सेतो हिमाल, चट्टान, पहरा र उच्च पहाडी भूभागमा बस्न मन पराउने तोग्बे साधारण परिवारमा हुर्किएको थियो । अझ भनौँ कहिलेकाहीँ बादल रिसाएको दिनबाहेक उसको घरको छिँडीबाट मिर्मिरेदेखि झिसमिसेसम्म सेतो हिमाल प्रस्ट देखिन्थ्यो ।
हिमालबाट हिउँ पग्लेर आउने पानी घरअगाडिबाट हिमाली पठार छोडेरलेक, बेँसी खोँच हुँदै तराईतिर झर्थ्यो । पठारको मैदानदेखि दक्षिणतर्फको भूभागमा सल्ला र खान्डो (सेतो गुराँस / चिमाल ) को जङ्गल थियो । हिउँदको महिना नीलो आकाशमुनि सेता बादलका लुम्साहरू मुसुक्क हासेको हिमालसँग त्योङ्गी गाउँमा लुकामारी खेल्थ्यो । बर्खा महिनामा बादलहरू पठारमुनिका पहाडका टाकुराहरूमा रिसाएर पर्दा लगाउँछन् । तराई र पहाडमा बाढी पहिरो चल्दा पनि बर्खामा यो सुन्दर त्योङ्गी गाउँ बादलपारिको उपल्लो सुन्दर संसार नै रहन्छ ।
तोग्बेको परिवार यो त्योङ्गी गाउँमा कहिलेबाट आएर बसेको हो भनेर तोग्बेको आक्खे (हजुरबुवा)लाईसमेत थाहा थिएन । उत्तरतिर अग्लो हिमालले घेरिएको पठारमा याक (चौरी), भेडा र च्याङ्ग्रा पालेर बसेको त्योङ्गी गाउँ सहरदेखि धेरै टाढा भएकाले अन्य छिमेकी हिमाली गाउँबाट आफन्तहरू कहिलेकाहीँ आउजाउ गर्नेबाहेक बाहिरको मानिसहरू गाउँमा आउने कुनै कुरा नै हुँदैन थियो । त्योङ्गीका बासिन्दा जाडो महिनामा पहाड र तराई च्याङ्ग्रा र भेडासँग झर्थे भेडाको घ्यु, हिमाली जडीबुटी, चीज र छुर्पी बेचेर हिमाल फर्कँदा नुन, कपास, धागो लिएर फर्किन्थे, त्योङ्गी पठारमा वा, फापर र आलुको खेती गरिन्थ्यो । फापरको रोटी आलुको ढिँडो , जिम्बु रलेकाली टिम्मुरको अचार यहाँको मुख्य खाने कुरा थियो ।
पुरुषहरू दिनमा जङ्गल जाने सिकार खेल्ने याक र च्याङ्ग्रा हेर्ने काम गर्थे । महिलाहरू घरमा ऊन र कपासबाट कपडा बनाउने खाना पकाउने काम गर्थे । यो पठारको त्योङ्गी गाउँमा सबै गाउँले समान थिए । त्यहाँ ठुलो र सानो जात थिएन । अझ भनौँ देशको अरू ठाउँमा जस्तो महिलाहरूमाथि हुने घरेलु हिंसासमेत यो गाउँमा थिएन । महिलाहरूले आफ्नो श्रीमान्लाई तिमी वा तँ नै भनेर बोलाउँथे । आलु र वाको जिर्मा (जाँड) बनाउने र श्रीमतीलाई खुवाउने प्रायः यहाँको पुरुषहरूको दैनिकी थियो । घरमा पाहुना आउँदा श्रीमती पाहुनासँग गफ गरेर बस्थे भने श्रीमान्हरू पाहुनाको चाकडीमा लाग्थे ।
