
विराटनगर, एपेक्स अस्पतालको आईसियू नं ५६४ । मदनका बाको पेटको शल्यक्रिया भएको थियो । दुई सातामा उनी अस्पतालबाट ‘डिस्चार्ज’ भए । परिवारमा ओइलाइसकेको खुशी फेरि पलाउँदै गयो । मदनले केही दिन बालाई आफ्नो डेरामा राख्यो । बुढा बा बिस्तारै तङ्ग्रिँदै थिए । आमाले घर फर्किने कुरा गर्न थालिन् । पहिला त बा बोलेका थिएनन् । पछि उनले पनि घर फर्कने नै मन गरे ।
मदन नेपाल प्रहरीको ‘प्रहरी जवान’थियो । बाकै उपचारको क्रममा छुट्टी सकिइसकेको थियो । थप छुट्टी मिलाउन सजिलो पनि थिएन । जसोतसो उसले दुई दिनको छोटो छुट्टी मिलायो । बा-आमालाई लिएर घर सङ्खुवासभा गयो । समयको चर्को दबाब थियो । त्यो निर्मम दौडधूपमा उसले आफू जन्मेको आँगन, बालापन बितेको गाउँघर र किशोरवय फुलेको रनवनमा रमाउन पाएन । त्यही ठाउँमा बसेर आफ्ना अनगन्ती सम्झनाहरूलाई स्पर्श गर्न पनि पाएन ।
भोलिपल्ट विराटननगर फर्किने वेला भइसकेको थियो । बा अझै पनि कमजोर नै थिए । आमा स्वयम् जीवनको अन्तिम सँघारतिर थिइन् । उनीहरूलाई बेसहारा छोडेर हिंड्न त मन मानेको थिएन । तर,परिस्थितिले गर्दा फर्किनै पर्ने थियो । उसले लाचार नजरले आमातिर हेर्यो । आमाका आँखाहरू रसिला थिए । तर, उनी शान्त र अविचलित नै देखिन्थिन् । बिदा गर्नु अघि उनले सहज भावले भनिन्-
“बुढेसकालको छोरो ! नहुर्काइ मरिएला जस्तो लाग्थ्यो । सरकारी जागीर खाइस् । त्यत्रो खर्च लाएर बालाई बँचाइस् । हामीलाई त ऐश्वर्य जिते जस्तो भ’को छ बाबु ! … तर, देशको सिन्दूर लगाएपछि बाउआमा मात्रै भनेर बस्न पाइँदैन त ! जा, आफ्नो काम गर् । हामी आफ्नै घर आइपुगेका छौं । अहिलेसम्म हातगोडा पनि चल्दै छन् । गाउँ-समाज पनि छ । हाम्रो चिन्ता धेरै नगरेस् ।”
आमा आफैं मक्किइसकेकी थिइन् । त्यसमाथि बाको जिजीविषाको भारीले पनि उनलाई कचक्कै किचेको थियो । यसका बावजूद उनी जुन संयम र आँटका साथ बोल्दै थिइन्, त्यो अविश्वसनीय थियो । ऊ आश्चर्यचकित भयो । आफैंलाई सोध्यो, ‘यो उमेरमा पनि कहाँबाट आउँछ त्यत्रो साहस ? आफ्नो दुरूह आगतको किन चिन्ता लाग्दैन उनलाई ? आखिर केले बनेको हुन्छ आमाको मुटु ?’
मदनले एकछिन गम्यो र अनुभूत गर्यो , त्यो आमा बोलेकी होइनन्, उनको चरम स्नेह बोलेको हो । यस्तो मातृस्नेह, जसमा आफ्नो पर्वाह थिएन, केवल छोराको सुखद जीवनको कामना मात्रै थियो- ऊ भावोत्कर्षमा पुग्यो । मनमनै भन्यो, ‘आमा नै त हुन् नि ईश्वर पनि !’ चिन्तित नजरले बालाई हेर्यो । बाका वृद्ध आँखाहरू जलमग्न थिए । उनी बोल्न सकेनन् । शायद सोच्दै थिए होलन् ‘अर्को पटक तँलाई भेट्न दिनसम्म बाँचौंला र म ?’
