सूर्यका किरणले पश्चिम दिशामा पुगेर सिन्दुरे रङ छर्दै आजको दिनलाई बिदाइ गर्दै थियो । सधैँ त्यही बाटो त्यही काम, म सोच्ने गर्छु निश्चिन्त भएर आराम गर्ने दिन कहिले आउला ? मनमा आइरहने यी प्रश्नका दोहोरीका बीच ढोका खोलेर कोठाभित्र पसेँ । भान्सामा बिहान हतारमा छोडेर गएको जुठा भाँडालाई पानीमा भिजाइदिएँ । नानीका किताब, कापी, लगायतका सबै सामानहरू भुइँभरि छरपस्ट थिए । नानीको कामप्रति असन्तुष्टि जनाउँदै एक्लै भुतभुताउँदै बुहार्तनमा लागेँ । काम सँगसँगै मेरो मानसपटलमा पूर्व स्मृतिहरू एक एक गर्दै नाच्न थाले ।

यिनको उमेरमा म खेतमा काम गर्न आएका खेतालालाई आधा घण्टा हिँडेर खाजा पुर्याउन जान्थेँ र हजुरबुबाले बनाइदिनुभएको मकैसहितको एक अँगालो ढोडको भारी सकी नसकी बोकेर ल्याउँथेँ तर यिनलाई भने आफ्नो सामान कहाँ राख्नुपर्छ भन्ने पनि हेक्का छैन । म एउटाले कता कता भ्याउनु ? फलाक्दै आफ्नो बुहार्तनमा लागेँ ।

“हुन त उनको पनि के दोष छ ? एक्लै छिन्, केही  कुराको अभाव छैन । पुलपुल्याएर राखेपछि टाउकोमा टेक्नु स्वाभाविक नै हो नि ।” सोचेँ ।

“भान्सामा गएँ उही जुठा भाँडा, उही बुहार्तन..!”

“दिदी ! ए दिदी !” बाहिर ढोकाबाट कसैले बोलाएको आवाज आयो ।

हजुर हजुर, मैले एकै सासमा दुई पटक भनेँ । उही परिचित छिमेकी बहिनी स्रेस्ता रहिछन् ।

“के भयो, कस्तो सातोपुत्लो जाने गरी बोलाउनुभएको ?” हठात्मा भनेँ ।

“भर्खर कामबाट फर्कँदै थिएँ दिदी बाटोमा ताजा निहुरो बेच्न राखेको रहेछ, दिदीबहिनीलाई दुई दुई मुठा ल्याएको थिएँ । यतैबाट दिएर जाऊँ कि भनेर नि दिदी ।”

“ए ! किन दुःख गर्नुभएको ?”  भन्दै एक गिलास मन तातो पानी दिएँ । उनले घटघट पिइन् । “नानीहरू आइसके होलान्” भन्दै बाटो लागिन् ।

पख्नुहोस् भन्दै निहुरोको पैसा दिएँ ।

“ मलाई जहिले पनि टाढाको सम्झिनुहुन्छ” भन्दै पैसा मेरै हातमा थमाइदिएर सरासर कोठातिर गइन् ।

“यी बहिनी पनि अचम्मकै छिन् बा !”

स्रेस्ता गहुँगोरी, हिसी परेकी, लामो कपाल, अग्ली, ठुला ठुला आँखा, दुई सन्तानकी आमा भए तापनि कतै शरीर तल माथि नभएकी कुमारी जस्तै । उनी मलाई असाध्यै राम्री लाग्छ । उनका दुई छोरी असाध्यै संस्कारी छन् । बिहान मेरी छोरीसँग खेल्न आउँदा पनि “नमस्कार ठुली मुमा ! आराम होइसिन्छ ?” भनी सधैँ हाँसेर सोध्छन् । यी साना नानीलाई आफूले नै जन्माएको जस्तो लाग्छ ।

दुई छोरी – संस्कृति र सम्पदा मेरी छोरी रानीसँग बिहान खेल्न आउँछन् । उनीहरू मिलेर खेली खुसी भएको  देख्दा कताकता मनको कन्दरामा मैले छोरीमाथि अन्याय त गरिनँ ? दुई जना भएका भए घरमा कति रमाइलो गरी खेल्थे होलान् ?

