‘आकाशवाणी से प्रस्तुत है दोपहर समाचार। अब बिमलेन्दु पाण्डे से समाचार सुनिए…।’

रिताको विवाह भएको पाँच दिन भयो। उसको पति तेजबहादुर गोर्खा रेजिमेण्टमा राइफलमेन छन् । उनी भर्ती लागेको पनि चार वर्ष भयो । रिता र तेजबहादुरले दुई साल प्रेम गरेर धूमधामसँग विवाह गरे । रितालाई जति प्यारो आफ्नो पति लाग्छ त्यति नै प्यारो रेडियो पनि लाग्छ ।

कक्षा नौ पढ्दाबाट उसलाई रेडियोसँग माया बसेको हो । ऊ गायक नभएपनि आवाज सुरिलो छ । गीत गाइराख्ने उसको रुचि पनि हो । यही रुचि हुनाले गीत सुन्ने उसलाई लत बस्यो । रेडियोमा गीत आउने कार्यक्रमहरू ऊ कहिल्यै पनि उम्काउँदिन । कत्ति चोटि फर्माइस कार्यक्रममा फोन गरेर आफ्नो फर्माइस दिने प्रयास गरी तर आजसम्म सफल भएकी छैन ।

उसको रेडियोसँग माया बसेको पनि छुट्टै सानो कथा छ । कक्षा नौमा पढ्दाको कुरा हो । रितासँग रेडियो थिएन । हुन पनि कसरी हुनु, बाबा खेतीपाती औँ पशु पालन गर्ने । जेठा दाइ शहरमा कपडा पसलमा काम गर्थे । महिनामा दुई हजार तलब पाउँथे । त्यही पनि पाँच जनाको जहान पाल्न हम्मेहम्मे पर्थ्यो । खाँचो परेको सामान छोडेर रेडियो कसरी पो किन्थे ? गीतमा रुचि धेरै हुनाले दुई सालदेखि रिताले आमासँग रेडियो किनिदिनु भनेर उठिबास लगाएकी थिई ।

त्यो दिन पनि रिता आमासँग रेडियो किनिदिनु भन्दै गन्गन् गर्न लागी । ‘आमा, बाबा या दाजुलाई भनेर यसपालि चाहिँ रेडियो किनिदिनु न । हेर्नु त, तल्लो घरको माइलीलाई उसको बाबाले दुई महिनाअघि उसको जन्मदिनमा रेडियो ल्याइदिनुभयो ।’

रिताकी आमा लोहोटामा पानी लिएर जाँदै गर्दा रिताको बाबा बलेन्द्रले पनि सुन्ने गरी जवाफ दिन्छिन्- ‘छोरी मसँग पैसा छैन । हुन्थ्यो भने किनिदिइहाल्ने थिएँ । तैँले हत्ते गरेको पनि दुई साल भइसक्यो । बाबालाई आफैँ भन न ल ?’

हलो तान्दै गरेका बलेन्द्रले नसुनेजस्तो गरे । आमा बाबाको छेउ पुगेपछि रिता दैलामा ओझेल परेर अडेस् लागी । ‘आमा हौ, किन्दिनु न’ राेदन् मिस्सिएको आवाज आमाबाबाको कानमा पुर्याउन सफल भई । बलेन्द्र जुरुक्क उठे । फत्फताउँदै छोरीतिर गए ।

‘तिमीहरूलाई पढाउनु हो कि, ख्वाउनु हो ? अब गीत सुन्ने रेडियो पनि चाहियो ?’ भन्दै बलेन्द्रले एक झापट जडिदिए रिताको गालामा । रुन्चे अनुहार रातो भयो । औँलाको छाप नै बस्यो । रिता रुनु न हाँस्नु भई । गाला छाम्दै भित्र पसी । बलेन्द्र लोहोटाको पानी खाइसकेर फेरि हलो तान्न लागे । रिताकी आमा निल्ल परिन्।

रिता काकाघर गएर बसेकी पनि तीन दिन भइसक्यो । उसको जन्मदिन आयो । रिता आज पनि घर फर्किन । जन्मदिनको दिन आमा लिन गइन् ।

