पाँच वर्षपछि घर हिँड्दा उसको मनमा अनेक प्रकारका कुरा खेल्दै थिए । लामो समय नभेटेका छोराछोरीको मायाले उसको मन अत्यासले पग्लिरहेको थियो । श्रीमतीको न्यानो स्पर्श नपाएको पाँच वर्ष पुगेको थियो । मन बेचैनीले हावामा उडिरहेको थियो । कल्पनाका अनगिन्ती मिठासले मन भरिएको थियो । मनमा एक प्रकारको छुट्टै उत्साह र उमङ्ग थियो ।
हावासँग पैठेजोरी खेल्दै आफ्नै रफ्तारमा जहाज आकाशमा उडिरहेको थियो । उडानभरि छोराछोरी र श्रीमतीका तस्बिर आँखा अगाडि नाचिरहेको थियो । कति बेला घर पुगौँला र परिवारलाई अँगालोमा बेरौला भनी उसको मन हतारिएको थियो ।
शर्मिलालाई घरमा छोडेर विदेश गएको यति लामो समयसम्म पनि उसले छोराछोरी घर व्यवहार धानेर बसेकी हुँदा शर्मिलाप्रति उसको गर्वले छाती फुलेर आयो ।
सुदर्शन प्रहरी सेवामा कार्यरत थियो । नेपालगन्जबाट जुम्ला सरुवा भएर गएको महिना दिनभित्र जुम्ला सदरमुकाममा विद्रोही पक्षको भीषण हमलामा परेर ठुलो भाग्यले बाँचेको थियो ।
जुम्ला घटनापछि सुदर्शन काठमाडौँ गएर केही समय जागिर खायो । पछि प्रहरी सेवाबाट उपदानमा निस्केर केही वर्ष नेपालगन्जमा सेक्युरिटी गार्डमा जागिर खायो । श्रीमती शर्मिलासँग सल्लाह गरेर सुदर्शन साउदी अरब गएको थियो । त्यहाँ एउटा कम्पनीमा सेक्युरिटी गार्डमा काम गरेको थियो ।
घरमा पुग्दा छोराछोरी र सासूआमालाई मात्र देखेर ऊ छक्क पर्यो । शर्मिलालाई नदेख्दा अचम्म मान्दै “आमा ! शर्मिला खोइ ?” भनेर सासूआमालाई सोध्यो ।
शर्मिला उपचारको लागि लखनउँ गएको कुरा सासूआमाले बताएपछि सुदर्शनको मनमा भूकम्पका धक्का जान थाले । शर्मिलासँग एकाएक मन कुँडियो । त्यो उत्साह, त्यो उमङ्ग क्षणभरमा शिथिल भयो । शर्मिला प्रतिको उसको विश्वास टुटेर गयो । आशा र भरोसाको दियो एकै झमटमा झपक्क निभ्यो ।
उसको मनमा खहरे खोला उर्लन थाल्यो । सास रोकिएला जस्तो भयो । दिउँसै अन्धकारले छपक्कै छोप्यो । मनभरि सँगालेर ल्याएका अनेकौँ खुसीहरू एकैपल्ट गाग्रीको पानी घोप्टिए झैँ सबै खुसीहरू निमेषभरमा घोप्टिए । जिन्दगीका सबै खुसीहरू लुटिएको आभास भयो उसलाई ।
छोराछोरीसँग बोल्न मन लागेन । कुनै न कुनै रहस्य नभई शर्मिला घर छोडेर हिँडेकी छैन । उसको मन झनझन शङ्कालु बन्दै गयो । छोराछोरीसँग केही बेर हाँसी खेले पनि उसको मनभित्र बेचैनीको खहरे भने उर्ली नै रह्यो ।
साँझको खाना पनि नखाई ऊ शर्मिला सुत्ने कोठामा गयो ।
पाँच वर्षपछि घरमा लोग्ने आउँदा श्रीमती नहुनु भनेको संयोग मात्र हो ? झन्झन् भयभीत हुँदै गयो । उसको ओठ सुक्का भयो । ‘ श्रीमतीले जानाजानी गरेको ठुलो धोका र बेइमानी हो ।’ भन्ने कुरा राम्रोसँग बुझ्यो ।
उसले श्रीमतीलाई साउदी अरबको एयरपोर्टबाट घर हिँड्न लागेको जानकारी गराएकै थियो । श्रीमान् विदेशबाट आउने दिनमा घरमा श्रीमती नहुनु भनेको ठुलै षडयन्त्र र रहस्यमय घटना ठान्यो उसले ।
सुदर्शन बिस्तरामा पल्ट्यो । निद्रा लाग्ने कुरै भएन । उसलाई छटपटीले छपक्कै छोप्यो । सिरानी होचो भएकोले अर्को सिरानी थप्न खोज्यो । यसो सिरानी उचाल्दा सिरानीमुनि खामबन्दी एउटा चिठी देख्यो । चिठी शर्मिलाको थियो ।
