 
			
			
			
			
			
			‘पापा ! स्कूल जान लेट भ, जल्दी कपाल कोरिदिनु न !’ काइँयो हातमा बोकेर पाँच वर्षे नन्दी उसको पापाको अगाडि उभिई ।
नन्दीका पापा मनबहादुर भिडियो कलमा व्यस्त छन् । ऊ मणिपुर राज्यको पश्चिम दिशामा पर्ने नेपाली गाउँ लौरुकका वासी हुन् । पेसामा ऊ टाइल्स मिस्त्री हुन् । महिनामा बीसदेखि तीस हजारसम्म कमाउँछन् । ऊसँग उनकी छोरी नन्दी र वृद्ध भएकी आमा साथ बस्छन् । बेस्सरी दुखेर आमाले ओछ्यान समातेको दुई वर्ष बित्यो । उनकी अर्धाङ्गिनी नैना इजरायल छिरेको भर्खरै सात महिना मात्र हुँदैछ । दम्पतीको विवाह भएको सात वर्ष बितिसक्यो । सन्तानको रूपमा नन्दी मात्र एउटी छोरी छे । दोस्रो सन्तानका लागि निकै प्रयास गरे तर भगवानले आशीर्वाद प्रदान गर्न रुचाएनन् । हार खाएपछि यसै छोरीलाई हुने बनाउनु पर्छ भनी दुवै कसिएका छन् ।
छोरी नन्दीको कपाल कोरिदिने कुरा सुनेर भिडियो कलमा बोल्दै गरेकी नैनासँग बिदा माग्दै भने, ‘अहिले राखें, छोरीको कपाल कोरिदिनु पर्यो । तँलाई भरे कामबाट आएर कल गर्छु । छोरीलाई स्कूल जान लेट भइसक्यो ।’
मनबहादुरले भिडियोकल काटेर मोबाइलमा समय हेरे अनि आत्तिँदै भने, ‘लौ, स्कूल जान ढीला भइसकेछ छोरी ! स्कूलको घण्टी बज्न पन्ध्र मिनट मात्र रछ !’
छोरीले भनी, ‘तै र त, अघिबाट कपाल कोर्दिनु भनेको । मेरो सूज पनि कता छ, भेटिनँ ।’
मनबहादुरले झर्किएको भावलाई दबाएर भुत्भुताए, ‘नन्दी तेरो यो कपालले पनि दिनै स्कूल जान लेट गर्छ । आफूलाई मजाले बाट्न पनि आउँदैन । हिन् तल बजार, दिनै स्कूल जानका लागि ढिलो गर्ने कारणको उपाय गरौं ।’
‘अनि पापा स्कूल न जानूँ ?’ छोरीले उत्सुकतासँग सोधी ।
‘आज पर्दैन, भोलिबाट जानू । आज तेरो छुट्टी, मकई भुट्टी !’
छुट्टीको कुरा सुनेर नन्दीको सुन्दर अनि उज्यालो अनुहारमा थप रङ चढ्यो ।
‘तर पापा, मेडमले पनिस् गर्नुहुन्छ होला !’
‘केही भन्नुहुन्न । मलाई कल गर्नुभयो भने सञ्च छैन भन्दिन्छु ।’
‘ओके पापा !’ भनेर नन्दी उफ्रिंदै भित्र हजुरआमाको कोठातिर पसी । सयारी वर्षकी हजुरआमा बादको बिमारले कुँजिएर थला परेको दुई वर्ष भयो । घरमा बुहारी नहुँदा सानोतिनो काम गर्ने उनको हुती छैन । भित्र-बाहिर गर्न पनि छोरा मनबहादुरको सहायता लिनुपर्छ । सात महिना अगाडि बुहारी इजरायल जाँदा आमा र छोरीको हेरचार गर्ने घरमा एउटी केटी चाँडै राख्नुपर्छ भनेकी थिइन् । मनबहादुरले निकै केटी खोजिहेरे तर अझै फेला पार्न सकेका छैनन् ।
. . . .
