मेरो हातमा विवाहको निम्ताको कार्ड परेको छ । नौलो र अनौठो प्रकारको भाखामा लेखिएको त्यो निम्तामा बेहुलीको आमाबाबुको नामसँग जोडिएको थर र बेहुलीको थर बेग्लाबेग्लै छन् । जुन साथीको मार्फत मैले निम्ता पाएकी छु उनको नाम प्रार्थीमा छ । दर्शनाभिलाषीहरूमा

बेहुलीका आमाबाबु र प्रार्थीका छोरीज्वाइँका नामहरू लेखिएका छन् । मेरा आँखा घुम्दै विवाहको मिति लेखिएको ठाउँमा पर्न जान्छन् । त्यहाँ एक महिनापछिको विवाहको गते दिइएको छ भने स्थानमा उही साथीको घर लेखिएको छ । असमर्थताका लागि सम्पर्क टेलिफोन नम्बर पनि त्यही साथीकै छ ।

यो सबै पढ्दा मलाई कस्तो कस्तो लाग्छ । सोच्छु, धेरै वर्ष विदेशमा बसेर नेपाल फर्किएकाले यहाँको चलनमा आएका परिवर्तन मलाई थाहा नभएको पनि हुन सक्छ । यस्तो मनमा लागेर मैले त्यो निम्ता सफलालाई देखाएर उसको प्रतिक्रिया पनि लिने विचार गर्छु र बोलाएर उसलाई पढ्न लगाउँछु । ऊ पनि त्यो पढेर मजस्तै अलमलिन्छे ।

जितेन्द्रको घर हाम्रो घरबाट धेरै टाढा थिएन । त्यसैले सोच्यौँ त्यस निम्ताको जे जस्तो अर्थ लागे पनि विवाह मित्रकै घरमा हुँदै छ । केकस्तो मदत गर्नुपर्छ भनेर सोध्न भए पनि उनको घरमा हामी जानुपर्छ । उनैले यसको रहस्य खोले सुनौँला क्यारे, नत्र बधाई दिएर फर्कौँला, हिँड जाऊ भनेर सफला र म बाटो लाग्छौँ ।

घरअगाडिको बगैँचामा जितेन्द्र फूलहरू गोड्दै झारहरू उखेल्दै र छाट्दै गरिरहेको हुन्छ । त्यतिका वर्षप

गीता केशरी

छि विनाखबर हामी झ्वाट्ट पुगेको देखेर उनी अति खुसी भएर हात मिलाउँदै सोध्छन्, ‘अमेरिकाबाट कहिले आयौँ ? विवाहमा आइपुग्छौ कि पुग्दैनौ भन्ने लागिरहेको थियो । कसो आइपुगेछौ ।’

“हामी आइपुगेको अस्ति मात्र हो । के गर्नु हिजाको दिन सुत्दैमा बितायौँ । समयको फरकले गर्दा, यार, रातभर घरको रखवालाजस्ता हुन्छौँ दिउँसो भने लम्पसार पर्छौँ ।’ यसो भन्दै म हाँस्छु र उनी पनि हाम्रो कुरालाई हाँसोले नै समर्थन गर्दै बैठक कोठातर्फ लैजादैँ भन्छन्, ‘त्यहाँबाट फर्कँदा यस्तै हुन्छ । मलाई पनि यो बानी छुटाउन झन्डै एक हप्तै लागेको थियो ।’ रुमालले हात पुछ्दै हामीलाई सोफामा बस्न लगाउँदै देवीलाई बोलाउँछ । देवीको नाम सुन्नासाथ त्यही निम्ताको कार्डमा लेखिएको नाम सम्झेर हामी मुखामुख गर्छौँ । जितेन्द्रले पनि सोधिहाल्छ, “ए, तिमीहरूले विवाहको कार्ड पायौ, होइन ?”

