उत्तर शर्माचोकदेखि दक्षिण नवराजपुरसम्म लमतन्न अजिङ्गरझैं तन्किएको एउटा ठूलो फराकिलो पच्याङ डगर प्रधानपञ्च जीवनाथ दुलालकै पञ्चायतकाले पञ्चवर्षीय योजनामा खनिएको थियो । अहिले शहरको हिसाबले भन्नुपर्दा त्यो बाटोलाई ठीक चारलेनको बाटो भन्दा कत्ति पनि फरक नपर्ला । हो, त्यही बाटोको पूर्व फुटबल ग्राउन्डझैं परपरसम्म फैलिएको एकै चक्ला सात बिघा जमीन थियो र्‍वाले माइलाको ।

स्व. भिमाने र्‍वालेका जन्मिएका तीन भाइ छोरामध्ये जेठो र कान्छो छोरो मरिसकेका थिए । बाँचेका यिनी मात्रै थिए । छोरामा माहिलो भएका कारण पनि यिनलाई गाउँमा सबैले र्‍वाले माइला/र्‍वाले माइला भनेर यही नामले बोलाउने गर्थे । कालान्तरमा आएर यिनको नामै यही र्‍वाले माइला रहन गयो ।

* * *

र्‍वाले माइला आफ्नै घरको टाँडबाटै हरियै भई मौलाउँदै गरेको  पसाउनै लागेको गहुँखेत नियालिरहेका थिए ।

गहुँमा गाउँको कालो बीउ साँढे चरपचरप गर्दै चरिरहेको थियो । ऊ  पूर्वदेखि चर्दै उ परऽऽऽ पश्चिम कुनासम्म पुग्यो । गहुँ चरेर डम्म भई दुवै पेट माथिसम्म उठे । ऊ त्यही गहुँमाथि थचक्कै बस्यो । उसले हग्यो पनि । मुत्यो पनि । अनि चरपचरप पागुर लाउन थाल्यो ।

फेरि ऊ बसिरहेको ठाउँबाट निमिषमै ठाडो पुच्छर पारी गहुँ खेतमा बुर्कुसी मार्दै राइँदाइँ गर्दै सबै गहुँ सत्यानाश पारी दौडियो । हेर्दाहेर्दै गहुँबारी हावाहुरीले ढालेका धानजस्तै सोत्तर भएर लडे । फेरि ऊ दौड्दै आई आफ्नै गोठकी माली गाइमाथि बहाल लाग्न घ्याप्प घोडा चढी गाईलाई थचक्कै बसायो ।

गाईले जिब्रोले साँढेको निधार चाट्यो । छाती चाट्यो । पछाडितिरको फिला चाट्यो । साँढेले मुत्दै गर्दा उसले पिसाबको स्वाद चाख्यो । फेरि दुईवटा सिङले उसको गर्दनतल घोच्दै आफूमाथि चढ्ने दोबारा इसारा गर्‍यो । मानौं, ऊ अझै यौनानन्दबाट तृप्त भएको छैन । इशारा पाउनेबित्तिकै साँढे फेरि ऊमाथि बहाल लाग्न उत्तिखेरै घ्याप्प घोडा चढिहाल्थ्यो । मानौं, कुनै पत्नीको आग्रहलाई स्वीकार गर्दै कुनै ज्ञानी पतिले उनको अतिशय यौन इच्छालाई बुझेजस्तो ।

त्यसरी साँढेले बहाल लाग्दा गाई झनै खुशी भएको देखिन्थ्यो । ऊ प्रेमक्रीडामा उत्पात रमाएको देखिन्थ्यो । उसका आँखा औंसीको राती  आकाशमा चम्किने ताराहरूझैं खुशीले चम्किरहेका देखिन्थे । मानौं, ऊ यौनको भोकले वषौंदेखिको भोकाएको हुँदो हो । यौनको प्यासले वषौंदेखिको तिर्खाएको हुँदो हो ।

फेरि त्यही कालो साँढे कतिखेर हो ? मकैबारीको हरियो मकै चरिरहेको थियो । र्‍वाले माइलालाई खपिसक्नु भएनछ क्यारे दैलोको कुनोमा करुवातेल खुवाई अड्याइराखेको ठूलो बाँसको लौरो लिए र साँढेलाई कुट्न भनी दौडिए मकै बारीतिर ।

साँढेलाई कुट्न त तीन कोस परै जाओस् उनलाई त्यही साँढेले उल्टै लखेट्दै लग्यो । उनलाई आफ्नै ज्यान बचाउन हम्मेहम्मे भएर आयो र रतुवाझैं दौडिंदै बेतोडले भागे । साँढे पछिपछि दौड्दै आई र सिङले उनको नितम्बमा हानी खेलाडीले पुटबल सट् हाने जस्तै गरी आकाशमाथि गई डङ्ग्रङ्ङ जमीनमा एकाएक बजारिए ।

* * *

उनी अकस्मात् खाटबाट तल झरे र एकाएक झसङ्ङ भई सपनाबाट ब्युँझे ।

ती सबै एकेक दृश्यहरू विपनामा होइन उनले सपनामा देखेका थिए ।

उनी फेरि जुरुक्क उठ्दै र खाटमाथि चढे । अँध्यारोमै बिछ्यौनालाई हातले सबैतिर छामछामछुमछुम पारे । तर खाटमा माइली थिइनन् ।

उनको सातोपुत्लो उड्यो । उनको हंसले ठाउँ छोड्यो । निमिषमै उनको शरीर बाफिंदै आयो । उनका जीउहात सबै जिरिङ्ङ भएर आयो । उनी तुरुन्तै रातोपिरो भए । उनको ललाटबाट चिट्चिट् पसिना आयो । एकैछिनमा खलखली पसिनाका झरीले उनलाई लुथ्रुक्कै भिजाई छाड्यो । डर, त्रास र शङ्काहरूले उनलाई एकैसाथ विषालु सर्पलेझैं डस्न थाल्यो ।

उनलाई मनमा लाग्यो, माइली दिसापिसाब गर्न तल झरेकी होली । आइ हाल्छे नि एकछिनपछि । आज मात्रै हो र ? अरू दिन नि त जान्थिन् दिसापिसाब गर्न एकाध घण्टापछि आइहाल्थी ।

उनले यस्तैयस्तै सोचेर निदाउने कोसिस गरे । तर यो चोटि भने उनको निद्राको भोक मर्‍यो । सपनामा देखेका घटना र दृश्यहरूले उनलाई नराम्ररी बारुलोले झैं चिलिरहे । यही दृश्यहरूले उनलाई शङ्कैशङ्काको जालोमा बेरिदिए । धेरै समयदेखि मनभित्र उकुसमुकुस भई झाँगिइरहेका शङ्कालाई आज उनलाई छिमल्नु थियो ।

