
मोटरसाइकलले मलाई ठक्कर दिएपछि म लडें । ठक्कर तगडै थियो । म लडेको देखेर मोटरसाइकलवालाले मौका छोपिहाल्यो । इन्जिन बन्द भएको थियो तर भुटुट्ट स्टार्ट गरेर कुदाइहाल्यो । म हेरेको हेर्यै भएँ । ऊ कता गायब भयो थाहा भएन । अलि पर सडकलाई जङ्गलले ढाक्थ्यो । उसको नम्बर पनि मैले नोट गरिनँ । लडेको वेला नम्बर नोट गर्न पनि सकिएन, होशै पनि भएन । म बाटोमै लडिरहें । कोही आउलान् भनेर बाटो हेरिरहें ।
मैले सोचें, केही सहयोग त पाइएला । एउटा साइकल ओरालोमा पाइडल नमारी कुदाउँदै आयो । वेलावेला एकदुई पाइडल दिइहाल्थ्यो । साइकलवाला मबाट तर्केर अगाडि बढ्यो । मैले कराउँदै भनें, ‘ए भाइ ! मलाई मद्दत गर ।’ साइकलवालाले पछाडि फर्केर हेर्ने दयासम्म देखाएन ।
चिच्च्याएर भन्यो, ‘काममा पुग्न हतार भइरहेछ । अर्को मानिस आउँदै छ, मद्दत माग्नुस् ।’
म त्यति वेलासम्म टाठै रहेछु ।
उसको जवाफको प्रत्युत्तर थिएन मसँग । कातर भएँ म । यसरी पल्टिराखेर त भएन । कममा उभिने प्रयास गर्नुपर्यो । तर सकिनँ । सम्झना भयो, मोटरसाइकल अलि स्पीडमै थियो । कहाँनिर चोट दिएछ ? चोट गम्भीर खालकै थियो ।
मोटरसाइकलले ठक्कर दिएर ज्यान जान सक्छ । तर म बाँचें । त्यो को होला जसले मलाई ठक्कर दिएर लडेपछि मौकाको फाइदा उठाएर भागिहाल्यो । केही नभए उठाएर बाइकमा राख्दो हो र अस्पताल लगेर छोड्दो हो । म प्रहरीमा रिपोर्ट गर्ने थिएँ वा थिइनँ त्यो पछि कुरा थियो । मेरो ज्यान पनि जान सक्थ्यो ।
नातिको अनुहार झलझली आँखामा नाच्न आयो । धेरै दिन नाति खेलाउन लेखेको रहेनछ । ऊ मेरो बाटो हेरिरहेको होला । बाटो हेरेको हेर्यै हुने भो । म बाहिरबाट फर्कंदा टफी वा चकलेट जे भए पनि उसका लागि भनेर नबिर्सी ल्याउँथें । अब त्यो टुट्ने भो । तर उसले केही दिनपछि मलाई बिर्सनेछ, मरें भने । मलाई मर्ने इच्छा थिएन ।
यस्तो लाग्थ्यो, कसैले अस्पताल त अवश्य पुर्याउला । अस्पताल नपुर्याउँदै म यहीं कुकुरको मृत्यु मरें भने पनि मानिसहरूले मलाई प्रहरीमा रिपोर्ट गरेर अस्पतालको मुर्दाघरमा राख्ने काम त गर्लान् । मेरो पहिचान नखुलुन्जेल । प्रहरीले पोस्टमार्टम पनि गराउला ।
मानिसको जिन्दगी पनि के रहेछ र ? समाज भन्यो, भाग्य भन्यो, सन्तान भन्यो, आफन्त भन्यो, तर खै ? अहिले म यसरी असहाय पल्टेको छु, कोही छैन यहाँ । सडक सुनसान छ । कुन भेकको सडक रहेछ यो भन्नुहोला । गाउँछेउको सडक हो । दशैंको समय छ र सबै घरमा व्यस्तता छ । कोही बाहिर निस्कने मूडमा छैन । उसै पनि अरूअरू दिन पनि पाँचै बजे उठेर मर्निङ वाकमा निस्किहाल्नु पर्ने के हतार छ र भन्थ्यो छोरो ।
