सालबारी गाउँभन्दा आधा कोस टाढा नैनी जङ्गलको फेदीमा दुइटा सानासाना छाप्रा थिए, जसमा एउटा सार्कीको परिवार बस्दथ्यो । आमा, बाबु र एउटी नर्मदा नाम गरेकी छोरी ।
यही तीन प्राणी नै यस परिवारमा थिए । साठी वर्ष नाघेको बूढो सार्की अझै जुत्ता सिउनमा कुनै सार्कीभन्दा कम थिएन । उसकी बूढीचाहिँ आफ्ना पतिलाई मद्दत दिन कुनै पत्नीभन्दा कम थिइन र परिवारकी एउटी मात्र तरुनी छोरी नर्मदा, बाबु र आमाकी मन परेकी राम्री नर्मदा त केही काम गर्दिनथी । बिहान उठेर बिछ्याउनालाई घाममा सुकाउनु, गाईभैँसीको आलो छालालाई सानासाना खुटी ठोकी बाहिर चौरमा सुकाउनु र साँझमा कुचो लगाईवरी टुकी बाल्नुबाहेक नर्मदाले अरू केही काम गर्नुपर्दैनथ्यो ।
नर्मदाले भनेकी हुनाले पहाडातिर जाँदा बाबुले एउटा ठुलो भोटे कुकुर ल्याइदिएको थियो, जसलाई ऊ दिनभरि आफ्नै सामुन्ने राख्तथी । कुकुर पनि नर्मदालाई माया गर्दथ्यो र त्यो पनि कुकुरलाई प्रेम गर्दथी । भोक लाग्नासाथ कुकुर पुच्छर हल्लाउँदै आफ्नी मालिक्नी भए ठाउँ पुग्दथ्यो र गिजिएर गोडामा लडीबुडी गर्दथ्यो । नर्मदा त्यसलाई चाहिएको कुरा थाहा पाउँथी र एकैछिन कुकुरलाई टाउकोमा सुमसुम्याएर भन्दथी, “तँ यहाँ पख, म अहिले तेरो खानेकुरो लिएर आउँछु ।”
त्यो पशु पनि मनुष्यको कुरा बुझ्दथ्यो र नर्मदा नफर्किउन्जेल प्रतीक्षा गरी उभिरहन्थ्यो । त्यसको नाम नर्मदाले राखेकी थिई ‘भोँभोँ’ ।
भोँभोँको जत्रो ठुलो अपराधमा पनि सार्की बूढो चुप लाग्दथ्यो, तर सर्किनी रिसले झटारो लिई दगुर्दथी । दगुर्दै भोँभोँ नर्मदानजिक पुग्दथ्यो र माया गर्ने नर्मदाको पिँडौलामा मुखलाई घसेर ‘आमा पिट्न आउनुभएको छ’ भन्ने सूचना दिन्थ्यो ।
नर्मदा कुकुरलाई सुमसुम्याउँदै लाडे भए आमालाई भन्दथी, “नपिट्नोस् आमा, अब फेरि बदमास गर्यो भने पिट्नुहोला ।”
उतातिरबाट सार्कीको मोटो आवाज आउँथ्यो, “नपिट् न, पशु हो, के जान्दछ र !”
सर्किनी फर्कन्थी । भोँभोँ दिनहुँ अपराध गर्दथ्यो, नर्मदा दिनहुँ उक्त भिक्षा माग्दथी ।
एक दिन सार्की सालबारी गएको थियो, सर्किनी पनि पात टिप्न जङ्गल पसेकी थिई र नर्मदा आज बिहान ल्याएको भैँसीको आलो छालालाई कीला ठोकीवरी घाममा सुक्न दिएर फरिया धोइरहेकी थिई । झट्ट भोँभोँलाई सम्झिएर उसले कराएर बोलाई । स्वाद मानीमानी लामो जिभ्रोले मुख चाट्दै पुच्छर हल्लाउँदै भोँभोँ उपस्थित भयो । कुकुरको मुखमा कतैकतै रगत लागेको थियो । नर्मदा झसङ्ग भई । धुन लागेको फरियालार्य यसै छोडी गई हेर्छ त सुकाएको छालाबाट खुटी उखडिएको छ, छाला पनि आधा खाइसकेको र बिचबिचमा प्वाल परेको छ । भोँभोँ पछिपछि आएको थियो, नर्मदाले पछिल्तिर फर्केर रिसले भोँभोँलाई एक लात कसी र भनी, “जा मर् ! अब मलाई बाले के भन्नुहुन्छ, अपजस दिनेबाहेक अरू के जान्या छस् र ।”
त्यसै बेला सार्की मुसुमुसु हाँस्तै अगाडि उभियो । “भैगो, के भयो त,” उसले भन्यो, “कुकुर हो, जानेन ।” एकैछिन छालालाई यताउति फर्काएर भन्यो, “कामै नलाग्ने गरेछ, आमा कहाँ गई ?”
