वरिपरि हरिया पहाड । बीचमा एउटा ठूलो र भिरालो चउर । त्यसै बीचमा रहेको एउटा विद्यालय । सोही विद्यालयमा पढ्ने साथीहरू हुन् अंकित, अंकिता, प्रतिमा र विनय । एउटै गाउँका साथी । एउटै कक्षामा प्रतिस्पर्धा गर्ने साथी । उनीहरू आज पनि विद्यालय जाँदै छन् । बाटामा कुराकानी गर्दै ।

“ओए ! अंकिता मलाई गणितको गृहकार्य देऊ है ? हिजो लेख्नै पाइन म त ।”

“अँ खूब होला नि कापी सार्नलाई, दिन्न म त आफैँ लेख ।” अंकिताले जवाफ दिई ।

“ह्या । देऊ न क्या, कस्तो हो र ? सारेको कहाँ थाहा हुन्छ र सरलाई । गणित हो गणित, भाषा भए पो मौलिकता थाहा हुने । यसको त उत्तर पनि एउटै त हो नि । बरु तिमीलाई ललिपप किनिदिउँला हुन्न ?” अंकितले नरम बोलीमा भन्यो ।

“कति किनिदिन्छौ  ?”

“जति हिसाब छ त्यति ।”

अंकिताले टाउको हल्लाएर हुन्छ भन्ने संकेत गरी ।

“तर विद्यालय गएपछि है ?” उसले केही आशा देखाएर बोली ।

अंकितका बुबा तराईमा शिक्षकका रुपमा कार्यरत छन् । पहिला पहाडमै खान्दानी साहुका घरमा जन्मे पनि उनी शिक्षकमा नाम निकालेर तराई पुगे । घरमा श्रीमती र छोरो मात्र थिए । कहिलेकाहीँ बिदामा घर आउँथे । आमाचाहिं एउटा सानो पसल गरेर बसेकी थिइन् ।

अंकिताका बुबाचाहिं गाउँमै खेती किसानी गर्छन् । उनले आफ्नो पुर्खाको पेसा धानेर बसेका छन् । अंकित शिक्षकको एक्लो छोरो । अंकिता किसानकी एक्ली छोरी । तर अंकिता अंकितभन्दा पढाइमा सक्षम विद्यार्थी हुन् । कक्षामा उनी प्रथम हुन्छिन् भने अंकित चाहिं औसत विद्यार्थी हो । दुवैजना विद्यालय जाँदा आउँदा सँगसँगै जान्छन् । उनीहरू निकै मिल्ने साथी हुन् । निकै अनुशासित र असल पनि ।

बाटोमा अंकित र अंकिता साथीसँग कुरा गर्दै गए । केही बेरमा विद्यालयमा पुगे । हत्त न पत्त अंकितले अंकिताको कापी लिएर लेख्न थाल्यो । एकछिनपछि प्रतिमा पनि कक्षामा प्रवेश गरी । अन्य साथीहरू पनि कक्षाकोठामा आइपुगे । प्रतिमाको नजर अंकितले लेखेको ठाउँमा पुग्यो । खूब मज्जाले लेखेको देखेर अंकित भएको ठाउँमा पुगी ।

“सरलाई भन्दिम् ? खूब कापी सारेको छस् ।” प्रतिमाले घुर्की लगाउँदै भनी । मानौं ऊ त्यो कक्षाकी सबै कुरा बताउने रिपोर्टर जस्ती ।

“भन्दे भन्दे । सिक्नलाई के हुन्छ त नजानेको कुरा । जान्नेसँग सिक्ने त हो नि ।” अंकितले निडरसाथ जवाफ दियो ।

“सुन् त तँलाई नि ललिपप दिन्छु सरलाई नभन् ल,” अंकितले आग्रहपूर्ण भावमा थप कुरा गर्‍यो ।

“भयो पर्दैन ललिपप सलिपप । बरु एउटा शर्त मान्छस् भने भन्दिन्नँ ।”

“के शर्त ?”

