
बकैनाका ठुलठुला दुइटा रुख लहरै छन् । तिनैको फेदमा शीतल छहारी तापेर बसेका छौँ एल्का र म । अप्रिल महिनाको त्यो सुरम्य साँझ चिसो हावा सरर बहिरहेको छ । यतिकैमा बाटो पारीबाट दुई जना मानिस आउँदै गरेको देख्छु । यौटा चाहिँ त्यस्तै ७० वर्ष जत्तिको र अर्को ५०-५५ को जस्तो । बुढो चाहिँ अर्काे मान्छेको हात समातेर हिँड्दै छ ।
त्यो दृश्य देखेर एल्का भन्छे- ‘एरमान र यशुवा आए !’
यिनीहरू को हुन् र किन आएका भनेर म तुरुन्तै सोध्छु ।
मसिनो स्वरमा ऊ बोल्छे- ‘यिनीहरू हाम्रा छिमेकी हुन् । पोल्यान्डमा पनि हामी छिमेकी नै थियौँ र यहाँ पनि ।’
मैले फेरी जिज्ञासु हुँदै सोधेँ- “ए, अनि कसरी ? तपाईंहरू सल्लाह गरेर आउनु भएको थियो पोल्यान्डबाट ?”
उसले भनी- “हो, सल्लाह नै गरेर आएका भनौँ न ।”
किन, कसरी त्यो मैले सोध्न चाहिन र उसले पनि थप भनिन । ती बाबु-छोराको आगमन भइसकेको थियो त्यहाँ ।
‘सलोम’ भन्दै तिनीहरू नजिक आए । मैले पनि ‘सलोम’ शब्द फर्काएर अभिवादन गरेँ । म पनि त्यति धेरै हिब्रु जान्ने भएको थिइन । अलिअलि सिक्दै थिएँ । बरु टुटे-फुटेका अङ्ग्रेजी बोलिदिन्थेँ । थोरै जानेको हिब्रु पनि मिसाएर । उनीहरू बुझ्थे मेरो कुरा । बाउ-छोरा आएपछि सामान्य परिचय भयो ।
बाउ चाहिँले सोधे, “तिम्रो नाम के हो ?”
मैले भनेँ, “सिमा ।”
उनले आफ्नो नाम एरमान बताए । त्यो सौहार्दपूर्ण परिचयात्मक कार्यक्रम पश्चात् एरमानले मेरो कामको बारेमा, म आएको देशको बारेमा र अन्य सम्बन्धमा एल्कासँग सोधे । उनीहरूको भाषा र कुराकानी म सामान्य बुझ्दै छु । यो नेपालबाट आएकी हो । एल्काले भनी ।
एरमान मतिर हेर्दै भन्छ, “नेपाल भन्ने देश कहाँ पर्छ ?” उसको यो प्रश्नले मलाई ३६० डिग्री करेन्टको झट्का लागेजस्तो भयो । के सोधेको होला यो मान्छेले ? अहिलेसम्म नेपाल नै थाहा रैनछ । मैले त सुनेकी थिएँ । विदेशीहरू सबै कुरामा निपुण र देश-विदेशको चासो राख्ने हुन्छन् । तर होइन रहेछ । एरमान र एल्काले गरेको यो कुरा हरु छेवैमै बसेको एसुवाले अङ्ग्रेजीमा उल्था गरेर बुझाउँदै थियो मलाई । मैले सोचेँ- कति राम्रो मन भएको मानिस रहेछ । नबुझेको कुरा सबै बुझाउँदै छ ।
त्यसपछि एसुवा र म कुरा गर्न थाल्यौँ । उसले नेपालको बारेमा धेरै कुराहरू सोध्न र बुझ्न खोज्यो । मैले जानी नजानी अङ्ग्रेजी र हिब्रुमा भनेँ । नेपालीमा भन्दा उसले बुझ्ने भए त एक सासमा नेपालको बारेमा सबै भनिदिन्थे ।
उसले सोध्यो, “तिमी यहाँ आएको कति भयो ? हामीले सुनेका त थियौँ कि एल्काकोमा मेतापेलेत (केअरगिभर) आएको छ रे भनेर । तर, आउने फुर्सद पाएका थिएनौँ त्यसैले आज आएको ।”
मैले सोधेँ, “तिमीहरू पोल्यान्डबाट आएका हौ ?”
