दक्षिण कोरियाली राजधानी सियोलको नगर प्रहरीले यतिबेला एउटा रोचक विषयमा सिनेमा हलमा छापा मारेको छ । विगत पाँच वर्षयता विभिन्न सिनेमा हलहरुले गोस्ट स्क्रिनिङ (नक्कली प्रदर्शन) गरेको आरोपमा छापा मारेको छ । फिल्मको नक्कली प्रदर्शन गरेर बक्स अफिस आँकडा बढाउन प्रदर्शक तथा फिल्मका वितरकहरुले मिलेमतो गरेको प्रहरीको आरोप छ ।

सो कार्यमा संलग्नहरु सिनेमा हलको शृंखला चलाउने सिजिभी, मेगाबक्स र टोटे सिनेमाका सञ्चालक तथा फिल्म वितरकहरुलाई प्रहरीले पक्राउ गरेको छ । तिनले विगत पाँच वर्षयता ३२३ वटा फिल्मको बक्स अफिस कलेक्सन बढाई चढाई पेश गरी नक्कली प्रदर्शनको गलत शृंखला शुरु गरेको आरोप लगाइएको छ ।

सन् २०२२ मा सुपरहिट भएको क्राइम थ्रिलर ‘हट ब्लडेड’ र २०२१ मा रिलिज भई ब्लकबस्टर भएको ‘इमर्जेन्सी डिक्लेरेसन’ फिल्मको आँकडालाई बढाई चढाई पेश गरिएको प्रहरीको आरोप छ ।

पछिल्लो समय दक्षिण कोरियाली फिल्मले अन्तर्राष्ट्रिय स्तरमा नै प्रशंसा पाउन थालेको छ । खासगरी सन् २०२० मा ‘प्यारासाइट’ फिल्ममार्फत विदेशी भाषाको विधामा अस्कर अवार्ड पाएपछि कोरियाली फिल्महरुप्रति विश्वको ध्यानाकर्षण भएको थियो ।

तर कोरोनाकालमा भने कोरियाली फिल्म उद्योगले नराम्रो क्षति बेहोर्नु प-यो ।

कोरियाली बक्स अफिसको अनौठो नियम छ । त्यहाँ फिल्मले कति पैसा कमायोले भन्दा पनि कति टिकट बिक्री भयो भनी हेरिन्छ । बक्स अफिसको आँकडामा पर्नका लागि धेरैले सस्तो दरमा सिनेमाको टिकट बेच्ने गर्छन् । कहिलेकाहीँ त्यस्ता टिकट महँगोमा किनेर ठूला कर्पोरेट हाउसले सस्तो दरमा सर्वसाधारणलाई बाँडिदिने गर्छन् । अथवा, स्वयं वितरक तथा निर्माताले पनि सित्तैमा कर्पोरेट अफिसहरुलाई दिने गर्छन् । जति जति टिकट बिक्रीको आँकडा बढ्दै जान्छ, फिल्मको चर्चा पनि उति उति बढ्दै जाने हुनाले पछिल्लो समय टिकट बिक्री भएको आँकडा देखिने तर फिल्ममा दर्शक नहुने स्थिति सिर्जना हुन थालेको प्रहरीको आरोप छ ।

कोरियाली बक्स अफिसमा एक करोड टिकट बिक्री हुनु फिल्म सफल हुनुको मानक मानिन्छ । त्यसैले कम्तीमा एक करोड टिकट बिक्री गर्न फिल्म प्रदर्शक, वितरक तथा निर्माताहरुले सक्दो प्रयास गर्छन् । गोस्ट टिकटहरु प्रायः कि त सबेरैका हुन्छन् कि त राति अबेरका ।

अहिले मेट्रो प्रहरीले गरेको खोजी चाहिँ त्यसरी बाँडिएका टिकटहरु के कति थिए, के कति टिकटहरु बढाई चढाई गर्न प्रयोग गरिए भन्नेबारे हो ।

‘कोरोनाकालमा सिनेमा हलमा र खासगरी सिनेमा चेनलाई नराम्रो प्रभाव पा-यो । उनीहरुले हलको प्रचार जारी राख्न, सिनेमा हलमा मानिसहरुको आवत जावत जारी राख्न नभएको टिकट बिक्री भएको वा नक्कली टिकट जारी गरेको देखियो,’ इन्डी प्लग नामक फिल्म वितरण समूहका निर्देशक गोह योङ जेईले फाइनान्सियल टाइम्सलाई बताए ।

फिल्मलाई सिनेमा हलमा टिकाई राख्न कुनै समूहद्वारा टिकट किनाइनु हलका लागि पनि फाइदाकारी भएकाले उनीहरुको संलग्नता बढी हुने गरेको प्रहरीको भनाइ छ । अरु बेला यस्ता काम एक्कादुक्का त हुन्थे तर कोरोनाकालमा भने यो अचाक्ली बढेको थियो ।

प्रहरी नै तात्तिएर हलमा छापा मार्नुपर्ने कारण भने रोचक छ । पछिल्लो समय रिलिज भएको डकुमेन्ट्र ‘द रेड हेरिङ’ले अचाानक लोकप्रियता पायो । पूर्व न्यायमन्त्री चो कुकले न्याय प्रणालीमा आमूल सुधार हुनुपर्ने माग राख्दै केही समयअघिदेखि अभियान चलाइरहेका थिए । यो उनीमाथि बनाइएको डकुमेन्ट्री हो । यसको टिकट बिक्री ह्वात्तै बढेको देखियो । जबकि यो डकुमेन्ट्री बनाउन निर्माताहरुले सर्वसाधारणबाट क्राउड फन्डिङ गरेका थिए । यो डकुमेन्ट्र अन्य फिल्मसरी हिट हुने कुनै कारण थिएन । प्रहरीले अनुसन्धान थालेपछि के देखियो भने टिकट चाहिँ निकै धेरै बिक्री भएको छ तर मान्छेको उपस्थिति भने निकै कम छ ।

केही विरोधीहरुले भने डकुमेन्ट्रीको लोकप्रियता बढेपछि राजनीतिक रुपमा ईख साँध्न यस्तो आरोप लगाइएको बताइरहेका छन् । ‘यो राजनीतिक प्रेरित छ, ईख साँध्न गरिएको प्रस्ट छ,’ फिल्म समीक्षक ओह दोङ जिनको प्रतिक्रिया छ ।

क्रिया र प्रतिक्रिया बढ्दै जान थालेपछि कोरियाली फिलम काउन्सिललाई संस्कृति मन्त्रालयले यस विषयमा पारदर्शी भएर अनुसन्धान थाल्न आग्रह गरेको छ ।

संस्कृति मन्त्री पार्क बो ग्यूनले यस्तो विवाद फिल्म उद्योगका लागि राम्रो नभएको बताउँदै स्वदेशी फिल्मप्रति मोह भंग गराउन सक्नेतर्फ सचेत गराएका छन् । ‘उद्योग स्वयंले आफ्ना दर्शकहरुप्रति जिम्मेवारीबोध गर्नुपर्छ, जनताको विश्वास जित्नुपर्छ । अनेक काण्ड मच्चाएर दर्शक तान्नुले कालान्तरमा उद्योगलाई नै घाटा पु¥याउँछ,’ संस्कृति मन्त्रीले भनेका छन् ।

कोरियाली फिल्म उद्योग यतिबेला विश्वव्यापीकरण भइसकेको सन्दर्भमा उद्योगले आफूलाई वैश्विक गुणस्तर र व्यवहार दुवै रुपमा अघि बढ्नुपर्ने समीक्षक ओह दोङ जिनको तर्क छ ।