हिजो उसकी बहिनी कलकत्ता गई । त्यसकारण आज ऊ घरमा एक्लो छ । उसलाई कुनै किसिमको बाधा दिने, उसले गर्न लागेको काममा हात समाउने कोही छैन । आज यति फुक्का छ कि जे गरे पनि गर्न सक्दछ, जस्तो उत्पात पनि मच्चाउन सक्दछ । राती बाह्र बजे भात खाए पनि रोक्ने कोही छैन – ऊ रातभर बाहिर बस्न पनि सक्तछ अथवा रातभरि लेखपढ गर्न पनि सक्दछ । दश बज्नासाथ बत्तीको मेन स्विच निभाइदिने बहिनी आज छैन र अझ पन्ध्र दिन नभई फर्किन्न । यसबीचमा ऊ जे पनि गर्न सक्तछ ।
जे पनि ?- अरे ! त्यसो भए शराब किन नपिउनु ? कसले देख्दछ र ? नोकरचाकर माथि आउन्नन्, अनि जाडोको राती नौ बजे को यस्तो अभागी होला जो ऊसँग भेट गर्न आउँछ ? आइहाले भने पनि ऊ चुकुल लगाएर पिउँदछ–ढोका ढकढकाउलान् तबसम्म बोतल, गिलासलाई सुरक्षित ठाउँमा लुकाउन सकिहालिन्छ नि । अब रह्यो मुखको दुर्गन्ध- त्यो पनि एक चक्की एम्लेक्स खायो भने केही सेकेन्डभित्र सारा दुर्गन्ध हराइहाल्दछ । यस्तो मजेदार स्वच्छन्द मौका कहिले आउला र ।
उसले आफ्नो सुत्ने कोठाको आलमारी खोल्यो र पुस्तकको ठेलीपछिल्तिर सुताएर राखेको ओल्ड ओरिज्वल ह्विस्कीको बोतल निकाल्यो । अनि ओभरकोटभित्र लुकाएर बैठकमा गयो ।
बैठकभित्र पस्नुभन्दा पहिले उसले बरन्डाबाट बोलायो- “ए तल को छ हँ ?” अनि ऊ भित्र पस्यो ।
एकछिनमा विमली तलबाट आई । उसले बोतललाई काउचमुनि लुकाइसकेको थियो, त्यस कारण निर्धक्क भएर उसले तरुनी केटीलाई हेर्यो, र एक टम्बलर पानी र एउटा गिलास ल्याउने आज्ञा दिन मुख उघारेको मात्र के थियो कि बैठकमा एक्लै उभिएकी विमली तरुनी र राम्री छ भन्ने एक्कासि उसलाई बोध हुन गयो र आज्ञा दिने साटो विमलीलाई हेरेर मुस्कुराइदियो । अनि पो उसलाई लाग्यो कि नोकर्नीको अगाडि उसले उच्छृंखल भएर मुस्कुराउनुनपर्ने ।
विमलीले किञ्चित् लाज मानेर टाउको निहुरिएको शिरले मुस्कुराई क्यार ! उसले राम्ररी देखेन ।
“जाऊ एक टम्बलर पानी र एउटा गिलास लिएर आऊ ।”
आज्ञा पाउनासाथ विमली त हिंडिहाली तर अरुणको मगजमा अनेकौं कुरा खेल्न लागे । यो कोही नभएको सुनसान घरमा-जहाँ ऊ जे पनि गर्न सक्छ-छब्बीस वर्षको कुमार अरुणले एउटी तरुनीलाई बैठकमा पायो-एक्लै । तर ऊ कस्तो गोज्यांग्रो रहेछ कि उसले विमलीलाई खुरुक्क जान दियो । यदि उसले त्यो केटीको हात समाएको भए ऊ केही पनि विरोध गर्दिनथी; बहिनी आएपछि ऊ कुरा लगाइदिन्थी कि के ठेगान ? तर जवानीको उकुसमुकुस त्यो केटीमा पनि त थियो होला जस्तो अहिले अरुणमा छ ।
विमली अठार वर्षकी अविवाहिता । के उसमा कामवासना उठ्दैन र ? उसलाई पनि थाहा छ नि कि आज घरमा कोही छैन । तलका नोकरहरूलाई के पत्तो कि कतै कुनै किसिमको बदमासी नगर्ने मालिकले आज विमलीलाई बैठकमा …। ऊ कति कमजोर रहेछ कि राती नौ बजे त्यसमा पनि जब बहिनी घरमा छैन – जब कोही पनि घरमा छैन त्यस्तो स्वच्छन्द मौकामा विमलीलाई उसले अँगालो हालेर आफ्नो हृदयको ज्वाला शान्त गर्न सकेन । पुरुष भएर पनि ऊ कस्तो निर्धो ? उसले आफैलाई धिक्कार्यो ।
अहँ, अब ऊ कमजोर हुन्न । जब विमली पानी लिएर आउँछे ऊ अवश्य नै यस्तो मौका खेर फाल्नेछैन । तर कहीं पहिलेको जस्तो कमजोर हुने पो हो कि ? उसलाई ख्याल भयो कि शराब पिएपछि मानिसको दुर्बलता हराउँछ । त्यस कारण विमली पानी लिएर आउनुभन्दा पहिले शराब पिउनुपर्दछ । सायद साहस आइहाल्छ कि ?
