नाउँ कलावती भए पनि उनको शरीरको संरचना भद्दा र अनाकर्षक थियो । केही मोटो र पुड्को शरीर, कल्सौँदो बाक्लो अनुहार । उनको पहिरन चौबन्दी चोलो र मोटो रातो फरिया अनि बाक्लो खास्टो पछाडिबाट घुमाएर दाहिनेपट्टि छातीमा झारेको । कानमा सुनका सादा मुन्द्रा, एक चुल्ठे कपाल, गोडामा हात्ती छाप चप्पल र नाडीमा राता चुरा । नाकमा सुनको सादा, गोलो फुली । सडक छेउमा उनको एउटा निजी पसल थियो । त्यस पसलबाट होलसेल र खुद्रा दुवै व्यापार चल्थ्यो ।

एक दिन ग्राहक नआएर आलस्य भई एक्लै पसलमा बसिरहेका बेला एकजना वैष्णव सम्प्रदायकी वृद्ध  विधवा आमा कलावतीसँग गफिन आइन् र काउन्टरको बाहिरपट्टि ठिङ्ग उभिइन् । एकछिनको भलाकुसारी पछि ती आमाले कलावतीलाई सम्झाउँदै भनिन्, “तिम्रो घरबार भएन, अब तिमी शरणागत हुनु पर्छ । त्यसपछि तिमी भगवानकी हुन्छ्यौ, अनि लोभ र मोहबाट मुक्त हुन्छ्यौ ।”

शरणागत हुनु भनेको वैष्णव धर्मलाई अङ्गीकार गरी त्यसको आचरणमा रहनु भन्ने उनको आशय हो । कलावतीलाई ती आमाजीको कुरामा चित्त नबुझे पनि उनले तिनका कुरा चुप लागेर सुनिरहिन्, तिनका सुझावप्रति उनले कुनै प्रतिक्रिया जनाइनन् । उनको स्वभागसँग कलावती जानकार थिइन् । उनलाई लाग्यो, ती आमाजीसँग सवाल जवाफ गर्नु भनेको उनको नचाहिँदो तर्क सुन्नु र असहिष्णु भई वादविवाद बढाउनु मात्र हुन्थ्यो । कलावतीले आफ्नो करेसाबारीको रायोको साग टिपिन् र मुठो पारिन् ।
सागको मुठो ती आमालाई दिँदै भनिन्, “ल आमा यो साग बनाएर भगवानलाई भोग लाइदिनोस् है ।”

वैष्णवसँग बोल्दा पकाउनु होस्, खानु होस् जस्ता आम मानिसले बोल्ने भाषा बोल्नु वैष्णव संस्कार विरुद्ध हुन जान्छ भन्ने कुरा उनलाई थाहा थियो । उनले यो कुरा बुझेर वैष्णवको संस्कारयुक्त भाषा बोलेकी थिइन् । सागको मुठो पाएपछि ती वैष्णव आमा पसलबाट निस्किन् । वृद्धा र फुर्सदिला यस्ता महिलाहरू कलावतीसँग भेट्न पसलमा आउने गर्छन् । मानिसहरू आउँदा कहिलेकाहीँ उनलाई रमाइलो हुन्छ र गाहक नहुँदा समय पनि सजिलै कट्छ, तर कहिले चाहिँ उनलाई चित्त नबुझ्ने गफ गरी समय काट्न पनि कोही कोही आउने गर्छन् ।

कलावतीको पुर्ख्यौली घर नुवाकोटको खरानीटार हो । उनका बा, आमा छैनन् । दुई वर्षको अन्तरालमा केही वर्ष अघि दुवै जना यस संसारबाट बिदा भए । उनकी एकमात्र बहिनी विवाह भएको वर्षदिनभित्र भिसा लगाएर ज्वाइँसँग अमेरिका गई ।

चारभाइ दाजुहरू भिन्न भई आ–आफ्ना परिवारसँग काठमाडौँका विभिन्न ठाउँमा बस्छन् । उनको जेठो दाजु बालाजु र साहिँलो चाहिँ टोखामा बस्छन् । उनको निम्ति विवाहको प्रस्ताव लिएर कोही आएको उनलाई थाहा छैन, उनका बाबुले छोरीको लागि कतै प्रस्ताव लिएर गएको पनि उनलाई थाहा छैन । आफू बुझ्न सक्ने भएपछि उनले पनि विवाह गरी शृङ्गारिक जीवन जिउनुभन्दा सादा र कर्मशील सामान्य जीवन जिउनु नै उपयुक्त ठानिन् । उनलाई पैसा कमाउने र सञ्चित गर्ने लोभ भएता पनि विवाह गर्ने इच्छा भएन भनौँ । बा, आमाले पनि विवाहको निम्ति त्यस्तो केही कर गर्नु भएन । कान्छो भाइ, बुहारी र कलावती बाले संयुक्त रूपमा अंश दिएको घरमा काठमाडौँको गोङ्गबुमा बस्छन् ।

