म गाडीको ढोकैमा उभिएको थिएँ । उसले मेरो शरीरमा तलदेखि माथिसम्म यसरी हेरी कि म कोही मान्छे होइन फोहोरको थुप्रो हुँ । उसले आफ्नो दाहिने हातको चोरी औँलाले आफ्नो नाक रगडी अनि थुतुनो बटारेर अर्कातिर फर्किई । मलाई उसको उपेक्षाले नराम्ररी हल्लायो । मनलाई चारैतिरबाट केले बाँध्यो कुन्नी नराम्ररी गाँठो‌ पऱ्यो । भित्र कतै ठूलै घनले ठोकेको महसुस भयो ।-” ऐया साह्रै दुख्यो !” भन्न पनि सकिनँ । छातीलाई छामेँ अनि हात कुममा पुऱ्याएँ । आफैँलाई थुमथुम्याएर ढाडस दिएँ ।  म  ढोकाबाट खुत्रुक्क तल झरेँ । ऊ मलाई नहेरी बसमा चढी । बस चढ्दै गरेकी उसलाई पछाडिबाटै भए पनि तलदेखि माथिसम्म हेरेँ ।

सलक्क परेको शरीर, छिनेको कम्मरसम्म लत्रिएको रङ्गाएर खैरो पारिएको कपाल, अमला रङ्गको कुर्तामा सेतो सुरुवाल, साँच्चै भन्ने हो भने त्यति सुन्दर स्त्री त मैले कहिल्यै देखेको थिइनँ तर उपेक्षाले भरिएको उसको नजर मेरो छातीमा फेरि एउटा डल्लो आएर अड्कियो । त्यतिबेलै गाडी चालक दाइ चिच्याए -” ए ! का’ मरिस् ? हेर्न , ती मान्छेलाई ! बोलाउनु पर्दैन ?”

म झस्किएँ । उसको शरीरबाट नजर हटाएर आफ्नो शरीरतिर घुमाएँ । बल्ल उसको उपेक्षाको अर्थ बुझेँ । एकछिनअघि गाडी मर्मत गर्दा चक्काको फोहोर लागेको थियो । त्यो त मैले पुछपाछ गरेको थिएँ तर टिसर्टमा धसिएको कालो भने राम्ररी निख्रिएको थिएन । झन्  त्यो दाइको  हिलो लागेको  झोला उचालेर गाडीभित्र राखेको थिएँ । आफ्नै टिसर्टमा यस्तो फोहोर लागेको त मैले ख्यालै गरिनछु । -“कस्तो हुस्सु भएको होला ?” आफ्नो टाउकोमा प्याट्ट पिटेँ अनि टिसर्टमा लागेको फोहोर टक्टक्याएँ । अलिअलि धुलो त झऱ्यो तर सफा भने भएन । फेरि गाडीको ढोकामा उभ्भिएँ र ढोकाको छेउमा हत्केलाले हिर्काउँदै कराएँ -“ओ दिदी ! जाने हो ? ओ दाइ ! यता, यता सिट खाली , सिट खाली ! बानेश्वर , बबरमहल , माइतीघर …..! ”

गाडी गुड्न थाल्यो । हाम्रा अगाडि गुडिरहेको गाडीले एक अँगालो कालो धुवाँ फ्याल्यो । मेरो नाक पिरो भयो ।

भूधरा उपाध्याय

भूधरा उपाध्याय

मुखबाट जिब्रो  अलिकति बाहिर निकालेर सडकतिर प्याच्च थुकेँ ।  ढोका बन्द गरेर भित्र छिरेँ । आँखाले उसलाई खोजे । उसलाई भेट्न आत्तिएका मेरा आँखा आफैँ भुईँतिर फर्किएँ । मेरा आँखा र मनबीच तालमेल पटक्कै थिएनन् । मनले उसलाई हेर् भन्थ्यो तर मनको उर्दी आँखाले टेर्दैनथ्यो ।

-” ओ दाइ! अलिभित्र छिर्नू न हौ । उता खाली ठाउँ छ । ओ दिदी ! यता सर्नुस् त ।” म आफ्नै सुरले खाली ठाउँमा मान्छे कोच्दै थिएँ । मेरा आँखा अचानकै उसको कालो चस्मामा ठोक्किए । उसले मलाई हेरी हेरिन थाहा छैन तर मेरो छाती जोडले उफ्रियो । मेरो बोली पनि टक्कै बन्द भयो । म एकछिन मूर्तिझैँ बनेँ ।

