
‘तपाईं मसँग बिहे गर्नुहुन्छ ?’ यस्तो सोध्दा, पवित्राले मलाई पहिले त ‘तिमी’ भन्थी, यस पटक ‘तपाईं’ भनी, सम्बोधनमा । पहिले मलाई ‘तिमी’ भनेरै जिस्किएकी पनि हो । तपाईं भने पनि केही छैन । तपाईं भन्नु अलि क्लासिक सम्बोधन हुन्थ्यो र तिमी भनेर सम्बोधन गरे त्यसले उसको साहसीपन झल्किने थियो । म अलि अकमकिएँ, नअकमकिनु पनि थिएन । ‘परम्परा वा चलन अनुसार मैले नै उसलाई सोध्नुपर्ने थियो, ‘मसँग बिहे गर्ने ?’
यस पटक म चूप थिएँ, अन्योलमा पनि— ‘हँ’ या ‘न’ केमा जबाफ दिने भनेर । पवित्रासँग बिहे गर्न मेरो मन नभएको त होइन ।
तर अचम्म यो भयो, उसले ठाडै मलाई कुनै तयारी गर्न नदिएरै सोधी, ‘मसँग बिहे गर्ने ?’ प्रश्न यस्तो थियो थियो, ‘मसँग बिहे गर ।’ प्रश्नमै उत्तर पनि निहित थियो । तर उसले अरू केही त भन्नु पर्थ्यो एकान्त पारेर भूमिकास्वरूप, ‘तिमी मलाई माग्न आऊ न । बिहेमा आमाबाको स्वीकृति चाहिन्छ नि त ।’ नभए ‘मलाई अमेरिकाको केटो माग्न आएको छ । ह्यान्डसम छ । आजै बिहे गर्ने । भोलि भन्ने कुरो छैन । भोलि ऊ अमेरिका गइहाल्नुपर्ने रे ।’ कुन्नि किन हो यी अमेरिकाका केटालाई बिहे गर्नै हतारो हुन्छ नेपाल आएका बेला ? उसले यस्तो भन्दा मैले सोचेँ कि यी अमेरिकाबाट आउने केटाहरू उतैबाट केटी ताकेर आएका हुन्छन् ? कालान्तरमा यता केटीहरूको सर्टेज हुने सम्भावना थियो ।
उसले अमेरिकाको केटाको अत्तो थापेको भए म आत्तिने थिएँ हुँला । तर एउटा सोचनीय कुरो यो थियो, पवित्रा स्वयम् अमेरिका जाने तरखरमा छे भने बिहेका लागि अमेरिकाको केटो भेटिएपछि ऊ स्वतः त्यता जाने अवसर जुर्थ्यो । फेरि किन मसँग बिहेको प्रस्ताव गरिरहेकी छे ? प्रश्न यो थियो । उसले मलाई धम्काउन नचाहेरै त्यसो भनेकी हुनुपर्छ, ‘मसँग बिहे गर ।’ अवश्य पनि उसको मनमा मेरा लागि अगाध प्रेम छ जुन प्रेमले उसलाई ठगी गर्न दिएन । म मक्ख थिएँ मनमनै उसको सच्चा प्यार जानेर ।
मैले अरू के पनि सोचेँ भने, यो केटी कति मात्तिएकी रहिछ ! मात्तिएकी भन्नु त्यति उचित थिएन । उसले लाकको रीतिलाई बेवास्ता गरेकी हो र त्यसको उपेक्षा र उल्लङ्घन गरेकी पनि हो । के यसलाई विद्रोह भन्ने ? तर यसमा कुनै अन्यथा लाग्ने अर्थ थिएन । अन्ततः केटीहरू विवाह बन्धनका लागि अनिच्छुक त हुने गर्दैनन् तर योग्य वरको प्रतीक्षामा हुन्छन् । उनीहरू नभए उनीहरूका आमाबाबु केटीका लागि योग्य वरको खोजीमा दिनरात लागेका हुन्छन् ।
