घड्याक्क ढोका खोलेर विनोद आफ्नो बहालवाला कोठाभित्र पस्छ । कोठामा निकै शान्ति छ । केही चालचुल छैन । मानौँ, त्यहाँ भर्खरै कसैको मृत्यु भएको छ । या भनौँ, केही समयअघि मात्र त्यहाँ कसैले बम खसालेको छ । दायाँ-बायाँ नहेरी ऊ, सरासर ह्याङ्गर भएको भित्तातर्फ अघि बढ्छ । लगाइरहेको चेक सर्ट खोल्छ, टकटक्याउँछ र ह्याङ्गरको जिम्मा लगाउँछ । सर्टमा टाँसिएको सिमेन्टको धुलो कोठाको हावासँग मिलेर नाच्न थाल्छन् । पेटमा प्वाल परेको सेतो गन्जीको छिद्रबाट केही भुत्लाहरू टाउको निकालेर कोठा चिहाउँछन् । र, उसको आर्थिक अवस्थाको बयान गर्छन् । विनोद निहुरिएर पाइन्टको तल्लो भागलाई दुई फन्को पट्याउँछ र पुलुक्क खाटमा आँखा लगाउँछ ।
खाटबाट उसकी छोरी आँखा निस्केला झैँ गरी उसैलाई घुरिरहेकी छे । छोरीसँग धेरै बेर आँखा जुधाउन विनोदलाई निकै सकस हुन्छ र भुइँतिर आँखा गाड्छ । उसले छोरीको माग बुझिसकेको छ । बुझिरहेको थियो । तर महिनौँबाट गरिरहेको गल्ती उसले आज पनि दोहोर्याएको छ । घाँटीबाट केही आवाज निकाल्न खोज्छ । सक्दैन । हीनताबोधले किलकिलो थिचिदिएको छ । ओठहरू मात्र थरथराउँछन् । छोरी अझैसम्म घुरिरहेकी छे । तर यतिबेला उसका आँखा रसाएका छन् । विनोदलाई रसाएका आँखाको उपचार राम्रोसँग थाह छ । यद्यपि लामो समयदेखि चलिरहेको आर्थिक अभावले उक्त उपचार गर्न सकिरहेको छैन । छोरीलाई महिनौँबाट के चाहिएको हो भन्ने कुरा उसले नबुझेको होइन । आज पनि विवश बाबुको अनुहार देखेर छोरी भित्रभित्रै कुँडिन्छे । बाउ कुँडिन्छ । कोठाको माहौल कुँडिन्छ ।
अमिलो वातावरणलाई जित्न ‘आज पनि ठेकेदारले पैसा दिएन’ भन्दै बिना कुनै प्रश्नको नियमित उत्तर तेर्स्याउँछ । कोठामा छरिएको शान्तिको कानमा यो कुराले कुनै असर पुर्याउँदैन । महिनौँ भयो उसले छोरीलाई मासु ख्वाउने झुटो बाचा गरेको र घरको माहौल आतङ्कित रूपमा शान्त बनाएको । मासुकै आपूर्ति गर्न नसकेर उसले सर्वस्व ठान्ने सानी छोरीको बाल मस्तिष्कमा बाउप्रति बिस्तारै पलाइरहेको घृणालाई पुनः प्रेममा बदलिन हर सम्भव प्रयास गरिरहेको छ । तर, समयले साथ दिएको छैन । भाग्यले, पसिनाले केही कुराले पनि साथ दिएका छैनन् । ऊ थाक्दै गइरहेको छ । गल्दै गएको छ । छोरीको अनुहार देखेर प्रत्येक पल मरिरहेको छ । हरेक दिन सकिँदै गएको छ ।
थाकेको जिन्दगी र शरीरलाई ताजा बनाउन ऊ पाइखाना छिर्छ । केहिबेर पाइखानामा बिताएपछि धोएर भिजेको अनुहार र हात खुट्टा लिएर कोठा पस्छ । किताब पल्टाएर बसिरहेकी छोरीको खाटमा गएर थचक्क बस्छ र मायाले छोरीको ढाड मुसार्न खोज्छ । छोरी उसको हात झट्कार्दै ‘कस्तो बाबा तपाईं त ?’ भन्दै घोसे मुन्टो लगाउँछे । यसअघि कहिले खुट्टा बजार्ने, कहिले सुक्सुकाउने, कहिले चिच्याउने त कहिले साना हातले बाबाको तिघ्रामा हिर्काउने उसले गरिरहेकी हुन्थी ।
