एल्बमबाट फोटो हराएको थियो– दशैंको । हजुरबाले हात कपाउँदै बाबालाई टीका लगाइदेको बेलामा क्यामेराको फ्ल्यास बालेर कसले खिचेको थियो त्यो त याद छैन तर हजुरबाका आँखा त्यो फोटोमा पहेँलो चिम बले जस्तो ट्वाल्ल बलेका थिए । राती बिरालोको आँखामा टर्च बाल्दा जस्तो देखिन्छ नि, हो त्यस्तै । नाइट बसको झ्यालबाट ओ परपर डाँडामा ‘कसको घरमा बलेको बत्ती होला है’ भन्नेजस्तो लाग्छ नि, त्यस्तै पो हो कि । अर्को वर्ष त दशैं नै थिएन, हजुरबा बित्नुभएर ।
हराएको फोटोमा घरका मान्छे मात्र त थियौं । परिवारको सामूहिक फोटो एल्बमबाट झिकेर एक्लो एक्लो आफ्ना मात्रै फोटो भएका निजी एल्बमहरूमा कसैले हाल्यो भन्नलाई पनि त त्यो फोटो थिएन । शनिबार घरको सारा घुर बढार्दा पनि नभेटिएपछि फाटो कहाँ भेटिन्थ्यो ! भेटिएन ।
घरमा शोक परेको बेलामा, नमस्कार पनि भन्न नहुने ठाउँमा, अब छिमेकी आफन्त को आए को गए कसलाई होस हुन्छ ! घरका मान्छेको अनुहारमा सुख हुँदैन, उनीहरूलाई ढोकाहरूको चुकुलको याद हुँदैन, दराजको साँचोको याद हुँदैन, तेह्र दिन मनमा चैन हुँदैन, भान्साको याद हुँदैन, प्रियजनको मृत्युले जिन्दगीको भयानक आयामको केहीबेरलाई भाउ हुँदैन । त्यस्तोमा एल्बम अब खै कसले पल्टाएर हेर्यो कुन्नि ! आफन्तहरूलाई फोन गरेर ‘फोटो लग्नुभयो र ?’ भनेर सोध्ने कुरा पनि भएन ।
हजुरबा बस्ने बेतको कुर्सीमा अरू कोही बसे पनि कुर्सी रित्तो नै देखिन्थ्यो । हजुरबा अचानक हराएजस्तो फोटो पनि हराएको थियो । एल्बमको त्यो फोटो हराएको ठाउँमा अर्को फोटो हाल्दा पनि त्यो भरिएन । एकबाट एक घटाउँदा पहिलो एकको याद बाँकी भएजस्तो ।
दशैं मान्न पहाडघर जाँदा हजुरबा घरमा भेटिनुभएन भने बाबा उहाँ बारीतिर हुनुहुन्छ कि भनेर खोज्नुहुन्थ्यो रे ! गोठ कान्ला करेसातिर भेटिनुभएन भने तन्नेरी हुँदा बल गरेर तानेको तमाखुले बल्झिएको कफ बुढेसकालमा बल गरेर खोक्दै आरेभञ्ज्याङतिर उक्लिनुभयो कि जस्तो लाग्थ्यो रे । हजुरआमाले त्यता होइन, ‘फोटो हेर्न’ हो भनेपछि पुग्थ्यो । बुढा–ठिटाहरू जम्मा भएर रमि खेलेको ठाउँमा मन भुलाउन गुन्द्रीको डाम हातमा परुन्जेल पछाडि बसेर हेर्न जानुभयो भन्ने पक्का हुन्थ्यो । कहिलेकाहीँ हाम्रै घरमा पनि जुवाडेहरू जम्मा हुन्थे रे । तासको खाल बस्ने कोठाको एउटा भित्तामा, माथि माकुराले मात्र भेट्ने ठाउँमा, किल्लामा हजुरबाको भादगाउँले टोपी लगाएर खिचाएको एक्लो फोटो थियो । त्यसमा हजुरबाको अनुहार बाबाको अनुहारजस्तै देखिन्थ्यो । फोटो झुन्डिएको किल्ला तल सानो किल्लामा भित्तेपात्रो झुन्डिएको हुन्थ्यो । दशैंको रातोले दिनगतेहरू रातो भएको क्यालेन्डरको महिना पल्टिएको बेलामा फोटोहरूमा एकै ठाउँ नअटाएका सबैजना त्यही कोठामा केहीबेरलाई जम्मा हुन्थ्यौं । त्यही कोठामा हो त्यो हराएको फोटो खिचेको ।
फोटोहरूमा कैद नभएका जिन्दगीका अनगिन्ती कुराहरू सम्झेर हो कि हजुरबा बुढेसकालमा रुन्चे पो हुनुभएको थियो । गलेर हात गोडाले भर दिन छोडेपछि हजुरबा हिंड्डुल गर्न छोड्नुभएको थियो । बाबा हजुरबाका केही फोटाहरू देखाएर सम्झना भएका किस्साहरू सुनाउनु हुन्थ्यो । आफू नै नभएको फोटाका कुराहरू बाबा हजुरबालेभन्दा राम्ररी भन्नुहुन्थ्यो । पहिलेपहिले हजुरबाले बाबालाई हामीलाई अगाडि राखेर सुनाएजस्तै त सुनाउनुभएको थियो होला । धेरै त होइन, समय र संयोगले जुरेर खिचेका केही फोटाहरू थिए हजुरबाको– स्टकोटटोपी लगाएको ब्ल्याक एण्ड वाइट फोटो, गाउँमा पहिलो पटक पानी ल्याउन सदरमुकाम तानसेन जाँदा खिचेका मैनबत्तीको थोपा परेको फोटो, तीर्थव्रत गर्न गाउँलेसँग बनारस जाँदा खिचेको छेउटुप्पोबाट पहेंलिंदै गरेका फोटा र अरू केही यत्तिका वर्षसम्म नहराई हामी नातिनातिनापुस्तालाई पर्खेर बसेका फोटाहरू । तर भएकाभन्दा हराएको कुराको सम्झनाले बाबालाई दुःख दिएको थियो । बाबाले त्यो फोटो भेटिए हजुरबा एकचोटि भएपनि स्टिलको गिलासमा चिया खान आइपुग्नु हुन्छ कि जस्तो गर्न थाल्नुभएको थियो । लोग्ने मान्छे पनि त रुन्चे हुँदा रैछन् ।