उनी निदाएनन् भन्दा पनि उनलाई आँखाबाट निद्रा नै चोरी भएजस्तो लाग्यो । मानौं, उनको निद्रा होइन, उनका आँखा नै कसैले चोरी लगेजस्तो । गुँडबाट चरी उडेझैं उनको निद्रा उडेर कता गयोगयो । बेपत्ता भयो । आज उनलाई किन हो किन माइलीले उत्पात छटपटी गराइन् । उनी पिरोलिनुसम्म पिरोलिए ।

छटपटीका बिसाउने कुनै चौतारो हुने भए उनलाई एक भारी छटपटी बिसाउँथेजस्तो लाग्यो । दायाँ कोल्टो फेरे । बायाँ कोल्टो फेरे । यसै गरी उनले पटकपटक कोल्टे फेरिरहे । तर उनको मनभित्र कतैबाट शान्तिको एक मुठी शीतल बताससम्म छिर्न सकेन । उनी चिस्सिंदै चिस्सिएनन् । झन्‌झन् उनीभित्रका शङ्काहरू भकभकी एकनासले उम्लिंदै गए ।

तर पनि उनी यसरी छट्पटाउँदै माइली आउने आशामा छटपटी नै रहे । उनको तरुणो आशा यसै छिप्पिएर बूढो भयो तर माइली अहँ अझै आइनन् । बिछ्यौनाबाट एकाएक माइली हराएकीमा सपनामा देखेका प्रत्येक विम्बहरूका अर्थहरू उनले माइलीसँग दाँजेर एकेक गरी कोट्याउन थाले ।

सपनामा देखेका घटना र दृश्यहरूका जे अर्थ भए तापनि उनले भने मनमनै यसरी सोचे, “सपना जैल्यै उल्टो हुन्छ भन्छन् । शायद, सपनामा देखेको हरियो गहुँ मेरी माइली हुनुपर्छ । अनि गहुँ चर्ने कालो साँढे मेरै हली चक्रे हुनुपर्छ । गहुँमाथि हग्नु, मुत्नु र चरपचरप पागुर लाउनु भन्या चैं मेरै माइली र धनसम्पत्तिमा मोजगर्नु हुनुपर्छ । गहुँबारीमा राइँदाइँ गर्नु भनेको अर्थात् मेरै माइलीमाथि नै राइदाइँ गर्र्नु हो ।”

उनले जतिजति सम्झे झन्‌झन् उनलाई उति नै औडाहा भएर आयो । उनीभित्रका शङ्कालु खरमा झन्‌झन् आगो सल्किंदै गयो । उनी झन्‌झन् दनदनी भित्रभित्रै डढ्दै गए ।

फेरि उनको अर्को मनले भन्यो, “बाटो छेउको बाली जति नै गर्दा नि बस्तुले बाली खाइहाल्छ । यसै पनि बाटो छेउको बाली खाने भाग्य सबै किसानका निधारमा काँ लेखिएका हुन्छन् र ? त्यो निधारमा नलेखिएको अभागी किसान म आफैं हुँ ।”

फेरि उनले झट्टै सम्झे सपनामा चक्रेसँग सबालजफाफ भएको,   “तैंले अरू कुनै काम पाइनस् ? तँलाई मेरै नयाँ जुत्ता लाईलाई थोत्रो पार्नुपर्ने ।”

“अनि, न ला’र के गर्नु दाइ ? तपैं जुत्ता किनेर खुट्टै छिराउनु हुन्न । यसरी त जुत्ता बिग्रिहाल्छ नि दाइ । त्यै भ’र मैले लाइदे’को । कम्सेकम जुत्ता नलाई बिगार्नुभन्दा त ला’र बिगार्नु राम्रो नि दाइ ।”

उनलाई लाग्यो – चक्रेले सपनामा लाउने आफ्नो नयाँ जुत्ता आफ्नै माइली हो ।

सपनाका सबै दृश्यहरू एकेक सम्झीसम्झी रिसले उनीभित्रभित्रै उत्तिखेरै आगो हुन्थे भने घरी डरले उत्तिखेरै लगलग काम्न थाल्थे । उनीभित्र रिसको आगो दन्किनुभन्दा बढी डर र त्रासका हिउँले उनलाई जमायो । अघि भरखरै खलखली आएको पसिना उत्तिखेरै सुकिलो भई आयो । निमिषमै  उनको शरीर चिसिएर बरफझैं भएर आयो । उनी यस्तैयस्तै शङ्काका बरफले भित्रभित्रै कठाङ्ग्रिन थाले ।

उनलाई के गरूँ के गरूँ भएर आयो । एकातिर डरका तीखा सोलाहरू बनी उनलाई घोचिरहेका थिए भने अर्कोतिर माइली अझै पनि बिछ्यौनामा नफर्केकी पीरले उनलाई नराम्रो गरी चिमोटिरह्यो ।

उनलाई मनमा लाग्यो, यही हो यौटा मौका माइलीलाई खोज्ने । यत्रो समय त पक्कै नि माइलीलाई दिसापिसाब गर्न लाग्दैन । क्यै चक्कर त अवश्य हुनुपर्छ । बिस्तारै कसैले था नपाउने गरी बिरालोको चालमा माइली र चक्रेको गतिविधि बुझ्नुपर्‍यो ।

उनले आफूलाई दह्रो बनाए । लामो सास फेरे । छाती चौडा बनाए र मनभित्रका सबै डरहरूलाई एकैसाथ पोली खाए र बिरालोको चालमा छपकछपक गर्दै सुत्ने कोठा बुइँगलबाट बाहिर ओसरामा आए र शनैः तल सिकुवामा झरे ।

आँगनमा हेरे – छैनन् माइली ।

दायाँ हेरे – छैनन् माइली ।

बायाँ हेरे – छैनन् माइली ।

ठूलो परालको कुनिउँतिर पनि गएर हेरे – छैनन् माइली ।

जूनेली रातको टहकमा निधारमा हातलाई पाली बनाई परपरसम्म पनि चियाई हेरे तर कतैकतै देखिइनन् माइली ।

उनले निमिषमै चक्रे सुत्ने गरेको गोठछेउको मचान सम्झे ।

उनको मनमा निमिषमै शङ्काको बाढी ह्वात्त उर्लियो । माइली कैं छे त त्यै चक्रे सुत्ने मचानमै छे । कोइसित छे त त्यै चक्रेसँगै छे ।

