मेरो मोबाइलमा उनको तस्बिर कसरी आयो भन्ने कुरा तपाईँले बुझ्नु पर्ने हो । कतै ब्रिन्दा बनेर मैले नै च्याट गरेँ कि भन्ने तपाईँलाई लागेको भए, मेरो भन्नु केही छैन ।     

‘कता आउनु भएको ?’

ए हो त नि है । क्याफेमा किन आइन्छ र ? खानै, पिउनै त हो नि ! यसरी जम्काभेट भएको त चौध बर्ष पछि  नै हो क्यारे । धेरै पछि भेट भो- आउनुस् । बसम् एकछिन ।

ए अरुसँग आउनुभएको ? एक्लै देख्छु त, तपाईंलाई !  ए ए कोही आउँदै हुनुहुन्छ ? ल ल तपाईंकी साथी आएपछि जानुहोला । नआउन्जेल मसँग बस्दिनुस् । हुन त म पनि तपाईं यही आउँदै हुनुहुन्छ भन्ने थाहा पाएर आएको ।

तपाईं यहाँ आउने कुरा मैले कसरी थाहा पाएँ रे ? … जमानै ईन्टरनेटको, कसो कसो था’पाइँदो रैछ । क्लियर भएन भने भनौँला नि बिस्तारै । पहिला बस्नुस् त ।

के मगाऊँ तपाईंलाई ?

केही नखाइदिएर त कसरी हुन्छ र ? आज म अप्ठेराेमा भएर हो । आज मेरो मन दुन्दुभि झैँ भएको छ । बजेको बजै, बजेको बजै ! सायद यी शो-केशमा भएका मध्ये कुनै किमती मत्याउने मेरो नशामा रगमगिए पछि नै शान्त होला मेरो मन । हजुरलाई सुनाउन पाए त राहतै पनि । मात्रै साथ हो हजुरको चाहिएको ।

हतार छ चाँहि नभन्दिनुस् । हतारले ल्याउने दुर्घटना मात्रै हो ।

अँ हो । त्यो कुनो टेबल नै ठिक होला । छेउमा गुलाबको गमला पनि रैछ । हुन्छ, यतै बसौँ। यस्तायस्ती फेरि लुकेरै पिउन मजा हुन्छ । लुके पछि चुक्न नि परेन । हुन त लुकेर गर्न तपाईंलाई कसले पछि पारोस् ?

हेर्नुस् त आज यो क्याफे कति चिरिच्याट्ट ! नवदुलही भित्राउने घर झैँ । रातो बेलुनका मुटु जताततै- तुर्लुङ तुर्लुङ ! नजाने आदिप्रेमीहरुका मुटु सबै यही भेटिएलान् ! भ्यालेन्टाइन विकको अन्तिम छेकोमा छौँ भन्ने कुरो त हजुरलाई निश्चय नै थाहा होला । तर हेर्नुस् न तरुना तरुनीका लागि कति गज्जबको बाहाना ! होटल, यस्ता क्याफेलाई पनि स्वादै छ । केही थान लभ अङ्कित बेलुन, केही थान प्लास्टिकका फूल अनि अलिअलि संगितको तामझाम, त्यसपछि त तरुनातरुनी कमिलाका ताँतीझैँ ओइरिनी । दिनैपिच्छे केही न केही ! कहिले रोज डे भन्दियो, कहिले प्रपोज भन्दियो, अझ के के डे ! चकलेट डे, टेडि डे, प्रमिस डे, हग डे । हग डे भन्दा चाँहि अलि घिन लाग्नी हैछ । दिमागले पनि के के बुझ्न भ्याउनी । नचाहिने कुरो त झन् कति छिटो टिप्नी । तर आज चाँहि किस डे ! कति राम्रो छेकोको मेसोमा छौँ हामी ! किस घरमै लिएर आउनु भयो कि यतै लिने हिसाबले आउनुभो ?

हैन । दिमाग चाटेको हैन तपाईंको । तपाईं र म पनि त प्रेमी हौँ नि कोही बेलाको । भ्यालेन्टाइन डे त हामीले पनि त मनाएको हो । अब आदिप्रेमी भइसक्यौँ र पो !