केही महिनापछि अर्को फोटो पनि हरायो । साथीहरूसँग मिलेर बाबा वनभोज जाँदा खिचेको फोटो । बियर खान भर्खर सिक्दै गरेको बेला बाबा वनभोजमा मोहनी लाग्ला है भन्ने गीतमा गज्जबसँग नाच्नुभएको थियो रे ! बाबा दुईहात खोलेर झ्याउरे पारामा फन्न घुम्दै गरेको– त्यसैको त फोटो थियो । सँगै नाचेका साथीहरू को को कहाँ छन्, को को के भए, को सम्पर्क बिहीन भए, को को बितेर गए, त्यही फोटो हेरेर बाबा सुनाउनुहुन्थ्यो । त्यसपछि मन फुकाएर त्यसरी उहाँ कहिल्यै नाच्नुभएको थिएन रे । जिन्दगीमा पुराना साथीहरूसँग बिताएको समय कैद भएको फोटो हराउँदा बाबालाई कुनै देवीथानको मूर्ति हराएजस्तो भएको थियो रे ।
‘सम्झनाहरू त अडिने ठाउँ खोज्छन् नि, मान्छेले घर खोजेजस्तै । सम्झनाले त बिर्सिजालान् कि भनेर मान्छेलाई कुरेर बस्छन् रे । मैले कतै पढेको । अब फोटो नै हराएपछि, त्यो समय पनि हराउँछ । यसरी एकएक फोटो हराउँदै गयो भने बुढेस्कालमा म एक्लो हुन्छु । त्यैभएर,’ बाबाले आफ्नो निजी एल्बम सुम्सुम्याउँदै त्यसलाई दराजमा हालेर साँचो लगाउनुभयो ।
एसएलसी दिएपछिको लामो बिदाको बेला तानसेन बजार गएर मम्मीले साथीहरूसँग स्टुडियोमा फोटो खिचाउनुभएको थियो– सामूहिक, मिल्ने मिल्ने सङ्गी दौँतरी भएर, मित लगाएका दुईदुई भएर, अनि एक्लो एक्लो । पछि तिनै एक्लो एक्लो फोटो केटाको घरमा देखाएर धेरैको बिहे भएको थियो रे । एक्लो फोटोमा सबैको गलामा एउटै मोतीको माला थियो रे– स्टुडियोको । मम्मीले लगाएको कुर्ता हरियो थियो रे, फोटोमा हलुका कालो देखिएको । मोतीको माला रातो थियो रे, फोटोमा मध्यम अँध्यारो देखिएको । टप नीलोको गाढा चुक भयो रे । जुत्ता पहेंलो थियो रे, फोटोमा पानी पर्ने बादलको रङजस्तो देखिएको । फोटोमा सेतोकालो भए पनि मम्मीले सबै रङहरू सम्झिनुहुन्थ्यो । एकदिन त्यो पनि फोटो हराएको थाहा भयो । बाबाले मम्मीलाई पहिलो चोटी हेरेर मन पराएको फोटो । त्यो फोटो हेर्दा उहाँलाई तामदानमा बसेर रोएको पनि याद आउँथ्यो रे । मम्मीको पनि आँखामा आँसु भरियो । फोटोमा त मान्छेको चित्त पो हुँदो रैछ ।
बाबाले जङ्गलको बीचमा बियर खाएर पिकनिकमा नाचेको फोटो हराउँदा पनि घरमा पाहुना थिए । मम्मीले चोरऔला कन्चटमा लगाएर सिलिङतिर हेरेर केही सोचिरहेको जस्तो गरेको फोटो हराउँदा पनि घरबाट पाहुना हिंडेको अलि दिन मात्र भएको थियो ।
‘घरमा त पाहुना आउनै नहुने भयो । आए कि फोटो हराउँछ । अचम्म छ,’ सबैको मनमा लागेको कुरा मम्मीले पाहुनाहरू घर फर्किएको तेस्रो दिन बल्ल भन्ने साहस गर्नुभयो– बिस्तारै, छिमेकीले नसुन्नेगरी ।
‘हजुरका पनि आउँछन्, मेरा पनि आउँछन् । सबै नजिकैका हुन् । कल्लाई भन्ने ?’ त्यतिबेलासम्म पाहुनाले ल्याएका स्याउकेरा अझ ताजै थिए । म स्याउ कोपरिरहेका थिएँ ।
‘पाहुना आयो कि एल्बम लिएर बस्ने बानी छ नि सबको,’ बाबाले पनि सानो स्वरमा भन्नुभयो, छिमेकीले नसुन्नेगरी ।
‘अब एल्बमसेल्बम कि बाकसमा हाल कि दराजमा हाल । कसैलाई देखाउन परेछैन । बुझ्यौ ? जे भयो भयो । छोड्देऊ ।… छोरीचेलीलाई नराम्रो भन्यो भने चित्त दुखाउँछन् । बरु एल्बमै ननिकाल न ।’
‘छोरीचेलीले मात्र लगे होलान् त ? ज्वाइँभतिजाले पनि त लगेका हुन सक्छन् । त्यत्रो फेर्न दिएको लुङ्गी हराको था छैन !’
‘भो भो ! अब फोटोचोर कल्लाई भन्ने ? होस् ! पल्लो घरमा पाहुना आउँदा चम्चा र काँचका कचौरा हरायो भनेको होइन । धन्न, हाम्रोमा त्यत्तिसम्म त हुँदैन ।’ बाबा त रिसाउँदा रिसाउँदै हाँस्न पो थाल्नुभयो ।
‘किन हाँसेको नि ? बरु चम्चा कचौरा थाल गिलास जे मन पराएर लगे पनि हुन्थ्यो नि । पारि सुनौली गएर फेरि किन्न पाइन्थ्यो । भएको एउटै फोटो किनेर पाइन्छ त अब ? रोक्नु न, मैले जानेछु नि । कति रहर गरेर खिचेको फोटो, हेर ! पानीमुनि गए पनि…’ त्यस्तो पो भन्नुभयो ।
त्यसपछि ?