नर्मदाले लाज मानेर भनी, “पात टिप्न ।”
सार्कीले छालालाई हातमा लिएर भित्र जाँदै भन्यो, “आमालाई थाहा नदिनु, म यसलाई खाल्डो खनेर घरपछिल्तिर गाडिदिन्छु ।”
सार्की एउटा फाटेको कालो जुत्ता सिइरहेको थियो । भोँभोँ सार्कीनजिकै पुग्यो र पुच्छर हल्लाई उभियो । सार्कीले सियोलाई जुत्तैमा घोपी दुवै हातले भोँभोँलाई समातेर आफूनजिकै बसाल्यो । नर्मदा त्यसै बेला भित्र पसी र बाबुले आफ्नो कुकुरलाई माया गरेको देखी नजिकै टाँसिएर भनी, “बा, बजारबाट भोँभोँलाई एउटा सिक्री ल्याइदिनुहोस् है ?” स्वीकृतिमा सार्कीले टाउको हल्लायो । बेलुका गाउँबाट फर्कँदा सार्कीको हातमा एउटा सिक्री देखियो र त्यसै दिन बेलुकादेखि भोँभोँ बन्धनमा पर्यो ।
अर्को दिनदेखि नर्मदा सिक्री समाती भोँभोँलाई डोर्याउन लागी । यो सिक्रीले एउटा फाइदा नै भयो । अब राखेको भात जस्ताको तस्तै रहन थाल्यो र सुकाएको छालालाई कुकुरले खाइदियो कि भन्ने चिन्ता पनि छुट्यो । तर नर्मदालाई एउटा ठुलो चिन्ताले अझै छाडेन । कुकुर दिनभरि सिक्रीमा बाँधिएर चिच्च्याइरहन्थ्यो र आफ्नो मायालाग्दो कुकुरले दुःख मानेर कराइरहेको नर्मदा सुन्न सक्तिनथी । झट्ट गएर सिक्री खोलिदिन्थी र बन्धनबाट मुक्त भएको कुकुर खुसीले नर्मदाको कुमकुमसम्म उफ्रिन्थ्यो ।
भोँभोँ कालो थियो, रौँ लामा थिए र मुख पनि छोपिएको थियो । बाघका जस्तो पन्जा बडा डरलाग्दा देखिन्थे र उचाइ झन्डै घोडाको बच्चा जत्रो थियो । सार्कीको घरसामुन्ने जङ्गलभित्र पस्ने सडक थियो । त्यसबाट हिँड्ने मानिसहरू डराई डराई हातमा कर्ची लिई जान्थे र कुकुरहरूको त त्यताबाट हिँड्ने साहसै थिएन । अरू बाहिरियाकुकुर समुन्ने पर्यो कि भोँभोँ लखेट्थ्यो र नसमाउन्जेलसम्म लखेटिरहन्थ्यो । समातेपछि रगताम्मे नपारी छोड्दैनथ्याे । रातभरि भुकीभुकी भोँभोँ आफ्नो घरको रखबारी गर्दथ्यो । बाटामा हिँड्ने मानिसलाई भुक्ता नर्मदा भोँभोँलाई हप्काउँदथी । “तिमीहरूलाई मैले माफ गरेँ” भनेझैँ गरी भोँभोँ फर्कन्थ्यो ।
तर सिक्री ल्याएदेखि भोँभोँ बन्धनमा पर्यो । आफ्नो मनमाफिक बाहिर घुम्न पाएन, यताउताबाट निस्किएर आएका कुकुरहरूलाई लखेट्न पाएन, दिउँसो रछ्यानमा फ्याँकिएको भात खान आएको स्याललाई समात्न पाएन । दिनभरि ओसारमा खम्बामा बाँधिएर बसिरहन्थ्यो र छिनछिनमा कराइरहन्थ्यो ।
