“आज माथिको घरमा खसीको मासु ल्याको त्यै भएर यो कुखुरा आपाले दि’पठाको भन्नु है ! बुझिस् नि ?”

फुच्चे तयामीले टाउको हल्लाएर बुझेको संकेत गर्दै आपाको हातबाट कुखुरा लियो ।

“राम्ररी समात्नू है जेठा, फेरि उम्केर भाग्ला र मकैबारीमा हराइ जाला,”

जुठेल्नोबाट फोसी मस्काउँदै आमाले खबरदारी गर्नुभो । तयामी केही बोलेन । उसलाई आत्मविश्वास थियो कि जाबो यो एउटा कुखुरो लिएर कोकूघर (हजुरआमाको घर) पुगिहाल्छु नि ! फेरि यसरी कुखुरा बोकेर कोकूघर झरेको यो पहिलो पटक पनि त होइन । फित्ते चप्पल पड्काउँदै, देब्रे काखीमा कुखुरा च्यापेर दाहिने हातले सिँगान पुछ्दै तयामी खुशीसाथ कोकूघरतर्फ ओरालो लाग्यो ।

त्यस गाउँको पूर्वतिर हेर्ने हो भने निकै टाढा आकाश छुन लम्किरहेको अग्लो डाँडा देखिन्थ्यो । त्यसैको शिरबाट हरेक बिहान सूर्योदय हुन्थ्यो । गाउँदेखि नजिकै थियो सदरमुकाम दिक्तेल बजार । तर देख्दामा त्यही अग्लो डाँडाले कम्मरमा लहरै सेतो पेटी पो बाँधेको हो कि जस्तो देखिन्थ्यो । आँखाको दूरदृष्टि त्यही डाँडामा पुगेर अड्किन्थ्यो  र छेकिन्थ्यो बाँकी पूर्व । यस्तो लाग्थ्यो मानौं त्यही डाँडा संसारको अन्तिम पूर्वी सिमाना हो र त्यस उता कुनै भूगोल छैन । कुनै भोजपुर छैन । कुनै भूटान छैन । कुनै कोरिया वा जापान छैन ।

तयामीको हजुरबा, हजुरआमाको घर त्यस गाउँको सबैभन्दा पुछारमा थियो । उनीहरूको दुई ओटा घर थिए । गाउँको माथिल्लो टोलमा भएको घरमा तयामी, उसका बाआमा र दिदीहरू बस्थे । गाउँको पुछार टोलको अन्तिमको घरमा हजुरबा, हजुरआमा । त्यसो त उनीहरूको लेकको बारीमा ‘डिही’ भनिने तेस्रो घर पनि थियो जुन खाली थियो ।

सामान्यतया राईहरूको परिवारको मुख्य मान्छेले बाख्रा खसीको मासु खान वर्जित छ । त्यसैले हजुरबा, हजुरआमा खसीको मासु खानुहुन्नथ्यो । तयामीलाई पनि खसीको मासुले बिसाउँथ्यो । त्यसैले घरमा खसीको मासु पाक्ने भएको दिन तयामी कुखुरा बोकेर बाजेबजूकहाँ जाने गर्थ्यो । यसरी नाति बाजेबजू मिलेर त्यस दिन कुखुराको मासु खान्थे । माथिको घरमा खसी खाइन्थ्यो । तलको घरमा कुखुरा पाक्थ्यो । यस्तो क्रम अक्सर चलिरहन्थ्यो ।

गाउँको बीचो बीच कमलाम्पाको (कमलाको बुबा) घर पर्थ्यो । उनीहरूको आँगन नजीकै भएर मूलबाटो उँधो छड्किन्थ्यो । मूलबाटोको छेवैमा पानीको धारा थियो । धाराको छेवैमा थियो पैंयूको विशाल वृक्ष । यस्तो लाग्थ्यो मानौं यो पैंयूको वृक्ष युगौंदेखि यस धारालाई छत्रछाया प्रदान गर्ने हेतुले उभिएको छ । तयामीलाई तिर्खा लाग्यो । खासमा यो तिर्खा ऊभित्रको वास्तविक तिर्खा नभएर अगाडि धारा देख्दा आइपरेको बाल अभिलाषा मात्रै थियो । उसले कुखुरालाई दायाँ काखीले बेस्सरी च्याप्यो । त्यसो गर्दा कुखुरो एक फेर ‘कँयाक्’ गर्‍यो । धाराको भन्दा उसको उचाइ कम थियो त्यसैले खुट्टाका औंलाहरूले टेकेर जीउ तन्काउँदै उसले दुई घुट पानी पियो, दाँतै सिरिङ्ग हुने चिसो पानी ।