छोरीलाई स्कूल छाडेर मनबहादुर घरतिर लाग्दै थिए, बाटोमा लोकेश बद्रीसँग जम्काभेट भयो । मनबहादुरले स्कुटीलाई ब्रेक दिए ।
‘नमस्ते लोकेश दा ! अनि सञ्चै हुनुहुन्छ ?’
‘नमस्ते ! नमस्ते ! म सञ्चै छु । तिम्रो सुनाऊ ?’
‘म पनि सञ्चै छु । छोरीलाई स्कूल छोडेर आएको । अनि साँच्चै ! घर सिद्धयाइसक्नु भयो ?’
‘अँ, अब सकियो भन्दा भयो । दोस्रो तल्लाको बिजुली र फर्निचरको काम रहेको छ । अबको महिना सिद्धिन्छ होला !’
‘ए ! सक्किहालेछ त । भाउजू इजरायल गएको दुई वर्षमै घर बनाइसक्नु भयो । अबका पैसा कहाँ राख्नुहुन्छ हौ दा !’ भन्दै मनबहादुर हाँसे ।
लेकश बद्रीले पनि मनबहादुरको हाँसोमा आफ्नो हाँसो थपे अनि जुँगा बटार्दै भने, ‘हैन पैसा कतै थोर हुन्छ र ? पलटनबाट आउँदा पाएको सबै रकम श्रीमतीलाई इजरायल पठाउँदा लगाएको छु । छोरो जवान भएको छ, दुई महिनादेखि रोयलइनफिल्ड बाइक भनेर हत्ते गरिराखेको छ । छोरीले आइफोन-फिफ्टिन मागेर दिक्क लगाएकी छे । अर्को महिना दुवैको डिमान्ड पूरा गर्नु छ । तिमी नै भन इजरायलमा श्रीमतीले कमाएको त्यति दुई लाख पैसा धेर हुन्छ ?’
दुबै फेरि एकछिन गाला रातो हुनेगरी हाँसे ।
फेरि लोकेश बद्रीले सुस्तरी भने, ‘साँच्चै, हिजो मैले दिएको नम्बरमा कल गरेउ उसलाई ?’
मनबहादुर लोकेश बद्रीको छेउमा गए अनि फुस्फुसाउँदै भने, ‘अँ, हिजो राति गरेको थिएँ । घरमा कोही नभएको बेला बोलाउनु भनेकी छे । अनि काम हुनु अघि नै पैसा दिनुपर्छ रे !’
लोकेश बद्रीले पनि फुस्फुसाउँदै जवाफ फर्काए, ‘यसको बारेमा मैले हिजै जनाएको थिएँ त ! ल त, होसले काम लिनु । इन्जोय गर !’
‘हुन्छ दा । म घरतिर लागें । आमालाई खाना दिएर काममा जानु छ । वाइफलाई पठाउँदा लोगेको रिन तिरी नसकुञ्जलेसम्म त दिनै काम गर्नुपर्यो नि दा ! अब अर्को साल काट्टीकुट्टी तपाईँकै जस्तो बिल्डिङ्ग ठोक्नु छ ।’ भन्दै मनबहादुर फेरि गलल हाँसे ।
‘ल है ल ! जल्दी नै तिम्रो इच्छा पूरा होस् ! म पनि लागें, इम्फाल जाने काम छ ।’
. . . .