– “यसलाई आज के भएछ ? छिटो ढोका खोल् ! मान्छे बाहिर उभिएको देखिनस् ?” चालक दाइ कराए । म हत्तनपत्त ढोकातर्फ हान्निएँ । केही यात्रुभित्र पसे केही बाहिरिए । मैले ढोका बन्द गरेँ अनि यात्रुसँग पैसा उठाउन थालेँ ।

– “ए भाइ ! यो पैसा समात ।” मैले आवाज आएतिर नजर फर्काएँ । एउटी किसोरीले हातमा पैसा देखाउँदै थिई । साँच्चै भन्ने हो भने ऊ चौध पन्ध्रकी जस्ती लाग्थी । कस्तो आश्चर्य ! उसले मलाई कसरी आफूभन्दा सानो ठानी ? हेर्दा पनि त म हट्टाकठ्ठा नै छु । पाँच फुट छ इन्चको मेरो शरीर अनि झन्डै बीस लाग्न आँटेको जवान, ऊभन्दा कुनै अवस्थामा सानो देखिन्नँ ।

– म उसको छेउमा गएर पैसा समाउन हात लम्काउँदै थिएँ उसले भनी  -” कार्ड छ ।”

-” खोइ कार्ड हेरौँ ।” पैसा समाउँदै मैले भनेँ । उसले कार्ड दिई । उसको कार्ड हेरेर म अक्कनबक्क भएँ । आफ्नै जस्तो कार्ड देखेर ओल्टाई पल्टाई हेरेँ । उसको फोटो नियालेर हेरेँ  अनि उसको अनुहार पुलुक्क हेरेँ । फेरि कार्डलाई दोहोऱ्याएर पढेँ । मेरै कलेज पढ्ने पो रहिछ । -” कतै मलाई चिनेकी त छैन ? ” मेरो मन ढक्क गऱ्यो ।

-” ए भाइ ! कार्ड पढ्न त आउँछ ? कि फोटोमात्रै हेरेको हो ? ” ऊ खित्का छोडेर हाँसी । अरू एक दुई जना पनि ऊसँगै हाँसेको सुनेँ । मैले हत्त न पत्त उसको कार्ड फिर्ता गरेँ । उसैको पछाडिको सिटमा बसेकी त्यो सुन्दरी पनि घत् परेजस्तो गरेर हाँस्दै थिई । एउटीको वचनले भन्दा पनि मलाई अर्कीको हाँसोले दुखायो । त्यतिबेलै एक अधबैँसे मान्छेले कार्डसहित पैसा दिए । त्यो कुनै सरकारी कलेजको कार्ड थियो । मेरो बुझाइमा ती व्यक्ति विद्यार्थी थिएनन् । उनको अनुहारमा पुलुक्क हेरेँ । केही नबोली  कार्ड फिर्ता गरिदिएँ । पैसा उठाउँदै म अलिभित्र गएँ । करिब पचपन्न वर्ष जतिकी एक महिलाले मेरो हातमा विद्यार्थी कार्डसहित पैसा दिइन् । कार्डलाई हातमा लिएर हेरेँ । उनले दिएको कार्ड त कक्षा नौको पो थियो ।

-“आमा ! यो त तपाईकी नातिनीको पो परेछ ।” मैले कार्ड फिर्ता गर्दै भनेँ ।

-“ पढ्न आउँदैन भने फोटो हेर् , कसको छ ? कि त्यो पनि हेर्न आउँदैन ?” महिला एकैपल्ट च्याठ्ठिइन् ।

-“ तपाई नौ कक्षामा पढ्नुहुन्छ त ?” मैले पनि च्याठ्ठिएरै जबाफ दिएँ ।

-” किन पढ्दिनँ ? मैले पढ्न हुँदैन ? तिमीहरूजस्ता जवानले पढ्न छोडेर खलासी बन्न थालेपछि हामीजस्ताले पढ्नु परेन ?”

उनका तीखा शब्दले मेरो हृदय छियाछिया भयो । फेरि पनि मैले “ऐया!”  भन्न सकिनँ । उनी के के भनेर कराउँदै थिइन् । मेरो कानमा चालक दाइको आवाज छिऱ्यो -” के बहस गरिराखेको ? खुरुक्क पैसा समात् न । अहिलेका मान्छेसँग बहस गरेर तैँले जित्न सक्छस् ? कस्तो कस्तो जमाना आएको हो …!”

