थ्यो ।
एघार बज्दा नबज्दै उसकी बहिनी आइपुगी- उसको सन्देशवाहक बनेर ! उसले बडो सामान्य तरीकाले भन्न शुरु गरी : ‘दिदीको हालत ज्यादै नै खराब छ । के कुरा हो यस्तो !’ “केही भएको जस्तो त लाग्दैन मलाई !’ – मैले उत्तर दिएँ । – “उसको स्वभाव नै यस्तो छकि मलाई वाक्कै लागिसक्यो । मैले उसलाई केही गरेकै होइन !”
‘हरे ! यसरी त काम नै चल्न सक्तैन है ।’ – मैले जवांफ दिएँ । – “म आफ्नो तर्फबाट पाइला सार्ने पक्षमा छैन । पारपाचुके भने पारपाचुके नै सही !”
मेरी साली जसरी आएकी थिई उसरी नै खाली हात नै फर्केर गई । हुन त मैले उसलाई आफ्नो तर्फबाट पहिलो पाइला सार्दै नसार्ने कुरा साफ-साफ भनिदिएको थिएँ, परन्तु ऊ हिंडिसकेपछि जब म बाहिर निस्के, त्यतिखेर केटाकेटीहरूको भयभीत र निदाउरो अनुहार देखेँ । उनीहरूको अवस्था कतिसम्म दयनीय थियो भने म स्वयं नै पहिलो पाइला सार्न तम्तयार भैहालेँ । म पहिलो पाइला सार्न राजी भैसकेको थिएँ, तर त्यो पाइला कहाँ र कसरी सार्नुपर्ने हो भन्ने चाहिं मलाई थाहा थिएन । म फेरि कोठामा फर्केर चुरोट तान्न लागें । चमेनाको साथ मैले अलिकति भोड्का र दाखको मदिरा पनि घुट्क्याएँ र यसले गर्दा मेरो अवस्था त्यस्तै भैहाल्यो जस्तो मैले त्यतिखेर चाहेको पनि थिएँ । मलाई के लाग्न थाल्यो भने मबाट कुनै नकाम भएकै छैन, न त कुनै मूर्खता नै हुन गएको छ ।
तीन बजेतिर मेरी पत्नी स्वयं घर फर्केर आई । मलाई देखेर पनि उसले केही बोलेकी होइन । उसलाई आफ्नो व्यवहारमा पश्चात्ताप भैरहेको होला भन्ठानेर मैले आफ्नो सफाई दिन शुरु गरेँ र भनें कि उसले मेरो तिरस्कार नगरेकी हुँदो हो त मेरो मुखबाट यस्तो कुवाच्य नै निस्कने थिएन । परन्तु उसको मुखाकृति पहिले जस्तै कठोर र ज्यादै थकित नै रहिरहयो । उसले भनी : “म सफाई माग्न आएकी होइन, बरु केटाकेटीहरूलाई लिन आएकी हुँ । अब हामी एकै छानामुनि बस्न समेत सक्तैनौं !” मैले के भनेर उसको कुरा काटेँ भने उसको कुरागराईले नै मेरो जङ चलेको थियो र त्यसमा मेरो दोष एक रत्ती पनि थिएन । उसले बडो कठोर र व्यंगात्मक दृष्टिले पुर्लुक्क मतर्फ हेरी र भन्न लागी – हेर्नुस् है ! बढ्ता नबोल्नोस् ! नत्र पछ्नुताउनुपर्नेछ तपाईंले !”
यस्तो नाटक रचेको मलाई, कत्ति पनि मन पर्दैन भनेर मैले जवाफ दिएँ ।
त्यसपछि उसले कान खाने गरी चिच्याएर केही भनी जसको अर्थ मैले बुझ्दा पनि बुझिनेँ। अनि उ दगुरेर आफ्नो कोठाभित्र पसी । उसले भित्रपट्टिबाट आग्लो लगाएको खिटिक्क आवाज मेरो कानमा पर्यो । उसले दैलो थुनिसकेकी थिई । मैले ढक्ढक् गरेर खापामा धक्का दिएँ, तर कुनै जवाफ नै पाइएन । रीसले चूर भएर म गोडा भुइँमा बजार्दै फर्किएँ । लगभग आधा घण्टा बितेपछि लीजा दगुरेर आई । उ रुँदैथिई ।
“के भो ? के केही भयो र ?”-मैले प्रश्न गरेँ ।
“आमाको कोठाबाट कुनै आवाज नै आउँदैन ।”-उसले जवाफ दिई । हामी दगुर्दै त्यस कोठातर्फ गयौं । मैले खूब जोडले खापामा एक धक्का दिएँ । भित्रबाट लगाइएको अग्लो पिटक्क टुट्यो र दुवै खापाहरू हवात्त उघ्रिइहाले । म खाटतिर लम्किएँ। उसले जामा र ऐडीदार जुत्ता लगाइराखेकी थिई र अनौठो किसिमले पलङ्गमा बेहोश भएर पल्टिरहेकी थिई । नजीकै टेबुलमा चाहिं अफीमको एउटा रित्तो शिशी थियो । हामीले येनकेन प्रकारेण उसलाई होशमा ल्यायौं । त्यसपछि एकछिन रुवाबासी चल्यो र आखिरमा फेरि हामीले मेलमिलाप गर्यौ । तर यो सच्चा मेलमिलाप चाहिँ थिएन । हामीमध्ये हरेकको मनमा अहिले पनि पुरानै मनोमालिन्यको तुस बाँकी नै थियो जसको लागि हामी एक दोस्रोलाई दोषी ठान्नेगथ्यौं । जे भए पनि कसै गरी झगडा साम्य पार्नुपर्नेथियो र साम्य पारियो पनि । अनि हाम्रो जीवन फेरि पुरानै ढर्रामा चल्न थाल्यो यस्तै झैझगडा मात्र होइन, अझ यसभन्दा पनि नराम्रा झगडाहरू बेला-बेलामा भइ नै रहन्थे कहिले केही महीनापछि त कहिले भने एक हप्ता बित्न नपाउँदै र कहिले चाहिँ दिनका दिन नै कलह खडा हुन्थ्यो । अनि त्यही घटना बारम्बार दोहोरिन्थ्यो । एकपल्ट मैले विदेशतिर लाग्ने विचारले राहदानी समेत लिएँ । हाम्रो झगडा दुई दिनदेखि साम्य भइरहेको थिएन । परन्तु हामी दुवैले एक अर्कासमक्ष आफ्नो सफाई दियौं र हाम्रो बीचमा थोरबहुत मेलमिलाप भैहाल्यो । मैले विदेशतर्फ जाने विचार छोडिदिएँ ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
लेभ तोल्सस्तोइका विश्व-प्रसिद्ध उत्कृष्ट कथाहरू, २ हुस्सार भागः ३
३० जेष्ठ २०८३, शनिबार 