सहरदेखि यति टाढा भए पनि त्योङ्गी गाउँमा कहिले बौद्ध धर्मको विकास भएको हो भन्ने यकिन थिएन तर गाउँमा बुद्ध र बौद्ध धर्मको राम्रै प्रभाव थियो । एउटा गुम्बा र साना ठूला छ्योर्तेन र मानेहरू गाउँमा थुप्रै थिए । नयाँ बनाउने क्रम पनि रोकिएको थिएन । त्योङ्गीका गाउँले नानीहरूले नेपाली नै भएर पनि अन्य बालबालिकाहरूले जसरी स्कुल गएर पढ्ने चलनको विकास भएको थिएन; पढ्न जाने भनेको गुम्बामा थियो । नेपाली भएर पनि नेपालमा बोलिने नेपाली भाषा त्योङ्गीका कमैले बुझ्थे । उनीहरूको बोलीचालीको भाषा छुट्टै तिब्बती भाषासँग मिल्दोजुल्दो थियो ।
यो सालको हिउँ छेल्न तोग्बे पनि गाउँलेहरूसँग पहिलोचोटि गाउँ छोडेर तल (तराई) को यात्रामा च्याङ्ग्रा भेडासँग छुर्पी , चीज र हिमाली जडीबुटी बोकेर झर्यो । घरको झ्यालबाट देखिने सेतो हिमालबाट पग्लेर बग्ने पानीको सानो ‘थ्यो खोला’ गाउँमुनिको खान्डो र सल्लाको जङ्गल छिचोल्दै ठुलो आकार र छिटो छिटो अत्तालिँदै बगी रहेको थियो । त्यो कञ्चन पानीको हतारसँगै तोग्बेको मन तल झर्ने उत्सुकताले छचल्किएको थियो ।
तोग्बे र साथीहरू जति जति तलतिर झर्थे गाउँको सानो ‘थ्यो खोला’ अब ठुलो खोलाको रूपमा पहरा थर्काउँदै ठूलाठूला भिर पहराहरूबाट छङछङ निसङ्कोच झरिरहेको थियो ।
तोग्बेले आफ्नो गाउँ छोडेको पहिलोचोटि भएकाले यो सबै उसका लागि बिलकुलै नयाँ र नौलो थियो । मध्य पहाड र ‘थ्यो खोला’ किनारैकिनार भेडा च्याङ्ग्रा चराउँदै चलेको तलतिरको यात्रा महिनौँ दिनसम्म चल्यो । ठूला साना पहाडहरूको बिचैबिच बग्ने खोला खोल्साहरू ‘थ्यो खोला’ सँग मिसिएर धेरै ठुलोकोसीको रूप लिएको थियो ।
सधैँ उठ्ने बेला झ्यालबाट देखिने सेतो हिमाल देखिने कुरा थिएन । कोसी किनार हुँदै तल झर्ने क्रम सानो ठुलो गाउँहरूमा भेडा च्याङ्ग्राको गोठ राख्दै चलिरहेको थियो । तल झर्दा बाटोमा भेटिने पहाडका मानिसहरूले तोग्बेहरूलाई नाक थुनेर हेर्थे । बच्चाहरू भेडा र च्याङ्ग्रा देखेर घरको आँगनबाट बाटोतिर रमाइलो मानेर रमिता हेर्न दौडिएर आउँथे । कसै कसैले त भेडा छुन्थे पनि । करिब ६ वर्षको बच्चाले तोग्बेलाई एकोहोरो हेरेर अचानक रुन थाल्यो । सायद त्यो बच्चा तोग्बेको मैला परेको ठुलो बक्खुदेखि डराएको हुँदो हो । छेउमै बसेको एउटा मानिस करायो ” ए भाइ नरू ! भोटेले लग्छ यता आइज । ” ऊ सायद त्यो बच्चाको आप्पा थियो ।
गाउँ गाउँमा भेडाको घ्यु, चीज , छुर्पी र जडीबुटीहरू बेच्दै तोग्बे र गाउँलेहरू समथर तराईसम्म पुगे । हिमालबाट तल झर्दा ल्याएको सबै सामानहरू नजिकैको सहरमा लगेर बेच्नुपर्ने थियो । भेडा च्याङ्ग्रा हेर्ने र बजार गएर सामान बेच्ने आलोपालोको टोली थियो ।