‘छोरी अब घर हिँड्। घरमा हिजो दाजु शहरबाट आएको छ । तँलाई सोध्दै थियो। पर्सि काममा फर्किन्छ होला ।’

रिताले केही जवाफ दिइन ।

अनुहारमा हाँसो फिर्ता अझै आएको थिएन। हाँसो नआए पनि घर त जानै पर्यो। आमाको पछिपछि लागी । गाउँमा जन्मदिन मनाउने चलन नै थिएन । त्यहीमाथि गरिबको घरमा जन्मोत्सव आउन रुचाउँदैन पनि ।

साँझपख आमाछोरी घर पुगे । बाबा सिद्ध्याएको हलो ग्वालीमा थन्क्याउँदै थिए । दाजु महेश पिँढीमा बसेर चियाको चुस्की लिँदै थिए । बहिनीलाई देखेर भन्छन्- ‘हैन हाम्री मैयाँ त घरमै बस्न छोडिन् त । भेट्नलाई पनि आमालाई लिन पठाउनु पर्छ । अनुहार यति अँध्यारो किन ?’

रिता नबोलीभित्र पसी । दाजु मुसुमुसु हाँस्दै चियाको चुस्की लिन लागे ।

रिता आफ्नो कोठामा पसी । उसको पढ्ने टेबलतिर नजर गयो । अचम्म लाग्यो । आँखा मिचेर हेरी । फिलिप्सको रेडियो टेबलमा बसेर रिताको प्रतीक्षा गरिरहेको रहेछ । निस्पट्ट अँध्यारोमा प्रकाश पर्दा उज्यालो छाएको समान रिताको अनुहारको उदासपन खुसीमा परिणत भयो । मुस्कान दौडिएर ओठमा बसी मुसुक्क गर्न एक क्षण पनि लगाएन । त्यति बेरसम्म आमा अनि दाजु भित्र आउँछन् ।

‘हेर त बल्ल यसको घैँटोमा घाम लाग्यो ।’ आमाले मुसुमुसु हाँस्दै भनिन् । दाजुले रेडियो अन गर्दै भन्छन्- ‘कस्तो लाग्यो त रेडियो तँलाई ?’ खुसीले रिता त बोल्न पनि सकिन । उसको अनुहारको खुसी र मुस्कानले नै सबै थोक भनिरहेको थियो ।

दाजुले सिलाङ स्टेसन लगाए । बेलुका आउने पाँच बजेको गीत बज्न लाग्यो । ‘परदेशी परदेशी जाना नहीँ…’ रेडियो आगमनले घरमा रमाइलो लिएर आयो ।

‘आमा रेडियो कसले ल्याइदियो ?’ रिताले सोधी ।

‘दाजुले । हिजो दाजु आएपछि तैँले झापट खाएको घटना भनिदिएकी थिएँ । अनि तेरो दाजु ‘अब बहिनी हो, रेडियोका लागि घर छोडेर गएको कहाँ राम्रो हो र ? जागिर गरेको दुई साल भयो, आजसम्म यसलाई केही दिन सकेको थिइनँ । आज जन्मदिन यत्ति त गर्नै पर्यो नि बहिनीका लागि’ भन्दै बजारतिर लागेको थियो, रेडियो लिएर आएछ । बाह्र सयको रेडियो हो अरे, दामीवाला। बाबाले पनि पाँच सय रुपियाँ थपिदिनुभएको थियो’ आमाले भनिन् ।

रिताको खुसीको सीमा रहेन । रितालाई त्यही दिनबाट रेडियोसँग माया बस्यो ।

बिहेको दुई दिनमै अचानक भारत पाकिस्तानको कारगिल युद्धको घोषणा हुनाले तेजबहादुर कम्पनीमा जानु पर्यो ।

