
त्यसदिन सार्वजनिक छुट्टि भएकाले मैले पनि एउटा लाभ लिने प्रयास गरें । आयुश्मानले सप्ताह पूराण लगाएको पाँच दिन भइसक्दा पनि सामेल हुने मौका मिलेको थिएन । त्यही भएर कुनै अबेर नगरिकन नै म उनको घरमा पुगें ।

बाँस्कोटा धनञ्जय
उनको घरको छतमा रङ्गीचङ्गी पाल फरफराइरहेको थियो । चैत्रको हावाले पाल मात्रै फरफराइरहेको थिएन, आयुश्मानका रङ्गीन मन पनि फरफराइरहेको थियो । बाहिर र मण्डप वरिपरि पनि रङ्गीन कपडाले बेरेर मण्डपलाई रङ्गीन र सुन्दर बनाइएको थियो । आयुश्मान अग्लो मण्डपको दायाँछेउको तल भुइँको राडीमाथि बसेका थिए । उनी जम्लाहात गरेर बस्ने प्रयास गरिरहेका थिए । अर्थात् नमस्कार मुद्रामा रहन चाहन्थे जस्तो देखिन्थ्यो । पटकपटक आँखा चिम्म गरेर नमस्कार गरिरहन प्रयासरत देखिन्थे ।
कथामा गीत र सङ्गीत भएन भने खल्लो हुन्छ भन्ने मान्यता राखेर कथाभन्दा धेरै गीत पस्किने गरिन्छ । त्यही भएर होला, त्यस मण्डपको अगाडिको खाली ठाउँ उनीहरूको लागि मिलाइएको थियो कि कथाको बिचबिचमा आउने सङ्गीतसँगै नृत्य गर्न तम्तयार हुनेहरुको लागि ।
त्रिपालले ढाकेको माथिको आकासले घरको त्यो छतमा चैत्रको तातो घाम पनि छेकरिहेको थियो । अनि हावाहुरी पनि छेकिरहेको थियो । बेलुकाको शीत पनि झेलिरहेको थियो । आयुश्मानको एक बर्षदेखिको खड्किएको मनको तृष्णा पनि मेटिरहेको थियो । उनी पार हुन चाहन्थे एउटा सांस्कृतिक चरणबाट । एउटा गह्रुङ्गो जिम्मेवारीबट । एउटा सामाजिक नजरबाट । त्यो समयलाई सार्थक बनाउने उनको इच्छा पूरा भइरहेको थियो । त्यही कारण हो, निस्फिक्री कार्यक्रम सञ्चालन गर्ने वातावरण थियो त्यहाँ ।
अनि निम्तालुहरुको लागि मण्डपको सिधा अगाडि अलिक पर र दायाँ—बायाँ कुर्सीका लहर मिलाएर राखिएका थिए । कथा सुन्न आउने निम्तालुहरु तिनै कुर्सीमा केही छिन बस्थे । त्यसपछि चिया र फलफूल खान्थे । अनि परतिर कोठामा छिरेर जेरी र पुरी खान्थे । अनि ‘हामी लाग्छौं है’ भनेर फुत्त बाहिर निस्किन्थे ।
आयुश्मान ती छिनछिनमा आउने पाहुना र छिमेकीहरुलाई नमस्कार गर्दै हुन्थे । अनि ती हिँडन लाग्दा ‘हवस्’ भनेर बिदा गर्थे ।
माइकमा चर्को आवाज दिएर पण्डित कथा वाचन गरिरहेका थिए । कोही कोही ध्यान दिएर सुनिरहेका देखिन्थे । पण्डितले आफ्नो कर्तब्य पूरा गरिरहेका थिए । उनी निकै भावावेगमा आएर भगवान श्रीकृष्णको लीला भनिरहेका थिए । उनको आवेगको आयाम नाप्ने त्यहाँ कोही थिए जस्तो लागेन ।
