अस्पतालमा पोइजनिङ् वा त्यस्तै मर्ने मार्ने केस आउँदा रिसेप्सनले तुरन्तै नजिकको प्रहरी थानामा फोन गर्नुपर्छ । यो केसमा पनि त्यहीँ भयो ।
प्रधानजी बैञ्चमा मौन बसिरहनु भएको थियो । उनका चारैतिर आफन्त र मित्रहरु उभिएका थिए । तर भाउजू (श्रीमती प्रधान) भने निरन्तर रोइरहनु भएको थियो । उनलाई ढाडस दिने काम पनि मित्र आफन्तबाट भइरहेको थियो । तर आमाको मन कसरी शान्त रहन सक्छ र । इञ्जिनियरिङ् पढिरहेको एक मात्र सन्तान, जवान छोरोलाई अस्पताल ल्याएदेखि भाउजू शान्त भएर बस्न सक्नु भएको छैन । छोराको अवस्था देखेर प्रधानजीको मनमा पनि दुःखको बाढी आएकाे छ पक्कै । रपनि त्यसलाई आँसुमा देखाउन सकिरहनु भएको थिएन । भाउजूकाे होसै हराएको अवस्था बुझेर होला प्रधानजी आफू कमजोर हुनबाट बच्ने प्रयास गर्दै रहनु भएको थियो । अस्पताल ल्याएको पनि तीन घण्टा भइसकेको थियो ।
सधैँ सबेरै उठेर आठ बजेतिर कलेज जाने छोरा आठबजेपछि पनि नउठेको हुनाले प्रधानजीले भाउजूलाई छोराको बारेमा सोधेपछि भाउजूले, आज त ब्रेकफास्ट पनि खान आएन । खै ! कतै परीक्षा आउने भएर कलेज नगएको हो कि भनेर अडकल काट्नु भएको थियो । परीक्षा भए त पहिल्यै भन्थ्यो, हैन र फेरि परीक्षाको फिस पनि मागेको छैन, प्रधानजीले पनि छोराको बानी सम्झनुभयो । लोग्नेस्वास्नी छोरा अबेरसम्म सुतेको कारणको अडकलबाजी आ-आफै गर्न थाले । छोराले दुईपटक प्रेक्टिकलको परीक्षाको लागि दस-दस हजार लगेको जानकारी पाएपछि प्रधानजीले छोराको परीक्षा नै रहेको निर्कोल निकाल्नुभयो । अनि ब्रेकफास्ट खाएर आफू अफिस जाने तरखर गर्न थाल्नुभयो ।
भाउजूले प्रधानजीलाई एकपटक छोराको कोठाको ढोका ढकढकाउन भन्नुभयो । आमाको मन यतिबेलासम्म केही नखाएकोले भोकाएको होला भन्ने लागेको थियो । यसरी कसैले ढोका ढकढकाएपछि छोराले तुरन्तै उत्तर दिने गरेको हुनाले त्यस दिन लगातार ढोका ढकढकाउँदा पनि भित्रबाट कुनै प्रतिक्रिया आएन । भित्रबाट कुनै जवाफ नआएपछि भाउजू पनि छोराको कोठानिर आएर ढोका ढकढकाउन थाल्नुभयो । लोग्ने-स्वास्नीले छोरालाई बोलाउँदै ढोका ढकढकाउँदै गर्दा पनि कुनै जवाफ नआएपछि दुवै आत्तिए ।
भाउजूले ढोकाको चाबी हेर्न प्रधानजीलाई अह्राएपछि प्रधानजी आफ्नो कोठामा गएर दराजभित्र रहेको बाकसबाट एक्स्ट्रा चाबी बोकेर एकपछि अर्को गर्दै छोराको कोठा खोल्ने प्रयास गर्दै जानुभयो । भाउजू आत्तिएर छिटो छिटो भन्दा प्रधानजी झन अत्तिनुभयो । बल्ल बल्ल एउटा चाबी मिल्यो र छोराको कोठाको ढोका खुल्यो ।
भित्र कोठामा रहेको पलङमा छोरा अचेत भएर लडेको देखेपछि भाउजू छोरालाई समातेर रुन थाल्नुभयो । प्रधानजी पनि आत्तिनुभयो र मोबाईलबाट मलाई फोन गरेर छोराको अवस्था खुलाउँदै अस्पताल लग्ने बन्दोबस गर्न अनुरोध गर्नुभयो ।