आज आइतबारको दिन, रिता सिलङ स्टेसन लगाएर पाँच बजेका गीत सुन्दै चौकापात गर्दै छिन् । हिजोको दिन नै तेजबहादुर आफ्नो कम्पनी जोहराट, असम पुग्ने दिन थियो । पतिको याद अनि रेडियोको तालमा रिता गीत गुनगुनाउँदै छिन् ।

रेडियो बज्न लाग्यो। ‘रविवार को फौजियों की हिन्दी गानों की फर्माइस कार्यक्रम में सभी फौजी भाईयों एवं श्रोताओं का हार्दिक स्वागत है । फर्माइस के लिए  २१५४८५… टेलिफोन नम्बर पर कल करें और अपनों के लिए गीत की फर्माइस करें ।’

‘टिर्लिङ् टर्लिङ् टिर्लिङ्…लीजिए पहले कलर हमसे जुड़ रहे हैं…’

‘नमस्ते ! क्या नाम है आपका ?’

‘राम ! राम !! सर, मैं तेजबहादुर बोल रहा हूँ । जोहराट, असम गोरखा रेजिमेण्ट कम्पनी से ।’

रिताका कान ठाडा भए । रेडियोको छेउ गई । पतिको आवाज र नाम सुन्दा मुटु ढुकढुक भयो साथै खुसी पनि । रेडियो बोकेर आफ्नो कोठातिर लागी ।

‘जय हिन्द !  तेजबहादुर जी । आप कौन सा गीत सुनना चाहेंगे ?’

‘सर मुझे ‘प्यार किया तो डरना क्या’ फिल्म का गीत- दीवाना मैं चला उसे ढूँडने बडे प्यार से… सुना दीजिए।’

‘तेजबहादुर जी, हम यह गीत जरुर सुनायेंगे । पहले आप बताइए यह गीत आप किसे डेडिकेट करना चाहेंगे ?’

‘सर, यह गीत मैं मेरी बीबी को डेडिकेट करना चाहूँगा । अभी पाँच दिन पहले ही हमारी शादी हुई है । कारगिल जाने के लिए बुलावा आया जिसके कारण मुझे शादी के दो दिन बाद निकलना पडा । कल ही हमें यहाँ से कारगिल जाना है । रेडियो के माध्यम से मैं अपनी बीबी रिता को बताना चाहता हूँ कि मैं उससे बहुत प्यार करता हूँ और जल्द ही घर वापस आँउगा ।’

‘वाह ! तेजबहादुर जी ! शादी की बहुत बहुत शुभकामनाएँ । लीजिए प्रस्तुत है आपकी पसंद का ये गीत ।’ गीत बज्न लाग्यो । दीवाना मैं चला…।

यता रिताका आँसु बग्न लागे । पतिको आवाज सुनेर मन भारी भयो । आँसु नै आँसु भएको ओठले रेडियोलाई म्वाइँ खाई । पतिको यादले उसलाई बितेका दिनहरूको झझल्को आउन लाग्यो । पहिलो चोटि तेजबहादुरसँग भेटेको दिन पनि उसले सम्झिन लागी ।

०००

दाजुले रेडियो किनिदिएपछि रिताको घनिष्ठ मित्र रेडियो नै भयो । दिनरात रेडियो सुन्ने । घाँस काट्न जाँदा रेडियो डोकोमा हुने, गाईवस्तु हेर्न जाँदा हातमा, धान काट्न जाँदा आलीमा, मकै गोड्दा बारीमा । रेडियो उसलाई यति प्यारो भयो कि कक्षा दसमा पुग्दा त सबै साथीले ‘रेडियोरिता’ भन्न लागे । त्योभन्दा पनि उसलाई केही आपत्ति लागेन । गाउँभरि ‘रडियोरिता’ भनेर प्रसिद्ध पो हुन लागी रिता । आफ्नो गाउँ छोडेर पल्लो गाउँमा पनि ‘रेडियोरिता’ को नामले चिन्न लागी ।

