
खास त यो कलियुग कै कुरा हो । तर यहाँ छोटकरीमा भए पनि यस अघिका युगहरू- सत्य, त्रेता वा द्वापरका कुराहरू गर्नुपर्ने भएको छ । त्यताको कुरालाई यता जोडेर केही भन्नु जो परेको छ । कृपया अहिलेलाई यो यौटा कथै हो भनेर भन्दिनुस् । स्वर्गका राजा इन्द्रलाई बेला बेलामा आफ्नो सिंहासन गुम्ने भयले सताएका कुरा हामीले सुनिआएको हो । आफ्नो राज्य जोगाउन उनले अनेक अनेक गरेको पनि सुनेको हो । यो त दोस्रो कुरा हो ।
पहिलो कुरा त उनी साह्रै भाग्यमानी थिए । साह्रै भाग्यमानी भन्दा पनि उँचोको कुनै मापन हुन्छ, कुनै उँचो बिन्दु हुन्छ भने त्यो भन्दा माथि थिए इन्द्र । राजा भाग्यमानी थिए भन्दा हाँसो उठ्ने कुरा पनि हो । भाग्यमानी नभई राजा भइन्छ र ? भन्ने हजुरको आशय हुन सक्छ । तर यहाँ कुरो “राजा पनि कहाँका भन्दा- स्वर्गका” भन्ने हिसाबले भाग्यमानी भनिएको हो । स्वर्गको एकछत्र राज, अनवरत शासन, अनवरत भोगविलास ! त्यस माथि चिन्तामणि, कल्पवृक्ष, कामधेनु गाई उनैका थिए । जे खोज्यो त्यही ठ्याङ ठ्याङ पुर्याइदिने खुपी जो थियो यिनीहरूको । यिनैको भरमा इन्द्रले इच्छाएको पाउँथे ।
त्यतिले नपुगेर भगवान् ब्रह्मा, विष्णु, शिव हुनुहुन्थ्यो उनका संरक्षक । स्वयं लक्ष्मी स्वरूप सची उनकी अर्धाङ्गिनी थिइन् । अझ कति कति अप्सराहरू अमृत र सोमरसका प्याला बोकेर उनको सेवामा खटिन्थे । गन्धर्वहरूको गीत सङ्गीतमा तिनै अप्सराहरूले नृत्य गरेर उनलाई आनन्दित तुल्याउँथे । स्वर्ग त स्वर्गै थियो । मान्नुस् डिस्को त्यही थियो । बार त्यही थियो । क्यासिनो स्यासिनो केके मोजमस्तीका लागि हरेक व्यवस्था भरपुर त्यही थियो । त्यस्तो साम्राज्यका अधिपतिलाई भाग्यमानी शब्दले मात्र काफी हुन्छ र ?
हुँदैन नि ।
हुँदैन भने पनि हर्नुस् न त्यस्ता भाग्यमानी, सुखी इन्द्रलाई किचिङ किचिङ टेन्सन भने परिरहेको रहेछ । यो कुरो भने अलि पछि थाहा भयो । उनलाई बेलाबेलामा यस्ता खाले समस्या आइपरेका रहेछन् । यौटा टेन्सन टुङ्गाए भने अर्को हाजिर हुने । त्यसलाई पनि टुङ्गाए भनो फेरि अर्को हाजिर हुने । भनौँ न समस्याहरू बेलाबेलामा फन्को लगाइ रहने । यस्तो घनचक्कर अहिलेको मात्रै हैन उहिल्यै देखिको हो भन्ने कुरो अनि जहिले जहाँ पनि यसो हुनु प्राकृतिक मान्नुपर्ने कुरो अनि सबै सबै समस्याहरू आउने जाने जीवनको चक्र हुन् र त्यो चक्र उति बेलै देखि चलेको हो भन्ने कुरो यिनै परिघटनाबाटै छर्लङ्ग हुन्छ ।
पाठकबृन्द अब अलिअलि खास कुरामा प्रवेश गरौँ ।
एक पटक महर्षि विश्वामित्रले कठोर तपस्या थालेछन्- इन्द्रको राज्यमा हलचल मच्चिएछ । जति जति निष्ठापूर्वक गर्न थाले रे उति नै इन्द्रलाई अधीरता भयो । राजगद्दी नै चैट हुने हो कि भन्ने भएछ । कसैले निष्ठापूर्वक कसैलाई हानी नपुराई आफ्नो काम राम्ररी गर्दा कसैलाई भय हुने कुरा पनि आजको हैन रैछ । ‘उल्ले राम्रो गरो भनी हामी सकिन्छ’ भन्ने मानसिकता पुरानै रैछ; हेर्नुस् ।
अर्को कुरा नि; कुर्सी खोसिने भय पनि आजको हैन उहिल्यै देखिको भय हो भन्ने कुरा यसबाट पुष्टि हुन्छ । आफ्नो शासन सत्ता, खाइपाइ आएको खोस्न खोज्नेलाई ठेगान लाउने बिचार भएछ- इन्द्रको । उनले तपस्वीको तप भङ्ग गर्न सर्व सुन्दरी अप्सरा मेनकालाई पृथ्वी लोकमा पठाएछन् । तपस्वीले आफ्नो अगाडि च्वाँक कन्या देखेपछि गरिआएको काममा ब्रेक लगाएछन् । उखानै छ नि कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर ! तपस्वी ठिमीतिर नलागे पनि गरिआएको हल्लीखल्ली गरेर ‘उनीतिर’ भने पल्किए । भन्न खोजेको- उनी मेनकासँग लहसिए । पिरतीको मिठो तिर्सना झन् झन् बढेछ । काम तमाम भएछ । भनौँ न यसरी देवराजले आफ्नो स्वर्गासन जोगाएछन् ।
विभिन्न कालखण्डमा आफ्नो शासन सत्ता जोगाउन इन्द्रले अनेक गरेका हुन् । अघि नै भनिसकियो यो कुरो । उसो त देवराज इन्द्र कहिलेकाहीँ हातापाई मै पनि उत्रिएका हुन् । बढे बढे सङ्ग्रामहरू इन्द्रको राज्य जोगाउन मात्र भएका छन् । कति कति नारीपुरुषहरू घरबार विहीन भए, मारिए हिसाब राखेर अब साध्य छैन । जे होस हतियार उठाएर हुन्छ कि विश्वामित्रलाई झैँ अप्सरा प्रयोग गरेर हुन्छ, अनेक तिकडम लगाएर इन्द्रले आफ्नो शासन सुरक्षित राखिराखे । ऋषि मुनी वा सुड्डोहरूलाई फस्ल्याक फुस्लुक पार्न सबै भन्दा ‘वेस्ट’ अप्सन भनेको तरुनी हतियार हो भन्ने इन्द्रले उती बेलै प्रमाणित गरेका हुन् । कुर्सीमा बसिराख्न चाहनेले यत्तिको जालझेल त जानेकै हुन्छन् नि; हैन र ?