“मसँग पनि अंकितासँग जस्तै मीठो स्वरमा बोल् न । खालि झर्किन्छस् ।”

“ह्या यस्तो पनि शर्त । ल ठीक छ त्यसै गरुँला तर कापी सारेको सरलाई नभन् ल ।” अंकित केही आश्वासन दिंदै सहमति जनायो ।

अर्को उनीहरूको साथी थियो विनय । ऊ त्यही गाउँका धनी व्यापारीको छोरो थियो । उसले साथीहरूलाई कहिले बिस्कुट त कहिले चाउचाउ खाजा दिन्थ्यो । ऊ पढाइमा अलि कमजोर थियो । पढ्न लेख्न पनि साह्रै अल्छी । उसले साथीसँग भन्ने गर्थ्यो, हेर म त धनी बाउको एक्लो छोरो । मलाई बाउले टन्नै सम्पत्ति कमाइदिएका छन् । किन पढेर दुःख पाउने । आखिर त्यो सम्पत्तिको मालिक हुने म नै हो ।

उसले गृहकार्य गर्न पनि प्रतिमालाई लगाउँथ्यो । कहिले चाउचाउ त कहिले ललिपप दिएर फकाउँथ्यो । प्रतिमा सोझी तर इमानदार अनि सहयोगी साथी थिई । गाउँमा उसका बुबा लुगा सिलाउँथे । आमा घरको काम गर्थिन् ।

० ० ० ०

समय बित्दै गयो । विद्यालयमा पढाइ राम्रै थियो ।

अंकिताले भने पढ्न जानुअघि र विद्यालयबाट फर्केपछि बुबाआमालाई काममा सघाउने गर्थी । अंकिता सधैं प्रथम नै भइरही । अंकित भने खस्कँदै गयो । अंकितको पढाइ चित्त नबुझेर उसका बुबाले उसलाई शहर लैजाने निर्णय गरे ।

विद्यालयबाट फर्कने बेलामा अंकितले अंकितालाई आफूलाई बुबाले शहर लैजाने कुरा बतायो ।

“हेर न मलाई बुबाले शहर लैजाने रे । मलाई फिटिक्कै जान मन छैन ।”

अंकितको भनाइले अंकिता झस्किई ।

“किन ? किन र ?”

“यहाँ मेरो पढाइ राम्रो भएन रे । रेखदेख पुगेन रे । अनि बुबाको जागीर पनि सरुवा नहुने भयो । त्यसैले हामी बसाइँ सर्न लागेको ।”

अंकितको जवाफले अंकिता एकछिन मौन भई । आफ्नो सबैभन्दा असल साथी । त्यो पनि जाने भनेपछि अंकिता मलिन अनुहार लगाई । केहीबेर मौन बसेपछि अंकिताले भनी, “अंकित यो माटोले हामीलाई जान्ने बुझ्ने बनायो, हुर्कायो, बढायो । यही माटो छोडेर जानु ठीक होला र ?”

अंकितले उत्तर दिन नभ्याउँदै अंकिताले आफ्नो विचार राखी, “ठीक छ आफ्नो पढाइको लागि जान त जाऊ, तर कुनै दिन ठूलो मान्छे बनेर यो गाउँको सेवा गर्न आउन नभुल है ।”

अंकिताको कुरामा अंकितले पनि समर्थन जनायो । दुवै जना केहीबेरमा छुट्टिए ।

अंकितका सपरिवार बसाइँ सरेर तराई झरे । पहाडको चिसोमा बसेको अंकितलाई शुरूशुरूमा निकै गर्मी भएकाले गाह्रो भयो तर पछि बानी पर्दै गयो ।

यता प्रतिमाले पढाइ खर्च जुटाउन नसकेर पढ्न छोडी । उसले बुबासँगै सिलाइ-कटाइ गर्न थाली र बुबालाई सघाउन थाली । विनयले पनि राम्रो पढ्न नसकेर एसईईपछि पढाइलाई रोक्यो । उसले बुबाको व्यापार व्यवसायमा सघाउन थाल्यो ।

० ० ० ०

करिब ४ वर्षपछि,

प्रतिमाले सिलाइ-कटाइमै आफ्नो व्यवसाय शुरू गरी । बुबाआमा बूढा हुँदै गए । उनीहरूको रेखदेख गर्न थाली । विनयका बुबाले पनि संसार छोडेर गए । भएको व्यवसाय पनि कोरोनाले घट्दै गयो । आफूलाई जिम्मेवारी थपिंदै गएपछि उसलाई गाह्रो हुँदै गयो ।

अंकितले शहरमा पुगेपछि बुबाको निगरानीमा पढाइ सुधार्दै गयो । एसईईको नतीजामा पनि राम्रै अंक ल्यायो । त्यसपछि एघार बाह्र पनि राम्रै नतीजाका साथ उत्तीर्ण भयो । उता अंकिता पनि राम्रो नतीजाका साथ बाह्र कक्षा उत्तीर्ण भई । जिल्लामै अब्बल नतीजा ल्याएकाले उसलाई क्याम्पसमा छात्रवृत्ति पनि मिल्यो तर घरको रेखदेख गर्न भन्दै उसले शहर जान मानिन । गाउँकै क्याम्पसमा पढी र बी एस्सी उत्तीर्ण गरी ।