उसले हो भन्यो, “किन र ?” यत्तिकै सोधेको । सायद मेरो प्रश्न उसले बुझ्यो ।
अब उसले सुरु गर्यो आफ्नो इतिहास बताउन- ‘हामी विश्वमा छरिएर रहेका यहुदीहरूलाई जब हिट्लरले लखेट्न र खोजी खोजी मार्न थाल्यो (खास गरी युरोपमा रहनेहरूलाई) अनि हामी आफ्नो ज्यान जोगाउनको खातिर त्यहाँबाट भाग्यौँ । हामीसँग आएका हाम्रा छिमेकी र आफन्तजनहरू कति बाटोमै मारिए । ट्रेनमा हालेर तिमीहरूको ठाउँ सम्म पुर्याइदिन्छौ भनी ठुलो डिब्बामा हालेर भित्र आगो लगाइदिन्थ्यो । कि त पशुहरूलाई जस्तो लाइनमा राखेर हातमा नम्बर खोपेर पालैपालो नम्बर वाइज बोलाएर गोली ठोकेर मार्थ्यो । हो, त्यस्तो विकराल परिस्थितिबाट भागेर हामी यहाँ आइपुगेका हौँ । मेरो यौटा भाइ पनि त्यही वार (मिल्खमा) मा परेर मर्यो । तिमीले देखेकी छैनौ एल्काको पाखुरामा पनि नम्बर छ त ?”
मैले भनेँ, “देखेकी छु, तर ट्याटु होला भन्ने सोचेकी थिएँ ।”
“हैन नि, त्यो त उसको मर्ने पालोको नम्बर थियो ।”
उसले भन्दा मेरो जिउ एकाएक सिरिङ्ग भयो ।
अझै एसुवा थप्दै थियो, “अगाडि उसको भाइको पालो थियो, भाइले निकै बेर आलटाल गरेर हामीलाई भाग्ने सङ्केत गर्दै थियो । उसले आलटाल गर्दा कत्ति कोर्रा खायो म त्यसको हिसाब गर्न सक्दिन । तर उसको आँखाले भन्दै थियो तिमीहरू भाग ! हामी कसरी त्यहाँबाट भाग्न सफल भयौँ या एल्काको भाइलाई बली चढाएर हामी भाग्यौँ भन्दै आँखा रसिलो बनायो ।” मैले तुरुन्तै थाहा पाइहालेँ कि अघि किन एल्काले यो कुरा भन्न चाहिन ।
मैले अर्को प्रश्न सोधेँ, “अनि तिमीहरू बाबु-छोरा मात्र थियौ कि अरू पनि कोही परिवारका सदस्य ?”
उसले भन्यो, “मेरो अर्को भाइ पनि थियो । तर मेरी आमाको पहिलाको श्रीमानको । ऊ अहिले पनि यहीँ छ रखोबोत भन्ने ठाउँमा । तर कहिल्यै पनि हामीलाई भेट्न आउँदैन । किन हो खै, थाहा छैन ।”
यति भनेर टार्यो ।
“अनि तिम्री आमा खोइ त ?” मेरो अर्को प्रश्नको जवाफमा उसले भन्यो, “एक वर्ष अगाडि बित्नु भयो !”
“ओ हो सरि है मैले तपाईंको मन दुखाएँ !” मैले कुरा मोडिदिएँ र अर्को कुराको सुरुवात गरेँ । “तिमीलाई थाहा छ हाम्रो नेपालको माउन्ट एभरेस्टको बारेमा ?”
उसले भन्यो, “अलि अलि स्कुलमा पढेको थिएँ ।”
यहाँ पनि स्कुलमा हाम्रो सगरमाथाको बारेमा पढाइ हुने सुनेर अचम्म मान्दै सोधेँ, “यहाँ पनि पढाइ हुन्छ ?”
“हुन्छ नि !”
“अनि तिम्रो बुबालाई त नेपाल भन्ने नै थाहा रैनछ त ?”
“बुढाबुढी मान्छे कसरी थाहा हुनु ?”
यो कुरा स्वाभाविक थियो । मलाई उसको कुरा चित्त बुझ्यो ।
समय धेरै नै घर्किसकेको थियो । चरा चुरुङ्गीहरू पनि दिनभर चरेर आफ्ना बच्चाहरूलाई चारो लिएर ती दुई ठुला बकैनाका रुखमा बास बस्न आइपुगिसकेका थिए । तिनीहरूको चिरबिर-चिरबिर आवाजले साँझ परेको सङ्केत गर्दै थियो । चराहरू आ-आफ्नो गुँडमा फर्कन सबैलाई आव्हान गरिरहेका थिए । मानिसहरू दिनभरको कामबाट घर फर्कँदै थिए । म यत्तिकैमा टोलाउन पुगेछु । अहो, चराहरू त साँझ परेपछि आफ्नो बच्चा र गुँड सम्झेर घर फर्किन्छन् भने म त मान्छे । बच्चा सम्झेर टोलाएँ निकै बेर । ओहो, नेपाल जाने दिन सम्झिदा अत्यास लाग्छ । अझै दुई वर्ष बाँकी छ । एकादेशको कथा जस्तो लाग्यो । मन भक्कानियो । लुकेर आँसु पुछेँ ।
उसले फेरी बोलायो, “सिमा !”