नन्दी कक्षा एकमा पढ्छे । उसको स्कूल घरदेखि झन्डै पाँचसय मिटर टाढा पर्छ । स्कूलको नाम मेरी इङ्गलिश हाइ स्कूल । अरू दिनभन्दा आज नन्दी दश मिनट अगाडि नै स्कूल पुगी । कक्षामा पसिसक्दा नन्दीलाई हेरेर सबै साथी गललल हाँसे ।
ईशाले भन्नी, ‘ला ! नन्दीको कपाल हराएछ । सा…नो भछ ।’ भनेर खितिति हाँसी ।
दिप्तीले भनी, ‘नन्दी त आजबाट केटा भई । अब केटासित बस्छे ।’ भनिसकेर नन्दीलाई गिज्याउँदै हिँहिँहिँ हाँसी ।
यतिमा कक्षाको मोनिटर छेउमा आयो अनि आदेश दिँदै भन्यो, ‘डोन्ट नेपाली टक । आई कम्प्लेन मेडम ।’
दुवैले एकैचोटि भने, ‘ओके !ओके ! सरी ।’
लजाएर अनुहार रातो भएकी नन्दीले भनी, ‘नहाँस, मेरो पापालाई आउँदैन कपाल कोर्न अनि मेरो कपाल कोटेको । मम्मी आएपछि कोरिदिनु हुन्छ । तेरो पनि त पापा इजरेलमा हुनुहुन्छ, तँलाई स्कुटीमा छोर्नुहुन्छ स्कूल ? मेरो पापाले मलाई डेली स्कुटीमा लाइदिनु हुन्छ ।’
मोनिटरले नेपालीमा बोलेको सुनेर फेरि भन्यो, ‘यू स्पीक नेपाली । आई गो टू मेडम एन्ड कम्प्लेन ।’ भन्दै ऊ प्रिन्सिपलको कार्यालयतिर हिंड्यो । नभन्दै प्रिन्सिपल मैडम कक्षा बाहिर भेटिइन् ।
‘गुड मोर्निङ मेडम ! नन्दी, ईशा एन्ड दिप्ती….’ यति भनेर मोनिटर अड्कियो ।
प्रिन्सिपल – ‘वेरी गुड मोर्निङ रोहन ! टेल मी, वाट हेपन्ड ?’
रोहनले भन्यो, ‘मेडम, नन्दी, ईशा एन्ड दिप्ती नेपाली स्पिकिङ ।’
‘ओके, गो एनटू यर क्लासरूम एन्ड ब्रिङ देम हेयर ।’
मैडमलाई कम्प्लेन गरेर रोहन खुशी भयो । ‘यस मेडम’ भन्दै खुरुरु कुदेर आफ्नो कक्षातिर पस्यो ।
प्रिन्सिपल, यशोदा राईले मेरी इङ्लिश हाइ स्कूलको प्रिन्सिपल पदको कार्यभार लिएको तीन वर्ष पुग्यो । यो स्कूल उनका बाबा खगेश्वर राईले चालिस वर्ष अगाडि शुरू गरेका हुन् । उनको पाँच वर्ष अगाडि अकस्मात् निधन भएपछि यशोदा राईले बाबाको थातीलाई अगाडि बढाउँदैछिन् । बाबा खगेश्वर राई समान ऊ स्कूलको विकास, अनुशासन, शिक्षा र नियमप्रति सजक एवम् इमानदार छिन् । मणिपुरदेखि दश वर्षसम्म बाहिर गुणात्मक शिक्षा अर्जन गरेको हुनाले ऊ आफ्नो दायित्वप्रति सजक छिन् । मणिपुर बाहिर उनले सिकेका र देखेका विभिन्न शिक्षा सम्बन्धि कुरालाई ध्यान दिन्छिन् । गाउँले विद्यार्थीहरूको व्यवहार, सोच, गुण एवम् क्षमतालाई विकसित अनि अग्रणी बनाउन स्कूलमा काउसिलिङ, प्रार्थना सभा, वर्कसप जस्ता अरू धेरै कार्यक्रमहरूको आयोजना गरिरहन्छिन् । ऊ अति दूरदर्शी एवम् समर्पित प्राधानाचार्य हुन् जसको कार्यशैली र समर्पण देखेर सबैजना स्वर्गीय खगेश्वर राईसँग तुलना गर्छन् ।
केही क्षणमा रोहन, ईशा, दिप्ती र नन्दी यशोदा राईको सामु आइपुगे । नन्दी तीनजना साथीको पछाडि उभिई । आइसक्दा ईशा र दिप्तीले एकैचोटि भने, ‘सरी मेडम, नाउ नो नेपाली स्पीक ।’
यशोदाले औंलो ठड्याउँदै भनिन्, ‘ओके, फ्रम नाउ ओन, डोन्ट स्पीक इङ्गलिश इन स्कूल ! अदरवाइस् आई विल गिभ स्ट्रिक पनिस्मेन्ट ।’
ईशा र दिप्तीले ‘ओके मेडम’ भनेर जवाफ फर्काए ।
रोहन, दिप्ती र ईशा आफ्नो कक्षातिर लागे । नन्दी त्यहीं उभिरही । यशोदा राईले सोधिन्, ‘वाट हेपन्ड नन्दी ? आर यू ओके ?’
