अध्याय दुई

घोडाको बथानलाई नदीको किनारासम्म पुस्याएर बलि घोडाबाट ओर्लियो र उसको पिठ्यूँबाट काँठी पनि झिकिदियो । त्यसै ठाउँमा घोडाहरूले चर्नुपर्थ्यो । घोडाहरू बितार-बिस्तार चरनमा फैलिदैगए । त्यहाँ हरिया घाँसहरू शीतले भिजिरहेका थिए । त्यो चरन नदीकोघुम्तीनेरै थियो । पानीको सतहबाट र नदीको दुर्इतिर घेरिराखेको चहुरबाट समेत बाफ उडेर सारा वातावरणमा छाइरहेको थियो । टाटेपाङरे घोडाबाट लगाम पनि उतारेर नेस्तेरले त्य घोडाको घाँटीमा कन्याइदियो । घोडाले आँखा चिम्म गर्यो, मानौँ यसरी ऊ आफ्नो खुशी र कृतञता प्रकट गरिरहेको होस् ! “मजा लिदैछस्, खच्चर !” बड्बडाउँदै थियो । तर त्यसरी कन्याइदिइको चाहिँ घोडालार्इ पटक्कै मन परिरहेको थिएन । खालि शिष्टाचारको लागि मात्रै ऊ मजा लागेको बहाना गर्दैथियो र स्वीकृति जनाउँदै आफ्नो टाउको पनि हल्लाइरहेको थियो । तर अचानक कुनै कारणबेगर र कुनै प्रकारको चेतावनी समेत नदिएर (ज्यादा घनिष्टता बढाएर लग्नाले घोडाको नजरमा उसको रोबराफको महत्व नै कम हुन सक्छ भन्ने पनि नेस्तेरले सोचेको हुनु सम्भव छ ) नेस्तेरले झट्का दिएर घोडाको मुख पल्तिर धकेलिदियो, लगाम हातमा समेटेर घोडाको दुब्लो टाँगमा जोडले हिर्कायो र केही पनि नबोलेर एउटा ढिस्कोमाथि चढेर त्यहाँ रहेको एउटा रुखको जरामाथि बस्यो । उ यसरी दिनहुँ त्यहाँ बस्नेगर्थ्यो ।

यसको यस्तो व्यवहारबाट टाटेपाङरे घोडालाई अवश्य नै पनि रीस उठेर झर्को लागेको हुनुपर्छ, तर,उसले त्यसको प्रदर्शन चाहिं पटक्कै गरेन । ऊ फनक्क घुम्यो र बिस्तार-बिस्तार आफ्नो ठूटे पुच्छर हल्लाउदै नदीतर्फ लाग्यो । उ लामो सास तानिरहेको थियो र यताउति सुँघ्दै अलिअलि घाँस चुँडेर चर्दै पनि थियो । उसको चारैतिर जवान घोडीहरू, सा-साना बछेडाहरू र दूधे बच्चाहरू बिहानको स्वच्छ हावाको आनन्द लिदैं रमाएर उफ्रिरहेका थिए । तर उसले ती सबैतर्फ कत्ति पनि ध्यान दिएन । स्वास्थ्यको निम्ति, खासगरी उसको उमेरमा, खाली पेट टन्न पानी पिउनु र त्यसपछि मात्र घाँस चर्नु नै सबभन्दा राम्रो कुरा हो भन्ने उसलाई थाहा थियो । उसले नदीको किनारमा सबभन्दा कम भिरालो र खुला ठाउँ खोज्यो, अनि खुर र घुँडाका रौंका गुच्छा भिजाएर पानीमा टेक्दै थुतुनो पानीमा गाडेर आफ्नो फाटेको ओंठले घटघट गर्दै पानी पिउन थाल्यो । उसको पेट डम्म फुलेर आयो । उ रमाउँदै केही रौ झरिसकेको आफ्नो ठूटे पुच्छर पनि हल्लाउँदै थियो ।

