गुल्नारा ! यौवनमा मद मस्त फक्रिएकी कज्जाख युवती । झट्ट देख्दा नेपालका हिम सुन्दरी म्हेन्दो, डोल्मा, पासाङ जस्ती । राता गाला, गालालाई हिउँ र घामको सङ्घर्षले फुटाउन खोजे झैँ लाग्ने मिहिन सुन्दर धाँजा । बाटुलो चेहरा, गोला र ठुला आँखा । नितम्बसम्म सललल झरेका कपालले सुन्दरतालाई फहराइरहेको छ । उसको हेराइले पनि हाचिओजी सेन्टरका छात्रावासे केटाहरू भुतुक्क हुन्छन् । उसको तोते बोलीले केटाहरूलाई बाण लाग्छ ।

‘ओहायो गोजाइमास गुल्नारा’ । लबीमा कसैको प्रतीक्षामा आँखा बिछ्याइरहेकी क्लास मेटलाई बिहानीको अभिवादन गरेँ । तर उसले सुनिन कि बुझिन । न आकृतिको सङ्केत न शब्दको प्रतिक्रिया ।

लाक्यूले पनि अभिभावन गर्यो ‘गुड मर्निङ् गुल्नारा’ । सेपालिका, कामिला, होसादा, सिन, फाङ, हक, आतुर, जमिल, नाकायामा, विरोल, सालेह, सोङसोङ सबै बिहानीको ग्रिटिङ् पछि मच्चिएर गफ गरिरहेका छन् । गुल्नारा न हामीलाई ग्रिटिङ् गर्छे न हसखुस मुखमा नै छ । साथीहरूको कुराकानीको विषय बनी गुल्नारा । लेमा र लाक्यू त रिसाउन पनि खोजे । म सम्झाउँदै छु– सुरु सुरुमा लजाएर नबोलेकी हुनसक्छ, किन टिका टिप्पणी गर्ने ? जो जसरी रमाउन चाहन्छन्, रमाउन दिऊ न ।

हतार हतारमा ब्रेकफास्ट लिएर हामीहरू कक्षा कोठातिर लाग्यौँ । कक्षाको नियम कडा छ । फुर्सदको समय हँसिमजाक गरेर, एक अर्कोसँग ख्याल ठट्टा गरेर बस्नु हामीहरूको दैनिकी पनि विवशता पनि । हामी सबै नै पहिलो पटक जापान आएका छौँ । शिक्षा हासिल गर्नु त छँदै छ, जापानले गरेको अभूतपूर्व प्रगति पनि हेर्नु, सिक्नु छ, देश देशको विषयमा जान्नु पनि छ । विदेशीहरू सँगको मित्रताले व्यक्तिगत र व्यावसायिक सम्बन्धका साथै जनस्तरको कूटनीतिले प्रश्रय पाइरहेको छ । तर गुल्नारा सधैँ किन छुट्छे ? किन एक्लिन्छे ? जवान केटी त्यति सारो लजाउन हुन्छ ?

उ पहिलो पटक लामो अवधिका लागि मुलुक बाहिर आएकी छ । होम सिक भएकी त होइन ? ऊ निकै लजालु छ, अन्तर्मुखी पनि छ । उसको चेहराले रहस्य र सुन्दरताको मौन सञ्चार गरे झैँ लाग्छ । जमिल जस्तो उत्ताउलो, अविवाहित साथी पनि गुल्नारासँग केही बोल्न सक्दैन । आँखा जुधाएर हिँड्छ ।

गुल्नारा, याने कि आगोको लप्का । अनारको फूल । रसियन मुस्लिम नारीहरूका लागि रुचाइएको नाम । आगोको लप्कामा सुन्दरता पनि छ, जलन पनि । आफू जलेर अरूलाई पनि जलाउनु आगोको लप्काको विशेषता ।  मङ्गोलियन साथी बायरा रुसी भाषाको जानकार, मास्को, किभ तिर पढेको । गुल्नाराको अर्थ उही बायराले लगाइदियो । तर साथीहरूले गुल्नारालाई अनारको फूल सम्झेनन्, आगोको लप्का नै सम्झिरहेका छन् । सितिमिति अगि पर्न डराउँछन् ।

गुल्नारको गम्भीर भाव, गहकिलो बोली, अकण्टक हेराइ, आँखाको गहिराइ आगोको लप्का जस्तै सुन्दर तर नजिक पुग्दा डराउनुपर्ने खालका ।

आज हामीहरूमध्ये धेरै जना छक्क परेका छौँ । हाचिओजी केन्द्रको लबीमा जवान दाह्रीवाला केटासँग गुल्नारा मस्कीमस्की गफिएकी छ ।  उसको सुन्दरताले आज फक्रिने अवसर पाएछ । दाह्रीवाला  केटा अर्को छात्रावासमा बस्ने, वन विज्ञानमा डिप्लोमा गर्न आएको सिरियाली सरकारको बन अधिकृत । रफिक सिद्धिकी ।

गुल्नारा र रफिकलाई दुई कुराले नजिक्याएको छ । पहिलो दुवै मुस्लिम हुन्, दोस्रो एक अर्काको भाषा र संस्कृतिमा सामीप्य छ । मनोविज्ञानको शक्ति, फ्रायडले भने झैँ लिविडो शक्ति पनि होला ।

