श्रावणको महीना, नागपञ्चमीको दिन, सन्ध्याको समय, दिनभर पानी परेर भर्खर ओताएको मात्र थियो । टोलको बीचडबलीमा ‘टुमटुम छयाँ पाकं पाकं छ्याँ’ गरेर लाखे नाच्न थाल्यो ।

त्यही डबलीनिरको मुक्तिमान वैद्यको घरको तल्लो तलामा हसिनाको डेरा थियो । आफ्नो झ्यालअघिल्तिर त्यसरी लाखे नाच्न लागेकोले ऊ पनि आफ्नी दुई वर्षकी छोरी ठोटरीलाई लिएर झ्यालमा आएर तमाशा हेर्न बसी । भित्रपट्टि भात छड्किंदै थियो ।

बाजा गम्की-गम्की बजिरहेको, लाखे चम्की-चम्की नाचिरहेको । नाच्तानाच्तै काई परेको तेलिया ईंटमा चिप्लेर लाखे पछारियो । दर्शकहरूमा हाँसोको लहर उठ्यो । उता झ्यालमा हसिना अब्रुबाले छापेको पानबुट्टे खास्टोले मुख छोपेर हाँस्न थाली । यता सुनभाइचा, साहूको छोरो, जो अघिदेखि पेटीमा साइकल अडाएर काठीमै बसेर नाच हेरिरहेको थियो, रेशमी रुमालले मुख छोपेर हाँस्न थाल्यो । सुनभाइचा र हसिनाका आँखा अघिदेखि नै जुझिरहेका थिए, जसमा केही रहस्य लुकेको र दिल फुकेको पनि थियो ।

त्यस्तो नराम्रोसित लाखे बाजी खाएपछि ऊ मुश्किलले उठ्यो । गोडा मर्केकोले फेरि नाच्न सकेन र खोच्याउँदै गयो । बाजा पनि बन्दाबन्दी भयो ।

एकछिनपछि तमाशेहरू सब गइसकेपछि पनि सुनभाइचा र हसिना जहाँका त्यहीँ थिए । त्यसले चुरोटको बट्टा खोलेर हसिनातिर हेरेर एउटा चुरोट सल्कायो । अनि साइकल उसैको ग्यालमन्तिर लगेर त्यो बट्टा त्यसले झ्यालभित्र हुत्त्याइदियो र हाँसेर गयो । हसिनाले कोठाभित्र पसेर त्यो चुरोटको बट्टा हेरी, चुरोट त केवल चार ओटा मात्र थिए तर बट्टा भने जङ्गलमा दुइटा बाघ जुधेको बुट्टा भएको हस्तीहाडको बडो कलापूर्ण थियो ।

हसिना त्यसबाट एउटा चुरोट सल्काएर, बट्टा चाहिं चोलोभित्र घुसारेर भात चलाउन गई । भात आधा डढिसकेको ।

हसिना बाईस-चौबीस वर्षकी, सफा गोरी, नेप्टो नाक, चेप्टो मुख भएकी थिई । बनोट त उस्तो राम्रो होइन तर हिसी र जीउको सुडौलता भने निकै प्रशंसनीय, खास गरेर उसको नितम्बमा आकर्षण र कमरमा लचक थियो । कुनै भारदारको भवनमा सुसारेमा बसेकी सात वर्ष भएकोले बोलचाल सोमत राम्रो जान्दथी । पहिलो छ वर्षमा त उसले उस्तो केही कमाउन सकेकी थिइन । पछिल्लो एक वर्षमा, जब खोपीको काम गर्ने भएकी थिई, उनले गहनागुरिया जोरी, नगद पनि निक्कै हात लाई ।

एक दिन मालिक साहेबसित हसिनाको नराम्रो लसपस थाहा पाएर मालिक्नी साहेबले उसलाई भुत्ल्याएर निकालिदिइन् । तर सौभाग्यवश मालिक साहेबको निगाहले उसले कमाएको जति भने लिएर नै आउन पाई ।

हसिना बाहिर निस्केपछि पश्चिम तन्हौं घर भएको नरसिंहदल पल्टनको सिपाही भरतबहादुरले उसलाई हात लायो । लगेको सातै महीनामा उसले छोरी पाई ।