एउटी चुलबुले कैली घोडी चाहिं यस बूढो घोडालाई जहिले पनि जिस्क्याउनेगर्थी । पानीमा दगुर्दै ऊ त्यसतर्फ लम्कँदै आइहाली, मानौं उसले कुनै काम पटाउनुपरेको होस्‌ ! तर वास्तवमा चाहिं उसको मनसाय त त्यस ठाउँको पानी नै धमिलो पारिदिनु मात्र थियो जहाँनेर टाटेपाङरे घोडा मजासित पानी पिउँदैथियो । परन्तु ऊ त्यहाँ पुगुन्जेल बूढो घोडाले टन्न पानी पिउन खाइसकेको थियो । अनि त्यस कैली घोडीको मनसाय थाहा नै नपाएको जस्तो गरेर उसले पहिले एउटा र त्यसपछि अर्को खुट्टा पानीबाट बाहिर निकाल्यो, आफ्नो टाउको झट्कार्यो र जवान घोडीहरू र बछेडाहरूलाई एकातिर छोडेर अलग्गै आफ्नो बिहानको नास्ता लिन लाग्यो । तीन घण्टासम्म ऊ टाउको नै नउचालेर लगातार घाँस चबाउँदैरह्यो । ऊ आफ्नो शरीरको बोझ कहिले एक खुट्टामा न कहिले अर्को खुट्टामा सार्दैरहन्थ्यो, जसले गर्दा आसपासको घाँस कूल्चिन पाउँदैथ्यो । आखिर उसले कतिसम्म घाँस खायो भने उसको पेट एउटा टन्न भरिएको थैलो जस्तै गरेर उसका झीना करङहरूमा तुर्लुङ्ग झुण्डिएको देखियो । तसर्थ उसले आफ्नो बोझ चारै खुट्टाहरूमा यस किसिमबाट सन्तुलित गर्यो जसले गर्दा कम पीडा होस्‌ ! खास गरेर ऊ आफ्नो अगिल्लो दायाँपट्टिको त्यस खुट्टालाई ज्यादा जोगाउन चाहन्थ्यो जुन सबभन्दा कमजोर थियो । त्यसपछि ऊ मस्तसँग निदायो ।

बुढ्यौली कहिले गौरवपूर्ण हुन्छ त कहिले चाहिँ घुणास्पद र कहिले चाहिँ घुणास्पद र कहिले दयनीय समेत हुन्छ । कहिलेकाही त त्यो एकै बाजि गौरवपूर्ण र घुणास्पद हुनेगर्छ । टाटेपाङरे घोडाको बुढ्यौली केही हदसम्म यस्तै थियो ।