केको प्रेमी स्रेमी रे ! ए प्रेमलाई नै वाहियात भन्दिनुभएको ? अलिअलि त मलाई पनि हो झैँ लाग्छ । तर हेर्नु न कहाँबाट पलाउँछ कुन्नी ? कुल्चेर मन्टै भाँच्दिए पनि फेरि पलाउनी के यो जात ! दुबाे जस्तो । रुखो सुखो जस्तो मनमा पनि पलभर मै झ्याङ्गिनी ।

उस बेलाको भ्यालेन्टाइन डेको कुरो सम्झिनु हुन्छ नि ? तपाईंले त किन सम्झनु ? बिर्सनु भयो निश्चय ! पाएको कुरो भन्दा नपाएकैको बढी तिर्सना हुन्छ । त्यसैले पनि होला; म त सम्झिरहन्छु ।

मैले सम्झेको त त्यही कुरो हो- त्यही ‘मिति’को कुरो । त्यसदिन तपाईंले मेरी काँशीलाई फुत्काई दिनुभएको थियो नि ! हो त नि उसलाई पनितपाईंबाट कसैले फुत्काइदियो । टिट् फर ट्याट् !

उस बेला आफ्ना प्रेमिकालाई केही चिज दिन हामीले भ्यालेन्टाइन सप्ताह कुर्नै परेन । खाली दिने कुरा गुलाब मात्र नभएर अर्थोक थिए । घरमा फलेको कागती या बेलौती । कहिलेकाँही ईमिली पनि । तपैँले पनि त दिनुहुन्थ्यो नि । माधवीलाई । तर तपैँले दुईतिर बल्छी थाप्नु भएको रैछ । माधवीले मात्रै हैन काँशीले पनि तपाईंबाट बेलौती पाउने रैछ । काँशीलाई मैले मात्रै, तपाईंले माधवीलाई मात्रै दिने हाम्रो सल्लाह भएको हैन र ? सम्झौतै हो नि खासमा त । तर तपाईंले तोड्नु भो । सम्झौता तोड्नलाई नै गरिन्छ भन्ने तपाईंको आशय म बुझ्छु ।

उसो त लभ लेटर चाँहि भ्यालेन्टाइन मै दिनपर्छ भनेर तपाईंले सुझाउनु भएको थियो । नजाने कति कविता, गजल, मुक्तक, कविता पढेँ । सुनेँ । प्रेमका उक्तिहरु भेटेसम्म सारेँ । लभ कोटेशनका किताब पनि त किने नि एक दुइटा । आमाले पटुकामा पारेको गाँठो खुकुलो भएको थाहा पाउँदा, बाको ज्वारीकोटको भित्री खल्ती सफाचट हुँदा मैले खाएका सिप्किनाहरु प्रेमकै लागि गरिएको बलिदानी ठानेर कत्ति पनि त मन दुखाइनँ मैले । प्रेममा सबै जायज हुन्छ भन्दिनु भयो तपैँले । होला त नि भन्ने म परें । शुक्रवारे हाटबजारबाट ल्याएको त्यो पोस्टकार्ड कति राम्रो थियो- भन्नुस् त ? एकजोडी परेवा । उड्दै गरेका । तीनका सुनौला टाउकाहरु । इन्द्रेणी झैं पखेटाहरु । पोस्टकार्डभित्र पानको पातमा सुनौला प्रेम बाणीहरु –’लभ द्याट इज नट् म्याड्नेस् इज् नट लभ’ ; ‘लभ इज् पाथ् टु हेभेन् ।’ मनपर्यो भनेर खुसीको उक्ति पनि कतैबाट पोस्टकार्डमा सारेको थिएँ- ‘हेप्पीनेस इज् नट अ प्लेस अर समथिङ बट् इट् इज् अ स्टेट अफ माइन्ड’; अनि यो गमलामा फक्रेको गुलाब जस्तै गुलाब हैन र मैले त्यो पोस्टकार्ड भित्र सिउरेर ठिक्क पारेको ? तपाईंले नै भन्नुभएको थियो-‘ पोस्टकार्डले मात्र हुन्न । लब लेटर पनि लेख् काँशे । ‘

होस् होस् तपाईंले तँ नै भन्नुस् । साथीमा तँ तँ म म ठिक भएपनि मैले तपाईं, हजुर नै भन्छु । चौध बर्षपछि अब तपाईंलाई तँ भन्नै सक्दिन । अर्को मानेमा तपाईं मेरो गुरु पनि हो । गुरुलाई कसरी तँ भनुँ ?