समथर जमिन भएकाले होला पूर्व पश्चिम उत्तर दक्षिण कता हो तोग्बेले मेलो पाउँदैनथ्यो । सबैले मङ्सिरमा घरबाट तल झर्दा लगाएको बक्खु फाल्गुन अन्तिमसम्म पनि धुने कुरा चलेको थिएन । गर्मी सुरु भएको थियो , तोग्बेलाई पसिनासँगै घमौरा आउन थालेको थियो । डाबर आउने र शरीर चिलाउने बेथाले हैरान तोग्बेलाई साथीहरूले “एउटा बक्खुले हिउँ छेल्छ , दुइटा बक्खुले गर्मी छेक्छ ” भने । न भन्दै तोग्बेले पनि अर्को बक्खु लगायो । सबैले तोग्बेलाई हेरेर हाँसे । लामखुट्टेको टोकाई र गर्मीले तोग्बेलाई हैरान पार्यो पूरै रात बक्खु थपी थपी लगायो । रातभरिमा साथीको बक्खुसमेत गरेर ३ वटा बक्खु लगायो तर गर्मीको घमौरा निको हुने छाँट थिएन ।
बिहान हुँदा सबैले तोग्बेको बिजोग देखे, तोग्बेलाई तराईको धारामा नुहाउन लगाए । शरीरभरि फैलिएको घमौरा देखेर तोग्बेलाई सहरको मेडिकल केन्द्र लगियो, डाक्टरले तोग्बेलाई हेरेर “के भयो? ” भनेर सोध्यो । तोग्बे एकछिन लाटियो र भन्यो “यो तराईमा त कति गर्मी हुँदो रहेछ, ३ ओटा बक्खु लगाउँदासमेत ठिक भएन ।” यो सुनेर डाक्टर मुस्कुरायो र एभिल र प्रिलोन नामको औषधि तुरुन्तै खान दियो र थप अरू औषधि दिएर पठायो । केहीछिनपछि तोग्बेलाई अलि ठिक भयो , सहर मानिसहरूको भिडले भरिएको देखेर तोग्बेले एकोहोरो हेरेको हेऱ्यै गर्यो ।
ठूलाठूला महलहरू, कार, बाइक, बस , रङ्गीबिरङ्गी कपडा लगाएका महिला पुरुषहरू । हिमालभन्दा बिलकुलै फरक संसारमा तोग्बेले पहिलोपटक पाइला टेकेको थियो । सहरका मानिसहरूमा फरक-फरक फेसन र जीवनचर्या देखेर आश्चर्य भएको तोग्बेले साथीहरूसँग लुकेर मेन्दोका लागि तलको चिनो रातो रुमाल किनेको थियो । हिमाल छोडेसँगै मेन्दोलाई नदेखेर होला तोग्बे कहिले घर फर्किने होला भनेर टोलाउँथ्यो ।
भेडा र च्याङ्ग्राहरू तराईको गर्मीले गर्दा हिमाल फर्किन चाहन्थे, सायद उनीहरूलाई पनि तोग्बेलाई जस्तै घमौरा आएको हुँदो हो । सबै साथीहरूले केही नुनका ढिक्काहरू बोरामा पोका पारेर च्याङ्ग्राको ढाडमा बाँधे र समथर भूभाग छोडेर पहाडतिर अगाडि बढे । फर्किँदा आँखाभरि सहरको झझल्को र गाउँको मेन्दोको मुहारको याद बोकेर तोग्बे फर्कियो ।
कोसी छोडेर ‘थ्यो खोला’ पनि सानो-सानो हुँदै गएको थियो । ससाना पहाडहरू छोडेर अग्ला-अग्ला पहाडहरू पुगेका च्याङ्ग्रा र भेडाहरूको आवाजले त्योङ्गी गाउँमा आफन्तहरूको अनुहारमा खुसी छाउँदै थियो । खान्डो फुलेर जङ्गल झपक्कै सजिएको थियो । हिमाली बुकी फूलहरू, सुनपानी , साङ्गमन र धुपी टिपेर तोग्बेहरू आफ्ना संसारमा फर्किए । जङ्गल कटेर हिमाली पठारको त्योङ्गी गाउँ अनि मुसुक्क हाँसेका सेता हिमालहरू देखेर तोग्बे सहर भुलेर आफ्नै खुसीको संसारमा फर्किन चाहन्थ्यो । सबैभन्दा पहिला त तोग्बे मेन्दोलाई तलको चिनो रातो रुमाल दिन चाहन्थ्यो र भन्न चाहन्थ्यो कि “मेन्दो म तिमीलाई मायाँ गर्छु । ”