नन्दीले केही भन्न सकिन । उसका आँखाबाट आँसु खसिरहेका छन् । स्याँक्स्याँक् रोएको आवाज आउन लाग्यो ।
यशोदा राईले भनिन्, ‘के भयो नन्दी ? मलाई नेपालीमा नडराई भन ।’
नन्दी झन् रुन लागी ।
‘नरोउ नानी । आऊ मेरो अफिसमा जाऔं । म तिमीलाई चकलेट दिन्छु ।’
यशोदाले नन्दीलाई हात समातेर आफ्नो अफिसमा लगिन् । कुर्सीमा बसाइन् । पानी पिलाइन् । दराजबाट चकलेट निकालेर दिइन् । नन्दी अब खुशी देखिई ।
यशोदा राईले उसको गालामा मायाले स्पर्श गरिन् अनि सोधिन्, ‘अब भन, के भयो तिमीलाई ?’
नन्दीले चकलेट खोल्दै भनी, ‘मेम, ईशा र दिप्तीले मेरो कपाल हेरेर मजाक उराए !’ यति भनी सकेर नन्दीले आफ्नो ठुटे कपाल छामी ।
यशोदाले ढाडस दिँदै भनिन्, ‘ओहो ! यू लुक गुड नन्दी ! तर तिम्रो कपाल कसले काटिदियो ?’
नन्दीले चकलेट खाँदै भन्न लागी, ‘मेडम, पापालाई कपाल कोर्न आउँदैन, स्कूल आउन लेट हुन्छ अनि हिजो मेरो कपाल हजमलाई काट्नु लगाउनु भयो । फेरि लामो हुन्छ, मम्मीले इजरेलबाट आएपछि बाटिदिनु हुन्छ ।’
‘ओके, अलराइट ! डोन्टवरी, अबबाट ईशा र दिप्तीले जिस्काउँदैनन् । आई विल स्कोल्ड देम । टेल मी, तिमीलाई तिम्रो मम्मीको याद आउँदैन ?’
नन्दीले पहिले ‘अँ’ को सूचकमा टाउको हल्लाइ अनि फेरि भनी, ‘आउँछ मेम । म रुन्छु पनि । पापाले भन्नुभको मम्मीले धेरै पैसा कमाएर आउने अरे अनि मलाई नयाँ लुगा, खेलौना पनि ल्याइदिने रे !’
यशोदा राईले नन्दीलाई अँगालो मारिन् अनि गालामा मोइँ खाइन् । एसेम्ब्लीको घण्टी बज्यो । घण्टीको आवाज सुनेर यशोदा राईले भनिन्, ‘ओके नन्दी, यू मे गो नाव फोर असेम्ब्ली ।’
‘ओके मेम !’ भन्दै नन्दी असेम्ब्लीका लागि अफिसबाट निक्ली ।
. . . .