अंकितका बुबा आफू सरकारी जागीरे भएकाले छोरोलाई पनि सरकारी जागीरे बनाउने सोच बनाएका थिए । त्यसैले अंकितलाई केही समय तयारीका लागि काठमाडौँ पठाए । उसले तयारी गर्दै गयो । एक वर्षपछि उसले प्रशासनतर्फ नायब सुब्बामा नाम निकाल्यो । त्यसपछि ऊ आफ्नो घरकै गाउँपालिका कार्यालयमा सिफारिश भयो ।

उता अंकिता पनि मेहनत साथ तयारी गरेर अधिकृतमा नाम निकाली । एकैपटकमा नाम निकालेर सरकारी जागिरे भएको देखेर परिवारमा खुशीको सीमा नै रहेन । गाउँका अन्य मानिसले पनि उनको उदाहरण दिन थाले । छोरी होस् त फलानाकी जस्ती । संयोगवश उसको पनि सिफारिश आफ्नै गाउँको गाउँपालिकाको कार्यालयमा हुन पुग्यो ।

एक दिन शनिवार अंकित पनि साथीहरूसँग घुम्न सुपादेउराली गयो । गर्मीमा पहाडको हावा पनि खाइने, भाकल गरेअनुसार दर्शन पनि गर्न पाइने । साथीहरूसँग उसले पहिला सुपादेउराली मन्दिर दर्शन गर्‍यो । केहीबेरपछि सबैजना लाहुरे टाँसिएको भीरमा पुगेर फोटो खिचे । एकछिनमा लाहुरे बजार पुगेर खाजा खाए । केहीबेर आराम गरेपछि सुपादेउराली पुलतर्फ लागे ।

अग्ला अग्ला दुई पहाड, पहाडलाई जोडेको अग्लो डरलाग्दो पुल, पुलबाट देखिने मनोरम दृश्य । अझ त्यहाँबाट देखिने सुन्दर सुपादेउराली मन्दिर । त्यो दृश्य निकै लोभलाग्दो थियो । त्यही दृश्य अवलोकन गर्दै अंकित पुल पारितिर लाग्यो ।

त्यत्तिकैमा एउटा परिचित अनुहार उसका साथीहरूसँग पुलमा तस्वीर खिचाउँदै गरेको अंकितले देख्यो । कालो लामो कपाल भएकी, सलक्क परेको जीउ, बाटुलो गहुँगोरो अनुहार, मधुर बोली, भएकी एउटी केटी । दुवैको आँखा जुध्यो ।

दुवैजना आफ्ना साथीहरूसँग थिए । धेरैमा देखेर दुवैले एक अर्कालाई चिनेनन् । हो कि हो कि मात्रै भयो । केहीबेरमा उनीहरू पुलको पारि पुगे ।

अंकित डराई डराई पुलमा हिंडेको देखेर एकजना साथीले भन्यो, “के तराईको मान्छे जस्तो डराएको पहाड देखेर । तँ त यही जन्मिएको होइनस् र अंकित ?” साथीको कुरा अंकिताले सुनी । उसको मनमा पुरानै साथी अंकितको झल्को आयो ।

अनि त्यही साथी त कतै होइन भन्ने लागेर उसले सोधी, “हजुर अंकित हो ?”

“हो,” उसले जवाफ दियो ।

“हजुर पहाडबाट बसाइँ सरेर तराई जानुभएको होइन ?”

“हो ।” अंकितले जवाफ दियो ।

“अनि हजुरले पहाडमा कतिसम्म पढ्नुभयो रे ?”

“७ कक्षासम्म ।” उसले जवाफ दियो ।

“कुन विद्यालय ?” अंकिताले सोधी, “त्यही क्या, चउरको विद्यालय ?”

