प्रसिद्ध कवि, उपन्यासकार तथा निबन्धकार अमृता प्रितमको आज जन्मदिन हो । १९१९ को ३१ अगस्तमा हालको पाकिस्तानस्थित पञ्जाब राज्यको गुजरांवालामा जन्मिएकी प्रितम पञ्जाबी भाषाको सर्वश्रेष्ठ कवियत्री मानिन्छ । उनले किशोरावस्थाबाट नै पञ्जाबीमा कविता, कथा र निबन्ध लेख्न थालेकी थिइन् । उनी त्यस्ता विरलै साहित्यकारमा पर्छिन्, जसको सिर्जना १६ वर्षकै उमेरमा प्रकाशन हुन थालेको थियो ।
उनले लगभग एक सय पुस्तक प्रकाशन गरेकी छन् । तीमध्ये कयौँ हिन्दीमा समेत अनुवाद भएका छन् । साहित्यमा उनको योगदानलाई स्मरण गर्दै भारतीय सरकारले पद्मश्री तथा पद्म भूषणजस्ता सम्मान दिएको छ । १५ वर्षअघि ३१ अक्टोबर, २००५ मा लामो बिरामीका कारण निधन भएको थियो ।
जति सुन्दर सिर्जना गर्थिन्, अमृता प्रितम उति नै सुन्दर पनि थिइन् । पहिल्यै उनले प्रितम सिंहसँग विवाह गरेकी भए पनि त्यो विवाहबाट उनी खुसी थिइनन् । जब साहिर लुधिवानवीसँग उनको भेट भयो, त्यसपछि उनले खुलेरै आफ्नो प्रेम प्रकट गरिन् । पछि उनको भेट इन्दरजीत सिंह (इमरोज)सँग भयो । पेशाले चित्रकार इमरोज र अमृताको दोस्ती यति गहिरियो कि उनीहरू जीवनभर साथी बने । ४० वर्ष उनीहरू दुवै सँगै बसे । इमरोजलाई थाहा थियो, अमृताको मनमा साहिर मात्र थिए तर पनि उनको प्रेमलाई इमरोजले कहिल्यै खलल पुर्याएनन् ।
कहिलेकाहीँ साहिर अमृताकहाँ आउँदा लगातार चुरोट पिउँथे । आधा पिउँदापिउँदै निभाउँथे । उनी जाँदा अमृतासँग थुप्रै चुरोटका ठूटा हुन्थे । चुरोटको गन्ध चाँडै नजाओस् भनी उनले त्यो कोठा लामो समयसम्म बन्द गर्थिन् । ठूटा चुरोट सल्काएर उनको सम्झनामा पिउँथिन् । उनले लेखेकी छन्, ‘जब म ती चुरोटलाई आफ्ना दुई औँलामा समात्थेँ, यस्तो लाग्थ्यो- मानौँ म साहिरका हात समाइरहेकी छु ।’
उनको चर्चित कविता
म तिमीलाई फेरि भेट्नेछु
अमृता प्रितम
म तिमीलाई फेरि भेट्नेछु
कहाँ, कसरी थाहा छैन
शायद तिम्रा कल्पनाका
प्रेरणा बनेर
तिम्रा क्यानभासमा छिर्नेछु
अथवा तिम्रा क्यानभासमा
रहस्यमयी रेखा बनी
मौन तिमीलाई हेरिरहनेछु
म तिमीलाई फेरि भेट्नेछु
कहाँ कसरी थाहा छैन
अथवा सूर्यको किरण बनेर
तिम्रा रङहरूमा घुलिरहनेछु
या रङहरूका अँगालोमा बसेर
तिम्रो क्यानभासमा फैलनेछु
थाहा छैन कहाँ कसरी
तर तिमीलाई पक्कै भेट्नेछु
अथवा एउटा चश्मा बनेर
जसरी झरनाबाट पानी उड्छ
म पानीको थोपाहरू बनी
तिम्रो शरीरमा छपक्क हुनेछु
र, एउटा शितल अनुभूत बनेर
तिम्रो छातिमा अँगालिनेछु
म अरू त केही जान्दिनँ
तर यत्ति जान्दछु
कि समयले जे गर्छ
यो जन्म मसँगै हिँड्नेछ
यो शरीर सकिनेछ
त्यतिबेला सबैथोक सकिनेछ
तर यादहरूका धागो
कायनात (ईश्वरको निर्णयको दिन)का क्षणहरूजस्तै हुनेछ
म ती क्षणहरूलाई छान्नेछु
ती धागाहरूलाई समेट्नेछु
म तिमीलाई फेरि भेट्नेछु
कहाँ कसरी थाहा छैन
म तिमीलाई फेरि भेट्नेछु



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

