जब–जब ऊ मसँग भएको बारेमा सोच्छु— म आफूलाई भुइँमा पाउँदिन । ऊ त मेरो निम्ति आकाशको जुनजस्तै थिई; अलौकिक । टाढा । जोसँगको दूरी मेटिएर,जसलाई स्पर्श गर्न मेरो काबुमा थिएन । आसमा थिएन । जीवन–सफरको यो बिन्दुमा आइपुगेर मैले अनपेक्षित खुसी प्राप्त गरेको थिएँ । जहिले पनि र अहिले पनि मलाई यो विश्वास गर्न गाह्रो परिरहन्छ; ऊ मेरै प्रेमिका हो । ऊ दिनहुँ मसँग फोनमा घन्टौँ गफ्फिरहन्छे, प्रेमालाप गर्छे, मन लाग्नासाथ भेटौँ भन्छे,भेट्टिरहन्छे। भेट्नु हुन्न,अङ्गालोमा कस्छे । ममा आफैँलाई हराउँछे ।
ऊ पेशाले नर्स हो । त्यतिबेला म सवारी दुर्घटनामा परेर ऊ कार्यरत हस्पिटलमै पुगेको रहेछु । सेतो कोट लगाएर घाँटीमा स्टेथोस्कोप भिरेकी ऊ सरासर मेरो शैयानेर आएकी थिई । ऊ मेरो चिकित्सक थिई, म उसको प्यासेन्ट । हामीले त्यसअघि एकअर्कालाई कहिल्यै देखेका थिएनौँ । र प्रथमपल्ट त्यहाँ, त्यो अवस्थामा, त्यसरी देख्यौँ ।
मेरो खुट्टामा घाउ लागेको थियो । उसको सल्लाहबमोजिम दिनहुँ म उसकोमा ड्रेसिङ गर्न जान्थेँ । उसले मेरो घाउको पाप्रा उप्काउन थाल्थी,मलाई दुख्थ्यो; म कराउथेँ । ऊ मेरो ध्यान अर्कैतिर मोड्न अनेक गफ गर्न खोज्थी, मलाई के–के सोध्थी । मलाई गफ गर्ने मान्छे यसै मन पर्छ । झन्र के खोज्छस् काना आँखो । म पनि मेसो पाएर उसको बारेमा जिज्ञासा लागेजति सोध्न भ्याउथेँ ।
उसलाई देख्दा मेरो मन चन्चल हुन्थ्यो । मलाई देख्नासाथ ऊ मुस्कुराउँथी । स्वर्गकै द्वार खुलेजस्तै लाग्थ्यो । म पनि नमुस्कुराई रहन कहाँ सक्थेँ ।
मलाई अब आफ्नो खुट्टाको चिन्ता लाग्न छाड्यो । उसलाई कति बेला देख्न पाउने ! त्यो पो चिन्ता बढ्न थाल्यो । म घडी हेरेर बस्थेँ । समय ढिलो हिँडेजस्तै लाग्थ्यो ।
म जाँदा ऊ पनि मेरै पर्खाइमा बसिरहेजस्तै देखिन्थी । म आउनु, ऊ मुस्कुराउनु र विषयान्तर गफ गर्दै हामी भूल्नु रुटिनजस्तै भइसकेको थियो । मेरो आधी घण्टामा हुने कामलाई ऊ थप एक घण्टा लगाइदिन्थी । मलाई त्यही पनि अलिकति लाग्थ्यो । र उसको गरेको विलम्ब ग्रिन सिग्नल लाग्थ्यो ।
ड्रेसिङ गरिसक्दा पनि हामी केहीबेरसम्म कुरा गरिबस्थ्यौँ । अनि मात्रै म त्यहाँबाट निस्किन्थेँ ।
यसरी हामीबिच एकअर्काप्रतिको आकर्षण बढ्दै गयो । बजारमा पनि देखादेख हुनथाल्यो ।
एकदिन सँगसँगै आइसक्रिम किनेर खायौँ । नम्बर साटासाट गर्यौँ । अर्को दिन दश मिनेट दूरीको त्रिवेणी पुलमा घुम्न गयौँ । र दिन दुईगुणा रात चौगुणा हुँदै हामी बिचको सङ्कोच र दूरी मेटिँदै गयो । हामी प्रेमी–प्रेमिका बन्यौँ ।
घुम्न जानु, अङ्गालो हाल्नु,चम्बन गर्नु,रात बस्नु र सेक्स नगर्नु यी कुराहरू सामान्य हुँदै गए । एकदिन उसले मलाई आफ्नो घर लिएर गई । पेशा र जात ढाँट्न लगाई । भनी –“बुवाआमाले कुरा बुझ्नुहुन्न । हजुरआमाले झनै बुझ्नुहुन्न । घरमा थाहा भयो भने हाम्रो सम्बन्ध यहीँ तुहिन्छ । तर म जातपातमा विश्वास गर्दिनँ । म तपाईसँगै बिहे गर्छु ।”
मलाई जत्तिकै उसलाई पनि घुम्नुमा अत्यन्तै अभिरूची रहेछ । तसर्थ यो लगायत आसपासका जिल्लाहरूका प्रमुख पर्यटकीय गन्तव्यहरू,प्रमुख सडकबाटाहरू,प्रमुख सहर,बजारहरू, ऊ र म सँगसँगै नहिँडेका सायदै छन् होला । सल्यान,रुकुम र रोल्पाको सिमाना पहाडको चुचुरो होस् या सानी र ठूली भेरीको संगमस्थल चाइनाबगर । रन्मा–मैकोटका बुकी पाटन हुन् या तक र सेराका बेसीहरू । बडागाँउ,लुहाम र फालाबाङ्गका ऐतिहासिक राजदरबारका भग्नावशेष स्थल हुन् या अहिले पनि अस्तित्वमा रहेको जाजरकोटको सेतो दरबार । दाङ्गको बराह,सुर्खेतको बुलबुले,राराको तिलिचो,सल्यानको कुपिण्डे,रुकुमको स्यार्पु–साँख–कमल र जाजरकोटको शंख दह; सबै–सबैतिर हामीले अमिट यादहरू छोडेका छौँ । पुरनधारा झरनाको एउटा छहरा मैले उसको केशमा छ्यापिदिएको र उसले बारेकोटको रापालमा साटो फेरेको कुरा झनै स्मरणीय छ ।