तर, यति गर्दा पनि समस्या भने ज्युँका त्युँ रह्यो । उति बेला; कलिअघि यी कुरा जायजै थियो होला । लौ त बरै ठिकै मानियो । तर अहिले पनि ! अहिले मतलब कलियुगमा पनि त्यही खतरा ‘रिपिट’ भइदिँदा अलि झ्याउ लागेको चाहिँ हो । हद हुन्छ नि जेको पनि । इन्द्र जस्तालाई सधैँ डराएर बस्न पर्नि यार ! आनन्दले उपरखुट्टी लगाएर बसेको देख्नै सहेनन् । यो सत्ताको तिर्खा फेरि कहिल्यै नमेटिने जात हैछ । हग्न मुत्न सहारा चाहिने बेलामा पनि तलतल लागिरहने । यो कुरोलाई अहिले एक छिनलाई छोडाैँ ।
मुख्य कुरा के भन्दा- पृथ्वीलोकका मनुष्यहरूको चाला देखेर फेरि बेचैनी आउनुपर्यो इन्द्रलाई । तनावको कुरो यही हो । सुरु सुरुमा त एकदुईजना देखिन्थे । ठुलो चिन्ताको विषय लागेन । ठिकै थियो । चलेकै थियो । पछि त ह्वारह्वारती गाँठे ! सबै व्यस्त छन् । कुनै विशेष पात्रमा लीन छन् । सबै घोप्टो परेर त्यसमा व्यस्त छन् । भलै उनको राज्य धरमराएको थिएन । धरमराएको त उनको मनै हो । तैपनि एकाएक केही भयो भनी ? चिन्ताको बात त हो नि । चिन्तामा परेपछि निन्द्रा लाग्छ र ? रातैभरि मनमा हुन्डरी चलिरह्यो इन्द्रको । पछि यो कुरा इन्द्रको मात्र रहेन; पूरै देवलोक बासीको चिन्ताको विषय बन्यो ।
के हो त्यो ? के हो त्यो ? के भइराखेको हो ? के गर्दै हुन् ? मनुष्यहरू साथमा भएर पनि आ-आफ्नो तवरले एकान्तबास गरेका छन् । कुनै विशेष पात्रमा लीन छन् । के हो त्यो ? त्यो पात्रका बलमा यो कस्तो तप हो ? अरे परिवार नै साथमा छन् तर बातचित छैन । मित्रजन साथमा छन् गफगाफ छैन । के हो त्यो ? उति बेला एकदुई जनाको कठोर तपले नै इन्द्रको सातो लान्थ्यो भने अहिले हजारौँ, लाखौँ लागिपरेका छन् । अरू त अरू साना साना बालबालिका पनि त्यस पात्रमा मग्न छन् ? के अब देवराज इन्द्रलाई असुर भन्दा मनुष्यबाट बढ्ता खतरा भएको हो ? यो एक यक्ष प्रश्न बन्यो; देवलोकमा । के सामूहिक तपका बलले इन्द्रराज्य खोस्न उद्धत त छैनन् मनुष्यहरू ? स्वर्गलोक त्राहिमाम् जस्तो देखियो ।
यस विषय उपर अनुसन्धान नथाली भएन; सबैले यस्तै ठाने । फलस्वरूप सत्यतथ्य पत्ता लगाउने हेतुले अमरावतीमा बैठक बस्यो । आयोग गठन भयो । विधान बन्यो । अहिलेलाई प्रारम्भिक अनुसन्धान बाल ब्रह्मचारी महर्षि नारदले गर्ने भए । वास्तवमा नारदले तदारुकता पनि देखाए । सूचना तथा सञ्चारको जिम्मा नारद कै भएर पनि होला । कुरो बुझ्ने, कुरा यताउति लैजाने, ट्याकटुक पार्ने नारदका लागि ठुलो विषय पनि थिएन । तर उनलाई अनुसन्धान कुन ठाउँबाट थाल्ने; थोरै अलमल चाहिँ भएकै हो । उनले धेरै बिचार गरे । अन्तिममा उनको मनमा यौटा ‘आइडिया’ सुझ्यो । सानो तर सघन ठाउँबाट सुरु गर्ने । त्यसो हो भन्देखिन् मन्दिरहरूको सहरबाटै किन नगर्ने त ? अमरापुरी कान्तिपुरी !
स्वर्गको एक टुकडा त नेपालै पनि त हो नि । पटक पटक पुगेको, जाने बुझेकै ठाउँ भएर होला नारदले अबेर गरेनन् । उनी अवतरित भए; गौशाला चोक, पशुपति क्षेत्रमा । हुन पनि यो त थियो देवीदेवताहरूको पुरानो बासस्थलो । उनी आफैले बेस्सरी रुचाएको पवित्र थलो । उनी गौसला चोकमा उत्रिएर यसो यताउति हेर्दैथिए । चोक देखि ४०-५० मिटर पर मनुष्यहरूको गुजुमुजु भिड देखे । केही सवारी साधन यत्रतत्र पनि देखिन्थे । यौटा सानो सानो गाडी टुँई टुँई कराउँदै पनि थियो । नारदलाई त्यहाँ पुग्न मन हुँदाहुँदै पनि जान सकेनन् । रिङरोडमा बाटो काट्नै दुःख ! उनी त्यता नलागेर पशुपतिनाथको मन्दिरतिर लागे ।
उनी गेरु वस्त्रको योगी पहिरनमा थिए । तर बडो सुन्दर र भिन्न लाग्दथे । वीणाका साथमा एक सुकुमार योगी देख्दा उनका उपर सबैको दृष्टि परेको थियो । कलियुगेहरूको भाषामा भन्ने हो भने उनी झिल्के देखिएका थिए ।
नारद पशुपतिनाथको दर्शन सकेर परिसरबाट बाहिरिए । बाहिरिने बित्तिकै कतैबाट नारी आवाज सुने, ‘बाबा ! यौटा सेल्फी खिचम् न ।’ शीघ्राति शीघ्र उनको पासमा यौटी कन्या आइपुगी । विशेष पात्र आफ्नो अगाडि तेर्साई । पात्र तेर्साउँदा तेर्साउँदै उपरोक्त कन्या शनैः नारदसँग टाँसिई । पात्रमा फोटाहरू खिची । नारदले उक्त कन्यासँग बात-संवाद केही गर्नै पाएनन् । किनकि त्यो बडो हतारिएर हिँडी ।
‘के हो सेल्फी ?’