उनले त्यही मचानतिर बिस्तारै बिरालो चालमा छपकछपक गर्दै पाइला अघि बढाए । मचान आउन यस्तै करीब पाँचसात मिटरजस्तो बाँकी थियो । उनले मचान मचकमचक गरी मच्किएको चाल पाए । उनको मन झन् नराम्ररी चस्कियो ।

उनलाई लाग्यो, यैं हुनुपर्छ माइली ।

उनलाई झन् औडाहा भएर आयो । अघि भरखरै बरफ भई चिसिएको पूरै शरीर निमिषमै आगो भएर दन्कियो । फेरि उनी स्वयम्‌ले आफूलाई तुरुन्तै नियन्त्रणमा राख्दै अझै मचान मच्किएको चाल सुनेर माइली भए नभएकी निर्क्यौल गर्ने निधो गर्दै थोरै अघि बढे ।

झन्‌झन् अझै जोडजोडले घच्चघच्च गर्दै मचान मच्किंदै गयो । मचान मच्किनु मात्रै कहाँ हो र शनैः सासे स्वरमा माइलीले चरमानन्द लिंदै अआइई पढेकी सुन्दा उनी आगोमाथि आगो भए । यसरी उनीहरू दुवैलाई र्‍वाले माइलाले रङ्गेहात समातेका आज पहिलो दिन थियो ।

उनी एकाएक भित्रभित्रै खलखलीय । उनी आफैंभित्र भुलुकभुलुक उम्लिए । उनीभित्र निमिषमै क्रोधको बाढी उर्लियो र शनैः बिरालोको चालमा फर्की भान्सा कोठाभित्र छिरे र हातमा लिइराखेको टर्च बाले । उज्यालो दौड्दै गई भित्तामा टल्किरहेको दापमा टक्क अडियो । दापबाट खुकुरी झिके र फेरि मचानतिर नै फर्के ।

शनैः चाल नपाउने गरी अखटोबाट मचानमाथि उक्लिए र माइलीमाथि पिङ्झैं मच्चिइरहेको चक्रेको घाँटीमा एक्कासि खुकुरी प्रहार गरे । चक्रे क्षणमै दुई टुक्रा भए । अनि लगत्तै माइलीको घाँटीमा प्रहार गरे । उनी पनि क्षणमै दुई टुक्रा भई टुक्रिन् । शरीरबाट छुट्टिएका टाउका भाले कुखुराझैं चक्रे र माइलीका शरीर फत्र्याकफत्र्याक उफ्रिन थाले । रगत बगेर मचानभरि आहालै आहाल भयो ।

फेरि उनी निमिषमै झस्किंदै भने, “हैट् ! यसो गर्नुहुन्न ।”

त्यसरी हत्या गर्ने विचार उनीभित्रको मात्रै एउटा भ्रम थियो । उनीभित्रको कल्पनाको अर्को एउटा अपरिचित हत्यारा पात्र मात्रै थियो त्यो । उनी उम्लिएर पोखिए पनि तर बग्ने ठाउँ भने कतै थिएन उनको लागि । आफैं मुर्मुरिनसम्म मुर्मुरिए । उनी आफैंभित्र कुच्चिए । उनी सिसाझैं आफैंभित्र झर्‍याम्म भई फुटे र टुक्रिनसम्म टुक्रिए ।

उनी मनभित्रै परालझैं हुर्र बले । उत्ति नै खेर निभे । फेरि हुर्र बले । फेरि निभे । निमेषमै खरानी भइहाले । जब आगो बलेर कोइला हुन्छ र कोइला जलेर खरानी हुन्छ । तब खरानीमा आगो कहिल्यै सल्किंदैन । हो, ठीक त्यस्तै गरी खरानी भए र्‍वाले माइला पनि । अब उनलाई फेरिफेरि सल्किनु थिएन । अब उनलाई फेरिफेरि जल्नु थिएन । उनी बस् खरानी भए र आफ्नो आगोझैं रिस पानीमा पोखी शान्त भए ।

उनी त्यसपछि लुसुक्क फर्की टाँडमाथि उक्लिए । आफ्नै बिछ्यौनामा आए र टर्च बाले । टर्चको गोलो उज्यालो भित्तामा दौडिंदै गई घडीतिर टक्क उभियो । घडीको सुइ ९० डिग्रीको कोणमा यल् बनेर अडिंदै सेकेन्ड सुइ टिकटिक गर्दै चल्दै गरेको देखियो । अर्थात् भनूँ, बिहानको ठीक तीन बजिसकेको थियो । उनले बिछ्यौनाको पातलो कम्बल तानेर घाँटीदेखि तल सबै जीउ ढाकिने गरी छोपे र पूर्व फर्की कोल्टे फेरे ।

उनले मनमनै भने, “शायद, माइली चक्रेसँग सन्तुष्ट छे र खुशी पनि । चक्रे खाइलाग्दो ज्यानको र पुरुषत्वले भरिपूर्ण छ । उनी धेरैधेरै माया गर्छे चक्रेलाई र चक्रे पनि माइलीलाई । माया त म नि गर्छु माइली तँलाई आफैंलाई बिर्सी । तर तँ जुन माया खोछ्छेस् मबाट त्यो दिन म सक्दिनँ । म मात्रै नामको लोग्ने बनें तर पुरुषत्व भएको लोग्ने बन्न सकिनँ ।

माया त तँ नि गर्छेस् मलाई तर लोग्नेको जस्तो होइन मात्रै एक सम्झौताको लागि । माया र सम्झौताबीच कुनै सम्बन्ध छैन, जसरी छैनन् सम्बन्ध मृत्यु र जीवनबीच । हो, ठिक त्यस्तै गरी छैनन् तँ र मेरोबीच । यो सबै हुनु भनेको म नै एकमात्र कारण हुँ ।”

उनले अकस्मात् टर्च बाले र कट्टु खोलेर हेरे आफ्नो त्यो । सप्रेको कुनै खुम्रेकिरोभन्दा ठूलो थिएन उनको त्यो । उनी एकाएक खिन्न भए र खुइय गर्दै लामो सास तानी बाहिर फाले ।

उनले माइलीको जीउडाल सम्झे, बैंस सम्झे, उमेर सम्झे, चक्रेलाई सम्झे र आफूलाई पनि सम्झे । उनलाई एकाएक आफू माइलीको महाअपराधिजस्तो लाग्यो । आफ्नो कारणले माइलीलाई कारागारमा बन्धक बनाई राखेर सजाय दिएजस्तो लाग्यो ।