पल्लो गाउँ तेजबहादुरको गाउँ । पल्टनबाट छुट्टी आएको थियो । उसले पनि ‘रेडियोरिता’ नाम सुन्दा भेटूँभेटूँ लाग्यो । रिताको गाउँमा कीर्तन कार्यक्रमको आयोजना भयो । तेजबहादुर कीर्तनमा साथी सुरेशसँग गयो । रिताबिना कीर्तन नै हुँदैन थियो । ऊ भजन गायनमा सिपालु । कीर्तन सुरु भयो । रिता भजन गाउन लागी । तेजबहादुरले पहिलो चोटि रितालाई देखेको थियो । गायनले त ऊ मक्ख पर्यो पर्‍यो, त्यो भन्दा बढी रिताको रूपमा तेजबहादुर लट्ठ पर्‍यो । रितालाई देखेर उसको साथीलाई नभनी बस्न सकेन ।

‘साथी, रेडियोरिता त मलाई मन परी त ।’

‘त्यसो भने तेरो कुरा चलाऊँ त रितासँग ?’ साथीले जवाफ दियो।

‘होइन, म आफैँ कुरा गर्छु ।’

कीर्तन सकियो । सबै निस्किन लागे । रिता र उसका साथी बाहिर निस्किँदै थिए । तेजबहादुर र साथी पनि पछिपछि गए ।

‘हेर न सीता, मेरो त हिजो घाँस काट्न जाँदा रेडियो लिएर गएकी थिएँ । रेडियो घाँसको भारीमा राखेकी थिएँ, कता खस्यो खस्यो, थाहा नै पाइनँ । घरमा पनि भनेकी छुइनँ ।’

‘एकै साल नभई रेडियो हराइस् । तेरो त सास नै अड्किने पर्‍यो अब ।’

‘रिता पख न ।’ तेजको साथी सुरेशले भन्यो ।

सुरेश र रिता पहिलेदेखि चिनजान थिए । सुरेशको मामला रिताको घर छेउमै हो ।

‘तेजलाई चिन्छेस् ?’

‘अहँ ! आज नै देखेको हो ।’

‘मेरो गाउँको साथी हो । जी.आर. मा जागिर गर्छ । भर्ती भएको दुई साल भयो ।’

रिताले तेजतिर हेरी । तेज पनि रूपमा कम थिएन । जिउ हृष्टपुस्ट, मुहारमा तेज झल्किन्थ्यो । कताकता रितालाई लाज लाग्यो । तेजले हात मिलाउन हात अघि बढायो । रिता अलमल्ल परी । उसलाई हात मिलाउन सरम लाग्यो ।

‘नमस्कार’ रिताले भनी ।

‘नमस्कार ! तिम्रोबारे धेरै सुनेको छु ।’ भन्दै तेजले हात पछि गर्यो।

‘के सुन्नुभयो र मेरोबारे ?’ रिताले उत्सुकतासँग सोधी ।

‘तिमी धेरै मिठो गाउँछ्यौ भनेर । अघि मिठो गाएको पनि सुनेँ । राम्री पनि धेरै ।’

गायनको प्रशंसाले उसको मुहारमा मुस्कान ल्यायो भने सुन्दरताको प्रशंसाले मुहार निलो बनाइदियो । धन्यवाद भन्ने औपचारिकता त गर्नु नै थियो उसलाई । गरी पनि ।

तीन दिनपछि रिताको जन्मदिन थियो । ‘रेडियो काकाको घरमा छोडेकी छु’ भन्दै घरमा टाह्रेको पनि बाह्र दिन बितिसक्यो । यही बाह्र दिनभित्र तीनचोटि तेजबहादुर उसलाई भेट्न आयो ।

जन्मदिनको दिन सुरेश बेलुकातिर रिताको गाउँ आउँछ । हातमा रेडियो थियो । घर तलतिर रितालाई बोलायो । ‘ह्याप्पी बर्थडे’ भनेर रेडियो हातमा राखिदियो । ‘यो ह्याप्पी बर्थडे शुभकामना अनि रेडियो दिने म हैन है, तेजबहादुर हो’ । रिताले केही भन्नुअघि नै सुरेश साइकलमा सवारी भएर चम्पट खोल्यो ।