म प्रधानजीको छिमेकी । तादुङ् बजारमा सरेको दिनदेखि नै प्रधानजीले, नयाँ छिमेकी पर्नुभयो, घर सर्दा कम्ता थकाउँदैन भन्दै डिनर खान बोलाउनु भएको थियो । त्यसपछि त हाम्रो भेटघाट बढ्दै गयो र आवतजावत पनि बढ्दै जान थाल्यो । फेरि म सिक्किम गोभर्मेन्ट अस्पतालमा प्रशासनको डायरेक्टर भएर काम गर्ने भएकोले पनि मेरो सहयोग जरुरी ठानेर प्रधानजीले फोन गरेर छोरा बेहोसीको अवस्थामा छ र मुखबाट फिज निस्केको छ भनेपछि म आफै दौडेर इमार्जेन्सी वार्डमा गएर एम्बुलेन्समा डाक्टर घिसिङ् र मालती नर्ससहित तादुङ्तिर लागे ।
बेहोसीको अवस्थामा रहेको छोरालाई जाँच्ने बित्तिकै डाक्टरले बिष खाएको भनेपछि हामी सबै स्तब्ध भयौँ । तुरन्तै अस्पताल लान भनेपछि छोरालाई आमासहित एम्बुलेन्समा राखेर घरमा पुष्पा (मेरो श्रीमती)लाई फोन गरेर भाउजूसँगै अस्पताल पठाए । अनि म प्रधानजीको मोटरमा उनलाई लिएर अस्पतालतिर लाग्यौँ । बाटोबाटै प्रधानजीले आफ्नो अफिसमा फोन गरेर घरमा इमार्जेन्सी परेकोले आज नआउने मात्र भनेर फोन काट्नुभयो ।
प्रधानजी आफै पनि सर्भे अफ इण्डियाको इञ्जिनियर भएर होला छोरालाई पनि इञ्जिनियरिङ् नै पढाउनु भएको थियो । बाटोमा छोराको बारेमा बुझ्न खोज्दा प्रधानजीले त्यहीँ माथि भनेका नै कुरा बताउनु भयो । मैले कतै छोरा मायाप्रीतिमा परेको त छैन भन्दै हिजोआजका केटाकटीहरु मायाप्रीतिमा परेर यस्तै नसोचेको काम गर्छन् भन्दा पनि प्रधानजी केही बोल्नु भएन । उहाँको मौनताभित्र छोराको पीडा लुकेको थियो ।
एम्बुलेन्स साइरन बजाएर अघि बढिरहेको थियो र म एम्बुलेन्सको पछि पछि लागेको थिएँ । अस्पताल पुग्नासाथ डाक्टर घिसिङ्ले रिसेप्सनमा ‘ईट ईज पोईजनिङ्ग केस, कल डाक्टर चाम्लिङ्’ भनेर स्ट्रेचर उपचार कोठामा लान लगाएर आफू पनि पछि पछि लाग्नुभयो । मैले प्रधानजी र भाउजूलाई रिसेप्सनमा ल्याएर छोराको नाम दर्ता गराएर भित्र वेटिङ् रुपमा ल्याएर राखेपछि म पनि प्रधानजीसँगै गएर बसेँ । मैले अस्पतालको कर्मचारीलाई बोलाएर क्यान्टिनबाट चिया ल्याउन लगाएर हामी चिया पिउँदै गर्दा मित्र आफन्तहरू पनि जम्मा हुन थाले । प्रधानजीले फोन गरेर आफन्तलाई जानकारी गराउनु भएको रहेछ अनि मैले छिमेकका मित्रहरुलाई जानकारी गराएको थिए । मर्दा पर्दा नै त आफन्त मित्रहरू चाहिन्छ ।
अस्पतालमा पोइजनिङ् वा त्यस्तै मर्ने मार्ने केस आउँदा रिसेप्सनले तुरन्तै नजिकको प्रहरी थानामा फोन गर्नुपर्छ । यो केसमा पनि त्यहीँ भयो । त्यसैले एकजना इन्सपेक्टर र एकजना हवल्दार हामी बसेको वेटिङ् रुममा आएर घटनाको बारेमा जानकारी लिन थाल्नुभयो । प्रधानजीले सबै घटना बताएपछि इन्सपेक्टरले पनि कतै मायाप्रीतिमा परेको थियो कि, कुनै जाँचमा असफल भएको थियो कि, घरमा आमाबाउसँग झगडा भएको थियो कि, लागू औषधी खान्थ्यो कि ? आदि हाइपोथेटिकल प्रश्नहरु सोध्न थालेपछि प्रधानजीले त्यस्तो केही नभएको भनेपछि भाउजूसँग प्रश्न गर्न चाह्यो । भाउजू त्यसबेला एक शब्द पनि बोल्ने अवस्था थिइनन् । उहाँ लगातार रोई नै रहनु भएको थियो । त्यसपछि इन्सपेक्टर डाक्टरलाई भेट्न जान खोज्दा म पनि आफ्नो परिचय दिँदै उनको पछि पछि लागेँ ।