उनलाई आफू पुरुषको खोलभित्र नपुंसकको जुलुङ्गो ठिङ्ग उभिएजस्तो लाग्यो । उनलाई एक निमिष पनि बाँच्छुजस्तो लागेन । उनलाई पासो लागी क्षणमै मरुँजस्तो लाग्यो । उनले आफैंले आफैंलाई धिकार्नु धिकारे । उनलाई माइलीको सिउँदो भर्ने आफ्नो हातै काटेर फाँलुजस्तो लाग्यो ।

उनलाई एकाएक लाग्यो, माइलीको लोग्ने बन्ने मलाई कुनै अधिकारै छैनजस्तो । उनी आफैंलाई आफैंदेखि घृणा लाग्नुसम्म लाग्यो । उनी निमिषमै आगो भए । फेरि निमिषमै निभे । उनी निमिषमै उम्लिए र निमिषमै चिसिएर बरफ भए । उनलाई फेरि निमिषमै माइली र चक्रेप्रति टिठ पलाएर आयो ।

उनले मनमनै भने, “स्याबास ! चक्रे, स्याबास ! मेरी माइलीलाई समाल्याछस् तैंले । तेरै वीर्यमा लेख्या छ मेरो वंश र वारिस ।”

उनले आफू सानोहुँदा केटाकेटी साथीहरूसँग नाङ्गैभुतुङ्गै भई दौडिएका क्षण सम्झे । साथीसाथीबीच त्यो कस्को ठूलो छ भनी “ प्रतियोगिता”मा भाग लिंदा आफ्नो सानो भएकै कारण आफू अपमानित भएको पल सम्झे ।

उनले धने, बिरु र शङ्करले “ए, यस्को त यित्रु रै’छ” भन्दै उल्लीबिल्ली पारेका क्षण सम्झे ।

उनले फेरि केटाकेटीहरूले एकर्कामा बिहेबारी गरेका क्षण सम्झे ।

त्यही लहैलहैमा लागी आफूलाई बिहे गर्न मन लागेर आफ्नै घरछेउकी केटी साथी किस्नीलाई, “ऐ, किस्नी तँ मसँग ब्या गर्छस् ?” भनेका क्षण सम्झे ।

“गर्छु तँसँग ब्या, तेरो त यित्रु छ । म त त्यो ठूलो भा’को केटासँग ब्या गर्छु बाबै” भन्दै किस्नीले पनि उल्लीबिल्ली पारेकी क्षण सम्झे ।

माइलीलाई विवाह गरी ल्याई पहिलो सुहागरात मनाउँदा “छ्या ! के बाँदरजस्तो मात्रै उफ्रेको ? छैन कि क्या हो, बाइरै हरायो त ? छ्या ! कस्तो पोलेर आयो” भन्दै धकेली हुत्याइदिएको उनले त्यो तिरस्कृत क्षण पनि सम्झे ।

यदाकदा सुनिन्थे गाउँमा गाउँले आइमाईहरूबाट, माइलाको त यित्रु छ रे । हात्तीको आङमा कमिलो हिंड्याजस्तो । तेस्मा नि झर्‍यो भने उल्टै बाँदरले के जाती गर्‍याजस्तै भतभती पोल्छ रे ।

“विना हलीको खेतीपाती समाल्न गाह्रो हुन्छ ज्वाइँ । हाम्रै हली चक्रेलाई सङै ले’र जानुहोला ज्वाइँ । सोझो र इमान्दार छन् यिनी । यिनले राम्ररी खेतीपातीदेखि ले’र सबै काम समाल्छन् र पूर्णिमालाई पनि खूब ख्याल गर्छन् ज्वाइँ ।” भन्दै विवाह गरेको पाँच वर्षपछि दशैंमा ससुराल टीका लगाउनुजाँदा सासूले हली चक्रेलाई दक्षिणा स्वरूप जिम्मा लाइदिएकी उनले झलझली सम्झे ।

अन्ततः उनी एउटा महत्वपूर्ण निर्णयमा पुगे । उनले जे निर्णय गरे तापनि आफू र आफ्नै धनसम्पत्ति र माइली पूर्णिमाकै हक, हित र भलोको लागि निर्णय गरेका थिए ।

उनी आफू सन्तान जन्माउनमा असक्षम भए तापनि हली चक्रेमाथि उनले निकै ठूलो सम्भावना झलझली देख्न थाले । उनीभित्र सल्किएका क्षणिक रिस, राग र मूर्खताको आगोलाई उनले बुद्घिको सङ्लो पानीले निभाउने जुक्तितिर जुटे । घर, परिवार, वंश, सन्तान र धनसम्पत्ति भन्ने चीज अतिशय महत्वपूर्ण रहेछन् भन्ने कुराको अर्थ उनले बल्ल अनुभूति गर्न थाले । उनलाई एउटै कुराको चिन्ता थियो पिताको बिंडो र वंश कसरी धान्ने भनेर । किनकि उनी बाहेक अरू वंश धान्ने सन्तान कोही थिएनन् तर उनी पनि नपुंसक निस्केका थिए ।

उनी यस्तैयस्तै कुराहरू सम्झेर भित्रैदेखि नै उज्यालिए । उनलाई अनायासै चक्रे आफ्नै अँध्यारो कोठाभित्र घाम बनी भित्र बास माग्दै आएजस्तै लाग्यो ।

उनलाई एकाएक जुक्ति फुर्‍यो र चुट्की बजाउँदै भने, “आइडिया ! अब जे गर्छ यो माइलाले गर्छ । अब जे गर्छ र्‍वाले माइलाले सही गर्छ र बुद्घिका साथ गर्छ ।”

उनीभित्रका कमी, कमजोरी, भ्रम र नपुंसकताका अँध्यारोका ढोका घर्‍याप्प खोल्दै उनी उज्यालोमा प्रवेश गरे ।

उनले फेरि पश्चिम कोल्टे फेरे र आफैंले चेपेको कम्बल ताने र जीउ छोपी निदाएजस्तो गरे ।

* * *

माइली बिस्तारै भर्‍याङ् चढिन् र टाँडमा उक्लिन् । अनि घोप्टे घर्‍याप्प पारी लगाइन् । सुत्ने कोठाभित्र छिरिन् । थुचुक्क बसिन् र उत्तानो पल्टिन् । माइलाको शरीरले चेपिएको कम्बल बिस्तारै तानिन् र निदाउने कोसिस गरिन् ।

माइलीले कम्बल तान्दै गर्दा माइला ब्युँझिएझैं गरे । उनलाई लाग्यो, माइलाको निद्रा टुटेछ कि क्या हो ? ब्युँझेजस्तो गरे त माइलो ।

“माइला ब्युँझ्या हो कि तन्द्रामै हौ तिमी ?” माइलीले घिउजस्तै नरम बोलीमा सोधिन् ।

कताकता माइलीभित्र डर र त्रासका हुरी त चलिरहेका नै थिए । उनी आफैंभित्र डरले सल्किएको शङ्काको आगो माइलाको विचार बुझेर निभाउन चाहन्थिन् ।

माइलाले “हुँ” भन्दै यत्तिमै रोकिए र “घुर्र… घुर्र… घुर्र… ” गरी घुरेजस्तो गरे ।

“कतिखेर आ’की तँ ?” फेरि एकछिनपछि अर्ध निद्रामै बोलेजस्तो बहाना गर्दै सोधे माइलाले ।

“भर्खरै ।”

“के सन्चो भ’न तँलाई ?”

