दुर्लभ किताबका बारेमा तपाईं हामीलाई केकस्तो चासो छ कुन्नी तर पश्चिमा मुलुकमा भने दुर्लभ किताब भनेपछि मरिहत्ते गर्ने समुदाय नै छ । मरिहत्ते गरेर किन्नेहरुको जमात नै भएपछि तिनलाई ती पुस्तक उपलब्ध गराउने व्यक्ति पनि नहुने सवालै रहेन ।

यस मामिलामा बेलायतका पिटर हेरिङ्टन चर्चित नाम हो । खासमा पिटरले आफ्नो नाम नै दुर्लभ पुस्तक संकलनमा बनाए । अहिले उनको दोस्रो पुस्ताले पनि सोही कामलाई जारी राखेका छन् । यो कामलाई पोम हेरिङ्टनले सम्हालिरहेका छन् ।

पिटर हेरिंटन रेयर बुक्स इन लन्डन नामक पुस्तक पसलबाट यस्ता दुर्लभ किताब बेचविखन गरिरहेका छन् ।

यो पसल सन् १९६९ मा खुलेको थियो । पिटर र उनका भाइले खोलेको यो पसल पोम हेरिङ्टनसम्म आइपुग्दा अत्याधुनिक बनिसकेको छ । यो कम्पनीको आफ्नै वेबसाइटबाट दुर्लभ पुस्तक अनलाइन बिक्री हुने गर्छ । यहाँ हाल २० हजारभन्दा बढी दुर्लभ पुस्तकहरुको संकलन छ । ‘रेनफरेस्ट’को पहिलो संस्करणदेखि ‘क्रिसमस क्यारोल’, ‘गोन विद द विन्ड’सम्मका दुर्लभ संस्करण यो ठाउँको विशेषता हो ।

यस्ता दुर्लभ पुस्तक कहिलेकाहीँ सस्ता पनि पाइन्छन् । ४० पाउन्डबाट शुरु भएर तीन लाख ५० हजारसम्म मोल पर्ने किताब यहीँ छन् ।

यिनले कसरी यस्ता दुर्लभ पुस्तक बटुल्छन् त ? ‘धेरै किताबहरु हामीले निजी संकलनबाट किन्छौँ,’ पोम भन्छन्, ‘कतिपय चाहिँ थोत्रा पुस्तक पसलमा त्यत्तिकै फ्याँकिएको पाउँछौँ । पाइएका थोत्रा किताबहरुलाई हामीले मिहिनेतका साथ टिलिक्क टल्काउँछौँ र बहुमूल्य पुस्तकमा रुपान्तरण गर्छौं ।’

जम्मा भएका धेरै पुस्तक थुपारेर मात्र भएन । त्यसैले उनले संसारका विभिन्न मुलुकहरुमा दुर्लभ पुस्तक मेला पनि चलाउँछन् । यस्ता मेला न्युयोर्क, पेरिस, मेलबर्न, टोक्योदेखि केपटाउनसम्म वर्षमा एक चोटि लगाएकै हुन्छन् उनले ।

उनको प्रख्याति नै पुराना र दुर्लभ पुस्तकको भएकाले उनीकहाँ दुर्लभ पुस्तक बेच्नेको पनि उत्तिकै भिड लाग्ने गर्छ तर ती अधिकांश अवस्थामा बोगस नै हुन्छन् । कसैले सेक्सपियरले हस्ताक्षरयुक्त किताब फेला पारेको गफ दिन्छन्, त्यो गफलाई उनले चिर्नका लागि विज्ञ मानिसहरु, इतिहासकारहरु तथा साहित्य संसारका घगडानसँग सल्लाह लिने गर्छन् । यस्तो सल्लाह निकै महँगो हुने भएकाले उनले फेला पारेका किताबको मूल्य पनि महँगो हुने गरेको छ ।

