जेठो जुम्मन मियाँ र कान्छो फरजन मियाँको मुद्दाको सुनुवाइ हुँदै थियो ।

सर्वोच्च अदालतको कक्ष,  मान्छेहरुको भीड कोठाभित्र मात्रै होइन, चउरसम्म खचाखच भरिएको थियो । अझ, सडकमा पनि लर्को लागेर आउँदै थिए, स्त्री, पुरुष, युवा, अधबैंसे, बृद्ध ।

मुद्दा पनि अनौठो ! आमा चाहिँ उहिल्यै मरिसकिन् तर मरेकी आमा मालपोत कार्यालयमा आइन्, लेखनदाससित कागज लेखाइन्, जेठो जुम्मनलाई दिएको घडेरीबाट बेदखल गरी कान्छो फरजनलाई दिइन्, मालपोत हाकिमका अगाडि आएर बयान दिइन् । अहिले त्यो घडेरीको जग्गामा लालपूर्जाको आधारमा दुवैले दाबी गरेका छन् । दुवैसित लालपूर्जा छ ।

मरेकी आमाले कान्छो फरजनलाई कसरी घडेरी लेखिन् ?

एक थरीले भने – उनी भूतिनी भएर आएकी थिइन् अरे । अर्कोथरीले भने – होइन, कान्छो लुकेर आएको होला र बुढिया मर्ने बेला छाप लिएर गएको होला ।

यस्तो त हुनै सक्तैन । दुनियाँलाई थाहा छ, न बुढिया अन्तिम साससम्म फरजनको घर गइन् न फरजन नै कहिल्यै घरमा आयो । कान्छोपट्टिबाट त बुढियाको मन पहिले नै भाँचिसकेको थियो । त्यसैले जीवनकालमा आफ्नो नाउँमा रहेको घडेरी जग्गा लेख्ने त कुरै भएन । भूतिनी भएर आएको कुरामा न न्यायाधीशलाई विश्वास छ, न भीडका अधिकांश व्यक्तिलाई । अनि त यो चमत्कार भयो कसरी ? बूढी औंलाका छापहरूको फोरेनसिक जाँच भएर आइसकेको छ र त्यसमा स्पष्ट लेखिएको छ, बूढी औंलाका छापहरू बुढियाकै हुन्, दुवै लालपूर्जामा । त्यसमा सन्देह गर्ने ठाउँ छैन ।

अनि ? बुढिया र फरजनमा जब बोलाचान नै थिएन, दुवै शत्रुजस्ता थिए भने जग्गा कसरी उसको नाममा पास गरिदिइन् ?

सुनुवाइको पहिलो दिन नै न्यायाधीशलाई लाग्यो, यस मुद्दाको सुनुवाइ हुँदाहुँदै ऊ पागल हुन्छ । जेठो जुम्मन मियाँका वकिल थिए- प्रेम सापकोटा । उनी भकभके थिए, कुरा प्रष्टसँग राख्न असफल भइरहेका थिए । त्यसैले न्यायाधीशले अलिक कड्‌केर भन्नु प र्‍यो, ‘वकिल सा’ब, कुरा फिटिक्कै बुझिएन ।

फेरि प्रष्टसँग भन्नोस् ।’

‘हा…ह… हजुर । जु..जु.. जुम्मन मियाँ र फ..फ.. फरजन मियाँ दुवै सहोदर दाजुभाइ हुन् । मरेकी बूढीआमाको नाउँ थियो राबेया । जु…जु… जुम्मन र फ…फ… फरजनमा छ- छत्तीस सालमै अ… अंशबन्डा भइसकेको थियो । वर्षौं..देखि… दा… दाजुभाइमा बोली… चाली थिएन । दुवै छु… छुट्टा छुट्टै घर.. बनाएर बसेका थिए । दु… दुवैका घर… मा.. ए… एक किलोमिटरको दूरी… छ । बुढिया… ले का… कान्छो छोरोलाई फु… फुटेको आ… आँखाले पनि हेर्न… सक्तैन थिइन् ।’

कान्छो फरजनका वकिल लम्बोदर श्रेष्ठ जुरुक्क उठे र भने, “यो सरासर गलत हो श्रीमान् ! बुढियाले आफ्नो कान्छो छोरोलाई प्राणभन्दा बढी माया गर्नुहुन्थ्यो । संसारलाई थाहा छ, छोराहरूमा कान्छो कति प्यारो हुन्छ ?”