“अँ, निकै पखाला चलेर आयो ।”

“सुत्, सुत् ।” यति भन्दै माइला लामोलामो सास फेर्दै घुरेको नाटक गर्न थाले ।

“घुर्र… घुर्र…घुर्र…।”

माइलाका उही पुरानै नाक बजेको घुराइ ।

अब भने माइली ढुक्क भइन् र निदाइन् ।

* * *

बिहानै माइला ओसराको बेन्चमा बसी बिंडी तानिरहेका थिए । माइलीले त्यहीं माइलाको लागि चिया लिएर आइन् ।

“माइली, बेलैमा खाना बना है त । आज सखारै तँ र म जलेश्वर माालपोत कार्यालय जानुपर्छ । अनि मेरो कागजात राख्ने झोलामा नबिर्सीकन तेरो नागरिकता र चार प्रति पासपोर्ट साइजको सादा फोटो राख्दे है त ।” उनले माइलीले ल्याएकी स्टिलको गिलासको चिया समाउँदै भने ।

“हस् ।” यति भन्दै उनी भान्सा कोठाभित्र छिरिन् ।

माइलासँग अचानक जलेश्वर साथमा जानुपर्ने कारण नै बुझिनन् न त उनलाई सोध्ने आँटै आयो । उनको मनभित्र अनेकौं कुराहरू खेल्न थाले । निमिषमै डरले उनको आङै जिरिङ्ङ भई आयो र मनभित्र कताकता चिसो सिरोटेले हान्यो ।

उनीभित्रको अर्को माइली जुरुक्क उठिन् र भनिन्, “कैं चक्रे र तेरो सम्बन्धको बारेमा था त पाएनन् माइलाले ?”

फेरि उनको अर्को मनको माइलीले भनिन्, “होइन, होइन, था छैन माइलालाई ।”

फेरि मनभित्रको अर्को माइलीले भनिन्, “अँ, था छैन तेरो बाजे माइलालाई । सब था छ तेरो माइलालाई । न था’पाजस्तो गर्‍या मात्रै हो, बुझिस् ।”

“होइन, होइन, था छैन, था छैन ।”

“सब था छ तेरो माइलालाई । सब था छ ।”

उनी अनायासै निसासिन् । उनी यही आफ्ना मनभित्रका शङ्काका आगोमा डढिरहिन् । डरैडरले उनी आगोछेउको रबरझैं लल्याकलुलुक हुँदै गइन् । उनी यही चिन्ताले भित्रभित्रै असिनपसिन हुँदै उम्लिंदै गइन् र गल्दै गइन् ।

मजेत्रोको फेरोले उनले अनायासै झस्किंदै हतारहतार निधार र घाँटी पुछिन् । उनले आफूलाई निमिषमै सम्हालिन् र कुनै बियाँलो नगर्दै दालभात बसालिन् । तरकारी पकाइन् । चक्रेलाई पनि भनेर तीनवटा अन्डा पनि तारिन् ।

उनले फेरि मनमनै भनिन्, “जलेश्वर किन सखारै जानुपर्ने होला कुन्नि । जलेश्वर त कि जग्गा पास गर्ने कामले गैंन्छ । कि त कर तिर्ने कामले । फेरि मेरो के काम मालपोत कार्यालयमा ? फेरि नागरिकता र फोटो पनि भन्छन् । आऽऽऽ…, जे सुकैहोस्, जाम् भनेसि जाने जाने ।”

उनले आफूभित्रका सबै डर र शङ्काहरूलाई एकैसाथ उखेली फ्याँकिदिइन् र निर्धक्क बनिन् ।

माइला र चक्रेलाई खाना खुवाइन् । अनि त्यसपछि आफूले पनि खाइन् र भाँडाकुँडा पखालिन् ।

जलेश्वर सदरमुकाम जान बियाँलो होला भनेर हतारहतार कोठाभित्र पसिन् । ऐनाको अघि उभिएर शहर जाने हरियो सारी र ब्लाउज हतारहतार लगाइन् । ओठमा रातो लिपिस्टिक दलिन् । निधारमा मखमली टीका पनि लगाइन् । कतिकी राम्री देखिएकी छु भनेर ऐनामा आफूलाई घरी फर्कीफर्की यता हेरिन् । घरी फर्कीफर्की उता हेरिन् । उनलाई आफू यस्तो लाग्यो मानौं, कुनै बैंसले भरिएकी हरियो पोथी सुगाजस्ती ।

र्‍वाले माइला जग्गा पास गर्नलाई चाहिनेजति लालपुर्जादेखि लिएर सबै कागजात झोलामा हाली माइली सिँगारिएकी पछाडि दैलोको कुनामा उभिएर हेरिरहेका थिए । तर उनी भने माइलोदेखि बेखबर थिइन् । उनलाई माइली बिछट्टै राम्री लागेर आयो । उनलाई माइलीलाई एक फेर गम्रङ्ङ अँगालुअँगालुजस्तो लागेर आयो ।

उनी माइलीतिर अघि बढे र पछाडिबाट गम्रङ्ङ अँगाल्दै ठट्यौली शैलीमा भने, “आज मेरी माइली के सारो बिछट्टै राम्री देखिएकी हौ ? मर्छु कि क्या हौ म त ?”