जापान सरकारको प्राविधिक सहयोग कार्यक्रम अन्तर्गत चार समूहको अन्तर्राष्ट्रिय तालीम डिप्लोमा सञ्चालन भइरहेको छ । हामीहरू उन्नाइस मुलुकका पच्चिस जना अन्तर्राष्ट्रिय कर प्रणालीको नब्बे दिने तालीममा छौ, गुल्नारा त्यसमध्ये कि एक । रफिकको समूह बन विज्ञान विषयमा, अर्को समूह चिकित्सकको र अर्को समूह चाहिँ सूचना प्रविधिको । यी सबै तालीम नब्बे कार्य दिनका छन् । छोटा छोटा अवधिका अरू तालीमहरू पनि सञ्चालनमा छन् । अनुभव आदान प्रदानका कार्यक्रमहरू पनि चलिरहेका छन् । शिक्षा प्रणालीको विषयमा ज्ञान विनिमय गर्न  विज्ञका रूपमा चुमानसिंह बस्नेतलाई निम्त्याइएको छ ।

घरपरिवार छाडेर तीन महिनाका लागि समुद्रपार रहनु, दिनरात पढाइ, गृहकार्य, प्रोजेक्ट वर्कमा घोटिनु हामीजस्ता तीस काटेकाका लागि सजाएँ नै हो । परिवार, कार्यालय र कक्षाको तेहरो चिन्ता । महिला साथीहरू फोटो खिचेर रमाइलो गरिरहेका छन् । कामिला र सेपालिका नयाँ ठाउँ पुग्ने बित्तिकै, फुर्सद हुने वित्तकै फोटो खिच्छन् । दुई हप्तामा कामिलाले पाँच हजार फोटो खिचिछ । हामी पुरुष साथीहरू फुर्सद डाउन टाउन घुमेर रमाउँछौँ । पार्क र रेष्टुरेन्टमा गएर अल्मलिन्छौं । नब्बे दिन काट्ने उपायका आआफ्नै तरिका छन् ।

गुल्नारा अक्सर समूहमा सामेल हुन्न । सखारै उठेर लबीमा बस्छे, त्यही आइपुग्छ दाह्रीवाला  युवक रफिक । त्यही रमाउँछे, त्यही गफिन्छन् । खित्का छाडेर हाँस्छन्, गाला चिमोट्छन् । फुर्सद मिल्दा लबी बाहिर साकुरा फूलमुनि लठारिन्छन् । अँगालिन्छन् । हिड्दा पनि रफिक गुल्नारालाई हातले छेकेर हिँड्छ । शायद भनिरहेको होला –गुल्नारा मेरो हो है साथी हो । हुने भए कक्षा कोठा बदलेर कर व्यवस्थापनमै आउँथ्यो । उनीहरूको यो प्रेमलीलाको सम्पूर्ण साछी यहीको प्रकृति र बैजनी रङ्गका साकुरा हुन् ।

सालेह कक्षाकै अभिभावक, परिपक्व व्यक्तित्व । प्यालेस टिन सरकारको कर निर्देशक । उ फाल्तु कुरा कहिल्यै गर्दैन, ईश्वरले अरूलाई सहयोग गर्न उसलाई जन्माएको हो भन्छ । जे पर्यो सक्ने सहयोग गरिहाल्छ । रफिकको प्रतीक्षामा रहेकी गुल्नरालाई देख्छ ‘गुड मर्निङ गुल्नारा’ । तर उसले कुनै प्रतिक्रिया दिइन ।

भाषा नबुझेर ? होइन, सामान्य भाषा पनि नबुझ्ने भए कसरी अन्तर्राष्ट्रिय तालीममा कसरी छानिई ? अभिवादनलाई चाहिने सामान्य जापानी शब्दहरू सासाकी सानले सिकाइकी छ नि ।

सधैँ सकारात्मक सोच राख्ने सालेह भन्छ –होइन मैनाली, गुल्नारा धेरै निसास्सिएकी छ । त्यसैले टोली भएकी । कक्षामा सेपालिका, कामिला, होसादा, सोङसोङसँग रेहेर पनि त्यति कुरा गरिएको सुनिँदैन । उसलाई होमसिकनेस भएको हुनुपर्छ । तालीम प्रशासनलाई भनेर उसलाई रमाउने बनाउनु पर्छ । भर्खर विवाह गरेर आएका केटीहरू बौलाएका छन् रे विगतमा । तालिमको अभिलेख हेर न ।

भारतीय साथी गोविन्द सिंहको तर्क अर्कै छ । मुस्लिम महिलाहरू हिन्दु, बुद्धिस्टहरूसँग त्यति खुल्दैनन् । हेर न मलेसियन कामिला अरूलाई मन घोच्ने यौन बाण दिन्छे तर इण्डोनेसियन बायुसँग मद मस्त इतरिएर बस्छे । उसको हेराइमा इन्द्रेणी  हुन्छ, ईर्ष्या बोलीमा मादकताको डिठ । केटाहरूलाई आच्छु आच्छु पार्छे ।

होइन गोविन्द, सालेह त मुसलमान हो नि । फेरि गुल्नारा कामिला जस्तो बुर्को हाल्ने मुस्लिम युवती पनि होइन । कति स्मार्ट गेटअपमा हुन्छे । प्रत्येक दिन पहिरन फेरेकै हुन्छे । तज्जाकी, अजरबैजानी, कज्जाख मुसलमानहरू सोभियत सङ्घमा गएपछि मुस्लिम संस्कृति लगभग सकिएको छ । उनीहरू धर्मप्रति उदार छन् । सम्बन्ध, सम्पर्कमा उदार छन् । थोरै पाकिस्तानी, साउदी, अफगानी जस्ता हुन्छन् ? पूर्व सोभियत सङ्घका मुस्लिम युवतीहरू कति फरासिला, फुर्तिला र हरेक विषयमा उदार हुन्छन् भन्ने कुरा बैंककतिर देखिन्छ । हेर्न जाऊ त उनीहरूको चर्तिकला १ आधा बुर्का हाल्ने कामिला त केटाहरूका अघि मादक ग्लेमरमा तीखा बाण छाड्छे । गुल्नारा त कज्जाख महिला । जिउ डाल पनि मङ्गोलियन जस्तो । नेपालका शेर्पिनी झैँ खाइलाग्दी । उसले नबताए कसले मुस्लिम भन्छ ?