उसले भावविह्वल भएर शिर झुकायो । बाले हात कमाउँदै टाउकोमा राखिदिए । त्यसपछि आफ्नो झोला बोक्यो र आमा तिर हेरेर भन्यो,”बाको मोबाइलमा मेरो नम्बर छँदैछ, केही पर्यो भने फोन गर्नू, म तुरुन्तै आउँछु ।”
अरू बोल्न सकेन । फरक्क फर्केर हिंड्यो । मौसम बिहानैदेखि उदेकलाग्दो थियो । छिनमा कुहिरोले ढाक्थ्यो, छिनमा छ्याङ्ग हुन्थ्यो । उसको मनोदशा पनि त्यस्तै थियो । मस्तिष्कले भन्थ्यो- विराटनगर जाऊँ । मनले भन्थ्यो- बाबुआमासँगै बसौं । आखिर परिस्थतिका सामु मनको के लाग्थ्यो र ! ऊ बाआमालाई छोडेर हिंड्यो । निकै पर पुगेर फर्केर हेर्यो । आमा पर्खालको डील बसेर हेर्दै थिइन् । त्यो देखेर मुटुमा गाँठो पर्यो । लामो सुस्केरा लिँदै अगाडि बढ्दै गयो ।
उसको गाउँ सङ्खुवासभाको ताम्कु भन्ने ठाउँमा थियो । त्यहाँबाट खाँदबारी जाने जीपमा चढ्यो । जीपले सङ्खुवा खोला, तमोर नदी पार गरेर भोजपुरको बुमलिङ हुँदै करीब तीन घण्टामा खाँदबारी पुर्यायो । त्यहाँबाट ऊ विराटनगर जाने टाटा सुमोमा चढ्यो । एकैछिनमा टाटासुमो खाँदबारीबाट पनि हिंड्यो । कुहिरोले ढपक्क ढाकेको थियो । आफू जन्मे-हुर्केका डाँडापाखाहरूलाई आँखाले स्पर्श गर्दै जाने मनको रहर पूरा भएन । बाटोमा कैयौँ कहाली लाग्ने भीरहरू आए । साँघुरा घुम्तीहरू पनि आए । तर, उसलाई तिनको पनि पर्बाह भएन । ऊ आफ्नै जीवनका दारुण स्मृतिहरूमा हराउँदै गयो ।
सम्झिंदै गयो- बाह्र वर्षअघि विराटनगरमा प्रहरीको भर्ना खुलेको थियो । बालाई ज्याला मजदूरीबाहेक केही पनि थाहा थिएन । आमाको त झन् कुरै भएन । ऊ आफैंले खोजीनिती गर्यो । यसै क्रममा दलालहरू पनि भेटिए । उनीहरूले जागीर लगाइदिने आश्वासन पनि दिए । ऊ विश्वासमा पर्यो । आमाको कानको माडवारी बेच्यो । आएको पैसा दलाललाई बुझायो । परीक्षा विराटनगरमा हुन्थ्यो । हप्तादिन जति त्यहीँ बस्नुपर्थ्यो । खानेबस्ने खर्च थिएन । आमाले घरको एउटा बाख्रो बेचिन् । त्यही पैसा लिएर ऊ भर्ना हुन गयो । यात्राभरि ती निर्मम सम्झनाहरू आँखामा उर्लिरहे । ऊ त्यसैमा बग्दै गयो ।
बाले सधैं लगाउने घुँडामा टालेको सुरुवाल,आमाको पातो फाटेको चोलो र कोखा चर्कने गरी भात खाने तिर्सनामा बितेका आफ्ना दयनीय दिनहरूका सम्झनाले पनि नमीठो पीडा दिए । गाडी लेखुवा, धनकुटा हिले, भेडेटार, धरान हुँदै विराटनगर पुग्यो । रात निकै छिप्पिइसकेको थियो । त्यसैले जुठो मुख गरेर सुतिहाल्यो ।
भोलिपल्टको शारदीय बिहानी ! धर्तीमा उज्यालो पोखिंदै थियो । मदनकी जीवनसँगिनी माया ओछ्यानमै थिइन् । उसले उठेर नित्यकर्म सक्यो । युनिफर्मको ज्याकेट लगायो । हातमा पन्जा उन्दै कोठाबाट बाहिर निस्कयो । तर, मोटरसाइकलले साथ दिएन । निकै प्रयास गर्दा पनि स्टार्टै भएन । बाध्य भएर सुतिरहेकी श्रीमतीलाई बोलायो । उनी आएर धकेलेपछि बल्ल स्टार्ट भयो । सन्तोषको श्वास लिन नपाउँदै मायाले अर्को समस्या पनि देखाइन्-
“यो खटारोले पनि दिनुसम्म दुःख दियो ! चिन्ता पनि कति थरी मात्रै हो के ? … अँ, हिजो दिएको पैसा सक्यो नि, … घरभाडा तिरें, एक बोरा चामल, अलिकति आलु र दाल किनेर ल्याएँ… अब दुईचार सय मात्रै बाँकी होला । पर्सिदेखि छोरीको जाँच छ, महिना फी नतिरी स्कूलले प्रवेशपत्र दिंदैन, भरे दश हजार जति खोजेर ल्याउनु नि !’