उपचार केन्द्रको बाहिर उभिएर मैले प्रधानजीको छोराको राम्रो व्यवहारको बारेमा जानकारी गराउँदै गर्दा उपचार कोठाबाट डा. चाम्लिङ् निस्कनुभयो । इन्सपेक्टरले उहाँलाई केही सोध्न खोज्दा डा. चाम्लिङ्ले डा. घिसिङ्ले सबै ब्रिफिङ् गर्नुहुन्छ भनेर जानुभयो । तुरन्तै डा. घिसिङ् पनि कोठाबाट निस्केपछि मैले बिरामीको अवस्थाको बारेमा सोध्दा उनले खतरा टर्याे अब चिन्ता गर्नु पर्दैन भनेपछि म ढुक्क भएर समाचार सुनाउन वेटिङ् रुमतिर लागेँ । अनि डा. घिसिङ् इन्सपेक्टरसँग कुरा गर्न थाल्नुभयो ।
वेटिङ् रुममा आएर सुसमाचार सुनाएपछि भाउजूले छोरोलाई हेर्ने इच्छा गर्नुभयो । प्रधानजी पनि अलि हलुको भएझैँ गरी छोरालाई भेट्न सकिन्छ भनेपछि म फेरि उपचार कोठातिर लागेँ । त्यहाँ कोठाबाहिर डा. घिसिङ् र इन्सपेक्टर कुरा गर्दैै गरेको देखेपछि दुवैलाई आफ्नो क्याबिनमा लिएर आए । डा. घिसिङका अनुसार धेरै सिलिपिङ्ग ट्याबलेट खाएकोले उसको अवस्था बिग्रको हो । तर अब अत्तिनु पर्दैन । उसलाई वार्डमा सारेपछि भेट्न सकिन्छ भनेपछि मेरो मन पनि हलुको भयो । इन्सपेक्टरले अरुलाई भेट्नअघि उसको बयान लिन जरुरी छ भनेपछि हामी फेरि उपचार कोठामा आयाैँ। मेरो उपस्थिति इन्सपेक्टरले नचाहेँ झै गरेपछि डा. घिसिङ्ले फेरि मेरो परिचय दिँदै सर यस अस्पतालको वरिष्ठ कर्मचारी हो भनेपछि हामी कोठातिर लाग्यौँ ।
इन्सपेक्टरले आफ्नो प्रश्न प्रेम प्रसङ्गबाट शुरु गरेर प्रेमिका भए नभएको, जाँड रक्सी, ड्रग्स वा कुनै नराम्रो बानी भएको बारे सोध्दै यसरी सिलिपिङ् ट्याबलेट खानु पर्ने कारण, ट्याबलेट किनेको मेडिकल स्टोरको नामसमेत सोध्न थाल्नुभयो । इन्सपेक्टरले यसलाई आत्महत्याको प्रयास भन्दै यसमा आमाबुवासमेत कसुरबार हुन सक्ने भनेर प्रश्नमाथि प्रश्न सोध्न थाल्नुभयो । आमाबुवामाथि पनि आत्महत्याको प्रयासका कारणले अनावश्यक शङ्का आउन थाले पनि छोराले आफूलाई मार्नु पर्ने कारण भन्न थाल्यो । हामी छोराको बयान लिँदै थियौं भने प्रधानजीले मेरो मोबाइलमा लगातार तीन-चार पटक फोन गरेर कारण जान्ने प्रयास गर्नु भएको रहेछ । इन्सपेक्टरले बयान लिँदै गएकोले फोनबाट मैले सबै ठिक छ र छोरा पनि एकदमै ठिक छ, अब वार्डमा राख्न लान लागेकोले म आफै आएर तपाईंहरूलाई पनि वार्डमा लिएर जान्छु । एकै छिन धैर्य गर्नु भनेर सम्झाएँ ।