ऊ र म बिच स्थापित भएको यो साइनो पत्याउन मलाई घरीघरी मुस्किल परिरहन्थ्यो । किनकि ऊ र म बिच ठूला–ठूला खाडलहरू थिए, निकै लामो दूरी थियो । तर उसले क्षणभरमै सबै मेटाएर मेरो अङ्गालोमा आएर सुस्ताएकी थिई । जो मेरो निम्ति बिल्कुल अनपेक्षित र जादुमयी थियो । घरिघरि लाग्थ्यो के म सपनामा छु ! आफैँलाई चिमोटी चेक गर्थेँ, हैन यथार्थमै छु ।
म उसलाई पाएर संसारकै खुसी मान्छेहरू मध्येको एउटा भएको छु । म यो सम्बन्धलाई टिकाई राख्न चाहन्छु । अबको मेरो लक्ष्य र उद्देश्य यो सम्बन्धमा दिगोपन ल्याउनु हो, भूकम्प प्रतिरोधात्मक बनाउनु हो । मैले आफ्नो ध्यान यसमै केन्द्रित गर्न थालेँ ।
मलाई लाग्छ— सम्बन्धमा आउने भूकम्पहरू भनेका गल्ती र कमजोरी हुन् । तर यी दुई नभएका सायदै कोही मान्छे छन् । र, सम्बन्धको घरलाई टिकाउने मजबुत पिल्लरहरू मध्येको एउटा हो– इमान्दारीता ।
मसँग यस्ता थुप्रै कमजोरीहरू छन् होला,जसले उसलाई मप्रति उदासिन बनाउँदै जालान् । मैले विगतमा यस्ता थुप्रै गल्तीहरू गरिसकेको छु होला, जो उसले थाहा पाई भने भूकम्प आउला । म यी कुराहरूबाट एकदमै सचेत थिएँ । र, मनमनै एउटा अभियान थालेको थिएँ । म इमानदार बन्छु– म सबै भन्छु ।
“तपाई सबैभन्दा नजिकको मेरो आफ्नो मान्छे । अझै खासमा भन्नुपर्दा, तपाईँ मपछिको मेरो मान्छे ।” एकदिन एउटा भेटमा मैले उसलाई भनेँ,–“डियर रियासा ! आफ्नो मान्छेले राम्रोभन्दा पनि नराम्रो कुरा के–के छ ? भनिदिनुपर्छ । सुध्रिने मौका मिल्छ । अब तपाईँ मज्जाले सोचविचार गरेर यो भनिदिनुस् कि, मसँग भएका तपाईँलाई मन नपर्ने कुराहरू के–के हुन् ?”
ऊ फिस्स हाँसी । भनी– “तपाईँलाई पनि त होलान् मेरा मन नपर्ने कुराहरू ? तपाईँ पहिले भन्नुस् ।”
उसले मनकै कुरा गरी । एकअर्काका कुरा भन्नुभन्दा पहिले हामीले एउटा छलफल गरियौँ । र निष्कर्ष निकाल्यौँ— शरीरमा र स्वभावमा । अब हामी एक–अर्काका कमजोरीहरूलाई दुई भागमा विभाजन गरेर भन्नेछौँ । शारीरिक बनावटमा आफूलाई लागेका कमजोरीहरू र स्वभावमा भएका कमजोरीहरू ।
वास्तवमा शारीरिक सुन्दरता क्षणभङ्गुर कुरा हो, यो त्यति महत्त्व विषय पनि होइन । यो बारमा गरिने टिप्पणी वैज्ञानिक र अर्थपूर्ण हुँदैन । पहिले यो कुरामा हामी दुवै सहमत भयौँ । तर तत्क्षण अर्को तर्क जन्मियो । जस्तो कि कोही अपरिचित मान्छे हामीलाई मनपर्छ । त्यसको कारण त्यसको स्वभाव,आनीबानी ठिक लागेर होइन । उसको शारीरिक सुन्दरता ठिक लागेर हो । सुरुमा मान्छेमा हेरिने भनेकै शारीरिक सुन्दरता हो । बाँकी कुराहरू त पछि हुन्छन् । जब हामीलाई हेर्नसाथ कोही मान्छे नै मन पर्दैन,ऊसँग त हामी बोल्दैनौँ पनि । तसर्थ यो पनि महत्त्वकै विषय हो । र यसमा पनि टिप्पणी गरी हेरौँ भन्ने हामी दुवैको निर्णय भयो ।
उसले दुई भागमा विभाजन गरेर ममा भएका कमजोरीहरू उल्लेख गरिदिई । मैले पनि उसमा आफूले देखेका सबल र कमजोर पक्षहरू भनिदिएँ । हामी दुवै हाँस्यौँ ।
सबै कुराहरू एकैपटकमा थाहा हुँदैनन् । याद पनि हुँदैनन् ।
अब हामी एक–अर्कामा थप झ्याम्मिँदै गएका थियौँ । देखिएका कमजोरीहरू निर्धक्ककासाथ भन्नसक्ने भएका थियौँ । मनन गर्नसक्ने भइसकेका थियौँ । सम्बन्धमा थप प्रगाढपन आएको थियो ।
…
मैले हिसाब गरेको छु । ऊ आफ्नो जीवनको २३ वर्ष २ महिना ३ दिन र म आफ्नो जीवनको २४ वर्ष १ महिना ६ दिनमा पुग्दा हामी एक–अर्कासँग भेटेका थियौँ । एकअर्कासँग भेट्टिनुको १ मिनेट पहिलेसम्म पनि हामीलाई थाहा थिएन, हामी एकअर्कासँग भेट्टिन्छौँ । र, एकअर्काको हुन्छौँ । यदि सायद थाहा हुन्थ्यो भने, म आजसम्म कोही परस्त्रीसँग कुनै पनि सम्बन्ध नगाँसी यहाँसम्म आइपुग्ने थिएँ हुँला । उसले थाहा पाउनसाथ हाम्रो सम्बन्धमा दरार आउने किसिमका मैले विगतमा गरेका कुनै पनि गल्तीहरू गर्ने थिइन हुँला । म उसको पर्खाइमा रहने थिएँ हुँला । र, उसले पनि त्यसै गर्ने थिई होला ।
एकदिन हामी खलङ्गाको चर्चित क्याफेमा कफी पिउँदै थियौँ । मैले उसलाई सोधेँ–“आजसम्म तपाईँको कतिजनासँग प्रेम भयो ?”