त्यस प्रश्नले म झस्कन्छु र भनिहाल्छु, “त्यही कार्ड पाएर त हामीले विवाहमा केकस्तो जिम्मा लिनुपर्छ भनेर सोध्न आएका नि ।”

यस्तै कुरा हुँदै थियो त्यस्तै २१/२२ वर्षकी गोरी राम्री केटी त्यहाँ आइपुग्छिन् र हामीलाई चिरपरिचितजस्तै गरी हाँसेर नमस्कार गर्छिन् । हामीले भने उनलाई कहिल्यै नदेखेकाले चिन्न गाह्रो पर्छ र अकमकाउँछौँ । हाम्रो असजिलो जितेन्द्रले बुझेर उनको परिचय दिँदै भन्छन्, “यो हाम्रो कान्छी छोरी हो । यसलाई तिमीहरूले पहिले देखेका थिएनौँ त्यसैले चिन्न नसकेका हौँ । यसले राम्रो साहित्य रचना गर्छे । कवितामा पुरस्कार पनि पाएकी छे । अहिले बिएड गर्दै छे । जितेन्द्रले यसरी परिचय गराउँदा उनी लाज मानेर निहुरिँदै आदेशका लागि पर्खिरहन्छिन् । ‘जाऊ, आमालाई मुकुन्द बाबु र अन्टी भेट्न आउनुभएको छ भनेर पठाइदेऊ र मीठो चिया बनाएर ल्याऊ । फेरि मीठो चियाभन्दा चिनी धेरै हालेर ल्याऊ भनेको होइन नि ? भन्दै हाँस्छ र देवी पनि हाँसेर नै ‘हस्’ भनेर जान्छिन् ।

देवी गएपछि जितेन्द्रले कुरा निकाल्छ, “निम्ता पढेर तिमीहरूलाई थाहा भयो नै होला यसैको विवाह हुन लागेको हो । उमेर छँदैमा सबै कुरा मिलाइदिनुपर्छ, पढ्छे पनि घरगृहस्थी पनि बसाउँछे, होइन त मुकुन्द ?” भनेर उनीबाट समर्थन खोज्छ ।

विवाहबारे कुराहरू थाहा नभए पनि उमेरमा नै विवाह गराइदिनुपर्छ भन्ने ठोक मानेर “हो, नि । विचार पुर्‍याइदिनुपर्ने हामी अभिभावकहरूले त हो” भनेर म चुप लाग्छु ।

स्वयंसँग उनको मनले सफाइ माग गरिरहेकाले हो कि उनी व्याख्यात्मक शैलीमा बोलिरहन्छन्, “के गरून् यिनले ? विदेशमा जस्तो गरी यहाँ जोसँग मन बस्यो त्यसैसँग खुरुक्क जानुलाई पनि हाम्रो समाजमा राम्रो मानिँदैन अनि यिनीहरूले समाजलाई हेर्ने कि आफूलाई ? यत्रो उमेर कसरी काटोस् भन त ?” यी शब्दका साथ उनी भावुक हुन्छन् र चुप लाग्छन् । आफ्नो लक्ष्यमा हठ रहेका उनका आँखामा आएको चमकले बताइरहन्छ ।

भाउजूले पनि उनैलाई साथ दिँदै थप्नुहुन्छ, “भविष्यमा यसलाई साथ कसले दिने, बाबु ? हामी सधैँ रहने होइनौ । समाज हाम्रो यस्तै छ । एक्ली स्वास्नीमान्छेलाई सहयोग होइन बरु हेप्छन् । सानासाना कुराहरू उठाएर घोचिरहन्छन् ।”

“यसैले म भन्दै छु दुवै पक्षलाई सुहाउने चलन ल्याई समाज र व्यक्ति दुवैलाई इज्जतपूर्वक संरक्षण दिने व्यवस्था हामीले किन नभित्र्याउने, भन त ? हाम्रो संस्कृति र सामाजिक रीतिस्थितिलाई पनि जीवनशैलीमा समयानुकूल सुख, शान्ति र संवृद्धि ल्याउन परिवर्तन गर्दै लैजानुपर्छ भन्नेपट्टि नसोचेर त्यसैलाई अठ्याई हामी बस्न चाहन्छौँ अनि भत्किरहन्छौँ । हाम्रा अगाडि विगतका स्थितिहरू उदाहरणस्वरूप छन् र पनि अगुवा हुन चाहँदैनौँ । डराउँछौँ हामी, कुरा बुझ्यौ ?” जितेन्द्रले आवेगमा आएर सबै कुरा भन्छन् ।