त्यो आँगनछेउको ‘थ्यो खोला’को पानीले गाउँको खेत सिँचाइ गरेर खेती गर्ने त्योङ्गीका जनताहरू तलबाट फर्किएपछि जिउँदो याकको आलो रगत खान्थे । भनिथ्यो कि सहर र तल रहँदा बस्दा लागेको रोगहरूबाट हिमालमा महामारी नफैलियोस् र रोग निको होस् भनेर जिउँदो याकको आलो खुन खाने परम्परा नै बसेको थियो । तोग्बे र साथीहरूलाई पनि गाउँलेहरूले जिउँदो याकको ताजा रगत पिलाए, यो कुनै परम्परागत रीतिमात्र थिएन । यो त्योङ्गी गाउँको आफ्नो मौलिक पहिचान र संस्कृति थियो । यही याकको आलो रगत खाने मेलामा तोग्बेले मेन्दोलाई तलको चिनो रातो रुमाल गुम्बाको पिछाडि अरूसँग लुकेर दिएको थियो तर “म तिमीलाई मन पराउँछु” मेन्दो भन्ने आँट गर्न सकेन ।
समय बित्दै गयो । बर्खा लागसँगै त्योङ्गी गाउँ बादलमाथिको उपल्लो संसारमा परिणत हुँदै थियो । साथीहरूले तोग्बेसँग यसपटक बर्खायाममै छुर्पी र चीज बोकेर तल झर्ने निधो गरे । तल सहरमा आफ्नो सामानको माग भएको हुँदा व्यापारका लागि त्योङ्गी गाउँका केही युवा र अलि पाको उमेरका चार पाँच भाइ ‘थ्यो खोला’ हुँदै तल सहरतिर झरे । आँगनको डिलबाट देखिन्जेल मेन्दोले तोग्बेलाई हेरिरहिन् ।
महिना दिनमा सहर पुगेर आफ्ना सामान बेच्न थाले । तलका मानिसहरूले हिमालको मान्छेलाई नाक थुनेर हेर्ने र भोटे भनेर बोल्ने प्रवृत्ति तोग्बेलाई उचित लाग्न छोडेको थियो । यत्तिकैमा एक जना करिब २० वर्षको युवक तोग्बेको नजिक गयो । समान उमेरका दुवैको आँखा जुध्यो । अनजान मुस्कान दुवैको अनुहारमा प्रस्ट देखिन्थ्यो । ” सार (सर ) के लिनुहुन्छा (हुन्छ ) ?” तोग्बेले मुख खोल्यो । युवकले मुस्कुराउँदै “मलाई छुर्पी दिनुस् !” भन्यो ।
२० रुपियाँको छुर्पी किनेर युवकले ” तपाईँहरू हिमाल कहिले फर्किनुहुन्छ ?” भन्यो । तोग्बेले ” हामी आबो (अब ) भोलि जान्छ सार ” ,भन्यो । युवकले “म पनि तपाईँहरूसँग हिमाल हेर्न जान्छु ” भन्यो । तोग्बे मुसुक्क मुस्कुरायो ।
सहरमा थरी-थरीको दाल चामल खाएको युवा हिमाल जान मन गरेपछि तोग्बेले फेरि सोध्यो, ” सार !माथि (हिमाली भेग ) खाना यताको जस्तो छैन । तपाईँ के खान्छा (खान्छ) हो ?” युवक मुस्कुरायो र भन्यो “म तपाईँ जे खान्छ त्यै खान्छु नत्र मलाई होटेलमा पुर्याइदिनू नि !”
