
भारतका तीन कवि सदा स्मरणमा रहे, पन्त निराला र प्रसाद ।
तीनै कविको नाम विभिन्न पात पक्षमा जोडिँदै आएका छन् ।
संयोगले यी तीनको नाम नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटासित एक अवान्तरमा जोडियो । देवकोटा र यी त्रिदेवको अन्तरसाक्ष्यलाई पं राहुल सांकृत्यायनले बराबर भनेका छन् ।
सुमित्रानन्दन पन्त, जयशंकर प्रसाद र सूर्यकान्त त्रिपाठी निरालाका समय नै मैथिलीशरण गुप्तको आगमन भयो जसलाई भारत सरकारले पछि राष्ट्रकवि पद दिएर खुम्च्यायो, यही राष्ट्रकवि पदवी गोपाल सिंह नेपालीलाई पनि दिइयो ।
गुप्त र नेपाली हिन्दी साहित्यमा उधुम मच्चाइरहेका बेला अर्का कवि, शायर देखिए, साहिर लुधियानवी ।
पञ्जाबको लुधियानामा जन्मेका साहिरको लेखन अनवेक्ष रुपमा अगि बढिरहेको बेला ताजमहल प्रकाशनमा आयो, सन् १९४३ पछि ।
आगराको ताजमहललाई कवितामा अनधीत विषय हुन सकेन ।
ताजमहलपछि साहिर नेपालमा भूपी शेरचन, भीम दर्शन रोका, शंकर लामिछाने, ईश्वरवल्लभका प्रिय विषय भए ।
साहिरको ताजमहल यसै समय हाम्रा देवकोटाले पनि सुने, ताजमहलमा साहिर अभ्याक्रमी बनेका देखिए ।
कविता पढेपछि महाकवि देवकोटा धेरै प्रभावित भए ।
त्यसपछि देवकोटा, निबन्धकार शंकर लामिछाने, कवि माधव घिमिरे र श्रीप्रकाश घिमिरेसहित ताजमहल हेर्न पुगे, इन्द्रेनी साहित्य प्रतिष्ठानमै हुँदा ।
साहिरको ताजमहल यसरी शुरु हुन्थ्यो,
ताज मेरे लिए एक मजहरे उल्फत ही सही
तुझको इस वादि ए रंगी से अकीदत ही सही
ताजमहल कविता त्यो समय यति लोकप्रिय थियो कि कविता पढेपछि ताजमहल हेर्न नजाने कोही हुँदैन थिए, जो जान्थे अति भावुक हुन्थे र फर्किन्थे । वा, यसो भनौँ ताजमहल हेर्न जाँदा एकपटक फेरि मान्छेहरू साहिरको ताजमहल कविता सम्झिन पुग्छन्,
२७ लहरको यो कवितामा अन्तिम पंक्तिमा साहिरले आफ्नो चौथो पत्नीको निधनमा ताजमहल बनाउनले राजा (शहन्शाह)लाई हल्का कलमी प्रहार गरेर लेखेका छन्,
ये चमनजार, ये जमना का किनारा ये महल
ये मनक्कश दरो दीवार ये महराब ये ताक
एक शहन्शाह ने दौलत का सहारा लेकर
हम गरीबों की मोहब्बत का उडाया है मजाक
यो कविता छापिएको समय भारत स्वतन्त्रताको आवाजमा जुर्मुराउँदै थियो, मुगल साम्राज्यको युगपछि भारत त्यो बेला ब्रिटीश शासकको अधीनमा थियो ।

शाहिर लुधियानवी र अमृता प्रीतम
कवितामा देखिएको विद्रोह र विद्रोहको आगोले सबैलाई पोल्थ्यो तर त्योभन्दा बढी यो कविताको जोडले लाहौरकी पञ्जाबी मूलकी कवि अमृता प्रीतमलाई छोयो, अमृता यो कविता पढेपछि साहिरसित अनाम प्रेम गर्न थालिन् ।
साहिरको ताजमहल कविता फ्रेमसहित अमृता प्रीतमको घरको भित्तामा टाँगिएको थियो भन्ने उनका निकटवर्ती मित्रहरूले उल्लेख गरेका छन् । सन् १९४७ मा जब भारत पाकिस्तान विभाजनको संघरमा पुग्यो, अमृता पाकिस्तान छोडेर भारत आइन् ।
भनिन्छ, अमृता आफ्नो पतिको घर छोडेर भारत आउँदा काखमा उनको दूधेबालक छोरा र छातिमा साहिरको कविताको फ्रेम थियो रे !
