देशका गाउँ गाउँमा लकडाउनको उर्दी चलेको छ । पूरै ठुला सहरहरू कोरोना महामारीको चपेटामा चिच्याइरहेको छ । बिरामी अक्सिजन र आइसोलेसन बेडको अभावमा अकाल मरिरहेका छन् । आर्यघाटमा लासहरूको लाइन लागेको छ । अझ भनौँ काठमाडौँ विराटनगर जस्ता ठुला सहरहरू मृत्युको मुखमा चित्कार गरेझैँ लाग्छ । दोर्ची पनि महामारी फैलिनु अगाडि सहरबाट गाउँ आएका हुन् । अग्लो कद भएका दोर्ची साधारण परिवारमा हुर्केका हुन् , सहर गएर ज्यामी काम गरेर गाउँमा आप्पा आमा पाल्थे ।
आज ३ दिन भयो दोर्चीलाई असाध्यै ज्वरो र झाडा लागेको छ । आमाले चिराइटोको झोल र बेसार पानी खुवाउँदा पनि ज्वरोले अलिकति छोडेन । ज्वरो ठिक नहुने लक्षण देखेर बुढो आप्पाले दोर्चीलाई पारी स्वास्थ्य चौकी लाने निधो गरे । छिमेकी दाजुभाइहरूलाई बोलाएर दोर्चीको आप्पा स्वास्थ्य चौकीतिर हिँडे ।
गाउँमा सहरमा जस्तो थरिथरिका स्यानिटाइजर , हेन्डवास, मास्क पाउने कुरो छैन । कोही सदरमुकाम र सहरबाट आउनेले सर्किजल मास्क लगाएको देखेको हो । अझ बुढा बुढीले त महलो लगायो भनेको रे (कुष्ठरोग) लाग्छ भन्छन् । गाउँमा बुढा बुढीले मास्क लगाउने कुरा हुँदैन, छोरा छोरीले मास्क लगाएको देख्ता पनि कत्ति मुखडी लगाएको भन्छन् ।
स्वास्थ्य चौकी नजिकै प्रहरी ठाना (चौकी) पनि छ । दोर्चीलाई बोकेर जाने गाउँलेहरूले मास्क लगाउने कुरै भएन , कोहीले मैलो सर्किजल मास्क गोजीमा बोकेका थिए । बिनामास्क आउने सबैलाई प्रहरीले थर्कायो । यहीबेला कसै कसैले गोजीमा भएको मास्क हतारमा उल्टो सुल्टो लगाउन भ्याए । प्रहरीले “मास्क नलगाउनेले १०० रुपैयाँ जरिवाना तिर्नुपऱ्यो” भन्न सम्म भ्याए । दोर्चीको अवस्था नाजुक देखेर प्रहरीले ” छिटो लानुस् बिरामी साह्रो रहेछ । अब फेरि हिँड्दामास्क लगाएर हिँड्नू ” भनेपछि सबैले स्वास्थ्य चौकीतिर दोर्चीलाई बोकेर कुदे ।
गाउँको स्वास्थ्य चौकीमा कोरोनाबाट सावधानी अपनाउन स्यानिटाइजर र साबुन पानीको व्यवस्था ढोकैमा गरिएको रहेछ । सबैले हात सफा गरेर स्यानिटाइजर लगार र दोर्चीलाई भित्र लिएर गए । अनमीले सबैलाई हेर्दै ” भिड नगर्नुस् , बिरामीलाई भित्र बेडमा सुताएर बाहिर बस्नुस् । ” केही छिनपछि अहेब सर आएर दोर्चीलाई जाँचे , स्लाइन र इन्जेक्सनबाट एन्टी बायोटिक दिएपछि दोर्चीको अलि होस खुल्यो । दोर्चीले मनमनै सोचे “स्वास्थ्य चौकीमा स्वास्थ्य कर्मीको मास्क , एक जोर ग्लोब्स र एप्रोनले कोरोनालाई छेक्छ कि छेक्तैन होला ! गाउँसम्म कोरोना आयो भने यस्तो स्वास्थ्य व्यवस्थाले महामारीसँग जुध्न सकिएला कि नाइँ ?”