तोग्बे मुस्कुरायो, तलको मान्छे साथी बनाउने तोग्बे पहिलो थियो होला । माथि हेर्न जाने पनि तलको यही युवक पहिलो हुँदो हो । युवकले आफ्नो नाम शरण भएको तोग्बे र हिमाली साथीहरूलाई सुनायो । त्यो साँझ युवकले नै सबैलाई होटेलमा लगेर मासु भात खुवायो र भोलि बिहान ऊ त्यही होटेलअगाडि तोग्बे र साथीहरूलाई कुरेर बस्ने बताएपछि सबै जना छुटे ।
बिहानको झुल्के घाममा तोग्बे र साथीहरू होटेलअगाडि पुग्दा शरण होटेलअगाडि बसिरहेको थियो ।
शरण मुस्कुरायो र गफ गर्दै तोग्बे र साथीहरूसँग हिँड्न सुरु गऱ्यो । पानी परिरहेको थियो, कोसीमा बाढी आएको थियो । कोसी किनारबाट पैदल हिँड्न मुस्किल थियो । भिर र अप्ठ्यारो बाटो हुँदै तोग्बेहरू महिनौँ दिनमा गाउँमुनिको जङ्गलमा पुगे । शरणलाई उचाइ चढ्न यत्ति कठिन भयो कि ठाउँ-ठाउँमा हात पक्रिएर तान्नुपरेको थियो ।
उचाइसँगै ‘थ्यो खोला’को बहाव पनि कम हुँदै थियो । खान्डो र धुपीका बोटहरूबाट निरन्तर पानी झरिरहेको थियो । खरी जुकाहरूले शरणलाई मात्र टोकेन तोग्बे र सबै साथीहरूलाई टोक्यो । सबैले जङ्गल पार गरेर बादलपारिको उपल्लो मुस्कुराएको हिमाल र सुन्दर त्योङ्गी गाउँ देखे, शरण मक्ख पर्यो ।
तल बाटामा बाढी पहिरो छिचोलेर माथि सुन्दर हिमालको काखमा पुगेको शरण, तोग्बे तल सहरमा टोलाए जसरी नै टोलायो । सेता बुकी फूलहरू फुलिरहेका थिए , गाउँमा मानेहरूमा लुङ्गदार फरफराउँदै थिए । याक र भेडा च्याङ्ग्राहरू खर्कमा चरिरहेको थिए । आँगनछेउको खेतमा राता-राता स्याउ फलिरहेका थिए । ससाना नानीहरू र गाउँलेहरूले शरणलाई नौलो मानेर हेरे । सायद जिन्सको पाइन्ट दुइटा हातले ट्रेकिङ स्टिक टेकेर चस्मा लगाएको घाँटीमा क्यामेरा भिरेर आउँदै गरेको तलको मानिस , गाउँ नछोडेका त्योङ्गीवासीहरूले खुब चाख दिएर हेरिरहे । धाराबाट आउँदै गरेको मेन्दोसँग तोग्बे र शरणको जम्का भेट भयो । तोग्बेले यसपटक मेन्दोलाई तलबाट ल्याएको निलो सल ल्याइदिएको थियो । बाटैमा तोग्बेले त्यो सल मेन्दोलाई दियो । शरणले मेन्दोको २-४ वटा फोटो खिचिसकेको थियो । लाजले मुख छोप्दै मेन्दो घरतिर लागिन् ।
तोग्बेको घरमा केही दिन शरण बस्यो, ऊ बसुन्जेल गाउँलेहरू उसलाई हेर्न आउँथे । तोग्बे र शरण भएर थ्योगी चुचुरामा चढेर हिमालका सामुन्ने फोटो खिचे, हिउँ ताल, गुम्बा र गाउँको फोटो खिचे । घोडा चढेर मेन्दो ‘थ्यो खोला’ पारि जाँदै थिइन् । थ्योगी पहाडबाट हेर्दा निलो आकाशमुनि सेतो बादल र सुन्दर हिमालको काखमा सेतो घोडामाथि चढेको मेन्दोको कालो लामो केश हावासँग लहराउँदै थिए । यो देखेर शरणको मुखमा पानी रसाएको थियो ।
