“खै, जति गरे पनि नेपालमा बसेर प्रगति गरिएला जस्तो छैन । बरु विदेश जान्छु है ।” श्रीमानको यस्तो प्रस्तावले अनुश्रुति अचम्ममा परिन् ।
“अहँ । बरु जस्तोसुकै दुःख झेल्न तयार छु, तर तिमीलाई विदेश जान दिन्न ।” उसले उत्तर दिई । उसले यसरी भनी मानौँ ऊ प्रस्तावमाथि प्रतिक्रिया हैन फैसला सुनाउँदै छे ।
इलामको एउटा गाउँमा धनी परिवारमा वैभवको जन्म भएको थियो । पारिवारिक लाडप्यारमा हुर्कियो ऊ । दुःख, अभाव, पीडा, सङ्कट, आदिका बारेमा ऊ बिरलै जान्दथ्यो । या त भनौँ ऊ सामान्य मानिसको जीवनका तमाम रङहरूका बारेमा अनभिज्ञ थियो ।
वैभवका बाबा गाउँका सामान्य मानिस पढ्ने विद्यालयमा आफ्नो छोरा पढोस् भन्ने चाहँदैन थिए । त्यसकारण बाल्यावस्थाको शिक्षा वैभवले घरमै प्राप्त गर्यो । पछि उसलाई शहरको राम्रो विद्यालयमा भर्ना गरियो । विद्यालयमा वैभवको सान सौकत दिनप्रतिदिन बढोत्तरी हुँदै गयो । कारण एउटै थियो – वैभवको ‘वैभव’ अर्थात् धनसम्पत्ति । उसलाई ‘खर्च’को कहिल्यै अभाव भएन । पाएसम्मका साथीहरूलाई उसैले खुवाउँथ्यो, पिलाउँथ्यो । कहिले फिल्म हल त कहिले कन्सर्ट, सबै साथीहरू उसकै खर्चमा मजा लिन्थे । झुम्मिन्थे । ‘वैभवका लागि ज्यान दिनुपरे पनि दिन्छौँ’ भन्ने जमात निकै ठूलो थियो । यसरी आमोदप्रमोदमै उसको विद्यालयीय कालखण्ड बित्यो ।
कलेज पढ्दाताका हो उसले अनुश्रुतिलाई भेटेको । होचो कद, सुडौल शरीर, टम्म मिलेका हिमालझैँ सेता दन्त लहर, उतिकै सुन्दर केशराशी । जो सुकै पनि अनुश्रुतिलाई भेट्ने बित्तिकै मोहित हुन्थे । उनको बोलीचाली झन् मुग्ध पार्ने किसिमको । या त भनौँ ‘बत्तीसै गुणले युक्त’ । तर ‘साह्रै घमण्डी छे यो’ – साथीसङ्गतीहरू भन्थे । सायद् यही एउटा अवगुण चाहिँ थियो उनको ।
वैभव पनि आकर्षक जिउडाल भएको अग्लो केटो । भगवान्ले निकै फुर्सद लगाएरै कुँदेजस्तो । बिचमा सिउँदो बनाएर कपाल कोर्थ्यो । पकेटमा एउटा काइँयो सधैँ बोकेकै हुन्थ्यो । मौका मिलाएर केश चिटिक्क पारिराख्थ्यो । भाका हालेर गीत गाउनमा खप्पिस । कलेजमा हुने हरेक क्रियाकलापमा सक्रिय सहभागी हुन्थ्यो र कुनै न कुनै उपाधि त जितेकै हुन्थ्यो ।
कसोकसो वैभव र अनुश्रुति एकअर्कासँग नजिकिन थाले । भाग्यवश नै भनौँ, दुवैजना इलाम बजार पूर्व कुलधारा नजिकै बस्थे । कलेज जाँदा आउँदा पनि सँगै हुन थाले । शुरुशरुमा संयोगवश बाटोमा भेटिन्थे भने पछिपछि एकअर्काबिना कलेज नजाने भैसकेका थिए । समयसँगै वैभवले अनुश्रुतिलाई उनको डेरासम्मै पुर्याउने गर्न थाल्यो । तरपनि एकअर्कामा ‘माया’को ‘इजहार’ गर्न भने सकेका थिएनन् ।
“जन्मदिनको पावन अवसरमा तिमीलाई उपहार के दिऊँ ?” – सोधेकी थिई उसले ।
“उपहार पनि सोधेर दिन्छन् त, लाटी ?” उसले प्रतिप्रश्न गर्यो ।
“अँ, म त सोधेर दिने ।” उसले नखरा पार्दै भनी ।
“त्यसोभए म तिमीसँग मायाको उपहार माग्छु । हुन्छ ?”