जितेन्द्रका यस्ता भावना र विचारलाई समर्थन गर्दै सफला भन्छिन्, “हो त । हिजोको कडा संस्कृतिले बाँधेको महिलाको जीवनगतिलाई समेत सामाजिक परिवर्तन भई कानुनले संरक्षण दिँदै आएको कति छ कति । सतीप्रथालाई भनूँ त्यो चलनलाई अहिले अपराध मानिसकेको छ । त्यस्तै भएको छ बहुविवाह र बालविवाह । नारी शिक्षाले महत्त्व पाउँदै छ । पहिलेको सम्झेर आजको समाजलाई हेर्दा कहीँ यो स्वप्न भ्रम त होइनजस्तो लाग्न जाँदैन र ? मुख्य कुरा एउटै छ अब हामीले कस्तो परिवर्तन भित्र्याउन अग्रसर हुनुपर्ने हो ? आजको आवश्यकता के हो ? समयले के माग्दै छ ? विश्वको आवाज कस्तो छ ?

देवीको विवाहलाई लिएर यत्रो बहस चले पनि यसको रहस्य अझै खुलेको छैन । यति लामो साथीको सम्बन्ध ऊसँग भए पनि उसको घरमा देवीलाई पहिले कहिल्यै हामीले देखेका थिएनौँ । फेरि उनको विवाहले यत्रो महत्त्व पाउनुको रहस्य के हुन सक्छ ? त्यो बुझ्ने उत्सुकता र जितेन्द्रलाई समवेदना दिनुपर्ने कुरा सुनेकाले विषयहरू उठाउने आधार बनाउन मुकुन्द बोल्छन्, “चोटलाई बिर्सेर आफ्नै तर्कले मनलाई बुझाएर बस्न सकेको तिमीलाई देख्दा लाग्छ साँच्चिकै तिमीसँग जितेन्द्रको शक्ति रहेछ । सायद, म नै तिम्रो ठाउँमा भएको भए पनि यस्तो हुन सक्दिन थिएँ ।”

मैले यसरी कुरा उठाएको मात्र के थिएँ उनैले भन्न थाल्छन् । “तिमीले थाहा पाइसकेको हुनुपर्छ मेरो जवान एक्लो छोराको विवाह गरेको एक वर्ष पनि पुग्न पाएको थिएन, एक्कासि उसको मृत्यु भयो । बचाउने कुनै उपाय पनि हामीले गर्न पाएनौँ । त्यस्तो चोटलाई सहेर बस्नुपर्दा र यही हातले त्यसलाई दागबत्ती दिनुपर्दा म फुटेर चकनाचुर भएको थिएँ र त्यसपछि तिनै सिसाका टुक्राहरू बटुलेजस्तै गरी दुःखजति बटुलेर त्यसैभित्रबाट सुख खोजे र जीवनलाई हेर्ने प्रयासमा लाग्दै छौँ । यो विवाह त्यही दुःखबाट प्राप्त गर्न खोजेको सुख हो । देवी हाम्रो त्यही छोराकी विवाहिता हो । हामीले जन्माएको या धर्मपुत्री ल्याएको नभई समाजले विवाहबन्धन गाँसेर हामीलाई सुम्पिएकी छोरी हो । यसलाई दुःखको दलदलमा दब्दै जानुबाट जोगाउनु र नयाँ जीवन हामीले दिनुपर्छ भनेर लागिरहेका छौँ ।”

हामी सबै स्तब्ध भएर सुनिहरन्छौँ । भाउजूले लामो श्वास तान्दै भन्नुहुन्छ- “जस्तै दुःखलाई पनि आँसुले बगाएर सहन्छु भनेर तयार हुँदा हामी नै तमासा हुन पुग्यौँ । तिनताका अहो ! कसले के मात्र भनेनन् । छोरा आफ्नो बितेको छ त्यसमाथि नाना थरीका कुरा पनि हामीले नै सुन्नुपर्दथ्यो । यो बिचरी देवीले ती शब्दवाण सहन नसकेर बीचबीचमा मूर्च्छा पर्दथी । उसलाई सम्झाउने बुझाउने काम हामी अर्का दुःखीले नै गर्नुपर्दथ्यो । हाम्रो चलन कस्तो रहेछ थाहा छ ? यस्तो शोक परेका बेलामा आफ्ना आमाबाबुले एक वर्षसम्म छोरीको मुख हेर्न नहुने रे । त्यसै बेलादेखि हो हामीले यो देवीलाई कान्छी छोरी भन्न थालेका ।”