मेरो कुरा गोविन्द सिंहलाई कत्ति मन पर्यो कुन्नि तर उसले प्रतिक्रिया जनाएन । प्रतिक्रिया नजनाउनुको धेरै अर्थ असहमति हो ।

यत्तिकैमा मङ्गोलियन साथी बायरा दास छेरेन गुल्नाराका साथ आइपुग्छ । केटाहरूको जमातलाई आकृतिको अभिवादन पनि नगरी गुल्नारा फटाफट बाहिर बगैँचामा गई र रफिकसँग अँगालिई । त्यहाँ पनि धेरै बेर अडिएनन्, ढकमक्क फुलेका साकुराका बोट मुनि पुगे । रफिकको काखमा टाउको राख्दै गुल्नारा आफ्नै संसारमा हराइ । रफिकले के आदेश जमायो, केही बेरपछि दुवै अलप भए । कता गए कुन्नि १

साकुरा फूल गुल्नारा जस्तै ससाना आकारमा रुखभरि एकै चोटि फुल्ने फूल हो । साकुरा एकै चोटि सर्वाङ्ग फुल्छ र तर महिना दिन पनि रहँदैन, अर्को वसन्तमा आउने बाचामा हरियो बन्छ । गुल्नारा (अनार फूल) सँग साकुराको रङ्ग र आकारमा समानता छ । प्रवृत्तिमा पनि समानता छ । जापानी दम्पतीहरू साकुरा फुलेपछि त्यसैको फेदमा दिवा खाना खाएर मायाप्रीतिको उत्सव मनाउँछन् । साकुरा गहिरो प्रेमको प्रतीक हो । रफिकका लागि गुल्नरा आगोका लप्का बन्छे कि साकुराको फूल ?

बायरासँग भने गुल्नारा स्वाभाविक कुराकानी गर्छे । आज पनि ब्रेकफास्टमा गुल्नारा बायरासँगै थिई । लेमा, फेलिक्स, जमिल, बाजिरोभहरु बायराको आरिसमा छन् । आफूतिर आकर्षित गर्न नसकेपछि सुन्दर केटीहरूको कुरा काट्ने केटा संस्कृति भनौँ कि पुरुष मनोविज्ञान । कुरा काटेर सुन्दरताको क्षतिपूर्ति लिन्छन् केटाहरू । जमिलले बायरालाई भनिहाल्यो –मोज गर बायरा मोज गर ।

बायराले रहस्य खोलिदियो –साथीहरू तिमीहरूलाई थाहा छैन, उसलाई भाषा (अङ्ग्रेजी) आउँदैन । बिग्रला कि भनेर जानेको पनि बोल्न डराउँछे । कक्षामा पनि इसारामा प्रश्न गर्छे । म सोभियत सङ्घमा पढेकोले रसियन राम्ररी बोल्छु, उ त पूर्व सोभियत सङ्घकी नागरिक भइहाली । त्यसैले हामी रसियनमा कुरा गर्छौं । नजानेको कुरा ऊ रसियनमा सोध्छे, म जानेको बताउँछु । हाम्रो सम्बन्ध यत्ति हो । उसले जानेको भाषामा तिमी पनि गाइड गर्न सक्छौ । तज्जाक साथी सोविर वाजिरोभ पनि उसलाई सघाउँछ । नपत्याए सोध न ।

बायरा भन्दै जान्छ –उसको खास मिल्ती भने सिरियन रफिकसँग छ । हेरौँ न उनीहरू कहाँसम्म पुग्छन् । गुल्नारा आगोको लप्का बन्छे कि साकुराको फूल, त्यो तीन महिनापछि नै देखिन्छ ।

मेरो वाक्य फुस्किहालेछ – तीन महिनापछि त हामी आआफ्नै मुलुकमा हुन्छौँ । न गुल्नाराको राप देख्छौ न साकुराको मद मोहकता ।

होइन मैनाली हामी कतै त रहन्छौ नि । संसार सानो छ, सूचना सञ्जाले पनि जानकारी दिन्छ । फेरि सरकारी कामको सिलसिलामा सिरिया वा कज्जाखस्तान जान वा हाम्रो मुलुकमा उनीहरू आउन पनि त सक्छन् नि ।

मलाई अनौठो लागिरहेको छ । यति छोटो अवधिमा, आएको दुई हप्ता मात्र भयो रफिक त रौस रमाइलोको लागि पनि गुल्नारासँग नजिकिएको होला, गुल्नारा त केटी मानिस, त्यै पनि मुस्लिम केटी । यति छिटो जीवनको निर्णय गर्न हुन्छ ? समर्पित हुनु हुन्छ ? सिरियाको कठोर मुस्लिम समाज, मुल्लाहहरूको बोल बोला भएको समाजमा अर्को मुलुककी केटीले जीवन निर्वाह गर्न सक्छे ? महिलाहरू प्रेमलाई अन्तिम बनाउन चाहन्छन् । बहकावमा आएर, रूप वा पैसा देखेर, आवेगमा आएर गरिएको निर्णय जीवन पर्यन्त कसरी टिक्छ ? विवाह विश्वासमा टिक्नुपर्छ । भगवान् गुल्नाराको त्यो रापिलो सुन्दरताले आफैलाई भस्म नगराओस् ।