‘के हो उसले प्रयोग गरेको पात्र ?’ नारदको मथिङ्गल घुम्यो । सोध्नै खोजेका थिए; ऊ उम्किहाली । कतै आफ्नो गन्तव्यतिर लागी । फेरि अरूहरू उसै गरी उनी समीप आए । टाँसिए । त्यो पात्रतिर हेरेर ओठ चोसे बनाए । नारदलाई उतै हेर्ने पनि भने । ठ्यामठ्याम्ती पात्रमा फोटाहरू टाँसिए । नारदले- ‘यो के हो नानीबाबु हो ?’ भनेर सोध्न त सोधे; उनीहरू भने पात्रमा टाँसिएका फोटाहरू भनम् वा सेल्फीहरू हेर्नपट्टि लागे । अनि राम्रो नराम्रो आएको विषयलाई लिएर गलफती सुरु गरे । कोही कोहीले त सेल्फीमा आफ्नो आँखा चिम्म देखिएको भनेर चित्त दुखाए । कोही सेल्फीमा आफू छेकिएको भनेर फेरि सेल्फी खिचम् पनि भन्दै थिए । यतिकैमा उनीहरू बिच भनाभन भयो । खै के भयो कुन्नि पछि उनीहरू नाङ्गाबाबाहरू बस्ने ठाउँतिर उक्लिए । यत्ति हो उनरले नारदको जवाफ दिएनन् ।
एक प्रकारले त नारद पशुपतिप्रसादको फिल्मको हनुमानझैँ भए मनुष्यहरूको नजरमा । उनीसँग फोटो खिच्ने अनि हिँड्ने । भ्याएनन् कि बाल दिएनन्; ती उनैले जानुन् । तर नारदको कौतुहलता कसैले मेट्दिएनन् ।
यहाँ चित्त नबुझ्ने कुरा चाहिँ के भने नि- एक भद्र व्यक्तिको मान मनितो त केही भएन भएन । लौ उनको प्रश्नको जवाफ पनि दिएनन्- त्यो पनि केही भएन । तर बाल ब्रह्मचारीलाई नै च्याप्च चुप्प समाए । अँगालै हाले । यसो गर्दा के नारदलाई जिरिङ’ जिरिङ् हुन्न र ? नकचरा-नकचरीहरू ! काउकुती नै लाइदिने पनि ! ‘के चाला हो ? कति छिल्लिएका हौ ?’ नारदले भने भन्न त; कसैले वास्ता गर्दिए पो । ङिच्च दाँत देखाउँदै उल्टै पात्रमा हेरेर खिचिक्क पारे । दिक्कै भयो यो चालाले ।
मनुष्यहरूको बेवास्तापछि झिजिएर उनी बागमती किनारतिर गए । मनुष्यहरूले सेल्फी खिच्दा थुतुनो, ओठ बङ्गाइको नमुना उनले अचम्म मानेर हेरेका थिए । बङ्गाउँदा बङ्गाउँदा कुन दिन सुँगुरको मुख झैँ हुने हो मनुष्यहरूको मुख पनि । भगवानले राम्रै मुख दिएका थिए । अहिले आफै जानीजानी सुँगुरको बनाउन खोज्दै छन् । मनुष्यहरूको मतिभ्रष्ट ज्यादा भएछ । मनमा यिनै कुरा खेलाउँदै नारद अलि पर पुगे । त्यहाँ पनि केही कुमारहरू उनले शोधको विषय बनाएको पात्रसँग घोप्टो परेर केही न केही खुसुखुसु गर्दै थिए । थुप्रै त थिए नि त्यहाँ तर बातचित थिएन । कोही पात्रमा हेरेर हाँस्दै थिए । कोही पात्रसँग कुरा गर्दै थिए । या पात्र हेरेर ओठ चोसे बनाउँदै थिए । उनलाई ताजुब लाग्यो । अरे ! यता पनि त्यस्तै छ । यी मोराहरूले पनि अघिकाहरूले झैँ गर्ने होलान् । अनावश्यक झन्झटबाट बच्न उनी अलिक पल्तिर गएर बस्ने बिचार गरे । उनी उठेर हिँड्दै थिए; यौटा कुमार ‘केटो’ दगुर्दै हस्याङफस्याङ गर्दै आयो । सास फुलेर होला ह्याँ ह्याँ गर्दै सोध्यो, ‘बाबा ! माल छ ?’
‘माल..?’
‘माल’ भन्ने शब्दबारे नारद अनविज्ञ जस्तो देखिए । स्वर्गमा मालको अर्थ अर्कै हुन्थ्यो यहाँ के होला ? उनी अलमलिए ।
‘जी के जी !’ कुमार केटाले आफ्ना हत्केलाहरू मल्दै अर्थायो ।
‘के.. जी… ?’