कति पनि ढिला नगरी अनुले स्वीकार सूचक टाउको हल्लाई । यसरी आफ्नो जन्मदिनको उपलक्ष्य परेर वैभवले प्रेम प्रस्ताव राख्यो । निकै सुन्दर थियो उनीहरूको जोडी । साथीहरू भन्थे – तिमीहरूको जोडी लैलामजनू र राधाकृष्णको जोडीजस्तै हुनेछ ।
यता प्रेम झाँगिंदै गयो । उता वैभवको विवाहका लागि सुकन्याको खोजीमा नातागोता, आफन्त, इष्टमित्र सबै लागे । भेटेसम्मका आफन्तलाई वैभवकी आमाले उपयुक्त कन्या खोजी गरिदिन भन्थिन् । नजिक, टाढा, पूर्व, पश्चिम, उत्तर, दक्षिण । हरेक ठाउँबाट वैभवका लागि कन्याको सूचना आउन थाले । जिल्ला त के देशकै प्रभावशाली परिवारबाट समेत कन्याको चर्चा गरियो । घरमा विवाहको चर्चा चल्दा ‘अहिले विवाह गर्दिन, पढाइ पूरा गर्छु’ भनेर टार्थ्यो ऊ । एकदिन दुईदिन पो टारेर टर्यो । केही सिप नलागेपछि वैभवले आफ्नो वास्तविकता आमासामु खोल्यो । सायद् आमासँग गोप्य कुरा ‘शेयर’ गर्न सहज हुन्छ ।
“के हो ? तेरा बारेमा त म नानाथरी कुरा सुन्छु त । के यो साँचो हो ?” बाबाको कठोर आवाजमा निस्किएको प्रश्नसँगै मेसेन्जर च्याटमा गफिएर बसेको वैभवको सातो गयो । अचानक बसेको स्थानबाट उठ्यो । शून्यता, नीरव शून्यताले ढाक्यो, निकै बेर ।
“किन केही बोल्दैन यो ?” बाबाको कर्कश आवाजले ऊ झस्क्यो, मानौं नजिक कतै विस्फोट भएको छ ।
लडखडाएको मलिन आवाजमा उसले ‘हो’ भन्न सक्यो ।
आफैँसँग चकित छ ऊ, आज । सधैँको त्यो सान, निडरता, जोश सबैसबै कता बिलाए कता । ऊ आफूलाई निष्प्राण र निष्प्रभ भएको ठान्छ ।
“अनि, जातधर्म त मिल्छ होला नि ?” पुनः बाबाले प्रश्न तेर्स्याए ।
यो प्रश्नसँगै वैभवको डरको पारो झन् उठेर आयो । मुटुको धड्कन बढ्न थाल्यो, लाग्यो – मुटु कानमै आएर बजारिँदै छ । यति कायर त उसले कहिल्यै महसुस गर्नुपरेको थिएन ।
अनुसँगको पहिलो भेटदेखिका हरेक पल वैभवको मानसपटलमा तँछाडमछाड गर्दै झुल्किन थाले, मानौं ती घटनाहरूका बिचमा कुनै प्रतिष्पर्धा चलिरहेछ र ऊ त्यसको दर्शक हो ।
“हैन, के भो, किन टोलाइरहेछस् तँ ? मेरो प्रश्नको उत्तर दे ।” बाबा पुन गर्जिए ।
मिल्छ भनौँ कि मिल्दैन भनौँ, केही सोच्नै सकेन । अनायासै आवाज फुत्कियो – बाबा, ऊ नेवार हो ।
“थुक्क, गधा । तँलाई पढाएँ, बढाएँ । ठूलो मान्छे बन्लास् । कुल, जात र धर्मको इज्जत राख्लास् भनेको कहाँ फँसिस् ! यदि तेरो यही निर्णय अन्तिम हो भने तेरोलागि यो घरमा कुनै स्थान छैन ।” वाक्य यसरी निस्कियो मानौं बन्दुकबाट गोलीको वर्षा भो । यति भनेर बाबा त्यहाँबाट अलप भए ।
विभिन्न समयमा आमामार्फत बाबालाई सम्झाउने कोशिस नगरेको होइन, उसले । तर बाबा आफ्नो निर्णयबाट टसमस भएनन् । “बरु त्यो केटीबिना बाँच्न नसक्ने हो भने घर छोडेर जा” भन्ने सूचना आमामार्फत ऊसम्म आइपुग्यो ।