सन् १९४३ देखि १९४५ सम्मको साहिरको सक्रिय साहित्यिक जीवनमा लेखिएको यो कवितापछि सन् १९६१ बनेको फिल्म ‘ताजमहल’मा पनि प्रयोग गरियो, मान्छेले कविता सुन्नका निम्ति ताजमहल फिल्म हेर्न गए, ताजमहल नदेखेकाले पनि यो फिल्म धुमधाम हेरे ।
ताजमहल फिल्मको यो गीतका निम्ति साहिरले पहिलो पटक सर्वश्रेष्ठ गीतकारको निम्ति फिल्मफेयर पुरस्कार पाए ।
ताजमहल कविताले गर्दा उनले अमृताको अपार प्रेम र श्रद्धा पाए तर अमृताले ताजमहल कविता पढेपछि कहिल्यै आगरामा गएर ताजमहल हेर्न मन गरिनन्, साहिरसितको असफल प्रेमपछि उनको चित्रकार इमरोजसित विवाह भयो । इमरोजसितको विवाहपछि पनि उनी ताजमहल हेर्न कहिल्यै गइनन् ।
साहिर र अमृताको प्रेमकथा भारतमा विभिन्न कथा र शीर्षकमा भारतमा लेखिन्छ, पढिन्छ र भनिन्छ । साहिर र अमृताको प्रेमकथा भारतमा मात्र होइन नेपाल, बाँग्लादेश र पाकिस्तानमा समेत चर्चाको विषयमा मानिन्छ ।
साहिरसितको प्रेमको बारेमा अमृता प्रीतमले आफ्नो आत्मकथा ‘रसीदी टिकट’मा खुलेर लेखेकी छिन् , यही प्रेमप्रसँगले यो आत्मकथा उनकै शब्दमा बेबाक मानिन्छ, बेबाकको अर्थ हुन्छ विना रोकटोकको स्वच्छन्द धाराको ।
आजकाल बेबाकलाई मुम्बईया भाषामा विन्दास भन्ने गरिन्छ ।
अमृताको आत्मकथा रसीदी टिकट आजको अर्थमा एउटा विन्दास आत्मकथा हो । यस आत्मकथामा तीन चार प्रसंगले अमृताको जीवनको इमान्दारी र आफ्नोपन झल्काउँछ ।
अमृता साहिरसित प्रेममा हुँदा विवाहित थिइन् ।
पहिलो असफल विवाहपछि दुई सन्तान च्यापेर उनी संघर्षमा उत्रिन्, अल इन्डिया रेडियो अनि अन्य साहित्यिक संघ संस्थामा । साहिर यतिबेला मुम्बईको फिल्म उद्योगमा आफ्नो नाउँ लेख्ने ठाउँ खोजिरहेका थिए ।
भारत पाकिस्तान विभाजनपछि महिला वेशभूषामा पाकिस्तानबाट भागेर भारत आएका साहिरले शुरुमा लगभग एकवर्ष दिल्लीमै बसेर उर्दू पत्रिका शाहराह र प्रीतलडीको सम्पादन गरे ।
वर्ष दिन लामो आर्थिक लँगडोपन त्यागेर उनी त्यसपछि हुत्तिएर मुम्बई पुग्छन्, जहाँ साहित्यकार कृश्नचन्दर, राजेन्दरसिंह बेदी, मजरुह सुल्तानपुरी, शैलेन्द्र, मजाज लखनवी, राजेन्द्र कृष्ण, मेंहदी अली खान, अली सरदार जाफरी, शकील बदायूंनी पहिल्यैदेखि स्तम्भ भएर बसेका थिए ।
साहिर दिल्लीबाट घना अपेक्षाका साथ गीतकार प्रेम धवनको घर पुग्छन् ।
मुम्बईमा प्रेम धवन र कृश्न चन्दरको सहयोगले उनले सन् १९५१ मा नौजवानमा उनले ब्रेक पाउँछन् र पहिलो गीत लेख्छन्,
ठण्डी हवाएँ लहरा के आएँ …
त्यसपछि फिल्म उद्योगमा गीत लेखनमा साहिरको शालीन युग शुरु हुन्छ ।