गुरु कसरी भने हजुरले झैँ मैले पनि झुक्काउने कला हजुरबाटै सिकेँ ।

टम्म पारेर प्रेमका रसरङ्ग शब्दले श्रृङ्गारेर प्रेमपत्र मैले नै लेखेपनि हजुरले जस्तो भाषा, व्याकरण मिलाउन जानेको को पो होला र ! मैले काँशीका लागि लेखेको पत्रको सम्पादन हजुरले नै गर्दिनुभयो । मलाई पनि खास्सा लाग्यो ।

गर् गर्, प्रपोज गर्’ भन्ने पनि तपाईं बिगार्दिने पनि तपाईं !

भो मन्टो नबङ्ग्याउनुहाेस् । कमसेकम मगाएका जिनिस खाइदिनुस् । नभए केही थप्नुस् । पैसाको चिन्ता नगर्नुस् । तेतिन्जेल बरु मेरा बकबक भने सुनिदिनुस् । बस् त्यति गर्दिनुस् । हैन । गुनासो गर्न मात्रै हैन हजुरलाई मसँग बस्न भनेको । हजुरको साथ अवश्य हो खोजेको । र केही गोप्यता पनि हो भङ्ग गर्न खोजेको । छन् मसँग केही कुराहरु सुनाउन ।

‘प्यारी काँशी खै कसरी भनम् । कसैलाई देख्दा, कोही खुशी हुँदा, कोही सफल हुँदा यो मेरो मन खुशी हुन्छ भने त्यो तिमी हौ । तिम्रा लागि मेरो मन खुसी हुन्छ । तिम्रा लागि मात्रै मेरो मुटु धड्किन्छ ।’ अझ रामकृष्ण ढकालको गीत पनि दुबैले सुनेम् । वाकमेन मेरो भएपनि क्यासेट भने तपाईंले ल्याउनु भएको थियो ।

‘मन पराउने हजार भेटिन्छन् जुनी काट्ने यौटै हुन्छ र यो जुनी तिमीसँग कटाउन पाए जुनीभरि तिम्रो गुलाम रहन्थेँ।’

यस्तै यस्तै बान्की मिलाएर लेखेपछि तपाईंले फुर्काउनु पनि भयो, भन्नुभएको थियो- ‘कति राम्रा उदगार् ! कँशी अब तेरै भई ।’ चिठीमा त मिति पनि लेख्नपर्छ भनेर छुटिसकेको मिति लेख्ने कुरो हजुरले सम्झाउँदा मैले मेरो प्रेमपत्र पूर्ण भएको त ठानेकै थिएँ अझ उनान्साय प्रतिशत प्रेमको सफलताको खुड्किलो चढेको अनुभुति पनि गरेथेँ । काँशीलाई मन पर्ने हिरो अमीर खान हो भनेर तपाईंले भन्दिएपछि मैले अमीर खानको फोटो पनि त किनेर ल्याएँ नि । सप्पै कुरो भयो । सप्पै कुरो लेखेँ । सायरी माया प्रीति कै । तिथी मिति सप्पै सही । सितिमिति कसैको दिमागले नभ्याउने कुराहरु जो परेका थिए । तपाईंले पनि त माधवीलाई यिनै कुराहरु मिसाएर लेख्छु भन्नु भएको हैन र ?

प्रेमपत्रलाई खाममा राखेर, पोस्टकार्ड, फोटोसमेत हजुरलाई दिएपछि मैले के अनर्गल सोच्थें र ? असलमा काँशीले के भन्ली भन्ने त छँदै थिएन, थियो त थोरै अमिलो, थोरै पिरो तर मिठो अनुभूति । वा केही कौतूहलता- जवाफमा के लेख्ली ? अचेलका झैं फेसबुक, सेसबुक थिएन त्यो बेला । जे कुरापनि ड्याङ्गै भन्दियो- सक्कियो । यौटा उभार प्रेमको, मृदु स्पन्दन हृदयको, रमरम तातो कौतूहलताको; के तपाईंअचेल पाउनु हुन्छ र ?

होला होला; तपाईं पाउनु होला । समय बद्लिएपनि भावना नबदलिको कुरा जायजै हो । हुनत तपाईं त्यहीँ कौतूहलताले यहाँसम्म तानिनु भएको होला । होला के भन्नु- हो नै । साँच्चै फेरि पनि त लभ परेको छ नि है- तपाईंको ?

