ठ्याक्कै दस दिन भयो, अमर राज विष्ट अस्पतालमा उपचारका निम्ति भर्ना भएको। पहिलो दुई दिन आपत्कालिक वार्डमा चौबीसै घण्टा डाक्टरहरूको निगरानीमा राखेर स्थितिमा सुधार आएपछि उनलाई सामान्य वार्डमा सारिएको थियो , उनलाई अन्य बिरामीका कोहोलो, भिजिटर र नर्सिङ स्टाफहरूका कोलाहलमय वातावरण असह्य भएकोले छुट्टै क्याबिनमा बस्ने भनेर श्रीमती गौरी मायालाई इच्छा जाहेर गरेपछि क्याबिनमा सारिएको छ।
आफ्नै सहरको सुबिस्ताको अस्पताल, क्याबिनको पलङ, सिरानीको एकातिर मल्टी पारा मनिटर राखिएको छ । क्षण-क्षणमा ट्याट्टुको आवाज निकाल्दै रक्तचाप, श्वासप्रश्वास, मुटुको धड्कनको गणितीय स्थिर परिमाण बताइरहन्छ, अर्कोतिर एउटा सानो टेबलमा हर्लिक्सको डब्बा, तातोपानीको फ्लास्क र ढक्कन भएको कप केही बिस्कुटका प्याकेटहरू छन्। टेबुलको मुन्तिर घ्यार्र गरी तान्ने खरखरे दराजमा औषधिका थुप्रो लागेको छ । पलङको ठिक्क सामुन्ने पट्टि क्याबिनको दैलो छ। जति जति बेला दैलो खुलेको आवाज सुनिन्छ अमर राज आँखा खोलेर पुलुक्क हेरिपठाउँछन् ।
कहिले श्रीमती हट्केस बोकेर आएकी हुन्छे।कहिले नर्स हातमा स्टेरलाइज्ड् ट्रेसित भित्र पस्छिन्। श्रीमती खानामा जोड लगाउने ढिपी गर्छिन्, नर्स औषधि नबिराई खाने सल्लाह दिन्छिन्, कहिले डाक्टरले सबै रिपोर्ट आएपछि बिस्तारमा जाँच सुरु गर्ने आश्वासन दिन्छन् । थला परेपछि यति मात्र वार्तालाप अथवा भेटघाटको अवस्था अमर राजको रहेको छ।
पचास वर्ष नाघेका अमर राजको दस दिन अघिको भन्दा अहिलेको अवस्था अथवा भएको छ। अहिले उसलाई दिनभर समय काट्न मोबाइल फोनको आवश्यकता महसुस भएको छ। त्यसो त निको हुँदा पनि मोबाइल, युट्युब उसको लागि चाखलाग्दो विषय हो ।
फेरि एक चोटि दैलो खोलिएको आवाजले केही सोचाइमा रहेको अमर राजको आशावादी आँखाले दैलोतर्फ हेरी पठाउँछ । श्रीमती गौरी माया खाना लिएर आएकी हुन्छे। खाना खुवाए पछि जाने बेलामा ब्यागबाट मोबाइल निकाल्दै “ई…तपाईंको मोबाइल ल्याइदिएको छु, एकोहोरिनु होइन नि, निदाउनु पनि पर्छ । सुन्नु भयो बाबा” भन्दै मोबाइल हातमा दिँदै “चार्ज गर्ने पोइन्ट यता रैछ” देखाउँछिन्।
गौरीमाया भरे छिटो आउने वचन दिएर बाहिरिए पछि अमरराजले मोबाइलमा युट्युब खोलेर के के खोज्न थाल्छ । संसारको उत्पत्ति हेर्छ, धर्म र दर्शन हेर्छ, कहिलेकाहीँ फेसबुक र वाट्सएप्पको नोटिफिकेसन पनि खोलेर हेर्छ । मोबाइल हेर्दाहेर्दै आँखामा असहज भएको भान भए पछि मोबाइल सिरानीमुनि लगाएर सुत्ने प्रयास गर्छ अहँ पटक्कै निद्रा लाग्दैन। अघि युट्युबमा हेरेका ज्ञानवर्धक विषयवस्तु सम्झन थाल्छ …