झसङ्ग हुन्छु कहिलेकाहीँ ।

एक दिन उही बुहार्तनमा आफ्नो कर्तव्यमा खटिएको सिपाहीझैँ कर्तव्यनिष्ठ भएर खटिँदै थिएँ । संस्कृति र सम्पदा आएर, “ठुली मुमा आज आम्रो जन्मदिन, बुबाले हामीलाई विदेशबाट पठाइदिइसिएको लुगा, जुत्ता र हेडबेन हेरिसियोस् त, कस्तो छ ?” भनी खुसी हुँदै देखाए ।

“आहा ! कत्ति राम्रो रहेछ !” भनेँ ।

सधैँ यस्तै ज्ञानी हुनू, आमालाई दुःख नदिनू, पढीलेखी ठुलो मान्छे बन्नू भनेर भगवान्को मन्दिरबाट फूल र प्रसाद लगाइदिएर आशीर्वाद दिएँ । छोरी पनि रिसाउलिन् भनेर उनलाई पनि टीका लगाइदिएर बच्चामा उत्पन्न हुने ईर्ष्यालाई शान्त बनाइदिएँ ।

बेलुका छोरी जन्मदिनको उपहार लिएर गइन् र अबेर रातिसम्म नाचगान गरी रमाउँदै आइन् र भनिन्, “आमा ! बहिनीका बुबाले कति धेरै चक्लेट पनि पठाइदिइसिएको रहेछ ।”

“तिमीले चक्लेट पाइनौ ?” मैले सोधेँ ।

“पाएँ पाएँ ! धेरै पाएँ नि ।” छोरीले जवाफ दिइन् । यसै गरी दिनहरू बित्दै गए । स्रेस्ता र मेरो घनिष्ठता बढ्दै गयो ।

उनी कहिलेकाहीँ भन्थिन्, “दिदी हजुरको त सरकारी जागिर छ क्या आनन्द छ है ।”

हाँसेर भन्थेँ, “तपाईँको पनि त श्रीमान् विदेशमा हुनुहुन्छ नि ।”

उनी मुसुक्क मुस्कुराउँथिन् । उनी कहिल्यै दुःख नभोगेकी जस्ती, सधैँ हँसिली, रसिली, संस्कारी, मृदुभाषी जति बयान गरे पनि नसकिने खालकी थिइन् ।

भाडामा बस्ने भए पनि उनी सबैकी प्रिय थिइन् । उनको सबैभन्दा राम्रो मृदुभाषी अनि कहिल्यै नरिसाउने बानी थियो । त्यो बानीको प्रशंसक थिएँ म । त्यसैले होला हामीबीच घनिष्ठता बढेको । उनी छोरीहरूलाई पुतलीजस्तै बनाएर लिएर हिँड्थिन् । उनले दुई छोरीलाई सङ्घर्षपछिको सफलताको पाठ सिकाउन कोठाको भित्तामा झमक घिमिरे, पासाङ ल्हामु, पारिजात, हेलेन केलर, सीता, मदर टेरेसा, लक्ष्मीप्रसाद देवकोटा आदिका तस्बिर फ्रेममा राखेर छोरीका तस्बिर नजिकै झुन्ड्याएकी थिइन् । आहा ! चिटिक्क र सफा कोठा, तस्बिरै तस्बिरले सजिएका कोठाका भित्ता कहिलेकाहीँ उनको कोठाभित्र पस्दा अन्य कुनै संसारमा पुगेजस्तो भान हुन्थ्यो मलाई ।

एक दिन ती नानीहरूलाई देखिनँ भने मलाई के नभएको नभएकोजस्तो खल्लो महसुस हुन्थ्यो अनि बोलाउँथे, “ए ! संस्कृति, सम्पदा !”