“भन्न थाल्यौँ मात्र होइन, छोरी नै मान्यौँ, भन न । यो हामीले नजन्माएकी कान्छी छोरी हो ।” त्यसै बेला देवीले चिया ल्याएर हाम्रा अगाडिको टेबुलमा राखेर जान खोज्छिन् । यस पटक म उसको अनुहार गडेर हेर्छु । उनी राम्री मात्र होइन माया लाग्दी, सुशील केटी देखिन्थिन् । मैले उनलाई त्यसरी हेरेकाले अप्ठ्यारो लागेछ क्यारे, अलिअलि लाज मानेर सकसकाउँदै फर्किहाल्छिन् ।

हातमा चुरा र निधारमा रातो टीका लगाएकी, रातै सलवार कुर्ताको पहिरनमा आएकी उनी त्यहाँबाट फर्किसकेकी भए पनि उनको आकृति मेरो सामुन्ने आइरहन्छ । मेरो मनमा थुप्रै प्रश्नहरू उठ्न थाल्छन् र सोधिहाल्छु,”देवीले विवाह गर्न राजी भइहालिन् त ?”

“कहाँ मान्नु ! म पढ्छु, मलाई पढाइदिए पुग्छ, जागिर खाएर जीवन निर्वाह गर्छु । अनि के रे, तपाईँको छोराको अर्धाङ्गिनी भएर नै तपाईँहरूको सेवा गर्छु भन्दै थिई । त्यो संस्कार बोलेको हामीले बुझ्दै थियौँ । त्यसैले उसलाई सम्झाई बुझाई फकाइरहृयौँ । भन्यौँ- हेर जिन्दगीले गति खोज्छ र यससम्बन्धी निर्णय लिँदा भावुक भएर होइन, व्यावहारिक भएर समय रहँदा नै लिनुपर्छ नत्र पछुताउनुपर्ने स्थिति पनि आउन सक्छ । दाम्पत्य जीवनमाथिको आकर्षण र मातृत्व भावनाले मनलाई जलाउन थाल्दा के गर्छ्यौ ? त्यस बेला उठेको वितृष्णाले जुन बाटामा पनि दौडाउन सक्छ । अहिले हामीलाई स्याहार्छु भन्छ्यौ भोलि तिम्रो मनले म नष्ट भएँ भन्ने सोच्न थालेपछि हामी नै तिम्रो अल्झो र झर्कोको कारण हुन जान्छौँ । तिमीले आफ्नो साथीहरूसँग पनि सोध र यो हामीले सोची विचारी ल्याएको निर्णयलाई जिद्दी गरेर नपन्छाऊ । हेर, यो चलनलाई समाजमा भित्र्याउन सफल भयौँ भने तिमी मात्र होइन अरू धेरै एकल जीवन बिताइरहेकाहरूको जीवनले एउटा सामाजिक रीतिले बाटो समात्नेछ । उसलाई यता यसो भन्यौँ, उता उसलाई अपनाउने केटाको खोजीमा पनि लाग्यौँ । आफ्नै एक परिचितको छोराले विवाह गर्न राजी भएको खबर आयो । त्यसपछि देवीका आमाबाबुलाई मनाउनु थियो । अति ठूलो समस्या बनेर यो आइलाग्यो । मेरो प्रस्ताव सुन्नासाथ उनीहरू बुर्लुक्क उफ्रिए र यतिसम्म भने कि उसले पाउने अंशबाट वञ्चित गराउन यस्तो कुरा ल्याएका रे ! हाम्रो मन यस्ता कुरा सुनेर दुख्यो र पनि उनीहरूलाई सम्झाउँदै झकझकाउन भने छोडेनौँ ।”

