
नरेश बुबाआमाको एक्लो छोरो,लगातार ५ दिदीहरू जन्मे पछि अन्तिममा जन्मेको । परिवारमा ऊ जन्मेको दिन बुबाआमाको मन हर्षले गद्गद भएको थियो । उसको पालन पोषणमा बुबा आमाले खुबै ध्यान दिएका थिए । छोरीहरूलाई जस्तो सरकारी स्कूलमा नभई बोर्डिङ स्कूलमा पठनपाठन गराएका थिए । धेरै वर्ष सम्म छोराको आश गरेर जन्मेको हुनाले होला, उसको सुविधाको लागि बुबा आमाले कुनै कसर बाँकी राखेका थिएनन् । उनीहरूको लागि भगवान्को सबै भन्दा ठूलो उपहार नै छोरा थियो । ऊ बुबाआमाको लाड प्यारमा हुर्किरहेको थियो । उसको हरेक मागहरू पूरा गर्न आमाबाबुले कहिल्यै कन्जुस्याइँ गरेनन् । ऊ घरमा आफ्ना दिदीहरूसँग झगडा गर्ने, साना साना कुरामा विवाद गर्ने जस्ता व्यवहार देखाउँथ्यो । उसका बाबु आमाले हरेक गल्तीहरूलाई सामान्य रूपले आँखा चिम्लिदिने गरेका कारण ऊ पुलपुलिएको थियो ।
बुबाआमाले आफ्नो छोरालाई राम्रो शिक्षादीक्षा दिलाउनको लागि नजिकैको बोर्डिङ स्कूलमा भर्ना गराई दिएका थिए । विद्यालयमा भर्ना भएदेखि नै उसले विद्यालयमा पनि घरमा जस्तै असामान्य व्यवहार देखाउन थालिसकेको थियो । यसबाट अधिकांश साथीहरू ऊसँग सन्तुष्ट थिएनन् । यदाकदा कोही ऊसँग मिल्थे भने ती पनि उसकै जस्तो स्वभावका हुन्थे । शिक्षक शिक्षिकाहरू सबै उसको व्यवहार देखेर आजित भइसकेका थिए । उसलाई सम्झाएर कुनै औचित्य नरहेकोले उसलाई विद्यालयबाट निकाल्ने निर्णय पनि शिक्षकहरूले नगरेका हैनन् । तर नरेशका बाबुको अनुनय विनयले गर्दा टिकिरहेको थियो । साथी-भाइहरूको टिफिन चोर्नु, कलम, कपी अनि कहिलेकाहीँ पैसा समेत चोर्नु उसको दिनचर्या भइसकेको थियो । कतिपयले उसको बदमासीको सम्बन्धमा बोल्ने आँट गर्दैन थिए, जो बोल्थे ऊ कुटाइको शिकार हुनुपर्थ्यो । ऊ दिनप्रति दिन पढाइमा कमजोर हुँदै गयो । उसलाई पढाइभन्दा बदमासी राम्रो लाग्न थालिसकेको थियो । अझ ऊ जस्तै बदमास साथीहरूको माझमा अनेक बिज्याइँ गर्न पाउँदा ऊ खुशी हुन्थ्यो । कहिलेकाहीँ स्कूल नजिकैको फलफूल बगैँचामा गई लटरम्म पाकेका फलफूलहरू चोरी खाने, रूखका हाँगाहरू भाँचिदिने, स्कूलबाट भागेर नजिकैको खोलामा पौडी खेल्ने, राजमार्गमा चल्ने यात्रुवाहक सवारी साधनमा झुन्डेर स्कूल भन्दा माथिको डाँडा सम्म जाने जस्ता क्रियाकलापहरू उसको रुचिको विषय बन्न थाल्यो । स्कूलको परीक्षाहरूमा ऊ कमजोर हुँदै गयो । घरमा बुबा आमाले भनेको कहिल्यै टेरेन ।
उसको बानीबाट आजित भएका छिमेकीहरूले कैयौं पटक उसले गरेका बिज्याइँको सम्बन्धमा उसका बुबा आमालाई कति जानकारी गराए । रपनि एक्लो छोरोले गरेको अनेकौं गल्तीहरूलाई बाबुआमाले पनि ढाकछोप गर्न तर्फ लागे । जेन तेन ५ कक्षा सम्मको अध्ययन पछि उसले विद्यालय जान समेत छोडिदियो । अनुशासनको दायराभित्र राख्न प्रयत्न गर्ने शिक्षक शिक्षिकाको नियन्त्रणबाट स्वतन्त्र हुन पुग्यो । ऊ आफूलाई बन्धनबाट मुक्त भएको महसुस गर्यो ।