करिब २ घण्टापछि ज्वरोले छोड्यो । बोकेर ल्याएको दोर्चीलाई अब हिँडेर जाने हिम्मत आएको थियो । आहेब सरले टाइफाइड भएकाले एन्टी बायोटिक खान भन्नुभयो तरस्वास्थ्य चौकीमा एन्टी बायोटिक सकिएकाले किन्नुपर्ने भयो । चानचुन १२०० सय खर्च गरेर केही भिटामिन सिरप र एन्टी बायोटिक आहेब सरसँगै फाल्टो खरिद गरेर सबैजना घर हिँडे ।
बाटाभरि दोर्चीले मनमनै सोच्यो ” साधारण एन्टी बायोटिक सरकारी स्वास्थ्य संस्थामा उपलब्ध छैन भने मेरो देशले कोरोना महामारी कसरी थेग्छ होला? ” यस्तै कुरा खेलाउँदै गाउँ आइपुगे ।
“गाउँमा निषेध आज्ञा जारी गरिएको बेला यो हुल कहाँ पुगेर आएको ?” अचानक वडा अध्यक्षले बाटामाथिबाट ठाडो स्वरमा सोधे । सबैले वडा अध्यक्षतिर हेरे , दोर्चीको आप्पाले भने ” छोरा बिरामी भएर पारि स्वास्थ्य चौकी पुगेर आयको अध्यक्षज्यू ।”
वडा अध्यक्षले दोर्चीतिर हेरेर भन्यो “हैन यो त अस्ति भर्खरै काठमाडौँबाट आएको हैन ? कोरोना लिएर आइस् के हो ए दोर्ची ? ए गाउँले हो कोरोना लाग्छ भन्ने थाहा छैन ? कहाँ यस्तो सहरबाट आएको मानिससँग हिँडेको ?” सबैले आ-आफ्नो मुखामुख गरेर लाखा पाखा लागे । दोर्ची र आप्पा पनि केही नबोली घरतिर लागे ।
साँझ झमकै परेको थियो ढिँडो र गुन्द्रुक च्यापेर आप्पा आमा सुते तर दोर्चीलाई निन्द्रा लागेन । “सहरमा महामारी फैलिनुअगाडि गाउँ आएको मानिससँग कोरोनाको नाममा आशङ्कित समाज देखेर दोर्चीलाई वाक्क लागेर आयो । दोर्चीभन्दा पछाडि सहरमा महामारी चलेपछि थुप्रै गाउँले गाउँमा आएका छन् । गरीबदेखि धनीसम्म थुप्रैले ठुलो भिड भाड गरेर गाउँ आएका हुन् । पारि काल्ने गाउँको राजन साहू पनि अस्तिमात्रै यही वडाकै सरकारी गाडीमा आएका हुन् ।“ यस्तै अनेक कुराहरू मनमा खेलाउँदा खेलाउँदै दोर्ची भुसुक्कै निदायो ।
बिहान घामको झुल्कोले हिमाललाई स्पर्श गर्दै बिस्तारै तल गाउँतिर झऱ्यो ।झुल्के घामसँगै चराचुरुङ्गीहरू शीतको थोपासँग खेल्दै थिए । दलिनको खाँबोमा झुन्ड्याएको रेडियाले जिल्लामा पनि सङ्क्रमित भेटिन थालेकाले उच्च सतर्कता अपनाउनू भन्दै थियो । दोर्ची आँखा मिच्तै आँगनको डिलैमा मुडामाथि बसेर समाचार सुन्दै थियो । अरू बेला सुनसान हुने गाउँ , वाचिम्ले खोला सुसाएको प्रस्ट सुनिन्थ्यो तर आज गाउँमा खैलाबैला छ ।
तल्लो घरको राम दाइ आज राति काठमाडौँबाट बस चढेर लुकेर आएकाले बिहानै प्रहरी र वडा अध्यक्षको टोलीले राम दाइलाई घरमै एकल बास बस्न खबरदारी गर्दै थिए । बिहान करिब १० बजेको हुँदो हो । हाम्रो गाउँमाथिको आकाशमा अचानक हेलीले फन्का मारेपछि पो थाहा भयो पारि कान्ले गाउँको राजन साहूलाई कोरोना लागेर काठमाडौँ लान हेली आएको रहेछ । गाउँमा कोरोना लागोस् नलागोस् कसैले बर्कोले , कसैले अस्कोटको फेरोले मुख छोपेर दोर्चीको घरमाथिको टाहारमा गाउँलेहरू हेली हेर्न भेला भएका थिए । भर्खरै खनेको मकै बारीमा हेली बस्यो ।