‘हेर न मसँग अहिले तिहुन तरकारी गर्ने पैसा त छैन । गाडी भाडा उस्तै बढेको छ । एक दुई सय गोजीमा राख्नै पर्यो । तिमी त मेरी ज्ञानी छोरी हो नि’ भन्दै विनोद एकोहोरो शङ्ख बजाउन थाल्छ । छोरीलाई उसको कुराको कुनै वास्ता छैन । छोरीको बेवास्ताले उसलाई नराम्रोसँग थिचिरहन्छ । ऐँठन पारिरहन्छ । समयले उसलाई लाचार बाउ साबित गरिरहेको छ । ऊ बेला-बेला आफ्नो लाचारीलाई, भाग्य र भगवान्लाई धिक्कार्छ । कति पटक उसले ऐना हरेर आफूलाई हुँदो नहुँदो गाली समेत गरेको छ ।
छोरी घोप्टिएको ठाउँबाट आएको तातो बाफले विनोदलाई चिस्याइरहेको छ । ‘पैसा आउने बित्तिकै म मेरी गुन्डी छोरीलाई सिनामङ्गलको सेकुवा खान लैजान्छु नि, हस् !’ भन्दै ऊ केही थप समय माग्छ । कम्मर हल्लाएर छोरी हुँदैन भन्ने सङ्केत दिन्छे । विनोद खुइय्य गर्दै छोरीले आफ्नो अवस्था नबुझेकोमा थकित हुन्छ । जीवनको यात्रामा यस्तो परिस्थितिमा हिँड्नु पर्दा मान्छे चाँडै थाक्दो रहेछ । त्यसमाथि सन्तानको खुसीका निम्ति थपिएको अभिभावकत्वको भार ।
केही महिनाअघि सम्म राम्रो कमाइ हुँदा विनोदले दिनदिनै खसीको मासु ल्याएर छोरीलाई नख्वाएको भने होइन । ‘चिची’ भन्दै उसले छोरीलाई मासुको स्वाद पहिलो पटक चखाउँदा छोरीले निकै मज्जा मानेर टन्न माम खाइदिएकी थिई । नजानिँदो पारामा आफैँले बिस्तारै बसाएको मासुको लत यहाँसम्म पुगेर छोरी अर्थोक नखाने नै हुन्छिन् भन्ने उसले त्यति बेला सोचेको थिएन । अहिले त छोरी दुब्लाएर खङ्ग्रङ्ग भएकी छे ।
उसलाई अझै पनि याद छ । दसैँको मुखमा ठेकेदारले राम्रो पेस्की दिएको थियो । त्यही पेस्कीको फुर्क्याइमा उसले छोरीलाई सिनामङ्गल घुमाउन लागेको थियो । मासु नै मासु । सेकुवा नै सेकुवा । मांसाहारी सुगन्ध नाकमा परेपछि उसले छोरीलाई सेकुवाको सारा वृत्तान्त र बनाउने तरिका समेत सिकाएको थियो । उसले छोरीलाई सेकुवाको गन्धसँग परिचित गराएको थियो । त्यही दिन निकै भिड रहेको एउटा सेकुवा कर्नरमा गएर बाउ छोरीले खसीको सेकुवासँग दिएको चटपटे मस्त खाएका थिए । त्यतिबेला छोरीको आँखामा देखिएको चमक, अनुहारमा देखिएको खुसी र सन्तुष्टिको इन्द्र धनुषले बाउको हृदय तृप्त भएको थियो । अहिले त हप्तौँ भयो बाउ छोरीको दोहोरो कुराकानी नभएको । छोरी रमाएकी, मुस्कुराएकी नदेखिएको कति दिन भयो भन्ने कुरा विनोदको मनलाई थाह छ । छोरीको मुस्कान फर्काउन आफ्नै मासु काटेर दिन मिल्ने भए, उसले उहिल्यै त्यो काम गरिसकेको हुने थियो ।
