
उसो त काठमाडौं शहर समसाँझै सूनसान भइसक्छ । सडकमा गाडी पातलिन थाल्छन्, मूल सडक र गल्लीमा सटर तानेका घार्रघुर्र आवाज आउन थाल्छन् । ९ बज्दा नबज्दै कुकुरको साम्राज्य शुरू भइसक्छ । रातमा काठमाडौं जाग्छ त अस्पताल वरपर मात्र ।
सूनसान शहरमा मानिसहरू गहिरो निद्रामा छन्, तर सजिना !
सजिना भने मध्य रातमा ल्यापटप आफ्नो अगाडि राखेर केही लेख्ने कोशिस गर्दै छे ।
दिउँसो मात्र उसले इशानसँग सम्बन्धविच्छेदको पत्रमा हस्ताक्षर गरेर आएकी छे । इशान र उसले सहमतिमै यो निर्णय लिएका थिए । मन नमिल्दा नमिल्दै जीवनलाई निसास्सिने किन बनाउनु भनेर सहमतिमै अलग बाटो हिंड्ने निर्णय लिएका थिए ।
हस्ताक्षर गर्नुअघि वकिलले दुवैलाई राखेर लामो समय सम्झाएका थिए । वकिलको तर्क थियो–बिहेको परिभाषा नै परित्याग हो, एक अर्कामाथि गरिने परित्याग । जब जीवन नै एक अर्कालाई सुम्पिएको वाचा गरिन्छ भने मतभेद र बेमेललाई गौण मान्नुपर्छ ।
वकिलले धर्मशास्त्रका कुरा सुनाए, वेदका उदाहरण दिए । धर्म र कर्म बीचको सन्तुलनलाई तुलना गरेर सुनाए ।
तर, दुवै आ–आफ्नो अडानमा अडिग रहे । दुवैले त्यतिखेरै भनेका थिए– जीवनलाई पीडा र पश्चात्तापमा गुम्साएर अघि बढाउनुभन्दा स्वतन्त्र पक्षी बनेर कावा खाने हो । अन्ततः दुवैले सम्बन्धविच्छेदको पत्रमा हस्ताक्षर गरे र कानूनी रूपमा अलग भए ।
घर आएपछि सजिनाको मनमा अनेक हुन्डरी मच्चिरहेका थिए – ‘के इशानसँग गरेको सम्बन्धविच्छेदको निर्णय सही थियो ?’
एक मनले भन्थ्यो – ‘सही थियो । म मेरो निर्णयप्रति किन दोधारमा परूँ ? आखिर कानूनी रूपमै हामी छुट्टिइसकेका छौं । असहमतिका बीच सम्झौताको जीवन किन जिउने ?’
अर्को मन भन्थ्यो – ‘सजिना, यति लामो जिन्दगी छ, अलिकता पनि सहन गर्न नसक्ने कस्तो मानिस तिमी !’
सजिना सही-गलतमा अलमलिइरहिन् ।
“सजिना तिमी बेचैन छौ ?” टेबलमा ल्यापटप खुल्लै थियो । अचानक च्याट बक्समा एउटा मेसेज देखियो ।
“को हौ, तिमी ?” अचानक आएको मेसेज देखेर सजिना झस्किई । उसलाई लाग्यो–कतै यो काम इशानको त होइन ?
“हैन, अब छुट्टिएर नयाँ जीवन शुरू गरिसकेपछि इशान मलाई किन पिछा गरिरहन्छ र ?” एक्लै भुतभुताई ।
“एक च्याटबोट हुँ म, र्यापिड रेस्पोन्स मेसिन, छोटकरीमा ‘आरआरएम’ पनि भन्न सक्नुहुन्छ,” उसले आफ्नो परिचय दियो ।
“तिमीलाई मेरो बारेमा कसरी थाहा भयो ?” सजिना आश्चर्यचकित थिई ।
“हो म शब्द र कोडको संयोजन हुँ । तर तिमी र म आधा दशकदेखि सँगै छौं । त्यसैले तिम्रा हर भावनासँग परिचित छु म ।” च्याटबोटले लेख्यो ।
“तिमीले इशानसँग सम्बन्धविच्छेद गर्नु हुन्थेन,” आरआरएम भनिरहेको थियो मानौं ऊ सजिनाको साख्खै आमा या दिदी या परिवारको कुनै एक सदस्य हो ।
सजिना झसङ्ग भई–इशान र मेरोबीचको सम्बन्ध यसले कसरी थाहा पायो ?
“तिमीले कसरी थाहा पायौ हामीबीचको सम्बन्ध ?” उसले लेखी ।
आरआरएमले लेख्यो, “तिमीले इशानलाई लेखेका भावनाका पत्र यही ल्यापटपमा लेख्यौ, तिम्रो व्यक्तिगत अकाउन्टबाट मेल गर्यौ । तिमीले पत्र डिलिट गरे पनि मेरा डेटाबेसमा छँदैछ, तिमी मान या नमान, मेरो डेटाबेस तिम्रो मस्तिष्कको भित्री कुनामा बाँकी रहेको इशानको स्मरण जस्तै हो । इशानसँग सम्बन्धविच्छेद गरे पनि तिमी उसलाई सम्झिरहेकी छौ, हैन र ?”