त्यो बालिकको नुवारन र पास्नी भरतबहादुरबाट नै भयो । पछि त्यो एक वर्षकी भएपछि, टुकुटुकु हिंड्ने र दुई-चार शब्द बोल्ने भएपछि भरतलाई सन्देह लाग्यो, छोरी आफ्नै हो कि होइन । उसको रूप, बनोट कहिले आफ्नोसित मिलेमिलेको जस्तो लाग्थ्यो, कहिले नमिलेको जस्तो । उसले निश्चय गर्न सकेन । विषय सन्देहात्मक नै थियो ।

पजनीमा जागीर खोसिएपछि भरतबहादुर आफ्नै घर गयो । तर हसिनालाई उसले आफ्नो जागीर खोसिएको कुरा भनेन । एक महीनाको बिदा लिएर घर जाने, बिदा सकिएपछि आउने र त्यतिन्ज्यालसम्म राम्ररी बस्ने सल्लाह दिएर ऊ फुत्कियो ।

एक महीनाको त के कुरा, एक वर्ष भइसक्यो तैपनि चिठीपत्र, बातबेहोरा केही नआएकोले छाँटकाँटबाट र व्यवहारबाट उसले हसिनालाई त्यागेझैं बुझियो । पछि हसिनाले ऊ जागीर खोसिएर गएको भन्ने कुरा पनि थाहा पाई र केही दिन बिलखबन्दमा परी; तर खान र लाउनलाई अड्‌केको थिएन । आफूले कमाएर ल्याएको धनले अरू एक-डेढ वर्ष पुग्थ्यो ।

एक हाँगाबाट च्युत भएको लता जस्तो प्रकारले फेरि अर्को हाँगामा गएर बेरिन्छ त्यस्तै हसिनाले पनि अर्को हाँगा खोजिरहेकी थिई वचनले होइन, मन-मनले । किन्तु जति भमरा आउँथे मधुकण लिने उद्देश्यले मात्र । फूललाई नै बोकेर लैजान कोही चाहँदैन्थ्यो किनभने त्यो दुई वर्षकी छोरी सबैका निम्ति काँडा थिई ।

सुनभाइचा, फोछेंको हीरा साहूको छोरो बडो भड्किलो गुण्डो- कपालमा झुप्पा, कोटमा फूल, रेशमी कमीज, सुरुवाल, शून्य शक्तिको चश्मा, उसले गधेपच्चीसी पार गरेको थिएन । हातसफाइ गरेर बाबुको धेरै सम्पत्ति उडाइसकेको थियो सब शृंगार र सुन्दरीमा । आजकल उसकी दिलकी देवी हसिना भएकीले उसैको पूजामा आराधनामा उसको र समयको व्यय हुन थाल्यो । पूजासामग्री हुन्थे पाउडर, स्नो, लिपस्टिक, लाली, क्रीम, अत्तर, फूल, काँटा, किलिप, चुरा धागो आदि । आराधनाका स्तोत्र चाहिं रङ्गीबिरङ्गी चिठीपत्रहरू ।

दिनभर सुनभाइचा हसिनाकै डेरामा हुन्थ्यो । कहिले बेलुका उहीं खान्थ्यो, रातभर सुत्थ्यो पनि । हसिनालाई सुनभाइचाले राखेको छ भन्ने कुरा त्यो टोलमा सबैलाई राम्रै विदित भएर आयो ।

* * * *

गाईजात्राको दिन, दिउँसोको समय, सुनभाइचा र हसिना भित्री कोठाको आँखीझ्यालमा सँगसँगै बसेर जात्रा हेरिरहेका थिए; छोरी ठोटरी चाहिं बाहिर झ्यालमा नासपाती चपाएर उभिरहेकी थिई । ऊ आफ्नो प्रियतमालाई सडकमा हिंडेका आफ्ना शत्रु, मित्र, सबैलाई चिनाउँथ्यो तर सडकमा हिंडेकाले उनीहरूलाई देख्तैनथे । यही अवसरमा कुराको सिलसिलामा, प्रेमको उमङ्गमा, उनीहरूको यस्तो सम्भाषण भयो-

सुनभाइचा – म तिमीलाई घरमै लैजान्थें । के गर्नु एउटा कुराको बाधा छ ।

हसिना – के बाधा ? त्यो नरसिंहदललाई मैले छोडिसकें के ।

सुनभाइचा – त्यो होइन ।

हसिना – मर्जी होस् न त, के ?