भन्छन् पनि, ‘छोराका लागि त के छ र ? कति केटी दिन आएका छन् । कसैसँग ग्रह मिल्दैन कसैसँग जीउडाल मिल्दैन, कसैसँग रूप हुँदैन भने कसैसँग गच्छे हुँदैन । यस्तै हो । छोरोका लागि चिन्ता छैन । चिन्ता छ यो छोरीका लागि ।कान्छी छोरी हो यो, माहिली जेठीको लागि त भाग्यले राम्रै घर जुरायो भन्न प¥यो । यसका लागि खै भनेजस्तो केटो नै भेटिएको छैन ।’
पवित्रालाई यसतिर कुनै चासो थिएन । म थिएँ र ऊ थिई । उसले मेरो बारेमा थाहा नपाउने कुरै थिएन । एउटै शहरको एउटै टोलका बासिन्दा हामी । उसले मलाई देखिरहन्थी र मैले पनि । तर त्यत्तिमै प्रेम भइहाल्ने खण्ड थिएन । तर भयो । मैले यो पनि भनेकाे थिइनँ कुनै अवसरमा – आई लभ यु । उसले झनै भन्ने कुरा नै थिएन तर आज यसरी स्पष्ट भनिरहेकी थिई, ‘मसँग बिहे गर्छौ ?’ यो विचारणीय थियो । म निर्णयकर्ता थिएँ । उसले भनौँ न बल मेरो कोर्टमा फ्यालिदिएकी थिई । म के गरूँ के गरूँ भइरहेकाे थिइनँ – म स्पष्ट नै थिएँ र निर्णय पनि थियो मेरो मनमा, ‘म पवित्रासित बिहे गर्छु ।’
बिहेका लागि अवरोध थिएन । तर ? तर भन्नुको कुनै अर्थ थिएन । मलाई मात्र यसो डर थियो, कतै झुक्किएर म बिहे गर्दिनँ भनिहाल्छु कि ? मेरो मनमा केही अस्पष्टता थियो ।
पवित्राले मलाई यो अवसर दिएकी हो – ‘मसँग बिहे गर । हामी विवाह बन्धनमा बाँधिऔँ’ भनेर । तर मैले भनेँ नि अन्य कुनै तरिकाले मलाई विवाह गर्न उत्प्रेरित वा बाध्य नगरेर उसले सोझै मलाई विवाहको प्रस्ताव गरिरहेकी छे, एउटी केटी भएर ! यसलाई मेरो पुरुषको अहंले स्वीकार गर्न अलि मानिरहेको थिएन । तर प्रेममा केको अहं केको अहंकार ? म सबैतिरबाट उसलाई स्वीकार गर्न तयार नै थिएँ । तैपनि मैले तुरुन्तै ‘हुन्छ’ भनिरहेको थिइनँ ।
म यो भनिराख्न सक्छु, पवित्रासँग म बिहे गर्छुगर्छु, यो पक्का छ तर बीचमा उठेका तर्कहरूको तरङ्गहरूले मलाई अभिभूत नपारेका होइनन् । तिनको बयान पनि जरुरी देख्छु म ।
त, हो अचेल नै भेटिन्छन् यस्ता केटी । उसले ठाडै सोधेकी थिई बिनाभूमिका, ‘मसित बिहे गर्नुहुन्छ ?’