आयुश्मान एक्लो कर्ता थिए उक्त सप्ताह कार्यक्रमको । उनले आफ्ना बाको बार्षिक पूण्य तिथिमा पितृहरुको सम्झनामा भागवत महापूराणको आयोजना गरेका थिए । उनलाई कर्ताको हैषियतले यसरी मण्डपको छेउमा बस्नु बाध्यता थियो । किनभने उनी आमाबाबुको एक्लो छोरो थिए । दुईवटी दिदीहरु अलिक पाका भएको हुनाले होला, ती शान्त मुद्रमा जम्लाहात गरेर बसेका थिए ।
उनको पनि एउटा छोरो थियो — अजय । तर ऊ वैदेशिक रोजगारीका लागि विदेश गएको थियो । आउन मन गरेन वा पाएन, ऊ अनुपस्थित थियो । अजयले सुटुक्क बिहे गरेर आयुश्मानलाई बुहारी ल्याइदिन नखोजेको पनि होइन । आज बुहारी मात्रै भइदिएकी भए आयुश्मानलाई यो कार्जे उठाउन निकै सजिलो हुन्थ्यो होला । तर आयुश्मानले नै अवरोध गरेका थिए त्यो केटीलाई बुहारी बनाउन । केटीको छोराको प्रेममा रेफ्री बसेकाले छोरो विदेश हानियो । यति ठूलो कार्यक्रम हुँदा पनि अजयले घर आउन जरुरी ठानेन् ।
आज आयुश्मान अनुभूत गर्दा हुन् बुहारीको अभावको मूल्य । छोराको आभवको मूल्य । अनि प्रेममा रेफ्री बसेको सजाय !
जे भए पनि आयुश्मानले हिम्मत गरेर यो कार्जे सुरु गरेका थिए । सहज समापन गराउनु उनको सबैभन्दा ठूलो चुनौती थियो । उनले त्यो चुनौती सहज स्वीकार गरेका थिए ।
बिहान आठ बजेबाट नै कार्जे सुरु हुन्थ्यो ।
आयुश्मान पहेलों कमिज र सेतो सुरुवालमा थिए । कमिजको अगाडिको गोजी र सुरुवालका दुबैतिरका गोजीमा उनका हात बेलाबेलामा पसिरहनु पर्थ्यो ।
जय गोजी !
चाहिने खर्चवर्च त्यहीँ गोजीमा घुसार्नु र त्यहीँबाट निकाल्नु पर्थ्यो ।
अनि फोन गर्न मोवाइल पनि त्यहीं घुसार्नु र त्यहींकाट निकाल्नु पर्थ्यो ।
कसैलाई सामान किन्न पठाउँदा ल्याएका बील पनि त्यहीं घुसार्नु र बेलुका हेर्नु पर्थ्यो ।
पुटुक्क गोजी बनाएर उनी कर्ता भएर बसेका थिए । बेलाबेला आँखा चिम्म गरेर भगवान र पितृहरुलाई सम्झिन खोज्थे सायद, तर त्यो ध्यान निमेषमै भङ्ग हुन्थ्यो जब कसैले उनलाई कानमा कुनै समस्या बताउँथ्यो । वा उनलाई कुनै समस्या छ भन्ने मनमा आउँथ्यो ।
उनका नजरहरु गतिशील थिए । ती भगवान र पितृहरुमा मात्रै थिएनन् ।
— निम्ता गरेका मान्छे को को आए ।
—निम्ता गरेका मान्छे को को आएनन् ।
—कस कसले चियो खाए, कस कसले खाएनन् ।
—कस कसले नास्ता खाए, कस कसले खाएनन् ।
—को कति बेलासम्म बस्यो, बसेन ।
उनी ध्यान गरिरहेका देखिन्थे । तर उनका ध्यानहरु आयामित भएर उजागर हुन्थे यत्रतत्र । उनी कथा श्रवण गर्न आउनेहरुका अनुहारमा आँखा पुर्याउँथे ।
‘नम्रता, उहाँहरुलाई चिया …’ नवआगन्तुकहरुलाई देखाउँदै उनी काम सघाउन आएका आफन्तहरुलाई यसरी अहृाउँदै हुन्थे ।
घरका अरु मान्छेहरुले उनलाई बिचबिचमा सोधनी गरिरहेका थिए :
‘घिउ अरु मगाएको छैन ?’
‘लाख बत्ती कहाँनिर बाल्ने ?’
‘अहिलेसम्म दूधवाला आइपुगेन । छिट्टै ल्याउनु भन्नु भएको थिएन ?’