छोराले बयान दिँदै थियो । उसले घरनजिकैको मेडिकल स्टोरबाट आमाको नामबाट सिलिपिङ् ट्याबलेट ल्याएको थियो । डा. घिसिङ् र ईन्सपेक्टरलाई यस्ता घटना पहिले पनि भएकोले थाहा रहेछ । यसमा विशेष गरेर केटाहरु टार्गेट बनाउने गरिएको छ । इन्सपेक्टरले यो केसको अनुसन्धान गर्नका लागि सिक्किम पुलिस डिपार्टमेन्टका एसिस्टेन्ट डाइरेक्टर श्री पवन शुक्लाको नेतृत्वमा एउटा विशेष अनुसन्धान सेल पनि बनेको बारे जानकारी गराउनु भएपछि युवाहरुलाई फसाएर पैसा ठग्ने नयाँ योजनाबारे सुनेर म आफै तर्सिएँ। प्रधानजीको छोराले दिएको बयान र इन्सपेक्टरबाट पाएको जानकारीबाट ठगी गर्ने नयाँ तरिका बारे थाहा भयो ।
आज विश्वलाई नै हत्केलामा नचाउन सकिने प्रविधि फेसबुकमा प्रधानजीको छोरा कुशललाई एउटी केटीबाट फ्रेण्ड रिक्वेस्ट आएपछि उसले एसेप्ट गरेछन् । केही दिनपछि केटीले टेक्ट मेसेजबाट हाई हेलो गर्न थालेपछि कुशलले पनि सँगै कुराको आदानप्रदान गर्न थालेछन् । हाई हेलोबाट विस्तारै मेसेन्जरको माध्यमबाट फोन आउन थालेपछि दुईतिरबाट कुरा गर्ने सिलसिला सुरु भएको रहेछ । अनि कुराकानी बढ्दै गएपछि एकअर्कालाई मन पर्ने मन पराउने इच्छाका बारेमा जानकारीको लेनदेन भएछ । केटी विस्तारै खुल्दै गएपछि भिडियोबाट देखादेख हुन थाल्यो । भर्चुयल भेटघाटले निरन्तरता पाउँदै गएपछि आफ्नो शरीरको अङ्ग देखाएर केटीले केटालाई आकर्षित पार्दै जान थालिन् । विस्तारै केटीले आकर्षण बढाउँदै गएर केटालाई उत्तेजित पार्न पार्दै जान थालिन् । केटाको इच्छा बढ्दै जान थालेपछि केटीले पनि फेसटाईमबाट आफू निर्वस्त्र भएर केटालाई निर्वस्त्र बन्न लगाउन थालिन् । यसरी भर्चुयल रतिरागको रसरङ्ग रच्दै केटालाई आफ्नो बसमा पर्ने गर्दा रहेछन् ।
त्यसपछि शुरु हुन्छ ठगीको खेल । अनि केटालाई तिम्रो भिडियो सार्वजनिक गरिदिन्छु भन्दै ब्लैकमेलिङ् गर्दै पहिला थोरै र विस्तारै पैसाको माग बढाउँदै जान थाल्छन् । कुशलले पनि तीनपटक एक-एक हजार अनि त्यसपछि पाँच हजार, सात हजार र दस हजार दिइसकेको बारे जानकारी गरायो । अनि हिजो पच्चिस हजारको माग गरेपछि कुशललाई लाग्यो उसको माग बढ्दै जानेछ र माग पूरा नगरे भिडियो सार्वजनिक भएपछि आफ्नो र आमाबाउको इज्जत नै जाने डरले त्यस्तो कदम चालेको भन्ने जानकारी गरायो । इन्सपेक्टरले कुशललाई नआत्तिनु पुलिसलाई सहयोग गर्नु भन्दै उनको मोबाइल माग्यो । कुशलले घरमा छ भनेपछि मैले नै पुलिस अफिसमा पुर्याइदिन्छु भने । । ईन्सपेक्टरले यसरी धेरैनै केटाहरु ठगिँदै गएकोबारे पुलिसमा रिपोर्ट भएको र केहीले समाजको डर र लाजले आत्महत्या गर्न खोजेकोबारे जानकारी गराउनुभयो ।
इन्सपेक्टरले बयान लिएपछि मैले नर्सलाई बोलाएर कुशललाई प्राईभेट क्याबिन नम्बर सि १२ मा लिएर जानु भने । अनि म आफै प्रधानजी र भाउजूलाई लिन वेटिङ् रुमतिर लागेँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।