‘मसँग बिहे गर्छौ ?’ भनेर ‘तिमी’ भन्ने सम्बोधनलाई प्रधानता दिएर सोधेको भए म झन् खुशी हुने थिएँ हुँला । तर उसले सोधी तपाईं भनेर । यसमा आपत्ति गर्नुपर्ने केही थिएन । ऊ दुलही भएर भित्रिएको दिनदेखि नै उसले मलाई ‘ तपाईं सम्बोधनले सम्मान दिनुपर्ने भइहाल्छ । तैपनि अचेलका केटीहरूको के ठेगान ? सबैका अगाडि तिमी भनेरै सम्बोधन गरेर काम भ्याउन सक्छन् ।
तर म विचार गर्दै छु, मैले जबाफमा भन्न बाँकी नै थियो— ‘हुन्छ’ वा ‘हुन्न’ । तर यो पनि कुनै विवाहको प्रस्ताव हुन्छ, केटीले भन्दैमा— ‘मसँग बिहे गर्छौ ?’ भनेर । उसले के यो व्यक्त गर्न चाहन्थी ‘तिमी मसँग प्रेम गर या नगर म तिमीसँग प्रेम गर्छु ।’ प्रेम त एकतर्फी थियो भन्न पनि सकिन्थ्यो, नभन्न पनि सकिन्थ्यो यद्यपि हामी दुवैबीच प्रेम बसिसकेको छ भन्ने हामी दुवैलाई थाहा थियो, देखादेखबाटै । मात्र मुखले प्रेमनिवेदन गर्न बाँकी थियो। उसैले पहिले सोधिहाली— ‘मसँग बिहे गर्छौ ?’
मौका जुरिरहेको थियो, नगर्ने त सवालै थिएन । मात्र यति डर लागिरहेथ्यो आफैसँग— कतै ‘म बिहे गर्दिनँ’ नभनूँ । तत्काले यो पनि लागिरहेको थियो यो व्यर्थ र आधारहीन शङ्का थियो मनमा उब्जेको । त्यसैले म हतारिएको थिइन ‘हुन्छ’ भन्नलाई । तर भनिहालेछु, ‘किन नगर्ने गर्छु ।’
‘मसँग बिहे गर्छौ भनेर सोधेकी त थिई नै । मैले पनि माइन्ड गरिरहेको थिइन । ‘हुन्छ’ भनिरहेकै थिएँ । म उसलाई मन पराउँथे, निष्कर्षमा माया गर्थें अझ भन्दा प्रेम गर्थें । यसमा घरीघरी दोहोर्याएर भन्ने विषय पनि थिएन । उसले यो थाहा नपाएको होइन । म स्पष्ट नै भन्दै हिँड्थेँ— ‘पवित्रालाई पाए म आजे बिहे गर्छु ।’ यो हाँक अर्थात् च्यालेन्ज थिएन । यो मैले गर्ने एक वास्तविकता थियो । यसर्थ आफूले माया गर्ने केटीले बिहेको प्रस्ताव राख्दा नाइँ भन्ने कुरो देखिनँ । ‘हुन्छ’ पनि भनिसकेँ । तैपनि मनमा आइरहन्थ्यो— केटीले नै मलाई बिहेको प्रस्ताव किन गरिरहेकी ? केटीले नै बिहेको प्रस्ताव गर्दाखेरि केटो भएको मैले नाइँ किन भन्नु ? हुन्छ पनि भनिसकेको छु । बिहे भएपछि कुरै सकिन्थ्यो । तर…।
मसँग बिहे गर्नुहुन्छ भन्ने प्रश्नको उत्तर दिन नपाउँदै केटीले भनी— ‘सोच्नोस् । टाइम छ ।’ ए बाबा यो कस्तो सहुलियत हो । मैले त भनेकै छु— ‘हुन्छ’ भनेर । भनेपछाडि उसले फेरि मन बदिलिएझैं गरेर ‘सोच्नोस्’ भन्ने सुविधा दिइरहेकी छ । मलाई अप्ठेरो लागेको छ यो भन्न, ‘म तिमीसँगै बिहे गर्छु ।’ म खुसीले पागल हुन मात्र बाँकी छ । म चिच्च्याईचिच्च्याई संसारले सुन्ने गरी गल्लीगल्ली दौडँदै भन्न चाहिरहेकी छु, ‘म तिमीसँग बिहे गर्छु ! पवित्रा, म तिमीसँग बिहे गर्छु !’