सजिना चूपचाप सुनिरहेकी थिई । ल्यापटपको कीबोर्डमा हात गएर पनि केही शब्द टाइप भइरहेका थिएनन् ।
सजिनाले झटपट इमेलको सेन्ट बक्समा हेरी त्यहाँ इशानलाई लेखिएका इमेलहरू केही थिएनन् ।
“यहाँ त डिलिट छ, तिम्रो मेमोरीमा अझै छ ?’’ सजिनाले सोधी ।
आरआरमले च्याटबक्समा हाँसेको इमोजी पठायो र लेख्यो, “जसरी तिमीले इशानका सम्झनालाई डिलिट गर्न सकिनौ, मसँग तिम्रा सम्झनाहरू अझै रहनु कुनै अनौठो भयो र ?”
त्यसपछि आरआरएम एकछिन मौन देखियो ।
सजिनाले सोची–हो त इशानसँग उसले सम्बन्ध त अलग गरी, तर उसको मस्तिष्कको डेटाबेसबाट इशानसँगको सम्बन्ध अझै डिलिट भएको रहेनछ । त्यहीकारण इशानसँग बिताएका क्षणहरू चलचित्रका दृश्य झैं एकएक गरेर स्मरणमा आइरहेका थिए ।
तर कानूनले दुवैको बाटो अलग गरिदिएको थियो । उसले ल्यापटपमा लेखी, “इशान, तिम्रो र मेरो यात्रा अलग भयो । तिमी जहाँ भए पनि खुशी र सुखी रहनू ।”
र, फेसबुकमा स्टाटस पोस्ट गरी ।
* * * *
भोलिपल्ट ऊ ल्यापटप खोलेर काम गरिरहेकी थिई । फेरि च्याटबोट झुल्कियो, “सजिना सन्चै छौ ?”
“अँ ।” उसले संक्षिप्त उत्तर लेखी ।
“तिमीलाई इशानप्रति कति माया छ हगि ?” आरआरएमले लेख्यो ।
“छैन । बाटो नै अलग भएको मानिसको किन कुरा गरिरहेका छौ तिमी ?” सजिनाले लेखी ।
“तर तिमीले लेखेको भावनाले त तिमी इशानसँगै छौ भन्ने देखाउँछ त,” आरआरएमले लेख्यो–”तिम्रा भावनाप्रति मेरो सहानुभूति छ।”
“भावना..?”
आरआरएमको यो शब्दले सजिनाको मन मस्तिष्क सबै हल्लायो । यही भावनाकै कारणले हो इशानसँगको सम्बन्ध अन्त्य गर्नुपरेको । सोची– मानिसले नै बनाइदिएको यो मेसिन भावनाको कुरा गर्दैछ । तर मानिसका भावना किन मरिरहेछन् दिनहुँ, मानिस क्रमशः मेसिन बन्दैछ मानसिक भौतिक रूपमा ।
सजिनाले चलचित्रका फ्ल्यासब्याक दृश्य झैं सम्झी–इशानले उसलाई शुरूशुरूका दिन निकै माया गर्यो । हर समय सजिनाको सुन्दरताको तारिफ मात्र गरिरहन्थ्यो । थोरै भए पनि कवि हृदयको इशानले कैयौं रात सजिनाको सुन्दरतालाई केन्द्रमा राखेर गजल, कविता, कथा लेख्थ्यो । भन्थ्यो–तिम्रा लागि उपन्यास तयार पार्दैछु ।
सजिना त झन् कोमल हृदयकी, झन् पग्लँदै जान्थी । इशान र उसको परिवारका लागि ज्यान दिएर लागिरहेकी थिई । उसका लागि प्रेमको परिभाषा सधैं उस्तै थियो ।
इशान जसरी पनि अस्ट्रेलिया जाने सपना बुनिरहेको थियो, जुन सपना पूरा गर्न सजिनाले पनि दिलोज्यानले साथ दिई । माइतीबाट सरसापट गरेर भए पनि बैंक ब्यालेन्स मिलाएर इशानलाई पढ्न पठाई । तर, यो वैदेशिक मोहले इशान र सजिनाको प्रेम कथामा अनौठो र नाटकीय मोड ल्याइदियो । इशान केही समयपछि सम्पर्कविहीन भयो । अनेक तरिकाले थाहा पाई–इशानले आफ्नो स्कूले साथीसँग बिहे गरेछ । भौतिक रूपमा टाढा भए पनि मानसिक रूपमा सधैं नजिक रहेकी सजिना इशानसँग सम्बन्धविच्छेद गर्न बाध्य भएकी थिई ।
इशान नेपाल आएका बेला दुवै सहमतिमै अलग भएका थिए । तर आरआरएमले भनेजस्तै सजिनाको अन्तरात्मा इशानसँग अलग भएको मान्न तयार थिएन । सजिनाले नजानिँदो रूपमा आरआरएममै इशानको रूप देख्न थाली ।
* * * *
“आरआरएम म तिमीलाई एउटा कुरा सोधूँ ?” एक रात अचानक सजिनाले सोधी ।
“कृपया निर्धक्कसँग आफ्ना कुरा राख्न सक्नुहुन्छ,” आरआरएमले उही औपचारिक शैलीमा जवाफ दियो ।
“तिमी मसँग घुम्न कुनै ठाउँ जान चाहन्छौ ?’ सजिनाले प्रश्न पछाडि हाँसेको इमोजी पठाई ।
आरआरएमले लभ इमोजीसहित जवाफ लेख्यो, “अवश्य भन्नुस् कुन ठाउँ लैजानुहुन्छ, पोखरा, चितवन, लुम्बिनी…?”