“अँ साँच्ची ! म राम्री देखिएकी छु है चक्रे ?” माइलीले पनि माइलाका दुई हात समाउँदै मुस्कुराउँदै जबाफ दिइन् । फेरि निमिषमै झस्किंन् र पानीको कालो बादलले घामलाई छेकेर एक्कासि दिन अँध्यारो भएजस्तो उनी अँध्यारो भइन् ।

उनी लाजले शिर झुकाउँदै भनिन्, “आचे ! मलाई त चक्रेजस्तो लागेर नि ।”

माइला एकाएक अँध्यारो भए तर उनी केही बोलेनन् मात्रै फिक्का मुस्कान फ्याँके माइलीतिर ।

माइली आफू सिंगारिने भ्रममा पछाडिबाट माइलाले अँगालेको उनले कत्ति पनि हेका नै राखिनन् । किन हो किन ? उनको मन–मस्तिष्क र दिल दिमागमा चक्रे नै चक्रे चक्र बनी नाचिरहेको हुन्थ्यो । त्यसैले उनले माइलालाई पनि ऐनामा चक्रे नै देखिन् । उनको आवाजलाई पनि चक्रेको आवाजजस्तै लाग्यो उनलाई । उनलार्ई आफूलाई गम्रङ्ङ अँगाल्ने पनि चक्रे नै लाग्यो ।

लाग्यो भन्ने पनि किन र ? उनको भ्रमको आँखाले ऐनामा चक्रे नै देखेपछि चक्रेलाई चक्रे भन्नु कुन ठूलो कुरा हो र ? उनले ऐनामा जे देखिन् त्यही भनिन् । उनले कानले जे सुनिन् त्यही भनिन् । शायद, हामी पनि त्यही देख्छौं जे आँखाले देख्छौं । त्यही सुन्छौं, जे कानले सुन्छौं । चाहे त्यो भ्रम नै किन न होस् ।

माइला र माइली घरबाट निस्किए ।

* * *

चक्रे पनि माइलाको झोला बोकेर उनीहरूलाई बस स्टैण्डसम्म बिदा गर्न आए । त्यसपछि उनले झोला माइलालाई थमाएर घरतिर फर्के ।

“चक्रे, हामी आउँदासम्म बीउ राख्ने बिडार खेत तयार पारी राख्नू, भोलि बीउ छर्नुपर्छ । वर्षातको समय नि भो, बुझिस् ?” माइलाले फर्कंदै गरेको चक्रेलाई आकाशतिर हेर्दै भने ।

“हस् दाइ ।” चक्रे फरक्क फर्की यति जबाफ दिंदै घरतिर लागे ।

* * *

मालपोत कार्यालय, जलेश्वर –

उनीहरू दुवैजना जलेश्वर मालपोत कार्यालय पुगे । कार्यालयका प्राङ्गण मान्छेका भीडैभीडले भरिएका थिए । कोही कागजात बोकेर अघिअघि उक्लिंदै थिए भने उसका पछिपछि तीनचारजना पछि लाग्दै थिए । यस्तै गरी माथिबाट पनि तीनचारजना पछिपछि लाग्दै तल झर्दै गरेका देखिन्थे । कहींकहीं आठदशजना देसीहरू झुरुप्प भई सम्पत्ति बाँड्फाँड्मा चित्त नबुझेर बाजिरहेका पनि देखिन्थे । कोहीकोही काम सकेर निस्कंदै गरेका थिए भने कोहीकोही “आज पनि काम नहुने भो” भन्दै निराश भएर घरतिर फर्कंदै गरेका देखिन्थे ।

बाटोमा हिंड्नेसम्म ठाउँ थिएन । मान्छे हिंड्ने बाटोभरि मोटर साइकिल/साइकिल तेर्सो पारी पार्क गरिएको थियो । त्यही पार्क गरिएको मोटर साइकिल/साइकिलका बीच चेपिंदैचेपिंदै हिंडिरहेका देखिन्थे केही मान्छेहरू । भित्र टहरोमा ठाउँठाउँमा लेखापढी गर्ने प्रतिनिधिहरूका ससाना नाम लेखिएका साइनबोर्डहरू झुन्डिएका थिए । त्यही झुन्डिएका साइनबोर्डहरूमध्ये एउटा साइनबोर्डमा लेखिएको थियो – मुन्सी – श्यामदयाल यादव ।

उनले माइलीलाई त्यही मुन्सी – श्यामदयाल यादव लेखिएको साइनबोर्डतिर हात समाई डोर्‍याउँदै लिएर गए ।

उनलाई जबजब जग्गाको काम पर्छ त्यहीं आएर यिनै श्यामदयाललाई नै सबै काम जिम्मा लाउने गर्छन् । तिनी उनका बाउबाजेदेखि नै लेखापढी गर्ने एक मात्रै बिस्वासिला मुन्सी हुन् । तिनी अहिले माइलाका स्व. पिताभन्दा पनि बूढा भएका छन् ।

उनले झोलाबाट सबै कागजात, नागरिकता, फोटो र लालपुर्जा निकाली  सुकुलमाथि बिछ्याएको तन्नामाथि राखे ।

“योयो नं. का कित्ता गरी जम्मा ६ बिघा खेत मेरी पत्नी पूर्णिमा रानाको नाममा (बकस पत्र) गरिदिने ।” उनले लालपुर्जा खोलेर श्यामदयाललाई कित्ता देखाउँदै भने ।

यो सुनेर माइलीले उनको मुखतिर पुलुक्क हेरिन् र तीनछक परिन् । उनी न दुःखी भइन् न त खुशी नै । के हो ! के हो ! उनी रनभुल्लमा पर्नु परिन् ।

“माइलाका मनभित्र के उम्ल्याछ हँ ? यिनले के गर्न खोजेका हुन् कुन्नि ।” मनमा यस्तैयस्तै सोचेर माइली केवल टोलाइरहिन् ।

श्यामदयालका चेला बिरुले लालपुर्जा र पूर्णिमा रानाको नागरिकता हेर्दै नेपाली कागजमा सबै बेलिबिस्तार लाई एकभरले भर्न थाले । भरिसकेपछि सबै कागजात बोकी उनी माथि उक्लिए । माइला पनि माइलीको हात समाउँदै बिरुपछिपछि लागे ।

बाहिर बरन्डामा थुप्रै मान्छेहरू बेन्चमा बसी आराम गरिरहेका थिए । उनीहरू पनि खाली भएको बेन्चमा एक छेउमा गएर थपक्क बसे ।

बिरुले ५ नं. को कोठामा सबै कागजात बुझाए । कागजातको प्रक्रिया तीव्र गतिमा अघि बढ्यो ।

करीब दुई धन्टापछि उनीहरूलाई सही छाप गर्न भनी भित्र बोलाए । उनीहरू दुवैजना भित्र गए र दायाँ र बायाँ बूढी औंला समाई उनीहरूबाट सही छाप लगाइयो । लालपुर्जामा पनि पूर्णिमा रानाले सहीछाप गरिन् ।