टाट्पाङरे घोडाको कद राम्रो थियो- दुई आर्शिन तीन भेर्शेक{पुरानो रूसी नाप १ आर्शिन अठ्ठाइस इन्च, १ भेर्शेक पौने दूर्इ इन्च ।) त अग्लो हुँदो होला । उसको रङ्ग फिका कालो थियो तर कतै कतै सेता टाटाहरू देखिन्थे । कुनै जमानामा ती टाटाहरू निक्खर सेता थिए, तर अब त मटमैला देखिन्थे । जम्मा मिलाएर उपका जीउमा तीनवटा टाटाहरू थिए । एउटा टाटो उसको नाकको एकापट्टिबाट शुरु भएर पूरै ऊ टाउको र आधा गर्दनसम्म फैलिएको थियो । उसको जगल्टे र लामो याल कतै कतै सेतो त कतै कतै कैलो र रङ्गको थियो । अर्को टाटो चाहिँ दायाँ हयाकुलाबाट शुरुभएर पेटको आधा-आधीसम्म पुगेको थियो । अनि तेस्रो चाहि टाटो पुच्छरबाट शुरु भएर त्यसको माथिल्लो हिस्सा हुँदै कम्मरको आधा भागसम्म फैलिएको थियो । पुच्छरको बाँकी हिस्सामा चाहिं हलुका सेता रङ्गका धर्साहरू थिए । टाउको त हाडखोलको एउटा ढाँचा मात्र रहन गएको थियो र त्यसको आकार भने निकै ठूलो थियो । आँखाहरूको माथितिर ठूल्ठुला खोपिल्टा परेका थिए । फाटेको र कालो कालो तल्लो ओंठ झुण्डिरहेको थियो । गर्दन झिनो र स्याप्प सुकेको थियो , मानौं त्यो काठको होस्‌ र त्यसमाथि टाउको चाहिं बोझ बनेर तुर्लुङ्ग झुण्डिरहेको होस्‌ ! लत्रिएको तल्लो ओठको पछिल्तिर उसको कालो जिभ्रो मुखभित्र चलमाइरहेको देखिन्थ्यो । दाँतहरूको ठाउँमा केही पहेँला ठुटाहरू मात्र बाँकी रहन गएका थिए । दुवै कान लत्रिरहेका हुन्थे । त्यसमध्ये एउटा चाहिँ चिरिएको थियो । कुनै कुनै बेला मात्र आडमा टाँसिएको झिंगा धपाउन भनेर ऊ कान फटफट हल्लाउँथ्यो । टाउकोका रौहरूको एउटा लुर्कन कानपछिल्तिरबाट लत्रिएको थियो । निधारको बीचमा खोपिल्टो परेको थियो र खय्रो रौंले ढाकिएको थियो । घाँटीमुन्तिरको छाला फितिक्क परेर लत्रिरहेको थियो । जब कुनै झिंगा उसको गर्दन वा टाउकोमा बस्न पुग्थ्यो, त्यतिखेर उसको स्पर्श मात्रले उसको अङ्ग-प्रत्यङ्गमा कम्प छुट्थ्यो । उसको मुखमा धैर्य, गाम्भीर्य र गहन यातनाको भाव टप्क्नेगर्थ्यो । अगाडिका दुवै टाँग घुँडानेर मोडिएका थिए, दुवै खुरहरू सुनिएका थिए र अगिल्तिरको टाटो देखिने दाँया टाँगमा घुँडानेर एउटा ठूलो सुनिएको गाँठो पनि थियो । उसका पछिल्तिरका टाँग चाहिँ केही राम्रो हालतमा थिए, तर पुठ्ठाका रौं खुइलिएका थिए । सके धेरै पहिले कतै घिसिएको हुँदो हो र त्यहाँ फेरि रौं उम्रेका थिएनन्‌ । उसको दुब्लोपतलो शरीर देख्दा उसका टाँगहरू निकै अग्ला प्रतीत हुन्थे । उसका करङहरू भुक्क फुलेका थिए र तिनको बीचमा टाँगिएको छाला चाहिं सुकेर टाँस्सिएको जस्तो भान पर्थ्यो । पीठ्युँ र काँधमा चाहिं कोर्रा ठोकेका डामहरू थिए । पछिल्ला खुट्टानेरको एउटा आलो घाउ पीप भरिएर पाक्न लगिरहेको थियो । रौं झरिसकेको पुच्छुर मेरुदण्डको टुप्पामा एउटा ठूटो जस्तै गरेर झुण्डिरहेको थियो । पुच्छरनेरै एउटा हत्केला जत्रै आकारको ठूलो फोका थियो जुन सम्भवत: कुनै कीराले टोकेको हुँदा उठेको होला । त्यसमा सेता रौं उम्रिएका थिए । काँधनेर चाहिँ एउटा अर्को घाउको खत पनि थियो । अपचको पुरानो रोगले गर्दा पछिल्ला खुट्टाहरू र पुच्छर जहिले पनि भिजिरहन्थे । जिउभरि साना साना झुसे रौंहरू जिरिङ्ग परेर उम्रिरहेका थिए । यस्तो घिनलाग्दो बुढ्यौलीले ग्रस्त हुन गएको भए तापनि यस घोडालाई जो देख्थ्यो उसले यो घोडा कुनै जमानामा अवश्य पनि एक शानदार वाहन हुँदो हो भन्ने विचार नगर्न सक्तैनथ्यो ।

पारखीले त के पनि भन्नेछ भने जुन गुण यस घोडामा मात्र पाइन्छ त्यो त रूसमा खालि एउटै जातको घोडामा मात्र पाइन्छ फराकिलो हाड, घुँडाका ठूल्ठूला चक्का, बढिया खुर, सुरिलो टाँग, लचकदार गर्दन र सबभन्दा ठूलो विशेषता त के भने सुडौल टाउको र काला । ठूल्ठूला चम्किला आँखा ! फेरि मुखमा र गर्दनमा नसाहरूका सुन्दर ग्रन्थिहरू पर्दथे भने छाला र रौँ चाहिँ ज्यादै नै मुलायम थिए । उसको जिउ, चालढालमा वास्तवमा नै सौम्यता र आत्माविश्वास टप्कन्थ्यो, यद्यपि अहिले त त्यो घोडा निकै दुर्बल र दयनीय थियो (अझ टाटेपाइरे भएको हुँदा “त्यो झन् घिनलाग्दो देखिन्थ्यो ) । तर यी दुवैको सम्मिश्रणले गर्दा नै त्यस घोडामा एक विलक्षण झल्कन्थ्यो जुन सुन्दर र प्रभावशाली पनि थियो ।

शीतले भिजेको त्यस चहुरको बीचमा त्यो घोडा एक जिउँदो कंकाल जस्तै ठिंग उभिइरहेको थियो । केही पर अरु घोडाहरू जवानीमा मस्त भएर यताउता चहार्दैथिए । कुनै घोडाहरू भुईंमा बजार्दैथिए, कुनै चाहिं जोडले सास फेरिरहेका थिए, कुनै हिनहिनाइरहेका थिए ।