उसले हत्तपत्त काउचमुनि लुकाएको बोतल निकाल्यो र बिर्को उघारेर बोतलबाटै मुखभरी-भरी दुई घुट्को पियो । सुक्खा ह्विस्कीको चर्को जलन र दुर्गन्धले उसले मुख बिगारेर पोलेको छातीलाई हातले थिच्यो । तर कस्तो आश्चर्य कि पलभरमा नै उसलाई नयाँ उत्साह र नयाँ साहस उत्पन्न भयो । उसलाई यस्तो लाग्यो कि संसार अचानक रमाइलो हुनगएछ र यो उन्मादमा ऊ जे पनि गर्न सक्दछ ।
त्यस अप्राकृतिक मादकमा उसले सोच्यो कि अब विमली आउली र टम्बलर र गिलासलाई टेबिलमा राख्न कोठाभित्र पस्ली, ठीक त्यही बेला जब ऊ टेबिलनिर पुग्छे, ऊ ढोकाको छेस्कनी लगाइदिनेछ । के यति गरेपछि पनि ऊ अरुणको भाव नबुझली त ? ऊ त्यति केटाकेटी त छैन कि त्यति मामुली कुरा पनि नबुझोस् । अनि उसको अनुहारको आकृतिबाट थाहा भइहाल्छ नि कि ऊ चाहन्छे अथवा चाहन्न ।
नचाहने त कुनै कारण छैन । अरुण राम्रो छ, जवान छ, अरुण अविवाहित छ- त्योबाहेक उसको मालिक । नजाने कहिलेदेखि ऊ यस्तै दिनको प्रतीक्षामा होली ।
लौ… आई विमली । उसले बरन्डामा हिंडेको आवाज आयो । अरुण तम्तयार भयो तर शराबले ल्याएको बनावटी उत्साह खस्किन्न किन होला ? अहँ, ऊ निध हुँदैन । निर्धो । निर्धो भएर यो सुवर्ण औसर उम्काउन्न । कोठाभित्र पस्नासाथ ऊ विमलीलाई भन्नेछ “टेबिलमा राख ।” तर’ जति-जति ऊ सोच्दै छ, जति-जति ऊ रसिलो कल्पना गर्दै छ उति उति उसको हिम्मत टुटेको जस्तो उसलाई लाग्दै छ । यो किन ? लौन किन उसलाई यस्तो हुँदै छ ? त्यस कारण शराबबाट उत्पन्न भएको उन्मादको शृंखला नटुटोस् भन्नाको निम्ति विमली आइपुग्नुभन्दा पहिले नै हतारिएर उसले अप्राकृतिक मधुर स्वरमा भन्यो- “विमली ?”
“म हजुर, म दिले” भन्दै दिलबहादुर बैठकको ढोकामा उभियो ।
अरुण निराश भयो । एक मनमा त लाग्यो कि यो सब नोकरचाकरहरूको जालसाजी हो । विमलीले अरुणको मनको कुरा बुझेर गिलास र पानी दिलेको हातमा पठाइछ । तर उसको हात खाली थियो ।
उसले मालिकको मानेभावनामा असन्तोष देखेर घबडाएर भन्यो- “जिउनार कहिले ठीक गरूँ हजुर ?”