“तपाईं बस्नोस् । न्यायाधीशले आदेश दिए, हो, वकिल सा’ब, सापकोटाज्यू, तपाईं भन्नोस् ।”

“ध… धन्यवाद श्री… श्रीमान् । यो पापी फ… फरजनले आ… आफ्ना भान्जा भाइ बहिनीलाई आ… आफैंले ज.. जन्माए र आ… आफ्नो ज्वाइँ आफैं… बने । सत्ते, सत्ते, ध… धरोधर्म हजुर ।”

न्यायाधीश फेरि रिसाए, “तपाईंले अदालतमा यसरी गाउँखाने कथा सुनाउन मिल्छ ? तपाईंको मानसिक अवस्था त ठीक छ ?”

“हजुर, ठीक छ । यो मे…मेरो मु… मुवक्किल जु… जुम्मनको भाइ फ… फरजनले मेरो दिमाग एक… एकदम खराब गरिदिएको छ श्री श्रीमान् ! फ… फरजन पहिले आफ्नी माइजूलाई फकाएर भा… भागेको थियो र लो… लोग्ने स्वास्नी भएर स्याङ्जामा बस्यो । ठूलै… ह… हल्लीखल्ली भयो । त्य… त्यसबाट ज… जन्मिएका एउटा छोरो… र एउटी छोरी अ… झै बाँचेका छन् । अब आ… आज्ञा होस् श्री श्रीमान्, यो पापीले आफ्ना भा… भाइ-बैनी आफैंले जन्माएको ठहर्छ कि ठहर्दैन ? फेरि इस्लाम धर्मले… दि दिएको स्वीकृतिअनुसार यसले आ… आफ्नी ठू… ठूली आमाकी छोरीसित आ… आफैंले बिहा गर्यो, अनि त, आ… आफ्नो ज्वा… ज्वाइँ आफैं भ… भयो कि भ… भएन श्रीमान् ?”

दर्शकदीर्घामा कल्याङमल्याङ शुरू भयो र ठूलो अट्टहास गुन्जियो ।

“अडर ! अडर !!..” न्यायाधीशले टेबलमाथि काठको हतौडा ठोक्न थाले, “तपाईंहरू चूप लागेर बस्नोस्, केस धेरै गम्भीर छ ।” न्यायाधीशले केसको गम्भीरताभन्दा पनि बढी गम्भीरता आफ्नो लाम्चो अनुहारमा साइनबोर्ड जस्तो झुन्ड्याए ।

केही बेरसम्म न्यायाधीशले शान्त र गम्भीर बनेर हिसाब किताब गरे, औंलामा, ‘आफ्ना भाइबैनी आफैले जन्माए, फेरि आफ्ना ज्वाइँ आफै भए ।’

फेरि के भयो कुन्नि, त्यो काठको हतौडाले आफ्नो निधार आफैले ठोक्न थाले, ‘अनि सापकोटाज्यू, फरजन मियाँ आफ्ना दाजुको घरमा आवतजावत गर्दथ्यो कि गर्दैनथ्यो ?’

“ना… नाइँ… ह… जुर । मरे पनि जा.. जानेवाला थिएन… ह… हजुर । फरजन पापीले यति थूक… आ… आफ्नी आमाको मुखभरि फालेको थियो र हि… हिँडेको थियो ।” वकिल सापकोटाले दुवै हातको आकारले थुकको मात्रा बतायो ।

वकिल लम्बोदरले फेरि प्रतिवाद गर्न खोजेको थियो र न्यायाधीशको हप्की खाएर थ्याच्च बस्यो ।

“धन्यवाद… श्री… श्रीमान् ।”

जब राबेया बुढियालाई कान्छो छोरोसित यस्तो शत्रुता थियो, उनले कसरी आफ्नो नाउँमा रहेको घडेरी उसलाई लेख्न सक्थिन् ?