चिठी समाउने बित्तिकै उसको हंसले ठाउँ छोड्यो । मनमा शङ्का माथि शङ्काको कालो बादल मडारिन थाल्यो । सुदर्शनले लामो सुस्केरा हाल्यो । जगमा रहेको एक जग पानी घट्घट् पियो । उसको अझै तिर्खा मेटिएको थिएन । पानी पिएर भिजेको जिब्रो पनि झन्झन् सुक्का हुँदै गयो । चिठी खोल्न लाग्दा उसका हात थरथर काँप्न थाले । मुटुको धड्कन जोडजोडले बढ्न थाल्यो । लामो सास तानेर केही बेर मौन बसेर सुदर्शन टोलायो । उसले बिस्तारै चिठी खोलेर मनमनै पढ्दै गयो ।
० ० ० ०
प्रिय नानीका बुबा ।
तपाईँले साउदी अरबको एयरपोर्टबाट “शर्मिला म एयरपोर्टमा छु, आजै काठमाडौँ पुग्छु । भोलि प्लेनको टिकट मिले नेपालगन्ज घरमा पुग्दै छु ।” भनेर फोन गर्नु भयो । त्यसपछि मेरो होसहवास उड्यो । मनमा सन्त्रासको तरङ्गले छोप्यो ।
मलाई डरको मात्रा बढेर छिनछिनमा पिसाब लाग्न थाल्यो । मन भतभत पोल्न थाल्यो । त्यै जलनले मलाई भित्रभित्रै जलाएर खरानी बनाउन थाल्यो । एक्लै बरबराएँ । नान तरहका कुरा खेले मनमा ।
तपाईँ आउने कुराले ग्यासमा पकाउँदै गरेको खाना डढेर गनाउँदा समेत पत्तो पाइनँ मैले ।
तपाईँको पर्खाइमा लामो समय प्रतीक्षा गरेर बसेकी थिएँ म । तर तपाई घरमा आउने कुराले खुसी हुनु पर्नेमा, झन् एकाएक भित्रभित्रै आफै भयभीत भएँ । के गरूँ कसो गरूँ अलमलिएँ म ।
यति लामो समयसम्म प्रतीक्षा गरेर दिन रात बिताएँ । तपाईँलाई सम्झेर तड्पितड्पी रोएँ । अहिले खुसीले गद्गद् हुनु पर्ने बेलामा मेरो हंसले ठाउँ छोड्यो ।
तपाईँका नाममा एउटा चिठी लेख्न मैले हातमा कलम समाएकी छु । मेरो हात थरथर काँपिरहेको छ । अत्तालिएको मनमा हुण्डरी चलेको छ ।
समाजले मेरो बारेमा फरक फरक दृष्टिकोणले व्याख्या गर्ला । विश्लेषण गर्ला । जे गर्दा पनि गल्ती मेरो नै ठहर्ने छ । कुरा काट्ने समाजलाई मैले यति गरेपछि मसला पुगिहाल्छ । त्यसैले समाजले के सोच्ला वा के भन्ला भनेर म चिन्तित छैन । बरु म आफैसँग डराएकी छु ।
जतिञ्जेल सकेँ त्यतिञ्जेलसम्म हजुरको आस्थालाई डगमगाउन दिएकी थिइनँ । तर अचानक त्यो बन्धन, त्यो बाचा एक्कासि तोड्न पुगे । पक्कै ग्लानि महसुस भएको छ । उम्कने बाटो पनि त छैन मसँग । गलत बाटो समातेँ । जालभित्र परेको माछा जस्तै न मर्न सक्छु, न फुत्कन ।
जानेर वा नजानेर बाटो बिराएँ । परिबन्धले अलग बाटो हिँड्न बाध्य भएँ । अलग बाटो हिँड्न सजिलो छैन । समस्याका पहाडहरूले कति बिघ्न बाधाहरू अगाडि ल्याएर छरपस्ट पर्ने हुन् ? त्यो भोग्दै जाँदा पाएको दुःख र हण्डरले बल्ल चेत पाउँला मैले ।
मनभित्र एउटा ठुलो भय दबिएर बसेको छ । एघार वर्षको छोरो र आठ वर्षकी छोरीको मायाले मेरो मनमा हुण्डरी मच्चिएको छ । उनीहरूको निश्चल अनुहारले मलाई लखेटिरहेको छ । तिनीहरूको मनमा के होला? आमा खोइ? भन्दा तिनीहरूले के जवाफ देलान् ? समाजले उनीहरूलाई तड्पाई तड्पाई कति विक्षिप्त बनाउला ? उनीहरूको मनोदशा कस्तो होला? अनुमान गर्न सक्दिन ।
नौ नौ महिना गर्भमा राखेर जन्माएका ती अबोधहरूलाई अनजानमा गरेको मेरो गल्तीले उनीहरूको मानसिकतामा असर कति असर गर्ला । चिन्ता यसैका छ । मैले उनीहरूलाई पिडा त दिइनँ ? उनीहरू माथि ठुलो अन्याय त गरिनँ ? डर यहीँ छ ।
समय कठोर रहेछ । समयले नै आज यसरी तपाई र मलाई छुटाएर अलगअलग धारबाट हिँड्न बाध्य बनायो । हुनतः समयको मात्र पनि के दोष ? हामी दुबै जना यो दोषको भागिदार होइनौँ ?