“तपाईँ मात्रै हो ।”ऊ हाँसी ।
म गम्भीर हुन खोजेँ ।
“भयो नि दुई,तिनजनासँग ।”उसले भनी । मलाई प्रतिप्रश्न गरिन । कफी पिउँन थाली ।
अनि मैले भनेँ–“म चाहन्छु, तपाईँ आफ्नो विगतको बारेमा मलाई किस्ता–किस्तामा भन्दै जनुहोस् । म पनि भन्दै जानेछु । हामीले एकअर्काको विगत अरुको मुखबाट थाहा पायौँ भने त्यो अप्रिय लाग्छ । एकअर्काकै मुखबाट थाहा पायौँ भनेँ, त्यो प्रिय नै लाग्छ । कमजोरी नभएको र गल्ती नगरेको कोही मान्छे हुँदैन । यसमा इमानदारीतालाई इन्ट्री गराइयो भने यी कुराहरू फिक्का हुन्छन् । म जतिसक्दो इमानदार भएर तपाईँलाई आफ्नो विगत बताउँदै जानेछु । तपाईँ पनि बताउँदै जानू । म अन्यथा लिनेछैन । तपाईँ पनि नलिनू ।”
उसले मेरो आशय बुझी । मेरो कुरामा सहमत भई ।
मैले आफ्ना प्रेम सम्बनधहरू बेला–मौकामा उसलाई सुनाई बस्न थालेँ । उसले पनि मलाई सुनाउन थाली । हामी जतिसक्दो इमानदार बन्न खोज्थ्यौँ । इमानदारीताले साँच्चिकै विश्वास बढाउँदो रहेछ । विश्वास त सम्बन्धको मुख्य खाँबो नै हो ।
साँझको ६ बज्न लागेको थियो । हामी सहिद स्मृति पार्कमा थियौँ । सहिदस्मृति पार्क समुन्द्रि सतहदेखि पैँतीस सय उचाइकाे डाँडोमा छ । माओवादी द्वन्दकालमा यहाँ सयौँको सङ्ख्यामा सहिदहरूले ज्यान गुमाएका थिए । सिस्ने हिमाल सम्मुखमा छ, साँझ निकै चिसो सिरेटो चल्छ । मान्छेहरूको आवागमन त्यति हुँदैन । साँझमा झन् हुँदैन । अहिले त ऊ र म मात्रै छौँ ।
जाडो लाग्यो भन्दै ऊ मेरो अङ्गालोमा आएर कस्सिई । घाम डुबेर दक्षिण आकाशको बादलमा लाली लागिरहेको थियो । तल–तल खोल्साहरूबाट अँध्यारो छाउँदै थियो । मैले पनि उसको टाउकोमा चिउँडो अड्याएँ । उसलाई अंगालोमा कसेँ ।
एक्कासी मलाई ऊसँग एउटा कुरा सोध्न मन लाग्यो । भनेँ – “आजसम्म तपाईँलाई कतिजना केटाहरूले अङ्गालो हालेका छन् ?”
टाउको उठाई । एकछिन सोचविचार गरी । र भनी – “तपाईँ बाहेक एक जनाले ।”
मलाई चाख बढेर आयो । मैले उसलाई विस्तृत रुपमा भन्न लगाएँ । तर त्यो भन्दा पहिले मैले आफ्नो भूतपूर्व प्रेमिकालाई अङ्गालाे हालेको प्रसङ्ग संक्षिप्त रुपमा सुनाएँ । र उसले आफ्नो सुरु गरी–
“तिनताका म चितवन हस्पिटलमा काम गर्थेँ । धेरैपछि मात्रै थाहा भएको थियो– सँगै काम गर्ने एकजना स्टाफले मलाई मन पराउँदो रहेछ । म नर्स भए पनि ऊ एमबिबिएस डाक्डर थियो । मभन्दा पाँच वर्ष जेठो थियो । त्यहीकै स्थानीय, तर इन्डियन मूलको । उसले मलाई मन पराउने कुरा मबाहेक सबैलाई थाहा रहेछ । बेला–मौकामा साथीहरूले नजिस्काएका पनि हैनन् । तर मैले गम्भीर रुपमा लिइनँ । एकदिन उसले एउटा सानो कागजको टुक्रा दियो । त्यसमा, म तिमीलाई मन पराउँछु, आइ लभ यु लेखेको थियो । मैले उसलाई त्यो रुपबाट कहिल्यै पनि हेरेकी थिइनँ । उसले मलाई त्यो रुपबाट मन पराउने कुरा मलाई यकिन भएदेखि मलाई ऊ कुनै पनि रुपबाट मन पर्न छोड्यो । म जतिसक्दो उसका तिखा नजरहरूबाट छेल्लिन थालेँ ।
ऊ मसँग नसुहाउने जति नराम्रो मान्छे त होइन । तर उसलाई मैले मन नपराउनुका कारणहरू धेरै छन् । एक, मलाई डाक्टर मन पर्दैन । दुई,मलाई आफूभन्दा बढी जान्ने मन पर्दैन । तिन, ऊ इन्डियन मूलको मान्छे थियो । चार, ऊ तराईको थियो ।
म चितवन पढ्न जाने बेलामा नै मेरा बाबाआमाले एउटै कुरा सम्झाउनु भएको थियो— मधेसतिरको केटासँग बिहे गर्ने बारेमा भूलेर पनि नसोच्नू ।
उहाँहरूको सधैँ यही पिर थियो । उहाँहरूको स्कुलिङको कमाल होला, मेरो सोच पनि त्यस्तै भइसकेको थियो ।
उसको नाम,हेमन्त रावत । ऊ मलाई हेरिरहन खोज्थ्यो,म छेल्लिन्थेँ । ऊ मसँग एकान्तमा भेट्न,बोल्न खोज्थ्यो; म तर्किन्थेँ । दिनहरू यसरी चल्दै थिए ।
एकदिन साथीहरूले साँझको डियुटीपछि देवघाट घुम्न जाने प्लान बनाए । कामै–कामले ह्याङ्ग भएको दिमागलाई फ्रेस बनाउन मलाई पनि घुम्न असाध्यै मन पर्थ्यो । हामी साँझमा दुईघण्टाको लागि घुम्न जाने भएका थियौँ । त्यो भन्दा ढिलो गरे त, होस्टेल बन्द भइहाल्थ्यो ।
हामी केटी साथीहरू चार जना थियौँ । एकजना दिदीको स्कुटर थियो,त्यसमा दुईजना जाने भए । एकजनालाई ल्याबकै स्टाफले आफ्नो बाइकमा राखे । र, सबैले मतिर हेरे । दिप्तीले भनी, “हेमन्त पनि फ्रि नै छन्, लाने भए म पनि जान्छु भन्दै थिए ।”