एक महिना बित्यो ।
मनबहादुर बिस्तारामा लडेर उनकी श्रीमती नैनासँग भिडियोकलमा व्यस्त छन् । नन्दी हजुरआमासँग निदाइसकी ।
‘अनि, घरको याद कतिको आउँछ ?’
‘किन नआउनु ? म यता भए तापनि मन त्यतै डुलिरहन्छ । अब चाहिं नन्दीको कपाल नकाटिदिनु है ! सुहाएन । अल्छी नमानी एक हप्तासम्म मजाले कोरिदिनु भयो भने कपाल बाट्न सिकिहाल्नु हुन्छ ।’
‘यो छोरी मान्छेको कपाल बाट्ने काम मलाई अल्छी लागेर आउँछ । अनि छोरीको कपाल नकाटी हुन्छ त ! पछि तँ आएपछि लामो राखिदिनु ।’
‘अँ, हो नि ! घर बनाएको छैन । घर बनाएपछि टाइल्सको दुकान खोल्ने तपाईंकै इच्छा हो । कार किन्ने भन्नु हुँदैछ अनि अरू कति छन् छन् साँचेका कुराहरू । मैले अझै छ-सात वर्ष बस्नुपर्छ होला । कतै, अहिले नै अल्छी लाग्यो भनेर हुन्छ ?’
मनबहादुरले बीचमै कुरा काटेर भने, ‘सुन्, लोकेश दाइको कल आयो । अहिले राखें, भोलि कल गर्नु ।’
मनबहादुरले लोकेश बद्रीको कल उठाए ।
‘हजुर दा ! कसरी यति राति सम्झिनुभयो ?’
‘भोलि बोलाएका छौ रे ?’
‘हो दा ! छोरी भोलि मावल बिहानै मामासँग जाँदैछे । पर्सि आउँछे । यही समय सेफ लागेर भोलि बेलुका आउनु भनेको छु ।’
‘ल ल ! होसले है ! फेरि कुरा बित्ला नि ! हामी अर्को महिना नयाँ घरमा सर्ने योजना बनाउँदैछौं । नभए मेरो नयाँ घरमा लिएर जानू । कसैले थाह पनि पाउँदैनन् ।’
‘यो ठीक हुनेछ । धन्यवाद दा ।’
‘गुड नाइट ।’
‘गुड नाइट दा !’
. . . .
यही समय यता यशोदा राई बिस्तारामा पल्टिरहेकी छिन् । ऊ उदास छिन्, चिन्तित छिन् । हालैमा उनका निदारमा बनिन थालेका झुरीहरूले अहिले आकार बाक्लो लिएका छन् । उनका श्रीमानले पढ्दै गरेको पुस्तकलाई बन्द गरेर म्याजमा राखे अनि पल्टिंदै यशोदालाई सोधे, ‘अनि आज यति टेन्शनमा किन ?’
‘त्यस्तो विशेष चिन्ता केही लिएको हैन तर मलाई इजरायल जाने परिवारका नानीहरूको कन्डिशन देखेर धेरै टेन्शन लाग्छ । अस्ति भनेकी थिएँ त नन्दीको कुरा ?’
‘अँ, भनेकी थियौ ।’
‘नन्दीजस्ता प्रत्येक क्लासमा कमसेकम चार-पाँच जना विद्यार्थी छन् । पेरेन्ट्स इजरायल गएर ढुक्क छन् । उनीहरूलाई लाग्छ पैसा पठाएपछि नानीहरूको पढाइ राम्रो हुन्छ, लाइफ ब्राइट हुन्छ तर जसका आमा विदेश लागेका छन् यता नानीहरूका बाबाले छोरीका कपाल ठुटै पारेर काटिदिन्छन्, स्कूल ड्रेस, व्याग मइलै लिएर आउँछन्, नङ नकाटेर कालै पारेका हुन्छन् भने कोही भोकै स्कूल आउँछन् । यसरी नानीहरूको पढाइ कसरी राम्रो हुन्छ ? पढाइले मात्र कहाँ हुन्छ ? अनुशासन, संस्कार र नैतिक कुरा सिकाउन स्कूलको भन्दा आमा-बाबाको रोल ठुलो हुन्छ । हो कि होइन, भन्नु त ? आमा-बाबा दुवैको साथ, स्नेह र मार्गदर्शन नपाई नानीहरूको मानसिक विकास र व्यवहारमा कसरी विकास हुन्छ ? सोची-सोची यी नै कुराले मलाई पिरोल्छ ?’