निहोन सिम्वोनले आज प्रकाशित समाचार अनुसार गत वर्ष मात्र सात लाख दम्पतीले स्वेच्छाले दाम्पत्य जीवन विच्छेद गरे छन् । सुख र समृद्धिमा सन्तृप्त जापानी समाज भित्रभित्रै खोक्रिँदै गएको रहेछ । यान्त्रिक, रोवोटिक बन्दै गएको रहेछ । विशेषतः महिलाहरू खुसीबाट परतिर पुग्दै रहेछन् । यसो भने पनि भयो खुसीको खोजीमा भौँतारिइरहेका छन् । जापानीज वाइफ अमेरिकन लाइफ भन्ने कहावत अन्त्य हुँदै रहेछ । बाहिरबाट देख्दा जापानीहरू कति सुखी लाग्छन् । पुरुषहरू काम, काम, काममा छन् । कर्तव्यमा छन् । बालबच्चा र श्रीमतीलाई समय दिन नभ्याउँदा जापानी वाइफ खोक्रिँदै, निस्सासिँदै र निख्रिँदै गएका छन् । भौतिक संतृप्तिले मनहरूलाई जोड्न, खुसी ल्याउन नसक्ने रहेछ । प्रोफेसर यामादा कक्षामा निराश भाकामा भन्दै थिए –जापानको समस्या भनेकै सामाजिक सम्बन्धको समस्या हो । पारपाचुके, पोपुलेसन एजिङ, लिभिङ टुगेदरको समस्या हो । होइन भने हामी सधैँ सम्पन्न छौँ । प्रविधि र आर्थिक आयाममा विश्व जितेर पनि हामी निराश हुने अवस्थामा छौ । कोइजुमी सरकार यही निराशा कसरी तोड्ने भन्ने चिन्तामा छ ।

के आन्तरिक र बाह्य सफलता अलग हुन्छ ? भौतिक रूपमा सम्पन्न देखिएका मानिस भित्रभित्रै जलिरहेका हुँदा हरेछन् । परिवार, बालबच्चा, साथीसङ्गी सबै औपचारिक भएपछि काम र कार्यस्थल बाहेक के बाँकी रहने भो र ? देख्दा सुन्दर जापानी समाज रोबोटिक सभ्यताको विकास गर्दै छ । मानवता विस्थापित हुँदै छ । संवेग र हार्दिकताहरू हराउँदै छन् । निमानवीकृत समाज बन्दै छ । त्यसैले हार्दिकतामा होइन, कर्तव्यमा जीवन बाँचेको छ । निमानवीकृत, माया हराएको समाजलाई गुल्नाराको प्रेमले शिक्षा दिनुपर्छ । मनभित्र पनि छुट्टै संसार छ, छटपटी छ । रहस्य र आवेग छन् ।

शनिवार बिदा भए पनि सिन्जुकु, सिवुया घुम्न कार्यक्रम छ । सबै जना लबीमा तयारी अवस्थामा छन् । गुल्नारा आयोनोपोभा भने रफिकसँग साकुरा बोटमुनि लाडिएकी छ । साकुराको बैजनी मोहकले गुल्नारा जोडी लट्ठिएको छ । बिहानीको कलिलो घाम, साकुराको श्वेत–रक्तिम दृश्य र गुल्नाराको मन्द मुस्कानले बाहिरको वातावरण निकै मोहक देखिन्छ । सूर्योदयको देशमा गुल्नारा र साकुराले नयाँ दिनको थालनी गरेका छन् । प्रत्येक बिहान यसरी नै जीवनको सुरुवात गरेर मध्यरातमा टुङ्ग्याउँछन् । प्रत्येक दिन एउटा जीवन हो प्रेमीहरूका लागि । गुल्नारा हिन्दु केटीले लगाउने जस्तै फ्रकमा सजिएकी छ, रफिक भने सदा पेन्ट र भेष्टमा । महँगा ब्राण्डे पहिरनमा रहनु फिकको विशेषता हो, यसले उसको खानदानी हैसियत देखाउँछ । उसको सङ्गतपछि गुल्नारा पनि ब्राण्डेटमै सजिन थालेकी छ ।

क्याफ्टेरियाबाट ब्रेकफास्ट प्याकेट र एक एक बोतल पानी टिप्दै हामी सबै बसमा चढ्यौँ । गुल्नारा अझै साकुराको फेदमा रफकसँगै लट्ठिएकी छ । प्रेमिल प्रकृति, प्रेमिल परिवेशले समय, ब्रेकफास्ट र यात्रालाई किन सम्झिन्थ्यो ?

मुराकामी सानले उर्दी लगाए –सिन्जुकु सिवुयाका लागि बस तयार छ, एक एक ब्रेकफास्ट प्याक र पानी बोतल लिएर आउनुहोस् । मुराकामीको पछि पछि हाते ब्याग लिएर गुल्नारा पनि बस चढी । रफिक पनि हाम्रै समूहमा गुल्नारासँगै आयो । सबै साथीहरूले क्ल्याप लगाउँदै गाउन थाले–गुल्नारा, गुल्नारा यु आर लक्की गुल्नारा, गुल्नारा गुल्नारा यु आर व्यूटी गुल्नारा …। लेमा, सिङ, जमिल बाजिरोभ खुवै रमाइला छन् । यात्रामा ढिला आउनेलाई उनीहरू कम्ती दपेट्छन् र १

गुल्नराको जोडी सबैभन्दा पछिको सिटमा बस्यो, अगिल्तिरका सिट हामी बसिसकेका थियौँ । शादी र म अगिल्लो सिटमा छौँ । शादी मलाई औधी माया गर्छ । फरासिलो र प्रस्ट छ । हाम्रो साथित्व गाढा भैसकेको छ । कहीँ जान पर्यो भने पनि सोध्छ । क्याडवोरी चकलेट ल्याइदिन्छ । काराओके उसको चाख हो, कर गरी गरी मलाई छुटाउँदैन ।

मैले शादीलाई सोधेँ –शादी तिम्रो घर सिरयामा कहाँ छ ?