झसङ्ग भएँ र भनेँ, “ए, सरि है म त टोलाउन पुगेछु यसै !”
सायद उसले अड्कल काट्यो र भनिहाल्यो, “नेपाल सम्झियौ ? आफ्नो घर, परिवार र बालबच्चा सम्झियौ होला नि !”
मैले त्यसको उत्तर दिन आवश्यक ठानिन । चुपचाप रहेँ ।
एल्काको घर पछाडिपट्टि उसको छोरो मोसेको ठुलो सिसिटिभी क्यामेरा अफिस थियो । त्यहाँका कामदारहरू पनि फर्कँदै थिए । केही कामदारहरूलाई त म चिन्थेँ पनि । एत्तिकैमा एसुवा र उसको बुवा एरमान पनि उठेर जाने तरखर गर्न लागे । मैले सोधेँ, “भोलि पनि आउनुहुन्छ तपाईँहरू ?”
“आउँछौँ नि ! अब त झन् एल्का हाम्रो छिमेकी आजबाट । नयाँ मान्छेसँग पनि परिचय भयो । मलाई तिम्रो नेपालको बारेमा धेरै कुरा सुन्न मन छ । भन्छ्यौ नि होइन ?” उसले प्रश्न तेर्सायो मतिर ।
“अवश्य भन्छु” मैले तुरुन्तै जवाफ फर्काइदिएँ ।
ल, त्यसो भए हामी भोलि आउँछौँ है, अहिले अलि बढी नै चिसो पनि भयो भन्दै बाबु छोरा उठेर हिडे । तर मलाइ भने अझै उनीहरूको कुरा सुनिरहन मन लाग्यो र उसकी आमाको कसरी मृत्यु भयो अनि उसको सौतेनी भाइले के गर्यो र आजसम्म उसले किन विवाह नगरेको होला भन्ने खुल्दुली मनमा भइरहेको थियो ।
===
भोलिपल्ट पनि ठिक त्यही समयमा आइपुगे उनीहरू । हामी जहिले पनि ५ बजेपछि बाहिर बस्छौ दैलो खुल्ला राखेर ।
मैले सोधेँ, “चिया पानी के पिउँछौ ?”
दुवै जनाले एकै स्वरमा भने, “केही नपिउने, भर्खर आइसक्रिम खाएर आएको ।” मेरो बाबुलाई धेरै नै मन पर्छ भनेर ङिच्च खिया लागेको जस्तो दाँत देखाएर हाँस्यो ऊ ।
मैले फेरि कुराको प्रसङ्ग निकालेँ, “अँ साँच्चै एसुवा, तिम्री आमा कसरी बित्नु भयो अनि तिमीले यत्रो उमेर हुँदासम्म किन विवाह नगरेको ?” ऊ अप्ठ्यारो मान्यो । सायद यस्तो पनि सोच्यो होला कि कस्ती अजिब केटी रहिछ यो ? हिजो मात्र के भेटेको आज सबै सोध्छे ! मैले तुरुन्तै भने, “यदि चाहँदैनौ भने नभन्दा पनि हुन्छ ।”
तर उसले सुरु गर्यो आमाको कथा ।
सिमा, मैले भर्खर आर्मीको तालिम सकेको थिएँ । एउटी गर्लफ्रेन्ड थिइन् असाध्यै राम्री,रसियन यहुदी । उनी पनि मसँगै तालिममा थिइन् । निलो आँखा जिन्जी (सुन केस्रा) कपाल मैले फस्ट टाइममै उसलाई देख्ने बित्तिकै मन पर्यो, पर्पोज पनि राखेँ । उनीले पनि ओके गरेपछि हामी एक अर्कालाई असाध्यै माया पनि गर्न थाल्यौ । प्रत्येक शुक्रवार हाम्रो घरमा आउँथ्यौँ । अफेयरमा बसेको पनि एक वर्ष नाघेको थियो । एक दिन मैले सोचे मेरो बुवालाई त सबै थाहा छ हामी विवाह गर्दै छौँ भन्ने । तर आमालाई भने मैले भनेको थिइन । विवाह नै गर्छु भनेर एक दिन आमालाई सुनाएँ । साथमा मेरी पनि थिइन् । आमाले केही जबाफ दिनु भएन । त्यति बेला पछि कुरा गरौँला भनेर टार्नु भयो । मेरीको आँखामा हेरेँ, उसको आँखामा अलिकति करुणा र रिस पनि थियो । तर म आज्ञाकारी छोरा भएर चुप लाएर बसेँ । बिहेको कुराले बुवा त खुसी हुनुहुन्थ्यो तर खै आमाको अनुहारमा खुसी देखिन । सायद अलि रोगी हुनुहुन्थ्यो, केही डर भएर हो कि, छोराले हेर्दैन भन्ने लागेर हो कि, मलाइ थाहा भएन ।
यसै गरी हप्ता महिना बित्यो आमाको कुनै उत्तर आएन एक दिन म आफैले फेरी प्रश्न राखेँ, “आमा खै त मेरीसँगको मेरो विवाहको बारेमा भन्छु भन्नु भएको थियो केही भन्नु भएन किन आमा ?”