हतार यही रहेछ । इ मर्नै लागिरहेछु, उद्धार गर्ने कोही छैन । तै उताबाट एउटा मानिस लुरुलुरु हिंडेर आइरहेछ । ऊ म पल्टेको देखेर टक्क अडिएको छ । टाढैबाट ठम्याइरहेछ, सडकमा पल्टिएको म लाश हुँ कि जिउँदो मानिस ? मेरो घाँटी पनि सुकिसकेको छ । कराएर त्यो मानिसलाई बोलाउन सकिरहेको छैन । घाँटी घ्यारघ्यार गरिरहेछ । बडो मुश्किलले एक हात उचालेर इशाराले बोलाउन खोजें । हात उचालिएन । केही भएन । न हात उचालियो न आवाज नै आयो ।
मानिस तींबाट फनक्क फर्केर जताबाट आएको थियो उतै फर्कियो । म ऊ गएको हेरिरहें । ऊ आएभन्दा बढी छिटो गतिले फर्कियो । के हो के हो ? मानिस त हो भन्यो होला मनमनै । कसैले मारेर फालेको पो हो कि ? अचेल अपराध बढिरहेछ । सयपचासका लागि हत्या भएको हुन सक्छ । कोही बिहानै दारुले धुत् भएर बीच सडकमा बेहोश भएर लडिरहेको हो कि ?
यताबाट जाने बस लरीले किचेर मरिसकेको पो छ कि ? समय खराब छ भाइ, फर्की । जताबाट आएको होस् उतै । बाटाहरू धेरै छन् । अर्को बाटो लाग् भन्ने सोच्यो होला उसले ।
जेजे सोचोस्, म त बीच सडकमा पल्टेको छु । सडक चिसो छ धन्न । मध्याह्नतिर सडक तातेर टेकिनसक्नु हुन्छ । अब कोही आएन र म मध्याह्नसम्म यसरी सडकमै पल्टिराखें भने म पापड पोलिएझैं पोलिनेछु । तर त्यसो नहोला । कोही दयालु त होला । केही नभए गस्तीमा निस्केको प्रहरीको भ्यान त देखिएला । प्रहरीले केले यसरी ठक्कर दिएको भनेर सोधेछ भने म भनुँला बाइकले । उनीहरू सोध्लान् बाइकको नम्बर नोट गर्नुभो ? तब के भन्ने ? त्यो त गर्न सकिनँ । प्रहरी अलि कडा रहेछ भनो भन्ला— नोट गर्न सकिनँ कि नोट गर्ने होश भएन ?
सोधाइमा एउटा हाँक पनि छ, नोट गर्न सकिएन कि भन्नेमा । मलाई अहिले नै अलि जोश आइरहेछ । दुर्घटनामा परेकोलाई त्यसरी जोस्याउने हो त ? तर यसको पनि मसँग तयार जवाफ छ । भन्नेछु— ठक्कर देला भन्ने के थाहा ? लडेपछि होशै भएन । बाइक स्टार्ट गरेर कुदिहाल्यो । तर यी सबै प्रश्नोत्तर पछि पहिले प्रहरीसँग भेट त होस् अर्थात् प्रहरीको गस्ती भ्यानले मलाई भेटोस् त, उठाएर अस्पताल लगोस् त । अनि इमर्जेन्सीको बेडमा सुताएर प्राथमिक उपचारपछि सोधपुछ गरोस् । अनि बल्ल म जवाफ दिनेछु । अहिले नै मनमा तर्कवितर्क गरेर सडकमै पल्टिबस्नुको के अर्थ ?
उठ्ने प्रयास गरिहेर्न मलाई अन्तरात्माले घचघचाइरहेछ । आत्माले पनि चोट खाएको छ । पहिलो साइकवालाले चोट दिएर गयो, मानवतालाई पिठिउँ देखाएर । दोस्रो टाढैबाट म के भएर सडकमा पल्टेको छु भन्ने निर्क्योल गर्न नसकेकोले उल्टो दिशा अर्थात् जताबाट आएको हो उतै फर्केर । सङ्कटमा मानिसले धैर्य नगुमाउनु भन्छन् । भन्नेलाई त सजिलो छ । जसलाई पर्छ उसैले बेहोर्छ । अर्कालाई दोष दिनु छैन । भाग्य भन्नु पनि केही होला । नत्र म यसरी बीचसडकमा पल्टेर सहायताको प्रतीक्षामा हुने थिइन ।
उताबाट कोही आइरहेछ । मनिर थामिएर एक्कासि भनेको छ, ‘को हो तपाईं हँ ?’