जितेन्द्रले यस्तै के के भन्दै थिए । मलाई कता-कता एउटा रोचक कथा सुनिरहेझैँ लाग्छ । म उत्सुक हुँदै कुरा बिसाउन नदिन सोद्धै जान्छु । उनको चेहराको रङ्ग बदलिन्छ र हाँस्दै भन्छन्, “जब देवीले हाम्रो प्रस्तावलाई स्विकारेको बताई त्यसपछि हामी आफू बलियो भएको ठान्यौँ । अनि ती आमाबाबुको त्यस्ता शङ्कालाई हटाउन हाम्रो सम्पत्तिबाट हाम्रो मृत्युपछि उसले पाउने भाग सुरक्षित राखिनेछ भनेर मञ्जुरीपत्र लेखेर पठाएँ र फेरि यसरी सम्झाएँ, उमेरलाई थुनेर राख्ने प्रयास गर्नु ठूलो भूल हुनेछ । बाँध फुटेर छताछुल्ल भई जताततै नोक्सानी पुर्‍याउन पनि सक्छ । कतिका जवान छोरीहरू के-के भए, कता-कता पुगे वा पुर्‍याइए । यिनीहरूको जीवन अनिश्चित अधिकारहीन त्रस्त भएर रहनुपरेका कुराहरू पनि तपाईँहरूलाई थाहा होला । अहिले हामी देवीलाई विवाह गराएर पठाउँदै छौँ । उनको दुइटा माइती हुँदै छ । देवीलाई हामीले मनाइसक्यौँ । अब तपाईँहरूले यस प्रस्तावमा ध्यान दिएर छोरीको भविष्य सोचेर प्रमोदको छोरा लोकसँग देवीको विवाह हुन लागेकोमा स्विकार्नुस् र निम्तोमा तपाईँहरूको नाम दिन राजी हुनुस् ।” विवाह एक महिनापछि हुँदै छ भनी धम्कीको भाषा बोलेपछि त्यसको भोलिपल्ट नै टेलिफोन गरेर आफूहरू सहमत भएको खबर दिए ।

अन्त्यमा राम्रै निर्णय लिएछन् तिनीहरूले पनि । वास्तवमा विचारमा परिवर्तन यसरी नै आउने त हो । लौ, यो नौलो विवाहमा निकै रमाइलो हुने भयो । केही सम्झेझैँ गरी सोध्छन्, “अग्नि साक्षी राखेर विवाह गर्ने भन्छौ, पुरेत पनि ठिक पारिसक्यौ त ?”

“अबको समस्या यही त भएको छ । हाम्रो पुरेतले यस्तो विवाह म गराउँदिनँ भनिसके ।”

“किन सक्दिन रे । त्यो पनि भने होलान् ।”

“भने नि, विधवाको विवाह गराउने विधि हामीलाई थाहा छैन । कहाँ सासूससुराले बुहारीको विवाह अर्को केटासँग गराइदिने कुरा निकाल्नुहुन्छ ? उनैको आमाबाबुकहाँ पठाइदिनुस् । तिनीहरूले छोरीलाई मन्दिरमा लगेर टिकोटालो गराइदिन्छन् ।”

“ए त्यसो भनेर पन्छिएछन् । अनि तिमीले केही भनेनौ ?” भन्दै उत्सुक भएर कुरा सोद्धा जितेन्द्रले पुरेतलाई दिएको जवाफ भाउजूले यसरी सुनाउनुहुन्छ, “भन्नुभयो नि । त्यत्रो जमातको सामुन्ने आफ्नो गोत्रपरिवर्तन गरेर छोरीलाई दिएका कहाँ गएर लिनुस् तपाईँहरूको छोरीलाई तपाईँहरूकै गोत्रमा फर्काइदिएका छौँ भन्न मिल्ने चलन या नियमहरू पनि तपाईँहरूसँग छैन होला । अनि कसरी फर्काउने ? हामी बूढाबूढी यिनका बाबुआमा सबै मिलेर यो बुहारीको विवाह रीति नियमअनुसार पठाउन चाहँदै छौँ । यसमा किन सहयोग गर्न हिँच्किचाउँदै हुनुहुन्छ । जब तपाईँहरूलाई विधुरको विवाह गराउन नियमले रोक्दैन भने विधवाको विवाह गराउनलाई मात्र किन यस्तो कुरा गर्नुहुन्छ ? यी विचराहरूले आफूखुसी विवाह गरिहालेछन् भने पनि यिनीहरूबारे कति नराम्रा कुरा गर्छन् । अनि यिनीहरूले के गरून् ? भनेर कड्केपछि केही नबोलेर खुरुक्क गए र अस्ति हामीकहाँको श्राद्ध गराउन आएनन् । यस्तै छ यहाँ । कहाँ के मात्र मिलाउने भइसक्यौँ हामी त ? ” भनेर भाउजू एकोहोरोसँग भित्तामा हेरिरहनुहुन्छ, जहाँ राधाकृष्ण एउटै पिङमा बसेर झुलिरहेका तस्बिर टाँसिएको छ ।