कोरोना महामारीको समयमा भएभरको बचत खाएर सकिसकेको छ । श्रीमतीको गरगहना फर्काउन नमिल्ने गरी सुन पसलेको बन्दकीमा परेको छ । नियमित काममा गए पनि ठेकेदारले अनेक बहाना बनाएर एक मुष्ट पैसा नदिएको धेरै भयो । कहिले पाँच सय कहिले हजार दिन्छ । नुन तेल गर्दागर्दै त्यति पैसा त कता जान्छ जान्छ, पत्तो हुँदैन । नत्र चार पाँच सयको खसीको मासु ल्याएर छोरीसँगको सम्बन्ध सुधार्नलाई उसले ढिलो गर्ने थिएन । यसअघि गरेको पनि थिएन ।
सुर्तीको प्याकेट निकालेर विनोद सुर्तीका केही पत्ता र चुनालाई हातमा राख्दै एकसाथ मिलाएर माड्न थाल्छ । केहिबेर सुर्ती माडेपछि प्याट-प्याट पड्काउँदै ऊ पुनः छोरीलाई सुमसुम्याउन थाल्छ । विरोधमा छोरी आफ्नो शरीर बटारिरहन्छे । ‘मेलो थोली र म भोलि घुम्न जानुपर्छ है’ भन्दै तोतेबोलि बोलेर ऊ घोप्टिएकी छोरीको मुन्टो उठाउन खोज्छ । घोप्टिएकै ठाउँबाट छोरी ‘काँ जाने ?’ भन्दै मसिनो स्वर निकाल्छे । माडेको सुर्ती ओठको तल्लो भागमा राख्दै भन्छ, ‘पशुपति जानुपर्छ । जी गर्न ।’ ऊ छोरीलाई ठाउँको जानकारी दिन्छ ।
‘तर मासु पनि ख्वाउनुपर्छ ?’ छोरी अर्को जटिल माग उसका सामु राख्छे । सधैँ झैँ विनोद उही कुरा दोहोर्याउँछ ‘भोलि त जसरी पनि खानुपर्छ ।’ लामो समयदेखि यही र यस्तै ठगुवा कुरामा विश्वास गरेर छोरी सम्हालिइरहेकी छे । यो ठगुवा खेलले गर्दा भोलि छोरीको विश्वास सधैँका लागि गुम्ने त होइन भन्ने डर विनोदको मनमा चिसो सुइरो बनेर घोचिरहन्छ । उसले अरू उपाय छैन भन्ने कुरा समेत बुझेको छ ।
छोरीलाई उठाएर, उसका रसाएका आँखा पुछ्दै, विनोद निधारमा म्वाइँ खान्छ । छोरी बाबाको अनुहारमा नहेरी ‘कार्टुन हेर्ने बाबा’ भन्दै उसको मोबाइल माग्छे । छोरीलाई युट्युबमा कार्टुन बजाइदिएर विनोद आफ्नो ढाड भित्तामा अडेस लगाउँछ । घरी-घरी छड्के आँखाले छोरीको क्रियाकलाप हेर्दै आफ्नो पुरानो ख्याटख्याटे मोबाइलमा कसैको नम्बर खोज्न थाल्छ । छोरी उसले बजाइदिएको कार्टुन परिवर्तन गरेर मासु खाएको कार्टुन खोजी-खोजी हेरिरहेकी छे । मोटूपतलु, टम एण्ड जेरी या कुनै बालबालिकाका लागि बनाइएका राइम्स हेर्न छोडेर, मासु खाएको या मासुसँग सम्बन्धित कार्टुनहरू दोहोर्याई तेहेर्याई हेरिरहेकी छे । यो कुरा पनि विनोदको आँखामा बिझिरहेको छ तर यसको कुनै उपाय छैन । आर्थिक अभाव नभएको भए छोरीलाई मासुको यस्तो भयङ्कर लत लागेकोमा उसलाई कुनै चिन्ता लाग्ने थिएन । नियमित कार्य जस्तै एक दुई नम्बर डायल गरेर ऊ केही पैसा जुटाउने प्रयास गर्छ । किनभने उसलाई छोरी मासुको संसारबाट घर फर्काउनु छ । उनीसँग खेल्नु छ । हाँस्नु छ । झगडा गर्नु छ । बुई बोक्नु छ । मासुसँगको प्रेममा छोरीले भुलिरहेको आफ्नो बाल्यकाल उपहार दिनु छ ।