“ए, बिर्सेको छैनस् ? मैले त सोचेकी थिएँ बिर्सिसकिस् होला भनेर । हेर छोरा, मैले भनेको मान्छस् भने त्यो रसियन केटी बिहे नगर मलाई त्यो केटी ठिक लागेन । हाम्रो यो सम्पत्ति जति सबै त्यसले लिएर हिँड्छे ।”
आमाको यो कुरा सुनेर म छाँगाबाट खसेको जस्तै भएँ र भनेँ, “ठिक छ तपाइको यही इच्छा हो भने, तर यदि मैले मेरीलाई विवाह गर्न पाइन भने म कसैसँग पनि विवाह गर्दिनँ ।”
तर आमा आफ्नो अडानमा दृढ रहनुभयो । मैले पनि त्यही दिन प्रण गरेँ कि जिन्दगीमा अरू कुनै केटीसँग बिहे गर्दिन ।
आमालाई ब्लड क्यान्सर थियो । उहाँ दिनानुदिन थालिन थाल्नु भयो । मलाई अर्की राम्री केटी खोजेर बिहे गर्न धेरै अनुनय विनय पनि गर्नु भयो । तर, मेरो मन मानेन मैले बिहे नै गरिन । किनभने मेरो मन मुटुमा सिर्फ मेरी मात्र थिई । आफूलाई बेखुसी बनाएर गरेको प्रेम या विवाह केवल एक झुटो सम्झौता बाहेक ठान्दिनथेँ म ।
“त्यसो भए तिमीले आमालाई धोका दियौ ? आफ्नी आमालाई त्यसो सजाय दियौ ? तिम्रो विवाह हेर्ने ठुलो रहर हुँदो हो आमाको तर तिमीले त्यो पुरा गरिदिएनौ ?” मैले सनसनीपूर्ण प्रश्न गरेँ ।
उसले मलिन स्वरमा जवाफ दियो, “होइन सिमा, आमालाई सजाय होइन कि मैले जीवनमा सम्झौता गर्न चाहिन । त्यसपछि बिरामी आमाको स्याहार सुसार गर्न थालेँ । कतै काम पनि गर्न गइन । आफ्नै गाई गोठ हेरचाह गर्न थालेँ । गाई गोठमा धेरैजसो बुबाले काम गर्नुहुन्थ्यो । म आमाको स्याहार गर्थे । तिमीले उठेर हेरे त, मेरो गाई गोठ यहाँबाट पनि देखिन्छ ।” बोल्दै अलि अगाडी बाटोको छेउमा लग्यो । हेरेँ बाटोबाट देखिन्थ्यो पारिपट्टि उसको घर र घर अगाडी ठुलो बगैँचा, सुन्दर फूलबारी र गाई गोठ ठुलो रहेछ । गाईहरू ४०-५० नै थिए रे । एल्का र हाम्रा उति नै थिए । पछि उसको छोरो मोसेले भ्याएन, किनभने उसको बाउ बिमारी भएर हस्पिटलमै बस्नु पर्यो । आमा नभएको मौका पारेर पछि सबै गाईहरू बेचिदियो र क्यामेरा पसल खोल्यो । म भने जहाँको त्यहीँ । उसले यो पनि भन्यो ।
कथाको मेसो लम्ब्याउँदै लग्यो एसुवाले, “म फुर्सदको समयमा बुवालाई सघाउँथेँ । बुवा सधैँ दुख मान्नु हुन्थ्यो मैले बिहे नगरेकोमा । बुवाका कुरा म चुपचाप सुन्थे मात्र । मेरीले मलाइ छोडेर गएको दिनदेखि म प्राय एक्लै थिएँ । बाबा-आमा भएर पनि । तर अचानक मेरी ५ वर्षपछि भेट्न आइन् । उनको आँखामा खुसीको चमक थियो । मेरो खुसीको सिमा रहेन धेरैपछि मेरीलाई देखेर । बाहिर गार्डेनमा बसिरहेको थिएँ कफी पिउँदै । कसिलो अँगालो हालेँ उसलाई । मेरीले पनि मलाई निकै बेर अँगालोमा बेरेर चुम्बन गरिरही । बर्षौं छुट्टिएर फेरी भेट भएका हामी दुई जनामा खुसीको छाल उर्लिन थाल्यो । मेरो मनले भनिरहेको थियो- म अब कहिले मेरीलाई मबाट टाढा जान दिन्न । उसलाई अँगालोमा यसरी कसेको थिएँ कि ऊ कतैबाट फुत्किन नसकोस् ।