पढाई बीचैमा छोडे पछि ऊ दिनभर खराब आचरण भएका मानिसहरूसँग हुन थाल्यो । नजिकैको बजारमा गई क्यारमबोर्ड खेल्ने, मादक पदार्थको सेवन गर्ने, तास खेल्ने जस्ता काममा अभ्यस्त हुन थाल्यो । हिन्दी सिनेमा लगायत अन्य अश्लील सिनेमा समेत हेर्ने काममा रमाउन थाल्यो । गर्दै जाँदा बुबा आमाले आफ्नो छोरो दिन प्रतिदिन बिग्रँदै गएको महसुस गरेँ । सम्झाएँ । तर उनीहरूको अर्ति उपदेश एक कानले सुनेर अर्को कानले उडाइदिन्थ्यो ऊ ।
नरेशको उमेर बढ्दै थियो, उमेर बढे सँगै उसको सङ्गत पनि ऊ जस्तै बरालिएर हिँड्ने समूहसँग हुन पुग्यो । ती समूहसँग मिलेर ऊ राजधानी शहर काठमाडौँमा छिर्यो । काठमाडौंको गल्लीहरूमा घुमिहिँड्ने उनीहरूको दिनचर्या हुन थाल्यो । दैनिक जसो उनीहरू कुनै न कुनै समूहसँग झगडा गरिहिँड्न थाले । यति मात्र नभएर अब उसको समूहले शहरका गल्ली गल्लीहरूमा सर्वसाधारणको साथमा रहेका गहना, सिक्री र नगद रकम समेत लुट्न थाले । बिस्तारै यस समूहको नाइकेको भूमिका नरेशको हातमा पुग्यो । उसको नाम शहरभरी कुख्यात लुटेराको रूपमा चिनिन थाल्यो । उसको नाम सुन्ने बित्तिकै सर्व साधारणको मनमा त्रासको सिर्जना हुन्थ्यो । राजधानीको प्रहरीको आपराधिक अभिलेखमा ऊ लगायतका समूहको नामावलीको फेहरिस्त चढ्न थाल्यो । ऊ लगायत उसको समूह विभिन्न आपराधिक घटनाहरूमा संलग्न रहेको अभियोगमा पक्राउ हुन थाले । केही समयको जेलको बसाइपछि फेरि त्यस समूहले सहरका विभिन्न स्थानमा चोरी, डकैती, लुटपाटजस्ता काम गर्न शुरु गरिहाल्थ्यो । टेलिभिजन, रेडियो, पत्रपत्रिका लगायतका सञ्चार माध्यमहरूमा उनीहरूको नाम प्रशस्त सुन्न, हेर्न र पढ्न सकिन्थ्यो । कुनै स्थानमा आपराधिक घटना घट्ने बित्तिकै प्रहरीले उसको समूह माथि सहजै अनुमान गर्ने अवस्था थियो ।
उसको आपराधिक कामको खबर सञ्चार माध्यमहरूले देशव्यापी बनाउन थाले पछि यो खबर उसको बाबुआमाले पनि थाहा पाए । उसका बाबुआमा अत्यन्त दुःखी भए । उनीहरूले आफ्नो छोरालाई शहरमा गई सम्झाउने_सुधार्ने सोचका साथ शहरमा आए । आफ्नो छोरालाई खोज्न काठमाडौं शहर छिरेका बाबु आमालाई छोराको बस्ने ठेगाना समेत थाहा थिएन । सम्पर्क गर्ने कुनै माध्यम नभए पछि उनीहरू गाउँको छिमेकी भाइ भतिजाहरूको डेरामा बास बसे ।