‘होस्’ त्यो त बाबाले त्यत्तिकै भन्नुभएको थियो । चित्त बुझाउन । चित्त कहाँ सजिलै बुझ्थ्यो ! हाँसेको त दाँतले रिस कुँडेको पो रैछ ।
बन्दना फुपू– बाबाको दिदी (होइन), केशव काका र उहाँको बिरामी भतिजा– लखनउ उपचार गर्न आएको (होइन), मनोरमा दिदी– मम्मीको माइतीतिर आफन्त पर्ने (होइन), विष्णु बुवा र आमा– बाबाको काका काकी (होइन), सुश्मा– मम्मीको टाढा आफन्तको छोरी, घुम्न आएको (होइन), लक्ष्मी आन्टी– मम्मीको बहिनी, पत्थरी जाँच गराउन आएको (होइन), लक्ष्मण– दुवैतिरबाट नाता लाग्ने, कसैकोमा घोत पुर्याउन आएको (होइन), पार्वती र उसकी जेठानी– इन्डिया साडी किन्न आएका (होइन), दिलीपका बुढाबुढी (होइन), मञ्जुका लोग्नेस्वास्नी (होइन), लक्ष्मी (होइन), अञ्जु (होइन), मदन भाइ (होइन) । एक साँझ खाना खाइसकेर बाबा मम्मीले एकदिन, दुईदिन, तीनदिन, पाँचदिन, कोही कोही सातदिन सम्म पनि बसेर गएका पाहुनाहरूलाई सम्झिनुभयो । आधालाई बाबाले होइन भन्नुभयो । बाँकीलाई मम्मीले होइन भन्नुभयो । फोटोचोर कोही पनि भएन । तर फोटोचोर कोही त हो भन्ने लागेकै थियो ।
‘उता बुटवल देवीनगरमा एकजनाले हेर्छिन् रे त । हराएको सुन त ठ्याक्क कसको घरको कुन कोठामा छ भनेर भन्छिन् रे, जाबो फोटो,’ साथीले वाहवाह गरेको पानीमुनि गए पनि चीज भेट्टाउने द्रष्टा मम्मीले त्यसरी फेला पार्नुभएको थियो । अनि त देवीनगरमा हत्केलामा चामलको सिता हेरेकी माताले उत्तरतिर हो भनिन् रे । रिसीबी छ भनिन् रे ।
उत्तरमा धेरैका घर थिए । माइतीतिरका कसरी चोर हुन सक्थे ! घरतिरका पनि कसरी चोर हुनसक्थे त ! आखिर हामीले, चोर खोज्न छोड्नुपर्यो ।
केही महिना एल्बमहरूले कपडाहरूबीच थिचिएर कपुरका दानाहरूसँगै दराज र बाकसमा कालकोठरीमा सजाय काटेर बसेजस्तो बस्नुपर्यो । उत्तर–दक्षिण–पूर्व–पश्चिम सबै दिशाका पाहुनाहरू आलोपालो गरेजस्तै घरमा आए, चिया पिए, पाउरोटी डोबेर खाए, भात तिउन खाए, घुरेर सुते, हाजमोला खान दिएर मलाई ‘सलाई ल्याइदेऊ,’ भनेर अह्राए, आकाश हेर्दै मान्छेहरूसँग लुकेर छतमा बसेर चूरोट खाए अनि ठुटो छिमेकीको बारीमा हुर्याइदिए, घरमा काम गर्ने मान्छे राख्नुस् भने, कुटाइममा टोइलेट बाथरुम गइदिएर स्कूल अफिस जाने समय उथलपुथल बनाइदिए, धाराबाहिक हेर्ने समयमा समाचार हेरिमागे, घरसल्लाह भइरहेको कोठामा पसेर उपदेश दिन थाले, घरमा तल्ला थप्नू भने, जग्गामा पैसा हाल्नू भने, कोहीकोही सबेरै भान्सामा पसेर मद्दत गरे, दैलो बढारे, तन्ना झिकेर धोइदिए, चामल निफन्दिए, हटियाबाट माछा बोकेर आए, साग केलाइदिए, बियरका सिसी लडाएर अरू आफन्तसँगको गुनासो सुनाए, हाम्रो बढाइ गरे, कोही कोही त फलानोले चित्त दुखाए, तिनको घरमा फर्केर पनि जान्न भनेर क्वाँक्वाँ रोए– छिमेकीले सुन्ने गरी… तर एउटा पनि फोटो हराएन । किनभने, पहिला एल्बम हेरेकाले ‘एल्बम खै ?’ भनेर सोध्दा हाम्रो घरसल्लाह भएको थियो, एउटै कुरा भन्ने– ‘खै, कता परेछ कुन्नि । हराछ ।’
केही महिनापछि घरमा दाइको बिहे थियो । टाढाटाढाका पाहुना आए । बसेर पुराना कुरा गर्ने बुढाबुढीहरू पनि आए । चलेर उपद्रो गर्ने खै कसकसका केटाकेटीको फौज पनि आयो । दूधको भाँडा घोप्टियो, सीसाको गिलास फुट्यो, एउटा केटो भर्याङबाट पछारियो । पिटाइ खाएर कहिले भान्साबाट, कहिले थुनेको टोइलेट भित्रबाट बच्चाहरू ‘चल्दिनँ’ भन्दै ह्वाँह्वाँ रोएको आवाज आउँथ्यो । टीभीको टुना नलगाएको भए त केटाकेटी भित्तामा दुई हातले बल गरेर ‘घर लडाइदिन्छु’ भन्थे । केटाकेटीको जीत भयो, बिहे घरमा टीभी रातदिन चल्यो । फिलिमको हिरो एउटामा मरेर फेरि अर्को फिलिममा हिरोनीलाई बचाउन पाँचतल्लाबाट हाम्फाल्दा पो केटाकेटीहरू चकित हुन्थे– ‘त्यो त मोरेकै रैनछ ।’
दुना टपरी खुट्नेले घाममा बसेर चिया खाए, आकाश–पाताल–छिँडी–बुइँगल–माइती–घर सबतिरको कुरा गरे । तासेजुवाडेहरू बकुल्लाजस्तो एउटा खुट्टा उठाएर होइन, तास बोकेको एउटा हातमा घोप्टो भएर तासमुद्रामा बसे ।
साँझ सम्झनाहरू फर्किएर आउने समय भएजस्तो बिहेघरमा साँझ सम्झनाहरूकै कुरा भए । हाँसो मजाक भयो । ‘पहिले त्यस्तो, अहिले यस्तो’, ‘पहिले त्यत्रा, अहिले हेर त यत्रा !’ भन्ने कुरा भए । अनि रमाइलो रमाइलोबीचमा कसैले फ्याट्ट भन्यो– ‘फोटो एल्बम हेरौं ।’ दराजको त होइन बाकसको एल्बम त कालकोठरीबाट रिहा भइसकेको रैछ । घरको मान्छेले एकअर्काका आँखा हेर्यौं । बाँकी सबले एल्बम पल्टाउन थाले । हेर्नेलाई भाग पुगेन । दराजको पनि आयो । निजी एल्बमहरू पनि आए । कसैले ‘मलाई पनि यसको रिल धुलाइदेऊ न’ भने । हाँसेर गाला दुख्न थालेपछि पाहुनाहरूले हाईहाई काढ्न थाले । सबको बिस्तारा बन्दोबस्त मिलाएपछि बैठक कोठा खालीखाली भयो । मैले एल्बमहरू सबै जम्मा गरेर बाकसमा हालेर साँचो लगाएँ र लामो सास फेरें, उफ !
कसैको घरमा बिहेमा मान्छे थुप्रिए भने गरगहनाकै चिन्ता हुन्थ्यो । नयाँ साडी हराएको कुराहरू सुनिन्थ्यो, नत्र फल्स हराएको । दुलहालाई किनेको नयाँ जुत्ता सालीहरूले चोर्नुअघि दुलहाकै घरमा हराएको सुनिन्थ्यो । गञ्जी, ब्लाउज, टोपी, पेटी, चुरा, टाई, मोजा, झुम्का, घडी, अरू महँगा सस्ता कुनै न कुनै सामान बिहे घरबाट हराएको सुनिन्थ्यो । पैसाको त कुरै नगरौं । दुलादुलहीले लगनगाँठोमामा कसेको पैसा पनि हराउँथ्यो । दुलादुलहीलाई टीका लगाएर दिएको दक्षिणा त हराउँथ्यो ! हरेक बिहेपछि दुईचार आफन्त ठुस्केकै हुन्थे । त्यस्तोमा चोरदोष लागेकाहरूको त बोलचाल नै पो बन्द हुन्थ्यो । आउजाउ पनि बन्द हुन्थ्यो ।
हाम्रो घरमा त्यस्ता केही घटना घटेनन् ।
तर बिहे सक्किएको केही दिनपछि पो थाहा भयो– यसपल्ट त एक्लो एक्लो फोटो पो हराएछन् । मेरो पनि । दाइको पनि ।
एल्बमहरूलाई फेरि सजाय भयो । कोही दराजमा नजरबन्द भए । कोही बाकसको कालकोठरीमा थुनिए । बिहेघरमा सबैको अनुहार त उज्यालै थियो, तर मन भने अँध्यारो भएको थियो ।
छिमेकीहरूसँग शनिबार घाममा बसेर गफ गर्दा मम्मी सोध्नुहुन्थ्यो– ‘हजुरहरूकोमा पनि फोटो हराउँछ ?’