बिस्तारै हात हटाउँदै भनेँ- मेरी अब त मलाई छोडेर जाँदिनौ नि हैन ? हेर न, आमा पनि दिनदिनै थला पर्नु भएको छ । सायद अब बाच्नुहुन्न होला धेरै । मेरीको समुद्र जस्तै देखिने निलो आँखामा मायाको भाव उर्लेर आयो । मेरीको हात समातेर आमाको छेउमा लागेँ र भने- आमा, हेर्नुस् त को आएको छ? बेडमा थला परेर सुत्नु भएकी आमाले पुलुक्क मेरीतिर हेरेर मुन्टो बटार्नु भयो । मेरी मन परेको छैन र मलाई अरूसँग विवाह गर भन्ने अमाको नाटकीय कुरा त्यति बेला मलाई बुझ्न बेर लागेन ।
“के कुरा ?” मैले प्रश्न गरेँ ।
“यही कि मेरी आमाको अर्को श्रीमान पट्टिको छोरा छ । उसका सन्तानहरू पनि छन् । अनि यो सम्पत्ति मेरो बुवाको कम र आमाको ज्यादा हो । मेरो बुबा पोल्यान्डमा गरिब परिवारबाट हुनहुन्थ्यो । भने आमा धनी । अनि मेरो बिग ब्रदरको बुवापट्टिको सम्पत्ति थियो । त्यो सम्पत्तिको हकदार पनि उही नै हुनुपर्छ भन्ने आमाले सोच्नु भएको रहेछ । यो कुरा आमा बितेपछि मात्र मलाई बुवाले सुनाउनु भएको थियो । त्यति बेला लाग्यो- बरु आमाले सबै सम्पत्ति लान्छु र म उतै गएर बस्छु भनेको भए पनि दिने थिएँ । र मसँग जे जस्तो हुन्थ्यो मेरी आमालाई निस्वार्थ भएर पाल्थेँ । जे जस्तो भए पनि आफ्नी आमा हुन् । तर, आफ्नो स्वार्थको लागि मेरी आमाले मलाई मेरीसँग विवाह गर्न रोक्नु भयो । ठिकै छ । सीमा, तिमीहरूको देशमा पनि यस्ती आमा हुन्छिन् ?” गहभरि आँसु पारेर उसले सोध्यो ।
मैले केही बोलिनँ । भन्न त मन थियो थुप्रै विकृत आमाका कथाहरू । तिम्रो देशमा भन्दा नराम्रा आमाहरू हाम्रोमा छन् भनेर । जसले गर्भमै आफ्नो सन्तान निमोठ्छन् । नवजात शिशुलाई खोलामा बगाएर आफू भाग्छन् । कमसेकम तिम्रो देशमा त नियम, कानुन छ । हाम्रोमा त त्यो पनि छैन । धेरै भन्न मन लागेर पनि भनिन । आफ्नो देशको इज्जत फाल्न सकिन ।
केही क्षणको मौनता भङ्ग गर्दै ऊ बोल्यो, “अब यिनै बुढा बुबालाई स्याहारसुसार गरेर बस्छु । जतिजेञ्जेल म बाच्छु ठिक छ । तर अब म मरेपछि भने झन् मेरो त्यो बिग ब्रदरलाई मात्र यो सम्पत्ति दिन्न किनकि हामीलाई त्यसले कहिल्यै भेटेन । अब त झन् कहिले आउँदैन म र बुबालाई हेर्न । यो सम्पत्ति सबै मलाई र मेरो कजनहरुलाई पनि वकिल राखेर भागबन्डा लगाइदिन्छु ।”
म भावुक भएर सुनिरहेँ । कस्तो अचम्म यहाँ पनि सम्पत्तिको लागि यस्तो हुँदो रहेछ । अनि आमा ! यति निस्ठुरी एउटी आमा कसरी हुन सक्छिन् आफ्नो स्वार्थ खातिर ! आफैले जन्माएका आफ्नै सन्तानमा कसैलाई काखा र कसैलाई पाखा कसरी गर्न सक्छिन् ?
