केटाकेटीमा सबै जसो चन्चले हुन्छन् नै । स्वभावै हो वयस्क अवस्थामा गम्भीर, प्रौढा अवस्थामा आध्यात्मिक र केटाकेटी अवस्था चञ्चल भएन भने त्यो असाधारण हो भन्ने मान्यता पनि छ ।

सानो छँदा “ज्ञानी भएर बस्नु, यताउति गयो भने राउटे आउँछ” बज्यैले डर देखाउँदै भन्नु भएको थियो ।

हामीलाई लाग्थ्यो राउटे बडेमानको डरलाग्दो कुरूप हुन्छन् । हामी एकापसमा राउटेको चर्चा पनि गर्थ्यौं । बथानका बथान भेडा सँगै, ठुलो कुकुर सहित, आफूभन्दा ठूलो भारी पिठ्युँमा बोकेको भोटे देख्दा हरिले “राउटे यस्तै हुन्छन् भनेको थियो ।” मलाई विश्वास लागेको थिएन । सामान्य मानिस भन्दा जङ्गली मानिस निश्चय पनि फरक होलान् । त्यस भोटे नै डरको स्वरूप राउटे हो भनी कति पनि पत्याइनँ ।

हामी आँगनमा खेलिरहेका थियौं । अपरिचित मानिस आएर हाम्रो दैलो नजिक केही सामग्री छोडेर गयो । त्यो सामग्री छोड्दा हामीसँग केही कुरा पनि गरेन । त्यो मानिस दलेको घरमा पनि पुगेको रहेछ । त्यहाँ पनि त्यसै गरी सामान छोडेको रहेछ । दोस्रो दिन त्यसै समय बज्यैले त्यही भाँडोमा मकै राखेर त्यसै ठाउँमा बिसाउनु भयो । फेरी तिनै आए, मकै उठाएर लगे, भाँडो त्यही छोडेर गए ।

मकै लगी फर्कने बेला तीनका बारेमा बुझ्न रमालाई सोधेँ, “यी मानिस को रहेछन् चिन्यौ ?”

“हिजो हाम्रोमा पनि आएका थिए । आमाले कोदो दिएर पठाएका थिए ।” रमाले पनि नचिनेको जवाफ दिइन् ।

दलेले पनि “हाम्रो घरमा पनि आएका थिए । यसै गरी मकै लगेर फर्केका थिए ।”

को रहेछन् हाम्रो चासोको विषय बन्यो । साथीहरू बीच यसै विषयमा कुरा चल्दै गर्दा राउटे हुन् भन्ने बुझियो । हाम्रो घरको अलि पर पुलको छेउ कटेरा बनाएर एक समूहमा अनौठो किसिमका मानिस बस्थे । गाउँमा आइजाइ गर्ने तर कसैसँग पनि धेरै कुराकानी नगर्ने ती मानिसका बारेमा जान्ने उत्सुकता जाग्यो । साँझ बज्यैलाई तीनका बारेमा सोधेँ ।

बज्यैले निकै बेली बिस्तार लगाउनु भयो, “फिरन्ते जङ्गली मानिस हुन् । यसै गरी सुरक्षित ठाउँ खोज्दै घुमिरहन्छन् । कन्दमूल, फलफूल खाने, शिकार गर्ने, माछा मार्ने, काठका उपयोगी सामान बनाउने गर्छन् ।”

बज्यैका कुरामा मलाई जिज्ञासा लाग्यो, “यिनीहरू घर कहीँ छैन ?”

“घर बनाउँदैनन् । यस्तै कटेरोमा बस्छन् । धुवाँले धुरीमा कालो लागेछ भने त्यो कटेरो छोडेर अर्को ठाउँ बास बस्छन् । त्यसैले पो वन राउत फिरन्ते भए । हामीहरूसँग निकै चिनजान भएछ र हाम्रो व्यवहारमा विश्वास लाग्यो  भने मात्र कुरा गर्छन् । निकै चिनजान र गहिरो सम्बन्ध भएको ठाउँ मात्र बस्छन् ।”

० ० ० ०

एक दिन हामी पनि बज्यैसँगै तरुल खन्न जङ्गलतिर गयौं ।  त्यहाँ धेरै मानिस थिए । सबैजना ठूला ठूला खाडल बनाएर तरुल खनिरहेका थिए । एउटा रुखमा झाल भएको तरुलको बोटनिर बज्यैले पनि खन्न शुरु गर्नु भयो । बज्यैले खन्दै गर्दा हामी पनि जिस्किएर खने जस्तो गर्न लाग्यौं ।