किन र मैनाली ? राजधानी डमास्कसभन्दा केही बाहिर बस्छु । राजधानी महँगाे छ ।

जागिर राजधानीमा । दैनिक आउजाउ गर्न भ्याउँछौँ ?

अनि रफिकको नि ?

सिररियामा चिनजान थिएन, यही आएर चिनेको । उसको घर सदर मुकाममा नै छ रे । उ धनी खानदानी परिवारको एकलौट छोरा ।

प्रश्न गर्दै गएँ –रफिकको विवाह भएको छैन ?

उ पनि जवाफ फर्काउँदै छ – हो, भएको छैन । विवाह भएको भए पनि गुल्नारासँग विवाह गर्न कुनै बाधा छैन । हाम्रो कानुन (धर्म) अनुसार चार जनासम्म विवाह गर्न पाइन्छ । नारी भनेका सुन्दर फूल हुन् । त्यो सुन्दरताको स्वाद लिन हाम्रो कानुन उदार छ । केही अघि यमनी नाजीले पनि यस्तै जवाफ दिए थ्यो ।

मनमनै सोचेँ –माया, भावना, जैविक आवश्यकता, आत्मीयतालाई कानुनका अक्षरले कसरी समेट्छ ? धर्मले नारी र पुरुषलाई भिन्न व्यवहार गर्न पाइन्छ ? विवाह त एक जनासँग गर्ने हो नि । पुरुषले चार जनासँग, महिलाले चाहिँ एक जनासँग ? महिलाले चाहिँ अर्को पुरुषको अनुहार देखिएला भनी बुर्का लगाउनुपर्ने पुरुषले चाहिँ चार पत्नी ल्याउन पाइने । अझ यो व्यवस्था उदार ? पुरुष प्रभुत्वका लागि महिलालाई बस्तु र सौन्दर्य साधन बनाउन पाइन्छ ? ईश्वरले यति अन्याय गर्न सक्दैन ।

मन थाम्न सकिन –अँ शादी तिम्रो कानुनले दुई देशका नागरिकबिच विवाह गर्न स्विकार्छ ? कज्जाख केटीले सिरियाली केटासँग विवाह गर्न सरकारी अनुमति चाहिँदैन ?

शादीसँग जवाफहरू तयार छन् –धार्मिक रूपमा हामी सबै मुसलमान एक हौँ । जहाँसम्म विवाहको कुरा छ, अनुमति चाहिन्छ । अनुमति पाइन्छ पनि तर मुस्लिम विधि अनुसार परिवार चल्नुपर्छ ।

रफिक आस्ताना गएर गुल्नारासँग बस्न मिल्दैन ? तिम्रो धर्म यसमा त उदार होला नि ?

त्यो त मिल्दैन साथी । श्रीमती श्रीमानकोमा नै जानुपर्छ । धर्मले त्यसो मान्दैन ।

गुल्नारालाई डमास्कसमा कर अधिकृत बनाउन मिल्दैन ?

त्यो चिन्ता किन लिने ? उ जागिरका लागि होइन, घरजम गर्न जाँदै छे । जागिरभन्दा दाम्पत्य ठुलो हो । रफिक धनी छ, खानदानी छ । गुल्नारालाई सजाएर राख्न सक्छ । त्यसैले त गुल्नारा उससँग लठारिएकी हो नि । ऊसँग सङ्गत गरेपछि गुल्नारा कति ब्राण्डेड भएकी छ हेर न ।

अनि गुल्नारा वर्षमा कैयनपल्ट देश विदेश घुम्ने, जागिरमा माथिसम्म पुग्ने युवा कर अधिकृत ऊ साँच्चै सिरियाको कठोर मुस्लिम परिवारको चौघेरामा बस्न सक्छे ? सुनको पिँजडा सजिएर कैदी दिन बिताउन, जीवन बिताउन  सक्छे ?

त्यो त मलाई नसोध साथी । उनीहरूले प्रेम गरेका छन् प्रेम । प्रेम अन्धो हुन्छ भन्ने थाहा छैन ? किन उ सधैँ रफिकको अँगालोमा हुन्छे त ? उसले पनि त आफ्नो विषयमा सोचेकी होली नि ? कर अधिकृत भेसकैकी सरकारी अधिकारी ।

के साँचै उनीहरूले प्रेम गरेका छन् । कि नब्बे दिने रौस आनन्दको यात्रा ? मुस्लिम मुलुकमा त्यो पाइँदैन, जापानमा त्यो पाइयो । हैन ?

त्यो पनि मलाई नसोध साथी ।

प्रेम नै गरेको भए पनि डमास्कसले गुल्नारालाई स्वागत गर्छ, सधैँ स्विकार्छ भन्नेमा म कत्ति विश्वस्त छैन । पति पत्नीको मनमुटाब भए गुल्नारा आफ्ना अभिभावकलाई सुनाउन, मनका बह पोख्न कहाँ जान्छे ? आस्ताना जान अनेक औपचारिकता पूरा गर्नुपर्छ । मुसलमानहरू श्रीमतीलाई मनमुटाब भएपछि तलाक दिएर मात्र चुप लाग्दैनन्, मार्न पछि पर्दैनन् । तिमीले समाचारहरू सुनेका हौला नि ? दाम्पत्य प्रेमको ब्रेक अप होइन, जीवनकै ब्रेकअपका समाचार सुनेका हौला नि ।

अर्को कुरा, गुल्नाराले कज्जाख सरकारसँग पनि अनुमति लिनु पर्ला नि । यो प्रेममा दुई देशको कूटनैतिक सम्बन्ध पनि आकर्षित हुन्छ ।