‘सब्जी काट्न कसलाई भन्नु भएको छ ?’
‘माइकको आवाज राम्रो आएन । माइकवालालाई बोलाउनु भएको छैन ?’
‘रातो कपडा भेटिएन अरे त । कता छ ?’
‘कान्छा मामालाई फोन गर्नु भएन …ल्याउनु भनेर ?’
‘यस्तो बेलामा पनि छोरालाई नबोलाउनु भएको ?’
‘माटोका घडा लिन कसलाई पठाउनु भयो ?’
‘पण्डितलाई दिने सामग्री कसलाई किन्न पठाउनु भयो ?’
‘बाछी कहाँ भनेको छ ?’
‘चानचुने पैसा अलिक चाहियो अरे ।’
‘भाञ्जी बुहारी आज आउँदिनन्? गाहृो पो भो त भान्सा उठाउन!’
‘धन्दा गर्ने मान्छे कोही खोज्नु भएको छैन? मान्छे पुगेनन् त ! फेरि कसलाई गर भनेर अहृाउनु ? गाहृो भो …।’
आयुश्मान ध्यान दिएर ती सबै जनाका कुरा सुनिरहेका देखिन्थे, उनले बिचबिचमा मुण्टो हल्लाएर सबै कुराहरुमा स्वीकृती जनाएको देखिन्थ्यो । उनको लागि सबै परिस्थितिलाई स्वीकार गर्नु बाध्यता पनि थियो । किनभने उनी कर्ता थिए ।
त्यसपछि उनी फेरि फूलसहित जम्लाहात गरेर बसे । करीब बीस सेकेण्ड अडिन सके । त्यसपछि उनी जुरुक्क उठे, अलिक परतिर गए, अनि गोजीबाट मोबाइल झिकेर फोन गर्न थाले सृङ्खलाबद्ध तरिकाले ।
‘हेलो राजकुमार भाई, ग्यास एउटा ट्यांकी ल्याइदेऊ । भरे सकियो भने अभर परिन्छ ।’
‘ह्लो मुन्ना, हावाले त्रिपाल उडाउन खोज्दै छ । केटा पठाइहाल्ने बेला भयो । लिरलिर गरिराखेको छ । हेर्दा पनि नराम्रो देखिरहेको छ ।’
‘हेलो प्रविण, दूध थप्नु पर्ने भयो । पाँच लिटर ल्याइदिई हाल ल ? म फेरि फोन गर्न भ्याउँदिन है ।’
‘हेलो सचिन, धन्दा गर्ने एउटा स्टाफ पठाइदेऊ न तुरुन्तै । चाहिँदैन होला भनेर अस्ति कुरा गरिनँ । यहाँ मान्छेको अभाव भयो ।’
‘हेलो काका, ढोक गरें । बिरामी भएर पूराणमा आउन पाउनु भएन । म पनि आउन पाइनँ । काकी नभएपनि दुलही र छोरा आएको भए हुन्थ्यो । यहाँ मलाई निकै सकस भइरहेको छ । यो कार्जे सकिनेबित्तिकै म भेट्न आउँछु है त, काका ।’
‘हेलो वसन्ती बहिनी, दुना र टपरी नपुग्ने रहेछन्, आउँदा पसलमा निस्किएर किनेर ल्याऊ है । म यहीं पैसा दिन्छु । अलिकति जनै र सुपारी पनि थप्नु पर्ने रहेछ ।’
यति बोल्दै गर्दा आयुश्मानले फोन काटे । मन भारी भएर हो वा रिचार्ज सकिएर हो वा मोबाइलको ब्याट्री सकिएर हो, दैव जानून् । तर उनको चेहराले मन भारी थियो भन्ने प्रष्टै देखाउँथ्यो ।
उनले फोन गोजीमा हाले र वरिपरि जनर लगाए । तिनलाई निकै भाउन्न भयो होला भन्ने लाग्यो । रिंगटा लाग्यो होला भन्ने लाग्यो । तिनको ओठ सुकेको थियो । निधारमा पसिना चिटचिट आइरकेको थियो ।