त्यसै बेला नजिकै तरुल खन्दै गरेकी बुढी आइमाई, बज्यै सामु पुगिन्, “बुडा मान्स कसेरी खण्य हो ? मैले खण्या लैजा ।”

“कति खणी राइछै, तेरि मौ लाई पुगन्छ कि नाई ?” बज्यैले जिज्ञासा राख्नु भयो ।

“मेरा त गिठा ताल छन् ।” उनको भनिन् ।

“मेरा नातिलाई दे न थोक्काई ।” बज्यैले जोड्नु भयो ।

“हुन्छ” भन्दै त्यहाँबाट छुट्टिइन्, तिनीसँग अरू पनि धेरै जना रहेछन् ।

बज्यैबाट बुझ्दै जाँदा राउटे छुट्टै जाति रहेछ । भर्खर सामाजीकरण भैरहेको तर समाजसँग घुलमिल हुन नसकेको आदिवासी जनजाति रहेछ । दार्चुलाको लेकाली भेकबाट यतातिर घुम्दै–फिर्दै आउने रहेछन् । कन्दमूल, फलफूल, वन्यजन्तुको शिकार, माछा मार्ने, तरुल गिठा खनेर पकाएर पोलेर खाने गर्ने रहेछन् । राउटेको आफ्नो छुट्टै सभ्यता, संस्कृति, संस्कार,भाषा  रहेछ । आफूलाई अस्कोटका पाल राजाको भाइ मान्ने रहेछन् ।

एक भाइले राजपाठ चलाएछन्, अर्कोलाई चित्त बुझेनछ र जङ्गल पसेछन् । त्यही जङ्गल पसेको पाल वंशका सन्तान हौं भन्दा रहेछन् । ठकुरी वंशका भएकाले रजबार भनेको ठिक मान्ने रहेछन् । पुरुषलाई रजबार महिलालाई रजबान्नी भन्नु पर्ने रहेछ । एकै ठाउँ लामो समय नबस्ने, कुनै ठाउँमा एउटा राउटेको मृत्यु भयो भने त्यो ठाउँ दोस्रो पटक बस्दै नबस्ने । आफ्नै किसिमका रीतिरिवाज थिए । सय राउतकी एकै ढोग भन्ने गरिन्छ । आफूलाई ठकुरी मान्ने भएकाले सबैलाई तँ भनी सम्बोधन गर्ने गर्छन् ।  मुखियाको व्यवस्थापनमा दैनिक जनजीवन तथा सामाजिक गतिविधि गर्ने ।  राउटे जातिको मात्र बिहाबारी गर्ने ।

तरुल खोज्दै हामी अर्को डावरतिर लाग्यौं । त्यहाँ जाँदा एक जना दुलोभित्र पस्दै थिए । निकै कष्टकर थियो त्यो दुलोमा पस्ने काम त्यही पनि गरिरहेका थिए ।

बज्यैलाई सोधिहालें, “यसले के गरेको यस्तो ?”

“यस्ता दुलामा दुम्सी बस्छन् । दुम्सीको दुलो पत्ता लगाएर दुम्सी छोप्न दुलोमा पस्दै छन् ।”

यस्ता दुम्सीको दुलामा माउ लगायत चार पाँच जति दुम्सी बस्ने रहेछन् । राउटेको मुख्य शिकार दुम्सी पनि रहेछ । दुम्सी मार्नका लागि निकै जोखिम उठाएर दुलोभित्र पस्दा रहेछन् ।

हामी अलि अगाडि पुगेर तरुलको बेला खोज्यौं र खन्न शुरु गर्‍यौं । दुवै ठाउँ खनेका तरुल बोकेर घर फर्क्यौं । हामी घरमा पुग्दै गरेको अघि जङ्गलमा भेटिएकी आइमाईले देखेकी रहिछन् । बज्यै भित्र नजाँदै गिठा ल्याएर आइपुगिन् । गोलो, खैरो मज्जासँग काटेका गिठा पहिलो पटक देखें । गिठा दिने बेला ती आइमाई केही बोलिनन् । बज्यैले भित्र बाट दुई माना जति मकै ल्याएर दिनुभयो । एक आपसमा वस्तु विनिमय हुने तर बोलचाल निकै कम हुने । राउटे जसका प्रति विश्वास गर्‍यो अति नै विश्वस्त रहने गर्थे ।