‘छैन नि’, ‘ए अस्ति भन्नु भएको भए थियो’, ‘आज त गाह्रै छ’, ‘एक दुई दिनमा गर्नु न’, ‘म हेर्छु’ भन्ने खालका उत्तर उसले डायल गरेका नम्बरबाट प्राप्त गर्छ । ऊ छोरीतिर छड्के आँखा लगाउँछ । छोरीका आँखाले लगातार मासु खाइरहेका छन् । या भनौँ मासुको प्रेमले छोरी खाइरहेको छ । तर, यसको रोकथामका लागि केही गर्न नसकिरहेकोमा ऊ लामो समयदेखि छटपटाइरहेको छ ।
अँध्यारोमा दिन हराइसकेको छ । बाफ उडाउँदै बेलुकाको भात थालमा बसिसकेको छ । भातसँगै दाल र भिण्डीको तरकारी सजिएको छ । छोरी नाक खुम्च्याउँदै मोबाइलको मासुको भरमा दुई गाँस भात निल्ने प्रयास गर्छे । बाउ छोरीको मलिन अनुहार हेर्दै भात खाने प्रयास गर्छ । बेला-बेला ‘भोलि त मासु खाने है बाबा ?, अनि पशुपति पनि जाने ?’ भन्दै छोरी आफ्नो बाबालाई बाचा सम्झाइरहन्छे । बाबा छोरीको कपाल मुसार्दै एक अन्यौलता मुस्कुराउँछ ।
यो रात छोरीलाई केही सन्तुष्टिको निद्रा लाग्छ । बाबाको निद्रा उकुसमुकुसले चपाउँछ । कोल्टे फेर्दा-फेर्दै घामले मासुको माग राख्दै पोल्न थाल्छ । ‘बाबा उठ्नु न, पशुपति जाने भनेको होइन ?’ छोरी हिजो निर्धारित भएको कुरा सम्झाउँछे । रातभरि निद्रा नपुगेर विनोदका आँखा पोलिरहेका छन् । त्यसैले अर्कोपट्टि फर्किएर सुत्ने प्रयास गर्छ । छोरी उसलाई कोट्याइरहन्छे, बोलाइरहन्छे । उसको ढाडमा चढेर उफ्रिन्छे । केही नलागेपछि विनोद ‘ल ल छोड’ भन्दै छोरीलाई पन्छ्याएर उठ्छ र केहिबेर खाटमै बस्छ ।
छोरी दराजको लुगाहरूको भिडमा आफ्नो लुगा खोज्दै ‘बाबा हामी मासु घरमै खाने की उतै खाने ?’ भन्दै आँखा चम्किला बनाउँछे । ‘हेरुम के हुन्छ’ भन्दै विनोद आफ्ना राता आँखाबाट थकान र निराशा झल्काउँछ । छोरीले आफूलाई मन पर्ने लुगा छान्दै गर्दा विनोद आलस्य पारामा उठेर आफ्नो नित्यकर्म गर्न पाइखाना पस्छ । हिजोको विनोदलाई पखालेर, धोएर ऊ ढोका पछाडि झुन्ड्याएको तौलिया अनुहार र हात खुट्टामा दल्छ र फ्यात्त फ्यांकछ ।
छोरीलाई फुर्के जामा लगाइदिएर, विनोद आफू टी-सर्ट र जिन्सको पाइन्टमा सजिन्छ । हिजो लगाएको पाइन्टमा भएको २८० रुपैयाँ झिक्छ । बाबा छोरीको पशुपतिको यात्रा मासुको आहार सुरु हुन्छ । चोकबाट गौशाला जाने गाडी चढेपछि दुवै पिन्गलास्थानमा उत्रन्छन् । पिन्गलास्थान तलपट्टि रहेको सानो सुरुङ मार्ग हुँदै दुवै मन्दिरतर्फ अघि बढ्छन् । बाबाको चोर औँला समाएर छोरी रमाउँदै र छोरीको मासु खाने इच्छाले खुट्टा कमाउँदै विनोद अघि बढ्दै जान्छन् । केही पर पुगेपछि छोरीको नाकमा कुनै परिचित सुगन्ध पर्छ । उनी एकछिन त्यो गन्धलाई ठम्याउन खोज्छिन् । विनोदको नाकमा पनि त्यही गन्ध परेको छ तर उसको नाक भने खुम्चिएको छ । छोरी नाकका पोरा फुलाउँदै त्यो गन्धबाट तृप्तता लिन खोज्छे र उत्साहित हुँदै भन्छे ‘बाबा सेकुवा !’