तीन सय सत्तरी देखि चार लाख पचास करोड वर्ष अघि यो संसारको सृष्टि भएको अनुमान छ अरे । संसारमा जीव तथा जीवन त तीन सय सत्तरी करोड वर्षपछि सुरुआत भए र पछि एक लाख करोड जीवाणुहरू संसारमा व्याप्त छ अरे। एक करोड बिस लाख वर्षअघि मात्र हाम्रा पूर्वज पत्तो लागेता पनि मानव सभ्यता तीन लाख वर्षअघि प्रारम्भ भएको अरे ! मानव विकास क्रम पच्चीस लाख वर्षअघि नै सुरु भएता पनि तीन लाख वर्ष अघि चाहिँ हामी चिम्पाञ्जीको रूपमा चार खुट्टामा हिँड्न थालेका रहेछौ ।
दैलोमा दुई पटक ट्वाकट्वाक पारेर डाक्टर भित्र छिरेपछि अमर राज हत्तपत्त उठ्न खोज्दा डाक्टरले के सोचाइमा हुनुहुन्छ ? सुर्ताउनु पर्दैन रिपोर्ट ठिकै छ अब दुई वटा पिसाब नलीको र किड्नीको रिपोर्ट आउनु बाँकी छ भन्दै निधार छामे । “ठिकै छ ज्वरो पनि घटेछ, अचेल त उपचारको नयाँ नयाँ तरिकाहरू छ तपाईंले चिन्ता लिनै पर्दैन अमरज्यू ठिक भइहाल्छ” भन्दै नर्सलाई सुगर जाँच्ने आदेश दिन्छ र डाक्टर बाहिरिन्छ। नर्सले चिरिक्क पारेर अलिकति रगतको नमुना लिएर दैलो तान्दै आराम गर्नुहोस् भन्दै जान्छे।
अमर राज एक चोटि मोबाइल सिरानी मुनिबाट निकालेर नोटिफिकेसन हेरेर पुन सिरानीमुनि घुसाउँछ । अनि दुवै आँखा झिम्झिम् पार्दै फेरि सोचाइमा पर्छ।…चार खुट्टा टेकेर हिँड्ने चिम्पाञ्जी रुपी बनमान्छे दुई खुट्टामा हिँड्न थालेपछि दुई वटा हात त आजाद भयो,फुक्को र आजाद दुई हातले अन्य सबै जीवलाई आफ्नो वशमा पारे । मानव विकास क्रमलाई अघि बढाएर दिमागलाई पनि विकसित गरे । कल्पना शक्ति बडेर गयो भन्छ। पचहत्तर हजार वर्ष अघिदेखि बुद्धि विकास भएर अन्य जीवजन्तु भन्दा अधिक भाषाको पनि विकास गरेर धर्म, दर्शन बारे सोच बडेको भन्छ। चौरासी लाख जुनी फेरेर फेरि मानव चोलामा फर्केर आउने सोच, ज्ञान विज्ञान, इतिहास, धर्म, पाप, मुक्ति, मोक्ष, ब्रह्माण्डका अचम्मित कुराहरूले मानव मस्तिष्क भरेर अचेल त चिम्पाञ्जीलाई पनि कम्प्युटर चलाउन मान्छेले नै सिकाइसके। संसार कहाँ पुगिसक्यो।
दैलो खोलिएको आवाज सुनेर अमर राज त्यतैतिर हेर्छ । श्रीमती गौरी माया खाना लिएर आएकी हुन्छे।
भित्र पस्दै गौरीमाया अमर राजलाई सोध्छिन्, “दिनभरि सुत्नु पनि भयो के ? कि मोबाइल खेलाएर नै बस्नुभयो ? ”