यति धेरै मान्छेको बिचमा उनी एक्लै उभिएका जस्ता देखिन्थे । उनकी श्रीमती तलामुनि स्टोरमा राखेका सामान माथि बोकेर ल्याउँदै दिन्थिन्, उनलाई पनि बोल्ने फुर्सद थिएन । उनले मतिर हेरिन्, मुस्कुराइन् र सिर्फ एउटा कुरा भनिन्, ‘सर आइदिनुभयो । खुशी लाग्यो ।’
आयुश्मानले त यति भन्न पनि भ्याएका थिएनन् ।
आयुश्मान फोनमा बोलिसकेर फेरि मण्डपको छेउमा आफ्नै स्थानमा बसे । फूल लिए हातमा । अनि जम्लाहात गरे, आँखा चिम्लिए ।
उनी पितृहरुलाई सम्झन चाहन्थे । उनीहरुसँग एकाकार हुन चाहन्थे । उनीहरुलाई भावनामा बोक्न चाहन्थे । आज उनीसँग जे छ, त्यो उनका अग्रजहरुको देन हो, त्यही सोचिरहेका थिए । तिनैका नाममा यो तप गरिहरका थिए । तिनैका नाममा सप्ताह पूराण लगाइरहेका थिए । तिनैका नाममा यति ठूलो धनरासी खर्च गरेर पूण्य कार्य गरिरहेका थिए ।
यो पूण्य कार्य उनी र उनकी श्रीमतीको एक बर्षदेखिको सपना थियो । उत्कण्ठा थियो । आफन्तहरु, साथीभाइ, इष्टमित्र, कुलकुटुम्ब सबैलाई एउटा सन्देश दिने— आफ्ना अग्रजहरु भनेका भगवान हुन् । तिनको सम्झना गर्नुपर्छ, सम्मान गर्नुपर्छ । खुसी पार्नुपर्छ । त्यही भएर आयुश्मानले यो कर्म सुरु गरेका थिए ।
त्यही भएर होला, उनी अलिकति समय निस्किने बित्तिकै फुत्त जाने, भुइँमा बस्ने र हात जोर नमस्कार मुद्रामा लीन भइहाल्न खोज्थे ।
अहिले पनि उनी त्यही गर्न खोजिरहेका थिए ।
आधा मिनेट पनि घोत्लिन नपाउँदै आँखा उघारे । आँखीभौँ माथि खुम्च्याए । गोजीबट मोबाइल निकाले र जुरुक्क उठे । फटाफट दश पाइला सर कुनामा गए र त्यहाँ उभिरहेका उनका आफन्तलाई भेटे । केही गम्भीर कुराकानी भयो ।
‘पैसा फोन पेबाट पठाउँछु भनेको थियो शालिग्रामले । पठाएकै छैन ।’ आयुश्मानले समस्या पोखे तिनलाई ।
‘हुन्दिनुस् । पछि कुरा गरौंला । अहिलेलाई म सबै व्यवस्थापन म गर्छु । धन्दा नमान ।’ यति आश्वासन पाएपछि आयुश्मान मण्डपको छेउमा गए । मोबाइल गोजीमा खत्रक्क हाले । अनि बसेर नमस्कार गर्न थाले ।
त्यसपछि कथा श्रवण गर्न आउनेहरुको संख्या बाक्लिन थाल्यो । समुहमै आउन थाले मानिसहरु । गाईंगुईं गर्दै मान्छे आउन थालेपछि आयुश्मानको ध्यान भङ्ग हुन्थ्यो । उनी विश्वभित्र बनिदिन्थे । मेनका आउँदा तपस्या भङ्ग भएर विश्वमित्रको ज्ञान र भक्ति यात्रा अवरुद्ध भएको थियो । यसरी नै आयुश्मानको यो भक्तियात्रा पनि अवरोध भइरहेको जस्तो देखिन्थ्यो । आयुश्मान पनि वश्विमित्र बनेका ? मनमा गहिरो भाव उब्जियो ।
जति जना मानिस आउँथे, उनी सबैलाई नजर लाउँथे । सबैको अनुहारमा पालै पालो पुलुक्क पुलुक्क हेर्थे । पर मण्डप छेउबाटै दायाँ हातका दुईवटा औंला मात्रै हल्का उठाएर अभिवादन गर्थे । अलिकति मुस्कान पनि छाड्थे, यद्धपि त्यहाँ बसेर मुस्कुराउनु वर्जित हुन्थ्यो होला । अनैतिक हुन्थ्यो होला । अविवेकी हुन्थ्यो होला ।