“हो..,”

“म अंकिता चिन्नुभो । त्यही पढेकी ।”

अंकिता कल्पनामा हराई । त्यो पुलले पनि दुई पहाड जोडेको ठानी । दुई पहाडलाई पुलले जोडेजस्तै प्रेमले मन जोडेको सम्झी । पुलको पर्खालमा पनि अंकितसँग नाम जोडेर आफ्नो नाम लेखेको जस्तो देखी ।

अंकित र अंकिताको धेरैबेर मीठामीठा कुराकानी गरे । मोबाइल नम्बर साटासाट गरे ।

घाम डाँडामाथि पुगिसकेको थियो । साँझ घर फर्किनको लागि उनीहरू त्यहाँबाट छुट्टिए ।

त्यसदिनदेखि उनीहरूको फोनमा कुराकानी हुन थाल्यो । फेसबूक मेसेन्जरमा पनि समय मिलाएर कुरा गर्न थाले । एउटाको सुखदुख अर्कालाई साट्ने बानी परिसकेको थियो । उनीहरू एकअर्कामा टाढिन नसक्ने भइसकेका थिए । समयको खेल वा उमेरको । एकअर्काबीचको आकर्षण बढ्दै गयो चुम्बकले फलाम तानेझैँ ।

एकवर्ष जति उनीहरूको प्रेम कहानी चल्यो । अंकिताका बुबा वृद्ध हुँदै गए । उनले पनि आफ्नी छोरीलाई कन्यादान दिन पाए राम्रो हुने सोचेर अंकितालाई बिहे गरिदिने कुरा राखे, “अंकिता अब त तिमी ठूली भयौ, जागीरे पनि भयौ । म पनि बूढो भएँ । अब तिम्रो कन्यादान गरेर मर्ने इच्छा छ । के छ विचार ?”

अंकिताले केही लजाए जस्तो गरी, “ठीकै छ बुबा, त्यसको बारेमा मैले पनि सोचेकी छु ।”

“कोही त्यस्तो आफै रोजेको छ कि खोज्नुपर्ने हो ?” अंकितालाई बुबाले सोधे ।

केही अप्ठ्यारो मानेजस्तो गरेर अंकिताले जवाफ दिई, “त्यही क्या सरको छोरा, उहाँले पनि नासुमा नाम निकाल्नुभएछ । पेसा पनि मिल्ने । हाम्रो त कुराकानी भइसकेको छ ।”

“हँ के भन्छौ छोरी, हामी गाउँमै बसे हुर्केका मान्छे, खेती किसानी त्यसैमा पनि, उनीहरू त मास्टर, गाउँ छोडेर शहर पसेका । उनीहरूले हामीलाई गन्दैनन् छोरी । यो अलि असम्भव होला ।”

बुबाको कुराले अंकिता झन् साहस लिएर भनी, “उनीहरू शहर पसेर के भो र ? आखिर म पनि त सफल भएकै छु नि किसानकी छोरी भए पनि । के कमी छ र हामीमा ?”

“ठीकै छ छोरी एकपटक कुरा गर ।”

अंकिताले एकदिन अंकितलाई सुपादेउराली पुलमा भेट्न बोलाई । अंकित पनि अफिस बिदाको दिन पारेर सुपादेउराली आयो । उसले अंकितलाई आफ्नो विवाहको बारेमा सोधी ।

अंकितले भने विवाहपछि तराई झर्नुपर्ने प्रस्ताव राख्यो, तर अंकिताले त्यसमा असहमति जनाउँदै भनी, “मलाई मेरै माटोले अधिकृत बनायो भने म यही माटोमा मलजल नगरेर अन्त गएँ भने यही माटोले सराप्छ अंकित, यी वनपाखाले धिक्कार्छन्, त्यो खोल्साको कुवाले थुक्छ । अनि मेरा वृद्ध बाआमाको सहारा बनेकी म उहाँहरूलाई छोडेर कसरी सहर जाऊँ ? त्यसैले म शहर जान्नँ मिल्छ भने तिमी यतै आऊ । तिमीलाई पनि त हुर्काएको माटो यही हो, तिमीलाई सास दिने वन यहीको हो, तिमीलाई टेकाउने धरती यही हो । त्यसैले हामीले यही माटोमै सेवा गर्नुपर्छ, यही फेरि नयाँ पुस्ता जन्माउनुपर्छ, जो सुविधाका नाममा शहर नजाऊन्, देशलाई गाली गर्दै विदेश नजाऊन् । ”

अंकिताको कुराले अंकितको पनि घैंटोमा घाम लाग्यो र अंकित उनको कुरामा सहमत भयो ।

अंकितको बुबाको सेवा अवधि पनि सकिएर अवकाश लिए । अंकितको जागीर पनि पुरानै गाउँ, आफ्नै जन्मस्थान पहाडमै सरुवा भयो । अंकितका बुवा आफ्नो सेवा निवृत्त जीवन गाउँमै बिताउने निर्णय गरेर फेरि गाउँ फर्किए । अंकित र अंकिताको बिहे धूमधामसँग भयो ।