दुई देशका प्रतिनिधिहरू सभा सम्मेलनमा जाँदा, वार्ता–गोष्ठीमा जाँदा यस्तो सम्बन्ध हुने हो भने अन्तर्राष्ट्रिय कानुनले पनि यसलाई सम्बाेधन गर्नुपर्छ । अन्यथा देश–देश बीचको हित त हुँदैन नै, व्यक्तिगत जीवनको व्यवस्थापन पनि क्षतविक्षत हुन बेर लाग्दैन ।

शादी चुप लाग्यो । शायद उसको मन र दिमागले छुट्टाछुट्टै कुरा सोचिरहेको होला ।

गुल्नारा–रफिक प्रेम लैला मजनुको यात्रामा छ । कक्षा, सेमिनार, प्रस्तुतिहरूमा पातलिँदै गएको उपस्थितिले यही  बताइरहेको छ । कक्षा सकिने बित्तिकै डाउन टाउन जाने, चिया कफी लिने, कोही पवतिर पस्ने साथीहरूको दैनिकीबाट गुल्नारा पृथक् छे । बाटो किनार, पार्क, कर्नरहरू अक्सर हामी नजाने स्थान उनीहरूको प्राथमिकतामा छ ।

गुल्नरा गम्भीर चेहरा गम्भीर लागे पनि अनजान स्वभावकी छ । विपरीतमा रफिक जोदाहा । उसकी श्रीमती नबन्दै गुल्नारालाई कमान्ड गर्न लागेको छ । उसको पहिरन, सङ्गत, घुमफिरमा गुल्नाराले स्वतन्त्रता गुमाउँदै छ ।

उता कामिला र बायु पनि निकै रमाएका छन् । कामिला बुर्का लगाएर नै बायुसँग मात्तिन्छे । रङ्ग रौसमा ऊ लजाउन्न, बरु हामी पुरुष लजाउँछौं । – तिमी केटाहरूले मन पर्ने साजसज्जामा हामी हिँडेनौ भने हाम्रो सुन्दरताको कुनै अर्थ रहँदैन । एक दिन मलाई पनि रातो बनाइ । ओरिएन्टल मार्केटमा मोतीको माला किन्दै थियौँ । मसँग टाँसिउँला झैँ गरेर अचानक प्रश्न गरी –कुन माला लगाऊ मैनाली ? म अवाक् भएँ । म लाजले भुतुक्क भएँ । म केटा मान्छे मोतीको माला म कसरी छान्न सक्छु ? उसले भनी –तिमीलाई जुन मन पर्छ म त्यही लगाउँछु । हामी केटीहरू राम्रो देखिने तिमीहरूका लागि हो । तिमीहरूकाे नजरमा सुन्दर देखिएनौ भने हाम्रो सुन्दरताको के अर्थ ? तिमीहरूले मन पराएनौ भने हाम्रो गहनाको के अर्थ ?

मनमनै कामिला र गुल्नाराको तुलना गरेँ । दुवै मुस्लिम समाजका केटीहरू, दुवै सरकारी अधिकृतहरू, उनीहरूबिच थुप्रै भिन्नता छ । विवाहित भएर पनि कामिला नारी स्वतन्त्रताको उपयोग गरिरहेकी छ, कहिलेकाहीँ इतरिएर सीमा क्रस गर्न खोज्छे । मनोरञ्जन र नैतिक सीमा सन्तुलन गर्न सक्छे । तर गुल्नारा ….।

सधैँ सारी–कुर्थामा उपस्थित हुने एक मात्र छात्रा सेपालिका सौम्य र शालीन छ । कामिला, होसादा महिला साथी नभए सेपालिका एक्लै हिँड्छे । केटाहरू हुँदा पनि उसको व्यवहार सामान्य छ । तर फोटो खिच्न भने कामिला र सेपालिकाको प्रतिस्पर्धा नै छ । एक्लै हिँड्दा पनि बाटो हिँड्ने जापानीलाई क्यामेरा दिएर फोटो पोजमा बसिहाल्छे ।

फोटो त आड्रिया रोज सोङसोङ पनि खिच्छे । तर उ एकदम सामान्य देखिन्छे । उसका फोटोहरूमा प्रकृति र प्रगतिका दृश्यहरूले प्राथमिकता पाउँछन् । कक्षामा होस कि यात्रामा ऊ महिला पुरुषको भेदमा हुन्न । सेन्ट लुसिया विकासमा, महिला सशक्तीकरणमा निकै अघि हुनुपर्छ ।

गुल्नारालाई फोटोको त्यति सोख छैन । पढाइमा त लत्तो छाडिसकी । समय पायो कि त्यही दाह्रीवाला केटासँग हिँड्नु उसको दिनचर्या । क्याफ्टेरियामा पनि सँगै, बगैँचामा पनि सँगै, साकुराको फेदमा सँगै, योदोवासीमा पनि सँगै, आकिहावारा, हिनो, सागामीहारा, योकोहामा जतापनि सँगै । तर अलग अलग छात्रावास, अलग कक्षा । कोठामा भेट्न हाचिओजी केन्द्र प्रशासनले अनुमति दिँदैन । त्यसैले अबेर सम्म लबी, क्याफ्टेरिया, ल्याब र सबेरैबाट यही क्रम सुरु । होइन साँधैभरि के कुरा गरेको होला ? बताएर नसकिने कुरा ।

आजबाट रमादान सुरु भयो । मुस्लिमहरूको रोजा (सूर्य उपवास), एक महिने लामो सूर्यब्रत । सूर्योदय अघि र सूर्यास्त पछि मात्र खान र देखिन हुने । परेन फसाद । बिचरा गुल्नारा एक महिना कसरी बिताउँछे ? रमादानले धेरै कुरा रोक्यो, बजार जान रोक्यो, पार्कमा बस्न रोक्यो । साकुरा त अव पालुवा बनिसके, लबी, ल्याब जान पनि रोक्यो । प्रेम गर्नेका लागि त रमादान नलाग्नु पर्ने नि १