‘मजाक नगर्नु न बाबा ?’ उसले कपाल कन्याउँदै भन्यो ।
तर नारद अझ अलमलमै थिए । उसले इसारा गर्यो, दुई हात जोडजाड गर्यो । एक प्रकारले चिलिम समाए झैँ पो देखियो । ‘ए… चिलिममा हाल्ने कुरो !’ नारदले बुझेछन् । अनि भने, ‘शिव प्रसाद ?, बालक… मसँग काँ हुनु ? म तेस्तातेस्ती खान्न । नखानीले लिएर हिँड्ने कुरा पनि भएन ।‘
आशले एक मानो राल काढेको केटोले उनको कुरा सुनेर हप्याक हुँदै फेरि कपाल कन्यायो । दारी देब्रे हातले रगड्यो । अझ उसै बेला नारदले मुस्कुराउँदै उसमाथि उपदेश थोपरे । बडो भनेको मान्ला झैँ गरेर सम्झाउन लागे, ‘बालकहरू त्यस्ता त्यस्तो नखानु । त्यसले रोग निम्ताउँछ । भएको धन-सम्पत्ति रित्याउँछ ।‘ ज्ञानी ऋषिमुनीहरूलाई अगाडि राखेर सम्झाए झैँ के हुन्थ्यो त्यो गाँजा खान नपाएर खर्रिएको ठेट्नोलाई; उल्टै मुरमुरियो । भनाैँ न रन्कियो नै । भन्दै थियो, ‘पैसा दिन्छु भन्दा पनि !‘
‘पैसाको कुरा हैन बालक… मसँग छँदै छैन ।‘ त्यसै बेला नारदले अर्को कुरा पनि भने, ‘कानुनले वर्जित गरेको कुरा खाने हठ नगर बालक ।’
नारदको कुरो सुनेर केटो हाँस्यो, उसको मुखमा “भोला” थियो कि “शुद्ध प्लस” थियो कि के थियो ? मुख रातै थियो । राता गिजा देखाएर, आफ्नो हात नारदतिर तेर्साएर भन्यो, ‘कुन जमानामा छौ सोल्टा ? सरकारले बजेटै छुट्टाइसक्यो गाँजा खेतीको लागि ! अलिपछि त यसकालागि तिमी जस्ता बाबाहरूलाई गुहार्नै पर्दैन ।’
केटोको कुरा सुनेर नारदलाई रिस उठे उठे जस्तो देखियो । हुन त नारदलाई कोही, कसैबाट रिस उठ्ने हैन । तर यसपालि हलुका, अलिकति मात्रै, हो कि हैन कि जस्तो रिस उनको बोलीबाट दर्सिन्थ्यो । उनले भनेका थिए, ‘तिमरको सरकारले जे सुकै गरोस् । मसँग तिम्ले भनेको जिनिस् छैन ।’
‘जी नबोक्ने पनि बाबा हुन्छ कैं ?’ केटो च्याँठियो । उसले कचकच गरिरहेकै थियो । अझै बढ्ता पो होला भन्ने मानेर नारदले बाटो नापे । भनौँ न दौडेको चालमा उसबाट उम्किए । बेलुका पनि हुन लागेको थियो । घाम तेर्पाएँ तेर्पाएँ हुँदै काठमाडौँको घरहरूसँग छेलिँदै यौटा घरको पुछारतिर गएर सुस्ताउने तरखरमा थियो । उसै बेला बागमती किनारमा आरती हेर्न मनुष्यहरू जम्मा हुँदै थिए । माइकमा भजन बजिरहेको थियो । गुन्जन थियो कतै । कतै मन्दिरको घण्टा ट्वाङ ट्वाङ बजेको सुनिइएको थियो । कतै कतै बाँदरहरूले भक्तजनका झोला झम्टिरहेका पनि देखिन्थे । कतैकतै कुम जोडेर बसेका कुमार कन्याका जोडी देखिन्थे । कुमार कन्याका काखमा कतै कन्या कुमारको काखमा टाउको बिसाएर त्यही पात्र खेलाउँदै बसेको दृश्य ज्यादातर देखे नारदले । उनलाई त्यो पात्रको विषयमा ती जोडीसँग नै सोधौँ झैँ पनि भएको थियो तर कति बेला कति बेला ती जोडी प्रेमिल हुँदै एकापसमा थुतुनो पनि जोड्थे । त्यसो हुँदा नारदलाई ‘डिस्टर्व’ गर्न मन लागेन ।
उनी बागमतीको किनारै किनार टहल्दै टहल्दै अगाडि बढे । अलिक पल्तिर यौटी कन्या (उनको चासोको) त्यस्तै पात्रमा व्यस्त थिई । उनलाई यकिन थियो त्यो त्यहीँ शङ्कास्पद पात्र हो जसमा ऊ गुनगुन गरिरहेकी छे । यसका विषयमा यसले निश्चय भन्ने छ । एक्लै पनि रहिछ । हेर्दा सोझी सोझी देखिन्छे । सुशील, सुवासिनी पनि लाग्छे । नारद “ओभर कन्फिडेन्स” हुँदै उसका समीप गए । उसो त ऊ व्यस्त नै थिई । उसले बोल्न सकेपछि सोधौला भनी नारदले पर्खिरहे । उसैतिर हेरिरहे । उसले बोलिरही । नारदले पर्खिरहे । उसले बोलिरही । नारदले पर्खिरहे । हे ईश्वर ! आधा घन्टा बितिसक्यो कुरै टुङ्गाउँदिन । नारदलाई बढ्तै हतारो भयो; धैर्यताको पनि त सीमा हुन्छ नि ! ऊसँग सोध्नलाई उसको छेवैमा गए अनि भने, ‘बालिके ! मलाई यौटा कुरा बताऊ !’
‘को हौ तिमी ? के चाहियो… ?