बेलुका छुट्टिने बेलामा चालक दाइले सोधे -” तँलाई आज के भएको थियो ? निकै झर्किँदै थिइस् त ! ”

जबाफ दिनुको कुनै औचित्य नै देखिनँ । म मौन बसेँ । फेरि उनले थपे -” यस्तै हो भने तैँले यो काम पनि पाउँदैनस् है ! मैले भन्देको छु । अलि विचार गर्नू !” फेरि पनि म केही बोलिन अर्थात् बोल्नै मन लागेन । आजको दिन मेरा लागि खराब रह्यो ।

म चुपचाप उभिइरहेँ ।  अर्को गाडीको खलासी भक्तेले मेरो कुममा धाप मार्दै फुसफुसायो -” आ ! छोड्न यार , यिनीहरू यस्तै हुन् । हामीलाई गाली गर्न पाए ठूलै मान्छे भएको ठान्छन् आफूलाई । ओइ ! आज के भयो थाहा छ ? ” उसले निकै फूर्ति देखाउँदै सोध्यो । उसको अनुहारमा प्रसन्नताको अनौठो चमक आएको थियो ।
-“के भयो र ? ” मैले मन नलागी नलागी सोधेँ ।

-” आ भन्दिन तँलाई , अनुहार हेर्दै अहिले रोलाजस्तो देखिएको छ । मेरो मज्जा पनि सबै किड्किडा हुन्छ ।”
ऊ हाँस्दै अर्को खलासी सन्ते जो आफूलाई साइमन नामाकरण गरेको थियो उसैलाई अँगालो मार्दै सुनाउन थाल्यो -” आज त एउटी बुलेट गाडीभित्र छिरी । ऊ डन्डी समातेर उभिएकी थिई । म मान्छे कोच्दै थिएँ । मान्छे भित्र कोच्ने निहुँमा‌ … ।” ऊ बेस्सरी हाँस्यो ।
उसको कुरा सुनेर मैले त्यो सुन्दरीको चट्ट मिलेको शरीर सम्झिएँ ।

बेलुका कोठामा आएर लुगै नफेरी पल्टिएँ । त्यसै त्यसै मन हुँडलिएर आयो । घोप्टो परेर सिरानीलाई च्यापेँ । के के न बन्छु भनेर गाउँको कलेज छोडेर काठमाडौँ आएको , म त अरूको तिरस्कारको पात्र पो बनेछु । बिस्तारै रसाएका आँखाबाट आँसुका धारा बगे । सिरानीलाई अझ जोडले च्यापेँ । आमाको एकदमै याद आयो । घुँक्कघुँक्क गर्दै धोको पुऱ्याएर रोएँ । निकै बेरको रुवाइपछि उत्तानो परेर सुतेँ । माथि सिलिङमा माकुराको जालो टन्नै लागेको रहेछ , मेरो मनमा जस्तै । मनमा अनेकौँ कुरा खेल्न थाले ।  के म आजमात्र उपेक्षित भएको हुँ ? उसको उपेक्षाले आज मन किन यति कुँडिएको छ ? के मेरो ऊसँग कुनै स्वार्थ वा लगाव छ ? फेरि आफैँले जबाफ दिएँ केको लगाव ? सुन्दर वस्तुमा आँखा जानु गलत हो ?
पक्कै होइन । मान्छेले मान्छेलाई उपेक्षा र घृणा गर्नुचाहिँ गलत हो ।

यही सोचाइसँग मेरो मन शान्त भयो । मैले बिस्तारै आँखा चिम्लिएँ ।
भर्खर एस.इ.इ. पास गरेको थिएँ । गाउँमा एस.इ.इ. पास गर्नेमध्ये हामी तीन जनाको मात्र राम्रो नम्बर आएको थियो । गाउँभरि हाम्रै चर्चा हुन्थ्यो । आफूलाई पनि ठूलै काम गरेको भान हुन्थ्यो । ठूलो ठाउँमा गएर पढ्यो भने धेरै मार्गहरू खुल्छन् भन्ने सुनेको थिएँ त्यसैले मलाई काठमाडौँ नै पढ्न जाने इच्छा भयो ।