रमादान सकिने बित्तिकै रफिकको समूह फिल्ड प्रोजेक्टका लागि केही दिन होक्काइदो जानु पर्ने भयो । टोकियोबाट निकै टाढा । बिदाइमा गुल्नारा आँसुमा बलिन्द्र भई । बोली अवरुद्ध भयो । उसले टाटा गरेको हात पनि निक्कै लुला थिए । मानौँ मनको भाका हातले पनि बुझेको थियो । कक्षा कोठामा पनि उदास रही । कामिला समय समयमा गुल्नारालाई डोज दिन्छे– प्रेममा यस्तै हुन्छ, तिमीहरू सिक्दै छौ गुल्नारा । हेरौँ कहाँ पुग्छौ । ऊ उमेरमा पनि, प्रेममा पनि अनुभवी नै रहेछ । लेमा, जमिल, लाक्यू सबै जिस्क्याउँछन् । बायरा भने छोरीलाई झै सम्झाउँछ । खै के के भन्छ, हामी रसियन बुझ्दैनौं । बायरा साँच्चै अभिभावक जस्तो छ, उमेरमा पनि व्यवहारमा पनि ।

बिहानै कपडा धुन बेसमेन्टमा गएर वासिङ् मेशिनमा कपडा हाल्दै थिएँ । सालेह पनि त्यही आयो । गुड मर्निङ मैनाली । ह्वाटस् एवाउट रिपोर्ट एण्ड प्रिजेन्टेशन ? मैले आफ्नो प्रस्तुतिको खाका बनाइ सकेको थिएँ । उसले भने तयार गरेको रहेनछ । के गर्नेमा सालेह चिन्तित छ ।

मैनाली मरो मुलुक युद्धले क्षतविक्षत छ, के कर सुधार ? स्वाधीनताको युद्ध सकिए पछि न अन्य पक्षमा ध्यान दिने हो । मैले के प्रस्तुत गर्ने । उसले कोठामा लग्यो र कम्पुटरमा कारुणिक चित्रहरु, भिडियो देखाउँदै रुन थाल्यो । इजरायली डोजरले नर्सरी स्कुलमाथि गरेको आक्रमणमा ससाना नानीबाबुहरूको ओठ र नाकबाट आएको रगत देखेपछि मेरो पनि आँसु झर्यो । केही व्याकग्राउण्ड राखेर त्यही दृश्य प्रस्तुत गर्न सुझाएँ । अन्तर्राष्ट्रिय शान्तिका लागि यसले केही सन्देश दिन्छ कि । मेरो सुझाव अनुसार उसले त्यसै गर्ने भयो ।

बिहानीको खाजा पछि कलिलो घाममा बायरासँग गफ गर्दै थिएँ, गुल्नारा हामीतिर आई । आज उसैले अभिवादन गरी –ओहायो गोजाइमास मैनाली सान । त्यसपछि रसियनमा बायरासँग केही कुरा गरी । बायराको सल्लाह पछि टुटे फुटेको अङ्ग्रेजी भन्न भनी – मैनाली सान यु हेल्प मी फर ट्याक्स रिपोर्ट प्रिजेन्टेशन ।

आफैले तयार गरेको छैन उसलाई कसरी सहयोग गर्ने होला ? भन्न त मन लागेको थियो समय छउञ्जेल रफिकसँग लठारिइस् अव आत्तिएर भो । अर्को मनले सोच्यो – सकेको सहयोग नगरे केको क्लास मेट ?

जापानबाटै आफ्नो अफिसको महत्त्वपूर्ण काम अनलाइनबाट गरिरहेको छु । डायरी साहित्य पनि लेख्दै छु । कसरी सहयोग गर्ने । कज्जाखस्तानको कर प्रणाली मलाई के थाहा ?

बायराले पनि अनुरोध गर्यो । उसले तालीम पूरा गरिन भने सरकारले उसलाई कारबाही गर्छ । सरकार कडा छ । प्रेम गरेर मात्र समय सकेकी होइन, भाषाका कारण उ न प्रतिवेदन बनाउन जान्दछे न प्रस्तुति गर्न । मलाई पनि भाषा आउँदैन, जे जानेको तिमीले बनाइदेऊ ।

मलाई केही असजिलो पुर्यो । बायराले मलाई धेरै सघाएको छ । उसले भनेको कसरी नमान्ने ? सुमो कुस्ती देखाएर हँसाएको छ, हिरोशिमामा असजिलो पर्दा सघाएको छ । बजार जाँदा गह्रुङ्गाे सामान उसैले बोक्छ । जे जति सक्छु गरिदिनै पर्यो ।

चार दिन लगातार पुस्तकालयमा बस्यौँ । गुल्नाराले रसियनमा भन्ने, बायराले सके जति अङ्ग्रेजीमा बताउने । बिस पेजको प्रतिवेदन र प्रस्तुतिका २० स्लाइड बनाएँ । गुल्नारा निकै खुसी भई । धेरै धन्यवाद मैनाली, यो गुण कसरी तिर्ने ? तिमी सबैलाई सहयोग गर्छौ मलाई थाहा छ । सालेह, बायरा, म्यान्मारको हान मिन्ट सबैलाई सहयोग गरेका छाै । उसले कज्जाखस्तान आउने निम्ता पनि दिई । सरकारी कामको सिलसिलामा आउने अवसर पाएँ भने म भेटौला भन्ने बाहेक मैले के भन्नु थियो र ? सोभियत सङ्घ विखण्डनपछि आल्माआतीबाट कज्जाख राजधानी आस्ताना सरेको छ रे । कोरियाली कम्पनीले आस्तानालाई भव्य राजधानी सहरका रूपमा निर्माण गर्दै छ रे । मौका मिले अवश्य जानेछु, त्यो यङ्गेष्ट क्यापिटल अफ दी वल्र्ड हेर्न ।