रितालाई असहज लाग्यो । रेडियो देख्दा फेरि मोहिनी लागेझैँ भयो । फेरि बर्थडेको दिन गिफ्ट पनि थियो । तेजले मन पराउँछ भन्ने कुरा उसलाई थाहा पनि हुन लागेको थियो । उसले पनि मन नपराएकी त होइन । रेडियो लिएर घर आई । रेडियो कभरको भित्र केही भएजस्तो लाग्यो । कभर खोलेर हेरी । तेज बहादुरको पत्र थियो । लामो पत्रको अन्तमा ‘आई लभ यु’ लेखेको ।

०००

‘बुहारी भातको पानी उम्लियो त । कहाँ छेस् ?’ सासुको पुकारले रिता पतिको सम्झनाबाट फर्कंदै तेजले दिएको रेडियोलाई फेरि चुमी ।

मे, १९९९देखि कारगिल युद्ध सुरु भयो । तेजबहादुर गएको पनि बिस दिन नाघेछ । दिनै कार्गिलको समाचारले रिताको मन खिन्न हुन्छ । बिना आँसुमा कुनै रात कटेका छैनन् । पति सीमामा लडाइँमा थियो भने रिता घरमा पतिको सुस्वास्थ्यको प्रार्थना गरी भावनासँग लडिराखेकी छे । हृदयमा कति पीडा र विस्मय होला बिहे गरेको दुई दिनमा लोग्ने लडाइँमा गयो । जति बेला पनि उसैका सम्झनामा आँसु खसाइरहन्छे । बिहान बेलुका पतिको लामो उमेरका लागि कामना गर्छे । समाचार आउने समयमा रेडियो कानमा लिएर बस्न बिर्सिंदिन ।

आज बिहान पूजा, चौकापात, घरधन्दा सक्दा बाह्र बज्यो । आज उसलाई किन हो किन धेरै अतेर लागेको छ । बिहानदेखि अहिलेसम्म दसचोटि पतिको फोटो हेरिसकी । यादले धेरै सताएको छ । युद्धमा हुनाले न चिठ्ठी न फोन । कहाँ जाऊ ? के गरूँ ? जस्तो भएर उसलाई डाँको छोडेर रुन मन लाग्यो । पतिकै सोचमा डुबिरहेकी थिई, निद्रा लागेको थाहा नै पाइन । आँखा खोलिँदा ढाई बज्न लागेछ । आकाशवाणीबाट दिनको समाचार आउने समय । उठेर रेडियो अन गरी । आकाशवाणीबाट समाचार भन्न लाग्यो।

‘आकाशवाणी से प्रस्तुत है दोपहर समाचार । अब बिमलेन्दू पाण्डे से समाचार सुनिए । आज कारगिल युद्ध का सत्रहवां दिन है । भारतीय सैनिक अपनी बहादुरी के साथ दुश्मनों से लड़ाई कर रही है । पाकिस्तान सैनिक के ४२ जवानों की मरने की खबर सुत्रों से मिली है । हमारे भी कई सैनिक शहीद हो रहेँ है । कल ही गोरखा रेजिमेण्ट के जोहराट, असम कम्पनी-सी के राइफलमेन तेजबहादुर, सैनिक संख्या ७८९५ बहादुरी के साथ लड़ते लड़ते दस सैनिकों को मारकर शहीद हुए । प्रधानमन्त्री जी ने शहीदों के परिवार के प्रति अपनी गहरी संवेदनाएँ प्रकट की है…।’

यति मात्र के सुनी रिताको सास नै अड्कियो । आँखा पनि झिमिक्क गरेनन् । आँसु बरर खसे । रिँगटा चल्यो । रेडियो दुइटै हातले उठाई अनि बजारिने गरी फ्याँकिदिई । रेडियो दुई फग्ल्याँटा भए । तारले फग्ल्याँटा जोडेर राख्नचाहिँ सफल भयो । रिता ग्वाँग्वाँ गरेर रुन लागी । रेडियो पनि रितासँग स्वाँस्वाँ गरेर वेदना पोख्न रितालाई सघाउन थाल्यो ।