“एकछिनपछि म आफैं भनुँला ।” अलि झस्किएझैं अरुणले भन्यो ।
अनि जब दिले बाहिर निस्क्यो, अरुणको सारा शरीरमा शराबको नशा रन्किएर आयो । उसलाई चाहना भयो कि नशाको जोस चरम चुलीमा पुगेकै बेला विमली आओस् अनि मात्र ऊ विमलीलाई समाउन सक्तछ र आलिङ्गनमा आबद्ध गरेर उसको मुखमा आफ्नो मुख टाँसी…
अहो… कल्पनाले नै ऊ कहालिन लाग्यो । ‘कस्तो भरिलो रातो र सधैं भिजिरहने ओठ त्यो मोरीको ! यसै बेला ऊ आई भने ? उसमा कुनै शिथिलता आउँदैन- शराबले उसको अङ्ग अङ्ग प्रफुल्ति छ, अङ्ग अङ्गमा उत्ताउलो उन्माद व्याप्त छ ।
बरन्डामा मधुरो पगध्वनि सुनियो – विमली आई । र जसै पैतालाको आहट नजिकै आउँदै गयो, अरुण सोच्दै गयो- ‘ऊ टाउको निहुराएर भित्र पस्छे, आफ्ना ठूला आँखालाई सास्ती दिएर आँखीभुइँनेर ल्याई ऊ मालिकलाई हेर्ली । गिलास र टम्बलर लिएको हुँदा उसका दुवै हात बोझिएको होलान् । त्यस बेला यदि अरुणले गिलास लिने सिलसिलामा गिलासको बदला पाखुरा समायो भने ? त्यसो गर्दा विमलीलाई मन पर्दैन कि ? के ठेगान ? आखीभुइँ खुम्च्याएर “मलाई यस्तो एकजात मन पर्दैन अरुण बाबू” भन्ने पो हो कि ?’
तर कल्पना गर्दा किन मन शिथिल हुन खोज्दै छ ? किन शराबको उत्साह र जोस सेलाउँदै छ ? – के ऊ यो सुवर्ण मौका पनि मानसिक दुर्बलताले गर्दा सित्तैंमा खेर फालिदिन्छ त ? एक घुट अरू पिउनुपर्ने पो हो कि ? तर अब समय छैन; ऊ आई, लौ आइसकी- आई-आई ।
विमली त्यस्तै गरी भित्र पसी, जस्तो अरुणले कल्पना गरेको थियो । गिलास र टम्बलर लिएकोले दुवै हात बोझिएको, टाउको निहुरिएको र ठूला-ठूला आँखाले छड्के पारेर अरुणलाई हेरेकी,- र अनि उसको दाहिने निधारमा त्यो के हो नि ?- कपालको सानो गुच्छा ?- ओहो… कस्ती राम्री, कति सलक्क परेकी, कति बान्की मिलेको जीउ र कति सुकुमारी ! नोकर्नी पनि यस्ती राम्री !
