आज उनको जन्मदिन ! यो दिनको महत्व नै पो के छ र अब उनको निम्ति । हुन ता बालक छँदाबाहेक यो दिनको महत्व कहिले भएन उनलाई । सानो छँदा पो नयाँ लुगा, खेलाउने पुतली जस्ता उपहार पाउँदा उनी फुरुक्क हुन्थिन् । आमासँग मन्दिरमा गएर देउतालाई फूल-प्रसाद चढाउँदै ढोगिदिन्थिन् ।

पुजारीले ‘भाग्यवती भए !’ भनेर आशीर्वाद दिंदा उनको मनै भाग्यमानी हुन्थ्यो, उनी तृप्तिसाथ प्रसाद खान्थिन्, तर अब न नयाँ लुगामा रुचि छ न त खाने कुरामा स्वाद । मान्छेका इच्छाहरू मरिसकेर पनि मान्छेले बाँचिरहनु पर्ने बाध्यता खप्नु परेको देख्दा उनलाई लाग्यो- मान्छेले आत्महत्या गर्ने छूट पाउनुपर्छ, त्यति मात्र होइन अझ फ्रान्समा भर्खर मात्रै प्रकाशित भएको पुस्तक ‘आत्महत्या गर्ने विभिन्न कला भन्ने पुस्तक सबैले पाउनुपर्ने जस्तो लाग्यो । त्यो किताब प्रकाशित भएपछि फ्रान्सका धेरै मानिसले आत्महत्या गरे भनेर त्यो किताबको बिक्री र प्रकाशन बन्द भयो अरे कस्तो सिल्ली तर्क ! मर्न मन लागेपछि कसैले रोकेर रोक्न सक्छ र ? तर सक्दो रहेछ !! मायामोह पनि त बन्धन नै हो । आफू मरेपछि आफूलाई माया गर्ने परिवारको कस्तो बिचल्ली होला । आः जे सुकै होस् उनलाई के खाँचो ? ‘आफू मरेपछि डुमै राजा !’ यस्तै कुराहरू गमेर उनी घाम तापिरहेकी थिइन् ।

० ० ० ०

पढिरहेको हातको पत्रिका हातैमा थियो । हुलाकी आएर उनलाई एउटा रजिष्टरी चिठी दिए । रसिदमा हस्ताक्षर गरेपछि हुलाको गए । उनले चिठी खोलिन् । चिठीसँग एउटा ‘डायरी’ पनि थियो । डायरी राखेर पहिले पत्र पढ्न लागिन् ।

लेखेको थियो-

“आदरणीय दिदीज्यू,

१५ वर्षको लामो पर्खाइपछि आज फेरि पत्र लेख्ने साहस बटुल्न सकें । तपाईं मसँग साह्रै रिसाउनु भएको कुरा पनि थाहा पाएको थिएँ । म वाध्य थिएँ दिदी, विश्वास गर्नोस् । मारूतलाई मैले कति सम्झाएँ; केही लागेन । ऊ मर्नै खोज्यो र मात्र मैले उसलाई तपाईंकहाँ दोस्रो पटक लगेको थिएँ; साथीको मायाले मलाई त्यसो गर्न बाध्य तुल्यायो । अब त ऊ मरिसक्यो अभागी ! १५ वर्षअघि मलाई उसले अर्को अप्ठ्यारो भार सुम्पेको थियो । ऊ तपाईंभन्दा अघि मरेको खण्डमा उसको डायरी तपाईंलाई सुम्पिने । साता दिनअघि हवाई दुर्घटनामा उसको मृत्यु भयो । ऊ अविवाहित नै मर्यो । उसका मातापिता पनि मरिसकेका छन् । डायरी पठाएको छु- क्षमा माग्ने साहस ता गर्दिनँ; तर मेरो अभागी साथीलाई माया दिन नसके पनि क्षमा चाहिं गरिदिनु होला, बिन्ती गर्छु ।

-भाइ कर्ण !”

० ० ० ०

पत्र पढेर उनी झस्किन् । कर्ण उनीसँग किन डराएको होला ? हो, १५ वर्षअघि उसलाई भेट्टाएको भए काँचै खाने थिइन् होला, तर उनले अब त्यो उमेर पार गरिसकेको छन् – त्यस्ता कुरामा रिसाउने कुरै भएन । १५ वर्ष अघिको त्यो दिन पनि उनको जन्मदिन परेको थियो आजै जस्तो ! फरक यति मात्र थियो त्यतिवेला उनी बेदनाले छट्पटाएर एकान्तमा बसेर रुन चाहन्थिन् आज जीवनसँग वाक्क भएकी छन् । आज उनका आँखा पानी सुकेको खोलाको बगर जस्तो छ, सुख्खा !