बर्खे गोठनेर सुख्खा मलको रासमाथि बसेर कमलाम्पा चोया काढ्दै थिए । कुखुरा च्यापेर पानी पिइरहेको तयामीलाई देखेर उनले सम्पूर्ण कुरा बुझे र भने-

‘तोयू, आज घरमा फेरि खसी पाक्यो हो ?’

मक्ख पर्दै तयामीले जवाफ फर्कायो, ‘हजुर तिप्पा (ठूलाबा)। त्यै भएर कुख्रा लिएर कोकूघर हिँडेको ।’

तयामीलाई पूरै गाउँभरिमा तोयू भनेर बोलाउने यी नै एक जना ठूलाबा छन् । त्यसैले तयामीलाई गाउँभरिका काका ठूलाबाहरू मध्ये कमलाम्पा सबैभन्दा बेसि मन पर्छ । ‘गाको है तिप्पा’ यति भनेर तयामी बडो फुर्तिसाथ ओरालो लागी पनि हाल्यो ।

सेतेको घर, नुनु हाङको घर, लच्छिमीको घर, मानुको घर सबै साथीहरूको घर पार गर्दै तयामी ओरालै ओरालो लाग्यो । कुखुरा बोकेर हिंडेको हुनाले उसले कस्सैलाई पनि बोलाएन । चूपचाप कसैको घर आँगनकै बीचबाट, कसैको फूलबारी छेउछेउ, कसैको माछा पोखरी छोएर तयामी सुटुक्क कोकूघर तर्फ झरिरह्यो ।

कोकूघर तयामीको स्वर्ग थियो । कोक्पा(हजुरबा)सँग अलिअलि डर लागे पनि उहाँका कथाहरू सुन्न सारै रमाइलो हुन्थ्यो । कोकूको हातमा त जादू नै छ । जे पकाए पनि मीठो । कोकूले उसलाई आमाले भन्दा बेसि माया गर्नुहुन्छ । यो उसको ठहर थियो । कोकूघर जान भनेपछि ऊ खुट्टा उचालिहाल्थ्यो । आपाले कहिले कहिले सोध्नुहुन्थ्यो, “यो घिउ कोकूघर पुर्याउनु थियो । को जान्छौ ?” दिदीहरूसँग मारामार झगडा गरेर भए पनि तयामी घिउको हर्पे बोकेर खुरुरु ओरालो दगुरिहाल्थ्यो । उसलाई जहिले लाग्थ्यो, “सधैंभरि कोकूघर बस्न पाए त, आहा !”

थर्पु बारी, चुथ्रो घारी, एउटा कुलो र अल्छे ढुंगा पार गरेपछि तयामी कोकूघर पुग्यो । पुग्नासाथ घरमाथिको खलोबाटै चिच्यायो –

“कोकू ! कोक्पा ! माथि घरमा खसीको मासु ल्यायो है ! ई म फेरि  कुख्रा लेर आएँ ।”

– – – –

त्यस रात मासुभात खाएर डम्म अघाएपछि कोकू कोक्पाको विछ्यौनामा तयामी घुस्रियो । कोक्पाले लालहिराको बाँकी भाग कथा सुनाउन थाल्नु भो । शुरूको भाग अघि नै कुखुरा बनाउँदै सुनाइसक्नु भएको थियो । तयामी कथा कानले त सुन्दै थियो तर मनमनै भने निराश थियो । सोच्दै थियो – “अब निदाएपछि भोलि भै हाल्च । भोलि भएपछि घर जानु परिहाल्च !”

नभन्दै भोलि भैपनि हाल्यो । गह्रौं हृदय लिएर ऊ उठ्यो । तर बिहानीले सुन्दर समाचार पो ल्यायो । कोकूले हिज पकाएर बाँकी रहेको काँचो मासुको पोको थमाउँदै भन्नुभयो, “लु यो उब्रेको मासु लिएर कतै नअलमली घर जानू । आउने आइतबार हामी दुई-तीन हप्तालाई काठमाडुँ जाँदैछौं । तँ यतै आएर बस्नू । यतैबाट स्कुल जानू । किताब र लत्ताकपडा पनि लिएर शनिवार बेल्का झर्नू । बुझिस् ?”