प्रकृतिले फोन डायल गरी । ऊ दुई मिनेटमै आयो । म उसको बाइकमा नबसी करै भएन । मलाई बल्ल थाहा भयो, यो यिनीहरूको प्लान रहेछ । साँझको साढे छ भइसकेको थियो, हामी त्यहाँबाट हिड्यौँ ।
उसले के–के सोध्थ्यो, म नसुनेजस्तै गर्थेँ । बेलाबेला इमरजेन्सी ब्रेक लगाउँथ्यो । ऊ मसँग गफ्फिन चाहन्थ्यो । मैले रुचि देखाइनँ । र, उसले एस्किलेटर बढायो । साथीहरू पछाडि छुटे । ऊ र म देवघाट पुल क्रस गरेर मात्रै रोकियौँ । सात बजिसकेको थियो । वारिपारि बत्तिहरू बलिरहेका थिए । म हिँड्दै–हिँड्दै पुलको वरसम्म आएँ । साथीहरू आउने बाटो र तल नारायणीमा बगिरहेको पानीलाई हेर्नथालेँ ।
ऊ मेरै छेउमा आएर अड्डियो । थप करिब आयो । र भन्यो–“म तिमीलाई मन पराउँछु ।”
“साथीलाई मन पराउनु ठूलो कुरा होइन ।” मन आत्तिए पनि जबर्जस्ती हाँस्दै उसको कुरालाई मैले सामान्यीकरण गर्न खोजेँ ।
तर ऊ अनपेक्षित रुपमा प्रस्तुत भयो । “साथीलाई अङ्गालो हाल्नु पनि के ठूलो कुरा हो र” भन्दै मलाई च्याप्प समातेर आफ्नो छातीमा टाँसेर दुई हातले कस्यो । म आत्तिएँ । म फुत्किन खोजेँ । उसले झन् बल गर्यो ।
र, प्रकृतिले छेउमै आएर स्कुटीको हर्न बजाउँदा मात्रै उसले छोडेको थियो ।”
रियासाले मलाई यति सुनाइसक्दा ऊ साँच्चिकै आत्तिएकी थिई । ऊ उनै दिनहरूमा पुगेकी थिई । मैले उसको अनुहारमा डर देखेँ । मैले उसलाई अङ्गालोमा लिएँ । उसको मुटु जोडले धड्किरहेको थियो । मैले उसको कपाल सुम्सुम्याएँ । उसले निकैबेरसम्म मेरो छातीमा आफ्नो टाउको लुकाइरही ।
–––
उसको माया मलाई झन् बढी लाग्न थालेको थियो । हामी जतिसक्दो धेरै एक–अर्कासँग समय बिताउन चाहन्थ्यौँ । समय मिल्नसाथ भेट्थ्यौँ । रातहरूमा भेट्ने क्रम पनि बाक्लिँदै गएको थियो ।
त्यसबखत, उसको बिएड थर्ड सेमिस्टारको इक्जाम थियो खलंगामा । म उसलाई बिहानै पुर्याएर गएँ । ऊ हलबाट दशबजे निस्कई । अनि हामी घुम्न निस्कियौँ ।
त्यसदिन धेरै टाढा घुम्न जाने प्लान थिएन । तर हामी भेरी नदीको किनारै–किनार भेरीको पानीलाई पछ्याउँदै रुकुम,जाजरकोट,सुर्खेत हुँदै बालुवासंग्रही पुग्यौँ । त्यहाँ पुग्दा झमक्क साँझ भयो ।
थाकेर हत्तु भइसकेका थियौँ । आज त्यही बसेर बिहानै फर्किने योजना बनाएर हामी लज खोज्न थाल्यौँ । केही पर राम्रो व्यवस्थापनका साथ एउटा लज सञ्चालनमा आएको स्थानीयले बताइदिए । भेरी किनारको खुल्ला ठाउँमा एउटा आलिसान घर रहेछ । त्यसको टुप्पोमा मोटा–मोटा अक्षरमा लेखिएको कुरा उसले उच्चारण गरी— रेड पिस प्यालेस् । मैले त्यसलाई नेपालीमा उल्था गर्दै भनेँ— रातो शान्ती दरबार ।
१४०३ नम्बर कोठामा सामान थन्क्यार हामी छतमा गयौँ । चारैतिर उभिएका अजङ्गका काला पहाडहरू, छेउबाटै बगिरहेको भयावह वेगवान भेरी नदी, टाढा–टाढा पहाडका भित्ताहरूमा माटोले बनेका घरहरूमा बलिरहेका मधुर बत्तिहरू, जाजरकोट–नेपालगञ्ज हाइवेमा चलिरहेका छिट्टफुट्ट गाडीहरू र मेरो छेउमै उभिएकी मेरी कुनै बेलाकी चिकित्सक तर आजकी मेरी मायालु— रयासा क्षेत्री । यी सबैसबै कुराहरू मलाई अजिब र अलौकिक लागिरहेका थिए ।
उसले छेउमा आएर भनी– “हामी फ्रेस हुनु पर्दैन ?”
हामी कोठामा गएर फ्रेस भएपछि केही रमाइलो गर्ने प्लान बन्यो । साथीहरूको करकापले विशेष अवसरमा वियरसम्म चाखेको मेरोजस्तै उसको पनि इतिहास रहेछ । दुवै जनाले वियर खाने कुरा भयो । दुईवटा मगायौँ ।
एक–एक ओटा पनि पुरै भ्याउँन सकेनौँ । अलिअलि बच्यो । ऊ झ्याप भइसकेकी थिई । म पनि त्यस्तै । तर आफूलाई जबर्जस्ती कन्ट्रोल गरिरहेको थिएँ । नर्मल देखिन खोजिरहेको थिएँ ।
ऊ उठेर मेरो शरीरमा परी । आफ्नो ओठ ल्याएर मेरो मुखमा जोतिदिई । अनि सुरु भयो— चुम्बनको वर्षा ।
हामी एकअर्कामा भिज्दै गयौँ । एकअर्कामा डुबुल्की मार्ने चाहाना उत्कट हुँदै गयो । रक्सी र चुम्बनको उन्मादले भुइँबाट एकैपटक खाटमा लिएर गयो ।
यसअघि पनि यहाँसम्म नभएको होइन । तर यहाँ भन्दा अगाडि भएको छैन । तर आजको लक्षण बसमा देखिँदैन । विशेष गरेर उसको । मेरो त कहिले पो थियो र !