‘अहिले त हराउँदैन दिदी ।’
‘पहिले ?’
‘पहिले त फोटोहरूमा ज्यान हुनी, टाउकै नहुनी । हामी त घरमा भूत लाग्यो भनेर धन्न घरै सरेर गाको नि । पछि पो थाहा पाइयो, सानो छोरा र उसको दिदी भएर अटो भर्दा रैछन् केरे । टाउको टाउको उखेलेर साथीको अटोमा टास्नी ।’
‘अनि ?’
‘ओ उहाँले पड्काइदिनुभयो । सानोले त साथीको अटोबाट एउटा टाउको फिर्ता ल्याएर टाँसेथ्यो । उसको दिदी चाहिनेले त शिव श्रेष्ठको टाउको पोस्टकार्डबाट काटेर आफ्नो बाबाको ज्यानमा हालिकी थिई । सट्टाभर्ना गरेको । केटाकेटी पनि अचम्म गर्छन्,’ छिमेकी आन्टी मरीमरी लाजले हाँस्न पो थाल्नुभयो । त्यो फोटोमा साँच्चैको शिव श्रेष्ठले उहाँलाई अँगालो हालेको जस्तो देखिएको रहेछ ।
बाबाले तास खेल्ने साथीहरूलाई सोध्नुभएको थियो, ‘तपाईंहरूको घरमा एल्बमबाट फोटो हराउँछ ?’
सिक्वाइन्स मिलाउँदै श्रीधर बाजेले भनेका थिए, ‘एकजमानामा मेरो फोटो खूब हराउँथ्यो हेर्नुस् । मन पराउने थुप्रै थिए क्यार्नु । त्यै भएर त दुईटी बिहे गरेको ।’ बुढा पत्ति मिलाउँदै फिस्स हाँसे । ‘फोटो खासमा दशपन्ध्रवटै हराएको हो । दुःखीहरू । बाँकीको भाग्यै रैनछ ।’ बुढाले फाल्टु तास फ्यात्त फाले ।
‘पर्यो !’ जगन्नाथ काका चिच्याए अनि तासलाई मोई खाए । ‘कतिको माल हुन्छे रे ?’
काकाले म्यारिजको एक्काइस पत्तिमा एउटा फोटो पारेका थिए । बुढाहरू यस्तै त हुन् । म तासको खालबाट उठेर हिंडेको थिएँ ।
घर आउने आफन्तहरूले हामीलाई सुनाउन थालेका थिए, ‘ए ! म त हाम्रोमा मात्र हो कि भनेको त, हजुरहरूकोमा पनि फोटो हराउँछ ?’
उनीहरूकोमा आउने र हाम्रोमा आउने आफन्तहरू प्रायः उहीउही त हुन्थे ।
‘हैन, फोटोचोर त पत्ता लगाउनै पर्यो भाञ्जी । मेरो क्या राम्रो फोटो थियो नि– पिपलको पात समातेर उभ्भेको । लुम्बिनीमा । फेरि गएर खिच्न त मिल्छ । तर हेर्नु त, मेरो गाला कस्तो चाउरी परिसकेछ,’ दुर्गा माइजूले गाला तानेर देखाइन् । ‘त्यो फोटो तिम्रो मामाले खिच्नुभाथ्यो ।… मामा र मेरो एउटा फोटो थियो नि भाञ्जी । हजुरसँग छ भने दिनू न । फोटोको फोटो तान्न मिल्छ रे त हो कता ।… मामासँग मेरो धेरै फोटै छैन,’ माइजू बोल्दाबोल्दै अडिनुभयो ।
‘फोटोमा हेर्दा त अझै यतैकतै हुनुहुन्छ जस्तो लाग्ने,’ माइजूको आँखा त आँसुले पो टल्कियो ।
माइजूले फोटोहरू पार्वती र उसको जेठानीले चोरेको हुन् भन्नुभयो । साडीमा गुट्मुटाएर लिएर गएको होला भनेर अड्कल काट्नुभयो । उनीहरू पाहुना लाग्न आउन छोडेपछि फोटो हराएको थिएन रे । अञ्जु र लक्ष्मी पनि आइरहन्थे रे । तिनीहरूले पो लगे कि पनि भन्नुहुन्थ्यो ।
अञ्जु र लक्ष्मीको घरमा मम्मी एकएक रात बस्न जानुभएको थियो । बिचराहरू ! उनीहरूको घरमा फोटो राख्ने एल्बम त थिएन रे । लक्ष्मीले त ठूलै ज्यान लिएर जूनबाट खसेकी हुँ भन्थी रे, परालको टौवामाथि । उसका सानाका फोटाहरू थिएनन् नि त– स्टुडियोमा प्लास्टिकको डोरीले बुनेको सोफामा बसेको, आँखा र निधारमा गाजल लगाएको । चलन त्यस्तै फोटोको थियो । उसको होली खेलेको फोटो थिएन । निदाएको फोटो थिएन । रोएको फोटो थिएन । उसको आमा पनि थिइन । ऊ हुर्किएका फोटाहरू नै थिएनन् । उसलाई त्यही भएर सानाका कुराहरू, जस्तो ‘त’ बाट तस्वीर लेख्न सिकेको समय ठ्याम्मै याद छैन भन्थी रे ।
लक्ष्मीको मात्रै होइन, अञ्जुको घरको मान्छेको खासै पुराना फोटाहरू नै थिएनन् । बाँकी थिएनन् भनौं न । उनीहरूको घरमा आगो लागेको थियो । उनीहरू त्यसपछि राम्रोसँग हाँस्न पनि सकेका थिएनन् । अनि कसैले हाँसेर फोटो पनि खिचाएका थिएनन् । उनीहरूको घरमा दुःख थियो ।
अञ्जु र लक्ष्मी को हुन् ? आफन्त नै हुन् । फोटो उनीहरूले चोरेका थिएनन् ।
विष्णु बुवा आमाको पनि गुनासो थियो– घरबाट फोटो हराएको । उहाँहरूको एउटा छोरो हराएको थियो, अलि पहिलै । हराएको छोराको धेरै फोटाहरू थिएनन् । कुकुरको छाउरा समातेर उभिएको फोटो हराएको रहेछ । नेपाल टेलिभिजनमा ‘बालक हराएको सूचना’मा त्यही फोटो देखाएको थियो रे । त्यतिबेला धेरैको घरमा रङ्गीन टेलिभिजन थिएन । शनिबार फिल्म हेर्न हतार भएका दर्शकले ब्ल्याक एण्ड वाइट टीभीमा हराएको छोराको फोटो घोरिएर त हेरेका थिए, तर… । दुई महिनाजति पछि एक बिहान एउटा मान्छे काखमा कालो कुकुरको छाउरा लिएर आएको थियो रे ‘यहीँ हो ?’ भनेर । कुकुरको बच्चा, कालो रङको । त्यस्तो त टोलमा, शहरमा, देशभरमा जाडो छेका कत्तिकत्ति हुन्थे । विष्णु बुवाले कुकुर पाल्नुभयो रे । छोरो हराएको आज तीस वर्ष भयो ।
सुश्माको कुरा के गरौं खै ! उसको त्यो वर्ष एसएलसी बिग्रिएको थियो । ऊ घुम्न आएको वर्ष । अर्को वर्ष ऊ घुम्न पनि आइन । ऊ फेरि फेल भएकी थिई । पत्रिकामा उसको नाम आएको थिएन । पुलिसले उसको फोटो खिचेका थिए– पङ्खाबाट झुन्डिएको । उसले सुसाइड गरेकी थिई । परीक्षामा नअटाएका शब्दहरू उसले सुसाइड नोटमा पनि लेखिन । उसलाई अक्षरहरूसँग घृणा पो भयो कि कुन्नि । ऊ त त्यस्तै हराएर गइन् । उसको अटोमा भएको मेरो फोटो मैले नै दिएको थिएँ । जानुअघि उसले अटो पल्टाएर हेरेकी भए मलाई हेरेकी थिई होला । फोटोबाट बोल्न मिल्ने भए म उसलाई अँगालो हालेर सम्झाउँथे हुँला । खासमा त्यो उमेरमा के थाहा, आफन्त पर्नेलाई मन पराउनुहुँदैन भनेर । भयो, त्यो कुरा नगरौं । उसका अक्षरहरू साह्रै राम्रा थिए । उसले अक्षरलाई घृणा त गरिनन् कि कुन्नि । ऊ फोटोचोर होइन ।