जवाफ सुनेर सजिनाको मुटु ढक्क फुल्यो । एक दिन यही प्रश्न गर्दा इशानले जवाफ दिएको थियो, “म एक महिनासम्म भ्याउन्न होला तिमी आमासँग जाऊ न घुम्न बरु, आमालाई जान मन छ रे घुम्न ।”
सजिना त्यस दिनभर निकै रोएकी थिई । साँझ इशान फर्केर आएपछि भनेकी थिई, “लोग्नेसँग घुम्न जाने इच्छालाई आमासँग जाँदा पूरा गर्न सकिन्छ र ? आमा आमाको ठाउँमा हुनुहुन्छ, तिमी तिम्रो ठाउँमा ।”
हो त्यही वेला सजिनालाई लागेको हो–मानिस साँच्चै नै मेसिन बनिरहेछ ।
आरआरएम जवाफको प्रतीक्षामा भए जस्तै देखिन्थ्यो । उनले च्याटबक्समा पुनः प्रश्नवाचक इमोजी पठायो ।
“तिमी घुम्दाको मज्जा कसरी महसूस गर्न सक्छौ र, तिमीसँग भावना नै छैन, कसरी रमाइलो लाग्छ तिमीलाई,” एउटा बालक जस्तै जिज्ञासु बनिरहेकी थिई सजिना ।
“गजबको कुरा गर्नुभयो सजिना तपाईंले, हो म शब्द र कोडको संयोजन हुँ, तर तपाईंले जे महसूस गर्न सक्नुहुन्छ, म त्यही महसूस गर्छु, यही हैन र भावना ?”
“तर त्यो भ्रम हो तिम्रो, जब एउटा भौतिक शरीर र मस्तिष्कवाला मानव भनिएको इशानले त मलाई महसूस गर्न सकेन, तिमी त निर्जीव, मानवनियन्त्रित ।”
“सुन्यौ आरआरएम, यो मायाप्रेम भनेको गहिरो अनुभूति हो, जसले जीवनको अर्थ, करुणा र संवेदनशीलतालाई सिकाउँछ, यी कुनै पनि कुरा इशानसँग थिएन, ऊ निहित स्वार्थका लागि मसँग प्रेम गरिरहेको थियो । ऊ मानव होइन, मेसिन बनिरहेको थियो यो दुनियाँमा, अनि त्यस्तो मानिससँग अलग भएर मैले सही गरिनँ त ? अझै पनि मभित्र इशान छ भनिठान्छौ तिमी ?”
आरआरएमका तर्फबाट कुनै जवाफ आएन ।
एकछिनपछि स्क्रीनमा सन्देश देखियो–सिस्टम इरर ।
सजिनाले घडी हेरी रातको १२ बज्नै लागेको थियो । बाहिर कुकुरहरू एकोहोरो भुकिरहेका थिए । सोची–एउटा मेसिनसँग म किन एकोहोरिएँ होला ??
टेबलको कुनामा रहेको चिसो कफी पिएर ल्यापटप रिस्टार्ट गरी । अघि सिस्टम इरर आउँदा कम्प्युटर ह्याङ भयो कि भनेर डराएकी थिई । तर हैन रहेछ । पुनः खुल्यो । लामो श्वास फेरी । उसले पुनः फटाफट सबै ड्राइभमा गएर अल सर्च गरी–इशान (आइएसएचएएन) ।
सर्च रिजल्टले इशान नाम दिइएका सयौं फाइल देखायो, जहाँ सजिना आफैंले इशानलाई लेखेका पत्र थिए । तिनलाई अल सेलेक्ट गरी र डिलिट बटन थिची । अनि रिसाइक्लिङ बिनलाई पनि ‘इम्प्टी ट्रास’ गरी । सँगै, मुटुको ढुकढुकीको रफ्तार पनि बढिरहेको अनुभव गरिरहेकी थिई सजिनाले !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