म को हुँ हँ ? यस प्रश्नको जवाफ दिनसक्ने अवस्थामा म थिइनँ । टाउको मात्र थोरै हल्लाएछु । यहाँबाट अस्पताल पनि टाढा छ । कसरी लैजाने ? निकै मेहनत पर्ने देखियो । ऊ बजार तिरबाट फर्के जस्तो लाग्यो । कसले ठक्कर दिएछ । गाडीले भए त कच्याककुचुक पार्ने थियो । सानै वाहनले होला । म सुनिरहेछु, कान थापेर । कानले सुन्नसक्ने रहेछ । अलि आश पनि भयो, म बाँच्न सक्छु । समयमा उपचार चाहियो ।
मैले यी सब कुरा मेरो छेउमा उभिएर मलाई हेरिरहेको मानिसलाई भन्न सकिरहेको छैन । मुख सुकेको छ । जिभ्रो चल्न मानिरहेको छैन । यसो हात चलेको जस्तो लाग्यो । धेरै बेर भएछ । रगत बगिरहेको छ कि ? अत्यधिक रक्तस्राव भएर मृत्यु भएको हुन सक्छ बूढा मान्छेको— यस्तो अनुमान लगाउन बेर लाग्नेछैन । मरेपछि के थाहा ।
तर प्राण कायम छ । प्राण जान कति बेर लाग्छ ? अनुभव त छैन । एक पटक मरेपछि फेरि दोहोर्याएर मर्न पाइन्न । यस्तो सोचेर म केही हाँस्ने चेष्टामा हुन्छु । तर घाइते छु र हाँस्न उचित छैन र सकिरहेको पनि छैन । हाँस्ने चेष्टाले कताकता दुखाएको पनि छ ।
एउटा जीप आएको छ । दूधका ड्रम ओसार्ने पिकअप हुनुपर्छ । यो सडकमा तिनको आवतजावत बढी छ । पिकअप नै हुनुपर्छ त्यो मेरो छेउमा रोकिएको छ । मान्छे दुई जना जस्तो लाग्छ गाडीबाट ओर्लिएका छन् र मेरो निरीक्षण गरिरहेछन्— जिउँदै छ कि मरिसक्यो ? म उद्धार हुने आशले अलि चलमलाएको छु ।
मेरो छेउमा आएर उभिएको मानिसले भनेको घुइरोघुइरो सुनेको छु, ‘ए माइला यिनलाई गाडीमा हाल् । मरेका छैनन् । बूढा मानिस चोटले बेहोस भएजस्तो छ ।’
ड्राइभरले जवाफमा भनेको छ, ‘चोट ठूलै छ कि ? बाटैमा सास गयो भने कता पुर्याउने ? मानिस बूढा छन् । उल्टो तैंले नै गाडीले हानिस् होला, अहिले साखुल्ले भएर प्रहरीमा बुझाउन ल्याइस् भन्यो भने । ठानाप्रहरी गर्नुपर्ने झमेला आइलाग्ला ।’
‘जे त पर्ला । मानिस सज्जन लाग्छन् । उसै पनि मानिसलाई मर्न दिनु त भएन । परेको वेला मानिसको काम लाग्ने त मानिस नै हो नि बाबु ! सकेको सहयोग गर्नु पर्छ मोरा । कति डराएको भन्या ? यिनलाई अस्पताल त पुर्याऊँ । लागेको म बेहोरुँला ।’
पछि थाहा भयो, गाडीवालले एक पैसो लिएन र मलाई सहयोग गर्नेले पनि पैसो लिएनछ । म त चोटेले बेहोश नै थिएँ । सहयोगबापत पैसा कसले तिर्ने । कममा पनि ड्राइभरलाई चियापानी खानोस् भन् । पछि म डिस्चार्ज हुनुभन्दा अगि र डिस्चार्जको समयमा त्यो मानिसलाई मैले कति खोजें, खोज्न लगाएँ तर कतै भेटिएन । उसले गोप्य दान जस्तो सहयोग गरेको रहेछ— दान दिनू बिर्सनू । यहाँ सहयोग गर्नू बिर्सनू देखियो ।