लक्ष्मण पहिला आफू बिग्रियो । त्यसपछि घर बिग्रियो । उसको कथा साह्रै दुःख लाग्दो छ । छोड्नुस् । उसले फोटो चारेको होइन ।
केही भन्ने ? ल ठीक छ । सुन्नुस्– लक्ष्मणले पढ्न पनि सकेन ।
लक्ष्मणले कमाउन पनि सकेन ।
लक्ष्मणले उब्जाउन पनि जानेन ।
लक्ष्मणले बिहे त गर्यो तर परिवार पाल्न सकेन ।
लक्ष्मणले अरूका घरघरमा गएर बारुलाको गोलोमा आगो झोस्यो, अंकुस बनाएर बेलौती र लिच्ची झारिदियो, वारिपारि घरमा पाहुना आउँदा कुखुरा भुत्ल्याइदियो, छिमेकीको घरमा ज्वाइँ आउँदा खसी काट्दियो, भुँडी पखाल्यो, मासु चोइँट्यायो । लक्ष्मणले सबै गर्यो । तर लक्ष्मण… भो छोड्नुस्, लक्ष्मणको कथामा दुःख मात्र छ । लक्ष्मण अहिले कहाँ छ ? लक्ष्मण जिउँदै छ । तर उसले फोटो चोरेको होइन । लक्ष्मण अझै कोही आफन्त मर्दा घोत पुर्याउन कता कता जान्छ । लक्ष्मणको कसैले फोटो खिच्यो भने ऊ हाँस्छ । उसको सबै फोटोमा लक्ष्मण हाँसेको छ । तर लक्ष्मण दुःखी छ । लक्ष्मणले फोटो चोरेको थिएन ।
केशव काकाको भतिजा त विचरा लखनऊमै पो बित्यो पछि । बिरामी भइरहने हुनाले ऊ स्कूल पनि राम्ररी जान पाएन । चेन बिग्रिएर खिपले समातेको उसको स्कूलको कापीकिताब बोक्ने सानो हरियो झोलामा झुम्राजस्ता पिसाब गन्हाएको कट्टु, गञ्जी, नाकपुस्ने रुमाल, टुथब्रस, ऐना, काइँयो, अस्पतालका कागज, बिहान–दिउँसो–साँझ खाने दबाइहरू हुन्थ्यो । लखनऊको डाक्टरले उसलाई दुई–तीन महिनामा फलोअपमा बोलाइरहन्थ्यो । उसले स्कूलमा भन्दा बाटोमा, बसमा, रेलमा, बिरामीको लाइनमा, हरियो तन्ना ओछ्याएको अस्पतालको बेडमा धेरै धेरै समय बिताएको थियो, त्यही पढेको थियो । ऊ कापीमा रेल कोर्थ्यो । रेल कोर्दाकोर्दै निदाउँथ्यो । अनि त्यही रेलमा चढेर इन्डियामा खै कता मरेको आफ्नो बाउ खोज्न पो जान्थ्यो कि । उसले कापीमा जेरी बनाउँथ्यो । अनि मुखभरि आएको पानी निल्थ्यो ।
ऊ बित्दा मैले पनि नून बारेको थिएँ । ऊ मसँग नजिक हुन खोज्थ्यो । टाउकोमा लगाउने तेल मागेर कपाल स्याप्प पारेर कोर्थ्यो । म उससँग तर्किरहन्थे । पछि पछि ऊ जतिपटक घर आयो, अझ दुब्लाएर, सुकेर आउन थालेको थियो । हरेकपटक आँखामुनिको कालो अझ गाढा भएको हुन्थ्यो । ऊ अन्तिमपटक आएको बेला उसको शरीरमा ताकत थिएन । पसारिरहन्थो । उसले मसिना हातले कपाल कन्याउँदा भुइँमा नूनका दानाहरू खसेजस्तो चाया बरर्र… झर्थ्यो ।
‘उसले तिम्रा सिसाकलमहरू चोरेको रैछ । विचरा !’ केशव काकाले उसको हरियो झोलामा साना साना सिसाकलमका टुक्राहरू भेटेका थिए रे । ‘अब म यता त्यति आउँदिन हुँलाँ । भतिजकै याद आउँछ ।’ उसको नाम के हो ? भयो छोड्नुस् । उसलाई एक्लो छोड्दिनुस् अब । उसले फाटोसोटो चारेको होइन । केशव काकाले भतिजको एउटा एक्लो उभिएको फोटो खिचाएका रैछन् लखनऊमा । काकाले आफ्नो घरमा उसको त्यही फोटोमा माला लगाएर राखेका थिए ।
कसले चोरेको हो त ? भन्दैछु, पुरै कुरा त सुन्नुस्–
दिलीप दाइको घरमा बाबा एकरात बस्न जानुभएको थियो । एल्बमहरूमा हाम्रा फोटाहरू थिएनन् । बरु बाबाले हजुरबुवा भएको एउटा पुरानो फोटो पो मागेर ल्याउनुभएको थियो । दिलीपका बुढाबुढीले फोटो लगेका होइनन्, पक्का भयो ।
मञ्जु दिदीको घरमा हामी स–परिवार गएका थियौं– उहाँको छोराको व्रतबन्धमा । उनीहरूको घरमा हाम्राभन्दा राम्रा एल्बमहरू थिए । त्यसमा देशभर घुमफिर गरेका फोटोहरू थिए– हिउँ खेलेको, पहाडको थुम्कोमा टाइटेनिक फिलिममा जस्तो दुईहात फैलाएको, हात्ती चढेको, पिङमा मच्चिएको, कसैको बिहेको पार्टीमा दुलाहादुलहीसँग सँगै उभिएको, काफल खाएको, शिवलिङ्गमा ढोगेको, उकालोमा लौरो समाएर उभिएको, बियरका गिलासमा चियर्स गरेको, खै को विदेशीसँग अँगालो हालेको, डुब्दै गरेको घामलाई पछाडि राखेर नदीमा गोडा डुबाएको, जिन्दगीमा केही दुःख अभाव नै नभएजस्तो खुलेर हाँसेको ।
उनीहरू सम्पन्न थिए । फोटाहरू हेरेपछि हामीलाई लाज लाग्यो । उनीहरूले जिन्दगीमा यति रमाइलो गरेका थिए कि दुईचार फोटो एल्बमबाट झिकिदिए पनि केही फरक पर्ने थिएन । उनीहरूका सयौं फोटा थिए । हजारौं अनुभवहरू थिए । उनीहरूको फोटामा हामीले कल्पिएकोभन्दा पनि ठूलो जिन्दगी देखेका थियौं । भो अब कुरै नगरौं, मञ्जुका लोग्नेस्वास्नीले फोटो चोरेका होइनन् । बरु मलाई पो उनीहरूको फोटो चोरूँ चोरूँ लागेको थियो ।
बाबाको भाइ पर्ने मदन अहिले खाडीमा छन् रे । उनलाई हामीले नदेखेको वर्षौं वर्ष भइसक्यो । अन्तिम पटक आउँदा बाबासँग बाटो खर्च मागेका थिए, घर फर्किनलाई । ‘घरबाट हिँडेर फेरि घरै फर्किन यो मदन किन आइरहन्छ होला यस्तरी,’ बाबा भन्नुहुन्थ्यो । उनको घरमा बिजोग थियो– पैसाको सङ्कट । उनको जिन्दगीमा केही कुरा मिलेको थिएन । अहिले कुन्नि के भयो ! हामीसँग भएका उनका पुराना फोटाहरूमा उनी मुस्कुराएका पनि छैनन् । उनको दिमाग कताकता आकाशतिर उडिरहेको जस्तो लाग्थ्यो । मदन भाइले फोटो चोरेका थिएनन् । विचरा !