कोकूघरमा त्यत्रो लामो समय बस्न पाउने कुराले उसको खुशीको सीमै रहेन । ठूलो स्वरले चिच्याएर “हस्” भन्यो । ओठभरि अबोध मुस्कान पोतेर उसले फेरि सोध्यो, “अनि म कोसँग बस्नु त कोकू ?”

कोक्पाले ठट्टा गर्नुभो, “राँके भूतसँग बस् । उज्यालो पनि हुने ।”

कोकूले कोक्पालाई हप्काउनु भो, “हना नातिलाई किन तर्साको हँ ?” अनि तयामीतिर फर्केर भन्नु भो, “सूर्जे काकासँग बस्नू ।”

तयामीलाई पटक्कै खुशी लागेन किनभने सूर्य कुमारले उसलाई ‘जिलीगान्टे’ भनेर बोलाउने गर्दथ्यो । उसले थोरै मुख खुम्च्यायो र उकालो लाग्यो ।

अल्छे ढुङ्गा पार गरेपछि कुलो आयो । तयामीले एक हातले मासुको पोको पक्रेरै अर्को हातले छ्यापछ्याप मुख धोयो । त्यसपछि चुथ्रो घारी पुगिसक्दा सम्म सूर्जे काकासँग बस्नुपर्ने हुँदाको दु:खभन्दा कोकूघर बस्न पाउने कुराको सुखद कल्पनाले ऊ पुलकित भैसकेको थियो । अब कहिले शनिवार आउला भनेर व्यग्र प्रतीक्षामा बस्यो ऊ ।

सूर्यकुमार निक्कै उमेर खाइसकेको अविवाहित युवा थियो । सानैमा बाआमा बितेकोले गाउँलेहरुकै माया ममताले ऊ हुर्किएको थियो । लेखपढ थिएन । निश्चित घरबार थिएन । बिजुवा खोलाकै छेउमा बाँसघारीभित्र उसको सानो झुपडी थियो । मन लाग्दा जान्थ्यो मन नलागे जसकोमा काम गर्‍यो त्यसैकोमा सुत्थ्यो । बेस्सरी रक्सी पिएर बौलाएको दिन गाउँमा उसलाई कसैले बास दिंदैन थियो । त्यसरी अभर परेको रात मात्र ऊ आफ्नो झुपडी टेक्न पुग्थ्यो । घर पुगेर आँगनमा भएको बाँसको टाँडमाथि पल्टिन्थ्यो अनि गाउँतिर फर्किएर राती आबेलासम्म धारे हात लाउँदै गाउँको शिरपुछार सबैलाई सराप्थ्यो-

“पत्थर दिल भाकाहरू, शोषकीहरू, सामन्तीहरू, गरीबलाई हेप्छौ ?” आदि इत्यादि ।

गालीगलौच र सत्तोसराप गरेर थाकिसकेपछि ऊ नारायण गोपालको गीत गाउन थाल्थ्यो : ‘पर्खी बसेँ आउला भनी मेरो उठने पालो…’

गाउँबाट उसको गीत सुनिन थालेछि गाउँलेहरूले अब सुर्जेकुमार निदाउन लाग्यो है भनेर बुझ्थे ।

शनिवार पनि आयो । तयामी खुशीले नाच्दैनाच्दै किताब र कपडाहरू लिएर कोकूघर झर्‍यो । भोलिपल्ट कोकू कोक्पा बिहानै बाटो लाग्नुहुने भयो । कोकूले सूर्यकुमारलाई धेरै पटक के के गर्ने भनेर सम्झाइसक्नु भएको थियो । त्यै पनि अन्तिम पटक फेरि  सुँगुर र कुखुरालाई चारो कहिले कहिले दिने, वस्तुभाउको हेरचाह कसरी गर्ने, सागबारीमा बेलाबेला पानी कहाँबाट दिने आदि इत्यादि याद दिलाउनु भो ।

हिंड्ने बेलामा सुर्के थैलीबाट केही पैसा झिकेर दिंदै भन्नु भो,  “आपतविपतलाई यो पैसा राख्नू । रक्सी किनेर सप्पै खर्च नगर्नू ।”