म भन्थेँ–“इच्छासम्म त भयो भने सेक्स नर्मल हो । संसारका सबै कुराहरू क्षण भङ्गुर र नासवान छन् । साँचेर राख्नु अर्थपूर्ण हुँदैन ।”
ऊ भन्थी–“एक भन्दा दुई र बिहे अघि गर्नू अराजक हुन्छ । म यसमा अडिग छु ।”
तसर्थ, मैले आफ्नो इमोसनलाई धेरैपटक कन्ट्रोल गरेको थिएँ । उसले मेरो टाउको काखमा लिएर गाला थुम्थुम्याउँदै
धेरैपटक मजाक उडाएकी थिई । मेरा राता र ताता भएका गाला, चिसा बनाउन बोतलको पानी खन्याइदिँदै खित्का छोडेर धेरैपटक हाँसेकी थिई । म उसलाई प्रश्न गर्थेँ–“तपाईँलाई मलाईजस्तो मन लाग्दैन ?”
“अहँ ।”
“त्यसो’ भा तपाईँ अस्वस्थ हुनुहुन्छ ?”
“जे सोच्नुस् ।”
“कि तपाईँ केटी नै हैन ?”
“जे सोच्नुस् ।”
ऊ यसो भन्थी । म बाँकी केही सोध्धिन’थेँ ।
तर आजको माहोल पृथक् छ । उसको अडिग पर्खाललाई भत्काउँछ ?
अघिदेखि चुम्बनको वर्षा अविरल छ । उसले ममाथि आफूलाई खन्याउँदै गई । ऊ पोख्खिन चाहन्थी आज पुरापुर । म पनि रित्तिन चाहान्थेँ, पुरापुर । ऊ मेरो माथि थिई । र, मैले अवस्था परिवर्तन गरेँ ।
वस्त्रहरूले साथ छोड्दै गए । आज उनीहरूमध्ये कसैले पनि जिउँमा टाँस्सिरहन मानेनन् । यतिबेला हामीलाई उनीहरूको खासै वास्ता पनि छैन ।
क्रमशः घटनाक्रम अगाडि बढ्यो । तर दुर्भाग्य, धेरै प्रयासपछि पनि हामीलाई सोचेजस्तो सफलता मिल्ने देखिएन । ऊ हौसिन्थी, फेरि दुख्थी । म पुनः जाँगर चलाउथेँ, ऊ प्रताडित हुन्थी । अब मैले आफूलाई उसमा छोडिदिएँ । उसको प्रयासले पनि पूर्णता पाएन । हविगत बिसको उन्निस भएन । ऊ थाकेर ओछ्यानमा फ्यात्त भई । लामो सास फेरि । भनी–“भो ! मबाट यो काम नहुने रहेछ । कस्तो गाह्रो बाई ! आखिर मान्छेहरू कसरी गर्छन् ?”
उसको कुरा र भावभङ्गी देखेर मलाई औधी हाँसो उठ्यो । मैले खित्का थाम्न सकिनँ । मलाई मुड्कीले हान्दै ऊ कपडा टिपेर बाथरुम छिरी ।
हामीलाई रक्सीले छाडिसकेको थियो । ऊ बलाङ्केट ओढेर पल्लो खाटमा बसिरहेकी थिई, म ओल्लोमा । सेक्स शीर्षकमा हामीले बहस थाल्यौँ । ऊ स्वास्थ्यकी विद्यार्थी हो । म जिज्ञासा राख्थेँ, ऊ व्याख्या गर्थी । र हुँदा–हुँदा अब हाम्रो कुरा कन्याजालीसम्म पुग्यो ।
तत्क्षण मेरो मनमा एउटा जिज्ञासा आयो । यद्यपि यो जिज्ञासा पहिला पनि बारबार आएको हो । सोध्ने आँट भने आएको होइन । म सान्दर्भिक समयको पखाईमै थिएँ । त्यो समय अहिले लाग्यो । र,सोधेँ–“तपाईँले आजसम्म कतिजनासँग सेक्स गर्नुभएको छ ?”
“छैन ।”उसले मतिर पुलुक्क हेरी ।
मैले अचम्म मानेजस्तो गरेर भूमिका बाँध्दै भनेँ–“२३ वर्षको मान्छे । पढाइ र जागिरको सिलसिलामा घरदेखि बाहिर बसेको । २÷३ ओटा प्रेम सम्बन्धमा बसिसकेको । म कसरी पत्याउँ ?”
“यथार्थ यही हो । तपाईँले पत्याउनै पर्छ ।” ऊ अडिग देखिई ।
“त्यसो’भा तपाईँ अपवाद हो !”मैले कुराको बिट मार्न खोजेँ ।
“हो ।”उसले अलि झर्किएर भनी–“विस्वास नलागे अघिको घटनालाई आधार मान्दा हुन्छ त !”
मेरो बोल्ती बन्द भयो । म एकछिन चुप बसेँ । तर म अलि बढी नैँ जिज्ञासु स्वभावको छु । फेरि एउटा प्रश्न तयार गरेँ–“तर आजसम्म तपाईँसँग सेक्स गर्ने कोसिस त कसैले गर्यो होला नि ?”