दुईचार दिन कराएपछि बानी पर्छ भनी नर्मदा चुप लागी । तर दस दिन बित्यो, पन्ध्र दिन बित्यो भोँभोँले कराउन छाडेन । त्यस कारण नर्मदा पनि दिनभरि कुकुरैको नजिक बस्न थाली । यसो गर्नाले भोँभोँ कराउँदैनथ्यो । बिहान आफूले खाइवरी नर्मदा भोँभोँलाई मोही र ढिँडो ल्याइदिन्थी । सको दिउँसोको आहार पनि यही र बेलुकाको भोजन पनि यही थियो । यसै प्रकार सिक्रीमा बाँधिएर भोँभोँले आफ्नो जीवनको अठतीस दिन बितायो । त्यसपछि नर्मदालाई झर्को लागेर भोँभोँलाई बन्धनबाट मुक्त गरिदिई । फेरि राजनको राँगो फुक्यो । यता जान्थ्यो, उता जान्थ्यो । यसलाई रोक्थ्यो, उसलाई रोक्थ्यो, नर्मदाको हप्काइ खान्थ्यो र साँढेझैँ ढल्कीढल्की हिँड्थ्यो । बाहिरबाहिर रिसाएजस्तो गरे पनि भोँभोँसँग नर्मदा प्रसन्न थिई ।
एक दिन भोँभोँ सर्किनी सुत्ने बिछ्यौनामा सुत्यो । सर्किनीले कुचो उज्याएर कुकुरलाई पिट्तै भनी, “मर्न पनि सक्तैन यो डाँगो ।” यस्तो सुन्नासाथ नर्मदा झसङ्ग भई । डराएर मनमनै भनी, “भोँभोँ मर्यो भने ?” आमाका शब्दले नर्मदालाई तीरको काम गर्यो र चिन्तित भई नर्मदा । उसले आमाको नजिकमा अपराधीझैँ उभिरहेको कुकुरलाई कोमल हातले सुमसुम्याउँदै आमालाई भनी, “कुकुरलाई नसराप्नुस् न आमा ।”
छोरीले दुःख मानेको देखी सर्किनीले भनी, “हैन, सरापेको त हैन । हेर न मेरो बिछ्यौनामा सुतेको ।”
नर्मदाले गहभरि आँसु गरी र भोँभोँलाई हेरिरही । त्यो आँसुमा देखी भोँभोँको मृत्युचित्र । सर्किनीले भोँभोँलाई सरापेको दिनदेखि नर्मदा समयसमयमा डराउन लागी । भोँभोँलाई बोलाउँथी, केही गरी बोलाउने बित्तिकै आएन भने नाना पकारको दुष्चिन्ताले नर्मदालाई समात्दथ्यो । कहीँ चितुवाले समात्यो कि, कसैले मारिदियो कि ?
यसै बेला भोँभोँ पुच्छर हल्लाउँदै नर्मदालाई प्रश्नवाचक नेत्रले हेरेर उभिन्थ्यो । खुसीले भोँभोँलाई समातेर काखमा बसाउँथी । एक दिन काखमा बसाएर कुकुरलाई भन्दै थिई, “भोँभोँ ! तँ बाहिर नजा है, मनजिक बसिरहेस् ।” कुकुरले नर्मदाको मुखमा हेर्यो र पुच्छर हल्लायो । नर्मदाले म्वाइँ खाई, “मेरो भोँभोँ ! मलाई तेरो माया लाग्छ । मलाई नछोड् है ?” भनेर उसले कुकुरलाई अङ्कमाल गरी । भोँभोँले फेरि पुच्छर हल्लायो ।
बेलुकातिर भोँभोँलाई लिई नर्मदा सडकको छेउमा उभिरहेकी थिई । अस्ताउन लागेको सूर्यका धमिला राता किरण जङ्गलका रूखका टुप्पाटुप्पाबाट चियाइरहेका थिए । सामुन्ने टाढासम्म तराईको समथल उब्जाउ भूमि फैलिएको थियो, कहीँकहीँ अझै गाईहरू चरिरहेका थिए । सडक शून्य थियो र चराचुरुङ्गीहरू नीलो आकाशपथबाट व्यग्रताले आआफ्नो गुँडमा जान लागेका थिए । नर्मदाले आफूनजिकै टाँसिएर उभिएको भोँभोँलाई हेरी । टाढा चरिरहेको पाडोमा उसको दृष्टि अल्झियो । टाउको हलुङ्गो हातले प्याट्ट पिटेर नर्मदाले सोधी, “के हेरिरहेको तैँले ?”