उनले हालसम्म सबैभन्दा महँगो किताब इयान फ्लेमिङको जेम्स बोन्ड शृङ्खलालाई बेचेका छन् । जेम्स बोन्डका प्रत्येक शृंखलाको एकमुष्ठ किताब उनले फेला मात्र पारेनन्, ती प्रत्येकमा लेखक इयान फ्लेमिङको हस्ताक्षरसमेत पाए । ती पुस्तकमा उनले आफ्नी पत्नी, विन्स्टन चर्चिल, रोबर्ट केन्नेडी र स्वयं जेम्स बोन्डलाई सम्बोधन गर्दै समर्पित गरेका थिए । सो पुस्तकलाई उनले २५ लाख पाउन्डमा बिक्री गरे ।

उनले यस्ता दुर्लभ किताब संसारका राजामहाराजादेखि हलिउडका प्रख्यात कलाकार तथा सिलिकन भ्यालीका नवधनाढ्यसम्मलाइ बेचेका छन् ।

उनले त कतिपय सेलिब्रिटीहरुका लागि दुई लाख डलरमा दुर्लभ पुस्तकहरुको भण्डार जम्मा गरेर निजी पुस्तकालय नै खडा गरिदिएका छन् ।

प्रियतमालाई कविताका दुर्लभ किताबको संस्करण उपहार दिने भनेर उनलाई कहिलेकाही फोन आउँछ । उनले त्यस्तो बेलामा माया ऐंजेलुको १९७१ को संस्करण जस्ट गिभ मि अ कुल ड्रिङ्क अफ वाटर फर आई डाई दिएका छन् । त्यो एउटा किताबको मोल उनले ५७५ पाउन्ड तिराएका छन् ।

पोमले सन् २०१९ मा संस्था स्थापना भएको ५० औँ वर्षको उपलक्ष्यमा महिला लेखिकाहरूको दुर्लभ पुस्तकहरूको सङ्कलन गरी प्रदर्शनमा मात्र राखेनन्, प्रख्यात कलाकारहरूलाइ त्यस्ता पुस्तक महँगो दाममा बिक्री पनि गरेका थिए ।

त्यस्तै एक पटक बेलायती राजकुमार ह्यारीले आफ्ना भतिज राजकुमार जर्जका लागि भनेर दुर्लभ बाल पुस्तककाे एउटा पुस्तकालय नै बनाइदिएका थिए । ह्यारीले पोमकै सल्लाह र सङ्कलनबाट यो पुस्तकालय बनाइदिएका थिए । ह्यारीकी आमा राजकुमारी डायनाले पनि बाल्यकालमा आफ्ना सन्तानका लागि बाल पुस्तकमार्फत पठनमा रूचि जागोस् भनेर त्यस्तै पुस्तकालय नै खडा गरिदिएकी थिइन् । भलै त्यो पुस्तकालय दुर्लभ पुस्तकहरूको भण्डार त थिएन तर ती सङ्कलनले नै उनलाइ पुस्तकप्रति मोह जगाएको थियो ।

दुर्लभ किताब उनले बेचेरै सके, के उनलाई चाहिँ कुनै किताब प्यारो लागेर लुकाएर राखेका छैनन् त ? फाइनान्सियल टाइम्सले सोधेको प्रश्नमा उनले भने, ‘मैले डेढ वर्षसम्म अ टेल अफ टु सिटिज् पुस्तकदेखि जर्ज इलियट, चाल्र्स डिकेन्सका कतिपय पुस्तक लुकाएर राखेँ । पछि पैसाको खाँचै भएपछि मैले ती किताब २ लाख ७५ हजार पाउन्डमा बेचिदिएँ । ती किताब बेच्नु पर्दा आफ्नो मुटु नै दिएसरी भएको थियो । खासमा एउटा बिक्रेतालाई संकलक हुनु ज्यादै गाह्रो हुँदोरहेछ भन्ने मैले त्यतिबेलै थाहा पाएँ । त्यसपछि मैले निर्णय नै गरेँ, म संकलक पछि बनूँला, अहिलेलाई डिलर र बिक्रेता हुनु नै ठीक छ । अरुलाई किताबको खुसी दिन पाउनु पनि कम्ता भाग्यको कुरा हो र ?’