त्यो दिन साथीहरूले जन्मदिन मनाइन सिनेमा जाऊँ भन्दा पनि नमानेर उनी एकान्तमा बस्न खोजेकी थिइन्, तर भवितव्यले एउटा अभागो ठिटोको कपालमा अर्कै कुरा कोरिदिएको रहेछ । नुहाएर कपाल सुकाउन उनी बार्दलीमा बसेकी मात्र थिइन्, कर्ण भाइ उनको एक जना साथीसँग पसे फटाफट । दुई वर्षपछि आएको साइनोको भए पनि भाइको आगमनले उनलाई रमाइलो लाग्यो । कर्ण भर्खर हवाई चालक (पाइलट) भएको कुरो उनले सुनेको थिइन् । देख्नासाथ उनले भनिन्, ‘बधाई छ है भाइ, पाइलट भएकोमा । उर्दी लाएको हेर्न पाउँला नि ।’

कर्णले उनलाई नमस्कार गर्दै आफ्नो साथीसँग परिचय गराइदिए, “मारूत ।”

मारूतको नमस्कार थाप्दै उनले ठट्टा गरिन्, “मारूत पनि जहाजमा उड्ने ?”

मारूत खिस्स हाँसे, कर्ण निकै ठूलो स्वरले हाँसे ।

ती युवकहरूलाई उनले स्नेहसाथ चिया र खाने कुरा ख्वाइन् ।

कुराकानी शुरू भयो । उनले सोधिन्, “दार्जिलिङ ! कति दिन बस्ने ?”

कर्णले जवाफ दिए, “आजै साँझमा फर्कन्छौं ।”

उनले ठट्टा गरिन्, “ए, दिदीसँग औपचारिकता पालन गर्न मात्र आएको, त्यस्तै हो तिम्रो माया !”

कर्ण खिस्स हाँसे, उसको साथीले तुरुन्तै जवाफ दियो, “आज्ञा भए हामी बस्न पनि सक्छौं ।”

साथीचाहिं कर्णभन्दा उमेरमा केही ठूलो देखिन्थ्यो, तर दुवै कलिला ठिटा थिए !

उनको एकान्त केही छिनको लागि भङ्ग भए पनि कर्णलाई भेट्दा उनलाई खुशी नै लाग्यो । उनीहरू गएपछि बसेर डायरीको पाना सबै कोर्ने निधो गरेर उनी ढुक्क बसिन्, तर त्यसो हुन सकेन दिउँसो २ बजेतिर फेरि दुवै जना उनीकहाँ आए । उनले सोधिन्, “किन ? राति हिंड्ने सुर छ कि कसो ?”

कर्णले जवाफ दिए, “हामीले भोलि मात्र जाने निधो गर्यौं । साथीले दार्जीलिङ राम्रो हेर्न पाएकै छैन । आज दिदीलाई हाम्रो निम्तो !”

उनले सोधिन्, “केको खुशीयालीमा निम्तो नि ?”

कर्णले भने, “हामी पाइलट भएको उपलक्ष्यमा ।”

उनलाई पो फसाद ! यसो उनीहरूको अनुहार हेरिन्- दुई उत्सुक कलिला मुहार उनलाई हेरिरहेका थिए । मारूत उसको विदेशी बन्धु उसले, के भन्ठान्ला ! इच्छा नभए पनि उनले भनिन्, “धन्यवाद, म खुशीसाथ निम्तो स्वीकार गर्छु ।”

उनीहरू खुशी भएर गए ।

साँझ ७ बजे मारूत एक्लै उनलाई लिन आए । उनले सोधिन्, “कर्ण खोइ ?”

उसले हाँसेर जवाफ दियो, “नडराउनोस्, तपाईं मसँग सुरक्षित हुनुहुन्छ ।” उनीहरू अंग्रेजीमा कुरा गर्दै होटेलतर्फ लागे ।

होटेलमा पनि कर्ण थिएन । उनले मारूतको मुखमा पुलुक्क हेरिन् । मारूतले भने, “कर्ण कतै अल्मलियो होला ।” कर्ण आफ्नो प्रेयसीसँग होला भन्ने सम्झी उनी चूप लागिन् । खानेकुरो राखेर वेयरा गयो । उनीहरूले खान शुरू गरे । खाँदा मारूतले उनलाई आफ्नो विषयमा धेरै कुरा भने । ऊ मराठी ब्राह्मणको एकलौटे छोरो । दुई वर्षअघि मात्र उसले इन्जिनीयर पास गरेर हवाईजहाज चालकमा भर्ना भएको । उनकी आमालाई ऊ हवाईचालक भएको मन नपरेको आदि ।

भोजन सकिएपछि उसले सोध्यो, “कफी घरमा खाऊँ है ?”