मलाई लाग्ने नै भयो, अलिकति कताकता मानिसमा दयाभाव बचेको छ र मानवता पनि । यो सोचले मलाई अस्पतालको बेडमा पनि थोरै आश्वस्त पार्यो । कुनै दिन यस्तै दुर्घटनामा परेको व्यक्ति वा व्यक्तिहरूलाई उद्धारमा सहयोग गर्न पाइयोस् भनेर मनमनै प्रार्थना गरें । तर अरूको खल्तीको पैसा सडकछेउ खसेको भेट्टाइयोस् भन्ने कामना गर्नु जस्तै अरू पनि मै जसरी दुर्घटनामा परुन् भन्नु पाप थियो । पाप र धर्म छुट्ट्याउने प्रयासमा म लागिनँ । तर सङ्कटमा मानिसबाटै सहयोगको अपेक्षा राखिन्छ भन्ने थाहा पाएँ ।
एक किसिमले यो पनि भयो— मलाई बचाउनेलाई हेरेर धर्म अझै छ भन्न सकिन्थ्यो र मानवता पनि नत्र मैले त मानवता र धर्म संसारमा रहेनन् भन्ने निश्चय गरिसकेको थिएँ । मैले यसो भनूँ, म जस्तो दुर्घटनामा कोही नपरून् । अन्त्य यो भएको थियो, म फेरि घर फर्कें । मेरो खल्तीमा नातिका लागि प्रशस्त चकलेट-टफी थिए । मैले अस्पतालकै बेडबाट छोरोलाई फोनबाट मेरो एक्सिडेन्टको खबर गरेको थिएँ । मेरो खल्तीको मोबाइल सुरक्षित रहेछ ।
छोरो हस्याङफस्याङ गर्दै अस्पतालमा आयो र मेरो बेडको छेउमा उभिएर भन्यो, ‘बाबा, यो के गरेको ?’ मलाई टाउकामा छ टाँका लागेको थियो, दायाँ खुट्टामा प्लास्टर चढेको थियो । भोलिपर्सि म डिस्चार्ज हुनेवाला थिएँ । छोराको प्रश्नले मलाई असमञ्जसमा पार्यो । छोरो हो, मैले के भनूँ ? मैजस्तो बूढा हुनतिर लागिरहेछ । उमेर खाएपछि बिहे भएको थियो उसको । नाति ढिलै भएको हो । वेलावेला आफैं भन्थ्यो, ‘ढिलो गरेको हुनाले छोरो भएको हो ।’ उसले ढिलो हुनु छोरै हुनुलाई बङ्ग्याएर त्यसो भन्थ्यो ।
मैले भनें, ‘छोरा तैँले यो के भनेको ? मैले गरेर हो कि एक्सिडेन्टले हो । बूढो भइसकिस् अझ बाउसित बोल्ने ढङ्ग छैन ।’
उसले पश्चात्तापको स्वरमा भन्यो, ‘ओ सरी ड्याडी, म तपाईंको छोरो हुँ । जे भयो सो भयो । तपाईं अहिले सुरक्षित हुनुहुन्छ ।’
अस्पतालबाट डिस्चार्ज भएर घरभित्र पस्दा पहिले त नातिले मलाई अपरिचितलाई झैं हेर्यो । म बैसाखीमा थिएँ । टाउकामा टोपी थिएन । पछि चिन्यो । बाबाभन्दै छेउमा आयो । छोरोले हातले नातिलाई पन्छाएर भन्यो, ‘बाबालाई झी भा’छ ।’ तर मैले उसका लागि ल्याएको खल्तीबाट चकलेट र टफी झिकेर थमाउँदै भनेँ, ‘बाबालाई सञ्चै छ । तिमीलाई नि ?’ उसले मेरो मुखतिर हेरेर मुस्कान दियो । मलाई लाग्यो जीवन अझै चलायमान छ ।
तर मेरो मनमा त्यही व्यक्तिको आवाज गुन्जिरह्यो, ‘मानिसको काम लाग्ने त मानिस नै हो !’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