अनि तुरुन्तै फेरि भनी, ‘… ह्या उता जाऊ !’ नारदको कुरा भुइँमा झर्न नपाउँदै यी सबै कुरा उसले भनेकी थिई । बडो नरुचाएर, घिनाएर भनेझैँ थियो उसको बचन । नजाने कारण के थियो ? सायद कोही जोगी जस्तो आफ्नो नजिक आएर आफूलाई घुरिरहेको उसलाई मन परेकै थिएन । सायद कता कता आफूलाई असुरक्षित महसुस गरेकी थिई कि ? उसले यत्तिकै भन्न मात्र नसकेकी हो जस्तो लाग्थी । तर जब नारदले एकबाजी के बोले ठुलो मौका पाए झैँ प्वाक्क थुतुनो खेलाई ।
‘सुन् त सही । बस् एक कुरा सोध्छु ? यो के हो ?… के काम हो यसको बताऊ ?’ उनले उसको खस्रो बचनलाई सहेरै उसले बात गरिरहेको पात्रतिर देखाएर सोधे । तर यथार्थमा उसले नारद नजिकै आएर उसलाई घुरिरहेको रुचाएकी रैनछ । तब न उसले घृणाले बडाबडा आँखा पारी । खाउँला झैँ गरी । देवलोकमा त्यसरी हेर्नुलाई त्रिनेत्र खुल्नु भनिन्थ्यो होला । त्यसैले नारद एक छिन रनभुल्लमा परे । त्यही पात्रमा कन्यासँग गफिने कसैले सोध्दै थियो, ‘को हो ?… के भो ?’ भनेर ।
‘खोइ कोही जोगी हो; ल्याङल्याङ गरिरा’छ‘, उसले दिक्दार मान्दै सुनाई ।
‘एक-दुई रुप्याँ दे’र पठाइदे ।‘ पात्रमा गफ गरिरहेको कुमारले भनिसकेपछि उसले जिन्सको पाइन्टबाट पाँचको नोट निकाली । नारदतिर फ्याँकी ।
‘मैले पैसा मागेको हैन बालिके ।‘
‘के चाइयो त ?’ उसले नजर नउठाईकनै भनी ।
‘मागेको हैन । मेरो प्रश्न छ; बस् बताऊ ।‘
‘जान्चस् कि हानम् चप्पलले ।‘
शिव ! शिव ! के भनेकी ? किन पड्किएकी ? उसको ब्यहोराले नारद साह्रै खिन्न भए । हेर्दा सोझी सुवासिनी देखिँदैमा सबै असल हुन्नन्; तिनका बचनले अस्त्र शस्त्र पनि फाल्छन् भन्ने कुरा नारदले बल्ल थाहा पाए ।
ऊ भने अझै फतफताउँदै थिई, ‘एक घण्टाको डाटा लिएको, कुरै गर्न दिन्न यार ! कस्तो तोरी रैछ ?’
नारदलाई उसले तोरी बनाइदिई । नारद झन् हीनताले छोपिए । भन्ने हो भने त उनको ठुलो मानहानि भएको हो । यस्ती राक्षेस्नीलाई देखेर नारदलाई श्रापै दिन मन लागेको हो; तर के गरुन् ? यो अनुसन्धानको विधानमा पृथ्वीलोकमा त्यस्तो केही गर्न नपाउने भनिएको थियो । सायद स्वर्गका देवताहरूलाई यति त थाहा थियो- कलिमा यस्ता कुराउपर श्राप दिन थाल्ने हो भने पृथ्वीलोकमा औलामा गन्न मिल्ने मनुष्यहरू मात्र बाँकी रहनेछन् । त्यसैले त अनुसन्धानको विधान त्यस्तो बनाए । विवश नारदलाई त्यहाँ बसी रहन मन लागेन । कुँडिएको मन लिएर उनी लरङलरङ हिँडे ।
अघिको कुरालाई भुल्ने प्रयास होला, ‘नारायण ! नारायण ! नारायन !’ भन्दै उनी हनुमान मन्दिरको प्राङ्गणमा पुगे । त्यहाँ पनि मनुष्यहरू बडो व्यस्त लाग्थे । जो देखेका छन्- उनीहरूको हातमा पात्र छ । त्यही पात्रलाई मसारेका छन् । गुनगुन गरेका छन् । या त मन्टो निहुराएर त्यसलाई थिचेका छन् । मनुष्य मनुष्य बिचको सोधपुछ, भलाकुसारी केही छँदै थिएन । यस्तो त देखेका थिएनन् नारदले अघिल्लो पृथ्वीलोक यात्रामा । यस प्रकारको मनुष्यको ताल सार्वजनिक थलोमा मात्रै होला; नारदले अड्कल् काटे ।
त्यति नै खेर नारद बसेको ठाउँनेर एक जना वृद्ध आए । धेरै वृद्ध त हैन तर पूरै श्वेत कपाल भएको । कमसेकम साठीको हाराहारीको । ती वृद्ध नारदको छेउमा बसे । उनले मन्त्र झैँ केही पाठ गरे । अनि पाठ गरे हनुमान चालिसा । पहिला त नारदलाई लाग्यो- उसले पनि त्यही पात्रसँग गुनगुन गर्दै छ । पात्र विहीन त मान्छेहरू नहुँदा रहेछन् पृथ्वीमा । उनलाई दुबिधा भयो- त्यस वृद्धसँग पात्र उपर सोधखोज गरूँ कि नगरूँ ? कतै पड्किने पो हो कि ! त्यसै बखत वृद्धले आँखा चिम्लिए । ध्यान गरे । नारद उनैलाई पर्खिएर निश्चय गरे- उनैलाई सोध्छु । वृद्धले आँखा खोल्दा आफ्नो अगाडि देखे; एक गेरु बस्त्रधारी, वीणा बोकेको युवक अघिल्तिर मुसुमुसु हाँसिरहेको । त्यो युवक पत्याउनै नसकिने तर बडो ज्ञानले ओतप्रोत आभायुक्त पनि लाग्यो । वृद्धलाई उत्सुकता जाग्यो; सोधे, ’बाबु कहाँबाट आउनुभयो ?‘
‘वैकुण्ठबाट‘, नारदले सिधा जवाफ दिए ।
‘ए वैकुण्ठपुरबाट ?’
‘हैन हैन । भगवान् नारायणको साम्राज्यबाट ।’
‘ए नारनघाटबाट ?’
