आकाश अधिकारी

महामारीका कारण देशमा लकडाउन थियो। सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढिरहेको थियो। मृत्युदर पनि उकालो लागेको थियो । रोगले भन्दा भोकले मान्छेहरू पिल्सिएका थिए । सहरभरि सुरक्षाकर्मीहरू तैनाथ थिए।

सहरमा कर्फ्यु लागेको थियो। जेठको महिना गर्मी बढेको थियो। झमक्क साँझ परिसकेको थियो। रवि घरको बरन्डामा बसेर अस्पताल बिरामी भेट्न गएकी  श्रीमतीलाई  कुर्दै थियो । इन्दु झोलुङ्गोमा छोरी सुताएर आमा भेट्न अस्पताल गएकी थिइन्। “आइहाल्नु पर्ने पैदल हिँडेरै आए पनि १०/१२ मिनेटकै बाटो हो” ,मनमनै भुतभुताउँदै थियो रवि।  सुनसान सडक बजार नियाल्दै थियो। चोक चोकमा सुरक्षाकर्मीहरू तैनाथ थिए। कुलमानको बहिर्गमनपछि बिजुली बत्ती आउने जाने भैरहेको थियो।

यत्तिकैमा केही मान्छे दौडिएजस्तो अनौठो आवाज रविको कानमा ठोक्किन पुग्यो। अँध्यारामा केही  नदेखेपछि रवि पनि मोबाइलको लाइट बालेर परसम्म नियाल्यो । कोही पर सडकछेउमा मान्छेको छायाजस्तै केही हल्लिरहेको दृश्य देखेर उस्को छाती ढक्क फुल्यो । केहीबेरपछि त्यो मान्छेको छाँया बिस्तारै साँगुरो गल्लीतर्फ प्रस्थान गर्‍यो । त्यो अस्पष्ट दृश्य देखेर रविको मनमा अनेकौँ कुरा खेल्न थाले । हत्तपत्त बरन्डाबाट भित्र छिर्‍यो झलुङ्गोमा निदाएकी छोरीलाई हेर्‍यो झ्यालको पर्दा झारेर भान्सातिर लाग्यो। खाना चिसो भैसकेको थियो। एकपटक फोन गर्नुपर्‍यो भन्दै  श्रीमतीलाई फोन लगायो। “तपाईँले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्विच अफ गरिएको छ” ,रवि मूर्च्छित भएर लड्यो।

केही घण्टापछि झोलुङ्गाकी छोरी रोएपछि मात्रै रविको होस खुल्यो हत्तपत्त अस्पतालमा रहेका आफन्तलाई फोन लगायो। इन्दु केहीछिन बसेर फर्किएको जवाफ दिए। रवि असिना पसिना भएर प्रहरीलाई फोन लगायो। “हलो, हजुर प्रहरी कार्यलय हो?” “हजुर हजुर।” “मेरी श्रीमती बिरामी भेट्न अस्पताल गएकी थिइन् अस्पतालबाट त राति ९ बजे हिँडेकी रे तर अहिलेसम्म घरमा आएकी छैनन् उनको मोबाइल पनि अफ छ”।


जबाफमा “कर्फ्यु उल्लङ्घन गरेर शान्ति सुरक्षामा आँच आउने कार्य गरेबापत सेनाको कारबाहीमा उल्लिखित स्थानमा एकजना महिलाको निधन भएको छ निजको साथमा टिफिन बम बरामद भएको छ।”


त्येहीबेला झोलुङ्गोकी छोरी च्याँठिदै रुन्छे। रविको मानसपटलमा भने राति सडक छेउमा हल्लिएको त्यो धमिलो छाया। अँध्यारो सडक, टिफिन बम, त्यो हल्लिएको  छाया । दिनभरि नै सडकमा  सुरक्षाकर्मीको बाक्लो उपस्थिति? “अस्पतालबाट फर्केकी मेरी इन्दु”

आखिर त्यो हल्लिएको छायाले इन्दुको इज्जत लुट्तै थियो।

 


~-तनहुँ।