साहिरले त्यसपछि एसडी बर्मन, रवि, एन दत्ता, चन्द्रगुप्त, खय्याम एकसेएक संगीतकारसित काम गरे । उनको नाम एकसेएक फिल्मसित जोडियो ।
प्रसिद्ध गीतकार जाँ निसार अख्तरले भनेका छन्,
फिल्ममा यस्तो गीत दिए जो सत्तामुखी र ढोँगी समाजप्रति आक्रमक थियो । त्यो एउटा ठूलो कदम थियो जुन साहिरले हिम्मत (मनको आँट)ले उठाए । उनी हाम्रा फिल्म जगतका अर्का खालका गीतकार जस्तो गन्हाउने तालमा डुबेर बसेनन् ।
अख्तरले भनेजस्तै साहिरले बलिऊडमा जम्मा बीस वर्षको क्यारिअरमा ११३ ओटा फिल्ममा गीत लेखे तर एक थोपा उनले सम्झौता गरेनन् । भनिन्छ, फिल्म जगतमा स्रष्टाको हैसियतले अझै उच्चाकर्षण बनाउनमा उनको योगदान अहम् छ ।
बलिऊड फिल्म उद्योगमा एउटा हिरोले पाउनेभन्दा ठूलो सफलता पाएपछि साहिरमा बोहेनियज्म् शुरु भयो भन्ने उनका समकालीनहरूको टिप्पणी छ ।
बोहेमियनिज्म एउटा रोग हो ।
अरुबाट टाढा रहने र आफ्ना सुपरिचितका घेरामा मात्र रहने यो रोग उन्नाइसौँ शताब्दीमा चित्रकारहरूबाट शुरू भएको मानिन्छ । यस रोगका बारे साहित्यकार निर्मल बर्माले लेखेका छन्,
चौधौँ शताब्दीदेखि लिएर जब बोहेमियामा पहिलो पटक यान हुसले चर्चका अन्धविश्वासीहरू र अमानवीय क्रियाकलापका विरुद्ध आवाज उठाएका थिए, हाम्रो आफ्नो शताब्दीसम्म आएर जुलियस फुचिकले फाँसीको तख्ताबाट फासिज्मको पाशिविक, बर्बर दर्शनलाई अस्वीकृत गर्ने टेस्टामेन्ट प्रस्तुत गरे, यो छ सय वर्षमा चेक साहित्यले एउटा लामो गन्तव्य तय गर्यो ।
चेक साहित्यमा आएको यो उतारचढावले मानवीय जीवनमा वैविध्य र बहुमुखी कम्प्लेक्सलाई पछि बोहेमिनियज्म् क्यारेक्टर भनियो ।
यो कम्प्लेक्स् कवि साहिरमा पनि देखियो । शायद यही कारण उनी चाहेर पनि आफ्नो प्रेमिकासित नजीक हुन सकेनन् ।
अमृताले उनलाई भरपूर माया गरिन्, लेखिन् पनि आफ्नो कथा, कविता र जीवनकथामा तर साहिर उनको हुन सकेनन् । साहिरसित उनको एकेक प्रसंग चर्चामा रहे, एकेक भेट यादगार रहे ।
यति हुँदाहुँदै पनि अमृता र साहिरको प्रेम कहिल्यै टुँगिएन, यद्यपि साहिरको जीवनमा गायिका सुधा मल्होत्रा आइसकेपछि अमृताले इमरोजसित अचानक विवाह गरिन् ।
यसपछि पनि साहिर र अमृताको चर्चा चलिरह्यो ।
यी दुईका बारेमा एउटै शीर्षकमा अनेक कथा उपकथाहरू लेखिए तर अमृता र साहिरको प्रेम सेलाएन । प्रेम यस्तो चीज रहेछ, यसको शुरुवातको दिन निश्चित रहेछ तर अन्त्यको सीमा कसैले देखेको हुँदैन रहेछ ।
भनिन्छ, साहिरको जीवनमा अमृताबाहेक प्रेमिकाका रुपमा अन्य तीन महिला आए, महिन्दर चौधरी, ईश्वर कौर र सुधा मल्होत्रा ।