उनीहरू हतारहतार बाहिर निस्किएर, “नमस्कार ठुली मुमा ! किन बोलाइसिया ?” भनेर सोध्थे ।

तिमीहरू आज किन आएनौ भनेर बोलाएकी नि । म खुसी हुँदै भन्थेँ । बुढो बर्खा गयो, झरी गयो, हिलोमैलो हट्यो, बचेखुचेका खाली जमिनमा हरियो धानले सुसेली हाल्दै बयली खेल्दा मलाई तीज अनि दसैँको रमाइलो अनुभूति हुन्छ । दसैँ आउन लागेकाले छोरीको योजनाले एउटा सिङ्गै कापी भरिएका थिए । उनका कापीमा लिपिबद्ध रहरहरू एक, दुई, तीन … गर्दै हेर्दै थिएँ ।

अचानक ठुली मुमा ! ठुली मुमा !! आत्तिएको र कम्पित स्वरमा नानीहरूले बोलाए । एकै चोटि मूल ढोकामा पुगेछु ।

उनीहरू थरथर काम्दै भनिरहेका थिए, “यता आइस्यो न ।”

म दौडिएर उनीहरूको कोठामा पुगेँ । स्रेस्ता भुइँमा ढलिरहेकी, भान्सामा सामान छरपस्ट थिए । यसो नाडी छामेँ, नाडी नै भेटिनँ ।

हत्तपत्त श्रीमान्लाई बोलाएर भनेँ, “हजुर र नानी खाना खाइसियोस् है ।” म अस्पताल लैजान्छु । मैले गङ्गालाल हृदयकेन्द्र पु¥याएँ । डाक्टरले अहिले केही भन्न नसकिने भन्दै उपचारतिर लागे । म कसलाई बिरामी कुर्न राख्ने, ती छोरीहरूलाई कसले पकाएर खुवाउने, कसले विद्यालय पुर्याउने बिलखबन्दमा परेँ । दिनभरि बसेँ, होस आएन । उनका इष्टमित्र, आफन्त, श्रीमान् कसैसँग मेरो परिचय थिएन, म के गरूँ, कसो गरूँ भएर भुङ्ग्रोमा परेको जस्तो भएँ ।

राति एक जना साथीलाई बोलाएर कुरेँ । आफूसँग पैसा छैन । ती छोरीहरूसँग पैसा कसरी सोध्नु, उपचार खर्च के गरूँ अलमलमा परेँ । बल्लबल्ल उनको होस् आयो र बिस्तारै भनिन्, “दिदी ! म बाचुँला जस्तो छैन । मेरो दराजमा अलिकति नगद, गरगहना, एटिएम कार्डको साथै सुनको बिल पनि त्यहीँ छ । उपचार खर्च पुगेन भने हजुरले सुन बेचेर मेरो अस्पतालको खर्च तिरिदिनू र लुगाले छोपेर राखेको एउटा डायरी छ, त्यो पढ्नुहोला है ।”

मैले हौसला दिँदै भनेँ, “के नचाहिने कुरा गर्नुभएको ? अब ठिक हुन्छ ।”

अस्पतालबाट फर्की छोरीहरूलाई खाना खुवाएर विद्यालय पठाइदिएँ । जिउँदाको जन्ती, मर्दाको मलामी भनेको यही त होला भनी सोच्दै जागिर खान हानिएँ ।

बेलुका अलि चाँडै घर गएँ र ती नानीहरू र आफ्नी छोरीलाई खाजा खान दिई कोठामा थुनिदिएर अस्पताल पुगेँ । उनको अवस्थामा सुधार भएको थिएन, स्थिर थियो ।

डाक्टरले मलाई आफन्त बोलाइदिनुहोस् भने ।

“उनका श्रीमान् विदेशमा छन्, यहाँ आफन्त कोही हुनुहुन्न के गर्ने ?” डाक्टरलाई सुनाएँ ।

