एनएमबि बैंक लिमिटेड, डिभी एक्सेल्स प्रा. लि.(खेती एप) र बागमती गाउँपालिका मकवानपुरबीच गाउँपालिकाका किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई एनएमबि डिजिटल कर्जा (खेती कर्जा) प्रवाह गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता भएको छ ।
सम्झौतापत्रमा बैंकका तर्फबाट लघुवित्त तथा एमएसएमई प्रमुख डा. बुद्धि मल्ल, डिभी एक्सेल्स प्रालिका तर्फबाट सह–संस्थापक न्यूराज कार्की र गाउँपालिकाका तर्फबाट अध्यक्ष सर्केश घलानले हस्ताक्षर गरेका छन् ।
एनएमबि बैंक र डिभी एक्सेल्सबीच खेती एपमार्फत किसान तथा कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई पूर्ण रुपमा डिजिटल कर्जा प्रदान गर्न सम्झौता भएबमोजिम एनएमबी खेती कर्जा प्रदान गर्दै आइरहेकामा बागमती गाउँपालिकाले कृषि व्यवसायमा संलग्न व्यक्तिहरूलाई यस डिजिटल कर्जामार्फत उनीहरूलाई कर्जा लगानी सहज बनाएर कृषकहरूको आर्थिक अवस्थामा वृद्धि गर्न तीनै वटा संस्था मिली वित्तीय साक्षरता कार्यक्रमहरू संचालन गर्ने, कर्जायोग्य किसानहरूलाई सहजीकरण गर्ने, ऋणीहरूलाई अन्य विभिन्न खालका परामर्श प्रदान गर्ने तथा कर्जा असुलीमा पनि सहयोग गर्ने जस्ता विषयमा सहमति भएको छ ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सर्केश घलानले गाउँपालिकाका किसानलाई कृषि व्यवसायमा उत्प्रेरित गर्न विभिन्न कार्यक्रमहरू गरिरहेको र आफूले भरसक अझै बढी सहयोग गरेर कृषि व्यवसायलाई आधुनिकीकरण गर्ने र कृषि व्यवसायद्वारा गाउँपालिकाका ऋणीहरूलाई वित्तीय अनुशासनमा रहेर व्यवसाय गर्न लगाई एउटा उदाहरणीय गाउँपालिका बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष र केही वडाका अध्यक्षहरु, कृषि अधिकृत लगायत अन्य अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।
अघिल्लो वर्ष बागमती र गण्डकी प्रदेशमा शुरु गरिएको एनएमबी खेती कर्जा अब भने छिट्टै नै देशभर शुरु गर्ने तयारी छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 