ऊ सामान्य हुँदै बोली–“कस्तो कोसिस ! तर गरे । त्यही भएर त मेरा प्रेम सम्बन्धहरू छुटेका हुन् । म सिधै इन्कार गरिदिन्थेँ । र बोल्न नै छोडिदिन्थेँ । तर मलाई किन–हो–किन तपाईँका सबैकुरा मन पर्छन् । तपाईँ औधी मन पर्छ ।”
“मैले, त्यस्तो प्रस्तावको मात्रै कुरा गरेको होइन ।”मैले प्रश्नलाई थप स्पष्ट बनाउँन खोजेँ–“कपडै उतारेर सेक्स ट्राई नैँ कसैले गरेको छ कि सोधेको ।”
तर यसपल्ट ऊ गम्भीर देखिई । नजर भुइँतिर लिई । एकछिन गम खाई । मतिर हेरी । र, भनी– “छ । एकजनाले ।”
“कसले ?” म हाँसेँ ।
“तर मैले आजसम्म यो कुरा कसैलाई भनेकी थिइन । कसैलाई नभन्ने सोचमै थिएँ । तपाईँ भन्न लायक मान्छे ठानेर नै भन्ने विचार गरेकी छु ।”ऊ असाध्यै गम्भीर देखिई । किन–किन उसको बोली मलाई रहस्मय लाग्दै थियो ।
म उठेर उसको छेउमा गएँ–“रियासा ! म त्यस्तो नबुझ्ने मान्छे हैन । म तपाईँको प्रेमी मात्रै नभएर साथी पनि हुँ । सजिलो र अप्ठ्यारो दुवैमा साथ दिन्छु । फेरि पास्ट इज पास्ट । यतिमात्रै हैन, वर्तमान र भविष्यमा तपाईँबाट हुने गल्तीहरू पनि तपाईँले प्रयाश्चित गर्नूभयो भने म माफ गरिदिनेछु । प्रयाश्चित र इमान्दारीता भन्दा ठूलो के कुरा छ र सम्बन्धमा ? मलाई शंका नगर्नूस् न !”
“मैले शंका गरेकी छैन । म तपाईँलाई सबैकुरा भन्छु ।” उसले भनी–“ पहिले पानी दिनुस् न, पिउँछु ।”
मैले पानी दिएँ । उसले पानी पिएर लामो सास फेरि । मेरो आँखामा हेरी । हात समाई । र, भन्नथाली—
त्यतिबेला म चितवनबाट घर आएकी थिएँ । यो कुरा धेरै पहिलेको हैन । डेढ वर्ष पहिलेको हो । बाबाआमा गाउँबाट आएर खलंगा बस्न थाल्नुभएको थियो । सानो व्यापार सुरु गर्नुभएको थियो । भाइ र बहिनी काठमाडौँ पढ्थे,उतै थिए । मेरो एक महिनाको छुट्टी थियो, म बाबाआमासँग खलंगामा थिएँ ।
पहिलेदेखिको नैँ मेरो चिनजानको एकजना मान्छे,उसलाई म दाइ भन्थेँ । म एक्काइस वर्षको हुँदा, ऊ एकतिस बर्षको भन्दा बढीकै हुँदो हो ।
खासमा ऊ दाइहरूको साथी । साथी नैँ भन्दा पनि साथी जस्तै–जस्तै । उसको आफ्नै सानो गाडी थियो, महिन्द्रा स्कारपियो, रिजर्भमा जान्थ्यो । मेरो ठूलो ममीको दुईवटा छोरा, मेरो दादाहरूले महिन्द्राको ब्रान्च तथा सर्भीस सेन्टर खलंगामा सञ्चालनमा ल्याउनुभएको थियो । त्यो मान्छे त्यही आइरहने हुँदा मेरो दादाहरूको साथीजस्तो बन्न पुगेको थियो ।
म उसलाई त्यतिबेलाबाटै चिन्थेँ । आजभन्दा झण्डै ५÷६ वर्ष पहिलेदेखि चिन्थेँ ।
मैले एसएलसी खलंगाबाटै पास गरेकी हुँ । म भाउजूहरूसँग बस्थेँ । दादाहरूसँग लागेर कहिलेकाँही त्यो मान्छे किचेनसम्मै आइपुग्थ्यो । खाना खाएर जान भ्याउँथ्यो ।
मान्छे असल नै थियो । मलाई बहिनी भन्थ्यो । म उसलाई दादा मान्थेँ । ऊ मलाई जतिपल्ट देखे पनि बोलाउँथ्यो । गाउँबाट केही खानेकुरा ल्यायो भने हामीलाई दिन छुटाउँदैन थियो ।
म एसएलसी सकाएर नर्सिङ पढ्न चितवन जाने भएँ । बाबाले अघिल्लो दिननैँ काठमाडौँ जाने बसको टिकट ल्याइदिनुभयो । जाने दिन म बिहानैदेखि तयार भएँ, आफ्नो सबै सामान सत्याएँ । सामान त धेरै भयो । वर्षपार्कसम्म उसले छोडिदिने कुरा भयो । हाम्रोबाट बसपार्क एक किलोमिटर टाढा थियो । बस बाह्रबजे छुट्थ्यो ।
एघार बजेको कुरा । ऊ हत्तारिँदै म भए ठाउँ आएर भन्यो–“म एयरपोर्टसम्म जानुपर्ने भयो । आधी घण्टामै आइहाल्छु । तिमी मेरो नम्बर टिपेर मलाई मिसकल देऊ । ढिलो भयो भने फोन गर्नू ।”
मैले उसलाई मेरो मोबाइलबाट मिसकल गरेँ । ऊ गयो ।
त्यसरी त्यसदिन उसले मलाई बसपार्कसम्म छोडिदिएको थियो । पानीको बोत्तल र मास्क किनेर झ्यालबाट पुर्याइदिएको थियो । यात्रा कस्तो हुँदैछ भनेर बिचबिचमा कल गरेको थियो । मैले सहर्ष जवाफ दिएकी थिएँ ।
त्यसदिन देखि उसले दिनहुँजस्तो फोन गर्न थाल्यो । सामान्य कुरा गथ्र्यो । तर मैले अस्वाभाविक रुपमा लिइनँ । ऊ मेरो अभिभावक सरह थियो ।
तर अनपेक्षित ढङ्गबाट उसको फोन गर्ने क्रम बाक्लियो । मलाई झर्को लाग्नथाल्यो । म मन नलागी–नलागी भए पनि बोलिदिन्थेँ । सिधैँ इन्कार गर्न सक्दिनँ थिएँ । ऊ दाइको साथी थियो । परिवारमा घुलमिल भएको मान्छे थियो ।