पार्वती र उसकी जेठानीको बोलचाल नभएको कति वर्ष भइसक्यो रे । सँगसँगै पार्लर जाने, सुनौली गएर साडी किन्ने, गहना साटेर लगाउने, सँगै फिलिम हेर्न जाने, तीजमा एकअर्काको माइती पुग्ने, हुन सम्म गरेका थिए रे । साह्रै मिल्ती थियो रे । पछि तिनको सासू कि ससुरा को बितेपछि सम्पत्तिले घरकलह भयो रे । अहिले दाजुभाइ बरु मिल्नमिल्न खोज्छन्, तर पार्वती र उसकी जेठानी मिल्दैनन् रे । भो अरूको के गर्नु । खासमा मम्मी उनीहरूको घरमा तीजको दर खान जानुभएको थियो । क्यासेटमा अरू झमझम नाच्दा मम्मीले उनीहरूका फोटो एल्बमहरू पल्टाउन भ्याउनुभएछ । उनीहरूकोमा हाम्रा हराएका फोटाहरू थिएनन् । बरु अर्को कुरा पो थाहा भयो– पार्वतीले उसकी जेठानी र आफू भएको फोटाहरू एल्बमबाट फालेकी छैनन् रे । उसकी जेठानीले पनि फोटाहरू राखिरहेकी छन् रे । उनीहरू फोटोचोर थिएनन् ।
कसले चोरेको थियो त फोटाहरू ?
एकदिन फोटाहरू फेला पर्यो । अब धैर्य गरेर सुन्नू ।
आखिर कसले चोरेको थियो त फोटाहरू ? – यो प्रश्नको त हामीले वर्षौंदेखि वास्ता गर्न पनि छोडेका थियौं । समयले हाम्रो अनुहारमा दुःख–सुख हाँसो–निराशा खै के के पो पोतिदिन्थ्यो । तर हामीहरू चिसो पानीले अनुहार पखालेर, कपाललाई स्याप्प मिलाएर, लाली अत्तरको तरङ्गमा, फोटोमा उभिन पुग्थ्यौं– ‘चि…..ज’ भन्दै ।
त्यसरी कत्ति कत्ति फोटाहरू खिचिइए, बिर्सिइए । फोटाहरू केही उज्यालोले बिग्रिए, कति अँध्यारोले । नधुलाएका फोटाहरू रिलमै अल्झिरहे कति, रिल सक्किएर नखिचिएका कति फोटाहरू अझ रहर तृष्णामै । तर ती पनि कतिन्जेल पो बसे र !
डार्करुमका राता बत्तीहरूको छायामा हाम्रा निधारमा दशैंको रातो अक्षता पलायो । संसारकै सबैभन्दा खुशी परिवार जस्तो देखिने मान्छेहरूलाई नयाँ कपडा फोटोमा पनि उत्तिकै सुहायो । फोटोमा हजुरआमाका चाउरीहरू टल्किए । उमेर बढ्दै गएपछि बाबा फोटोमा हजुरबाजस्तो देखिनथाल्नुभयो । मेरा जुँगाका रेखीहरू डटपेनले कोरेजस्तो देखिए । समयको अनुहारमा घाम बादल लागे जस्तै धेरै वर्षसम्म हामीले खिचिरहेका फोटाहरूमा उज्यालो अँध्यारो पर्दै गयो । सम्झनाहरू बन्दै गए, जिन्दगीले आकार लिँदै आयो । जिन्दगीका जोल्टिङहरू सबै फोटोमा अटाएनन्, तर फोटोमा अटाएको खुशी पनि जिन्दगीले खोसेर लान सकेन । यसरी नै वर्षौं वर्ष बिते ।
पत्थरीको उपचार गर्न आउनुभएको लक्ष्मी आन्टीले पनि फोटाहरू लग्नुभएको थिएन । किनभने ? किनभने कुरा सुन्दै जानुस् । तपाईंलाई आफैं थाहा भइहाल्नेछ ।
अनि मनोरमा दिदीले ? उहाँले फोटो त लग्नुभएको थियो, तर मागेर । उहाँलाई आफ्नी बहिनीभन्दा पनि हाम्रो मम्मीको माया बढ्दा लाग्थ्यो रे । उहाँ घरमा आउँदा आफूहरू साना हुँदाका कुराहरू मात्र गर्नुहुन्थ्यो– ‘हामी त ठूलै नहुनुपर्ने के, है ?’ उहाँले मम्मीको एउटा फोटो मागेर लग्नुभएको थियो । ‘तिमीले त बिर्सियौ, म त सबै सम्झन्छु भाइ,’ उहाँ हाम्रो घरमा सानो हुन आउनुहुन्थ्यो– पुरानो समयमा फर्किन, काफल खान, वनमा डुल्न, बगरमा सुत्नको लागि । उहाँका तीनटा छोराछोरी थिए । उहाँलाई तिनीहरू छिटोछिटो हुर्किएको देखेर कहिलेकाहीँ दिक्क लाग्थ्यो रे । अनि उहाँलाई घडी पनि मन पर्दैन थियो ।
अब थाहा पाउनुभयो ?
ती सबै हराएका फोटोहरू खासमा कसैले चोरेको होइन ।
के हो त ?