सुनभाइचा – तिम्रो चित्त दुख्ला कि ?

हसिना – हरे । छिः हजूरले त मलाई छुरैले रोपिबक्से पनि दुख्तैन, अमृतवचनले दुख्ला ?

सुनभाइचा- तिम्री छोरी नभइदिएको भए म तिमीलाई घरमै लैजान्थें ।

हसिना – त्यो बालखले के रोकी र ?

सुनभाइचा- साथीहरूले गिल्ला गर्छन्- अर्काकी छोरी पाइसकेकी स्वास्नी ल्यायो भनेर । उसै त म टोलमा कस्तो आँखी भइरहेको छु ।

यत्तिकैमा सर्वाङ्ग मोसो दलेका, थोत्रो छाता ओढेका, खुर्सानीको माला र सुन्तलाको बोक्राको चश्मा लाएका चार जना एकैनासका बहुला एउटा खोरभित्र लुते कुकुर बोकेर ‘बाघ है, बाघ है’ भन्दै आए। अनि ती दुवै जनाको ध्यान त्यतैतिर आकर्षित भयो ।

आँखीझ्यालबाट हसिना जात्रा हेरिरहेकी थिई तापनि अब ऊ सडकमा हिँडेका बौलाहाहरूलाई देख्तैनथी किनभने उसको मन सुनभाइचाको त्यस्तो कुरा सुनेर सिमलको भुवाजस्तो कता-कता उडिरहेको थियो ।

दुई महीनाअगाडि एक जना बाबूसाहेबले उसलाई लैजान आँटेका थिए । उनले पनि त्यसकी छोरी भएको भए लैजान सकेनन् । यो घटना पनि हसिनाले सम्की । फेरि कुनै दरबार पस्न जाऊँ भन्ने विचार गर्दा उही छोरी उसलाई बाधक भएर उभिदिई ।

जो पनि छोरी छ भनेर हच्कने, जहाँ जान खोज्यो त्यही छोरी मार्गकण्टक भइदिने भएकोले बरु मरिदिए हुन्थ्यो जस्तो उसलाई लाग्यो ।

यस्तो प्रकारले हसिना मनमा कुरा खेलाउँदै थिई, बाहिरी कोणको झ्यालबाट छोरी भित्र आमाकहाँ आएर तोतेबोली बोल्दै काखमा बसी- “सबै नासपाती खाइसकें ।”

हसिनाले पनि उसको गाला सुमसुम्याएर, म्वाइँ खाएर फेरि अर्को नासपाती दिएर बाहिर कोठाकै झ्यालमा पठाइदिई ।

* * * *

त्यसै रात-

हसिना बिछ्यौनामा पल्टिरहेकी थिई । निद्रा लागेको थिएन । दिउँसो सुनभाइचाले भनेका कुरा उसका हृदयपटमा टाँसिइरहेका थिए । छोरी व्यर्थको काउसो आइलागी, यसलाई के गरेर पन्छाउन सकिएला भन्ने तरङ्ग उसको मनमा उठिरहेको थियो । कसैले पाल्न लगे पनि हुन्थ्यो, दिन्थें भन्ने उसले विचार गरी । यो महाअनिकालमा आफ्ना सन्तान त कसले पालिदेओस्, अर्काको पाल्न अघि सर्ने को ?