हेलीमा वडा अध्यक्षका छोरा छोरी पनि गाउँ आएका रहेछन् । राजन साहूलाई गाउँलेले बोकेर हेलीमा चढाए ।गाउँलेहरूको मुखमा मैला परेको मास्क थियो , उच्च स्वास्थ्य सुरक्षाको केही व्यवस्था थिएन । न त्यहाँ पिपिई सेट नै थियो । केही छिनमा हेलीले राजन साहूलाई लिएर उड्यो ।
राति आउने राम दाइलाई जस्तो वडा अध्यक्षको छोरा छोरीलाई कसैले एकल बास बस भन्न सकेनन् । अध्यक्षको छोराले पूरै गाउँमा मण्डल माऱ्यो (गाउँ घुम्यो ) तर कसैले केही भनेनन् । गाउँकै हुने खाने र वडा अध्यक्षको छोरो भएकाले दोर्चीले पनि मुख खोल्ने आँट गरेन ।
केही दिनमा दोर्चीलाई सन्चो भइसकेको थियो । अचानक अध्यक्षको छोरा बेहोस भएर लडेपछि गाउँमा हल्ला खल्ला भयो । एकै छिनमा गाउँलेहरू वडा अध्यक्षको आँगनमा भेला भए, केहीले सर्किजलमास्क लगाएका थिए नहुनेले रुमालले मुख ढाकेका थिए । सबैले स्वास्थ्य चौकी लानुपर्ने कुरा भयो तर वडा अध्यक्षले स्वास्थ्य चौकीमा केही छैन म मेरो छोरो जिल्ला लान्छु भन्न थाले । सरकारी गाडी घरमै थियो छोरो गाडीमा राखेर वडा अध्यक्ष सदरमुकामतिर दौडियो । दोर्ची भने मन मनै सोच्न थाल्यो, “यहाँको स्वास्थ्य चौकीमा चैँ गरीब जनताको मात्र उपचार हुने भएकाले होला साधारण औषधिसमेत नभएको । ठुला ठालुलाई सरकारी सवारी साधन छ, रोजेर उपचार गर्ने ठाउँमा पुग्छन् । लोकतन्त्र आयो भन्थे तर अझै आएको रहेनछ,” लामो सुस्केरा हाल्दै दोर्ची घर फर्कियो ।
केही दिनपछि गाउँका थुप्रै गाउँलेहरूलाई रुघा खोकी लागेर बिरामी परे, दोर्चीले वडा अध्यक्ष कहाँ पुगेर सरकारी गाडीबाट बिरामीलाई स्वास्थ्य चौकीसम्म लगिदिन अनुरोध गऱ्यो तर वडा अध्यक्षले आफ्नो छोरोलाई कोरोनाले सताएको बेला दुनियाँ गाउँलेलाई गाडीले बोक्तैन भन्यो । दोर्चीले जसरी पनि गाउँलेलाई बचाइदिनु पऱ्यो अध्यक्षज्यू भनेर फेरि बिन्ती बिसायो । वडा अध्यक्षले दोर्चीलाई “गाडी दिदिनँ तैँले भनेको सुनिनस्” भनेर गाली गऱ्यो । आवेशमा दोर्चिले “सरकारी गाडीबाट आम नागरिकलाई अस्पताल पुऱ्याउन तपाईको आदेशले छेक्तैन” भन्दै गाडीको चाबी तानेपछि गाउँमा तनाव भयो । वडा अध्यक्षले प्रहरीलाई डाकिसकेको थियो, दोर्चीले रेडियो कर्मीलाई गाउँमा बिरामी फैलिएको खबर गर्दै गर्दा प्रहरी आएर दोर्चीलाई पाता फर्काएर थानातिर लिएर गए ।
यता गाउँमा कोरोनाको लक्षणसँग मिल्ने रोग फैलेको खबर रेडियोले फुकेपछि पूरै जिल्लमा खैलाबैला भयो । जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको टोलीले बिरामीहरूलाई स्वास्थ्य चौकीमा पुऱ्यायो बेड नभएकाले बिरामीहरूलाई भुईँमै सुताइएको थियो ।