सूर्य कुमारले “हस्” भन्यो ।

कोक्पाले चाहिं हिंड्ने बेला तयामीलाई अह्राउँदै भन्नु भो, “मैले आहालमा एक मुठा चोया भिजाएर राखेको छु । नबिर्सी ल्याएर राख्नू । बुझिस् ?” तयामीले ज्ञानी भएर उँचो आवाजमा “हस् कोक्पा” भन्यो ।

कोकू र कोक्पा घरबाट निस्कनु भो । उहाँहरूको दिनभरिको पैदल यात्रा लामिडाँडा सम्मको हुनेवाला थियो । लामीडाँडादेखि हवाई जहाज चढेर उहाँहरू सीधै सिनामंगल स्थित काठमाडौंको हवाई अड्डामा उत्रनुहुने थियो ।

कोकू कोक्पाले घर छोड्नुभएको साँझ तयामीले भारमा झुन्डिरहेको सुकुटीतर्फ संकेत गर्दै सूर्यकुमारको मुख ताकेर सोध्यो, “आज के तिहुन पकाउँछौ सूर्जे काका ?”

सूर्यकुमार कड्कियो, “हेर् जिलीगान्टे । कि मलाई सूर्जे मात्रै भन्, कि मलाई काका मात्रै भन् । जाँठा ! क्या हो यो सूर्जेकाका भनेको ?”

तयामीले तल्लो पट्टिको थोते दाँत देखाएर ङिच्च हाँसिदियो । सूर्यकुमारको मन फेरि छपक्कै भिजिहाल्यो । जिलीगान्टेको निधार माथिको असरल्ल कपाल खेलाइदिंदै सानो स्वरले भन्यो, “जाँठा जिलीगान्टे ! ल ल म सुकुटी पकाउँछु है !”

त्यसपछि दुवै गजबसँग हाँसे । अनि अगेनाको भुतभुतेमा आधा रक्सी भरिएको स्टीलको गिलास घुसार्दै सूर्यकुमारले भन्यो, “तताएर एक गाँस स्वाट्टै पारिहाल्नु पर्यो । पछि कोकूलाई नभन्दे है ?”

सुकुटी तिहुनको लोभमा तयामीले पनि सहमतिको लाल मोहर ठोकिदियो, “हस् ।”

– – – –

कोकूघरमा रहँदा बस्दा सूर्यकुमार र तयामीको मित्रता बढ्दै गयो । यद्यपि तयामीले न सूर्जे काका भन्न छाड्यो, न तिमी नै भन्न छाड्यो । नानीदेखि लागेको बानीले गर्दा ‘काका तपाईं’ भन्न मुख लागेन । सूर्यकुमारले पनि जिलीगान्टे भन्न छोड्ने कुरै थिएन । स्कूलबाट आएपछि तयामी कुखुरा सुँगुरलाई चारो हाल्ने काम गरिदिन्थ्यो । गोठको वस्तुभाउलाई घाँसपानी सूर्यकुमारले गर्थ्यो । बिहान बेलुकाको खाजा खाना पनि तयार गर्थ्यो । बेला बेला साँझमा रक्सी पिएर आउँथ्यो तर धेरै मात्तिनेगरी भने पिएको थिएन । र सधैं नै कोकूलाई नभन् है भनेर अनुरोध गर्थ्यो ।

यसैगरी दश दिन बितिसकेको थियो । सूर्यकुमार त्यो दिन खुट्टा नलाग्नेगरी मातेर आयो । ढुलमुल ढुलमुल  घर आइपुग्दा निक्कै रात परिसकेको थियो । उसको मन पर्ने गीत ‘पर्खी बसेँ आउला भनी मेरो उठ्ने पालो’ ठूलो ठूलो स्वरमा गाउँदै ऊ घरभित्र छिर्‍यो । भित्र छिरेर हेर्‍यो तयामी सिरकभित्र गुँडुल्किएर निदाइसकेको रहेछ । उसले बोलायो, “जिलीगान्टे ! ओ जिलीगान्टे ! बरा जिलीगान्टे भोकै पो सुतेछ ।” अनि फेरि नजीक कोट्याउँदै  सोध्यो, “कै खाइस् त जिली ?” तयामीले निद्रालु स्वरमा जवाफ फर्कायो “सिलाम चामल खाएँ । अब तिमी पनि सुत सूर्जेकाका !”