‘हैन म वैकुण्ठबाटै आएको हुँ । माता लक्ष्मी अधिपति श्री भगवान् विष्णुको साम्राज्यबाट… । म भगवानको परम भक्त महर्षि नारद मुनी हुँ ।’
नारदका कुरा सुनेर वृद्धले अट्टहास गरे । पत्याउने कसरी सोझै वैकुण्ठबाट आएको भन्नेलाई ? थोर बहुत ज्ञानी मानेको युवकले ठिस जस्तो कुरा गर्यो । यस्तै कोही कोही भेटिन्थे बेलाबेलामा- आफूलाई भगवान् मान्नेहरू; आफूलाई भगवानको परम भक्त भन्नेहरू । एकसरो भएका । धोती टोपी खुस्किएका । थाकथलो गुमाएका । मनोरोगीहरू ।
हठात् वृद्धको नारदप्रतिको दृष्टिकोण बदलियो । खास गरी दयाले नै बदलियो भनम न । मुसुमुसु हाँस्दै वृद्धले सोधे, ‘किन योगी हुनुभयो बाबु ?’ उनले उसको बेसुरे परिचय छोडेर आफ्नो अनुमानलाई प्रस्टाउने हिसाबले सोध्न थाले । उनको अनुमान ती योगी मानसिक रूपमा चुस्त दुरुस्त हुन भन्ने नै थिएन । आफ्ना अगाडि खुदै देख्दै थिए- एक युवक अकालमा योगी बन्न पुगेको छ । भन्छ वैकुण्ठबाट आएको । बिना कुनै कारण किन गृहस्थी त्यागे होला ? उनले अनेक तर्कना मनमा खेलाउँदै उसको मुखमा हेरिरहे । नारद पनि मजाकको पात्र बनिने ठानेर पूरा परिचय दिन नथालेर आफ्नो उद्देश्य बताउन थाले ? पहिलो उनको जवाफ थियो, ‘म अहिले योगी भएको हैन, ज्ञानी वृद्ध । म सधैँको योगी हुँ । यहाँ म अहिले अनुसन्धानमा छु ।‘
वृद्धले हाँस्दै सोधे, ‘केको अनुसन्धान गर्दै हुनुहुन्छ ?’
नारदले मोबाइल बोकेकाहरूलाई देखाउँदै भने, ‘त्यो के पात्र हो जसमा मनुष्यहरू लीन छन् ? म त्यसका विषयमा जान्न चाहन्छु ।‘
‘अरे योगीजी तपाई पनि ! …मोबाइलकै चक्करमा हुनुहुन्छ ?’ बुद्धलाई यकिन भयो, उनको अनुमान योगीका प्रति सही जस्तै भइदियो । के के न सोध्ला भनेको जैरी मोबाइलका बारेमा सोध्छ । के के न मोबाइलको अनुसन्धान गर्ने रे । यस्तालाई हावा खुस्किएको नभनेर के भन्ने ? वृद्धले एकछिन वाल्ल परेर नारदलाई हेरिरहे । नारद भने ‘मोबाइल’ शब्द जानेर फुर्किए । अलाप्दै थिए, ‘नारायण, नारायण…. ! यसलाई मोबाइल भन्छन् ?’ तत्पश्चात् नारदले वीणाको तारमा सरर्र औला दौडाए । ‘टुईं टुईं टिङ टिङ’ धुन झङ्कृत भयो ।
‘के मोबाइल कै कारण हो तपैँ योगी बन्नु परेको ?’ वृद्धले प्रश्न गरे । वृद्धको प्रश्न नारदको जवाफसँग कहाँ पो मिलेको थियो र ? बस् आफ्नै हिसाबले बेप्रसङ्गका वार्तालाप भए । पछि नारदले सोधे, ‘यो पात्र मतलब मोबाइलको काम के हो हजुर ?’
‘यसबाट टाढा टाढाका व्यक्तिहरूसँग कुराकानी गर्न सकिन्छ । यसबाट सूचना आदानप्रदान हुन्छ ।’ वृद्धले जवाफ दिए ।
‘यति मात्रै हुन्छ कि अरू पनि काम गर्छ यसले ?’
‘यसले संसारभरको सूचना तथा जानकारी दिन सक्छ । यसमा सूचनाहरू राख्न पनि सक्छौँ । यसमा गीत, सङ्गीत सुन्न सकिन्छ । युटुबमा भिडियो हेर्न सकिन्छ । गेमहरू खेल्न सकिन्छ । थुप्रै मनोरञ्जन यसबाट लिन सकिन्छ ।’ धेरै धेरै कामका विषयमा वृद्धले बताइदिए ।
‘राम्रै चिज रैछ त यो !’
‘राम्ररी प्रयोग गर्नेलाई त राम्रै छ नि । दुरुपयोग गर्नेहरूको सर्वस्व हरण पनि त गर्छ नि यसले ।’
‘दुरुपयोग कसरी हुन्छ यसको ?’
‘चौबिसै घण्टा यसैमा भुलेपछि दुरुपयोग भएन र योगी ? काम गर्नेहरू चौबिसै घण्टा मनोरञ्जनमा भुलेपछि के हुन्छ भन्नुस् त ? … चौबिसै घण्टा यसैमा भुलिरहने काम त कसैको हुन्न नि । तर हेर्नुस् त वरपर सबै यसैमा त भुलेका छन् । कसैले कसैको मतलब गरेको देख्नु भएको छ ? …आज यही गौशाला नेर यसैका कारणले ठुलो दुर्घटना भयो । ड्राइभरले सवारी चलाउँदा चलाउँदै मोबाइल उठाउँदा २ जना ठाउँका ठाउँ…. ३ जना हस्पिटलमा छन् ।’
‘मोबाइल उठाउँदा दुर्घटना कसरी …?’
‘स्टेरिङमा हुनुपर्ने हात मोबाइलमा… । दुई हातले चलाउने साधन एक हातले चलाएपछि के हुन्छ भन्नुस् त ?’
‘यसले हानी पनि गर्छ भन्ने के मनुष्यहरूलाई थाहा छैन र ?’
‘खै था’छ भन्नु कि; था’छैन भन्नु’
‘मतलब यो मनुष्यको योगबल, तपबल बढाउन, एकाग्रताको लागि होइन त्यसो भए ?