बाक्लो कुहिरो लागेको थियो । बाटो राम्रोसँग देखिंदैनथ्यो । त्यसमाथि मायाको ‘फर्मान’ले आँखा पनि तिरिमिरी भयो । साथी रातको डिउटीमा थियो । उसले बिहान बदली गर्न पुग्नैपर्थ्यो । उमङ्गहीन भएर अघि बढ्दै गयो । दिमाग खलबलिइसकेको थियो । मनमनै आफैंसँग दुखेसो पोख्यो, “तलब बुझेको दशै दिनमा फेरि अर्को दश हजार कताबाट खोजूँ ?’
आफ्नो जागीर र आवश्यकताको बीचको सधैंको विरोधाभास देखेर खिन्न भयो । र, दुःखद भावमा बडबडायो, “नाथे पुलिसको जागीर पनि जागीर हो ? घाम-पानी केही नभनी रातोदिन डिउटी गर्यो, गाली र तिरस्कार सह्यो । उस्तै परे ढुङ्गामुढा खायो । तापनि न ढुक्कले खान पुग्छ, न त रहर लागेको लाउन पुग्छ । बाबुआमा बिरामी पर्दा केले उपचार गर्ने ? छोराछोरीको पढाइखर्च कहाँबाट ल्याउने ? श्रीमतीका रहर के भनेर टार्ने ? आफ्ना व्यक्तिगत खर्च कसरी धान्ने ? यसरी बाँच्नु पनि बाँच्नु हो र ?’
सीमाहीन निराशा लिएर अफिस पुग्यो । साथीसँग डिउटी बुझ्यो । उसले पैसा दिन सक्ला भन्ने विश्वास त थिएन तापनि एउटा मसिनो आशा पलाएको थियो । कतै गर्जो टरी पो हाल्ला कि सोचेर याचना गर्यो, “छोरीको स्कूल फी तिर्न सकिएन । जाँच दिनै नपाउने भई ! अलिकति पैसा सापटी चाहिएको थियो । तँसँग छ त ?”
साथीले उसको भन्दा पनि कारुणिक व्यथा सुनायो, “हामी निम्न स्तरका प्रहरीहरू यस्तै नियतिले बाँच्न अभिशप्त हुन्छौं । म आफैंले तीन महिनादेखि घरभाडा तिर्न सकेको छैन ! तँलाई कताबाट सापटी दिऊँ, भन् त ?”