विनोद एकछिन झस्किन्छ । रमाइरहेकी अबोध छोरीको अनुहारमा हेर्दै बताउँछ ‘यो सेकुवाको गन्ध होइन नि छोरी ।’
‘अँ मलाइ थाह छैन की क्या हो ? यो सेकुवा त हो नि ।’ छोरी आफूले ठम्याएको गन्धमा अडिग रहन्छे ।
‘त्यो त मान्छे पोलेको गन्ध हो छोरी, सेकुवाको होइन’ विनोद छोरीलाई सेकुवा र मुर्दा पोलेको गन्ध छुट्याएर वर्णन गर्ने प्रयास गर्छ ।
‘मान्छे पोल्दा सेकुवा हुँदैन बाबा ?’ छोरी आफ्नो कौतुहलता प्रस्तुत गर्छे ।
‘होइन नि छोरी, मान्छे पोल्दा सेकुवा हुँदैन नि, मान्छेको मासु खाँदैनन् नि त ।’
छोरीलाई ऊ हर सम्भव बुझाउने प्रयास गर्छ ।
‘मान्छेको मासु किन खाँदैनन् बाबा ?’ छोरीले निकै समस्यापूर्ण प्रश्न तेर्स्याउँछे । विनोद अक्क न बक्क पर्छ । ऊ त्यो प्रश्नको जवाफ दिन नसकेर केही बोल्न सक्दैन र हेरिरहन्छ छोरीको जिज्ञासु अनुहार ।
‘मलाई थाह छ यो सेकुवा कै गन्ध हो, तपाईँले किनिदिनुपर्छ भनेर मलाई ठग्न खोजेको’ भन्दै छोरी रुन्चे अनुहार बनाउँछे । बाउको यस्तो व्यवहार देखेर खुट्टा घिसार्दै हिँड्न थाल्छे । विनोदको वाक्य फुट्दैन । अघि बढ्दै जाँदा नजिक आइरहेको गन्धले छोरीको नाकमा लगातार हमला गर्न थाल्छ । मुख रसाउँदै जान्छ । असह्य हुँदै जान्छ । आफूलाई सम्हाल्न, रसाइरहेको आफ्नो जिब्रोलाई सम्हाल्न कठिन हुँदै जान्छ ।
‘बाबा आज त जसरी भए पनि सेकुवा खाने हो’ भन्दै छोरी मुख मिठ्याउँछे र बाबाको अनुहारमा हेर्छे । विनोदको नाक खुम्चिएको छ । अनुहारको भाव पनि आज सेकुवा ख्वाउने जस्तो छोरीले देख्दिन । छोरीले आफ्नो बाबाको अनुहारमा एउटा ठगुवा मानिस देख्न थाल्छे र समाइरहेको चोर औँला झयाट्ट छोडिदिन्छे । विनोद रोकिन्छ तर केही बोल्न सक्दैन ।
‘मलाइ थाह छ यो सेकुवाकै बासना हो, म त जसरी भए पनि खाने हो’ भन्दै छोरी बाबालाई छोडेर केही अघि बढ्छे ।
‘कस्तो नबुझेको त्यो मुर्दा पोलेको गन्ध हो, सेकुवाको होइन क्या मेरी छोरी ।’ विनोद छोरीलाई सम्झाउने एउटा अर्को प्रयास गर्छ ।
उनी मान्दिन । सुन्दिन । आखिर ठगुवाको कुरा कसले सुन्छ । विनोदका गलफती कुराले छोरीका पाइला रोक्न सक्दैन । उसलाई आज जसरी भए पनि मासु खाएर तृप्त हुनु छ । बाबाको जालझेलमा फस्नु छैन । त्यसैले पछाडि फर्किएर नहेरी गुरुरु आर्यघाटतिर दौडिन्छे । उसको भाषामा भन्दा सेकुवा पोलिरहेको ठाउँतिर…



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ कार्तिक २०८२, शनिबार 










