साइबर हतिहारसम्बन्धी गहन अनुसन्धान गरिएको पुस्तक फाइनान्सियल टाइभ्सले प्रदान गर्ने बुक अफ दि इयर घोषित भएको छ ।
दिस इज हाउ दे टेल मी द वर्ल्ड इन्ड्सले २०२१ को बिजनेस बुक अफ दि इयरको पुरस्कार हात पारेको हो ।
पहिलो र दोस्रो युद्ध अत्याधुनिक हतियारले लडियो, तेस्रो विश्वयुद्ध ढुङ्गाले लडिनेछ भन्ने प्रख्यात भनाइलाई ओझेलमा पार्दै अबको युद्ध साइबर युद्ध हुने कुरामा लेखिका निकोल पर्लरोथले जोड दिएकी छन् ।
पुरस्कृत पुस्तकले साइबर युद्धका बारेमा गहिरो विश्लेषण गरेको भन्दै सम्बन्धित निकायलाई यसले आँखा खोलिदिने फाइनान्सियल टाइम्सकी सम्पादक तथा पुस्तक निर्णायक समितिकी प्रमुख रोउला खलाफले बताएकी छन् ।
पुस्तकलाई ब्लुम्सबरीले प्रकाशन गरेको छ ।
पुरस्कृत पुस्तकले ३० हजार पाउन्ड प्राप्त गरेको छ ।
पुस्तकले नसोचेको विषयमा खतराको घण्टी बजाउन भूमिका खेलेको निर्णायकहरूले टिप्पणी गरेका छन् ।
कार्यक्रममा इनिस ली र एलिन टाइपोले १५ हजार पाउन्ड राशिको ब्राकेनबोवर पुरस्कार हात पारे । यो पुरस्कार ३५ वर्षभन्दा मुनिका लेखकलाई दिइन्छ । भविष्यमा कसरी शिक्षा असफल हुँदैछ भनी लेखिएको पुस्तकलाई यो पुरस्कार दिइएको हो ।
छोटो सूचीमा परेका अन्य पाँच पुस्तकले भने जनही १० हजार पाउन्डको सान्त्वना पुरस्कार हात पारेका छन् ।
सान्त्वना स्थान प्राप्त गर्ने पुस्तकहरूमा जेभियर ब्लास र ज्याक फार्चीले लेखेको कमोडिटी बजारमाथि लेखिएको द वर्ल्ड फर सेल, पेट्रिक राडेन किफले लेखेको औषधि कम्पनीमाथिको अनुसन्धानात्मक पुस्तक एम्पायर अफ पेन, रोबर्ट लिभिङस्टोनले अमेरिकी समाजमा व्याप्त विभेदमाथि लेखेको पुस्तक द कन्भर्सेसन, माइकल मनले जलवायु परिवर्तनले ल्याएको समस्या तथा त्यसको समाधानमाथि लेखेको द न्यु क्लाइमेट वार तथा कर्मचारीतन्त्रको गुणस्तरमाथि लेखिएको पुस्तक एड्रियन वुलड्रिजको द एरिस्टोक्रेसी अफ ट्यालेन्ट रहेका छन् ।
आधुनिक व्यापार व्यवसायले भोगिरहेका समस्या, तिनको समाधान तथा गतिविधिमाथि लेखिएका ननफिक्सन पुस्तकलाई यो पुरस्कार प्रदान गर्ने गरिन्छ ।
के छ पुरस्कृत पुस्तकमा ?
यो पुस्तकले ह्याकिङका विषयमा गम्भीर अनुसन्धान गरेको छ । लेखिका निकोल न्युयोर्क टाइम्स र वाल स्ट्रिट जर्नलमा पत्रकारका रूपमा काम गरिसकेकी हुनाले उनले त्यो बेला बनाएका स्रोतहरूसँगको व्यापक सोधखोजबाट यो पुस्तक तयार पारेकी हुन् । ह्याकिङले पार्ने सबैभन्दा खराब असर के हुनसक्छ भनी अनुसन्धान गर्दै उनी युक्रेन, रूस तथा अन्य मुलुकको भ्रमणमा गएकी थिइन् ।
उनले सूचना प्रविधिको अत्याधुनिक प्रगतिले सर्वसाधारणलाइ निकै सजिलो पारेको भए पनि ह्याकरहरूका लागि यो क्षेत्र ठूलो खेलकुदको मैदान बन्न पुगेको बताएकी छन् । कसरी अमेरिकी सुरक्षा निकायहरूले सर्वसाधारणका जानकारी बटुलिरहेको छ भन्ने उदाहरण पस्कँदै सोही स्तरका जानकारी चीन तथा रूसले पनि भेला पारिरहेको र अब संसार सूचना प्रविधि, ह्याकिङ र यस्तै छद्मयुद्धले निम्त्याउने नमिठो परिस्थितिमा जेलिँदै जान थालेको विषयलाइ प्रमाणसहित उल्लेख गरेकी छन् ।
यो पुस्तक पढ्नु कुनै थ्रिलर उपन्यास पढ्नुभन्दा कम छैन । लेखिकाले भेट्ने प्रत्येक पात्रले ह्याकिङको संसारका बारेमा गर्ने नयाँ नौला खुलासाले कतै हामीले जासुसी थ्रिलर सिनेमाको कथा त पढिरहेका छैनौँ भन्ने भ्रमसमेत सिर्जना गर्छ । किताबले इतिहासका रोचक जासुसी घटनालाइ समेत उजागर गरेको छ ।
कसरी रूसी जासुसहरूले अमेरिकी कूटनीतिक नियोगमा जासुसी गर्थेदेखि लिएर जासुसीका लागि प्राचीन कालमा प्रयोग गरिने विविध शैलीका बारेमा समेत उल्लेख गरिएको छ ।