“लौ, बस्नोस् । अब वकिल लम्बोदरज्यू, यहाँको पालो ।”

“श्रीमान् केस प्रष्ट छ, विद्वान् वकिल सापकोटाज्यूले लालपूर्जाको आधारमा घडेरी जग्गा जुम्मन मियाँको हो भन्नुहुन्छ भने यस्तो लालपूर्जा त फरजनसित पनि छ ।” लम्बोदर वकिलले एउटा लालपूर्जा न्यायाधीश र दर्शकदीर्घा दुवैतिर हल्लाए, “हजुर, फोरेन्सिक विभागले पनि साबित गरेको छ, यसमा भएका छाप असली हुन् ।”

न्यायाधीशले दुवै हत्केलाले दुवै कन्सिरी जोडले थिचे, दुख्ने गरी र सन्निपातको रोगी बडबडाउन थाले, “ए, रूक । साले दिमागमा कल्ले सिलिफ्यान झुन्ड्याइ दिएको छ फन्फनी घुमेको घुमेकै छ । यस्तो साले केस जिन्दगीमा फेला परेन । दुवैसित प्रमाण छ, अनि जग्गा कसको ? थुक्क मोरो दिमाग, खाली चक्कर खाएको छ ।”

एक छिनपछि त्यसले त्यो काठको हतौडा फेरि दिमागमा ठोक्न थाले त्यहाँ नाचेको पंखा रोक्न । घरीघरी दुवै लालपूर्जाका छाप पावरदार चस्मा नजिक ल्याएर मिलाइयो, काटिकुटी एउटै छाप ।

यस मुद्दाको तहकिकातका लागि एस.एस.पी.को कमानमा एउटा समिति गठन गरिएको थियो । त्यो प्रतिवेदन आइसकेको कुरो एउटा सिपाहीले आएर खासखुस सुनायो र गयो । आफ्ना दुवैतिर उभिएका प्रहरीमध्ये एउटालाई नजिक बोलाएर श्रीमानले साउती गरे ।

प्रहरी जोरले करायो, “एस.एस.पी. तोरणबहादुर गुरुङ…”

भीडलाई चिर्दै एसएसपी तोरण सामुन्ने उपस्थित भए र न्यायाधीशको टेबलमा रातो कपडामा बेरिएको एउटा पोका सारे । न्यायाधीशले सबैका सामुन्ने पोका खोले, त्यसबाट एउटा काटिएको हात निस्कियो । न्यायाधीशले त्यो हात समाते र भीडलाई सम्बोधन गरे, “यो मरेको मान्छेको छपक्क काटिएको हात हो । जुम्मन मियाँ, तपाईं यहाँ आउनोस् ! यो हात चिन्नुहुन्छ ?”

वर गएर त्यो हात देखेपछि जुम्मनले छाती ठटाउन थाल्यो र कंकला शब्द गरेर रुन थाल्यो, “हजुर, माइ बाप । यो मेरी आमाको हात हो कल्ले काट्‌यो ? कसरी काट्‌न सक्यो होला असत्तीले मेरी आमाको हात ? जुम्मन ह्वाँ ह्वाँ रुँदै थियो र अदालतले जतिसुकै रोक्न खोजे पनि रोकिँदैनथ्यो !”

“हेर्नोस् श्रीमान्, हेर्नोस्, अलिकति बाँकी रहेको मासुमा उर्दूमा सफासित लेखिएको छ- ‘राबेया । ..यो गोदना हेर्नोस्… हेर्नोस् यो गोदना र लेखिएका हरफ ‘राबेया’ ।”

