रामभरोस कापडी

मौसम विज्ञान अचेल नेपालमा पनि पक्का हुन पुगेको छ । अस्ति हाम्रामौसम वैज्ञानिकरविज्ञहरू भन्दै थिए– अगामी तीन दिन पूर्वीय वायुको चाप बढ्नाले नेपालमा ठूलो हुरी बताससँगै पानी पर्ने सम्भावना रहेको छ । यो हुरी–बतास हावा र पानीमात्र हैन जिउनै सिरङ्ग गर्ने बिजुलीको पनि प्रकोपको भविष्यवाणी गरे ।

विगत केही समयदेखि मौसम वैज्ञानिकहरूको भविष्यवाणी ठ्याक्कै मिलेको देख्दा मेरी बुढिया अप्ठ्यारोमा परिन्– ल’ यति मेहनतले हुर्काएको विभिन्न स्वादिलो आँपको बगैँचा हुरीले उडाउँछ त ! अप्ठ्यारो भएन ! केही उपाय त गर्नैपर्ने भो हजुर !
अब म बूढीलाई के भनूँ ! चोर–उचक्काको कुरा भए प्रहरी लगाएर समातिन सकिन्थ्यो । कसैलाई पहरामै बसाइदिन्थे तर यहाँ त पूर्वीय वायुको चापले उत्पन्न हुने वाष्पीकरणको प्रभावको कुरो छ– त्यो अदृश्य शक्तिसँग हामी जाबो मानिसको लड्ने ताकत हुँदैन । बरु धैर्यपूर्वक बसेर पर्खनुको विकल्प थिएन । मजस्तै अरूको पनि गाछीमा पनि त यस्तै आपत्काल लाग्ने होला नि, उनीहरू सोच्तै होलान्, वायुको प्रभावलाई निस्तेज पार्ने प्रयास गर्दै होलान् ।

बूढीलाई सम्झाउँदै ढाडस दिए– म भन्दा ठूलो दिमागका व्यक्तिहरू ठाउँमा छन् । यो आपत् त सबैका लागि हो । काट सोच्तै होलान् ! बढी न सोच ! कथङ्कदाचित आइहाले भने सबै आँप त्यसै सखाप त पार्दैन होला । यत्रो ठूलो बगैँचामा कहाँ सबै आँप झडी हाल्छ । खानलाई दुईचार रुख बाँचे पनि सन्तोष गरौँला, हैन !

मलाई लागिरहेको थियो, बुढी मेरो भनाइबाट सन्तुष्ट थिइनन् तर ‘मरता क्या न करता’ जस्तै टाउको हल्लाउँदै कोठाभित्र पसिन् ।
अब सतर्क र चनाखो रहने मेरो बारी थियो । सन्तुष्टिको लागि बुढीलाई आश्वासन त पस्केँ तर आफैँ सन्तुष्ट थिइन् । हावाको कुरा थियो– कुन बेला कसरी र के–के ,कहाँ–कहाँबाट उत्पात मचाउँदै आइहाल्छ, कसैलाई ठेगान हुँदैन । ल’ एक जनालाई त बिर्सिहालेँ । गाछीको रखबारी गर्न आँप उम्रनथालेपछि नै जिम्मा लगाएको चौकीदारलाई त मौसमबारे अवश्य पनि थाहा होला । किन नसोध्ने । यसले पनि केही पक्कै सोचको होला ।
फेरि आफ्नो मनले मानेन । सधैँझुट बोलेर आँपको सुरक्षाबाट पन्छिने यो चौकिदार कहाँ साँचो कुरा भन्लान् । ऊ त झन् यस्ता अवसरको प्रतीक्षा गरेर बसिरहेका हुन्छन् । हुरी बतास आओस् र उसको प्रभावबाट रुखमा रहेका आँप, फल–फूलहरू झर्न थालेपछि पहिला उसैले त्यसको खास स्वाद चखून् । हैन । मेहनत हामी गर्ने–स्वाद चख्ने उनी तर म गर्न पनि के सक्छु र ! प्रतीक्षै गरूँ । चित्तलाई बुझाएँ ।

नभन्दै बिहान खबर आयो । नाति कराउँदै फोनमा खबर सुनायो– ‘राति त ठूलै हुरी बतास र बिजुलीको ताण्डव मच्चिएको रहेछ । आज बिहान उठेर उता कुद्दै गए ।आँपको बगैँचामा रहेका विभिन्न स्वादका आँपका रुख त तहस नहस भैसकेका रहेछन् । हाम्रो केही जोर चलेन । चौकिदार त कता लागे–थाहै भएन । हराए वा अरूकेही भयो कि ! यति दुःख गरेर रोपेको विरुवाहरू ठूलो भै फलिदिने बेलामा यो प्रकृतिको कुठाराघात कसरी सहने ! अब के गरूँ,’

हामी निरीह प्राणी, के गर्ने । बडो कठिन परिश्रम गरी आफैँले रोपेको गुलाबखासपनि रहेन । आँप निकै मिठो हुने गर्दछ । अरू आँपभन्दा पहिला पाक्ने यो आँपको रुखमाथि कताबाट हुरी बतासले अर्के बगैँचाको रुख ल्याएर बजारेपछि मेरो गुलाबखास त ठहरे गयो रे । एक फल पनि सबुत बचेन । चिनीका बिरामीहरूका लागि यो आँप अमृत नै हुन्छ अरे । खै, अब त त्यो आशा पनि रहेन ।

तल कोरोनाको प्रकोप, माथि प्रकृतिको हन्टर । त्यसबिचमा सहकार्य गर्ने पीडा भोगिरहेका हामीहरू जस्तैका को आक्रोश । यसले ममा सन्तोष दिन्छ । मजस्तै अरूको गाछीमा पनि आँपहरू बरबाद भएका रहेका छन् र यस्तो गर्ने अदृश्य शक्तिप्रति एकजुट भएर कतै अनुनय–बिन्तीगर्नैपर्दछ । गरौँला । हामीले असलमनले बगैँचा निर्माण गरेका छौँ, यसमा सबैले मिठो फलखाने आशा राखेका थियौँ, त्यसलाई उजाड बनाउने कुनै पनि शक्ति विरुद्धको हाम्रो पहलकदमी हामीलाई न्याय दिलाउला त । आशा मार्नु हुँदैन । फल खान पाउने आशा त छ राख्नैपर्दछ तर………..

ल’ एउटा कल फेरि आउँदैछ । यो गाउँबाट नै अर्कोनातिको रहेछ । तर्सिएको मन, के होला ! मैले मोबाइल अन गर्दै भनेँ– ‘के छ ‘ उताबाट हतारिएको स्वर आउँछ – बारीको लिच्ची पाक्तै गरेको थियो । केही अज्ञात व्यक्तिले पर्खाल टपेर टिपेर लगेका छन् ।

ल’ अब त प्रकृतिमात्र पनि दोषी रहेनन् । मानवीय विकृति,लोभ–लालचमा परेर चोर्नेसम्मका काम घरमै आएर गर्न थाले । अब कहाँजाने रुयता विश्वासै गर्न लायक कोही भएन । हैन, अब आफैँ चनाखो भएर घर परिवार र बारी–झाडीको सुरक्षागर्नुपर्ने भयो । एकजुट भएर अगाडि बढ्नुको विकल्प पनि त रहेन अब ।

जनकपुरधाम