बिहे भनेको अप्ठेरो कुरा हो नि । केटी पवित्राले यो बुझेकी हुनुपर्छ । जसतससँग जसतसले बिहे गर्ने इच्छा प्रकट गर्दैन । विवाहको बन्धन जब्बर हुन्छ । निर्वाह गर्न जानेन भने गलपासो हुन पनि सक्छ । मेरो बुझाइ यो छ । पवित्राले पनि यसरी नै बुझेकी हुनुपर्छ । तर…तर उसले यसरी सार्वजनिक रूपमै मसँग बिहे को प्रस्ताव राख्नुको कारण के ? ऊ त नारी हो । स्त्री ! अलिकति भय खानुपर्ने हो । लाजसरम केही त हुन्छहुन्छ नारीसँग । ठाडै भनिरहेकी छ, ‘मसँग बिहे गर्नुहुन्छ ?’
उसको नाम मलाई अलि मन पर्दैनथ्यो, पवित्रा भन्ने । अहिले पनि पूरै मन परेर आयो भन्न सक्दिनँ । पूरै त होइन, अलिअलि पुरातन नाम जस्तो लाग्थ्यो । ‘नामै प्राचीन कालको जस्तो, पवित्रा !’ म उदयले उसलाई सुनाउन भनेको थिइन तर एक कान दुई कान मैदान भएजस्तो लाग्यो । यद्यपि उसको घर र मेरो घरका बीच अनेक अग्ला बिल्डिङहरू थिए, मैदान हुने कुरो थिएन । उसले पनि भनिछ— ‘उदय रे । नामै जस्तो मान्छे उज्यालो भए पो । कालोकालो छ । रेलको धुवाँले छोपेजस्तो ।’
यो पहिलेको कुरो थियो । मान्छेलाई कालो पार्ने धुवाँ छाड्ने रेल चल्ने जमानाको । नत्र उसले किन भन्थी, ‘मान्छे कालो छ, रेलको धुवाँले जस्तो ।’ मेरो बाबाको भनाइ अनुसार, हामी बसेको जिल्लाबाट अर्को जिल्ला जान पनि उता बर्डर नाघेर रेल चढेर जानुपर्थ्यो । पत्थर कोइलाले चलने रेल । एउटा रमाइलो यात्रा गरिन्थ्यो त्यस्तो रेलमा । टुइँटुइँ गरेर रेल कराउँथ्यो र छुकछुक गरेर स्टेसन छाड्थ्यो । पछि रेलको झ्यालबाट टाउको निकालेर बाहिर हेर्दा आँखामा पत्थर कोइरालाका ससाना चोइटा छिरेर हैरान परिन्थ्यो । तर उसको मेरो बीचको समयमा जे भइरहन्थ्यो छेडपेच त्यससँग यस कुराको मतलब थिएन तर उसले मलाई रेलको धुवाँले कालो भउजस्तो भनेर भन्दा मलाई यो सम्झना भयो ।
पवित्राले यो थाहा पाएकी रहिछ । उसको बाबाले भनेको हुनुपर्छ, संस्मरण सुनाउँदा । उसरी पवित्राको बाबा र मेरा बा दौँतरी थिए । अहिले शत्रुता त छैन तर आवतजावत बन्द छ । कुनै खास कारण देखिँँदैन । मानिस खानलाउन पुगेपछि मात्तिन्छ । त्यही मात चढेको होला बूढाहरूमा ।