००००
विवाह गरेको सात वर्ष भैसकेको थियो । उपहारक रूपमा परिष्कृतको आगमन भैसकेको थियो । घरमा वातावरण राम्रो नभएपछि अनुलाई लिएर वैभव विराटनगरतिर लागेको थियो । घरमा सोझो सम्पर्क थिएन । तरपनि आमाले विभिन्न माध्यमबाट सरसामान, घिऊ, चामल आदि पठाइरहन्थिन् । अझ अनु सुत्केरी हुने बेलामा घरमा काम गर्ने रस्मिलालाई तिनचार महिनाको लागि पठाइदिएकी थिइन् । आमाको अगाध माया र घरको सम्झनाले वैभव बारम्बार पिल्सिन्थ्यो । लाग्यो दोहोरो मायाको घानमा ऊ पिसिइरहेको छ ।
कहिल्यै गर्नु नपरेको दुःख उसले गर्नुपर्यो, सहरमा । निजी कम्पनीहरूमा काम त पायो तर भने जति कमाई थिएन । परिवार सङ्ख्या बढेपछि खर्चको आकार पनि बढ्छ । सानो कमाइले दैनिक आवश्यकता त पूरा गर्न धौधौ भएको छ । साह्रोगाह्रो पर्यो भने के गर्ने ? फेरि पैसा भयो भने मात्र सामाजिक इज्जत र प्रतिष्ठा कमाइन्छ । पैसा र आफन्तका बीचमा पारस्परिक सम्बन्ध हुन्छ । भन्छन् – खल्ती रित्तो भएपछि आफन्तहरू पनि रित्तिँदै जान्छन् । यी र यस्तै कुराहरूले उसलाई विदेश जाने निर्णयमा पुग्न बाध्य पारेका थिए ।
००००
“बाबा, फर्केर आउँदा मलाई खरानी रङको स्विटर ल्याइदिनु ल ।” घरबाट हिँड्ने बेलामा तोतेबोलीमा परिष्कृतले भनेको थियो । अनुले पनि बिदाइको टीका लगाइदिइन् । भक्कानिएर निकै बेर रोइन् । निकै बिलौना गरिन् तर परदेश हिँड्न लागेको आफ्नो श्रीमानलाई त्यो अश्रुधाराले रोक्ने कुरा थिएन ।
एकातर्फ सुन्दर भविष्यको कल्पना, अर्कोतर्फ पारिवारिक जिम्मेवारीको बोझ । उसका पनि बिदाइका बेलामा पाइलाहरू गह्रौं भएका थिए । मन भारी भएको थियो । भविष्यको सुन्दर कल्पना त थियो तर अनिश्चितता पनि उत्तिकै थियो । आफ्ना प्रियजनहरूबाट टाढिनु निकै चुनौतीपूर्ण रहेछ, उसले सोच्यो । कसैलाई बिदेसिनु रहर होला, कसैलाई बाध्यता । हरेक दिनजसो नेपालको विमानस्थलबाट हजारौँको सङ्ख्यामा युवाहरू बिदेसिएको तितो यथार्थ वैभवका सामुन्ने थियो भने दैनिक काठको बाकसमा बन्द भएर आउनेहरूका सङ्ख्या पनि अत्यासलाग्दो थियो । विमानस्थलमा पुगेर सोच्यो, जे हुँदै छ, भलाइकै लागि हुँदै छ । चाँडै नै फर्किएर परिवारका साथ रमाउनेछु ।
कतारमा एक्सपोर्ट-इम्पोर्ट कम्पनीमा काम पायो, सम्झौतामुताबिक । कमाइ पनि ठीकै थियो । बेलाबेलामा घरमा चिठीपत्र आदानप्रदान हुन्थ्यो । अनुले पठाएको चिठी पढेर ऊ भावुक हुन्थ्यो । चिठीसँग प्राप्त तस्बिर हेरेर ऊ ‘नोस्टाल्जिया’मा धकेलिन्थ्यो । परिष्कृत पनि दिनप्रतिदिन ठूलो हुँदै गएको देख्थ्यो । तस्बिरलाई छातीमा राखेर निदाउँथ्यो । छिटै घर जाने र परिवारसँग भेट्ने कल्पनाले पुलकित हुन्थ्यो ।
००००