===
म पनि एल्काको घरमै काम गर्दा-गर्दै वर्ष बित्यो । एसुवाका बाबु (एरमान) पनि थला पर्दै थिए । उसले आफ्ना बाबुको खुब स्याहार गरेको देखिन्थ्यो । तर घर सरसफाइको लागि भने यहीँको स्थानीय इजरायली एक महिला आउँथी । नोमी थियो उसको नाम । ऊसँग मेरो मित्रता राम्रो भयो । एसुवाको घरमा २ घण्टाको काम सकाएर ऊ एल्काकोमा आउँथी । अनि घन्टौँ गफ गरेर बस्थ्यौँ हामी । ऊ नेपालको बारेमा अनेक कुरा सोध्ने गर्दथी । म पनि मज्जाले बयान गरिदिन्थे । अब त म पनि हिब्रु भाषामा निपुण भइसकेकी थिएँ ।
एक दिन अकस्मात् नोमीले मलाई फोन गरी र एसुकोमा बोलाई । म त्यहाँ कहिल्यै गएको थिइनँ, आज गएँ । पछाडि बाटोछेउको पहेँलो गेटबाट छिर्नु भनेकी थिई, मैले त्यसै गरेँ । गेटभित्र छिरेपछि प्रस्ट देखियो मनमोहक बगैँचा । छेउमा ठुलो सेतो घर । मयुर र बिरालाहरू आ-आफ्नै सुरमा खेलिरहेका । म त एक छिन त्यहीँ हराएँ । फेरि फाेन गरी र एरमानको स्थिति नाजुक हुँदै गएको उसले बताई । एसुवा बजार गएको रहेछ । त्यही बेला अचानक एरमानलाई बिमारले च्यापेछ । अनि, आपत परेर मलाई गुहार माग्दै बोलाएकी रहिछ नोमीले । उसले एसुवालाई फोन गरी सबै वृत्तान्त भनी । एसुवाले बाबुलाई अस्पताल लग्यो, तर एरमान अस्पतालबाट फर्किएनन् ।
म छुट्टीमा निस्किँदा एरमान भन्ने गर्थे, “सीमा, कहिले पनि कसैसँग लिफ्ट मागेर नहिँड है ! अरूको गाडीमा । बरु अलिकति दुख गर्नू तर पैदलै हिँड्नू ! यहाँ त थाहै हुँदैन, अरबीहरू हुन्छन् गाडीमा हालेर कहाँ पुर्याउन सक्छन् । त्यसैले म बुढो मान्छेको कुरा मान है !” उसका कुरा याद आयो । र आँखा कति बेला भरिएछन् थाहा भएन । हाम्रो भाषा, धर्म र भूगोल फरक भए पनि मन त एकै हुँदो रहेछ । मानवीय संवेदना त छ नि सबै मान्छेमा । नत्र हिजो अस्ति भेटेको कहाँको कहाँको मान्छेको मृत्यु हुँदा किन यसरी आँसु बग्थे होला र?