अरे !… यो के हुन लाग्यो ? छातीको सप्को किन चिप्लिन खोज्दै छ ? कुन हातले ऊ सप्को ठीक गरोस् ? एउटा हातमा गिलास छ, अर्कोमा टम्बलर । दुवै हात बोझिएकोले त्यसलाई मुक्त गराउन ऊ सकभर चाँडो टेबिलनेर आउँदै छे । कस्तो भरिलो रहरलाग्दो छाती । र, कति गोल गोल पुष्ट ! के अब ऊ तमासा मात्रै हेरिरहोस् ? अब यसरी चुप लागेर बसिरह्यो भने उसले यस्तो मौका गुमाउँछ । यसैबीचमा विमलीको रेसमी सप्को खस्यो । उसले लाज मानी । विमलीको खसेको सप्कोले अरुणलाई मौका दियो हिम्मत देखाउने । अरुण जुरुक्क उठ्यो र सारा हिम्मत बटुल्दै अत्यन्त दृढ भएर ऊ विमलीको अगाडि बाटो छेक्तै उभियो र मुस्कुराउँदै भन्यो- “म सप्को ठीक गरिदिन्छु । तिम्रा हात बोझिएका छन् ।”
विमलीले सप्को मिलाउन दिई । सप्कोले छाती छोप्तै पछिल्तिर पिठ्यूँमा छोडिदिने क्रियामा अरुणको औंलाले विमलीको छातीमा छ्वास्स छोयो । विमलीलाई त केही भयो या भएन तर अरुणको शरीरमा भने मानो बिजुलीको करेन्ट दौडिएजस्तो भयो । सारा अङ्ग रमाइलो उत्तेजनाले सिरिङ्ग गर्यो ।
कुरा यत्तिकैमा टुङ्गियो भने त उसले यतिन्जेल बनाएको सबै कार्यक्रम यहीं समाप्त हुन्छ । त्यस कारण जब विमलीले टेबिलमा पानी र गिलास राख्न लागी, अरुणले सुरुमा निश्चय गरेको काम गन्यो याने सुस्तरी भित्रबाट उसले ढोका बन्द गरेर छेस्कनी लगाइदियो । विमलीले जान लाग्दा बन्द ढोकालाई देखी अनि अरुणलाई हेरी । विमलीको आँखामा प्रसन्नता थिएन । मन नपरेको झैं उसको आँखीभुइँ खुम्चिएको थियो । यस्तो गर्ली भन्ने यस बेला अरुणले सोचेकोसम्म थिएन । यो देखेर अरुणको शराबको नशा मानो अचानक उत्रियो । डरले आफूलाई अत्यन्त शिथिल, कमजोर र दोषी अनुभव गर्यो । तर यतिमा नै के ऊ हताश होओस् ? के यतिले नै कल्पनाको सपना चूर भयो त ? के आइमाईहरूले एक पटक स्वीकार गरेनन् भन्नासाथ कवै स्वीकार नगर्लान् त ?
विमली ढोकानिर पुगी र छेस्किनी खोल्न लागी; अरुण घबडायो । सुरुक्क जान दियो भने यस्तो राम्रो मौका हातबाट उम्किन्छ । दिएन भने उत्रिन लागेको शराबको नशामा त्यो शक्ति छैन कि ऊ पाखुरा समाएर उसलाई रोकोस् । साहस मर्दै छ, हिम्मतमा शिथिलता आउँदै छ । के गरोस् । -लौन, ऊ त जान लागी । के सुरुसुरु उसलाई जान दियोस् त ?
“… विमली ? ” – आफसेआफ उसको मुखबाट अत्यन्त मीठो, कीनो र दर्दिलो स्वर निस्कियो – “विमली ?”
एउटा ढोकामाथिको छेस्किनी समाएर खोल्न तयार भएकी विमलीले अरुणलाई हेरी । छस्किनी समाएको हात उठेको हुँदा दाहिनेतिरको काखीबाट उसको भरिलो, गोलो छाती चियाउँदै थियो – रहरलाग्दो सुपुष्ट छाती ।
“विमली ?” – अरुणले योभन्दा बढ्ता त अरू केही भन्न सकेन तर उसको स्वरमा कम्पित याचना थियो र त्यस कारण यथेष्ट प्रस्ट थियो ।
“मलाई यस्तो मन पर्दैन अरुण बाबू, “- विमलीले हास्तैनहाँसी भनी । उसले मुस्कुराइदिएको भए सायद अरुणलाई साहस आउँथ्यो होला तर अरुणलाई लाग्यो कि कता कता उसको आँखीभुइँ पनि खुम्चिएको छ ।
छेस्किनी खट्याक्क गयो, ढोका उम्रियो र विमली गई । अरुणले आफूलाई हुस्सू सम्झियो – र उसको आत्मामा कता-कता नमीठो ग्लानि भयो ।
उसले सोच्यो- ‘आखिर यतिन्जेल विमलीले अरुणलाई पवित्र स्वभावको मालिक सम्झिएकी थिई । उसको त्यो समझ आजदेखि अवश्य रहँदैन । जब ऊ विमलीको नजरमा गिरिहाल्यो भने अझ बढ्ता साहस गरेर बलपूर्वक रोकेको भए पनि त हुन्थ्यो नि ? नीच सम्झने सम्झिहाली भने किन उसले सुरुसुरु जान दिएको ?’