बज्यैप्रति निकै विश्वास थियो उनीहरूको । बज्यैले बोलाउँदा खेतबारीमा काममा सघाउन पनि आउँथिन् राउटे महिलाहरू । काठका निकै सामग्री बनाउने सिप हुन्थ्यो तिनीहरूमा । हलो, जुवा, हलानो, पाल्ला बनाएर गाउँमा पुर्‍याउने गर्थे । काष्ठ कलाको निकै सिप हुन्थ्यो । निकै मिहिनेती राउटेहरू सुदूरपश्चिमको दार्चुला र कर्णाली तिरका फिरन्ते आदिवासी हुन् । विभिन्न स्थानमा घुम्दै–फिर्दै हाम्रो बस्तीतिर पनि आउँथे । सामान्यतया असोजमा आउने र फाल्गुनतिर अन्यत्र सर्ने गर्थे ।
बिस्तारै बिस्तारै गाउँका केटाकेटीसँग राउटे केटाकेटीको घुलमिल शुरु भयो । सम्बन्ध बढ्दै गए पछि जनक, बहादुर, धनी, सुर्जे हामीसँग पढ्ने भए । छुट्टै  भाषाको प्रयोग गर्ने भएका हामीसँग बोलचाल निकै कठिनाइ थियो । तै पनि केही दिनका लागि भए पनि स्कुल गएका थिए ।

राउटेले दिएको पाल्लोमा पिठो मिच्ने गरिन्थ्यो । पाल्लाको प्रयोगका विषयमा धेरै जिज्ञासा बाँकी थिए । एउटा त यो कसरी बनाइन्छ ? अर्को पाल्ला भात एकै चोटी पाक्छ भन्ने उखान थियो ।  कसरी, किनको कौतूहल थियो । अक्सर पाल्लामा पिठो मिच्ने, अचार बनाउने, घ्यू राख्ने काम गरिन्छ । गीतै पनि छ – किनेर ल्याएको धुलो कैका पाल्ला ओलु भन्ने ।

बर्षौं भयो त्यही पाल्लाको प्रयोग हुने गर्थ्यो । मेरो हातबाट एकदिन पाल्लामा केही सामान राखिलग्दै जाँदा भुइँमा खस्यो । बर्षौं देखिको पाल्लो फुट्न गयो । मेरो जिज्ञासा निवारण नहुँदै पाल्लो त फुट्यो । म चिन्तामा परेँ । डर र पश्चाताप मनमै राखी एउटा कुनामा लुकाएर स्कुल गएँ । साथीहरूमा जनक राउटे निकै मिल्ने थियो । मेरा लागि केही न केही ल्याएको हुन्थ्यो । तरुल, गिठा, सिस्नुको साग, कोइरालको चटनी, बासको तामा यस्ता चीजको स्वाद तीनै बाट पाएको थिएँ । मैले पाल्लाको समस्या जनकलाई सुनाएँ । भोलि  म बनाएर ल्याउँला भने तर त्यो विषयको सामना आजै गर्नु पर्ने थियो ।

एकातर्फ लाग्यो– एकातर्फ लाग्यो गल्तीको ब्यहोरा बताइदिए पछि त्यस विषयमा थप छलफल त हुँदैन । एक न एक दिन बिस्तारै थाहा पाउँछन् नै । ह्या, त्यति बेला जे पर्ला पर्ला । हुन त पर्छ टर्छ पनि भन्छन् । खुसुक्क बज्यैलाई भनूँ केही न केही समाधान निस्कन्छ । यस्तै दुबिधामा घर पुगेँ ।

खाजा खाएर गृहकार्यको तयारीमा बसेको थिएँ । जनक कि बज्यै पाल्लो बोकेर हाम्रो घरमा पुगिन् । बज्यैलाई देख्ने बित्तिकै “तेरो नातिले पाल्लो फोड्य  रैछ ।  मेरा  नातिलाई भन्यो रे । म लेइ आयुउ, तेरा घर समस्या होली भने झट्ट आयउ ।”

म झन् सङ्कटमा परेँ । त्यति बेलै  सामुन्ने गएँ । समाधान हुने सम्झी त्यहाँ उपस्थित भएँ । समस्याको समाधान या त सरल समाधान हुन्छ या निकै ठुलो मचिन्छ । जे भए नि होस् भनेर त्यहाँ उपस्थित भइसकेको थिएँ ।

बज्यैले हप्काएर “कसरी फुट्यो पाल्लो ?”

बयान दिन उपस्थित अपराधी जस्तै सोधेको सिधासिधा जवाफ दिन लागेँ ।

बज्यैले पाल्लाभारि मकै दिइन् । तीनले गिठा ल्याएकी थिइन् गिठा दिइन् ।

पुरानो पाल्लो फुट्यो नयाँ आयो ।

 उनरुवा,डडेल्धुरा