तर हुँदा–हुँदा ऊ त म तिमीलाई मन पराउँछु, आइ लभ यु भन्ने ठाउँसम्म आइपुग्यो । त्यसपछि त मलाई असह्य भयो । उसकै कारण मैले त्यो सिम फालेर नयाँ सिम हाल्नुपर्यो ।
६,६ महिनामा म छुट्टीमा घर आउँथेँ । ऊ मेरै परिवारका सदस्यहरूको पेरिफेरिमा भेटिन्थ्यो । अनेक बहानामा हाम्रो घरमा पनि आइरहन्थ्यो । मलाई उसको हेराइ असह्य लाग्थ्यो । म जसिक्दो तर्किन्थेँ ।
तर म सबैको अगाडि केही नभएजस्तो सामान्य देखिन खोज्थेँ । मान्छेहरूको अगाडि ऊसँग बोलिदिन्थेँ । उसले बहिनी नै भन्न थालेको थियो । म पनि दादा भन्थेँ । यत्तिको इग्नोर गर्दा उसले मेरो मनसाय बुझेर मलाई त्यो दृष्टिले हेर्न बन्द गर्दै गएको हुनुपर्छ, सोच्नथालेँ । मैले नचाहिसकेपछि उसले केही गर्न नसक्ने,मेरो निर्णय नैँ निर्णायक हुने कुरामा म ढुक्क थिएँ ।
केटा मान्छेहरू यस्तै हुन्छन् । उनीहरूका यस्ता अप्राकृतिक प्रस्तावहरूलाई अस्वाभाविक रुपमै लिइहाल्नुहुन्न भन्ने बुझेकी थिएँ । तसर्थ भेट्टिदा र काम विशेषले बोलाउँदा सहजै बोलिदिन थालेँ । हाम्रो सम्बन्ध म चितवन पढ्न जानुभन्दा पहिलेकोजस्तो भयो । तर तत्पश्चात् भेटिँदा बाहेक फोनमा भने कहिल्यै बोलिनँ ।
मेरो पढाइ सकियो । मैले चितवनमै जब गर्न थालेँ । र आजभन्दा डेढवर्ष पहिलेको कुरा । म एक महिनाको छुट्टी लिएर घर आएकी थिएँ ।
तीनओटा रुम र किचेन भएको एउटा घरको फ्लाइट भाडामा लिएर खलंगामा बस्दै आउनुभएको थियो, बाबा र आमा । भाइ र बहिनी काठमाडौँमै थिए । काम विशेषले बाबा एक ठाउँमा बस्नु हुन्नथ्यो, हिँडिरहनु हुन्थ्यो । आमालाई पसलमा फुर्सद मिल्दैन थियो । घरको सरसफाई र किचन सम्हाल्दै, कहिलेकाहीँ पसलमा आमालाई सघाउँदै, पुराना ठाउँ र पुराना साथीहरूलाई भेट्दै मैले आफ्नो एक महिनाको छुट्टी सकाएँ । र,चितवन फर्किनलाई प्याकिङ् गर्न सुरु गरेँ ।
म जानेबेला बाबा घरमा हुनुहुन्नथ्यो । नेपालगञ्ज जानुभएको थियो । आमा र म मात्रै थियौँ । बस बाह्रबजे छुट्दै थियो । आमा र म एघारबजेसम्म पसलमै थियौँ । पसल भएको ठाउँदेखि बस्ने घर दुई किलोमिटर टाढा थियो । मेरो सामानहरू घरमै थियो । बस पसल अगाडिबाटै छुट्थ्यो ।
कहाँबाट हो, ऊ त्यतिबेला नै टुपुल्कियो । म चितवन जान लागेको र घरमा सामान ल्याउन जाँदै गरेको कुरा थाहा पायो । र आमालाई भन्यो–“आन्टी ! बहिनीको सामान यहाँसम्म म मेरो गाडीमा ल्याइदिहाल्छु नि ।”
उसले गाडी त्यहीँ अगाडी पार्किङ्ग गरेको थियो । उसको कुरा हामीलाई सहज लाग्यो । ऊ र सामान लिन हिडियौँ । समय बिहानको साढे एघार भइसकेको थियो ।
दुई किलोमिटरको चार मिनेटको यात्रामा गाडीमा उसले त्यस्तो अस्वाभाविक कुरा गरेन । तर उसका आँखाहरूले बाटोमा भन्दा बढी ध्यान मलाई दिदै थिएँ । मलाई यी कुराहरूमा खासै ध्यान थिएन । ढिलो भएर बस छुट्छ कि भन्ने भयले मेरो मन आत्तिँदै थियो ।
मेन सडकदेखि अलिकति भित्रको गल्लीमा थियो हामी बस्ने घर । उसले गाडी पार्किङ्ग गर्न थाल्यो । म सिडी उक्लिन थालेँ । हामी माथिल्लो तलामा बस्थ्यौँ । घर तिन तलाको थियो ।
म मेरो रुमको ताला खोल्दै थिएँ, ऊ छेउमै आएर उभिसकेको थियो । ताला खुल्नमा कठिनाइ भएपछि उसले मद्दत पनि गरेको थियो ।तयार पारेका मेरा ब्यागहरू उसलाई गाडीसम्म लिन लगाउँदै गरेर म अर्को कोठामा गई कपडा चेन्ज गर्ने सोचिरहेकी थिएँ । तर ऊ कोठामा प्रवेश गर्नसाथ ठोकाको चुकुल लगायो । पर्दाहरू बन्द गर्यो । म मेकअपको सामान र कपडा निकाल्दै थिएँ । तर ऊ आएर आइ लभ यु भन्दै मलाई च्याप्प समात्यो ।
म तर्सिएँ । मेरो मुटुको गति बढ्यो । मैले ऊबाट फुत्किने प्रयास गरेँ । उसले मेरा दुवै हात समाएर मलाई खाटमा लडायो । म निकै आत्तिएँ । बल गरेर फुत्किने प्रयास गरेँ, तर बिस–को–उन्निस भएन । उल्टो मेरा दुवै हात उसले आफ्नो एउटा हातले समात्यो र अर्को हात मेरो छातिमा लियो । मेरा दुवै खुट्टाहरू आफ्ना दुवै खुट्टाहरूले अठ्याएको थियो । मैले मौका मिलाएर उसको हातमा बेस्सरी टोकिदिएँ । र उसलाई हुत्याएर पर फालेँ । म दौडिएर चुकुल खोल्न जाँदै थिएँ । ऊ घाइते बाघझैँ फेरि झम्टिन आइपुग्यो । “तुरुन्त गइहाल हैन भने म चिच्याउँछु र सबैलाई भनिदिन्छु” भन्दा उसले केही कुरै सुनेन ।