एसुवा पनि दिनप्रतिदिन कमजोर हुँदै गयो । उसको अनुहार मलिन देखिन्थ्यो । एक्लोपनको न्यास्रोले टिठलाग्दो भएको थियो । कहिलेकाहीँ हामी भएको ठाउँमा आउँथ्यो र सामान्य गफ गरेर फर्किन्थ्यो । एल्का सान्त्वना दिन्थी उसलाई । मेरो मन पनि द्रवीभूत भएर आउँथ्यो उसको अवस्था देखेर ।
नोमी पनि आउन छोडिछे । मेरो र एल्काको सल्लाह हुन्थ्यो उसलाई- एक असल महिला खोजेर बिहे गर्ने । जीवनमा कोही न कोही साथी त चाहिन्छ नि ! तर, ऊ मन्जुर थिएन । किन हो, उसलाई यो बिहे भन्ने कुरादेखि ठुलो वितृष्णा थियो । पक्कै पनि आफूले मन पराएको मायालुसँग बिहे गर्न नपाएपछि बिरक्तिएको होला । अब त आफू रोगी र कमजोर भइसकेकोले बिहे गर्नु झन् अनुपयुक्त ठान्दथ्यो । मेरीसँग बिहे गर्न आमाको कारण पाइन । अरूसँग मन जाँदैन । अब त मेरा जीवनसाथी भनेकै यिनै मयुर र बिराला हुन् भन्थ्यो ।
एसुवा कम्मर बङ्ग्याएर हिँड्थ्यो । सायद उसलाई निकै गाह्रो भएको हुनुपर्छ । अस्पताल जान सुझाउँथेँ म ।
भन्थ्यो, “अर्को हप्ताको अपोइन्टमेन्ट छ । बुबा बितेपछि त्यो मेरो ब्रदर आएको छैन, पर्सि आउँदै छ । सम्पत्तिको भागबन्डा लाउन । तर, मैले वकिल लाएर भाग लगाइसकेको छु । उसलाई चित्त बुझेन रे! अरू कजनहरुलाई नदिने भन्छ । मेरी आमाको सम्पत्ति हो, अरुलाई किन दिने भनेर निहुँ खोज्दै छ । बाबु जिउँदो हुँदा कहिल्यै आएन भेट गर्न । आमा हुँदा कहिलेकाहीँ आउँथ्यो । म पनि त मर्ने बेलामा जसले हेर्छ उसको लागि र पछि मेरो हात खुट्टा नचल्ने भएपछि हेर्ने मानिसलाई समेत राख्नु पर्छ नि! यो सब मेरी आमाले गर्दा भएको हो ममताको खोलभित्र यस्तो स्लो पोइजन खुवाउनु भएको रहेछ! के गर्नु, कुरा बुझिन पहिल्यै । जब सबै कुरा बुझेँ धेरै ढिला भइसकेछ ।”
लगभग हप्तादिन पछि फेरी हामी भएको ठाउँमा आयो एसुवा ।
एल्काले सोधी, “एसुवा, तिम्रो भाइ आयो त ?”
उसले मुन्टो हल्लाएर आयो भन्ने जवाफ दियो ।
एल्काले फेरी सोधी, “अनि के भन्यो त ?”
एसुवा झन् निराश भावमा प्रकट भयो, “के भन्नु, झगडा गरेर गयो । ऊ कुनै पनि हालतमा मेरो सर्त नमान्ने रे ! बरु वकिल लाउने रे !” मैले उनीहरूको संवादको क्रम भङ्ग गर्दै चिया पिउन अनुरोध गरेँ । उसले स्वीकार गर्याे । तीन कप चिया बनाएर ल्याएँ मैले र हामी तीनैजना सँगै पिउन थाल्यौँ ।
गफको सिलसिला जोड्दै एल्का बोली- ”अनि तिम्रो स्वास्थ्य अवस्था कस्तो छ त एसुवा ?”
हताश मुद्रामा एसुवा बोल्यो, “एकदम गाह्रो हुँदै छ । मुटुमा मेसिन राख्नुपर्छ भनेको छ डाक्टरले ।”
अत्तालिएर एल्काले सुझाई, “ए, त्यसो भए अहिले त्यो चबा (power of attorney) कसैलाई नदेऊ है ! पहिला जस्तो बनाएका छौ, त्यस्तै राख । लाज नभएको त्यो तिम्रो भाइ भनाउँदोलाई पनि नदेऊ । जसले तिमीलाई हेर्छ उसलाई त अलिकति बढी पक्कै दिनुपर्छ । तसर्थ, मेरो कुरा मान है एसुवा !” एल्काले आफ्नो छोरालाई जसरी सम्झाई एसुवालाई ।
अर्को हप्ता एसुवा हस्पिटल जान लागेको रहेछ । बाहिर बाटोमा बेस्सरी गाडीको हर्न बज्यो ।
एल्काले मलाई भनी, “बाहिर हेर सीमा, एसुवा हुनुपर्छ । म बिरामी हुँदा प्रायजसो एसुवाले नै मलाई अस्पताल लिएर जान्थ्यो । मेरो छोरो मोसेले मलाई कहिल्यै वास्ता गरेँ । मेरो छोरो बैरी । एसुवाको आमा बेइमान । के गर्नू, यस्तै रहेछ संसार !”
मैले बाहिर हेरेँ । नभन्दै एसुवा नै रहेछ ।
ढोकाबाट सोधेँ, ”के भयो किन हर्न बजाएको ?”
उसले भन्यो, “आज मेरो अप्रेसन छ मुटुको । म कति दिन हस्पिटल बस्नुपर्छ थाहा छैन ।”
एल्का पनि उठेर आइन् । नजिकै गयौँ । उसले भन्यो, ”म हस्पिटल जान लागेको । यदि तिमीहरूलाई समस्या हुँदैन भने कृपया मेरो बिरालोको हेरविचार गरिदेऊ न है ! खानेकुरा बाहिरै छ ।”
हामीले भन्यौँ, “हुन्छ, ढुक्क भएर जाऊ र अपरेसन सफल भएर फर्क । गुड लक एसुवा !”