सूर्यकुमार एक्लै फतफताइरह्यो, “बिचरा जिली, सिलाम चामल खाएर सुतेच ! आजलाई माफ गर् है जिली । आज ढिलो भो । भोलिदेखि जाँडरक्सि सबै छोड्चु । तँलाई मीठोमीठो पकाएर ख्वाउँचु । बुझिस् ?”

त्यसपछि ऊ तख्तामा बलिरहेको कुपी समेत ननिभाई घिस्रँदै तयामीको ओछ्यानको कुनातिर घुस्रियो र एकैछिनमा घुरघुर घुर्न थाली पनि हाल्यो ।

मध्यरात थियो । शायद मुसाको धक्काले या केले हो बलिरहेको कुपी ढल्यो र भुइँमा खस्यो । भुइँमा खसेको कुपीको सलेदो भने सल्की नै रहेको थियो । मट्टीतेल पोखिएर छताछुल्ल भएकोले भुइँले आगो टिप्यो । गुन्द्रीले आगो टिप्यो । खोसेलाले बुनेको पिर्काले आगो टिप्यो । सुकेको चोयाले आगो टिप्यो । हेर्दाहेर्दै घर आगोको ताण्डव भूमिमा परिणत भयो । ती दुई काका भतिजो भने गहिरो निद्रामा डुबुल्की मारिरहेका थिए ।

गर्मीले उकुसमुकुस भएपछि तयामी शुरूमा ब्युँझियो । जताततै धूवाँ र आगो देखेर उसको सातोपुत्लो उड्यो । ऊ लगातार खोकिरहेको थियो । सूर्य कुमारलाई झकझक्यायो, “सूर्जेकाका उठ । आगो ! आगो !” ऊ चिच्यायो ।

सूर्य कुमारपनि खोक्दै ब्युँझियो । उसले तुरुन्तै स्थितिको पहिचान गरिहाल्यो । “बाहिर भाग् जिलीगान्टे !” उसले तीव्र गतिमा तयामीको हात समाएर मुख्य ढोकाबाट आँगनतर्फ सक्दो दौड लगायो । यसरी दुवै जना ज्यान जोगाएर आँगनमा निस्किन सफल भए ।

आँगनमा निस्केपछि तयामी पागल झैँ चिच्याउन थाल्यो-

“ए कोकू ! ए कोक्पा ! आगो लागो । घर जलो । ए आमौ ! ए बाउ ! कोकूघर जलो होई । बर्बाद भो, सक्यो । हे भग्वान ! घर जलो !” ऊ रुँदै र कहालिंदै यता र उता दौडिरह्यो ।

सूर्यकुमार एक्लैले निकै बेरसम्म  रूखको हरियो सेउलोले आगो निभाउने असफल प्रयास गरिरह्यो । केही सीप नलाग्ने देखेपछि उसले तयामीलाई सम्झाउँदै भन्यो, “हेर् जिलीगान्टे तँ आगोको छेउछाउ नजा है । यही खलामा बसिराख् । म गाउँलेहरू उठाएर ल्याउँछु ।”

यतिभनेर ऊ “आगो लागो है ! आगो लागो है !” कराउँदै बेपत्तासँग गाउँतिर दौडियो ।

कोदो कुट्नलाई घरमाथि माटो र गोबरले लिपेर बनाइएको एउटा खाली खलो थियो । तयामी त्यही खलोमा थचक्क बसेर आँखाकै अगाडि आफ्नो प्यारो कोकूघर दनदनी आगोमा सल्केको निरीहतासाथ हेरिरह्यो । दाहिने हातको फाटेको बाहुलाले आँसु पुछ्दै ऊ हिक्कहिक्क “कोकूघर ! कोकूघर !” मात्र भनिरह्यो । आगोको लप्काको उज्यालो घरीघरी उसको अनुहारमा पर्दा आँसुको टाटो दुवै गालाबाट बग्दैबग्दै गर्दनसम्म झरिसकेको देखियो ।

हेर्दाहेर्दै आगोले झ्याल ढोकाका खापा हुँदै घरका जम्मै खाँबो समेत सल्काएर धुरी छोइसकेको थियो । धुरी टेकेर त्यो निर्दयी आगोले बडो हुङ्कारसाथ अब कोकूघर निलिसकेको घोषणा गर्यो । तयामी खलोमै बेहोस भयो । हावामा डढेको टड्कारो गन्ध फैलियो ।