आएका मान्छेहरु एक छिन बसेपछि फेरि आयुश्मान आँखा उघार्थे र छेउमा काम गरिरहेका खासगरी महिला गणलाई सङ्केत भरेर भन्थे, ‘उहाँहरुलाई चिया ।’
चिया पिइसकेपछि एक छिनपछि फेरि आयुश्मान छेउको अर्को सहयोगीलाई आफ्नो हात आफ्नै मुखमा लगेर सङ्केत गर्थे, ‘उहाँहरुलाई प्रसादको व्यावस्था गरिदिनू ।’ अरु टोली र व्यक्तिहरु आउँदा यो क्रम, यो सिलसिला चलिरहन्थ्यो ।
प्रसादमा पुरी, रोटी, चना, बुनियाँ, जेरी, दही, अचार हुन्थ्यो । यति ग्रहण गरिसक्नासाथ कोही पनि बस्दैनथिए । सबै बाटो लाग्न खोज्थे । अनि बिदा हुने सबैलाई हल्का दुईवटा उठाएर आयुश्मान बिदा गर्थे, ‘हवस् । आइदिनुभयो, अति हर्षित छु । साङ्गेका दिन पनि नबिर्सिदिनुहोला । आभारी छु यहाँहरुप्रति ।’
===
उनको यो क्रम दिनभरि चल्थ्यो । अर्थात् उनले आउनेहरुलाई सवागत र जानेलाई बिदाई गरेर निकै लामो समय गुज्रिन्थ्यो ।
मेरो पनि निस्किने बेला हुँदै थियो । मेरो हतारोले मलाई नै गिन्याइरहेको थियो । कम्तिमा एउटा कथा त पूरै सुन्नू ! अनुहार देखाउन मात्रै आउनेहरु पनि पूराण सुन्न आउनेहरुको कोटीमा परेकोले म पनि भाग्यमानी भएछु !
कथा सुन्न जानु भनेको मण्डप अगाडि पुग्नु, पाँच मिनेट यताउता मुण्टो घुमाउँदै कुर्सीमा बस्नु, अनि जुरुक्क उठेर रोटी, पुरी, जेरी खान जानु, अनि फर्केर आएपछि ‘अब हामी लाग्छौँ है’ भनेर कर्तासँग बिदा मागेर हिंडनु रहेछ !
म पनि उही मूला !
आयुश्मानतिर नजर लगाएँ आफ्नै लागि । उनले पनि पुलुक्क हेरे । मैले हातको इशाराले भनेँ, ‘अब म पनि लाग्छु ।’
उनले इशाराले नै उत्तर दिए, ‘हवस् ।’
म फटाफट छतबाट ओर्लिन खोज्दै थिएँ, माइक कडा बजिरहेको थियो । पण्डित कडा स्वरमा कथा भनिरहेका थिए । आयुश्मान जम्लाहात गरेर, नमस्कार गरेर बसेका थिए । म निस्किँदै गर्दा अर्को हुद्धा कथा श्रवण गर्न प्रवेश गर्दै थियो ।
आयुश्मान बसिरहेका थिए जम्लाहात गरेर मण्डप छेउमा ।
म भुइँतलामा ओर्लिएर बाहिर सडकमा निस्केँ । र माथि आयुश्मानको पूराणस्थल छततिर नजर लगाएँ ।
हावाले पाल हुत्याउन लिरलिर पारिरहेको थियो । हुत्याउनै लाग्दैथियो । यस्तै देखिन्थ्यो । अनि देखें, आयुश्मान पालको डोरी बेस्सरी तानेर पर पिलरको रडमा बाँध्दैथिए । उनको छेउमा एकजान महिला उभिएकी थिइन् । ती उनकै श्रीमती थिइन् ।
उनको पाल खस्किएर होला, उनलाई समयले यसरी हुत्याइरहेको थियो ।
उनी कर्ता नै थिए उक्त कार्यक्रमको ।

यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