उनले भनिन्, “घरमा ?”

उसले भन्यो, “तपाईंको घरमा ।” उनले जवाफ दिइन्, “घर होइन, मेरो डेरामा !”

“हुन्छ ।” ऊ हाँस्यो, दुवै जना डेरा फर्के । उनीहरू डेरामा पस्दा राति नौ बजिसकेको थियो । उनले हत्तपत्त कफी बनाइन्, दुवै कफी पिउन थाले । एक्कासि उसले सोध्यो, “म कस्तो छु हँ ?”

उनले हाँसेर भनिन्, “राम्रो, सिनेमाको नायकजस्तो !”

उसले भन्यो, “ठिटीहरू त्यसै भन्छन् ।” ऊ बूढो भए जस्तो ।

उनी हाँसिदिइन् र भनिन्, “नार्सिसस् ।”

उसले आफ्नी आमा, आफ्नो बा र आफ्नो घरको  विषयमा कुरा गर्यो । कुरा गर्दागर्दै ऊ एकछिन् चूप लाग्यो र भन्यो, “बिहान हामीले पुना हिंड्ने निधो गरेका थियौं, तर तपाईंको घरभित्र पसेपछि मलाई के भो के भो र मैले कर्णसँग आज यात्रा स्थगित गर्न कर गरें । तपाईंलाई पूर्व परिचित जस्तो पनि लाग्छ । मेरी आमाको युवावस्थाको एउटा तस्वीर छ, कपाल नुहाएर घाममा सुकाउन बसेको । पुनाको प्रसिद्ध चित्रकारले लेखेको । आज बिहान मलाई तपाईंलाई देख्दा त्यही तस्वीर जस्तो लाग्यो, फेरि देवीको प्रतिमा जस्तो पनि लाग्यो ।”

उनले गम्भीर भएर अंग्रेजीमा नै भनिन्, “धन्यवाद ! आमा र दिदीमा केही भिन्नता हुन्न, तिमी मलाई पनि आमा नै सम्झ, नेपाली आमा !”

ऊ आत्तियो र छिछिटो अंग्रेजीमा भन्यो, “होइन, होइन, त्यस्तो हुनै सक्तैन । म तिमोलाई प्रेम गर्न लागें ।”

उनले ठट्टाको स्वरमा भनिन्, “सिल्ली केटा, यो उमेरमा सबैलाई त्यस्तै हुन्छ । महान् साहित्यकार टाल्सटायलाई पनि भएथ्यो । अब खुरुक्क जाऊ मलाई निद्रा लागिसक्यो ।”

उसले आर्द्र भएर भन्यो, “म जीवनमा यति गम्भीर कहिले थिइनँ । साँच्ची भनेको म तिमीलाई मन-प्राणले प्रेम गर्छु । तिमीसित विवाह गर्न चाहन्छु । हामी सम्पन्न छौं, मेरी आमाले तिमीलाई धेरै माया गर्नुहुनेछ । के नोकरी गरेर बसेको यसरी एक्लै ?” उनलाई निकै घोच्यो पछिल्लो वाक्यले । तैपनि आफूलाई सन्तुलित राखेर भनिन्, “बाबु ! कुखुरे बैंस यस्तै हुन्छ । अब गइहाल । कर्णको साथी, पाहुना भनेर मात्र मैले हात थामेकी, नत्र तिमी मेरो छोरा जस्तै हो, गइहाल ।”

उसले भन्यो, “म कर्णको साथी भए पनि ऊभन्दा उमेरमा ठूलो छुः २५ वर्ष पुगिसकें । विश्वास गर म तिमीलाई चाहन्छु, भोलि नै आमालाई तार पठाउँछु ।”

उनी कुर्सीबाट जुरुक्क उठिन् र ढोकापट्टि औंल्याएर भनिन्, “जाऊ नत्र नोकर बोलाएर गलहत्याएर निकालिदिन्छु, बढी रोमियो हुँदो रहेछ पाखे ! मातेको भनौं रक्सी खाएको छैनस् । तिमीहरू जस्तालाई जाने ठाउँ छ त बजारमा जाऊ न ।”

ऊ बडो करुण भएर भन्यो, “दया गरेर मेरो भावनालाई त्यस्तो फाहोर नभन-मैले साँच्ची भनेको म तिमोसित बिहे गर्न चाहन्छु ।”

उसले हात छोला जस्तो गरेपछि उनले हात उठाइन् र उसको गालामा एक झापट दिइन् – ‘चट्याङ’ र भनिन्, “हिन्दी सिनेमाको सम्वाद बोल्छौ, त्यसको नायक हुन खोज्छौ ? गइहाल अब कर्णलाई भन्नु – उसलाई मैले जानेको छ ।”