किन हामीले पैसालाई मात्र महत्त्व ठान्यौँ । तर बुझेनौँ कि पैसा कमाउने फरक फरक बाटाहरू थिए ।
अरबको खाडीमा पचास डिग्रीमा ज्यानको बाजी लगाएर काम गर्नु भन्दा आफ्नै देशमा परिवार, छोराछोरीहरूसँग बसेर थोरै खाएर पनि सन्तुष्ट हुन सकिँदैन ? हाम्रो विचार पुगेन त्यसमा ।
अहिले यसरी पछुताएर तपाईँको नाममा चिठी लेखिरहँदा तपाईँको अनुहार मेरो सामुन्ने झलझली नाचिरहेको छ । तपाईँको मायाले मेरा आँखाबाट आँसुको भल भगिरहेको छ । मन भक्कानिएको छ । कस्तो निष्ठुरी समय आयो, श्रीमानको लागि तपस्या गरेर बसेकी थिएँ । श्रीमानको न्यानो स्पर्श पाउन हतारिएकी थिएँ । लामो बिछोडको यादले विक्षिप्त भएकी म तपाईंको काखमा निदाएर आँसुको भल बगाउन मन थियो ।
तर यहाँ उल्टो भयो । आफ्नै श्रीमानका अगाडि मुख देखाउन नसकेर भाग्नु पर्ने परिस्थिति बन्यो । एक मन आजै यो इहलीला मेटाई दिऊँ जस्तो लाग्छ । फेरि सक्दिनँ । आफैलाई धिक्कार्नु बाहेक अरू उपाय छैन मसँग ।
जुनीभरिको माया दिने कसम खाएर, तपाईँको हात समाएर घर भित्रिएकी थिएँ । तपाईँको त्यो निश्चल पवित्र मायामा मैले कहिल्यै खोट देखिन । कति सोझो, कति इमानदार हुनुहुन्थ्यो तपाई । मलाई पुरा विश्वास गरेर घर व्यवहार सुम्पेर परदेश जानु भयो ।
खाडीको प्रचण्ड गर्मीमा तपाईँको निधारबाट तपतप पसिना कति बगेको छ, कति दुख सहनुभयो परिवारको खुसीको लागि ती सब केही थाहा छैन ।
आफ्नो दुखको बारेमा मलाई कहिल्यै भन्नु भएन । हाँसीखुसी नै म्यासेन्जरमा कुरा गर्नुहुन्थ्यो । मायालु पाराले बोल्नुहुन्थ्यो ।
श्रीमती र छोराछोरीका साथमा बस्न कति रहर होला ? आफ्ना इच्छा र चाहना कति मार्नु भएको होला ? सबै चाहनालाई मनभित्र दबाएर काममा जोतिनु भयो ।
छोराछोरीहरू मेरो काखमा मस्तसँग लुटपुटिएर निदाउँदा म भने तपाईँको यादमा कैयौँ रात आँसुको भेलमा हुन्थे । रातभर छटपटिन्थे । सिरानी बिझाउँथेँ । तपाईँको माया असाध्यै हुँदा हुँदै पनि मैले अन्तिम समयमा आएर धोका दिएँ । आजबाट म तपाईँको भूतपूर्व स्वास्नी बनेर सदाको लागि यो घर त्यागेर कतै टाढा जाँदै छु ।
विश्वास गुमाएँ । मैले आफ्नो धर्म, इमानदारीपूर्वक निभाउँदा निभाउँदै पनि अनायासै बाटो बिराएँ । परिस्थितिले मलाई झुकायो ।
म समयको भीरबाट धकेलिएँ । पत्थरको मेरो दिलसँग पत्थरै आएर ठोक्किए पनि हार खाएको हुनुपर्थ्यो । आत्मबल दरो बनाएर साङ्लो बाँधी ताला लगाएकी थिएँ मनलाई ।
बाँधे पनि यो मन भन्ने चिज क्षणभरमा साँचो आफै भेटिँदो रहेछ । हो मेरो अवस्था ठ्याक्कै त्यस्तै भयो ।
मौका छोपेर निशाना लगाउन खोज्नेहरूले साँचो फ्याँकिदिँदा रहेछन् । हो त्यहीँ मौकामा मेरो मन खुकुलियो । मैले संसार भुलेँ तपाईँलाई मात्र हैन तपाईँको माया साथै छोराछोरीको माया भुलेँ । इज्जत भुलेँ । भनौँ सबै कुरा भुले ।