मदन नाजवाफ भयो । हिउँदको पारिलो दिन थियो । तर, उसको अङ्गमा घाम लागेन । पैसाकै लागि दिनभरि छटपटिरह्यो । हाकिमलाई त उसले भन्न सकेन । तर, लेखापालसँग याचना गरेको थियो । उसले पत्याएन । अन्त्यमा चमेनागृहमा गयो । साथीभाइहरूको अनुहार हेर्दै बस्यो । सापटी दिनसक्ने त्यहाँ कोही पनि देखेन । भारी मन लिएर घर फर्कियो । मोटरसाइकलको आवाज सुन्नासाथ छोरी दगुर्दै बाहिर आई र उत्साहित हुँदै भनी, “बाबा ! पर्सिदेखि फाइनल एक्जाम छ । लास्ट इयर सेकेन्ड भएकी थिएँ, यसपालि त म फस्टै हुन्छु ।”
छोरीको हौसला देखेर ऊ उल्टो निराश भयो । तैपनि एउटा भावहीन हाँसो हाँस्यो । छोरी एकैछिनमा ओइल्याई । ऊ गहिरो उदासी बोकेर कोठाभित्र पस्यो । मुना भान्साको तरखर गर्दै थिइन् । ऊ ओछ्यानमा गएर पल्टियो । उद्विग्न मनले वरिपरि नजर फिँजाउँदै गयो ।
डेराको नाममा एउटै मात्र कोठा थियो । एकापट्टि कुनामा बूढाबूढी सुत्ने खाट थियो । अर्कोपट्टि ग्याँस चूह्लो थियो । बीचमा फोहोर पानी जम्मा गर्ने प्लास्टिकको बाटा थियो । त्यसैको छेवैमा छोरीको ओछ्यान । छोरी बाबुआमासँग सुत्न असजिलो मान्न थालेकी थिई । त्यसैले उसलाई छुट्टै सुत्ने व्यवस्था मिलाइएको थियो । तैपनि ऊ वेला वेलामा सोध्ने गर्थी, “अर्को कोठा लिने भनेको होइन ? कहिले लिने बाबा ?”
ऊ नाजवाफ हुन्थ्यो । लाचार नजरले मायालाई हेर्थ्यो । माया अमिलो निचोरे जस्तो हुन्थी र छोरीको सातो जाने गरी गाली गर्थी, “उम्रिंदै तीन पात ! नाकको सिँगान पुस्न सक्दिन । अहिले नै यसलाई छुट्टै कोठा चाहियो ।”
छोरी बरबरी आँसु झार्थी । गाली गरिसकेपछि माया पनि रुन्थी । ऊ आफ्नो निरीहता देखेर मर्माहत हुन्थ्यो । सोच्थ्यो, सिपाहीको तलब ! कता टाल्नु कता पुर्याउनु ! उनीहरूले हुर्किंदो उमेरकी छोरीको अप्ठ्यारो नबुझेका होइनन् । तर, समाधान गर्ने औकात नभएपछि बुझेर मात्रै पनि के हुँदो रहेछ र ! मनै मरेर आउँथ्यो । कति रात झिमिक्कै नगरीकन बिताउँथ्यो ।
सधैंझैं त्यस रात पनि माया छोरी निदाएपछि ओछ्यानमा आई । शरीर हिउँ जस्तो चिसो थियो । एकछिन गुँडुल्को परेर सुती । ज्यान तातेपछि बिस्तारै सोधी, “पैसाको बन्दोबस्त गर्नुभयो त ?”
लाचार भएर उसले भन्यो, “धेरै प्रयास गरें तर सकिनँ, माया !”
माया निःशब्द भई । सन्नाटा छायो । केहीबेर पछि उसले मायालाई आश्वस्त पार्दै भन्यो, “सञ्चयकोशको पैसा बाको उपचार गर्दा सकिहाल्यो । अब नागरिक लगानी कोशमा अलिकति होला । त्यही झिकेर तिर्छु । किन चिन्ता गर्छेस् तँ ?”
मायाको वक फुटेन । भित्तापट्टि फर्किई । शायद रुँदै थिई ऊ । मन त उसको पनि ठाउँमा थिएन । तर, छोरा मान्छे ऊ ! त्यसमाथि घरमूली ! उसलाई विचलित हुने छूट थिएन । पीडाले अरल्लिँदै चूपचाप बस्यो । केही बेरपछि मायाले व्यथित भावले भनिन्, “मेरो पाँच महिना लागेको छ । घरमै जन्मे त हो । अस्पताल जानुपर्ने भयो भने ? नागरिक लगानी कोश पनि मासेपछि त केले… ?”