किन, कसरी, कहिले, कहाँ, कसले काटेको होला बुढियाको हात ? दर्शकमा खासखुस चलेकै बेला न्यायाधीशले बोल्न थाले, “तहकिकातबाट के देखियो भने बुढिया आमालाई मरेपछि कब्रिस्तानमा गाडियो । गाडिएकै राति मध्य रातमा यो पापी छोरो फरजन आफ्ना आपराधिक प्रवृत्तिका साथीहरूलाई लिएर कब्रिस्तान पुग्यो । सबैले छिटोछिटो कब्र खने, बुढियाको लाश झिके र हतारमा दुवै हात छपक्क काटेर कब्रमाबुढियालाई पुरेर, हात घर ल्याए । हातबाट त्यहीँ छाप लिन थाल्दा ढिलो हुन सक्थ्यो, पुलिस वा स्थानीयबासी त्यहाँ पुग्न सक्थ्यो भनेर यो अधर्मीले हातै काट्यो र धमाधम जहाँजहाँ छाप लगाउनुपर्ने थियो लगायो । यसमा मालपोतका हाकिम र कर्मचारीको पनि मिलिमतो देखिन्छ ।”

भीड स्तब्ध भयो ।

“यी दुइटामध्ये एउटा हात पोकाभित्रै छ । यी दुवै हात फरजनको घरबाट बरामद भयो, त्यहाँ ‘फरमोलिन’ भन्ने औषधिमा डुबाएर माछा पाल्ने सीसाको भाँडोमा राखेका रहेछन् ।”

फरजन औंलाको रोगीझैं बेन्चमा थुरथुर काम्दै थियो । मार, मार, साले पापीलाई मार’ भन्ने आवाज चारैतिरबाट आउन थाल्यो ।

“अडर ! अडर !!’ न्यायाधीशले काठे हतौडा ठोक्यो, “यो पापीले जसरी मरेकी आमाको हात काट्यो, त्यसरी नै यसै अदालतमा सबैका सामुन्ने, जिउँदैमा यसका दुवै हात छपक्क काटेर कुकुरलाई ख्वाइदिनुपर्छ भन्ने यस अदालतले फैसला सुनाउँदछ ।” एकछिन सबैका सास बन्द भए ।

जुम्मन मियाँलाई दुई जना जखमले सिपाहीले इजलासमाथि उभ्याए ।

देब्रे हत्केलामा नाङ्गो खुकुरी ओल्टाइपल्टाई धार लगाउँदै एउटा यमराज जस्तो कालो मानिस, कानमा कुन्डल लगाएको र टाउको मुडुलो पारेको, राता आँखा नचाउँदै माथि उक्लियो । टेबलमा फरजनका दुवै हात तन्काएर राखेपछि त्यो कुन्डले यमराजले खुकुरी उजाई हात छप्काउनै लागेको थियो कि अदालत र वरिपरिको भुइँ र विशाल भवनहरू थर्काउँदै फरजन करायो, ‘खबरदार, पर्खनोस् । न्याय पाऊँ श्रीमान् । मरेकी आमाको मुर्दा हात काटे बापत मेरा हात काटिन्छन् । मलाई मन्जुर छ, तर सत्र अठार हजार मान्छेका गर्दन काटेर रजाइँ गर्नेहरूका लागि के निसाफ छ हजुर ?? निसाफ पाऊँ श्रीमान्, निसाफ पाऊँ ।”

भीड कराउन थाल्यो, “हो श्रीमान् ! अब निसाफ पाउने बेला आइसकेको छ ! मान्छेले मान्छे मार्नु के निसाफ हो श्रीमान्, चाहे त्यो राजनीतिकर्मी होस् वा धर्मको ठेकेदार ??” भीडका प्रश्नहरूका भाला बर्सिन थालेपछि न्यायाधीश चूप लागे र “अडर-अडर” भनेर भीड शान्त गराएपछि सुस्तरी बोले, “तपाईंका प्रश्नका जवाफ मैले होइन, नयाँ पुस्ताले दिने छन् । अहिलेलाई यो मुद्दा मुल्तवीमा राखिन्छ ।”

यति भनेर न्यायाधीश मुख छोप्तै जुरुक्क उठे र इजलासको कारबाही स्थगित भयो । उनी पहिले माओवादी पार्टीका कानूनी सल्लाहकार थिए ।

(राजेन्द्र विमलको कथासंग्रह ‘सरबरिया टोल’बाट)