“मुटुको शल्यक्रिया गर्नुपर्छ, आफन्तको हस्ताक्षरविना कसरी सम्भव छ ?” डाक्टरले झर्किँदै भने ।

उनलाई बिस्तारै तपाईँको आफन्तको नम्बर दिनुहोस् न भनेँ । उनी मौन रहिन् । बल्लतल्ल एउटा दाइको नम्बर भेटेर फोन गरेँ तर उनले आउन आनाकानी गरे । मैले तपाईँकी बहिनी अन्तिम अवस्थामा छिन्, मुख हेर्न मन भए गङ्गालाल अस्पताल आउनुहोस् भनेर फोन राखिदिएँ । पछि दाजु आएपछि मलाई अलि राहत महसुस भयो । बिहान बेलुका खाना पकाएर खुवाउने, नानीहरूलाई विद्यालय पठाउने, अस्पताल खाना पुर्याएर आफू पढाउन जाने दैनिकी बन्यो ।

उनका आफन्त किन आउन आनाकानी गरे ? उनले श्रीमान्लाई खबर गरिदिनुहोस् भनेर किन भनिन् ? यसको रहस्य उनको डायरीमा हुनुपर्छ भन्ने लागेर नानीहरू सुतिसके पछिको फुर्सतमा पल्टाएँ ।

म जति शब्द पढ्दै जान्थेँ त्यति नै मेरो मनमा भुइँचालो जान्थ्यो ।

त्यसमा लेखिएको थियो, “दिदी ! हजुर मेरी आमाकी छोरी नभए पनि भावनात्मक दिदी हुनुहुन्छ । हरेक दैनिकी लेखनमा कतै न कतै हजुरको वर्णन गरेकी छु । मेरा दुई छोरी हजुरलाई ठुली मुमा मान्छन् । म हृदयदेखि आभारी छु, हजुरको माया र सहयोगका लागि । दिदी म सुरुमै माफी माग्छु । हजुरले यो डायरी पढ्दै गर्दा यी प्रत्येक हरफले मलाई गाली गर्ने छन् किनकि हजुरसँग धेरै झुट बोलेकी छु । आजभन्दा करिब २५ वर्ष पहिले म दोलखाको सम्पन्न परिवारमा जन्मिएकी हुँ । परिवारकी कान्छी र एउटी मात्र छोरी भएकाले मेरो बाल्यकाल कुनै राजकुमारीको भन्दा कम थिएन ।

मैले त्यो समयमा पनि निजी विद्यालयमा पढेकी हुँ । म कक्षामा सधैँ प्रथम हुन्थेँ । आँखाकी नानी थिएँ परिवारको लागि । बुबाको इच्छा मलाई डाक्टर बनाउने थियो । त्यसैले सधैँ भन्नुहुन्थ्यो, ‘छोरी तिमीलाई डाक्टर पढाउन मैले एउटा घडेरी नै सुरक्षित राखेको छु ।’

बुबाको आशालाई पूरा गर्न मिहिनेत गरेँ । एसएलसीमा ८० प्रतिशत अङ्क ल्याएर उत्तीर्ण गरेँ । त्यो दिन बुबाले मलाई बोकेर ‘छोरी कसको, काजीको’ भन्दै नारा लगाउनुभएको थियो । अहिले पनि मेरो कानमा गुन्जिरहेको छ । त्यसपछि पढ्न लागि भनेर मलाई काठमाडौँ पठाइयो । कक्षा ११ मा विज्ञान विषय लिएर अध्ययन गर्न थालेँ । केही अभाव थिएन मलाई, मात्र पढ्नु थियो । परीक्षामा राम्रो अङ्क ल्याएर प्रथम भएँ । खुसीले मेरो परिवार मलाई भेट्न काठमाडौँ आयो ।