हरे ! कस्तो रातो बनाउनु भयो अनुहार !

‘एभ्रिथिङ इज् फेयर ईन् लभ एन्ड वार’ हजुरले नै त भन्नुभएको हो नि ! विवाहित मान्छे । लभ गर्दै हिँड्नुभा’छ । साँच्ची यौटी छोरी पनि छन् क्यारे ! हुन त लभै परेपछि बाँकी कुरा गौण हुन्; हैन र ? भन्छन् नि- प्यार किया तो डरना क्या ?

लभ परेको कुरो कसरी था’पाइस !? भन्ने तँपैको बेडुल्के आँखाको आशय मैले बुझिसकेँ। यति गिलासको रित्याउनुस् । आस्ते आस्ते स्पष्ट हुँदै जाला । हैन यो क्याफेमा पनि के गीत बजा’को होला- डुङ डुङ डुङ डुङ ! त्यस्तो गीतमा नाच्ने पनि अचम्मैका ! ‘हरेक दोस्त कमिना हो ता है’ भन्दै रौसिने पनि ! हाँस्दिन भनेको हाँस्नै पर्नी भो । अलि अलि हाम्रै कुरो भन्दियो क्या ओ ? नउठ्नुस् एकछिनपछि सँगै उठौँला । ए पिसाब फेर्नका लागि पो ! त्यसो भए जानुस् । आउनुस् है मुख्य कुरो त बाँकी नै छ ।

बडो छिटो फर्किनु भयो त ? खैर ठिकै छ । हात नधोएर केही हुन्न । आफ्नै त हो नि !

ब्रिन्दालाई त पक्कै चिन्नुहुन्छ ? मैले नामै भनिदिँदा तपाईंका कानका लोती रातो हुनु स्वाभाविक हो । नआत्तिनुस् म तपाईंको जिज्ञासा तुरुन्तै निवारण गर्दिन्छु । तपाईंहरुको फ्रेन्डसिप भएको पाँच महिना त भयो नि । कसरी थाहा भयो भन्ने कुरा छोड्नुस् । सप्पै थाहा छ । रिचार्ज त धेरै हाल्दिनु भएन नि ? एनटिसीमा ? एनसेलमा ? ए साँच्ची ब्रिन्दाले फोनमा कुरा गर्दिनन् क्यारे । वर्ड लिङ्कको रिचार्ज भने बर्षभरिकै हाल्दिनु भयो; हैन त ? केही भएन मायामा अलिअलि लगानी त गर्नै पर्छ । नाफा-नोक्सानको पो टुङ्गो हुन्न ।

जब मैले चिठी दिएँ तपाईंलाई, काँशीलाई दिनको लागि, तपाईंले के गर्दिनु भएको त्यस्तो ? मितिको ‘मि’ बिगारेर अश्लिल शब्द बनाइदिनु भएछ ! मिति, रीति, सितिमिति त देख्नै नहुनी । तपाईंले पुतलीलाई समेत छोड्नुभएन । रातीको ‘री’ पनि कप्लक्कै खाइदिएर ‘पु’ प्यारो भयो तपाईंलाई ! धन्न प्रेमपत्रमा डाँडो काँडो लेखिनँ । लेखेको भए तपाईंको दिमागले अर्थोक के सोँच्थ्यो र ? काँशीलाई मैले राम्ररी जानेको हो । जे भएपनि तपाईंले भन्दा बढी बेलौती र कागती मैले नै दिन्थेँ । कैलेकाँही नुनचुक पनि लग्दिन्थेँ । एकदुई पटक चटपट पनि ख्वाको हो । थोरबहुत उदारपनि थिई मसँग । तर तपाईंले शब्द बिगार्दिएर मलाई बिग्रेको केटो बनाइदिनु भयो । अनि आफू काँशीका अघिल्तिर जाती बन्नुभयो । चिठी गमले टाँस्नै लाग्दा- ‘गम् नटाँस् । टाँसेको उप्काउँदा भित्रको पनि च्यातिन सक्छ’ भनेर बुरबक् आइडिया दिएको तपाईंले हैन ? पछि भित्रको निकालेर के के गर्दिनु भएछ । मेरो प्रेमपत्र पत्रुपत्र बनाइदिनु भएछ !