उसले गालामा हात राख्यो र उनलाई त्यो हेराइ हेयो । उसको हेराइले उनको चित्त नै फाटेर आयो- कति निर्दोष थियो ! तर उनी आफू अझ निठूर हुँदै भनिन्, “गइहाल, गइहाल ।”

करुण आँखाले उनलाई हेर्दै भन्यो, “हे भगवान् ! कसरी विश्वास दिलाऊँ अब ।” त्यसपछि ऊ गयो ।

ऊ गइसकेपछि पनि उनी कामिरहिन् । अपमान, क्रोध र वात्सल्य सबै उम्लेर उनको मुटु नै फुटाउन खोजिरहेथ्यो ।

० ० ० ०

१५ वर्षपछि फेरि आज जन्मदिनकै दिन उसको मृत्यु सम्बाद र उसको डायरी उनको हातमा छ । उनको जन्मदिन बिथोल्न नै उसको जन्म भएको रहेछ ! के ऊसँग उसको पूर्व जन्मको सम्बन्ध थियो ? डायरी खोलिन्, अरू पाता छोडेर अप्रैल ११ को पाता खोलिन्, “आज अप्रत्याशित यो के भयो ? मैले जीवनभरि जस्ती नारीको सपना सजाएको थिएँ; तिनलाई आज देखें । भर्खर नुहाएको कपाल सुकाउन बसेकी तिनी देवी जस्ती साथै मेरी आमाको तस्वीर जस्ती थिइन् । दुई आराध्यहरूको एउटै मूर्ति ! मलाई बिजुलीले छोए जस्तो भयो । हाम्रो परिचय नमस्कार आदानप्रदान सब म यन्त्रचालित भएर गरिरहें । मेरा आँखा त तिनको सुन्दर, सौम्य र वेदनायुक्त अनुहारमा केन्द्रित थियो, तर म कति अभागी । उनले त मलाई फटाहा बालक मात्र सम्झिन् !! ३० वर्षमा नै उनको मन बूढो भएको रहेछ, मैले त्यहाँ बस्ने अधिकार पाउन सकिनँ ।

म धनीमानी परिवारको एकलौटे छोरो, म सुन्दर, स्वस्थ पुरुष, राम्रो जागीरमा छु, म तिनलाई जबर्जस्ती पनि त गर्नसक्थें । होइन, प्रकृति-पुत्री तिमी जस्ती नारीलाई राक्षसले पनि जबर्जस्ती गर्न सक्तैन । तिमीलाई त म आसनमा राखेर पूजा गर्न चाहन्छु । म तिम्रो मुहारबाट वेदनाका सबै छापहरू पुछिदिन चाहन्छु । तिम्रो निर्बल काँधबाट सबै दायित्व आफ्नो बलिष्ठ काँधमा लिन चाहन्छु । अधिकार देऊ प्रिया, मलाई त्यो अधिकार ! मेरो जन्म १० वर्षअघि भए ? अब तिमी मेरो जीवनको कहिल्यै नबिर्सने ज्योति भयौ। जीवनमा कुनै दिन तिमीले मलाई सम्झ्यौं भने म सारा सुख त्यागेर पनि तिमी कहाँ आउनेछु । मरे भने चन्द्रमाको शीतल आभा भएर तिम्रो आँसु पुछ्न आउनेछु, बिदा ।”

त्यसपछिका पाताहरूमा उसका छट्पटी र वेदनाहरू व्यक्त थिए ।

डायरी पढिसकेर उनले एकछिन आँखा चिम्म गरिन् र भनिन्, ‘मारूत, तिम्रो आत्माले शान्ति पाओस् । तिमी त आफ्ना छटपटीबाट मुक्त भयौ, तर म चाहिं पश्चातापको फिलुङ्गोमा भुत्भुतिएँ । अर्को जन्ममा बरु तिमी मेरो छोरा भएर जन्म । यो जन्ममा तिमी मभन्दा १० वर्ष जेठो भएर जन्मेको भए पनि म तिम्रो हृदय स्वीकार गर्न सक्ने थिइनँ । त्यो ठाउँ त अरू कसैले ओगटिसकेको थियो पहिले नै ।

उनले आँखा खोलिन्, आँखा रसाएका थिए- मानौं लामो खडेरीपछि खोलाको पानीले फेरि बगर भिजाएको थियो । उनले आँखा पुछ्दै सम्झिइन्, “बरा मारूत, उनको १५ वर्षको तपस्याको अन्त भयो ।”

उनले आफ्नो चारैतिर असीम शून्यता अनुभव गरिन् । सत्य कति निर्मम हुन्छ ! बरा मारूत ! बरा उनी आफै !!

(देवकुमारी थापाको कथासंग्रह ‘भोक तृप्ति’बाट)