अहिलेसम्म हाम्रोमा रेल आएको छैन । आए पनि अब त्यो पुरानो समयको कालो धुवाँ ओकल्ने रेल आउने थिएन । रेल हामीमा आउन टाइम लाग्ने होला । राजनीतिक स्टन्ट मात्र भइरहेको छ । रेल चढेर हुइँकिँदै यात्रा गर्ने समय कस्तो होला ? जस्तो होला तर केटीको कुराले म दङ्ग थिएँ । मलाई भनिरहेकी थिई, रेलको धुवाँले कालो भएको ! भित्र मलाई कुतकुती लागेर आयो । कममा पनि पवित्राले रिस्पोन्स त गरी । रिस्पोन्स मात्र गरिन, बाटोमा मलाई जानाजान नदेखेझैं गर्न थाली । पहिले पनि हेर्दैनथी, होइन म आएको चाल पाएपछि नहेरझैं गरेर हेर्थी ।
बीचको समय, धेरै वर्ष बितेका होइनन् । उसले जुन दिन आएर मेरै घरको अगाडि उभिएर मलाई सोधी— ‘मसँग बिहे गर्छौ ?’ त्यस दिन म केही चिन्तित थिएँ । खबर यस्तो आइरहेको थियो, पवित्रा अमेरिका उड्ने भई, अध्ययनका लागि । म पनि जान चाहन्थेँ तर घरको म एक्लो छोरो थिएँ । आमाबाबा बूढा भइसको थिए । सबै जिम्मेवारी मेरै काँधमा थियो । तर म दोमनमा थिएँ । बाआमाले भनिरहेका थिए, ‘हाम्रो भाग्यमा जे लेखेको छ त्यही हुने त हो । बूढीले खोले पकाउली म त्यही खाउँला । घस्रेरै भए पनि भित्रबाहिर गरौँला । समाज छँदै छ केही परे लतारेर भए पनि लैजालान् घाटतिर ।’
सुन्दा यस्तो लाग्थ्यो, दुःखलाई अत्यन्त सहजतासाथ व्यत्त गरिरहिएको छ तर म बाआमाको छेउमा बसेर ती कुरा सुन्दा यस्तो लाग्थ्यो बूढाबुढी दुवै भित्रभित्र रोइरहेका छन् । डाँको मात्र छाड्न बाँकी छ । घर गाउँमा पनि थियो र सहरमा पनि । एउटा नाइट बस थियो । गाउँमा खेत बारी टन्न थियो । बाले उमेरमा कमाउनु पनि भएको थियो र सज्जनतापूर्वक जोरजाम गर्नु पनि भएको थियो । आमा पनि त्यस्तै । कुनै छक्कापन्जा नजान्ने । बाबाले कमाएको जतनले जम्मा गरेर राख्ने । पछि आमाले पटुका पनि बाँध्न थाल्नु भयो । कम्मर दुखिरहने व्यथाले सताइरहन्थ्यो । बाले कमाएको पटुकामै घुसारे सुरक्षित राखेकी भन्नलाई ।
‘तीर्थव्रत जानु पर्ला भनेको खै ? जानु पर्ला टोलहरूको पछि लागेर । आफ्ना कोही नभएपछि अरूका सहरामा ।’ बाले टाढा हेरेर भन्नुभो । आमाले आँसु खसाल्न मात्र बाँकी थियो । आमा माइतीतिरका कोही पनि थिएनन् । बाकाहरू पनि सकिइसकेका थिए । भएकाहरू पनि आआफ्ना व्यापार व्यवसामा व्यस्त थिए । को को हो भन्रे कसैले खोजीनीति गर्दैनथ्यो । पूरै सहरिया भइसुकेका थिए । यस्तोमा म अमेरिका जानु थियो । पवित्रा जान लागी भनेपछि मेरो मन पनि जाऊँजाऊँ हुन थालेको थियो । तर आमाबालाई छाडेर कसरी जाने ?