त्यो अविस्मरणीय क्षण अहिले पनि मानसपटलमा ताजा छ । कक्षा १२ को पढाइ सुरु भयो । सफलतापछि म प्रशंसाको पात्र बनेँ । त्यसपछि प्रशंसक नाम  गरेको केटा मेरो जीवनमा आयो । हामी सँगै पढ्ने, खाजा खाने, लेखेका कापी आदानप्रदान गर्न थाल्यौँ । मेरो मनमा प्रेमको भाव अङ्कुराउन थालेछ क्यारे । एकदिन झसङ्ग भएँ, म डाक्टर बन्नु छ, बुबाआमाको सपना पूरा गर्नुछ । सुनेको थिएँ – प्रेममा पर्यो भने त जहाज नै डुब्छ । कतै म पनि डुब्ने पो हो कि भन्ने लाग्यो ।

मनमा जति डर पाले पनि प्रेमले जित्तै गयो । यसरी दिनप्रतिदिन प्रशंसक मलाई प्यारो लाग्यो । उसको आगमनले मेरो शरीरमा ऊर्जा थपिएका महसुस हुन्थ्यो । जता गए पनि उसलाई मात्र देख्थेँ । कापीका पानामा, किताबका अक्षरमा, खाना खाने समयमा कुर्सीमा यत्रतत्र सर्वत्र देख्ने थालेँ । म पागल भएँ कि क्या हो ? मनमा प्रश्नका ज्वारभाटा मडारिन्थे । एकछिन् सोचेँ ऊसँग सामीप्य घटाउनुपर्यो । यो मेरो लक्ष्यको बाधक हो भन्ठानेर मनलाई बाँधी भावनालाई पोको पार्ने र अन्तर्मनको कुनाकानीमा कहिल्यै फुत्कन नसक्ने गरी थन्क्याउने विचार गरेँ ।

मलाई यो मेरो साहस हो भन्ने लाग्यो । एक हप्तासम्म उसको नजिक परिनँ, देखेँ कि भागिहाल्थेँ ।

एक दिन म उसलाई देखेर हतारहतार नदेखेझैँ गरी कलेजबाट बाहिरिँदै थिएँ ।

उसले हातमा च्याप्प समातेर आफूतिर तान्दै भन्यो, ‘मबाट यसरी किन भाग्छौ ?’

केही बोलिनँ मात्र हात फुत्काउन बल गरिरहेँ । उसले हात यसरी समातेको थियो कि मानौँ ऊ मलाई जीवनभर फुत्किन दिँदैन ।

उसले अचानक भन्यो, “म तिमीलाई प्रेम गर्छु ।”

सुनेको नसुन्यै गरेँ र फेरि पनि हात फुत्काउने प्रयत्न गरिरहेँ ।

‘समय देऊ’ भनी अनुरोध गरेपछि बल्ल मेरो हात छोडिदियो । त्यसपछि म यसरी दौडिएँ कि पिँजडामा थुनिएको सुगा भाग्न सफल भएझैँ बेधडक, कतै नहेरी । कोठामा गएर बेसरी रोएँ । मन हलुका भएपछि सोच्न थालेँ, ‘के उत्तर दिऊँ ?’ म एकोहोरो भएँ ।

‘के सोच्यौ तिमीले’ भन्दै लगातार एक हप्तासम्म सोधिरह्यो ।

मलाई पनि ऊजस्तै भएको थियो । साहित्यकारहरूले प्रेम प्रसङ्मा उल्लेख गरेका पानी पर्दा रुझुँरुझूँ लाग्ने, सिरसिर हावाको स्पर्शले अन्तर्मन प्रफुल्ल पार्ने, हिमाल हाँसेझैँ लाग्ने, नदीनालाले हाम्रो मिलनको प्रतीक्षा गरेझैँ अनुभूति हुने, गुलाफ मेरै लागि फुलिदिएझैँ लाग्ने, वसन्त ऋतुको आगमन भएको आभास हुने र दुःखी हुँदा भने ती सबै कुरा विपरीत हुने, जो देखे पनि उही नै हो भनेर बोलाउन मन लाग्ने, सबै सबै भएको थियो ।