शहरमा दशैँको चहल पहल बढिसकेको थियो । बजारमा किनमेल गर्नेहरूको भिडभाड बढिसकेको थियो । आफ्ना गाउँले भतिज सँगै एक दिन शहरको गल्लीमा निस्कँदै गर्दा नरेशका बाबुको आँखा एक्कासि मानिसहरू जम्मा भई एक जना युवकलाई कुटिरहेको दृश्यमा पुग्यो । उनी बिस्तारै त्यस हूलको नजिक गएर बुझे । भीड आक्रोशित भई ती युवा माथि हात खुट्टा चलाइरहेको थियो । भीडमा कसैलाई पनि उसको कुरा सुन्न फुर्सद थिएन, उनीहरू लगातार कुटिरहेका थिए । तत्कालै त्यस ठाउँमा प्रहरी आइपुग्यो । प्रहरीले भीडलाई नियन्त्रणमा लियो । भीडबाट ती युवकलाई छुटाई प्रहरीले आफ्नो नियन्त्रणमा लियो । भीडमा एक जना महिलाको साथमा रहेको सुन र नगद लुटेको कारण युवकलाई कुटेको भन्ने जानकारी भएपछि कतै त्यो आफ्नै छोरा त हैन भनी प्रहरीको नजिक गई नरेशका बाबुले प्रहरीसँग सोधिखोजी गरे ।
प्रहरीको नियन्त्रणमा रहेको नरेशले आफ्ना बाबु आमालाई त्यस स्थानमा देखेपछि उसलाई सपना हो कि विपना हो भन्ने कुरा निर्क्यौल गर्न गाह्रो भयो । आफ्नो छोराको हालत देखेपछि उसलाई आकाशले थिचे जस्तो हुन थाल्यो । आफूले अनेक दुःख कष्ट गरी हुर्काएको छोरोलाई आफ्नै अगाडि दुनियाँले तमासा हेर्दै कुटेको दृश्य कसलाई पो राम्रो लाग्छ र ।
उनले प्रहरीबाट आफ्नो छोरा उम्काउन अनेक बिन्ती गरे,तर पनि उसको साथमा ती महिलाको लुटिएको नगद र सुन समेत फेला परेपछि प्रहरीले उसलाई आफ्नो कार्यालय तिर लिएर गयो । उनीहरू पनि प्रहरी कार्यालय तर्फ नै गए । प्रहरीले नरेशलाई नगद र गहना लुटपाट गरेको कसुरमा मुद्दा चलाउने कुरा गरे पछि उनका बाबुआमामा थप चिन्ता बढ्यो । उनका छोरीहरूको विवाह भइसकेको थियो । घरमा घर कुर्ने मानिस समेत थिएन । छोराको खोजीमा शहर आएको पनि एक हप्ता बित्न लागिसकेको थियो । गाउँमा दशैँको सर सामान जोहो गर्नु थियो । तर आफ्नो छोराको हालत देखेर उनीहरूको मनमा पिडाको आगो दन्किरह्यो । शहरमा गाउँले भतिजको कोठामा उनीहरू केही दिन बसे । शहरको महँगीमा धेरै दिन पाहुना लाग्नु पनि ठिक थिएन, फेरि ती भतिज पनि दशैंको जोहो गर्न गाउँ जानु थियो । बुढाबुढी सल्लाह गरेर १० दिन पछाडि गाउँ फर्केर गए । मनमा अनेक कुरा खेलाउँदै आफ्नो भाग्यलाई धिक्कार्दै बस्नु बाहेक अरू विकल्प उनीहरूको थिएन ।
पीडा पराई घर गइसकेका छोरीहरू सहित दुःख सुखको कुरा साट्दै भए पनि चित्त बुझाए, उनीहरूले चाड मनाए । दसैँ, तिहार बिते । एकादशीको दिन अचानक पल्लो गाउँको रत्नमान काठमाडौंबाट एउटा चिठी लिएर उनको घरमा आए । त्यो चिठ्ठी नरेशको थियो । नरेशलाई प्रहरीले मुद्दाको अनुसन्धान पछि अदालतले उनलाई धरौटी माग गरेको र धरौटी तिर्न नसकेको कारण जेलमा पठाएको, र धरौटी रकमको जोहो गरिदिनको लागि बुबा आमालाई अनुरोध गर्दै लेखेको पत्र थमाए रत्नमानले ।