तीन महिनाको अवधि सकियो । हाचिआजी केन्द्रमा जापान सरकारले भव्य कार्यक्रमका साथ हामीलाई बिदाइ गर्यो । सालेह र म भोलि बिहानै बैंकक हुँदै आआफ्नो मुलुक फर्किने भयौँ । उन्नाइस मुलुकका साथी उन्नाइसतिर छरियौँ ।

आआफ्ना मुलुकमा गएपछि साथीहरू विस्मृतिमा पर्दै गए । कार्यालयको काम, पारिवारिक जिम्मेवारी । एकाध महिनामा मेल गर्ने बाहेक सम्पर्कको माध्यम थिएन । स्काइप, ह्वाट्सअप, भाइवर, मेसेन्जरको त्यति चल्ती थिएन । म्यान्मारको जुन्टा सरकारले मेल पनि सेन्सर गर्दो रहेछ, मिन हान्ट सम्पर्कमा छैन । समय समयमा जापानीज साथी, विरोल, बायरा, बाजिरोभ, लेमा, सोङसोङ मेल पठाइ रहन्थे । गुल्नराको विवाह त्यही सिरियन अधिकृत सँग भएको र उसले आस्ताना छाडेको सम्म थाहा पाएको थिएँ ।

एक दिन निकै लामो मेलमा बायराले गुल्नाराको विषयमा लेखेको रहेछ ।

मैनाली गुल्नारा निकै रमाएर सिरिया घरजम गर्न गई । उसका आमा बुबाबाट पनि अवरोध भएन । कर अधिकृतको जागिर छोडाउन उनीहरू चाहँदैनथे तर छोरीको खुसी आफ्नै खुसी भनेर चित्त बुझाए ।

सुरुका दिनमा रफिकको परिवारले माया पनि गरे । तर त्यो माया एक महिना पनि टिकेन । सुट–फ्रकमा ठाँटिने गुल्नारा कोठाभित्रकी दाश बनेर कति रहन सक्थी ? सुन्दरताको अर्थ श्रीमानको इच्छा पूर्तिको पुतली बन्नमा सीमित भयो । सहर बजार घुम्ने कुरा निकै टाढा थियो । रफिकलाई फुर्सद हुँदा परिवारको स्वीकृतिपछि मात्र सम्भव थियो । बधुवा पशुभन पनि पाशविक जीवन । फोन गर्न, पत्रिका पढ्न, टिभी हेर्न सबैका लागि सासू ससुराको अनुमति चाहिने । देश देशावर घुमेकी पढलेखा महिला कसरी सुनको पिँजडामा बन्दी हुन सक्थी ? तर स्वतन्त्रताको युद्ध, निजत्व प्राप्तिको युद्धमा उ सधैँ पराजित भई ।

आस्तानमा आमाबुबाले पनि छोरीको हाल थाहा पाए । तर के गर्न सक्थे र ? भूगोलको दूरी, राष्ट्रियताको दूरी, त्यो भन्दा ठुलो सराया कानुनको कठोर सिक्री ।

रफिक सास ससुरा भन्दा कठोर मुद्रामा प्रस्तुत हुन थालेछ । गुल्नाराका शरीरभरि नीलडाम, हातका औला थिचिदिएछन्, खुट्टामा कुर्सीले हानेछन् । सुन्दर गोलो अनुहार र भिउँटे गाला दाँत र नङले चिथोरिएर अर्कै भएछ । नितम्बसम्म झरेका कपाल सबै लुछिएछ । भौतिक आक्रमणले कुरुप हुने नै भई, मानसिक यातनाले विक्षिप्त बनिछ, बरबराउन थालिछ । तर त्यो यातना गृहबाट निक्लने सम्भावना रहेन । निक्लेर कहाँ जाने ? सबैले गुल्नाराकै गल्ती देख्ने भए । पासपोर्ट पनि परिवारले कता पुर्याए कता ।

गुल्नाराका मनमा विगतका स्वप्निल प्रेम स्मृतिप्रति घृणा जाग्दै गयो । निर्विचार आफैलाई भुल्न चाहेर पनि सकिन छ ।

पूरै डमास्कस , प्रत्येक घर श्रीमतीहरूका लागि ढोकाभरि जञ्जिर कसिएका यातना गृह । महिलाहरू नै महिलाका परम पीडक । जीवनबाट हार खाएकी गुल्नारा कैयन पटक आत्महत्याको प्रयासमा पनि असफल भइछ । मृत्यु पनि त्यति सहज कहाँ रहेछ र ?

कुनै अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले लामो प्रयासपछि उसलाई उद्धार गरी आस्ताना पठाइ दिएछ । आठ नौ महिना अघिसम्म कि त्यो गुल्नारा, सुन्दरताको त्यो राप, सबै खरानी भएपछि कि कुरूप गुल्नारा । आफ्नै लागि भार भएको जिन्दगी । बाँच्ने विकल्प पनि झन्डै समाप्त भएका छन् ।

आफ्नै सुन्दरताप्रति उपहास गर्दै, आफैप्रति घृणा र व्यङ्ग्य गर्दै, आफूले गरेको प्रेमलाई थुक्दै गुल्नाराले घोषणा गरी – बाँकी जीवन नारी मुक्ति र बाल बचाउ अभियानमा समर्पित हुने छु ।