हुँदैन भनिदिए आत्महत्या गर्ने पो हुन् कि भनी म डराएँ ।

एक हप्तापछि मनका गन्थन मन्थनलाई कुटुरो बनाएर उसको अगाडि फालिदिएँ – ‘हुन्छ’ ।

ऊ खुसी भएर नाच्यो, उफ्रियो मानौँ संसारको अनमोल चिज पाएको छ । यसरी मेरो पढाइ कम, भेटघाट र घुमघाम ज्यादा हुन थाल्यो । कक्षा १२ को परीक्षा नजिकिँदै थियो । अलिअलि पढेँ ।

प्रशंसकले भन्यो, “कक्षा १२ को परीक्षा दिएपछि बिहे गर्नुपर्छ है ।”

डाक्टर नबनी बिहे गर्दिनँ भनेँ । उसले पनि सहमति जनायो । परीक्षा आयो, सोचेको जस्तो राम्रो हुन सकेन । कहिले परीक्षा सकिएला र घुम्न जाउँला जस्तो भइरह्यो । परीक्षा सकिएपछि म घर नगएर प्रशंसकसँग घुम्न थालेँ । ऊ मलाई आँखैमा राखूँ जस्तो गर्थ्यो ।

कहिलेकाहीँ ऊ रिसाएकोजस्तो लागेर सोध्यो भने ‘जुनकिरी पनि चन्द्रमासँग रिसाउन सक्ला र, ऊ त केवल शुक्लपक्षको प्रतीक्षा  गरिरहन्छ ।’ भावुक भएर जवाफ दिन्थ्यो ।

असाध्यै माया गर्छ जस्तो लाग्थ्यो । मेरो घरबाट धेरै पैसा आउने हुनाले खर्चको समस्या भएन । घुमफिरमै मस्त रहेँ । पैसा र बैँसले मात्तिएँ, बुबाको इज्जतलाई खोलामा बगाइदिएँ, आमाको वात्सल्यमा छुरा रोपेँ, दाजुको स्नेहमा घात गरेँ, जब मैले गर्भवती भएको थाहा पाएँ ।

परीक्षाको नतिजा सोचेजस्तो आएन । बुबाले घरमा बोलाएर चिन्ता नमान राम्रो गरेकी छ्यौ भनेर हौसला दिनुभयो । उहाँलाई के थाहा  आफ्नी प्राण प्यारी छोरीले मुखमा कालो दाग लगाइदिएकी छे जुन कहिल्यै पनि मेट्न सकिन्न । म तुरुन्तै पढाइ सुरु हुन्छ भनेर खर्च बोकेर काठमाडौँ फर्किएँ । मैले यो कुरा प्रशंसकसँग भनेँ ।

उसले तुरुन्त गर्भपतन गराउने सल्लाह दियो ।

मैले मानिनँ ।

त्यसपछि ऊ मदेखि टाढियो, यसरी टाढियो कि हामी नदीका दुई किनारा भयौँ । डाक्टर बन्ने सपनालाई तिलाञ्जली दिएर जागिर खोज्न थालेँ । बैङ्कमा काम पाएँ । हावा नचली पात हल्लिँदैन भनेझैँ एक कान, दुई कान मैदान गर्दै मेरो कर्तुत बुबाको कानमा पर्यो । बुबालाई हृदयाघात भएछ । अस्पतालमा भेट्न गएँ । कसैले पनि मेरो मुख हेरेनन् । पछि थाहा पाएँ बुबालाई सन्चो भएपछि मेरो किरिया गर्नुभएछ । बुबाआमा र माइतीका लागि म सदाको लागि मरेँ ।

यतातिर मलाई सन्तान जन्माउनु थियो । त्यसैले जन्मने बच्चालाई नाजायज नभनुन् भनेर मन्दिरमा गएर सिन्दूर, पोते लगाएँ र दुनियाँलाई देखाउने एउटा खोक्रो हतियार बनाएँ ।