सन्तान बैगुनी भएता पनि छोराछोरी प्रति बाबु आमाको मन भनेको भगवान्कै मन हुँदो रहेछ । नरेशका बाबुले भोलि पल्टै आफ्नो पुरानो गरगहना बेचबिखन गरी तोकिएको धरौटी बराबरको रकमको जोहो गरी काठमाडौंतर्फ लागे । काठमाडौं पुग्ने बित्तिकै धरौटी तिरेर छोरा निकाले । अनि सम्झाएर आफूसँगै लिएर गाउँ फर्के । धेरै वर्ष पछि आफ्नो छोरो घरमा आइपुग्दा आमाको मन खुशीले गद्गद भयो । त्यस राती अबेर सम्म परिवारमा कुराकानी चल्यो । आमा बुबाको माया देखेर नरेश पनि एकदम खुशी भयो । बुबा आमाले नरेशलाई अब घरमै दुःख सुख गरी बस्नु पर्छ, अब हामी बुढाबुढी भइसक्यौं भनी सम्झाए ।
नरेशले आफ्नो बुबा आमाले देखाएको मायाले गर्दा अब घर छोडेर नजाने र कुनै पनि खराब काममा नलाग्ने बचन दियो । नरेश बाबु आमा सँगै बस्न थाले देखी बाबु आमा त ढुक्क थिए तर गाउँलेहरू भने डराइरहेका थिए । कतै यसले गाउँमा वितण्ड त मच्चाउने हैन भन्दै कुरा गर्न थाले । जमघट, पानी पँधेरो, मेलापात सबैमा नरेशको बारेमा चर्चा हुन थाल्यो । कसै कसैले त उसलाई गाउँमा राख्न हुन्न, यसले गाउँको माहौल बिगार्छ भने । बाटोमा कसैले उसलाई देखे भने बोल्ने आँट हुँदैन थियो । ऊ आफू पनि गाउँले सँग बोल्न हिचकिचाइरहेको थियो । आफ्नो कुलतमा लागेको छोरा अहिले घरमै बसी सुध्रँदै गरेको महसुस गरी आमाबाबु निकै दङ्ग थिए ।
नरेशलाई आफ्नो पुरानो दिनहरू झलझली याद आइरहेको थियो । उसलाई शहरको वातावरणले चुम्बकले झैं तानिरहेको थियो । घर बसाइका दिनहरू पट्यार लाग्न थाल्यो । ऊ गाउँमा निस्फिक्री घुमेर हिँड्न सक्ने अवस्थामा थिएन, उसलाई आत्मग्लानि तथा हीनताबोध भइरहेको थियो । स्कुलमा सँगै पढेका साथीहरू कोही व्यापारी भए त कोही सरकारी जागिरे । सबै आआफ्नो गुजारा चलाइरहेका थिए । साथीहरूको माझ उसलाई लज्जाबोध भएको कारणले पनि गाउँघर भन्दा उसलाई शहरका गल्ली तथा चोकहरू नै प्यारो लाग्न थाल्यो । मन मिल्ने साथीहरू उसले शहरका गल्लीहरूमा नै भेट्न सक्दथ्यो । यस्तो माहौलमा ऊ आफ्नो घर र समाजलाई बन्द जेलसँग तुलना गरिरहेको थियो । हो पनि । यस्तो अवस्थामा उसले गाउँ छोडेर फेरि शहर पस्नु बाहेक अरू कुनै विकल्प देखेन ।
बुबा आमाले उसको मनको कुरा बुझ्न पनि कहाँ सक्थे र । नरेश बनावटी कुरा गर्न खप्पिस थियो । उसले बाबु आमालाई अब घरमै बस्ने बरु केही उन्नत जातका बाख्रा पालन गर्नु पर्ला त्यसको लागि आवश्यक रकमको जोहो गर्नुपर्छ भनी विश्वास दिलायो । आमाले पनि त्यसको लागि आफूसँग बचेको केही सुनको गहना बेचेर सहयोग गर्ने सोच बनाइन् । तत्कालै आफूले विवाहमा माइतबाट पाएको सुन बिक्री गरी आउनको लागि नरेशको हातमा थमाइदिइन् । नरेशको खुसीको सीमा नाघिसकेको थियो, उसले सुन बेच्न बजार गए पछि घर नफर्किने निधो गरिसकेको थियो, ऊ त केवल शहर जाने खर्चको जोहो गर्ने तयारीमा मात्र थियो । ऊ आफ्नो केही लुगाफाटाहरू सहित झोला बोकेर सुन बेच्ने निहुँ गरी बजारतर्फ हिँड्यो । उसलाई न घरको माया थियो न त बाबु आमाकै । गाउँमा ऊ अड्नै सक्दैन थियो, उसलाई त शहरका गल्ली गल्ली र चोकहरूले मोहनी लगाइसकेका थिए । ऊ सुन बिक्री गरी काठमाडौंतर्फ लाग्यो । हुइँकिरहेको बसको गतिसँगै ऊ आफूलाई स्वतन्त्र भएको अनुभूत गरिरहेको थियो । घरमा विना कुनै सूचना उसले शहर प्रवेश गरिसकेको थियो । यता घरमा आफ्नो छोरो फर्केर नआए पछि उसको बुबाआमा चिन्तित भए । प्रत्येक साँझ आफ्नो छोरा घरमा टुप्लुक्क आई पुग्ला भन्ने आशामा उनीहरूका दिन बित्न थाले ।
नरेशले शहरमा पुराना साथीहरूको साथ तुरुन्त पाइहाल्यो । उसको समूहमा रहेका साथीहरू नरेशको अनुपस्थितिमा खल्लो महसुस गरिरहेका थिए । उक्त समूहमा उसको आगमन सँगै अन्यहरूमा ऊर्जा थपियो । नरेश नै यस समूहको मुख्य सदस्य थियो । उनीहरू उच्च मनोबलका साथ फेरि पहिलाकै काम गर्न शुरु गरे । यसरी खराब काममा तल्लीन भइरहँदा उनीहरूलाई कैयौं पटक प्रहरीले पक्राउ गरी जेल पठाए, गल्ली गल्लीमा कति कुटाइ खाए त्यसको कुनै हिसाब किताब नै छैन । उनीहरूको चोरी तथा लुटपाट गर्ने कलामा दिनानुदिन निखारपन आइरहेको थियो । उनीहरूको खारिएको अनुभवले उनीहरूलाई कुटाइ खान र प्रहरीको पक्राउमा पर्नबाट जोगिन निकै मद्दत मिलेको थियो । नरेशले कहिल्यै पनि बाबुआमाको वचनहरूलाई याद गरेन । ऊ कुलत र शहरको मस्तीमा रमाई नै रह्यो ।
घरमा बुबाआमा उसको पिरले गर्दा दिनदिनै शिथिल हुँदै गइरहेका थिए । एक दिन घर नजिकैको रूखमा चढेर स्याउला झार्ने क्रममा उसको बुबा रुखबाट खस्न गई टाउकोमा गम्भीर चोट लाग्यो । गाउँलेहरूले तत्कालै अस्पताल पुर्याए । डाक्टरहरूले उनलाई बचाउन अनेक प्रयत्न गरे तर सफल हुन सकेनन् । नरेशका आफन्तहरूले यो दुःखद खबर नरेशलाई जानकारी गराउन प्रयास गरे तर उसको पत्तो लाग्न नसके पछि अन्तिम संस्कारमा केवल छोरीहरू मात्र सहभागी भए । छोरीहरूले नै आफ्नो संस्कार अनुसारको दायित्व पुरा गरे । अब घरमा सम्पूर्ण जिम्मेवारी बुढी आमाको काँधमा आई पर्यो ।
मनमा दया माया भएका छिमेकीहरूले बुढी आमालाई केही सहयोग गर्दथे । कोही कसैले भने अलच्छिनी बुढी भनेर कुरा काट्थे । उनलाई रातको निद्रा र दिनको भोक थिएन । आफूलाई माया गर्ने श्रीमानको मृत्युसँगै उनको जिउने सहारा लगभग चुँडिसकेको थियो । छोरीहरूले केही भरोसा दिएता पनि त्यो पूर्णता थिएन । दिन प्रतिदिन उनी बेसहारा हुँदै गएको अनुभूत गर्न थालिन् । शारीरिक तथा मानसिक कारण उनको स्वास्थ्य दिन प्रति दिन बिग्रिँदै गइरहेको थियो । एक दिन