मदन स्तब्ध भयो । निःसहाय महसूस गर्यो । फेरि अर्को मौनता छायो । केही भारी पलहरू त्यतिकै बिते । पछि अपेक्षा विपरीत मायाले आफैले समस्याको समाधान निकाल्दै भनी, “हाम्रो दाम्पत्यको चिनो यो मङ्गलसूत्र, सधैं छातीमै टाँसी राखौंला भन्थें, सकिएन । अहिले यही बन्धकी राखौं । पछि निखनौंला बरु ।”
मायाको कुरा मदनको मुटुमै बिझ्यो । लाचार लोग्ने हुनुको हीनताभासले मरेतुल्य भयो । तर, जस्तो भए पनि नियतिको सामना नगरी सुख थिएन । भोलिपल्ट मङ्गलसूत्र लगेर बन्धकी राख्यो । छोरीको स्कूल फी तिर्यो । दिनहरू बित्दै गए । मुना घरमै सुत्केरी भई । सुन्दर छोरो जन्मियो । जीवनले थोरै भए पनि लय समायो ।
* * * *
सुख त भाग्यमै थिएन । दिनहरू दुःखमै बितिरहेका थिए । बा फेरि बिरामी भए । फेरि शहरमा ल्याएर उपचार गर्यो । महँगा महँगा चेकजाँचहरू भए । उनलाई क्यान्सर भई सकेको रहेछ । डाक्टरले किमोथेरापी सुरु गरे । तर ,दुःखको कुरा ! चौथो पटकको किमो शिथिल शरिरले धान्न सकेनन् । बाँच्ने अनन्त अभिलाषा लिएरै उनी मरे । पहिलो पटकको शल्यक्रिया नै राम्रो ठाउँमा लगेर गर्न सकेको भए क्यान्सरै पो हुँदैनथ्यो कि भन्ने गहिरो पछुताभास गराएर गए ।
उपचारकाक्रममा क्यान्सर पीडितहरुलाई दिइने सरकारी अनुदान, आफ्नो नागरिक लगानी कोशको रकम, आफन्तहरूको सापटीले मात्रै पुगेन, मदनले अफिसबाट सहुलियत कर्जा पनि लियो । तलब पनि ऋणको किस्ताकट्टी भएर आउन थाल्यो । उता बा बितेपछि आमा पनि गल्दै गइन् । वेला-वेलामा उनलाई अस्पताल लानुपर्ने भयो । छोराछोरीको पढाइ खर्च पनि धानिनसक्नु हुँदै गयो । यसरी जीवन एउटा लड्न नसकिने युद्धजत्तिकै भयो ।
एक दिन सीमातीत निराशाका साथ उसले मायालाई भन्यो, “यसरी भएन माया ! अब ताम्कुको भीरमा खेती गरेर बसौं भने गुजारै चल्दैन, बेचौं भने कौडीको भाउमा पनि बिक्दैन ! बरु म यो जागीर छोड्छु । उपदानको पैसा निकालेर सबैको ऋण तिर्छु । मुखमा माड नलाग्ने भएपछि यो जागीरमा कति दिन झुन्डिएर बस्नु ? खाडीतिर नगई अब बाँच्ने सकिन्न जस्तो छ माया !”
माया निकैबेरसम्म बोलिन । पछि गला अवरुद्ध पार्दै भनी, “दुइटा लालाबाला छन्, बुढी आमा छिन् । कि सबैले एकैपटक विष खाएर मर्नुपर्यो, होइन भने जहाँ गएर भए पनि बाँच्नेसम्मको उपाय त खोज्नैपर्यो नि !”
भोलिपल्टै मदनले राजीनामा दियो । त्यससँगै दशकदेखिको उसको जीवनको लय टुट्यो । जिन्दगीको एउटा सुखद सपना नमीठो विपनामा पुगेर टुङ्गियो । ऊ भावाकुल भएर डेरातिर फर्किंदै थियो । इटहटरी चोकमा उसले आफनै गाउँका वडाध्यक्ष ग्याल्जेन लिम्बूलाई भेट्यो । गहभरि आँसु पारेर उनलाई आफूले राजीनामा दिएको कुरा सुनायो । उनले दुःखद आश्चर्यका साथ सोधे, “लौ ! किन त कान्छा ? अलि वर्ष दुःख गरेको भए पेन्सन हुन्थ्यो । बाँचुन्जेल खान त पाइन्थ्यो ।”
असीम पीडा भावकासाथ उसले भन्दै गयो, “गरें नि दाजु, बाह्र वर्ष दुःख गरें । तर , समयसँगै एउटा जीवनमा अरू जीवनहरू पनि जोडिँदै जाँदा रहेछन् । आफू त जे गरूँला, गरूँला तर तिनलाई कसरी भोकै मार्नु ? अर्को आठ वर्षपछि पेन्सन आउँछ, त्यतिन्जेल कसरी बाँच्नु ?”
अत्यन्त भावुक भएर उसले दुःख पोख्दै गयो, “मेरा पनि त सपना थिए नि । तर, हाम्रा सपना त विपना हुनै नपाउँदा रहेछन् दाजु ! केही टाढाबाठा हाकिमहरू, नेताका हुक्के, चम्चेहरू अनि आफू पनि पैसा खाने र अरूलाई पनि खुवाउन पनि सक्नेको कुरा बेग्लै हो । नत्र, अधिकांश निमुखा प्रहरीहरूका पीडा मेराभन्दा पनि कारुणिक छन् ! तर, कसले बुझिदिन्छ र हाम्रा दुःख दाजु !”
ग्याल्जेन स्तब्ध भए । भेटघाट दुःखद भएर टुङ्गियो । उनी सङ्खुवासभातिर लागे भने मदन आफ्नो डेरातिर ।
सात दिनपछि उसको राजीनामा स्वीकृत भयो । त्यसपछि उसले उपदानको पैसा निकाल्यो । सबैको ऋण तिर्यो । म्यानपावर कम्पनीलाई पनि पैसा बुझायो । हिंड्ने अघिल्लो दिन श्रीमती, छोरा-छोरी लिएर ऊ भाटभटेनी सुपर मार्केट गयो । जागीर छउन्जेल नआएको आँट जागीर छोडेपछि आयो । छोरी बुझ्ने भइसकेकी थिई । केही पनि किन्न मानिन । छोरो सानो थियो । उसलाई हवाईजहाज किनिदियो । मायाले आमाका लागि एउटा न्यानो स्वेटर छानी । एकछिन यताउता भुले । साँझपख अबेर घर फर्के ।
बेलुका खाना खाने समय थियो । सबै जना वरिपरि बसेर खाँदै थिए । उसले आमाले खाँदै गरेको हेर्यो । उनको चेतना क्रमशः हराउँदै गएको थियो । उनी फेरी बच्चाजस्तै हुँदै गइरहेकी थिइन् । पहिलेजस्तै घुर्की लगाउँदै उनले त्यतिवेला पनि भनिन्, “अर्को हप्ता त मलाई ताम्कु पुर्याइदे है मदन । बस्न सक्दिनँ म यहाँ । उतै बाख्रापाठा पाल्छु, देउरानीहरूले खाना खुवाइहाल्छन् । म उतै बस्छु ।”
“कठै मेरी आमा !” आमाका ती असङ्गत कुरा सुनेर ऊ सिताङ्ग भयो ! आमाकै बारेमा मनमा कुरा खेलाउँदै गयो । हरेक दिन उनी छोरासामु रुन्थिन् । एकोहोरो बोल्थिन् । कति कुरा होसहवासका हुन्थे, कति बेहोसीका । ऊ धैर्यतापूर्वक सुन्थ्यो । वेला वेलामा सही थापिदिन्थे । उनी फुरुङ्ग पर्थिन् । डाक्टरले पनि उनलाई पीडा हुने कुरा नगर्नू भन्थे । त्यसैले उसले आफू भलिपल्टै परदेश जाने कुरा समेत बताएको थिएन । त्यही कुरा मनमा आयो । कतै गम्भीर गल्ती त गरिएन भन्ने लाग्यो । त्यही कुराले बेचैनी बढ्दै गयो ।
मनमा गहिरो पीडा थियो । अझै ऊ सोच्दै गयो- भोलि मलाई नभेटेपछि आमा कुन अवस्थामा पुग्लिन् ? छोराले झुक्याएर हिंडेको कुरा बुझिन् भने झन् कसरी सहन गर्लिन् ? आमाकै वरिपरि मन घुमिरह्यो । आमा खाना खाएर गइन् । ऊ लामो सुस्केरा हाल्दै उठ्यो । चुरोट किन्ने जाने बहानामा कोठाबाट निस्कयो । बाहिर निस्पट्ट अँध्यारो थियो । त्यही अँध्यारोमा बसेर धोको पुग्ने गरी रोयो । आफ्नै वेदनाका आँसुले आफैलाई निथ्रुक्क भिजायो ।
* * * *
भोलिपल्ट बिहान !