कार्यालयमा यस्तो अवस्थामा श्रीमान्ले किन छोडेर जानुभएको भनी सोधे भने उहाँ गइसक्नु भएपछि थाहा भयो भनेर आफ्नो ह्वारह्वारती बलेको मनमा पानी छम्कने प्रयास गर्दै देखावटी हाँसोले छोपिदिन्थेँ । मानिसले संसारलाई ढाँटे पनि आफूलाई कहिल्यै ढाँट्न नसक्ने ध्रुवसत्यले मलाई पोलिरहन्थ्यो र कुनै दिन मेरो वास्तविकता थाहा पाए भने यी सहयोगी मनले कस्तो घृणा गर्छन् होला भनेर मन आत्तिन्थ्यो । जे होस् मैले मिहिनेत गरी पैसाको जोहो गरेँ । मलाई  प्रसव पीडाले च्यापेपछि सहकर्मी साथीलाई बोलाएँ र अस्पताल गएँ । मानिसलाई परेपछि डर भन्ने कुरा हराएर जाँदो रहेछ । कुनै पिर लिइनँ । भगवान्ले दुई ओटी लक्ष्मी मेरो काखमा राखिदिनुभयो । अस्पतालमा बच्चाको जन्मिएको कार्डमा बुबाको नाम प्रशंसक क्षेत्री आमाको नाम स्रेस्ता मल्ल राखिदिएँ ।

साथीले बच्चा स्याहारसुसार गर्नका लागि एउटा महिला खोजिदिएकी रहिछन् । ती महिलालाई छोरीहरूको स्याहार्ने जिम्मेवारी सुम्पिएँ । दुई वर्षमा ती कलिला मुनालाई विद्यालयमा पठाएँ । आजसम्म प्रशंसकको पत्तो छैन । म जसोतसो प्राणपखेरु बचाउँदै छोरीहरूका भविष्य रेखा कोर्दै छु ।

मेरा कोही छैनन् दिदी, मलाई केही भयो भने यी अनाथको जन्मदर्ता बनाएर अनागरिक हुनबाट बचाएर नागरिक बनाइदिनुहुने छ ।  हजुरको मलाई यति विश्वास छ कि मेरा छोरीका ठुलीमुमा भएर उनीहरूले हक दिलाइदिनुहुने छ । संस्कृति र सम्पदाको संरक्षण गरी उन्नति र प्रगतिको मार्गदर्शक बनिदिनु हुनेछ । हजुर मेरी भावनात्मक दिदी र छोरीका ठुलीमुमा । यति ठुलो जिम्मेवारी हजुरलाई सुम्पिएकी छु ।“

म बसेको ठाउँ हल्लियो । चक्कर लाग्यो, भुइँमा ढलुँला जस्तो भयो ।

त्यत्तिनै खेर संस्कृति र सम्पदा ब्युँझिएर रुँदै भन्न थाले, ‘ठुलीमुमा हाम्रो आमालाई कस्तो छ ? हाम्रो बुबालाई फोन गरिस्यो, बुबा कहिले आइसिन्छ रे ?’

अनेक प्रश्नको वर्षा भयो । म ती दुवैलाई अँगालोमा बेरेर किंकर्तव्यविमूढ भएँ । स्रेस्तालाई केही भयो भने…? नयन सजल भए । करिब आधा घण्टापछि मेरो मोबाइलमा घण्टी बज्यो । मेरो हंसले ठाउँ छोड्यो ।

फोन स्रेस्ताको दाजुको रहेछ । उनी रुँदै भन्दै थिए, “स्रेस्ता बहिनी चीर निद्रामा परिन्..!”

अरू के के भन्दै थिए मेरो मोबाइल कानबाट भुइँमा झर्यो । लगातार आँखाबाट अश्रुधारा बग्न थाले । बगिरहे …।