ल सुन्नुस्ः
दुई हप्ताअघि उहाँ बित्नुभएको खबर आयो ।
बुढेसकालले फुपूका हड्डीहरू गलेका थिए । उमेरले उहाँ अलिअलि होची पो हुँदै जानुभएको थियो । बाथ रोगले बनाएका हातगोडाका गाँठाहरूले उहाँ घरको आँगनमा पहिलेजस्तै फूलहरू फुलाउन सक्नुहुँदैनथ्यो । शरीरको रोग स्याहार्नु परेपछि फुपू आफन्तहरूकोमा पहिले जस्तै जान पनि छोड्नुभएको थियो । उहाँले चश्मा लगाएर चामल हेरे पनि भात पस्किँदा त्यसमा काला ठोरीहरू बाफिँदै आउँथे । चूरोटको डब्बा, फलफूल, मिश्री आदि लिएर गएका आफन्तहरू ठोरी पन्छाएर भात खान्थे । सागमा कपाल जेलिएर आउँथ्यो । दालमा किरिक्क ढुङ्गाका दाना चपाइन्थ्यो । टाढाबाट आउनेलाई उहाँ– ‘अझै दुईरात बस न,’ भन्नुहुन्थ्यो । नजिकबाट आउनेलाई, ‘साझँसम्म बस न,’ भन्नुहुन्थ्यो । टाढाका आफन्तहरू एकरात भन्दा दुईरात बस्दैनथे । नजिकबाट आउनेहरूको दिउँसो हुँदा नै काम बित्थ्यो र उनीहरू फर्किन्थे ।
उहाँको सानो घरको दैलो नजिकको किल्लामा कालो रेडियो झुन्ड्याइराखेको हुन्थ्यो । भित्र कोठाको टेबलमा फुपू आफैंले बुनेको लेसले छोपेर राखेको एउटा चौध इन्चको रङ्गीन टीभी थियो । त्यही टीभी अगाडि उहाँले केही महिनाअघि एक दिनभर लगाएर बडेमानको सोफा सार्नुभएको थियो । त्यही सोफाबाट फुपू उठेपछि चाल पारेर त्यहाँ बिरालो आएर निदाउँथ्यो । बिरालोको रौं टक्टकाएर त्यही सोफामा बसेर उहाँ टीभी हेर्नुहुन्थ्यो– दोहोरी, समाचार, भजन, कहिलेकाहीँ रेस्लिङ । रियालिटी शोमा मान्छेहरू हाँस्दा उहाँ नबुझी नबुझी हाँस्नुहुन्थ्यो । उनीहरू रुँदा भने साँच्चै रुनुहुन्थ्यो । साबुन, मन्जन, मोटरसाइकल र बीमा कम्पनीका प्रचार आइरहने रेडियोबाट उहाँ दिक्क हुनुभएको थियो । राम्रा गीत एकदुईफेर आउँथे, ‘यसो किन्नुस्’, ‘उसो किस्तामा लैजानुस्’, ‘आजै घर लानुस्’, ‘अहिले तुरुन्त फोन गरिहाल्नुस्’ अरू के के भनेर बारबार आउँथ्यो । अनि मन नलागीनलागी त्यही कण्ठ हुन्थ्यो उहाँलाई– बित्थामा । जिन्दगी कुर्दाकुर्दा हतार नभएको फुपूलाई बजारले हतारमा ‘अहिले किन्नुस्, अनि कोतरिहाल्नुस्’ भनेको मन पर्दैनथ्यो । उहाँलाई त हतार नगरी बस्ने कुरा पो मन पर्थ्यो । जस्तो ?
अल्छी बिरालो तङ्ग्रिएर उठेपछि गाउँ निस्कन्थ्यो । कहिले चरा, कहिले मुसा, कहिले छेपारो मारेर आँगनमा ल्याएर छोड्थ्यो । हा ! गरेर धपाउँदा टीनको छानामा गएर बसेको बिरालोलाई ‘मुर्दार’ भने पनि फुपू त्यसलाई दूधभात खान दिनुहुन्थ्यो । उहाँका सन्तान थिएनन् । फुपूका सन्तान नै भएनन् । उहाँ घरमा एक्लै बस्न थालेको पचास वर्षभन्दा धेरै भइसकेको थियो ।
फुपू केही महिनादेखि टीभी हेर्दाहेर्दै सोफामै निदाउन थाल्नुभएको थियो । कोसेली आएको चूरोट पिउँदै उहाँ टीभीका पट्यार लाग्दा प्रचारमा हाईहाई काढ्नुहुन्थ्यो । धारावाहिकमा जेठानी देउरानीलाई दुःख दिने दाउपेच गरिरहेका हुन्थे, हिरोहिरानी डाँडाका टुप्पामा हो ओ हो ओ हे ए हे हा गरिरहेका हुन्थे । टीभीमा सलबलसलबल सल्बलाइरहेका मान्छेहरूबाट उहाँका आँखाहरू थकित भएर लोलाउन थाल्थे । त्यस्तै एकदिन निद्रामा झुलेर इतर संसार बिर्सेकै बेला हो गाँठा परेका औंलाहरूको बीचबाट चूरोट सजिलो भएर छुट्यो, अनि सोफाले आगो समात्यो । त्यही आगोले फुपूको मासु गलेर छाला लत्रिन थालेको बुढो शरीर जलेको थियो । जलनको औडाहामा शरीरले दोस्रो दिन प्राण त्याग गर्यो । बन्दना फुपूको मृत्युले खबरले स्मृतिहरू छट्पटाएर बाहिर निस्के ।
मृत्युसंस्कारको पाँचौं दिन भतिज पर्ने एकजनाको छोराले शोक परेको घरमा घोत लिएर आउने आफन्तहरूको नाम लेख्ने रातो डटपेनले मोतीको मालामा रङ भरेर सिधै भान्सामा गयो । किरियापुत्री को बसेका थिए ? फुपूबाट सन्तान नभए पनि कान्छीतिरबाट सन्तान थिए नि त । सँगै घरमा पो लिएर नराखेका हुन्, माया त गर्थे । अँ, दुःखसुखका कुरा गरेर चिया उमाल्दै गरेको मम्मी फोटो देखेर यति अचम्म पर्नुभएछ कि चिया उम्लेर आगो नै निभ्यो । अनि सानो केटोले एल्बम नै बोकेर ल्याएर देखायो, ‘याँबाट निकालेको !’