अमर राजले जवाफमा भन्छ, “मोबाइल पनि खेलाइन – सुतिन पनि।”
“अन्त के गरिबस्नुभयो ?” गौरीमाया खाना थालमा खाना राख्दै सोध्छन् ।
“मनमा कुरो खेलेर” अमर राज बोल्दै गर्दा गौरीमाया भन्छिन्, “केटोले आज पनि फोन गरेको थियो । सोध्दै थियो आउनुपर्छ कि भनेर ।”
“अँ मलाई पनि फोन गरेको थियो । नआइज म ठिकै छु भनेँ । मेसेज पनि गरेको रैछ- आएर स्याहार्छ अरे ।” अमर राजले उत्तरमा भन्छ।
गौरीमायाले कपमा पानी सार्दै भन्छे, “त्यसको फाइनल एक्जाम हो, चंडीगडबाट आइपुग्नु नै दुई तीन दिन लाग्छ । बरु एक्जाम सकेर मात्र आइज म छु त भनेँ, ए तपाईंका साथीहरूले पनि कस्तो भयो सोध्छन्, सोध्ने त कम्ती छैन । अब ठिक भयो भन्छु । कुनी को हरू त आउने कुरो गर्दै थिए अरे ,दिउँसो आएनन् कोही पनि ?”
ताजुब भइराछ अमर राज बोल्दै गर्दा दैलोमा नर्सले ढकढकाएर भित्र पसी “खाना खाइसक्नु भयो भने लु यो दबाई दिनुहोस्” भनेर औषधि गौरीमायाको हातमा दिएर जान्छिन्।
थाल कप धोएर थन्को मुन्को गरी अमर राजलाई औषधि खुवाइसकेर गौरीमाया अमरराजको खुट्टा पट्टि ढल्कँदै भन्छिन्, “आज पूरा बाह्र दिन भएछ, भोलि पर्सि त छुट्टी दिन्छ कि ।”
अमर राज निदाउने चेष्टा गरिरहेको हुन्छ।
बिहान गौरीमायाले हर्लिक्स, बिस्कुट र दवाई खुवाएर दिउँसोको खाना लिन घरतिर हिँडेपछि घोर निद्रामा परेको अमर राजको निद्रा -दैलो ढकढकाउँदै भित्र पसेका हाईस्कुलका डी बी सरको “अमरजी” भनी बोलाएको आवाजले – खोलिन्छ ।
“अरे डिबी सर तपाईं ?” अमर राजले अचम्म मान्दै जुरुक्क उठ्न जुरमुराउँदै “अरे डीबी सर ! तपाईं साक्षात सशरीर यहाँ ?”
“किन के भो ?अचम्मै मान्नु भो त ? हो म डिबी आउनु हुन्थेन ?” भन्दै दिमागी बिमारी पो भएको हो कि ? भन्ने शङ्कास्पद दृष्टिकोणले डीबी सरले सोध्दै हातमा भएको हर्लिक्स्, बिस्कुट र भुजाका प्याकेटले भरिएको पोका हातमा राखिदिन्छ।
“होइन डी बी सर म प्रथम चोटि अस्पताल बसेको हुँ । साना छँदा मेरी आमा बिरामी पर्दा आमालाई हेर्न आउनेहरू यसरी नै हातमा हर्लिक्स् र तोसरोटी लिएर आउँथे।हर्लिक्स्मा तोसरोटी चोबलेर आमाले मलाई पनि खान दिनुहुन्थ्याे । त्यो कुरो म बिर्सनै सक्तिन । गाउँ समाजमा म मिलनसार र कामकारी मान्छे नै हुँ, मराउपराउ,अस्पताल म पनि धाएकै हो तर आज ट्वाक्कै तेह्र दिन भो साथी भाइ त थुप्रै कमाएको रहेछु तर तपाईं आज स्वयं आउनु भयो ।”