जम्मा चार कोठाको भुइँघर छ, बीचको गल्लीले दुई, दुई कोठा छुट्ट्याएको छ । त्यो घर घडेरी कान्छो भाइ र कलावतीले आधा आधा अंश पाएका हुन् । कलावती र उनका भाइको लागि ससाना दुई कोठा भान्साको निम्ति र अरू एक, एक कोठा बेडरुमको निम्ति छुट्याइएको छ । कोठाहरू अलग अलग भाग लागेता पनि अहिलेसम्म भान्सा भने एकै ठाउँमा छ । उनीहरू सबै एउटै भान्सामा खान्छन् । भात भान्साका सबै काम भाइबुहारीले गर्छिन् । कान्छो भाइ एउटा जुत्ता कारखानाको अफिसमा काम गर्छ । भाइ बुहारीको दुई वर्ष पुग्न लागेको एउटा छोरो छ । चकचके छ, कलावतीको पसलमा गएर चकलेट मागेर हैरान पार्छ ।

कलावतीको कोठा सडकतर्फ फर्केको छ । त्यसमा उनले सटर राखेकी छिन्, सटरभित्र जिरा, मरिच, ल्वाङ, सुकुमेलदेखि दाल, तेल, सिगरेट सलाई, साबुन, सर्फ आदि घरायसी प्रयोगका सरसामान पसलमा राखेकी छिन् । यो उनको निजी पसल हो, यसको हरहिसाब कसैलाई देखाउनु पर्दैन । भित्र धेरै सरसामान अटाए पनि बाहिरबाट हेर्दा कोठा सानो देखिन्छ । कोठाको एकाछेउमा उनको सुत्ने खाट छ । दिउँसो अल्छी लागेको बखत उनी त्यही खाटमा पल्टिन्छिन् । राति सटर बन्द गरेपछि पछाडिपट्टिको झ्याल खोली उनी ढुक्कसँग निदाउँछिन् । भात भान्साको काम बुहारीले गरेपछि पसलको काम बाहेक अन्य नियमित काम उनको केही थिएन, उनलाई कमाउने धुन थियो, आफ्नै पसलको काममा दिनभर व्यस्त रहन्थिन् ।

भाइ–बुहारीको अर्को बच्चा पनि जन्मनेवाला छ । भाइलाई दिन दिनै घर साँगुरो हुने जस्तो लागेकोले एकदिन उसले कलावतीसँग भन्यो, “दिदी, घरको तला थपौँ, मलाई अब दिनदिनै एउटा कोठाले पुग्ला जस्तो छैन, बराबरी पैसा हालौँ र तला थपौँ, पसल चलाउन तपाईंलाई पनि सजिलो हुन्छ ।” कलावली बढी स्वार्थ केन्द्रित भएकीले भाइको प्रस्तावप्रति उनले कुनै सहानुभूति देखाइनन् । उनले भाइको यस प्रस्तावलाई ठाडै अस्वीकार गरिन् र भनिन्, “मलाई किन चाहियो कोठा, तँलाई चाहिन्छ भने थपे हुन्छ” ।

पानीको निम्ति साझा धारा थियो, त्यसमा एक घण्टा मात्र तुरतुरे पानी आउँथ्यो । त्यो पनि कहिले आउँथ्यो कहिले आउँदैनथ्यो । बुहारी छिमेकीसँग पानी मागेर दिदीको समेत सबैको लुगा धुन्थिन् । यसरी नियमित पानी मागेर लगेको छिमेकी पनि मन पराउँदैनथे । भाइले एक दिन दिदीलाई भने, “दिदी पैसा बराबर हालौँ, बोरिङ गरेर जमिनमुनिको पानी तानी पाइपबाट टङ्कीमा जम्मा गरी पानीको आवश्यकता पुरा गरौँ” । भाइले यस्तो प्रस्ताव राख्ता पनि उनले सहमति जनाइनन् ।

उनले रुखो जवाफ दिइन्, “बुहारीको के छ त काम, छिमेकबाट पानी ल्याएर काम गरे भैहाल्यो नि” ।