त्यही एल्बममा थिए हराएका सबै फोटाहरू– मायाले जतन गरेर राखेको । ती फोटाहरूमा समय कैद थियो । त्यो समयमा फुपूले माया गर्ने मान्छेहरू हतार नगरी बसेका थिए । पर्खेर बसेको मान्छेलाई आउँदै गरेको मान्छेको माया हुन्छ होला । तर फुपूले त ती पर्खेर बसेका मान्छेहरूलाई नै माया गर्नुभएको थियो– फोटोमा बिना क्लेश, बिना अपेक्षा, खिच्नेले ‘अलिकति हाँस्नुस् त’ भनेकै भरमा मुस्कुराएर बसेका ।
एकजमानामा फोटाहरू ज–जसका जुनजुन हराएका थिए, ती प्रायः त्यही थिए । हराएका फोटाहरूभित्रका मान्छेहरू धेरै त बितेर पनि गएका थिए । शोकघरमा कमलो मन भएका छोराछोरी नातिनातिना बितेका प्रियजनका फोटाहरू हेरेर सुक्सुकाएका थिए । कोही फोटोले बोलाएर ल्याएको आफ्ना भावनाहरू त्यतिन्जेल कहाँ थिए त भनेर चुक्चुकाएका थिए । ब्ल्याक एण्ड वाइट फोटाहरूमा अतीत भेटिए जसरी कोही शान्त भएका थिए । आफूले बिर्सिसकेको त्यो समयको त्यो पल सम्झिएर कतिले जिन्दगीमा कुनै छुटेको कुरा भेट्टाए जस्तो गरेका थिए । बाबालाई देवीथानको मूर्ति फर्किएर आएको थियो । मम्मीलाई दौँतरीहरूको याद आएको थियो । कतिले आफैंलाई नचिनेर हाँसेका थिए । त्यसरी हराएका फोटाहरूले शोक परेको घरमा स्मृति र सम्झनाहरू लिएर आएका थिए । रुने रोए, हाँस्ने हाँसे, बेवास्ता गर्नेहरूले पनि कुरै नगरी बस्न सकेनन् ।
मालाले सिँगारेको, फूलका केस्राहरू अर्पण गरेको, हावामा तैरिहेको धुपको गाढा बासनादार धुवाँले घेरेको फुपूको फोटोले सबै मुस्कुराएर हेरिरहेको थियो । फुपू अन्तिम दिनहरूमा तिनै फोटाहरूसँग बात मारेर बस्नुहुन्थ्यो कि ! सोफामा बसेर टिभीको बदलिरहेको उज्यालोको अनेक रङहरूमा, शायद फुपू हराएका तिनै फोटाहरू हेरेर पुराना आफन्तहरूसँग सम्झनामा फेरि हाँसखेल गर्नुहुन्थ्यो । राती आकाशका ताराहरू एल्बमका तिनै फोटाहरूमा खसेर मान्छेका आँखा उज्याला पो भइजान्थे कि ! फुपूका सपनामा शायद पुराना कुराहरू आउँथे होलान् । अझ पुराना मान्छेहरू पो आउँथे होलान् । फुपू सपनामा तिनै हराएर गएका, बिर्सिएर गएका मान्छेहरूसँग कुरा गर्दा गर्दै पो ज्यानमा आगो सल्किएको थियो कि कुन्नि !
फुपूले फोटो चोरेको होइन । हामीलाई आफ्नो आँखा अगाडि राखिरहन लिएर पो जानुभएको हो । ‘फोटाहरू भएनन् भने बुढेसकालमा म एक्लो हुन्छु,’ बाबाले शायद यस्तै केही भन्नुभएको थियो । तर फुपूलाई बुढेसकालको मात्र होइन, हरेक एकान्तमा एक्लो हुन्छु कि भन्ने पो चिन्ता थियो होला । त्यही भएर त उहाँ आफन्तहरूकोमा दुईचार रात पाहुना हुन जानुहुन्थ्यो । अनि पाहुनाघरको छतमा लुकेर चूरोटको लामो–लामो सर्को तान्दै आकाशतिर हेर्नुहुन्थ्यो । फुपूले जिन्दगीका एकान्त पचास वर्ष आफन्तका घरबाट, हाम्रो घरबाट हराएका तिनै फोटाहरूसँग पो बाँच्नुभएको रहेछ । फुपू एक्लै बसे पनि हामी सबै त्यो सानो घरमा, उहाँको सानो संसारमा अटाएका रहेछौं ।
फोटो मात्र होइन, फुपूको बाकसमा चिठ्ठीहरू पनि थिए । तिनको त अझ छुट्टै कहानी छ । कुनै अर्कोपटक सुनाउँला । मान्छेका अनुहार भएका स–साना बगरका ढुङ्गाहरू, पुतली र फूलहरू छापिएका समयले पहेंला भएका रुमालहरू, मयूरको प्याँख, शङ्खेकिराको खोल, सल्लाको खोस्टो, थरीथरीका सियो र कुरुसहरू, ऊनका साना डल्लाहरू, कस्मिरको पस्मिनाको एक धरो, सुनको गहनाले ढाकिएका, चित्रकारको रङले उद्दीप्त भएका देवीदेवताका सजीव पोस्टरहरू… । फुपूले जीवनलाई वस्तुहरूमा अल्झाइराख्नुभएको थियो– मान्छेहरू फोटोमा, रुचिहरू बाकसमा । इच्छाहरू त मन मै पो थिए होलान् ।
तेह्र दिनको मृत्युसंस्कार सकिएपछि फुपूको घरमा आएका नजिक टाढाका आफन्तहरू फर्किन थाले । उहाँसँग वर्षौं वर्षसम्म सँगै बसेको एकान्त फेरि घर सम्झिएर चौधौ दिनमा आँगनमा र कोठाहरू बिहानैबाट आएर बसेको थियो । बिरालो पनि आएको थियो । शोक घरमा अब मान्छेले बिरालो लखेट्न छोडेका थिए । तर घरमा सोफा थिएन । बिरालोले अर्को सुत्ने ठाउँ खोजेजस्तो घरको तीनचक्कर लगाएको थियो ।
अब त्यो घरमा को बस्छ ठेगान थिएन । त्यसैले होला, कतिले हराएको पनि बिर्सिसकेका फोटाहरू एल्बमबाट झिकेर झोलामा हालेका थिए । कतिले आ–आफ्नो फोटो सुम्सुम्याएर त्यसै रहन दिएका थिए । कतिले मरिसकेको मान्छेको सामान जथाभावी गर्नुहुँदैन भनेर डरले पनि फोटो छोडेर गएका थिए । उनीहरूले बरु मोबाइलबाट फोटोको फोटो लिए । कतिले मायाले अन्तिम पटक आफ्ना फोटो हेरे । उनीहरूलाई फुपूको माया पहिलेभन्दा अहिले धेरै लागे जस्तो गरेर गए । भित्ताको फोटोबाट फुपू मुस्कुराइरहेको हुनुहुन्थ्यो । फोटोपछाडि एउटा माकुराले घर बनाउन शुरू गरिसकेको थियो ।
अनि ?
कुरा यत्ति नै हो । तपाईंको एल्बमबाट पनि फोटाहरू हराएका छन् ? कसले लगेका होलान् हगि ! आफन्तहरूलाई सोध्नुस् न ।
भो छोड्दिनुस् ।
मान्छे जतिसुकै दुःखी भए पनि फोटोमा सकेसम्म मुस्कुराउन खोज्दो रैछ । खुशी देखिएको फोटोमा मान्छे जिउँदो भई बस्दो रैछ । एल्बममा सम्झनाहरू पर्खेर बसेका हुँदा रहेछन् । अनि कहिलेकाहीँ त सम्झनाहरू पनि मान्छे जस्तो पो लाग्न थाल्दा रहेछन् ए– सुदूर समयमा बसेर हेरिरहेको कोही मौन मान्छे जस्तो । आखिर मान्छेसँग के छ भन्नुस् त ? समय ? समयभित्र के छ ? स्मृति ? स्मृतिहरू कहाँ छन् त ? हो, एल्बमका फोटाहरूमा । जस्तो अहिले हाम्रो घरको फोटो एल्बममा हामीसँगै बसेकी फुपूको फोटो जस्तो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१२ कार्तिक २०८२, बुधबार 