फेरि उसै गरी जाइलाग्यो । म ऊबाट फुत्किएर भाग्न असम्भव थियो । शारीरिक हिसाबले ऊ मभन्दा बलिष्ठ थियो । मलाई चिच्याउन आँट आएन । आँट भन्दा पहिले मनमा धेरै कुरा आए— मान्छेहरूको भिड आउला,मेरो चितवनको यात्रा रद्द होला,यो घटनाले कुन रुप लेला, मेरो इज्जतमा दाग लाग्ला । मलाई उसको भन्दा ज्यादा डर यी कुराहरूको लागेर आयो । मलाई मेरो संसार सकिँदै आइरहेजस्तो लाग्न थाल्यो । तर सासको छाया हो आस । ऊ एकमुठी रहेसम्म पनि यो एकमुठी रहन्छ । आस मरेको थिएन । मैले सकेजति बल लगाएर उसको प्रतिकार गर्न थालेँ ।
उसले मेरो मुखमा रुमाल कोचिदिने प्रयास गर्दै थियो, म चिच्याउँदिन भन्ने थाहा पाएपछि त्यो गरेन । ऊ मेरो ओठ र छातीतिर आफ्नो मुख ल्याउने कोसिस गथ्र्यो,म टोक्न खोज्थेँ,ऊपछि हट्थ्यो । मेरा लामा–लामा नङहरूले मलाई धेरै साथ दिए, मैले उसलाई पाएसम्म चिथोरेँ । मैले उसलाई न्वारनदेखिको बल लगाएर प्रतिकार गरिरहेकै थिएँ । ऊ घाइते बाघझै हिंस्रक बनेर झन बल गथ्र्यो । म अत्यन्तै आत्तिसकेकी थिएँ । इन्द्रियहरूले काम गर्न छोडदै थिए । उसले मैले लगाएको कुर्ता च्यातिदियो । मलाई अत्यन्तै असह्य भयो । देब्रे हात फुस्काएर उसको अनुहारमा लिएँ । र बेस्मारी कोतारिदिएँ । लुछाचुडी निरन्तर थियो ।
त्यत्तिकैमा ढोकामा कसैले हान्यो ।
“नानी ! बिहान तिमीले ल्याएको कुचो लिन आएको ।”, बाहिर तल्लो फ्लाइटको आन्टीले भन्दै हुनुहुन्थ्यो– “म छतमा गएर कपडा सुकाउदै गर्छु, बाहिर निकालिदेऊ है !”
“ऊ हत्तारिँदै उठेर सम्हालियो । चुकुल खोलेर भाग्यो । मैले आन्टीको कुचो बाहिर फालेर चुकुल लगाएँ । मलाई भनन् रिङ्गाटा लाग्यो । संसारै घुमेजस्तो लाग्यो । म ओछ्यानमा लडेँ । र धक फुकाएर रोएँ ।”
उसले मलाई यति सुनाइसक्दा ऊ रोइरहेकी थिई । उसको गालाको बाटो हुँदै बलिन्द्रधारा आँसुहरू भुइँतिर झरिरहेका थिएँ । आफूले यो कुरा कसैलाई सुनाउन नसकेको,त्यो दिन जबर्जस्ति सम्हालिँदै आफू चितवन गएको र यो कुराले २,३ महिना पछिसम्म पनि आफ्नो तन्द्रा र निद्रा लुटेको कुरा सम्झेर झनै रोई ।
म उसको कुराले निसास्सिएँ । यो पृतिसत्तात्मक समाज महिलाहरूको निम्ति कति प्रतिकूल छ ! कति निरीह प्राणी भएर बाँच्न बाध्य छन् उनिहरू यहाँ ! पुरुष बराबरकै मानव भएर बाँच्न पाउने कुन युगमा हो ? पुरुषमै निर्भर भएर बाँच्न बाध्य बनाउने यो निति फेरिने कहिले ? उनीहरू निर्णायक ठाउँमा पुग्ने कहिले ? बाउको सम्पत्तिको हकदार हुने कहिले ? आत्मसम्मानको जिन्दगी बाँच्न पाउने कहिले ? अन्याय विरुद्ध बोल्न सक्ने हुने कहिले ? म झनै निसास्सिएँ । उसका आँसुहरूले पृत्तिसत्तात्मक राज्यव्यवस्थाको विकल्प खोजिरहेका छन् । न्याय खोजिरेहका छन् ।
ऊ मेरो छातीमा टाँस्सिएकी थिई । मैले उसको कपाल सुम्सुम्याँउदै सोधे–“रियासा ! त्यो मान्छे को हो ?”
उसले टाउको उठाई । यो कुरा सकिसकेको र यो बारेमा थप कुरा नगर्ने बताई । मैले त्यो मान्छेको नाम,ठेगाना र अहिले कहाँ बस्छ बताउन आग्रह गरेँ । उसले यतैकतै बस्छ भन्न बाहेक, थप अरु बताउन मानिनँ । मैले जिद्दी गरेँ । उसले झन जिद्दी गरी । यो टपिक क्लोज नगरेसम्म आफु रिसाएर बस्ने र नबोल्ने उद्घोष गरी । पर कुर्सीमा गएर मुख छोपेर बसी । मैले उसलाई फकाएँ । आफू उसको इच्छा विरुद्ध नजाने र यो बारेमा कुरा नगर्ने बचन दिएपछि ऊ बोली । आफ्नो प्रतीज्ञा तोडी । मेरो अंगालोमा आएर टाँस्सिई ।
अब, मलाई उसको झन धेरै माया लाग्न थाल्यो । उसको त्यो चञ्चल र अबोध अनुहार, उसको त्यो निस्वार्थ हाँसो र उसको त्यो निस्वार्थ समर्पण । जनम–जनम यी सब मेरै अङ्गालोमा सुरक्षित हुनुपर्छ ।
रातभर ऊ मेरो अङ्गालो मस्त निदाई । तर उसको त्यो रहस्योद्धाटनले म त्यो रात मात्रै नभएर आजसम्म पनि निदाउन सकेको छैन ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।