पवित्रा आई त्यस्तोमा । म चिन्तित थिएँ । उसले घरअगाडि उभिएर ठाडै भनी, ‘मसँग बिहे गर्छौ ?’ कारण के थियो ? ऊसँग बिहे नगरी नहुने मलाई अपर परेको थिएन तर ऊसँग बिहे गरेमा मलाई सन्तोष हुने थियो । मलाई धर्मसङ्कट परिरहेको थियो । मैले ऊसँग बिहे गर्न पहल गर्नु पर्ने ठाउँमा ऊ स्वयम् धाएर घरै अगाडि आएर सबैले सुन्ने गरी भनिरहेकी छे, ‘मसँग बिहे गर्छौ ?’ केटीले ठाडै सबैले सुन्ने गरी सबैका अगाडि मसँग बिहे गर्छौ भनेर सोध्नु नै मसँग बिहे गर भन्नु हो । मैले जबाफ दिन सोच्दै थिएँ । उसले भनी, ‘सोचिहाल ।
म मनमनै खुसी हुनु पर्ने हो । हुनहुन लागेको थिएँ, उसले भनिहाल— ‘सोचिहाल ।’ पहिले भनी बिहे गर पछि भनी सोचिहाल । यसमा के रहस्य छ ? के ऊ मप्रति विश्वस्त छैन ? मैले बिहे गर्छु भन्ने उसलाई सविश्वास लागेको छैन कि ? उसलाई मैले प्रमनिवेदन गरेको पनि छैन । तर एकै ठाम बस्ने र आवतजावत गर्ने र देखभेट भइरहने हुनाले यस्तो लागेको हुन सक्छ म उसलाई भित्रभित्रै प्रेम गर्छु । तर ऊ अमेरिका जाने तयारीमा छे ।
मैले भनेँ, ‘अमेरिका जाने भनेको के हो नि ?’
‘होइन म जतासुकै जाऊँ । पहिले यो भन तिमी मसँग बिहे गर्ने हौ कि होइनौ ? मलाई यसको जबाफ चाहियो । अहिले !’
केटी मैले धेरै देखेको थिइनँ, यस्ता केटी पनि हुन्छन् भन्नलाई । तर पवित्रा अर्कै खालकी केटी थिई र म सबैलाई विदित हुने गरी भन्न सक्थेँ— ‘यस्ती केटी अर्की हुँदिन ।’
मलाई मनमनै डर पनि लाग्यो, शङ्का पनि लाग्यो । के जबाफ दिने भनेर सङ्कोच पनि लाग्यो । शङ्का, भय र सङ्कोचले मलाई अँचेटेकै हुनुपर्छ तर ती सबैलाई छिचोलेर मैले निस्केको छु, ‘म तिमीसितै बिहे गर्छु ।’
पवित्राले ‘सोचिहाल’ भनेर भनेपछि तुरुन्त फरक्क फर्केर आफ्नो घरतिर लाग्न पाइला उचालेकी थिइन । मलाई ‘सोचिहाल’ भनेर आफू पनि सोच्ने मुद्रामा गई । मेरो छेउमा अर्को कुर्सी थियो । त्यसमा आएर बस्न पनि सक्थी । उसले जब भनिसकी मसँग बिहे गर भनेर भनेपछि सोच्ने कुरो के ।
म सोच्ने मुद्रामा गएँ । उसले आवाज टाठो पारेर सोधी— ‘के गरेको ?’
मैले जुरमुराएर भनेँ, ‘सोचेको ।’
उसले फेरि उस्तै आवाजमा सोधी, ‘के सोचेको ?’
‘…..’ मैले जबाफ दिन सकिनँ । म आफैँमा अलमलिएँ – के सोचेको ?
‘धेरै सोच्ने होइन। खुरुक्क बा र इष्टमित्र लिएर मेरो घर आउने मलाई माग्न । एउटा रीत त पुर्याउनै पर्यो । कि कसो ? कि त्यति पनि गर्न सकिन्न ?’
मैले कुर्सीबाट उठ्दै भनेँ— ‘अब म गइहालेँ ।’ मलाई यो डर थिएन मेरा बाउले पवित्रासँग बिहे गर्ने प्रस्तावलाई अस्वीकार गर्नुहुनेछ । पवित्राले भनिसकेकी छ, उसको बाउले यताबाट पवित्राको हात माग्न आएपछि नाइँ भन्ने कारण नै छैन । माग्नै आएपछि… ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