केही दिनपछि शरण गाउँको लामा ज्योज्योको घरमा सर्यो । लामाकी छोरी मेन्दो र शरणले गाउँमा घुमफिर गरे घोडा चढेर ‘थ्यो खोला’ पारिसम्म गए रे! भन्ने गाउँमा गाइँगुइँ चल्यो । हुन पनि कलकलाउँदो जवान मेन्दोको राता गाला र कालो केशमा शरण चुर्लुम्म डुबेको थियो । तलको सहरमा बस्ने मान्छेसँग मेन्दो पनि नराम्ररी मायाँमा फस्छे भन्ने तोग्बेले सोच्न सकेको थिएन । मेन्दोले तोग्बेले दिएको निलो सल ‘थ्यो खोला’पारि भुलेकी थिई । मेन्दोले सल खुब खोजी तर भेटिन । तोग्बेले सल खोलापारि भेटेर धोएर सुकाएको र आफूसँगै राखेको थियो । शरणले मेन्दोको कोमल शरीरमाथि मायाँ प्रेमको बहानामा बिहे गर्छु भनेर पटक-पटक यौन प्यास मेटायो । करिब महिना दिनपछि मेन्दोको छुई (महिनावारी) रोकिएको कुरा शरणले थाहा पायो र क्यामेराको ब्याट्री सकिएकाले तल गएर सबै फोटाहरू निकालेर मेन्दोसँग बिहे गर्न घरबाट आफन्त लिएर आउने वाचा गर्यो ।
फर्किने बेला दुवै जना खुब रोए । शरण तल झरेपछि मेन्दोले तोग्बेलाई बारम्बार अब तल जाँदा मलाई पनि लग् है भन्थी । मेन्दोको भुँडी उठ्न थालेको थियो साँझ झिसमिसमा गाउँमा तलबाट शरण र अरू ४-५ जना मानिसहरू आएका रहेछन् । शरणले तोग्बेलाई मुसुक्क हाँसेर “साथी म त फेरि फर्केँ नि “ भन्यो । तोग्बे र लामाको घरमा पाहुना हेर्ने र पहिले खिचेको फोटो हेर्नेको भिड नै लागेको थियो । यतिका धेरै तलका मानिस गाउँमा आएको पनि यो पहिलोचोटि थियो । अब त घरजम गरेर बस्ने सुरमा मेन्दोले सपना बुन्न थालेकी हुन्छे । शरण तल गएदेखि मेन्दोले सायदै कुनै रात सन्चोले सुतेकी हुँदो हो । मेन्दो र शरणको मिलन भएपछि तोग्बे पनि एक मनले खुसी हुन्छ ।
शरणबाहेक अरू पाहुनाहरू केही दिन बसेर तराई झरे । शरणले मेन्दोलाई आज के खुवायो कुन्नि ! मेन्दोको बाहिरै बास छ । नराम्रोसँग तल्लो पेट दुखेकाले मेन्दोलाई असह्य पीडा भएको थियो । नभन्दै रगत बग्न थाल्यो , यस्तो पीडा देखेर तोग्बेले आफूले राखेको निलो सलले मेन्दोको कम्मरमा कसेर बाँधिदियो । केहीछिनपछि मेन्दोको सपनाको खुसी तुहियो । ३ महिनाको गर्भ खेर फालेपछि पनि शरणले मेन्दोसँग मायाँको नाटक गरेर अरू २ महिना बितायो । लामा दाइले शरणसँग मेन्दोको कुरा छिनिदिए । त्यो साँझ तोग्बे गाउँमा बसेन ।
केही दिनपछि पटक-पटक तलबाट अरू पनि मानिसहरू आए । सबैले शरणको साथीहरू हुँ भन्थे , शरण र मेन्दोले गाउँमा सानो पाहुना घर बनाए तलबाट आउनेहरू त्यहीँ बस्थे । तोग्बेको पनि पाहुना घर निर्माण सकिएको थियो । पाहुनाहरू आउने जाने बढेसँगै जाडो लाग्न सुरु गर्यो । तोग्बे पहिलेजस्तै अरू साथीहरूसँग हिमालको कोसेली बेच्न च्याङ्ग्रा र भेडाको बथानसँग तलतिर झर्यो । शरण पनि उनीहरूसँगै तल झर्यो ।