नभएको कुरै हैन । काँशीले खुदै मेरा अगाडि मिल्काइदिएकी थिई त्यो पत्र । म छुच्चो, लाजशरम नभएको त भएँ भएँ, ऊ मसँग कहिल्यै नबोल्ने भन्दिए पछि तपाईंको लाइन क्लियर भयो । त्यहीँ ऐनमौकामा आफ्नो चिठी घुसाउनु भएछ तपाईंले !

पर्खिनुस् यार ! एकै पटक निस्कौँला । उसो त तपाईं निस्कनै मिल्दैन । किन निस्कन मिल्दैन भने- तपाईंको फेसबुक फ्रेन्डसिप र च्याटको कुरै बाँकी छ । हो बुझ्नु भो । बस्नुस् । यस्तै हो – हजार कुरा चित्त नपरेपनि बाध्यताले मान्छेलाई गुलाम बनाउँछ ।

तपाईंकी ब्रिन्दा हैनन् यी ? कति राम्री के; मुर्दार्नी ! मोबाइल चाहिँ मै समातूँ है । हर्नुस्त- डोला आँखा, पुक्क गाला, पुष्ट जीउ; घ्वाप्लक्क खाइदिउँ जस्ती !

मेरो मोवाइलमा उनको तस्विर कसरी आयो भन्ने कुरा त तपाईंले बुझ्नु पर्ने हो । कतै ब्रिन्दा बनेर मैले नै च्याट गरें कि भन्ने तपाईंलाई लागेको भए, मेरो भन्नु केही छैन । तपाईं सधैँ गलत पनि त हुन भएन नि । तर यी फोटोवाली कुनै बेलाकी मेरी सहकर्मी हुन् । पहिला भुटानी शरणार्थी अहिले डेनमार्कतिर छिन् । फोटो यिनकै वालबाट लिएँ । फोटोसप मलाई राम्ररी आउ नि । नयाँ फेसबुक आइडी जतिपनि बनाउन मिल्नी ! साँच्चै तपाईं त गोल्डेन डेटमा पो आउनु भएको हो- लौ मोज गर्नुस् यिनै मैयाँसित । किस सिस मोवाइलमै त खानी होला नि । मोबाइल चाँहि नफुटाइदिनुस् है । महङ्गै परेको हो । ए रीसै पो उठ्यो तपाईंलाई ? यी गिलास प्लेट फालेर क्यै हुन्न; बील मात्रै बढ्ने हो । धेरै ख्याँस ख्याँस गर्नुहुन्छ भने- मलाई तपाईंको मात्रै हैन तपाईंकी अर्धांङ्गिनीको फेसबुक आइडी पनि थाहा छ । थाहा मात्रै हैन हामी त सबै म्यूचल फ्रेन्ड नै छौँ नि ! थाहै छ तपाईंलाई । अस्ति भर्खर त हो नि तपाईंले वहाँलाई ट्याग गरेर म्यारिज एनिवर्सरीको फोटो शेयर गर्नु भएको ।

खासमा मैले भन्न खोजेको – तपाईं धेरै  सिरिङ्ङ नहुनुस् । ‘हर कुत्तेका दिन आता है’ भन्ने कुरो बुझ्नुस् । यो मोबाइललाई केही कुछ भए भाउजूसम्म यी च्याटका अन्तरङ्ग कुराहरु पुग्छन्; त्यति हो । तपाईंलाई थाहै छ भोलि भ्यालेन्टाइन डे भएपनि पर्सी त स्ल्याप डे हो । अनि निकर्सी किक डे । किक खाने कि नखाने तपाईंकै हातमा छ ।

काँ मैले तपाईंलाई धम्काउनु । तर के चाँहि हो भने तपाईं ठेगानमा बस्नुस् । यो भ्यालेन्टाईन डे पनि याद राख्नुस् । सधैँ मैले मात्रै सम्झन पर्छ भन्ने छैन । अब जान चाहनुहुन्छ भने जानुस् तर बील भने तिरेर जानुहोला ।

सायद बील अलि बढी होला ! अस्तिदेखि उधारो खाइरहेछु । अलि महङ्गो खाइयो । के गर्नु ?

”हरेक दोस्त कमिना होता है …”