अमृतासहित यी तीन महिलाका बारेमा मुरलीप्रसाद मनोहरि सिंहले लेखेका छन्,
साहिरको जीवनमा चार महिला आए, महिन्दर चौधरी, ईश्वर कौर, अमृता प्रीतम र सुधा मल्होत्रा । यो ध्यान दिनुपर्ने कुरा हो, कि यी चार महिलामा दुई सिख हुन् भने दुई हिन्दु हुन् । यी चारै प्रेमप्रसँगको गफगोष्ठिहरूमा खूब अतिरञ्जित तरिकाले रस लिई लिई चर्चा गरिँदै आयो । अनि यो मानिन्छ कि उनी नास्तिक थिए र जन्मजात मुसलमान अतः उनको कुनै प्रेमप्रसँग विवाहमा परिणत हुन सकेन । तर अमृतासित उनका गहिरो नाता उनको पछि सम्म बनिरह्यो । अमृताको जीवनमा इमरोज आइसकेपछि पनि यो अपरिभाषित नातामा कुनै चिरा पर्न सकेन ।
अमृता र साहिरको यो सम्बन्धलाई ज्याँ पल सार्त्र र सिमोन द बुआको सम्बन्धलाई जस्तो गरेर पनि उनका अनुयायी वा पाठकले हेर्ने गरेका छन् ।
एक हिसाबले यो एउटा ठूलो सम्मानको दृष्टिले हेरिएको एउटा उदारणीय प्रेम हो ।
साहिरसित अलग्गिएको साल अमृता नेपालस्थित भारतीय राजदूतावासको निम्तामा गणतन्त्र दिवसको उपलक्ष्यमा काठमान्डू आएकी थिइन् र उनले त्यो घटनालाई सम्मानका साथ उद्धृत गरेकी पनि छिन्,
…….।।
हिजो नेपालले मेरो त्यो कलमको ठूलो सत्कार गर्यो, जसबाट मैले तिम्रो लागि प्रेमको गीत लेखें । त्यसैले मैले जति फूल पाएँ, मैले ती सारा फूल तिम्रो नाउँमा चढाइदिएँ
हिज्र दी इस रात बिच कुझ रोशनी आवंदी पई …
२७ ज्यानवरी १९६० मा लेखेको यस पत्रमै इमरोजको नाउँ अदृश्य रुपमा उल्लिखित छ ।
अमृताको प्रस्थानपछि साहिरको जीवनमा खालीपन भर्न गायिका सुधा मल्होत्रा आइसकेकी थिई । गायिका मल्होत्रा र साहिरको सम्बन्ध धर्म र जातका कारणले किनार लाग्यो, साहिर फेरि एक्लो भए ।
अमृताभन्दा बढी साहिरको जीवनमा सबभन्दा अहम् भूमिका निर्वाह गर्ने अर्की महिला हुन्, सरदार बेगम ।
आफ्नी आमा सरदार बेगमसित बस्नका लागि साहिरले आफ्नो जमिन्दार पिता चौधरी फजल मुहम्मदको सारा जाय जेथा लात मारेर आएका थिए ।
यो कथा यहीँ अन्त भएन ।
भारत पाकिस्तान विभाजन भएपछि मुसलमान भएको कारण सरदार बेगम पाकिस्तान गइन्, साहिर पनि जन्मभूमि देश छोडेर आमाको पछिपछि पाकिस्तानको लाहौर लागे । फेरि उनकी आमा हिन्दुस्तान फर्केपछि साहिर पनि आमासित फर्के ।
साहिरको जीवनमा आमा सरदार बेगमपछि अर्की प्रमुख महिला आइन्, जसले उनको जीवनको वायुमण्डल खल्बल्याई दिए । ती महिला, जो उनको जीवनको पहिलो प्रेम थियो अनि त्यो नै पहिलो पहिलो धोखा थियो । ती महिला, जसको चर्चा साहिरको जीवनमा दोहोरिएर कहिल्यै भएको देखिँदैन न उनको जीवनमा न उनको कथामा, न उनले लेख्ने गरेको गीत, नज्म वा गजलमा ?