दिदीको यस्तो असहज जवाफ पाएपछि भाइले आफ्नै खर्चमा बोरिङ गरी जमिन मुनिबाट पानी निकाल्यो र प्लास्टिक टङ्की खरिद गरी पाइपबाट पानी जम्मा गर्यो । भाइले एकलौटी खर्चमा सबैलाई सहज हुने गरी पानीको बन्दोबस्त मिलाएपछि कलावतीलाई मैले भनेको भाइले टेरेन भन्ने एक प्रकारको सुषुप्त रोष मनभित्र बसिरह्यो । बिस्तारै उनी भाइसँग टेढिँदै गइन् र भाइ र बुहारीसँग बोलचाल बन्द भयो । पछि भाइले आफ्नै खर्चमा आफ्नो भागको घरतर्फ तला पनि थप्यो । कलावतीको धन सञ्चित गर्ने आकाङ्क्षा बढ्दै जाँदा उनको मन पनि स्वार्थ केन्द्रित हुँदै गयो र भाइप्रति उनको रिस र ईर्ष्या झन् बढ्दै गयो । उनले साझा भातभान्सा छोडी आफ्नो खाना आफैँ बनाउने र आफ्नो चुलो, चौको आफैँ गर्न लागिन् ।

दिउँसोको समय, गर्मीको मौसम थियो, बाहिर चर्को घाम लागिरहेको थियो । कलावती एकलै झोक्राएर पसलमा बसिरहेकी थिइन् । निकै बेरदेखि पसलमा कुनै ग्राहक आएको थिएन । एउटा मौरी जस्तो कालो किरो उनका अगाडि भुनभुनाउँदै आयो । उनले आफ्नो नाक र आँखीभुइँ खुम्च्याएर दाहिने हत्केलो हल्लाउँदै त्यसलाई हटाउन खोजिन्, तर त्यो त झन् भुँ भुँ गर्दै उनको टाउकाको वरिपरि पो घुम्न थाल्यो । त्यसलाई धपाउन उनले दाहिने खुट्टाको हात्ती छाप चप्पल फुकालेर हल्लाउन थालिन् । निकै सङ्घर्ष पछि बल्लतल्ल त्यो भाग्यो ।

यसै बीच एउटा अपरिचित युवक सरसामान किन्न पसलमा आयो । पसल बाहिर उभिएर उसले पसलको भित्रीभागसम्म आँखाले भ्याउन्जेल निरीक्षण गर्यो । उसको अर्डरअनुसार चिनी, दाल, तोरीको तेलको प्याकेट, लुगा धुने साबुन, सलाई, सिगरेटको बट्टा जस्ता सामान कलावतीले प्लास्टिकको झोलामा राखी दिइन् । मालसामान प्लास्टिकको झोलामा प्याक गरी ग्राहकछेउ काउण्टरमा राखेपछि उसले हिसाब सोध्यो ।  कलावतीले ७ सय ३० रुपैयाँ भयो भनिन् ।

उसले एउटा हजारको नोट हातमा लियो र भन्यो, “दिदी तपाईँले मलाई दुईसय सत्तरी रुपैयाँ फिर्ता दिनुपर्ने भो ।”

उसले हजारको नोट आफ्नो हातमा अँठ्याइरह्यो । त्यो पैसा लिन आफ्नो हात अगाडि बढाउनुको सट्टा कलावती हिसाब गर्दै फिर्ता दिनुपर्ने पैसा झिक्न आफ्नो बाकसतिर फर्किन्, त्यतिखेरै एउटा मोटरबाइक उनको पसल अगाडि घ्याच्च रोकिएको आवाज उनले सुनिन् । फिर्ता दिने पैसा बोकेर कलावती काउण्टरतर्फ फर्कंदा त्यो मानिस त सामानको झोला बोकी बाइकको पछाटिपट्टि बसेर धेरै तल पुगिसकेको देखिन् ।

पसल बाहिर निस्केर चोर, चोर भन्दै उनी चिच्याउन लागिन् । उसले बाटो काटिसकेको थियो । दुई, चार मानिस भेला भए, तर गर्न सकिने कुरा केही थिएन । उनले त्यस मानिसमाथि कुनै शङ्का नगरी फिर्ता दिने पैसा झिक्न लागिन्, तर उसको ठग्ने उद्देश्य भएकोले कलावतीलाई झुक्याएर भाग्न ऊ सफल भयो । हल्लिखल्ली भएपछि उनको भाइ पनि बाहिर निस्क्यो र घटना बारे बुझ्यो ।

उसले भन्यो, “तिम्रो आफ्नो सानो भ्रम र असावधानीले गर्दा ठगिन पुग्यौ दिदी ।”