जस्तो पराधीन पुरुषको केही प्रभुत्व हुँदैन, शोषित जनताको केही स्वास्थ्य हुँदैन, त्यस्तै आत्मसुख, कामवासनामा रत भएकी माताको हृदयमा पनि सन्तानमाथि स्नेह रहँदैन । हसिनाले आफ्नी छोरीलाई छोरी ठानिन; बरु आफ्नो सुखभोगको हत्या हुने छुरी ठानी । ऊ बाँच्नुभन्दा मर्नुमा नै उसले आफ्नो कल्याण सम्झी । मरिदिए पनि हुन्थ्यो; अनि आफू अकेली हुन्थें, सुनभाइचाले घरै लैजान्थ्यो, रातदिन विलासमा डुबेर बस्न पाउँथे भन्नेसमेत उसले आशा, कल्पना गरी । छोरी चाहिं आफ्नै बायाँपट्टि एक हातले अँगालो हालेर मस्त निदाइरहेकी थिई ।

हसिनाको हृदयमा मानवी र दानवी भावनाहरूको सङ्घर्ष भइरहेको थियो; तलमाथि उलटपलट चलिरहेको थियो । कहिले ऊ विचार गर्थी- छोरीलाई कतै लगेर फ्याँकिदिन पाए पनि हुन्थ्यो । फेरि छोरीको मुख हेर्यो त्यसो गर्न माया पनि लाग्थ्यो । अगाडि देवदण्ड र राजदण्ड आएर उभिदिन्थ्यो अनि ऊ डराउँथी । जसै आफ्नो स्वतन्त्रता र आत्मसुखको बाधक भएको उसलाई देख्थी अनि ऊ साह्रै रिसाउँथी । उसलाई गुप्त हत्या गरिदिऊँ जस्तो पनि लाग्दथ्यो । तर केही दिनअगाडि छोरी बिरामी भएको बेलामा भने उसले वैद्य डाकेर औषधि गराए‌की थिई । त्यस बखत उसको हृदयमा छोरी मर्छ कि भन्ने माया पनि थियो, बाँच्छे कि भन्ने भय पनि थियो ।

केही दिनमै ठोटरी फस्टाएर आई । उसको आरोग्यमा हसिना खुशी पनि भई, निराश पनि भई । जस्तो बहुलाहरूलाई शुक्लपक्ष र कृष्णपक्ष लाग्छ त्यस्तै हसिनालाई पनि छोरीको उपर स्नेह र क्रोध अपर्झट चढ्थ्यो, घट्थ्यो ।

त्यसरी रातदिन लम्पट कसेर बस्ने सुनभाइचा तीन-चार दिनसम्म हसिनाकहाँ बिलकुल आएन र चौथो दिनको बेलुका झुलुक्क मुख देखायो । त्यसरी पटक्क नआउनाको, माया मार्नाको कारण हसिनाले ऊसित अति दिक्क मानेर सोधी । “कताबाट टोलमा कुरा पुगेछ, दुई वर्षकी झड्‌केली छोरी भएकी स्वास्नी पनि राख्ने भनेर सबले निन्दा गरे । म माया नभएर नआएको होइन, अर्काको भनाउ भएर नआएको । यो ठोटरीलाई यसको बाबुकहाँ पठाइदेऊ न । अनि म तिमीलाई आफ्नै घर लैजान्छु,” भनेर सुनभाइचाले स्पष्ट भन्यो ।

हसिनालाई सुनभाइचाका ती वचन र छोरी काँडाजस्ता भएर मुटुमा चस्स बिझे ।

त्यसै दिन राती बाहिर मुसलधारे पानी बर्सिरहेको थियो । भित्र हसिना बिछ्यौनामा पल्टिरहेकी थिई, निद्रा लागेको थिएन । हातमा एउटा चुरोट, मनमा नाना कुरा खेलाइरहेकी थिई- ‘यसलाई कुन जुक्तिले बाबुकहाँ पठाइदिऊँ ? फेरि म कुन चाहिंलाई यसको बावु भनूँ गर्भ दिनेलाई कि नुवारन गर्नेलाई ? यो आगोको फिलिङ्गो उर्लेको बाढीमा फालेर निभाइदिन पाए पनि हुन्थ्यो । आफ्नो सन्तान यसरी अलपत्र पारेर फ्याँक्न बाबु हुनेलाई त माया लागेन भने म आमालाई पनि केको माया ? आजकै भेलमा लगेर हुत्त्याइदिन्छु, बगोस् । सुनभाइचालाई चाहिं ‘उसकै बाबुको घरमा पठाइदिएँ भनुँला, अनि उसैसित जाउँला, न पीर न पिराउ, स्वच्छन्दसित प्रेमले बसुँला । यस्ता छोरी कति हुन्छन् कति ।’