शङ्कास्पद दृष्टिकोण अझ पुष्टि भएको भावमा डिबी सर बोलिपठाउँछन्, “म आए तपाईंलाई सम्झेर दुख बिमारमा त हो साथी भाइ र सान्त्वना ।”
अमरराज डिबी सरको बात काटेर अझ भन्दै हुन्छ, “होइन डिबी सर अनलाइनको जमाना आयो सबै काम जाबो मोबाइलबाट नै भइहाल्छ । माया प्रेम सबै अब मोबाइलबाट नै सजिलो तर दुख बिमारमा साथी भाइको सम्झना चाहिँ आउँदो रछ तर हाम्रो पालामा जस्तो कहाँ हुँदो रहेछ र ? तपाईं डिबी सर देवता आएको जस्तो लाग्यो आधा बिमार मेरो तपाईंलाई देख्ने बित्तिकै जाती भयो । शीघ्र स्वास्थ्य लाभको कामना त धेरैले गरे तर …तर..वाट्सएप्प र फेसबुकमा मात्र भन्दै सिरानी मुनिबाट मोबाइल निकाल्दै डिबी सरलाई देखाउँदै हेर्नुस् त पाँच सय छपन्न पुगेछ।”
त्यति नै बेला दैलोमा गौरीमाया देखा पर्छिन् हातमा हट्केश र फ्लास्क लिएर । “नमस्ते सर कति बेला आउनुभयो” भन्दै भित्र पस्छिन्।
“अघि नै आएको । यहाँ अमरजीको एक्टिङले पो झन्डै सातो गएको, जाति भइसक्नु भएछ त।” डिबी सरले जवाफ दिन्छन् ।
“कस्तो एक्टिङ सर ?” गौरीमाया प्रश्न तेर्साएर सोध्छन् ।
“होइन अस्पतालमा उहाँलाई हेर्नु म मात्र आएँ र ?” डिबी सर उल्टै प्रश्न गर्छन् ।
“व्यस्त संसारमा भ्याएनन् होला, आ-आफ्ना समस्याहरू होलान् । फेरि भएन अचेल कोरोनाको डरले पनि सोसियल डिस्टेन्स पालन गर्छन् नि त त्यसमा मनदुखो किन ?” गौरीमाया डिबी सरलाई पेपर ग्लासमा चिया दिँदै अझ भन्छिन्, “भोलि त छुट्टी होला जस्तो छ ।आफू जाती भयो भइगयो त।”
चिया हातमा लिँदै डिबी सर बोल्छन्, “मोबाइल मै भए पनि शुभचिन्तक त थुप्रै रहेछन् त । भइगयो जमाना नै मोबाइलको छ।”
तिनै जना हाँस्छन् ।
“घरैभित्र त टाढा बनाइसक्यो यो मोबाइलले । फेरि घरमा भेट्न आउला ।” डिबी सर बाहिर निस्किन्छ।
डीबी सर गएपछि –
“आज त बेलुकीको खाना पनि ल्याएको छु, भोलि त डिस्चार्ज हरे, अब खाएर सुत्नुपर्छ । भोलि एकैचोटी सँगै निक्लिनुपर्छ ।” भन्दै गौरीमाया थालमा भात राख्न थाल्छिन् ।
खानपिन सकेर अमर राजको ओछ्यानको खुट्टा पट्टि पस्दै गौरीमाया हाँस्दै सोध्छिन्, “कति वटा स्वास्थ्य लाभको कामना हरे ?”
अमर राज कम्बल भित्रबाट हाँस्दै भन्छन्, “पाँच सय छपन्न ।”
त्यो रात स्वस्थ भइसकेका अमर राजले अधकल्चो सपना देख्छन् र धताउँदैं हुन्छ ।
नयाँ जमाना आए कै हो ?
ओ हो ! यो कस्तो सोसियल डिस्टेन्स्।सामसोन गुरुङ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।