सिकिस्त बिरामीहरूको स्याम्पल लिएर पिसिआर टेस्टका लागि प्रदेश प्रयोगशाला पठाए / केही बिरामीको श्वासप्रश्वामा समस्या भएर बेहोस भएपछि अक्सिजन र भेन्टिलेटर चाहिएको थियो । अचानक धेरै सङ्ख्यामा बिरामीको चाप बढेपछि स्वास्थ्यकर्मीले हात उठाए , सबै बिरामीलाई १ – १ बोतल स्लाइन लगाउनसमेत पुगेन । ठुला नेताले भनसुन गरेर उनका पार्टीको गाउँले नेताहरूलाई गाडीमा जिल्ला अस्पताल पठाए । सर्वसाधारण जनतालाई १ चक्की सिटामोल पनि नपुग्ने स्थिति भएको थियो ।
उता दोर्चीलाई मुद्दा चलाउन चौकीबाट जिल्ला पठाउने तयारी गरेपछि, दोर्चीले प्रहरी हवलदारलाई भन्यो, “सर सदरमुकाम म हिँडेर आउँछु । यो गाडीले ती बिरामीहरूलाई जिल्ला अस्पताल पुऱ्याइदिनुस्,” तर प्रहरी हवलदारले दोर्चीको कुरा सुन्दै सुनेन, पिसिआर रिपोर्ट कहिले आउने हो टुङ्गो थिएन । बिरामीलाई उपचारको खाँचो थियो तर जिल्ला जनस्वास्थ्यको टिमले स्याम्पल दिन बाँकी रहेका बिरामीहरूको स्याम्पल लिएर फर्कियो । पूरै गाउँमा कोरोना फैलिएपछि स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मीसमेत सङ्क्रमित भए । गाउँका आकाशमा गिद्धहरूले चिहाएर हेरिरहेको जस्तो लाग्न थाल्यो । समयमा उपचार नपाएपछि बिरामीहरू मर्न थाले । सङ्क्रमित स्वास्थ्यकर्मीले आफूले सक्ने जति भएको औषधिहरू लक्षणअनुसार बाडेँ । धनी आफन्त हुनेहरूले हेलीबाट आफ्ना बिरामीलाई सहरका ठुला ठुला अस्पतालहरूमा ओसार्न थाले ।
गाउँका साधारण जनता अक्सिजन र आइसोलेसन बेडको अभावमा मरिरहेका छन् । सहर छोडेर गाउँ जाने होड बाजीले गाउँ पनि कोरोना कहरबाट अछुतो रहन सकेन । कोरोनाले धनी र गरीब नछुटाए पनि, राज्यले कोरोना उपचारमा धनी र गरीबलाई विभेद गरेको छ । गाउँका धामी झाँक्री स्वास्थ्यकर्मी कसैलाई कोरोनाले छोडेन ।
दोर्चीको आप्पा आमालाई पनि ज्वरो र झाडा बान्ता सुरु भएको थियो । अचानक झाडा बान्ता सुरु भएका दुवै जना जीवनजल नपाएर डिहाइड्रेसन भएर बिते । गाउँमा मरेका मानिसलाई घाटसम्म पुऱ्याउने कोही भएनन् । वडा अध्यक्ष परिवार सबैलाई लिएर गाउँ छोडेर सहरको अस्पतालतिर भागे । विकासको नारा लगाउने नेताहरू गाउँमा जान / आउन मानेनन् । पूरै गाउँमा गिद्धहरूले मृत शरीरलाई अन्तिम श्रद्धाञ्जलि दिँदै थियो ।
आज दोर्चीलाई जिल्ला अदालतले फौजदारी र ज्यानमार्ने कोसिस गरेको आरोपमा १० वर्ष कैदको फैसला सुनायो । अब दोर्चीले आफ्नो आप्पा र आमाको मृत शरीरलाई घाटसम्म लान पनि पाउने छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।