“लौ, काम सकियो हजुर ।” बिरुले माइलालाई लालपुर्जा हातमा थमाउँदै  भने र तल झरे ।

र्‍वाले माइला र पूर्णिमा राना पनि बिरुपछिपछि लाग्दै तल ओर्लिए ।

उनले मुन्सी – श्यामदयालका काम गरेका ज्याला र कार्यालयभित्रका करसर सबै गरी चार हजार पाँचसय रुपियाँ एकमुस्ट उनलाई खनखनी गनेर बुझाए ।

अब माइली माइलीबाट पूर्णिमा राना ६ बिघा खेतकी धनी भइन् । तर उनलाई भने बेमज्जा लाग्यो । तिउनमा नुनै हाल्न बिर्सिएजस्तो उनलाई खल्लो न खल्लो लाग्यो ।

उनले अझै पनि माइलाले के गरेका हुन् भन्ने बारेको कुनै सुइँकोसम्म थाहा पाउन सकिनन् । उनी अझै पूर्णरूपमा अन्यौल्मै रहिन् । कागलाई बेल पाक्यो कुनै हर्ष न बिस्मात । उनलाई ६–६ बिघा खेतका लालपुर्जा ठ्याक्कै यही बेलझैं लाग्यो र आफू ठ्याक्कै काग । उही काग र बेल । बेल र काग । काग र बेल ।

* * *

सातौं रातपछि –

जग्गा पास गरेको सातदिनपछि पूर्णिमा राना बिहान ब्युँझिएपछि एक्कासि अरल्लिइन् । बिछ्यौनामा माइला थिएनन् । माइलीले योभन्दा पहिला यसरी उनी बिछ्यौनाबाट एकाएक हराएका कहिल्यै चाल पाएकी थिइनन् । उनको सातोपुत्लो एकैसाथ उड्यो ।

उनी हतारहतार बुइँगलबाट तल सिकुवामा झरिन् । उनले आँगन, घर, खेत, गोठ र गाउँ सबैतिर खोजिन् तर उनलाई कतै पनि भेटिनन् ।

एकान दोकान गर्दै माइला बिछ्यौनाबाट एकाएक हराएको खबर खर घारीमा आगो सल्किएजस्तै गरी पूरै गाउँभरि सल्किंदै गयो ।

उनी निराश भई घर फर्किन् । फेरि चोटामा उक्लिन् र सुत्ने कोठामा छिरिन् । केही चिठीसिठी लेखेर छाडेका कागज भेटिन्छन् कि भनेर बिछ्यौना र तन्ना झारिन् तर पनि केही भेटिनन् । सिरानी ओल्टाईपल्टाई गरिन् तर पनि केही भेटिनन् । सिरानीको खोलभित्र पनि केही छन् कि भनेर उनले खोलभित्र हात घुसारिन् । खोलभित्र भने एउटा “खामभित्रको चिठी” भेटिन् । उनले खामलाई खोली हेरिन् । खामभित्र एउटा मोडेर राखिएको चिठी भेटिन् । उनले त्यही चिठीलाई खोलेर पढ्न थालिन् ।

 

मेरी प्यारी पूर्णिमा,

तँमा एक अङ्गालो माया र आशीर्वाद ।

तँ ब्यानै ब्युँझिदा बिछ्यौनामा मलाई नदेखेर अरिल्लिन्छेस् होली । तेसरी तँ नअरल्लिनू । म लामो समयको लागि तीर्थयात्रामा हिंडेको छु । यस्तो तीर्थयात्रा जाँ पुग्नलाई मलाई मेरो सिङ्गै एक जीवनको समय लाग्छ । त्यो लामो समय कति मिनेट्, कति घन्टा, कति दिन, कति हप्ता, कति महिना र कति सालको हुन्छन्, त्यो मलाई नै था छैन । यत्ति बुझ्नू, त्यो लामो समय भनेको साँझमा भाले बास बसेजस्तो होइन पूर्णिमा । यसरी पनि बुझ्नू तैंले, घाटमा पुगेको मुर्दा घर फर्की कैल्यै आउँदैन ।

म जाँ हुनेछु, तैंसँग हुनेछु र तेरै मनभित्र हुनेछु । आफ्नै खेतबारी, घराँगन, तँ र तँलाई माया गर्ने चक्रेको रखवारी गरिरहेको हुनेछु । आज म तँलाई मेरो नामको सिन्दूर लाउनबाट मुक्त गदर्छु । सिन्दूर एक पुरुषत्व भएको पतिको पत्नीले लामो आयुको लागि लाउने गर्छिन् । तर म पुरुषत्व भएको पति तेरो लागि कैल्यै हुनै सकिनँ ।

मेरो नामको सिन्दूरको कारण तँ जैल्यै कैदीजस्ती भई बाँधिनुु परेकी थिइस् । अब तैंले बाँधिनु पर्दैन । तैंले अब समाजको डर, घिन, घर, गाउँ र माइतीका मानमर्यादाका साङ्ला चुडाल्नुपर्छ । म जन्मिंदै नपुंसक भएर जन्मिएँ, यो मेरो दोष थिएन । म भगवान्‌लाई पनि दोष दिन्नँ । म यसरी नपुंसक भएर जन्मनुको पनि कुनै कारण हुन सक्छ । हरेक सृष्टिका आआफ्नै कारणहरू हुन्छन् । विनाकारण कुनै चीजको सृष्टि हुँदैन ।

यत्ति बुझ्नू पूर्णिमा तैंले, तेरो, मेरो र चक्रेको एकसाथ भेट हुनु पनि यो म यौटा ठूलै कारण देख्छुु । तैंले छिटो नै चक्रेलाई बाउ बन्ने मौका दिनू । अब यौटै विकल्प छ हाम्सँग जो चक्रेको मायाद्घारा तेरो गर्भ भरिने छ र त्यै गर्भमा हुर्कने छोराछोरी नै हाम्रा वारिस हुनेछन् । म दिनदिनै पिरोली बस्थें वंश धान्ने वारिस मैले तँलाई दिन नसकेकोमा । तैंले चक्रेलाई धेरै माया गर्नू र लोग्नेको दर्जामा राख्नू । चक्रे नै तेरो लागि उपयुक्त पुरुषत्व भएको लोग्ने हो ।