कुकुरले टाउको उठाएर नर्मदालाई हेर्यो र पुच्छर हल्लायो । फेरि चरिरहेको पाडोलाई उस्तै गौडले हर्न थाल्यो । त्यसै बेला सिकार खेलिवरी आएका नौ जना बाबुहरू नैनी जङ्गलबाट निस्के । नौ जनाको हातमा एकएक वटा बन्दुक थियो, प्रत्येकले देब्रे हातमा मरेका चराचुरुङ्गीहरू झुन्ड्याएका थिए । अगाडिअगाडि दुई वटा लामालामा टाटेपाङ्ग्रे सिकारी कुकुर माटो सुङ्दै हिँडिरहेका थिए । पहिले त नर्मदाले तिनीहरूलाई देखिन, तर जब दुईवटा सिकारी कुकुरलाई देखी भोँभोँले पन्जाले माटो खुर्किन थाल्यो अनि नर्मदाले देखी ।
झट्ट भुइँमा बसेर उसले भोँभोँलाई घाँटी समाती । सिकारीको फौज बिस्तारबिस्तार आउँदै थियो । तिनीहरू आआफ्ना सिकारको गफ गरिरहेका थिए । नब त्यो फौज नर्मदाको नजिकै आइपुग्यो, सिकारीका कुकुर भोँभोँलाई देखी त्यतैतिर माटो सुङ्दै आए । भएभरको जोडले नर्मदा भोँभोँलाई समातिरहेकी थिई ।
सिकारीहरूले यो दृश्य देखेर आफ्ना कुकुरहरूलाई बोलाए- “फ्याङ्को ! कार्लटन !” दुवै कुकुर फौजमा मिसिए, तर राम्री र तरुनी नर्मदालाई देखेर एउटा सिकारीले जिस्क्याउन विचारले भन्यो, “पकड फ्र्याङ्को । पकड कार्लटन ।” यति भन्नु के थियो दुवै कुकुर भुक्तै भोँभोँ र नर्मदा भएभन्दा पाँच गज टाढा उभिएर भुक्न थालो । नर्मदले भएभरको जोड लगाई भोँभोँलाई समाती । क्रोधले भोँभोँ बोलिरहेको थियो र शक्तिभर भुक्तै प्राणपणले उम्किने चेष्टा गरिरहेको थियो । भोँभोँको जोडले गर्दा नर्मदालाई खलखली पसिना छुटिरहेको थियो । हात फतक्क गल्यो ।
ती दुई सिकारी कुकुरमध्ये एउटा चाहिँले साहस गरेर एक फुटनजिकै सरी घुम्न थाल्यो । पछिबाट सिकारीहरू आफ्ना कुकुरहरूलाई हाँक दिइरहेका थिए । भोँभोँको खप्ने सीमा टुट्यो र एकपल्ट सकभर जोड लगाई नर्मदाको हातबाट उम्कियो । उम्किनु के थियो, दुवै कुकुर भागे । भोँभोँले एक मिनेटभन्दा चाँडोमै एउटालाई समात्यो ।
यता असहायझैँ नर्मदा कराइरहेकी थिई, “भोँभोँ आ…!” त्यसै बेला भोँभोँले एउटा कुकुरलाई पछार्यो र बाघको भन्दा पनि शक्तिशाली दाँतले घिच्रोमा टोकेर रगताम्मे पार्यो । अधमरो भएपछि भोँभोँ त्यसलाई छाडेर अर्को कुकुरतिर लम्क्यो । घायल कुकुर वेदनाले चिच्च्याउँदै मालिकहरूको झुन्डमा पस्यो । अर्को कुकुरलाई पनि भोँभोँले समात्यो र पछार्यो ।
अचानक सारा नैनी जङ्गलसमेत थर्काउने एउटा भयानक आवाज आयो— “ड्वाङ्ग !”
भोँभोँको मृत शरीर थुप्रियो । विह्वल भएर नर्मदा भोँभोँतिर दगुरी । हल्ला सुनेर बूढो सार्की पछिल्तिरबाट हातमा बन्चरो लिई तमासा हेरिरहेको थियो । भोँभोँ मरेको र आफ्नी प्यारी छोरी भोँभोँको मृत शरीरमा पछारिएको देखी बन्चरो उज्याउँदै सिकारीको फौजमा पुगेर दुवै कुकुरलाई बन्चरोले ठटायो । तत्काल दुवै कुकुरको मृत्यु भयो ।
यो काम यति चाँडै भयो कि सिकारीहरूले रोक्न पनि सकेनन् । बदला लिएर ऊ आफ्नी छोरी लडेको ठाउँमा पुग्यो र पागलले झैँ भन्न लाग्यो, “नरो नर्मदा, मैले बदला लिएँ । हेर् न, ती सिकारीहरूको कुकुरका दुइटा थुप्रा । उठ्, तँलाई अब पहाड जाँदा म अर्कै भोँभोँभन्दा पनि राम्रो कुकुर ल्याइदिउँला । नरो उठ् ।” चाउरी परेको हातले उसले छोरीको कपाल सुमसुम्यायो । नर्मदाले टाउको उठाएर बाबुलाई ट्वाल्ल हेरी । आँसुले उसको मुख धोएको थियो र आँखा राता थिए ।
“मैले बदला लिएँ ।” भन्दै बूढो सार्कीले हाँस्ने प्रयत्न गर्यो ।
नर्मदा असहाय भएर बाबुलाई हेरिरही ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।