‘अँ, चिन्ताको कुरा त हो । अब हामीले के गर्न सकिन्छ र ? हामीले उनीहरूको पर्सनल लाइफमा इन्टरफेयर गर्न मिल्दैन तर हामीले काउसिलिङ्ग गर्न सकिन्छ ।’
‘काउसिलिङ्ग त सकेसम्म व्यक्तिगत रूपमा गरिरहेकी छु तर यसरी एक-एकजनालाई भनेर मात्र कसरी नानीहरूको पढाइमा पर्दै गरेको समस्यालाई रोक्न सकिन्छ र ? यो समस्या हाम्रो स्कूलका विद्यार्थीहरूको मात्र कहाँ हो र ? अरू स्कूलमा पढ्ने विद्यार्थीको पनि त यही समस्या छ । निडी फेमलीबाट विदेश जानु भनेको अर्कै हो तर छिमेकीभन्दा म धनी हुन्छु भन्ने नियतले घरमा बालख नानी छोडेर जानु कहाँसम्म उचित हो ?’
‘यसो गर न त, एक दिन स्कूलमा सबैलाई बोलाएर काउसिलिङ कन्फ्रेन्स अर्गनाइज गर ! केही अन्तर, प्रभाव देखिन्छ कि ?’
‘हुन्छ, तर यसरी बोलाएर भन्दा पर्सनल एटेक्ट गरेको जस्तो हुँदैन ?’
‘यो पनि सही कुरा हो । त्यसो भने यसो गर्दा हुन्छ होला; तिमी लौरूक सोसाइटी वेलफेयर की एडवाइजर हौ । अहिले सोसल मिडियाको जमाना हो । यो विषयमाथि एउटा इफेक्टिभ भिडियो बनाएर सोसल मिडियातिर अपलोड गर न ! यो विषयप्रति मान्छे अलिक जागरूक भए भने अनि अरू संस्थाबाट सहयोग पाइयो भने हामीले जागरूक अभियान पनि गर्न सकिन्छ ।’
‘यो आइडिया सही छ । चाँडै गर्नुपर्छ होला ।’
. . . .
दुई दिनपछि ।
बेलुकाको समय । मनबहादुर आफ्नो घरदेखि सय हात जति पर भिडियोकलमा चर्काचर्की कुरा गर्दैछन् । कहिले चूपो लाग्छन् त कति बेला ठूलो आवाजमा जवाफ फर्काउँछन् ।
‘तँलाई कसले आगो लगायो ? ममा विश्वास छैन र ? अरूका नहुँदा र टुङ्गा न फेदका कुरामा विश्वास गर्छेस् कि ममा ? कसैलाई हाम्रो उन्नतिमा आँखा लाग्यो होला अनि यसरी आगो लगाउँदै छ ?’
‘कुन कुरा आगो लगाएको हो अनि के कुरा सत्य हो ? म पनि बुझ्दछु । त्यही गर्न होला नि मलाई यहाँ पठाउन हत्ते गर्नु भएको ?’
‘हरे राम ! कसले यसको मनमा विष घोलिदियो ?’