हाम्रो गाउँभन्दा पल्लो गाउँका एक जना दाइ नाइट बस चलाउँथे । उनैको सहयोगमा मैले काठमाडौँका विभिन्न कलेजमा फाराम भरेको थिएँ । कलेजमा नाम निकाल्न सफल भएँ । घरको आर्थिक अवस्था त मलाई काठमाडौँ पठाएर पढाउन सक्ने  थिएन । मैले आमाबुबालाई कमाउँदै पढ्छु भन्ने आश्वासन दिएको थिएँ ।

आमाले सातु सामल पोको बनाइदिनुभयो । मैले दसैँमा किनेका एकजोडी लुगा जतनले झोलामा राखेँ । त्यसपछि झोलामा राख्ने अरू लुगा भेटिनँ । सेतो रङ्गको गन्जी पनि रङ्ग नै नचिनिने घुर्मैलो भएको रहेछ । त्यस्तो लुगा पनि के बोक्नु ! मैले गाउँका स्कुल जाँदा र गोठाला जाँदाका सबै लुगा एक एक गर्दै हेरेँ ।

काठमाडौँ आएपछि कलेज पढ्दै जागिर खोज्न थालेँ । कहाँ कहाँ गइनँ र म ? मेरो ध्यान पढाइमा भन्दा जागिर खोज्नमा नै केन्द्रित हुन थाल्यो । केही महिनामा नै मेरो कमाउँदै पढ्छु भन्ने फुर्ती घटिसकेको थियो । फर्केर गाउँ जाने कुरो भएन । घरबाट ल्याएको सामल पनि सक्किसकेको थियो । म खाली पेट ओछ्यानमा‌ पल्टिएँ । भोकले हो कि मलाई फिटिक्कै निद्रा लागेन । त्यही मलाई काठमाडौँ ल्याउन सहयोग गर्ने दाइलाई समस्या बताएँ । उनैले यो जागिर खोजिदिए । निद्रा र भोक टार्न म खलासी पेसा अपनाउन बाध्य भएँ । जागिरको नाउँमा‌ यही पाइयो त म‌ के गरूँ ?

ओल्टोकोल्टो फर्किँदै गर्दा मलाई गाउँको याद आयो । म काठमाडौँ पढ्न आउँदा सँगै पढेको साथी अक्षयले भनेको सम्झिएँ  – “तँ त काठमाडौँमा पढेर ठूलो मान्छे बन्छस् । हामीलाई बिर्सिन्छस् होला नि ?”
मेरा आँखा फेरि रसाए । मैले मनमनै भनेँ – “साथी, सोचेजस्तो रहेनछ काठमाडौँ ! यो त सिनेमामा देखाइने सहरजस्तो पो रहेछ , हेर्नमा साह्रै सुन्दर तर भोग्नमा साह्रै जटिल । बाहिरबाट हेर्दाजस्तो किन पो हुन्थ्यो र ? ‌थाहा छ तँलाई म बस्ने कोठा कस्तो छ ? हावा छिर्छ कि भनेर चारैतिरबाट बारेको जस्तो , घामले देख्ला कि भनेर छोपेकोजस्तो , दिउँसै बत्ती बाल्नुपर्ने निस्सासिँदो , अत्यासलाग्दो ! खै कस्तो कस्तो !”

खाटबाट खुट्टा झारेर ओछ्यानमा बसेँ । भोकले लखतरान भएको थिएँ । एकपल्ट लामो ‘ खुइय्य ! ‘ गरेँ । केही त खानै पऱ्यो । कोठाको एउटा कुनालाई भान्छा बनाएको थिएँ । चामलको भाँडो खोलेँ अनि पो सम्झिएँ कि बिहान नै चामल सकिएको थियो । आउँदा ल्याउँछु भन्ने सोचेको थिएँ भुसुक्कै बिर्सिएछु । ज्या ! अब के खाने ? चिनी हालेर पानी उमालेँ । त्यही चिनी पानी दुई गिलास घुट्क्याएँ र निद्रादेवीको प्रतीक्षा गर्न थालेँ ।