“यी यस्तै कुरा मिलाउनुपर्ने भएकाले निम्ताकार्डमा एक महिनापछिको विवाहको मिति दिएका हौँ । हिजोआज निम्तालाई लिएर सोध्नेहरू त्यतिकै छन् र असमर्थता व्यक्त गर्ने पनि थुप्रै भइसके । अरूलाई के भन्ने आधुनिक विचारधारा राख्नुपर्छ भन्नेहरू पनि यो कस्तो चलन ल्याउन लागेका हुन् भनेर भाग्दै छन् ।”

“त्यही त भन्या, हाम्रो समाज र हामी दुवै गजबका छौँ । तिमीले कसरी यस्तो अवस्थामा पनि यतिकालाई सम्झाउन सक्यौ । म छक्क परिरहेको छु । तिमीलाई बेहुला जुटाउन पनि गाह्रो नै पर्‍यो होला, होइन ? यो प्रेमविवाह होइन क्या रे ?” भन्दै मुकुन्दले कुरालाई तान्छन् ।

यो विषय नै त्यस्तै छ । जति ताने पनि नसकिने । एकपछि अर्को कौतुहल उठिरहन्छ । प्रेमविवाह नभए पनि केटाको समझदारीले गर्दा यो पक्षलाई मिलाउन अरूलाई भन्दा सजिलो परेको थियो भन्ने अर्थ्याउन जितेन्द्रले भन्छ, “यो केटाले हाम्री देवीलाई पहिले नै देखेकाले र उसका रचनाहरू मन पराएर खोजी खोजी पढ्दा रहेछन् । त्यसैले गर्दा विवाहको कुरा चल्नासाथ खुसीले ‘हुन्छ’ भनिहालेछन् । आमाबाबुले विधवा केटीसँग के विवाह गर्ने भन्दै थिए रे तर यही केटाले सम्झाउने बुझाउने गरेछन् ।”

यस्तै कुरा हुँदै थियो ढोकामा कोही आएको सङ्केत दिँदै कुकुर भुक्न थाल्छ । जितेन्द्रले झ्यालको पर्दा हटाएर हेर्दा पुरेतलाई देख्छन् र श्रीमतीलाई ढोका खोल्न पठाउँछन् । उनी गएपछि मतर्फ फर्केर खुसी हुँदै भन्छन्, “कुरो सबै मिलेजस्तो छ । यी पुरेत पनि ‘हुन्छ’ विवाह गराउँछु भन्नै त आएका होलान् । हेर, मुकुन्द राम्रो उद्देश्य लिएर निरन्तर लागिरह्यौँ भने दुःख खेप्नुपर्ला तर सफल भने भइँदो रहेछ । यो हाम्रो अभियानले विवाहको रीतिरिवाजमा नयाँ अध्याय अब थप्नेछ । सतीप्रथा हटेपछि नारीपक्षमा न्याय ल्याउने यही चलन हुनेछ ‘रीतिपूर्वकको विधवा विवाह ।’”

उसको खुसीमा अरू खुसी थप्न भन्छु, “सबै कुरो मिलिहालेछ । के अब जग्गे गाड्न मात्र बाँकी छ, होइन?” भनेर ठट्टा गर्दा जितेन्द्र पनि हाँस्दै भन्छन्, “अर्को एउटा काम पनि बाँकी छ । बेहुलालाई फूल, अबिर र लावाले स्वागत गर्नु ।”

सफलाले यस्तै प्रसङ्गलाई रोचक बनाउँदै भन्छिन्, “अनि देवीलाई हामीले बिदा गर्नु पर्दैन र ?” सबैले एकै पटक विजयको हाँसो हाँस्छौ । कोठाभरि खुसी नै खुसी छाएको हुन्छ । यस्तै बेला देवीको कोठामा प्रवेश हुन्छ । यस पटक म उनलाई बधाई दिन्छु । उनी न त खुसी भएर हाँस्छिन्, न त केही भन्छिन् । मात्र निहुरिरहन्छिन् । म देख्छु छिनैमा उनका आँखाबाट आँसु र्झन थाल्छन्- तपतप । म बुझ्न सक्दिनँ -ती आँसु कस्तो अनुभूतिले झरेका हुन् ?