दम्पतिको वार्तालाप बीच लोकेश बद्री लमक्लमक गर्दै आए । मनबहादुरले लोकेश आएको देखेर झट्टै फोन राखे । उनको अनुहारमा चिट्चिट् पसीना आउँदैछ । यता लाकेश बद्रीको अनुहारमा पनि बाह्र बजेको छ जसमा उदासी, निराशा र भयको त्रास देखिंदैछ ।
छेउमा आएर भने, ‘मनबहादुर ! मेरो त हुनुहार भयो ?’
मनबहादुर आफ्नै समस्याले डुबेका थिए अब अर्को दुखान्त खबर सुन्न जाँदैछन् ।
‘के भयो दाजु ?’ विस्मयतापूर्वक सोधे ।
‘के हुनु र भाइ, छोरी पोइला भागिछे ? भर्खरै सत्र वर्षकी हुँदैथी !’
‘ला ! हो र ? कहिले दा ?’
‘उसको फोन आएको आधी घण्टा हुँदैछ । फोन गरेर फलानासँग गएको जानकारी दिई अनि फोन च्वाट्ट काटी । अब मैले मीनालाई कसरी भन्नु छोरी भागी भनेर । दुवै छोरा-छोरीको स्याहरसुसार र हेरचार गर्छु भनेर उसलाई इजरायल जान उक्साएको थिएँ ।’
‘दाइ, आफूमा आइपरेको तपाईंले त सुनाउनु भयो, यहाँ मलाई झन् ठूलो आपतले समातेको छ । हिजो तपाईंको नयाँ घरमा त्यसलाई लिएर गएको कसैले देखेछ । देखे मात्र सञ्चै थियो नैनालाई थबक्कन सबै सुनाइदिएछ । अहिले नैनाले बाजो गर्दैछे । अबको रहेको ऋण तिरेर घर फर्किन्छु भन्दैछे । घर आए केही थिएन तर छुटाराम गर्ने धम्की दिंदैछे ।’
दुवै कुकुरले दुई किलोमिटर टोक्न खेदाइएका बालक जस्ता भएर हाँफिंदै एकअर्काको मुख ताकाताक गर्न लागे ।
यतिमै नन्दीले छेउमा आएर हजुरआमाको फोन मनबहादुरलाई दिँदै भनी, ‘हेर्नु न पापा ! यशोदा मेडमले भिडियोमा के भन्नुहुँदैछ !’
मनबहादुरले छोरीको हातबाट फोन लिए अनि छोरीले हेर्दै गरेको त्यही भिडियोलाई रिप्ले गरे ।
‘नमस्कार ! म यशोदा राई, लौरूक सोसाइटी वेलफेयरकी एडवाइजर । दुई कुरा गर्न, म तपाईं बीच आएकी हुँ । हाम्रो गाउँ लौरुकले तरक्की गर्दै छ । विद्यार्थी बाहिर गएर पढ्दै छन्, जब गर्दै छन् । सबैको फाइनेनसियल पोजिसन स्ट्रोङ्ग हुँदैछ । परिवारमा धेरै कुराको एवेरनेस् आइरहेको छ । सबैको लिभिङ्ग स्टेन्डर्ड बढ्दैछ । यी हाम्रो सोसाइटीका लागि एक्दमै राम्रा सङ्केत हुन् जसले उन्नति भएको, समाज अगाडि बढेको दर्साउँदैछ । तर म यहाँ विनम्रतासँग भन्न चाहन्छु; जरूरत हुनेलाई छोडेर विदेश पस्ने चलनले खासगरी नानीहरूको शिक्षामा निकै क्षति पुर्याउँदैछ । विदेश जाने क्रममा इजरायल जानेहरूको सङ्ख्या बाक्लो छ । इजरायल जानु, आफ्नो परिवारको आर्थिक स्थिति स्ट्रोङ्ग गर्नु राम्रो कुरा हो तर आफ्ना साना-साना नानीहरू छोडेर जाने परम्पराले नानीहरूको पढाइ र उनीहरूको मानसिक विकासमा धेरै प्रभाव परेको छ । म एउटी शिक्षिका भएको नाताले पनि यसको दुष्प्रभाव नजीकबाट हेर्दैछु । नानीहरूको मानसिक विकासमा, व्यवहारमा, ड्रेसअप ढङ्गमा, बोलीचालीमा धेरै नेगेटिभ परिवर्तन आएको छ । राम्रो शिक्षाका लागि जति रेस्पोन्सिबिलिटी टीचरहरूको हुन्छ उति नै पेरेन्ट्सको पनि हुन्छ । समाजमा यो विदेश जाने परम्परालाई हामीले मिलेर रोक्नुपर्छ । यस विषयमा तपाईँहरू राम्रोसँग विचार गर्नुहोस्, परिवारमा सरसल्लाह गर्नुहोस् । हाइ फैशनेबल लाइफभन्दा पनि क्वालिटेटिभ लाइफको महत्व बढी हुन्छ । तपाईंहरूले यो विषयमा सकारात्मक रूपले सोचविचार गर्न अति आवश्यक छ । अहिलेलाई यत्ति नै । नमस्ते !’