चिठीपत्र र कुनै सूचना नआएको झण्डै वर्षदिन भैसकेको थियो । अनुले निरन्तर चिठी सम्प्रेषण गरिरही, प्रत्युत्तरको आशामा । तर उसको आशामा तुसारापात त तब भयो जब छिमेकी रामानन्द एकदिन उसको घरमा आइपुगे । रामानन्द वैभवभन्दा अघि विदेश गएका थिए तर उनीहरू एउटै कम्पनीमा काम गरिरहेका थिए । रामानन्दको अनुहार हेर्दा मलिन थियो । उनले आउने बित्तिकै परिष्कृतलाई खरानी रङको स्वेटर थमाइदिए । लामो प्रतीक्षा पश्चात् प्राप्त गरेको खुशी थियो त्यो उसको । हतपत उसले त्यो स्वेटर लगायो । उसको शरीरमा ठिक्क । उसैको नापो लिएर सिलाएजस्तो ।
रामानन्दले अनुलाई वैभवका बारेमा बतायो । साथीको हत्याको अभियोगमा जेल परेर उसले मृत्युदण्ड पाएको कुरासमेत एकै सासमा बताइदियो । यो सबै सुनेर अनु मुर्छित भई । उसले बोकिराखेको चियाको कप झरेर चकनाचुर भयो ।
००००
एकदिन ऐना अगाडी आफ्नो रूप हेरेर अनु भावुक भैरहेकी थिई । सेतो साडीमा बेरिनु पर्दा उसलाई कम्ता नरमाइलो लागिरहेको थिएन । यो सेतो साडीसँगै उसको सबै थोक गुमेको थियो । पवित्र कार्यमा उसको उपस्थिति अपशकुनका रूपमा हेरिने थियो । अँगालोभरिको मायालु श्रीमान् गुमेपछिका हरेक रातहरू आँसुको आहालमा डुबेर बितेका थिए । समाजले हेर्ने नजर बदलिएको थियो । सेतो साडीले छोपेको पीडा र भविष्यको अन्धकार ऊबाहेक कसैले कल्पनासमेत गर्न सक्दैन थिए । आफूलाई पूरै निस्सहाय पाई ।
आफैलाई सोधी – गुलाबको फूल पनि सेतो हुन्छ, कमलको फूल पनि सेतो नै हुन्छ । पूजाआजामा सेतो कपडा चढाइन्छ । तर तिनीहरूलाई त समाजले अपवित्र भन्दैन त ! किन ? सोची – सायद् रङको पनि पारिस्थितिक मूल्य हुन्छ । सेतो रङको मूल्यलाई लिएर मानिसको नजरिया फरक हुन्छ ।
उता परिष्कृत साथीसँग आफ्नो खरानी रङको नयाँ स्वेटरको व्याख्यामा निमग्न थियो । भन्दै थियो – मलाई बाबाले माया गरेर पठाइदिएको हो यो स्विटर ।
अनुले सोची– आखिर कपडाको रङले जिन्दगीमा समेत फरक पार्ने रहेछ । छोरालाई खरानी रङले चरम खुशी दिएको छ भने मलाई सेतो रङले निराशा र पीडाको आहालमा डुबाइदिएको छ । उसको मन उद्वेलित भैरहेको थियो । अनुत्तरित प्रश्नहरू एकपछि अर्को गर्दै दिमागमा सल्बलाइरहेका थिए । बाबा अब यो संसारमा हुनुहुन्न भन्ने कुरा छोरालाई कसरी सुनाउने होला ? बाबाले यो संसार छाडेर जानुभयो भन्ने थाहा पाएका दिन परिष्कृतले के सोच्छ होला ? उसले यो स्वेटरलाई यसरी नै माया गर्ला ? बाबाको अभाव उसले पक्कै महसुस गर्ला । के म त्यो अभाव पूरा गर्न सकुँला ?
यी र यस्ता विविध कुरा सम्झेर उसलाई भाउन्न होलाजस्तो भो । कोठामा निसास्सिएझैँ लाग्यो । झ्याल खोली र बाहिर हेरिरही ।
नेपथ्यमा रामकृष्ण ढकालको गीत बजिरहेको थियो – जिन्दगीले यसरी धोका दियो कि, भाग्य आफ्नो चिन्नै सकिनँ ..।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।