बिहान झलमल्ल घाम लागिसकेको थियो । पहिला पहिला गाउँका अरू मानिसहरू निद्रामै हुँदा दैलो खोली लिपपोत गर्ने बुढी आमाको दैलो उघ्रेको थिएन । बिहान अबेर सम्म पनि ढोका नखोले पछि बिहानै उनको आँगनमा मानिसहरू जम्मा हुन थाले । ढोका ढकढक गरेर उनलाई बोलाउने प्रयत्न गरे । तर भित्रबाट कुनै जवाफ नआएपछि गाउँलेहरू ढोका फोरेर भित्रको अवस्था बुझ्ने निर्क्यौलमा पुगे ।
ढोकाको चुकुल फोरेर केही मानिसहरू भित्र प्रवेश गरे पछि बुढी आमा भुइँमा लडिरहेको देखियो । उनलाई उठाउने प्रयास गरिएता पनि उनले यस धर्तीलाई छोडेर गइसकेकी कारण प्रयास विफल भयो । तत्कालै यो खबर उनको आफन्तहरू र छोरीहरूलाई गराए । शहरमा रहेको उनको छोरोलाई खोजी गरी खबर दिएता पनि आफ्नो आमाको मृत्युको खबरले उसलाई केही पर्बाह भएन । उसले झन् आफूलाई स्वतन्त्र भएको महसुस गर्न थाल्यो । यस दुःखद घडीमा पनि ऊ आफूलाई जन्म दिएकी आमाको अन्तिम संस्कारमा सहभागी भएन । जन्म दिने बुबा आमा प्रति उसको कहिले पनि सद्भाव र आदरभाव रहेन ।
गाउँलेहरूको सहयोगमा छोरीहरूले नै अन्तिम संस्कारको काम पूरा गरे । समाजमा नरेशले कुलंघार छोराको उपमा पायो । गाउँलेहरूले उनको बारेमा अनेक थरिका कुरा गर्न थाले । कतिले उसलाई सन्तानको नाममा कलङ्क भने त कतिले यस्ता सन्तान हुनु भन्दा त नहुनु नै जाती समेत भन्न भ्याए । समाजमा उसलाई खराब पात्रको रूपमा हेर्ने दृष्टिकोणमा झन् बढोन्तरी भयो । विवाह भइसकेका चेलीहरू आ–आफ्नो घरमा लागे । त्यसपछि नरेशको घरको ढोका सदाको लागि बन्द भयो । घरको स्याहार नभएपछि छाना र सिकुवाहरू चुहिन थाले, घरका गारोहरू बिस्तारै वर्षाको पानीले भत्किन थाले । सधैँ सफा हुने आँगनमा सिस्नु, बनमारा र झारहरूले भरिन थाल्यो । घरले पटक पटको झरी थाम्न नसके पछि ढलेर भग्नावशेष मात्र बाँकी रह्यो ।
यसको खबर गाउँलेहरू मार्फत पटक पटक पाउँदा पनि नरेशलाई कहिल्यै पनि आफ्नो गाउँ घरको याद आएन । दिन सधैँ एकनासको नहुँदो रहेछ । बिस्तारै नरेशको उमेर ढल्दै गइरहेको थियो, असन्तुलित खानपान, मादक पदार्थको सेवन र गैरकानूनी दिनचर्याले उसको स्वास्थ्यमा प्रतिकूल असर पार्दै गइरहेको थियो । उसलाई विभिन्न किसिमको रोगहरूले च्याप्न थालिसकेको थियो । केही औषधिमुलो गर्ने जमर्को गरेता पनि नियमित औषधिको सेवन गर्नुको साटो मादक पदार्थलाई निरन्तर रूपमा सेवन गर्ने आदत परिसकेकोले बिसको उन्नाइस पनि हुन सकेन । यस अवस्थामा कसैले पनि उसलाई सहयोग गरेन । दिन प्रति दिन ऊ थलिंदै गयो ।