उही दिउँसोकी सुन्दरी मुस्कुराउँदै मतिर आई । लचक लचक उसको हिँडाइको चालमा पनि जादू थियो । ऊ जतिजति मेरा नजिक आउँदै गई त्यति नै मेरो हृदय रोमाञ्चित हुदै गयो । मेरा अङ्गप्रत्याङ्ग एकाएक जुर्मुराएर उठे । म आफूलाई संयमित बनाउने प्रयास गर्दै थिएँ । के गरूँ कसो गरूँ ? ऊसँग के पो बोलूँ ? म त्यसै त्यसै लठ्ठिदै गएँ ।

ऊ पूरै सेतो लुगामा सजिएकी थिई । उसले कपाल पछाडि लगेर डल्लो पारेकी थिई । घाँटीमा पछाडिबाट तुन्द्रुङ्ग स्तेथोस्कोपका दुई छेउ छातीतर्फ झुड्याएकी थिई । उसले दुवै हातमा पन्जा लगाएकी थिई । ऊ सरासर मतिरै आउँदै थिई । मतिर बढ्दै गर्दा उसले ठूलो चस्मा लगाई । अनुहार पनि सेतै प्लास्टिकले ढाकी । उसले लगाएको सेतो लुगा पनि अनौठो खाले थियो । नजिक आइपुग्दा त उसको रूप नै अचम्मको पो देखेँ । उसलाई परबाट देख्दाको रोमाञ्चकता छेउमा आइपुग्दासम्म डरमा परिणत भइसकेको थियो । ऊ सरासर मतिर आई । उसले उपेक्षित नजरले मलाई हेरी अनि मेरो निधारतिर बन्दुक तेर्स्याई । म डरले लुगलुग काँप्न थालेँ । ऊ घृणा र तिरस्कारको भावले खिस्स हाँसी अनि भनी – “यो ज्वरो नाप्ने मेसिन हो । तँलाई कोरोना भएको रिपोर्ट परेको छ।”
उसले आफ्ना दुई कदम अघि बढाई र मेरो निधारमा फेरि उक्त बन्दुक तेर्स्याई -” यो मेसिनले पनि तँलाई ज्वरो आएको देखायो । घाँटी पनि दुखेको छ ? ”

मैले घाँटी दुखेको छ छैन भनेर जाँच गर्न खाख्खाख्खुख्ख गर्न खोजेँ तर मेरो घाँटी केहीले अँठ्याएजस्तो लाग्यो , आवाज नै आएन ।
-“रुघा पनि लागेजस्तो छ । तँलाई त कोरोना लागेछ । अब तँलाई आइसोलेसनमा बस्नुपर्छ । हिँड् मसँग अस्पताल !”

म आत्तिएँर भाग्न खोजेँ तर कोठाबाहिर निस्कन सकिनँ ।  मैले भएभरको बल लगाएर जोडले चिच्याएँ -” जान्नँ म, जान्नँ ! मलाई केही भएको छैन । म जान्नँ ।”

ठिक त्यहीबेला ढोकामा ढक्… ढक् … ढक्…  आवाज आयो । आवाजले मेरो निद्रा टुट्यो । म त कोठामा एक्लै थिएँ । पसिनाले निथ्रुक्कै भएको थिएँ । मलाई ज्वरो त आएको छैन । निधार छामेँ , थुक निलेँ घाँटी सुख्खा भएको थियो । शरीर साँच्चिकै काँपिरहेको थियो ।

उठेर ढोकाको चुकुल खोलेँ । भक्ते र साइमन भित्र पसे । दुवैको अनुहार खिन्न देखिन्थ्यो । साइमनले भन्यो – “ओइ ! थाहा पाइस् ? भोलिदेखि लकडाउन रे नि ! कोही पनि घरबाट बाहिर निस्कन पाइँदैन रे । स्कुल, कलेज ,अफिस सबै बन्द रे । गाडी पनि ठप्पै हुन्छ रे । अब यहाँ बसेर के गर्नु ? हामी त गाउँ हिँड्यौँ । तँ के गर्छस् ?  आफ्नो विचार गर् है ।”
उनीहरू बोल्दा बोल्दै फनक्कै फर्किएर बाटो लागे । म भने उभिएको उभियै भएँ । रोकिएको गाडीले मेरो मनमा ठूलै झट्का दियो । मेरो जिन्दगीको शरीररूपी गाडीमा भोलिदेखि इन्धन कसरी भरिन्छ ? म सोचमग्न भएँ ।

सङ्खुवासभा , खाँदबारी ,कृति – धराश्री कथासङ्ग्रह