‘के हुन्थ्यो ! यो त विग्रहको स्रोत हो । विचलनको आधार हो ।‘
‘कसरी ?‘
‘जसरी, जुन दशाले तपैँ हिँडिरहनु भएको छ । यस्तै त गराउँछ यस पिचासले ।‘ नारद ती वृद्धका कुराले खङ्ग्रङ्ग भए ।
‘मलाई के भएको छ र ? मेरो दशा के देख्नुभयो ?‘ नारदले भन्न त भने तर वृद्धले नपत्याएको उनलाई आभास भयो । आखिर सत्य नै हो । सत्य कुरा कलियुगका मनुष्यहरूले झट्टै पत्याउँदैनन् । सत्य बोले पागल ठान्छन् । यस अर्थ पनि नारदले आफ्नो परिचयको रटान लगाइरहनु अनुपयुक्त ठाने । त्यो भन्दा क्षमता प्रदर्शन आवश्यक माने ।
क्षमताबाट परिचय बन्छ भन्ने नारदको बुझाइ जो थियो । उसो त परिचय जसरी पनि दिनु थियो । कति बेर अरूका नजरमा हावा खुस्किएको बन्ने हो र ? हैन भन्नुस् त ? यिनै ज्ञानी वृद्धलाई नै सहि अब नाम भनेर काम छैन क्षमता देखाउनु पर्छ भन्ने निर्क्योलमा नारद पुगे । उनले आँखा चिम्लिए । एकछिन प्राणायाम गरे । त्यसपछि हनुमान चालिसा सुन्दर अन्दाजमा गाए । गायत्री आह्वान गरे । गाए । त्यसै गरी ज्योतिषका अनि वेदका महत्त्वपूर्ण ऋचाहरूको मोहिनी लवजमा गुनगुनाए ।’
वृद्धले मन्त्रमुग्ध भएर सुने । अनि प्रश्न गरे; ‘साँच्ची भन्नुस् त तपैँ को हो ?’
‘अघि भनिसकेँ त, म नारदमुनि हुँ । काम विशेषले स्वर्गका राजा इन्द्रले पठाएर आएको हुँ ।’
वृद्ध फेरि हाँस्दिए । त्यसपछि नारदले गीताका, रामायणका, विष्णु पुराणका विभिन्न श्लोकहरू बाँच्न थाले । जुन अघि वृद्धले गुनगुनाएको मन्त्रको सार, स्वरूप, प्रसङ्ग समेत भन्दिए । वृद्धको मुख आँको आँ भयो । अन्ततः वृद्धलाई यौटा कुरा निश्चित भयो, उनका अगाडिको योगी महाज्ञानी हो । भलै पत्याउन मुस्किल परेको हो; ऊ नारद मुनी हो वा वैकुण्ठबाट आएको, देवराजले पठाएको के थियो तर पढे बुझेको मनुष्य भने अवश्य हो ।
गफ गर्दागर्दै अबेला भइसकेको थियो । यस्ता ज्ञानीहरूसँग शास्त्रार्थ गर्न राम्रै हुन्छ भन्ने ठानेर वृद्धले भने, ‘लौ हिँड्नुस् मेरो घर । उतै बसी बात मारौँला ।‘ वृद्धको हार्दिक आमन्त्रण नारदलाई पनि ठिकै लाग्यो । अनुसन्धानको दोस्रो चरण उनकै घरबाट पनि अगाडि बढाउन सकिएला । उनीहरू त्यहाँबाट हिँडे । ती वृद्धका साथ नारद आलिसान भवन भित्र प्रवेश गरे । बडो सुन्दर लाग्थ्यो; सब थोक भएको । उनीहरू भवनको भित्री भागमा पुगे । बैठक कोठामा चार मनुष्यहरू थिए । तर सबै व्यस्त लाग्थे । सबैका टाउका झुकेका थिए । के गर्दै थिए ?- भन्नै परेन ।
उनी र ती वृद्ध उनीहरूका समीपबाट गएको कसैलाई पत्तो भएन । वृद्ध बताउँदै थिए, त्यो मेरो जेठो छोरो । ती जेठी बुहारी । त्यो नाति । त्यो नातिनी । तर त्यो बैठक कोठा बडो सुनसान थियो । उनीहरू भित्र हिँडिरहँदाको पदचाप पनि कति चर्को सुनिएको ! अर्को कोठामा यौटा केटो लम्पसार परेर सुतेको थियो तर ऊ पनि थियो घोप्टै परेको । वृद्धले चिनाए,’ मेरो कान्छो छोरो ।‘ अर्को पल्लो कोठामा यौटी सुकुमारी थिइन् । उनी बिस्तारामा घोप्टिएर ल्यापटप चलाउँदै थिइन् ।
अन्ततः वृद्ध र नारद यौटा बडेमानको कोठामा गए । त्यहाँ दराजमा पुस्तकहरू टन्नै थिए । नारदलाई पनि हेक्का भयो, यी वृद्ध पनि ज्ञानी हुन् । नारद र उनी गफिन थाले । नारदले छोटकरीमा नै दुइटा पुराणका कुरा सुनाउँदा अबेर भइसकेको थियो । त्यतिन्जेल उनीहरूलाई कसैले खाना खानै बोलाएन । पछि वृद्धले ‘खानाको स्थिति के छ ?’ भनेर आफ्नो कान्छो छोरोलाई बोलाए । उसलाई सोधे । उसले आफ्नी बैनीलाई सोध्यो । बैनीले भाउजूलाई सोधी । भाउजूले दाइलाई सोधी । ए बाबा ! खाना त बनेकै रैनछ । घरमा पाहुना आउँदा हेर्नुस् त यो स्थिति !