मदन देश छोडेर जाँदै थियो । मनमा कुनै जोश थिएन । उमङ्ग थिएन । डर, चिन्ता र अन्यौल मात्रै थियो । पारिवारिक माया, स्नेह र जिम्मेवारीबोध थियो । त्यसैले दिएको असैह्य पीडा पनि थियो । बिदा हुने वेला भइसकेको थियो । ऊ भावोत्कर्षमा पुग्यो । आमाको चरण स्पर्श नगरी हिंड्न मन लागेन । गोडा समाएर ढोग्यो । उनको लाचार अनुहारको अनभिज्ञता पढ्यो ।
“कतै यही भेट नै आमाछोराको अन्तिम भेट हुने त होइन ?” अचानक आएको त्यो कल्पनाले मर्माहत भयो । र , मायातिर फर्किंदै भन्यो, “जन्म दिने आमालाई नै धोका दिएर त के जानु माया ? भनम् क्यारे !”
मायाले कुनै प्रतिक्रिया जनाइन । ऊ किंकर्तव्यविमूढ भयो । पछि मन मारेर मायालाई भन्यो, “होस् ! भन्दिनँ । एकछिन भए पनि आमालाई पीडा त हुन्न !”
पुसको ठन्डी महिना । दिन धुम्म परेको थियो । छोरी गहभरि आँसु लिएर उभिएकी थिई । छोरा हिजोअस्ति जस्तै ऊसँग हवाईजहाज खेल्न आउँदै थियो । माया आँसु लुकाउने अथक प्रयासमा थिई । तर, जिन्दगीको आखिरी खुड्किलोमा उभिएकी विवश आमा भने रनभुल्ल परेकी थिइन् ।
ऊ जिन्दगीको अर्को कठिन परीक्षामा थियो । अगाडी आत्मसमर्पण गर्नै पर्ने परिस्थिति थियो । उसले ढुङ्गा जस्तै मन गर्यो । अटोमा बस्यो । अटोले एयरपोर्ट जाने बाटो समायो । ऊ झ्यालबाट मुन्टो निकालेर हेर्दै गयो । छोरो च्याँठिएर रुँदै थियो । ‘बेजान’ जस्ती माया छोरो बोकेर उसैलाई हेर्दै थिई । छोरी बिदाइको हात हल्लाउँदै थिई । ऊ भावविह्वल भएर अगाडि बढ्दै थियो ।
त्यही दिन ऊ विराटनगरबाट काठमाडौं उड्नुपर्ने थियो, काठमाडौंबाट कुवेत । मन ठाउँमा थिएन । आफ्नै विद्रूप अतीतमा पुगेको थियो । पीडादायी अनुभूतिहरूले कक्क्रक्क पार्दै लगे । यसक्रममा ऊ कैयौं पटक आफै दुख्यो । कैयौं पटक सम्हालियो । कहिले आफ्नो बाह्र वर्षे प्रहरी जीवनप्रति गर्वानुभूति गर्यो, कहिले बाँच्ने आधारसमेत दिन नसक्ने त्यही जागीर सम्झेर दुःखी भयो । कहिले आधा पेट खुवाएर चौबिसै घण्टा श्रम शोषण गर्ने ‘बेरहम’ राज्यप्रति आक्रोशित भयो । आँखामा आफ्ना प्रियजनहरूकै मायालु अनुहारहरू मात्र सलबलाइरहे । आँखा चिम्लियो । स्मृतिपटलमा पनि तिनै चेहराहरू नै आए ।
र, आहत भएर उसले आफैलाई सोध्यो – “जीवन किन यहाँ यति धेरै दुख्छ ? !”
…निरुत्तरित भयो । भावशून्य भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