तोग्बे र साथीहरू फर्किने बेलासम्म पनि शरणसँग भेट भएन । उनीहरू आवश्यक सामानहरू लिएर हिमाल फर्किए तर शरण फर्कियो कि नाइँ पत्तो पाएनन् । गाउँमा खान्डो फुलेर झपक्कै थियो । तोग्बे र साथीहरूसँग केही नयाँ मान्छेहरू त्योङ्गी गाउँ पुगे । मेन्दोको एकोहोरोपनले गाउँमा खासै खुसीयाली थिएन । याकको आलो रगत खाने चाडमा पनि मेन्दो आइन बरु पाहुना घरको झ्यालबाट ‘थ्यो खोला’को पारि मानेलाई हेरेर टोलाइरही । पहिलोचोटि पुरुष (शरण )ले मेन्दोको शरीरमाथि खेलेको त्यहीँ मानेको पछाडि थियो । मेन्दोको आलो रगतले लतपतिएको पाङ्गदेन अझै त्यो मानेपछाडि पर्खालको चेपमा हुँदो हो ।
समय बिस्तारै कट्दै गयो । तलबाट आउने पाहुनाहरू बढेसँगै माथि त्योङ्गी गाउँमा मेन्दोजस्ता अरू छोरीहरूको आलो रगत छोर्तेन , माने र गुम्बापछाडिका कुनाहरूमा गन्हाउन थाले । त्योङ्गी गाउँमा सात समुन्द्रपारिका मानिसहरू घुम्न आउन थाले । ३ वर्ष लामो पर्खाइपछि पनि शरण नफर्किएपछि मेन्दोको पिर देख्न नसकेको तोग्बेले मेन्दोलाई आफ्नो गल्तीले तलको मान्छेले धोका दिएको कुरा सुनायो र मेन्दोलाई आफ्नी श्रीमती स्वीकार गर्यो ।
त्योङ्गी गाउँमा अरू छोरीहरूको जवानीमा पनि तलका मानिसहरूले खेलेर छोडेपछि गाउँ आक्रान्त बन्यो । तोग्बेजस्ता युवाहरूले गाउँमा भेला डाकेर त्योङ्गी गाउँमा तलबाट आउने मानिसहरूको विश्वास नगर्न सबैलाई अनुरोध गरे । समय यस्तो भयो कि हिमाली त्योङ्गी गाउँमा अहिले धेरै मुलुकका पाहुनाहरू तलको मानिसहरूका साथ घुम्न आउँछन् । बिस्तारै गाउँका पाहुनाघरहरू होटेलमा विकास हुन थालेको छ । जङ्गलमुनि ‘थ्यो खोला’को दोभानसम्म त मोटर नै आउन थालेको छ । घर-घरमा सोलारबाट बत्ती बालिन्छ । च्याङ्ग्रा र याकहरू बिस्तारै कम हुन थालेका छन् ।
अहिले गाउँको चीज, छुर्पी बेच्न तल झर्नु पर्दैन, तलबाट मान्छेहरू माथिसम्म बोक्ने मानिस लिएर खरिद गर्न आउँछन् । खेतमा फल्ने “वा“को ठाउँमा तलबाट बोराको चामल ल्याइन्छ । अबको केही वर्षभित्रै त्योङ्गी गाउँसम्मै मोटरबाटो आइपुग्छ रे । सुन्दर ‘थ्यो खोला’को वरिपरि आज सिसा र प्लास्टिकहरूको थुप्रो लागेको छ । गाउँको पुरानो चालचलनमा समेत अत्यधिक उतारचढाव आएको छ । जङ्गलमुनि ‘थ्यो खोला’बाट बिजुली उत्पादन गरिएको छ रे । आफैँले बुन्ने गरेका कपडाहरू छोडेर तल सहरका जस्तै कपडाहरू लगाउने चलन बढेको छ । बच्चाहरू पढ्ने स्कुल गाउँमै छ ।
आज उमेरले तोग्बे ४४ पुगिसके, मेन्दो पनि ४० पुगिसकिन् । मेन्दोलाई अझै पछुतो छ तोग्बेजस्तो मायाँ गर्ने मान्छेलाई समयमा चिन्न नसकेर शरणजस्तो मान्छेसँग मन साटेकाले; बेला-बेला आँसु झार्छिन् तर तोग्बे त्यही पुरानो रातो रुमालले मेन्दोको हरेक थोपा आँसुलाई मायाँले पुछिरहन्छ । अहिले पनि त्योङ्गी गाउँमा तलका मानिसहरूको विश्वास नगर्न छोरीहरूलाई सम्झाइन्छ । सम्झाउँदा सम्झाउँदै पनि त्योङ्गी गाउँका सोझा छोरीहरूको आलो रगत छोर्तेन र माने पछाडीको कुनाहरूमा गन्हाउँछ । त्यसैले तलबाट जाने हरेक पुरुषहरूको हाउभाउलाई त्योङ्गीजस्ता हिमाली गाउँमा शङ्काको घेरामा राखेर नियालिन्छ ।
समाप्त
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।