शायद शराबको मात्रा कम भएछ क्यार ! ऊ उठ्यो, सोफामुनिबाट बोतल निकाल्यो र गिलासमा अन्दाजी चार औंस जति रक्सी एकै पटक हालेर पानी मिसाई घटघट पियो !… आखिर त्यो नोकर्नी त हो नि !- कस्तो लुते रहेछ कि एउटी जाबो नोकर्नीसँग पनि डरायो । कस्तो नामर्द अरुण ! मर्द भएर पनि नामर्द । एक त म मर्द झन् त्यसमा पनि मर्दाङ्गी ल्याउन उसले शराब पिएको रे-र कमजोर भने यति कि आफ्नी नोकर्नीलाई एकान्त कोठामा पाउँदा पनि केही गर्न सकेन । गर्न त परै जाओस्, बाहिर नजा भनी रोक्नसम्म सकेन । छि:…छि : शराब शराब … बोतल ….
एक घुट… दुई घुट… कस्तो नमीठो… छाती पोल्ने तीन घुट…
नशाले जब ऊ ढुनमुनाउन लाग्यो अनि लरबराउँदै बार्दलीमा आयो र अलि कडा भएर बोलायो- “विमली ?”
उसले यति बढ्ता पिइसकेको थियो कि अब कुनै शक्तिले पनि उसको शराबी साहसलाई हर्न सक्तैन । यस बेला उसकी बहिनी नै आए पनि उसको होस ठीक रहन सक्तैन क्यारे ! यति ज्यादा शराब उसले कहिले पनि पिएको थिएन । टाउको घुम्न थाल्यो, घर रिंगाउन लाग्यो, होस खतम हुँदै छ … खतम हुँदै छ … कोठा फनफनी … घुम्दै छ …. विमली …. कस्ती राम्री… छाती…. अरे । ढोकामा त विमली पो उभिएकी…. छ… दुइटा विमली… नौवटा विमली… असङ्ख्य विमली- राम्री विमली ।
आइज, विमली आइज । … मेरो काखमा बस्, म ढल्न लागेँ … आइज । किन उभिएकी ? मेरो तिर्खा मेटाइदे…. तेरो छाती…. यस्तो मीठो चुम्बन दे कि म जिन्दगीभर त्यसैको सम्झनामा बाँचिरहूँ । दे न । विमली ए विमली ली ?
मेरो छातीमा टाँसिएर बस्…
तर, यो सबै अरुणको कल्पना मात्रै थियो । विमलीलाई ठिङ्ग उभिएको देखेर अरुणले बोल्नै सकेन । शराबको नशाको यत्रो बेहोसीमा पनि उसले फेरि कमजोरी अनुभव गन्यो । एक पलको निमित्त मानो शराबको नशाले उसलाई छयाङ्ग छोड्यो र ऊ घबडायो । तर पलभरमै फेरि सारा संसार रिंगाउन लाग्यो, जुन पलङमा ऊ बसेको थियो उसैमा पछारिएर लड्यो ।
अरुणलाई पछारिएको देखेर यतिन्जेल ढोकामा उभिएकी विमली आत्तिंदै भित्र पसी र अरुणनजिकै टाँसिएर बस्तै उसले मालिकको निधारमा छोई । अरुणले तकलिफका साथ आँखा खोल्यो र दयनीय प्यारो नजरले विमलीलाई हेय ।
“हजुरलाई के भयो ? कपाल दुख्यो ? थिचिदिऊँ ?” मायालु स्वरले विमलीले सोधी ।
“विम… ली…” – अरुणको जिब्रो लरबरायो । तर यति गहिरोसँग बिकने गरी प्रेमपूर्ण दृष्टिले उसले विमलीलाई हेय कि विमलीको हृदयमा पनि दया उत्पन्न भयो क्यार ।
उसले माया गरेर भनी – “अरुण बाबू, शराब पिउनुभएको ?” आँखालाई बलपूर्वक उघारेर उसले लरबराएको स्वरले भन्यो… “अँ, शराब….पिएको…. माया गर तिमी…माया…गर नम…”
“त्यो …. के हो ? भनेर अरुणले विमलीको निधारमा नाचेको, घुम्रिएको कपालको गुच्छा पन्छाउने कोसिस गर्यो र अनि मायाले गाला छोयो ।
विमली झस्की । तर कडा स्वरमा भनी “किन पिएको त ?”