ऊ ओच्छ्यानमा परेको पनि दुई महिना बित्न लाग्यो । अचानक उसलाई आफू जन्मेको गाउँको निकै याद आयो, आमाबुबा, दिदीहरू, नातागोता छरछिमेकका आफन्तहरूको याद उसको मानसपटलमा घुमिरह्यो । वर्षौं सम्म आफू गाउँ समाजबाट टाढिएको, बुबाआमाको अन्तिम संस्कारमा आफू सहभागी नभएको जस्ता कारणहरूले उसलाई आज पश्चात्ताप बोध भइरह्यो । सानो छँदा ऊ बिरामी परेको बखत बुबाआमाले मध्यरात सम्म पनि आँखा झिमिक्क नगरी चिन्तित भई हरसम्भव उपचारको प्रयत्नरत गरेको, टोल छिमेकका मानिसहरूले उसको हालखबर बुझ्ने गरेको, बोकेर अस्पताल सम्म पुर्याएको, टोल छिमेकमा कसैलाई अप्ठेरो पर्दा सबै जना एकजुट भई सहयोग गरेको दृश्यहरूले उसलाई झस्काउन थाल्यो । आफ्नो
सिरानी मुनि रहेको नोटबुकको पाना पल्टाउने क्रममा फोन नम्बर नोट गरी राखेको पानामा उसको आँखा ठूली दिदीको श्रीमान अर्थात भिनाजुको नाम र नम्बरमा गई अड्कियो । वर्षौंसम्म सम्पर्कमा नगरेको उसको भिनाजुलाई तुरुन्तै फोन गरी आफ्नो हालतको बारेमा जानकारी गरायो । दिदी भिनाजुले यो खबर अन्य नातेदार तथा छरछिमेकीमा पनि पुर्याएर तत्कालै काठमाडौं तर्फ लागे ।
जब उसले दिदी भिनाजुलाई देख्यो त्यस समयमा नरेशको आँखा रसाइरहेका थिए । उसको शरीर गलिसकेको थियो । ऊ बस्ने कोठा असरल्ल थियो । लुगाफाटा र ओछ्यान दुर्गन्धित थियो । दिदी भिनाजुलाई देखे पछि उसले आफ्नो जिन्दगीमा गरेका सबै गल्तीको प्रायश्चित गरिरहेको भान हुन्थ्यो, उसलाई मन फुकाएर आफ्नो दिदी भिनाजुलाई मनको बह पोख्न मन लागेको थियो तर उसलाई दोहोरो संवाद गर्न स्वास्थ्यले साथ दिइरहेको थिएन । भाइको यस्तो हालत देखेर दिदी पनि भक्कानिन थालिन् । उसलाई तुरुन्तै अस्पताल पुर्याइयो ।
डाक्टरको सल्लाह बमोजिम स्वास्थ्य सम्बन्धी विभिन्न किसिमको परीक्षणहरू गराइयो । डाक्टरले उसलाई पेटमा क्यान्सर भइसकेकोले अन्तिम अवस्था भएको जानकारी दिए तर पनि सास छन्जेल आश भनेझैँ जसरी पनि बचाउन आग्रह गरे । रात दिन दिदी भिनाजु उनको स्याहार सुसारमा खटिरहे । करिब एक महिनाको अस्पताल बसाइँमा उसले आफ्नो जन्मभूमि, बुबाआमा नातागोता छरछिमेक सबैलाई पटकपटक सम्झिरह्यो, उसले जीवनमा गरेका गल्तीको प्रायश्चितको लागि दिदी भिनाजुलाई केही भन्न खोजिरहेको थियो । तर उसलाई संसारमा धेरै बेर टिक्न गाह्रो भइरहेको थियो ।
अन्तमा डाक्टरहरूको पनि केही सिप चलेन । दिदी भिनाजुले खर्चिएको ठूलो मात्राको रकम र उनीहरूको स्याहार सुसारको कुनै औचित्य रहेन, ऊ यस संसारबाट बिदा भयो । खराब सङ्गतले अन्त्य भएको जिन्दगीको प्रत्यक्षदर्शी साक्षीको रूपमा रहेका दिदी भिनाजुलाई पहाडले थिचे जस्तो भई भक्कानो फुट्न थाल्यो । कुलंघार छोरोको अन्त्य भएकोमा गाउँलेहरूले समवेदना नभई कुलंघारबाट समाजले मुक्त भएको महसुस गरे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