जसको चर्चा आज हुन बाँकी छ, ती महिला हुन् हाज्रा मसरुर । साहिरकी पहिलो प्रेमिका हाज्रा मसरुरको केही वर्षअगि पाकिस्तानमा निधन भएपछि बल्ल उनको यो प्रेमकथाभित्र अनधीत पक्ष चर्चामा आए ।
हाज्रा मसरुर र साहिरको विवाह गर्ने शर्तमा मँगनी भइसेको थियो तर अन्तिम घडीमा यो नाता साहिरले तोडे । यसको सानो कारण थियो, ताजमहल कवितामा उच्चरित एउटा उर्दू शब्द मकाबिर ।
साहिरले आफूले लेखेको कविता ताजमहल कुनै विशिष्ट सभामा वाचन गर्नु थियो, उनको मातृभाषा पञ्जाबी भएको हुनाले उनको उर्दूको स्वरोच्चारण पक्का थिएन । उनले प्रेमपूर्वक आफ्नी मुस्लिम प्रेमिकालाई शुद्ध उच्चारणका निम्ति फोनमा सोधे, हाज्राले जिस्किँदै तिमीले जस्तो उच्चारण गरेको हो, त्यो नै सही हो ।
आफ्नी मंगेतर हाज्राको अनुमति पाएर गर्वले उनले त्यो कविता भारी सभामा पढे ।
तर घटना सोचेभन्दा उल्टा भयो । सभामा आएका वरिष्ठ कविले टिप्पणी गर्ने क्रममा साहिरको मजाक उडाउँदै भने, बच्चा यो कविता तिम्रो राम्रो छ तर तिमीलाई उर्दू बोली शुद्ध बोल्न आउँदैन रहेछ, तिमीले मकाबिर शुद्ध उच्चारण गरेको भए यो कविता तिम्रो हो भन्ने धेरै आधार हुन्थ्यो तर ..
यस टिप्पणीले साहिरको भारी सभामा अपमान भयो, यो घटना उनले हुबहु आफ्नी मंगेतरलाई सुनाए र त्यही दिनबाट आफ्नो सम्बन्ध तोडेको पनि जानकारी दिए । तर उनलाई उनकी प्रेमिका हाज्राले मकाबिरलाई मबाकिर पढ्नु भनेका थिए ।
उर्दूमा मकाबिरको अर्थ हुन्छ, समाधि ।
र यही कविता हाज्रा र साहिरको प्रेमको समाधि बन्न पुग्यो । पछि हाज्राले पाकिस्तानका एक उच्चकोटिका सम्पादकसित विवाह गरिन् र उनी पाकिस्तानमै बसिन् तर यी दुवैको सम्बन्ध गाँसिएको प्रोग्रेसिभ राइटिङ अशोसियसनबाट यी दुवै निस्किए ।
हाज्रा मसरुरको निधन हुँदा बल्ल उनको यो आत्मकथाको अंश छापियो जहाँ उनीहरू दुईबीच के सम्बन्ध थियो र के कारण टुँगियो, भन्ने उल्लेख भएपछि मात्र साहिरको जीवनको अर्को महत्त्वपूर्ण पाटो उँधियो ।
यसपछि उनले लेखेको नज्म चर्चामा आयो जुन पछि चलचित्र गुमराह (१९६३) मा प्रयोग गरिएको थियो,
चलो एक बार फिर से अजनबी बन जाएँ हम दोनों
…..
यो गीतलाई फिल्ममा प्रयोग गरिनु अगि उनले धेरै सभा समारोहमा तालीका साथ पढ्ने गरेका थिए तर यो गीतको रचनागर्भमा धेरैले अमृता प्रीतमसितको प्रेमलाई पनि जोडेका छन् तर त्यो यकिन होइन ।
साहिरको जीवनमा अमृता भन्दा पहिल्यै आएकी प्रेमिका थिइन्, ईश्शर कौर । कौरलाई सम्बोधन गरेर कसैको उदास देखकर उनले लाहौरको दयालसिंह कलेजमा सुनाएका थिए,
तुम्हें उदास सा पाता हूं मैं कई दिन से
न जाने कौन से सदमे उठा रही हो तुम
मैं जानता हूं कि दुनिया का खौफ है तुमको
मुझे खबर है ये दुनिया अजीब दुनिया है
आफूसँगै पढ्ने कौरको विवाह साहिरकै साथी हाफिज लुधियानवीसित भयो । उनले हाफिजसित एउटा अनुमति मागे, विवाह तिमीसित भए पनि ईश्शरको फोटो मसित राख्ने अनुमति देऊ ।
ईश्शर र हाफिज विवाह गरेर मुम्बई गए त्यसदिन देखि साहिर ईश्शरको एक झलक पाउन मुम्बई जाने तयारी गर्न थाले तर त्यो सम्भव भएन ।