तिमीले….. तिमीलाई म्वाइँ खाऊँ ?”
विमलीको अनुहार लाजले दीप्त भयो त उसले केही बोलिन ।
“… भन विमली…. म्वाइँ, उहूँ ?”
साँच्ची नै अरुण उठ्यो । विमली बसेकै थिई । अरुणले जोरसँग अँगालो हाल्यो । ऊ फुत्किन खोजी, तर सकिन ।
“मलाई मन पर्दैन अरुण बाबू” -बाहुपाशबाट उम्किने विफल प्रयत्न गर्दै विमलीले रिसाएर भनी “सोच्नोस् त तपाईं के गर्दै हुनुहुन्छ ?”
“…सोचेको ….छु ।… म विमलीलाई माया गर्छु म्वाइँ है ?”
जबरजस्ती म्वाइँ खान लागेको मुखलाई पन्छाउँदै विमलीले हडबडाएर भनी- “अरुण बाबू, मान्छेले के भन्लान् ? तपाईंलाई सहरका मानिस कति असल सम्झिन्छन्, तपाईंकी बहिनी शारदा मैयाँले के भन्नुहोला ? कति इज्जतदार तपाईं। सोच्नोस् तपाईं को हो, तपाईंको बा कस्तो हुनुहुन्थ्यो । बिन्ती अरुण बाबू ! मलाई छाडिदिनुहोस् । मलाई तपाई जे पनि गर्न सक्नुहुन्छ । म कराएर अरूलाई बोलाउन्न … अरूलाई बोलाएर तपाईंको इज्जतमा दाग लगाउन्नँ …।”
विमलीलाई अँगालोमा आबद्ध गरेको अरुणको हात शिथिल भयो । सुस्तरी हात खुकुलो हुँदै गयो । उसले एकटक ट्वाल्ल विमलीलाई हेरिरह्यो । उसलाई लाग्यो कि दुई-तीन औंस अरू शराब पिएको भए हुने थियो । किन अँगालो खुकुलो हुँदै गयो ? किन !- ? लौन ….यै शक्ति चाहियो जसले विमलीलाई छातीमा थिचेर म्वाईं खाएर,- तर किन उसको अङ्ग अङ्ग शिथिल हुँदै छ ?
अन्त्यमा उसले विमलीलाई छाडिदियो । तर विमली जस्ताको तस्तै बसिरही । भाग्ने प्रयत्न पनि गरिन, भाग्ने आवश्यकता पनि देखिन ।
“… जा …जा भन्या … किन बसिरहेकी ?” क्रोधले चूर अरुणले भन्यो, “जा.. मोरी मर्..”
विमलीले एकटक अरुणलाई हेरिरही ।
अरुण यति निराश भयो कि रुन मात्रै सकेन । उसको सारा आशा चकनाचूर भयो । क्रोधले उसले विमलीलाई हेय । विमलीले माया गरेर अरुणलाई हेरी । “…ऊ… त्यो दे शर्रा ….ब !” – अनि अरुणले टेबिलमा देखायो- “बोतल, गिलास ।”
विमलीले फेरि मायालु आँखाले अरुणलाई हेरी, याने, नखाऊ अरुण ! “…ल्या…ल्या… नभए म्वाइँ दे… शराब दे…नत्र म्वाइँ दे !”
विमली सुस्तरी उठी र गिलासमा अलिकति शराब हालेर पानी मिसाई अरुणको हातमा गिलास राखिदिई। एकै पटकमा उसले गिलास रित्तो पार्यो र ओछ्यानमा पछारियो ।
ठिङ्ग उभिएर धेरैबेरसम्म अरुणलाई हेरी टेबिलको बोतल, गिलास र टम्बलरलाई लिंदै विमली कोठाबाट बाहिर निस्की र ढोका ढप्काइदिई ।
तल भान्सामा गएर उसले भनी कि अरुण बाबूलाई आज भात खान मन छैन रे !
(‘तारिणीप्रसाद कोइरालाका समग्र कथाहरू‘ बाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।