सिमाना भत्काएपछि अव बाँकी केही पनि रहेन । तपाईँलाई विश्वास नलाग्न पनि सक्छ ? मलाई पनि लागेको थिएन ।
मनलाई मनाउने प्रयत्न गरे पनि सकिनँ । म हारेँ । मन काबुमा नहुँदा मलाई श्रीमान्, छोराछोरी र सम्पत्ति केही झैँ लागेन । म अन्धी भएँ । म एकोहोरिएँ । दलदलमा फस्दै गएँ । त्यो दलदलबाट उद्धार गरेर तान्ने कोही भएन । आफै दलदलबाट बाहिर निस्कन सकिन । भएको कुरा यहींं हो ।
तपाईँले पठाएको सबै पैसाको हिसाब किताब कापीको पानामा छ । पैसा हिनामिना केही गरेकी छैन । घडेरी तपाईँको नाममा थियो । नक्सा पास गरेर चार कोठाको पक्की घर बनाएँ । चार कोठाको घर चटक्क परेको छ । रङरोगन गरी पर्खाल लगाएर गेट हालेको छ । घरअगाडि फूलहरूले सुगन्ध दिन थालेका छन् । मलाई, मैले बनाएको घरको असाध्यै माया लागेको छ । घरको कुनाकाप्चाले मेरो स्पर्श पाएको छ ।
फूलको सुगन्धले मलाई चिन्ने भएका छन् । साँझ बिहान पानी दिने ती हातहरू खोइ ? भनेर फूलहरू ओइलाएर टोलाउने छन् । उनीहरू फक्रन नखोज्लान् । घरमा भएका हरेक बस्तुले मेरो उपस्थिति खोज्नेछन् । तर “तिमीहरू निराश नहुनु म छु, तिमीहरूको लागि” भनेर हर वस्तुलाई सान्त्वना दिनुहोला । स्याहार सम्भार गर्नुहोला ।
मेरो अभाव त्यो घरलाई कहिल्यै नहोस् । मेरो सम्झनाले कहिलेकाहीँ छोराछोरी र तपाईँले आँसु झारे पनि त्यो घरलाई कहिल्यै न्यास्रो नलागोस् । छोराछोरीहरू मन लाग्दी गरेर खेल्ने त्यो स्वर्गको एउटा मन्दिरलाई आफैले आगो झोसेर चटक्क छोडेर हिँडेकी छु ।
दश औँला जोडेर प्रार्थना गर्छु । कुनै पनि दिदीबहिनीलाई यस्तो खराब दिन नआओस् ।
मैले ठिक गरे वा बेठिक ! अन्योलग्रस्त मेरो भविष्यले मलाई भोलि देखाउने छ । मैले जति पश्चात्ताप गरे पनि मैले खनेको खाल्डोमा म आफै पुरिनेछु । भोलि मसँग रुने म बाहेक अरू कोही नहुन सक्छ ।
घर बनाउने ठेकदार संगम इमानदार रहेछ । ठेक्का लिएर समयमा निर्माण सम्पन्न गरी उसले मलाई घर बुझायो । घर सम्पन्न भएपछि विधिवत पूजा गरेर छोराछोरीको साथमा म नयाँ घरमा प्रवेश गरेँ । त्यो घर हाम्रो मायाको मन्दिर हो ।
सायद जिन्दगीमा ठुलो गल्ती गरेँ । कस्तो दोधारमा पार्नु भयो तपाईँले । पाँचपाँच वर्ष सम्म घर नआउने लोग्ने तपाई निष्ठुरी नै हो । पैसाको पछि मात्र लाग्नु भयो । घर बिग्रेको चालै पाउनु भएन ।
तपाईँ चाहिनेभन्दा बढी सोझो हुनुभयो । एक्ली श्रीमती भएपछि शङ्का उपशङ्का गरेर समयसमयमा घर पुग्नु पर्ने हो । तर सबै कुरा बिग्रिसक्यो । पुर्पुरोमा हात राखेर नबस्नु होला । पछुताएर अब के नै मिल्ला र ?