कयौँ वर्षपछि साहिर मुम्बई पुगे र ख्याति कमाए तर ईश्शर यस दुनियाबाट गइसकेकी थिइन् ।
साहिर जीवनमा कुनै प्रेममा सफल भएनन्, त्यो उनीभित्रको अन्तर्मुखीपन नै उनको निम्ति बाधक भयो शायद ।
साहिरका निकटवर्ती मित्र अहमद राहीले भनेका छन्, साहिर गहिरो एक्लोपनमा अनुवाद भइरहन्थे । मेरो विचारमा यो हालात शायद त्यतिबेला पैदा भयो होला जब उनको पहिलो प्रेमिका महिन्दर चौधरीको निधन भयो होला ।
उनको पहिलो प्रेमिका महिन्दर चौधरी उनकै काखमा मरेको कुरा उनले आफ्नो कविता मरघटमा लेखेका छन् ।
२५ अक्टोबर १९८० मा साहिरले यो जगत छोडे ।
उनले नेपालीमूलका फिल्म निर्देशक बीएस थापाको फिल्म लक्ष्मी का निम्ति अन्तिम गीत लेखे ।
मात्र ५९ वर्षको जीवनमा उनले ११३ ओटा फिल्ममा गीत लेखे, सयौं गीत उनका हिट भए, सयौं गीत उनको चर्चामा आए । भारतका प्रथम प्रधानमन्त्री पं जवाहरलाल नेहरु साहिरको एउटा कविताबाट सर्वथा प्रभावित रहे र उनले उल्लेख गरिरहे,
ये कूचे ये नीलामघर दिलकशी के
ये लुटते हुए कारवां जिन्दगी के
कहाँ है कहाँ है
जिन्हें नाज है हिंद पर वो कहां है
साहिरको यो प्रश्न अझै पनि जारी छ ।
साहिरका गीतको चर्चा वा उद्धृत गरिरहने अर्का व्यक्ति हुन्, महान् विचारक ओशो ।
ओशोले आफ्नो शुरुवातका प्रायः प्रवचनमा साहिर नज्मको व्याख्या वा चर्चाबाट आफ्नो डिस्कोर्स थाल्ने गरेका छन् र उनले इतिहासको हरेक व्याख्या होस् वा मानव नियतिको विवरणीका दिने बेला साहिरको नज्मको साथ लिएका छन् । ओशोले मनपराउने एउटा गीतको शेर यस्तो छ,
जाने वो कैसे लोग थे जिनको प्यार को प्यार मिला
हमने तो कलियाँ मागी काँटो का हार मिला
यो गीतको चर्चा गर्दै नेपाली निवन्ध साहित्यका शिखर पुरुष शंकर लामिछानेले भनेका छन्,
अ राइट सङ रोट बाई राइट पर्सन…
यो गीतमाथि लेखिएको निबन्धमा शंकर, अम्बर, भूपी, अम्बर एकसाथ भएर प्रेम दिवस मनाएका थिए चोभारको डाँडामा ।
अम्बर गुरुङले डेढ दशकअगि गोधूलि नामको एउटा अल्बमको विमोचन गर्दै भनेका थिए,
गीत भनेको यस्तो हुनुपर्छ, जाने वो कैसे लोग जस्तो ।
अम्बरले फेरि थपे, अ राइट सङ स्याँग बाई राइट पर्सन ।
यो गीतको कथा यति मात्रै होइन, कुनै समय संगीतमा आउनुभन्दा अगि दार्जीलिङमा अम्बर गुरुङ कुनै साउन्ड सर्भिसमा साउन्ड म्यान्का रुपमा काम गर्थे । एकदिन उनी कुनै विवाहमा साउन्ड पुर्याउन गएछन् तर साउन्ड सिस्टम बिग्रेर उनले त्यो विवाहमा रातभर गीत गाउनु पर्ने अवस्था आएछ । त्यो विवाहमा सहभागी भएका एक जन्ती कर्म योञ्जन त्यो घटना सम्झिँदै भन्छन्,
त्यो विवाह कस्तो भयो भने अग्रवालजीको साउन्ड सर्भिसबाट आएको साउन्ड सिस्टम बिग्रेपछि साउन्ड पुर्याउन आएका अम्बर दाजु आफैंले जाने वो कैसे लोग थे जिनको प्यार में प्यार मिला गाउनु पर्यो, किनकि उहाँलाई त्यो बाहेक अरु गीत शायद याद थिएन कि ? अचम्मको कुरा विवाहमा त्यस्तो गीत उहाँले गाउनु पर्यो ।
वास्तवमा साहिर प्रेमका वक्ता थिए तर उनले कहीँ कसैबाट प्रेम पाएनन् । यो नै शायद उनको खोज थियो ।
००



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