तर आखिरमा सबै कुरा बिगारेका रहेछन् वृद्धले । आज साउथ इन्डियन खाना आफैले बनाएर खुवाउने भनी बिहान जेठा छोराबुहारीका अगाडि उद्घोष गरेका रहेछन् । दिनभरि युट्युबमा साउथ इन्डियन खाना “डोसा, साम्बर, ईडली” कसरी बनाउने भन्ने भिडियोहरू हेरेर उनी पशुपतितिर लागे । नारदसँग गफिँदा समय बितेको पत्तो भएन । फर्किंदा ढिला पनि भयो । युट्युबमा पाकेको खाना उनको भान्सामा आफै पाक्दिएन । आफैँ नकस्सिई पाक्छ त ? पाक्दैन नि ।
बुढाले यो कुरो झल्याँस्स सम्झिए अनि बल्ल भान्सातिर कुदे । बिहान छोराबुहारीलाई गफ दिएको, युट्युबमा पाकेका खाना अहिले बनाउने समय थिएन । त्यसैले गुन्द्रुकको झोल र भात बनाउने बिचार गरे । उनी भान्सामा भुले नारद बैठक कोठामा एकछिन आङ तान्दै बसे । रातीको दश बज्न आँटेको थियो । भोकले ग्यास्टिक जगाउला जस्तो भइरहेको थियो नारदलाई । मुखबाट अमिलो पानी आउन जो सुरु भएको थियो । पछि नारद पनि भान्सामा गए । नारदको घबराहटलाई बुझेर वृद्धले ‘फलफूल खानुहुन्छ र ?’ भनेर सोधे ।
‘हुन्छ त्यही भए पनि’ नारदले स्वीकारमा मन्टो हल्लाए । बेलुका अलिकति तातो जाउलो खाएर सुत्ने बानी भएका नारद फ्रिजमा राखेका चिसा स्याउ, खरबुजा खाएर भोकलाई अलिबेरलाई धकेल्न बाध्य भए । सँगसँगै यो र यस अघिका परिस्थितिहरूमा मनुष्यहरूको व्यवहारको मूल्याङ्कन नारदले गरे । मनुष्यहरू सामूहिक तप गरेका वा एकल तप गरेका भन्ने त्यस्तो केही पनि त हैन रैछ । मनुष्यहरू अझ बढी उल्झनमा परेको नारदले स्पष्ट देखे । यस्तो चाला गर्ने मनुष्यहरूसँग देवराज इन्द्र डराउनै पर्दैन । हो मोबाइलको उपयोगिता त रहेछ । तर जति बेला पनि यसैमा भुल्नु कतै कलि दुर्गतितर्फ मोडिएको त हैन ? नारदको मनमा यो प्रश्न भने उब्जियो ।
अबेरै भए पनि वृद्धले भातभान्सा तयार गरे । तर त्यतिन्जेल उनलाई सघाउन परिवारका कोही पनि आएनन् । पछि वृद्धले खाना बनिसकेको जानकारी परिवारका सदस्यहरूलाई गराए । अनि पाकेको खाना वृद्धले पाहुनालाई र आफूलाई पस्किएर दिन आग्रह गरे । छोरीले ‘ईम्पोर्टेन्ट च्याट’ भनेर आउन मानिन । सानो छोरोले ‘टिकटकमा लाइभ बसेकाले आउन सक्दिन‘ भन्यो । आएन । जेठो लन्ठू वास्तै नगरी घोप्टे परिरह्यो । बुहारीले नसुने झैँ गरी । सानी नातिनी रोइरहेकी थिई । उसलाई मोबाइल दिई अनि झर्किंदै आफ्नो कोठातिर लागी । आखिर वृद्धले नै खाना पस्किए । नारदलाई सक्दो सन्तुष्ट बनाउने प्रयास गरे ।
उनीहरूले खाना खाएर उम्किदा पनि परिवारका अन्य सदस्यहरू आ-आफ्ना मोबाइलमा, ल्यापटपमा व्यस्त थिए । अचम्मको कुरा घरमा आएको पाहुनासँग परिचय सम्म गरेनन् उनीहरूले । लौ त बरै सबै मेसिन भैसकेका प्रतीत हुन्थ्यो । नारदलाई लाग्यो – यी मनुष्यहरू झैँ यिनीहरू बिचको सम्बन्ध, संस्कार पनि घोप्टो परिसकेको रहेछ । कलि झन् शर्मनाक भएको, मनुष्यहरू नितान्त एकाङ्की भएका, स्वार्थी भएका – उनलाई बोध भयो । कलिको उपयुगको- जुन ब्रह्माजीले सृष्टि गर्दा छुटाएका रहेछन्; यस्तो युग जुन ब्रह्माजीलाई हेक्का भएन, त्रिदेवहरूको योजनामा थिएन । यो युग ! यो घोप्टे युग कताबाट जन्मियो ?
या त यो युग हटाउन पर्यो या त नियमन गर्नुपर्यो । उस्तै परे घोप्टे युगको व्यवस्थापनका लागि भगवानले नयाँ अवतारमा जन्म लिनुपर्ने आवश्यकता हुन सक्छ । भगवानको नयाँ अवतारले असुर मोबाइल र त्यसका मतियार वाइफाइ, डाटा, अरू केके हुन् तिनको आवश्यक परे संहार गर्नुपर्ने हुन्छ । तब बल्ल मनुष्यहरू बिच करुणा, प्रेम, सम्मान उजागर होला । यी सबै कुराको खाँचो नारदले महसुस गरे । फर्किएर नारदले यसै विषय उपर बृहत् शोधपत्र तयार पारे ।
******
नारदले तयार गरेको शोधपत्र देवराज इन्द्रलाई बुझाए । त्यस शोधपत्रका विषयमा छलफल गर्न देवराज इन्द्रले बैठक डाके । सम्पूर्ण देवी देवता लगायत वैकुण्ठ निवासी श्री विष्णु, लक्ष्मी, ब्रह्मा, शिवजी, लगायत संसारका अन्य धर्मगुरुहरू जम्मा हुनुभयो ।
घोषणा-पत्र जारी भयो, “घोप्टे युगमा बढेको नैराश्यता, एकाङ्कीपन अनि निर्जनता, निरर्थकता, विषादको अन्त्य गर्न भगवानले पुनः अवतार लिनुहुनेछ ।”
घोषणा सँगसँगै बैठक समापन भयो । सबैले जानकारी पाएर सभाबाट निस्कँदै थिए । अपर्झट केही छुटे जस्तै नारदले उपस्थित सबैलाई रोकिन आग्रह गरे । अनि सबै देवीदेवतालाई लस्करै बस्न पनि लगाए । त्यसपछि आफू अलिकता सबैका अगाडि रहेर खोकिलाबाट यौटा पात्र(मोबाइल) झिके । आफ्ना अगाडि तेर्साए । त्यसतिर हेर्न सबैलाई अनुरोध गरे । अनि भने, ‘सबैले चीज भन्नुस् ।‘ चीज भन्दा हाँसेको तस्बिर आउँछ भन्ने नारदले थाहा पाइसकेका थिए । असलमा केही विशेष होला भन्ने ठानेर देवीदेवता, भगवानहरू सबैले नारदको आग्रह मानिदिनु भयो । नारदको त्यस पात्रबाट आवाज आयो- “खिचिक्क !”
त्यो तस्बिर स्वर्गको पहिलो सेल्फी भनेर कहलियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