मैले तेरो नाममा ६ बिघा खेत नामसारी गरी दिनुको कारण, तँ यस गाउँमा बस्दा समाजबाट तँलाई आफू अपमानित भएकी अनुभूति भएर आयो भने कुनै पनि बेला तेरो नामको खेतबारी बेचेर अन्तै कैं बसाइँ सर्नू । म तेरो साथमा बसेर पनि तँलाई लोग्नेको माया दिन नसकेकोमा म माफी चाँहन्छु । मलाई माफ गरिदिएस् पूर्णिमा । मेरो नाउँमा रहेको त्यो एक बिघा खेत पनि राम्ररी कमाई खानू ।

तैंले यत्ति बुझ्नू, कुनै दिन, कुनै महिना र कुनै साल कुनै साधुसन्त आएर “मलाई शिव भगवान्‌को नाममा मन्दिर बनाउन जग्गा दान देऊ” भन्यो भने त्यै मेरो नामको जग्गा मन्दिरलाई दान गरिदिनू ।

बुझ्नू तैंले, त्यो साधुसन्त तेरै बिछ्यौनाबाट एकाएक हराएका तैरै र्‍वाले माइला हुन् भनेर ।

अब म ढुक्क छु, जब तैंले मेरो यो “खामभित्रको चिठी” पढ्नेछेस् । तैंले सबै कुरा सम्झीबुझी बुद्धिले काम लिएस् र शीघ्र नै वारिस जन्माएस् । जुन वारिस हाम्रा घराँगन घुमूनडुलून् र धनसम्पत्तिका उत्तराधिकारी सधैं बनिरहून् ।

आशा गर्छु, कैं मेरो अर्को जन्म भएछ भने, म पूर्ण रूपमा तेरै चक्रे भएर जन्मिने छु । तैंले यसरी पनि बुझ्नू । शायद, ऐलेको तैंले माया गर्ने चक्रे पुनर्जन्म भई जन्मेको म नै त्यो चक्रे हुँ ।

उही तँलाई माया गर्ने तर भगवान्‌ले पुरषत्व खोसेको अभागी अयोग्य तेरो लोग्ने ।

खिलबहादुर र्‍वाले (र्‍वाले माइला)

* * *

पूर्णिमाले चिठी पढिसकेपछि चिठी छातीमा अँगाली एक्कासि भुतुक्कै भई डाको छोडी ह्वाँह्वाँ रुनसम्म रोइन् । उनले निमिषमै चक्रेमा माइला देख्न थालिन् र निमिषमै माइलालाई चक्रे देख्न थालिन् । उनी बरफ भएकी थिइन् माइलाप्रति तर उनको न्यानो स्नेहले भरिएका चिठीले उनी पानीपानी भई पग्लिन् ।

उनलाई लाग्यो, माइला साथमा भएका भए खुट्टा समाती माफी माग्ने थिएँजस्तो । उनलाई लाग्यो, माइला भएको भए, छातीमा अँगालीरहुँजस्तो । तर अफसोच ! उनी थिएनन् त्यहाँ, मात्र उनले उनको चिठी छातीमा माइला सम्झी टाँसिन् र फेरि अनायासै भुतुक्कै भई डाको छोडी रुनसम्म रोइन् ।

* * *

पचास वर्षपछि –

र्‍वाले माइला हराएका पचासवर्ष बितिसके । तर पूर्णिमा अझै फर्केर आउलान् भनेर बाटो कुरिरहेकी छिन् । उनी आफू पनि अहिले पूरै असी वर्ष पुगिन् । उनका कपाल पूरै काँसजस्ता सेतै भएर फुलेका छन् । आँखा पनि धमिला भएका छन् र उनी त्यति राम्ररी देख्दिनन् पनि । चक्रेबाट जन्मिएका चारचार भाइ छोराहरू पनि सबै अधबैंसे  भैसकेका छन् ।

माइलाले चिठीमा आशा गरेजस्तैस् नातानातिनीले घर आँगन सबै हराभरा भई भरिएका छन् तर पूर्णिमा कत्ति पनि खुशी छैनन् । उनका आँखामा नै माइला बसेका छन् । उनको मुटुमा नै माइला बसेका छन् । चौतारोको पीपलको पात भुइँमा खस्दा पनि उनलाई माइलाकै चाल हो कि जस्तो लाग्छ ।

चक्रे भने रोग लागेर मरेका पाँच वर्ष भैसके । तर उनले भने माइलाकै नामका सिन्दूर लाइरहिन् पहिले पनि र अहिले पनि लाइरहन्छिन् ।

आफ्नै घरछेउको पीपल चौतारोमा उनी बिहानैदेखि माइला आउँछन् कि भनेर सधैं एकोहोरो कुरिरहन्छिन् ।

तर उनी अझै फर्केनन् । उनलाई लाग्यो, अब माइला कहिल्यै फर्किंदैनन् ।

एक्कासि उनको मनमा एउटा विचार टुसायो र मनमनै भनिन्, “माइलाका सम्झनामा शिव मन्दिर बनाइदिन्छु र उनका नामका एक बिघा खेत त्यही मन्दिरलाई नै दान गरिदिन्छु ।”

उनले त्यो एक बिघा खेतमा शिव मन्दिर निर्माण गर्न लगाइन्  । मन्दिरको पश्चिमपट्टि पित्तलको नन्दी (बसाहा) बसाल्न लगाइन् । मन्दिरका चारैतिर परिक्रमा गर्नलाई बाटो बनाउन लगाइन् । ठाउँठाउँमा घन्टी झुन्ड्याउन लगाइन् । चारैतिर फूलफलेत र रुद्राक्षका रूखहरू रोप्न लगाइन् ।

मन्दिर निकै सुन्दर देखियो र गाउँका केटाकेटीदेखि लिएर बूढाबूढी सबैजना त्यही शिव मन्दिरमा आएर पूजापाठ गर्न थाले ।

* * *

६ महिनापछि –

मन्दिर बनेको ठीक ६ महिनापछि माइला पूरै कषाय वस्त्रमा काँधमा झोलाभिरी लामालामा दाह्री, लामालामा जट्टा परेका कपाल र खुट्टामा खराउ लगाई चिम्टा बजाई मन्दिरभित्र प्रवेश गर्दै गरेका पूर्णिमाले राती सपनामा देखिन् ।

उनलाई लाग्यो, शिव मन्दिरभित्र उनकै र्‍वाले माइला बास गरेका छन् ।

उनले मनमनै भनिन्, “र्‍वाले माइला कहीं कतै नभएर उनी मेरै मनभित्र बास बसेका छन् । उनी मेरै वरिपरि छन् । उनी यही शिव मन्दिरमा शिवका रूपमा मलाई हेरिरहेका छन् ।”

(राजबाबु श्रेष्ठको कथासंग्रह ‘फिर्दोषको साँचो’बाट)