ऊ गयो हस्पिटल । उसका कजनहरू आउने कुरा थियो । आए कि आएनन्, थाहा भएन । हस्पिटलमा पो गए कि ? म भने दिनहुँ गएर बिरालो र मयुरहरूलाई खाने कुरा दिन्थेँ । फूलहरू ओइलाउन लागेका थिए । पानी हालिदिन्थेँ । एसुवाको नियाँस्रोले सबै निस्ताएका थिए । वरिपरिको वातावरण उदास,उराठ लाग्दथ्यो । आज ५-६ दिन भयो अझै आएको छैन एसुवा । उसको घरमा पनि कोही फर्केको छैन । मैले नोमीलाई फोन गरेँ र एसुवाको बारेमा सोधेँ । उसले पनि केही थाहा छैन भनी । तर उसलाई एसुवा अस्पताल गएको भने थाहा रहेछ ।
नोमीले भनी, “सीमा, मलाई लाग्छ अब एसुवा फर्केर आउन मुस्किल छ ।”
नोमीको कुरा सुनेर मेरो मन चिसो भयो । केही बोल्न सकिन ।
हामीसँग भेट्न असाध्यै मन लागेको भनेर एक दिन नोमी हामीकहाँ आई । निकै बेर गफ गर्यौं । एल्का, म र नोमी । हाम्रो देशमा जस्तै अन्यत्र पनि सम्पत्तिको नाममा घर झगडा हुँदो रहेछ । विदेशमा त सोह्र वर्ष कटेपछि आफैँ गरिखान्छन् भन्ने सुनेको, होइन रहेछ ।
नोमीलाई यो प्रश्न राख्दा उसले भनी, “खासमा सोह्र वर्ष लागेपछि उनीहरू स्वतन्त्र चाहिँ हुन्छन् तर व्यक्तिगत स्वतन्त्र भए पनि अझै अभिभावकमै आश्रित हुन्छन् । राम्रोसँग कमाई खाने नहुन्जेल ।”
हाम्रो आपसी भलाकुसारी निरन्तर चलिरहेकै थियो । यात्तिकैमा एसुवाको घर अगाडी बाटोमा कालो गाडी आएर रोकिएको देखियो । केही मानिसहरू पछि-पछी आफ्नो प्राइभेट कारमा आइरहेका देखिन्छन् । नोमी हतारिँदै बाहिर निस्की । म पनि पछि-पछी निस्कन्छु । मानिसहरूको भिड लाग्छ । कोही फोनमा व्यस्त हुन्छन् । एक-डेढ घण्टाभित्र हुरुरुरु मानिसहरूको झन् ठुलो भिड जम्मा हुन्छ । सायद एसुवाका आफन्त र नजिकका मानिसहरू हुनुपर्छ । कोही सुँक्क-सुक्क रुँदै थिए । त्यत्रो भिडमा कुन चाहिँ थियो उसको स्वार्थी भाइ! हामीले ठम्याउन सकेनौ ।
एसुवाले आफ्नो बैरी भाइलाई सारा सम्पत्ति छोडेर गयो । आफ्नो प्रेमलाई अमर राख्न आजीवन अविवाहित रह्यो । आफ्नै आमाको ममताभित्र त्यत्रो स्वार्थ र खोट हुँदा पनि चुपचाप सहिरह्यो । अन्ततः उसकी आमाले पनि के नै लिएर गइन् र ? उसलाई आफ्नी प्रेमिकासँग विवाह गर्न दिएकी भए के बिग्रिन्थ्यो ? आखिर मरिलानु कसले के रहेछ र यो क्षणभङ्गुर संसारमा ! आफ्नै आमाको मातृत्व स्वार्थी भइदिनाले एउटा सन्तानको खुसी मात्र खोसिएन उसको सारा जीवन नै निरर्थक भएर अनन्तमा बिलायो । हामी भावुक भयौँ । एसुवालाई श्रद्धाका दुई थोपा आँसु अर्पण गर्दै निःशब्द बन्यौँ । उसको मृतात्माले चीर शान्ति प्राप्त गरोस् र अर्को जन्ममा आफूले रोजेकी प्रेमिकासँग बिहे गरेर खुसीले जिउन पाओस् भन्ने मौन कामना गर्दै भारी मन लिएर घरभित्र पस्यौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