यो भिडियो सुनेर मनबहादुर र लोकेश बद्रीले एकअर्काको मुख हेराहेर गरे । दुवैको अनुहारमा पछुतोको भाव देखिन थाल्यो । केही नबोले पनि अनुहारको भाषाले बोल्दैछ, ‘जति थियो त्यतिमै सन्तोष गरेको भए अहिलो यो परिस्थितिमा पुगिंदैनथ्यो होला !’
दुवैको मौनतालाई तोड्दै नन्दीले भनी, ‘पापा, मम्मी पनि इजरायल जानु भको छ । मेडमले इजरेल नजानु भन्नु भ नि भिडियो म । अब मम्मी आउनु हुन्छ नि घर ?’
छोरीको कुराले मनबहादुरको निचोरिएको मनमा अझ आघात पुर्यायो । छोरीको शालीनता र मायाले भरिएको अनुहारमा मोइँ खाए अनि जवाफ दिँदै भने, ‘हो छोरी अब मम्मी चाँडै आउनुहुन्छ अनि इजरायल कहिल्यै जानुहुँदैन । अनि छोरीको कपाल पनि मम्मीले सधैं कोरिदिनुहुन्छ तबसम्म म सिकेर कोरिदिन्छु ल !’
बाबा-छोरीको स्नेही दृश्य देखेर लोकेश बद्रीको मन जो छोरी पोइला गएको पीडाले रुँदै थियो त्यस चोटिल मनमा झन् बज्र परेको जस्तो भयो । ऊ भावुक बने । आँखाबाट आँसुका थोपा झरे ।
उनले आँसु पुछेर भने, ‘मनबहादुर भाइ, म चैं के गरूँ ?’
‘हुन्छ पापा !’
‘के गर्नु र दा, अब छोरीलाई लिन जानुपर्छ । उसलाई राम्रोसँग सम्झाउनु पर्छ । हाम्रै लापरवाहले यस्तो भएको हो ? नानीहरूको बढ्दै गरेको उमेरमा बाबा-आमाको साथ र माया अति जरूरी हुँदोरहेछ, अहिले थाह लाग्दैछ’
‘त्यसै गर्नु पर्छ होला भाइ । म जान्छु अब छोरी लिन ।’
‘हुन्छ दा, म पनि जान्छु तपाईंसँग ।’
‘हुन्छ भाइ, थ्याङ्क्यू !’ भन्दै अँगालो हाले ।
. . . .
(बाह्रखरी कथा लेखन २०८१ प्रतियोगितामा उत्कृष्ट २५ मध्येको एक कथा !)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
 
					 
				 १४ कार्तिक २०८२, शुक्रबार
  
				१४ कार्तिक २०८२, शुक्रबार				

 




 
																	 
																	 
																	 
																	 
																	