यस्तो असत् विचार गरेर हसिना बिछ्यौनाबाट जुरुक्क उठी र अर्को चुरोट सल्काएर झ्यालमा उभिई । भदौको महीना पानी बिलकुल थामिएको आकाश निर्मल थियो । बिहानको तोप भर्खर पड्‌केको, धारामा पानी लिन जाने स्वास्नीमानिसहरू फाट्टफुट्ट गएका देखिन्थे । यसै बेला हसिनाले कामवासना र भोगविलासले भरिएको हृदयबाट सन्ततिस्नेहलाई जबरजस्ती पन्छाइदिई र निदाइरहेकी अजान छोरीलाई च्यापेर बाहिर निस्की- विष्णुमतीको भेलमा बगाउन ।

बाहिर सडकमा आइपुगेपछि ठोटरी बिउँझी र बोकेर लगेको देखेर उसले आमालाई सोधी- “आमा काँ जाने ।”

“सुत् । सुत् । कहीं होइन ।” हसिनाले धम्काएर भनी । बिचरी ठोटरी ! त्यो षड्यन्त्र उसलाई के थाहा ? ऊ लुत्रुक्क परेर सुती ।

हसिना एक जोशमा तड्‌केर हिंडिरहेकी थिई । उसको शरीरभर खलखल पसीना बगिरहेको थियो । मुटु भट्याकभट्याक चलिरहेको थियो । मगज रननन तातेको थियो । ऊ विष्णुमतीको किनारमा पुगी । भदौरे बाढी उर्लेर आइरहेको थियो । एउटा बैंसको रूखनिर उभिएर कोही मानिस छन् कि भन्ने ठानेर उसले दायाँबायाँ निरीक्षण गरी ।

आज आमाले यस बेला कहाँ लैजान लागिन् भन्ने ठोटरीको मनमा लागिरहेको थियो । ऊ निदाएकी थिइन । आकाशका एक उज्ज्वल तारालाई हेरेर बसिरहेकी थिई । बालकको उत्सुकता – उसले त्यही तारा औंलाले देखाएर सोधी- “आमा ! उः त्यो के ?”

“केही होइन, चूप लाग् । तारा के !” हसिनाले भनी । यत्तिकैमा उसले बिचरी अबोध निर्दोष ठोटरीलाई ‘लौ जा ।’ भनेर धमिलिएर घनघनाएर छाल र भुमरी पार्दै-पार्दै आएको बाढीमा हुत्त्याइदिई । छोरी अतालिएर, निसासिएर, के गरूँ कसो गरूँ भएर एक पटक चिच्च्याई “किन फा…ल्या… आमा लौन !’…. मलाई !! लौन !!!”

यसरी छोरी आकुलव्याकुल भएर आफूतिर हात दिएर बग्दै-बग्दै गएको देखेर हसिना पनि उसको पछि-पछि ‘पख ! पख !!’ भन्दै किनार किनार दगुरी । ठोटरीको त्यो अवस्था देखेर अत्यन्त स्नेहले उसको मुटु बटारिएर आयो । एक साहसले बगेकी छोरीलाई उतार्न ऊ पानीमा हेलिई । अगाडि छोरी बगिरहेकी थिई, पछाडि उसलाई समात्न आमा गइरहेकी थिई । कति कोशिश गर्दा पनि छालले ती दुई जनालाई भेट हुन दिएन । हसिनाले अब आफूलाई समेत समाल्न सकिन । भलले उसलाई हुत्त्याएर लग्यो । घुट्ट-घुट्ट पानी पिउन थाली ।

कतै-कतै बादलका थुप्राथुप्री भए तापनि चन्द्रमाको वरिपरि आकाश निर्मल थियो । टहटह जून लागिरहेको, सिररर सिररर हावा चलिरहेको, विष्णुमतीको धारमा अधिअघि छोरीको लाश बगिरहेको थियो, पछिपछि आमाको ।

 

(‘अट्ठाइस कथा’बाट)