कति चाड पर्व आए गए । सधैँ बिरानो । सधैँ खल्लो । “बुबा कहिले आउनुहुन्छ ?” भनेर सोधिरहने छोराछोरीलाई मैले के भनेर जवाफ दिनु ? कति सधैँ छोराछोरीलाई ढाँटिरहनु ? आँखामा पट्टी बाँधेर पाँच वर्ष सम्म ढुक्कसँग पैसा खोजी बस्नु भयो ।
बेचैनी र पिडाले सीमा नाघ्यो । सधैँ एक्लो एक्लो मात्र भएर कति दिन बाच्नु ? यो निष्ठुरी जिन्दगी कति दिन एक्लै मरी मरी बाच्नु ? प्रकृतिको नियमलाई कसैले तोडेर तोडिँदैन । हो, यही कारणले आज मेरो मन एकोहोरो भयो । तपाई देखि मन पटक्क भाँच्चियो । नसोचेको कोणबाट अगाडि बढे म ।
एक दिन अचानक छोरो बिमारी भएर लखनउ लिएर गए । पुनः चेकअपको लागि दोस्रो पटक लखनउ लिएर जाँदा ठेकदार संगमले धेरै सहयोग गर्यो । घर बनाउँदा चिनेको ठेकदार सारै असल रहेछ ।
उसलाई राम्रोसँग चिनेँ । उसले मेरो मन सुटुक्क चोर्यो । चोरेको मन फिर्ता ल्याउन हर सम्भव प्रयत्न गरेकी थिएँ । असफल भएँ । लडाइँका सबै मोर्चा हारेँ । अहिले पेटमा संगमको बच्चा छ । त्यसैकारण संगमसँग आत्मसमर्पण गर्नु बाहेक अर्को विकल्प रहेन मसँग ।
तपाईँलाई धेरै बोझ नहोस् भनेर मैले कानमा लगाएको एक जोर टप, एउटा सिक्री र एक लाख नगद लगेकी छु । अरू केही हिनामिना गरेकी छैन । घर बनाउँदाको सबै पैसा चुक्ता गरेकी छु । कसैलाई पनि एक पैसा तिर्नु छैन । तपाईँले अर्को विवाह गरेर राम्रोसँग बस्नुहोला । छोराछोरीलाई माया गर्नुहोला । म पापिनीलाई भुल्दै जानुहोला ।
भविष्य मेरो के हुन्छ ? थाहा छैन । संगमले कहिलेसम्म साथ दिने हो ? जे गर्ला उसैको भर परेर हिँडेकी छु ।
प्राण जाने अन्तिम समयसम्म तपाईँलाई माया गरिरहने छु । कुनै दिन पापिनी भनेर याद आए मनमनै सम्झिदिनु होला । त्यति भए पुग्छ । माफ दिने ठाउँसम्म राखिन मैले ।
सधैँ तपाईँको भलो चिताउनेछु । तपाईँको माया लागेर एउटा फोटो साथमा लिएर हिँडेकी छु । मरे पनि स्वर्गबाट समेत तपाईँलाई माया गर्नेछु ।
तपाईँले शुक्रवार साउदी एयरपोर्टबाट फोन गरेपछि मैले हवलदारपुरमा आमालाई फोन गरेर ‘म शनिवार औषधी गर्न लखनउ जाँदैछु’ भनी आमालाई घरमा बोलाएँ । र सदाको लागि हिँडेकी छु । यो चिठी लेखेर सिरानीमा छोडेकी छु ।
नानीको बुबा, हरेक जुनीमा तपाईँको भलो भएको देख्न चाहन्छु । यो जुनीमा मैले धोका दिए पनि आउने सात जुनीसम्म तपाईँकै श्रीमती भएर मर्न पाउँ । अन्तिम इच्छा यहीँ हो ।
उहीँ तपाईँको भूतपूर्व स्वास्नी
शर्मिला
० ० ० ०
सुदर्शनले चिठी जस्ताको तस्तै पुनः पट्यायो र गाेजीमा हाल्यो । भारी मनलाई हलुङ्गो बनाउन छोराछोरीलाई बोलायो र अँगालोमा भेर्यो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।