“यात्रीगण कृपया ध्यान दिजिए ! गाडी संख्या … पटना से चलकर जयनगरको जाने वाली… एक्सप्रेस कुछ हि देर मे प्लेटफर्म न. १ से चल्ने वाली है ।”

यो उद्घोषसँगै म ट्रेन समात्न दौडिएँ । पटना घुमेर पटनाबाट जयनगर जाने ट्रेन रातीको ११ बजे चढेको थिएँ । ट्रेन आफ्नो निर्धारित समयभन्दा ढिलै चलिरहेको थियो । बिहान आठ बजेसम्म पुर्‍याउनुपर्ने थियो तर दुई-तीन घण्टा ढिलै हुन्छ जस्तो लाग्यो ।

बिहान सात बजे निद्रा खुलेसँगै अहिलेको नयाँ अपडेट थाहा पाउन फेसबुक खोलें । स्क्रीनमा एउटा खबर भाइरल भइरहेको थियो ।

खबर थियो, “फलानो नाम गरेको मान्छे दुई दिनदेखि सम्पर्कविहीन भएकोले निजलाई देख्नेले फलानो नम्बर अथवा नजिकको प्रहरी चौकीमा खबर गरिदिनुहोला ”

त्यो हराइरहेको मान्छे अरू कोही नभएर मेरै साथी गुप्ता थियो । सोचें, “दुई दिन सम्पर्कविहीन हुँदैमा आत्तिनु नै पर्दैन । मोबाइल बिग्रियो होला अथवा हरायो होला । घरमा कलह भएर जानाजानी फोन नलाग्ने बनाएर राखेको होला अथवा चिन्तै नगर्नुपर्ने केही भयो होला ।”

खासमा ऊ इलाम घुम्न जाने भनेर घरमा जानकारी गराएर हिंडेको थियो । दुई दिनभित्र ऊ घर फर्किसक्ने बताएको थियो तर भोलिपल्टदेखि उसको मोबाइल बन्द आइरहेको कारणले परिवारमा चिन्ता बढेको थियो । लगातार खोजतलास जारी थियो ।

म आफ्नो घर फर्केको चार/पाँच दिनपछि ऊसँग सम्बन्धित एउटा खबर फेरि भाइरल भैरहेको थियो । खबर थियो, “विगत चार/पाँच दिनदेखि हराइरहेको मान्छे फलानो गेस्ट हाउसमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको छ । हत्या भएको हुनसक्ने आशंका गरिए पनि स्थलगत अनुसन्धानबाट प्रहरीले आत्महत्या भएको पुष्टि गरेको छ । आत्महत्या रातीको समयमा भएको, उसले सिंगल कोठा लिएको, सिसिटिभी फुटेजबाट वारदातको समयमा ऊ एक्लै भएको र बिहानसम्म पनि ‘चेकआउट’ गर्न नआएपछि ढोका फोडेर हेर्दा झुन्डिएको अवस्थामा पाइएको छ ।”

गुप्ता बजारको मुख्य चोकमा रहेको गुप्ता कपडा पसल साहूको छोरा थियो । उमेरले त्यस्तै २७/२८ को अविवाहित केटो थियो । ऊ दुई वर्षअघि निजामती सेवाको खरिदार पदको स्थायी जागिर छोडेर आफ्नो बुवाको पसलमा बुवालाई सहयोग गर्न आएको थियो ।

ऊ भन्ने गर्थ्यो, “मेरो बुवाको यो पसलमा यत्रो लगानी छ । व्यापार पनि राम्रै भइरहेको छ । बुवालाई सहयोगी पनि चाहिएको छ । महिनाको पचास हजार त म आफ्नै पसलमा काम गरेर कमाउन सक्छु । अनि म किन घरबाट टाढा गएर जागीर गर्नु ? बुवाले परम्परागत तरीकाले चलाई रहनुभएको यो पसललाई आधुनिक बनाएर थप उचाइँमा पुर्‍याउँछु ।”

म प्राय: लुगाफाटा किन्न त्यहीं गुप्ता पसलमा जानेगर्थें । कारण एक दाममा कपडा पाइने र कपडा पनि राम्रो र टिकाउ हुने । यसरी पसलमा आउँदाजाँदा पसलको साहूको छोरा मेरो राम्रो साथी बनेको थियो । सिधा-सिधा कुरा गर्ने, खुलेर कुरा गर्ने, सभ्य र मर्यादित देखिने अनि सहयोगी स्वभावको थियो ।

मलाई चिनेपछि मसँग अरू ग्राहकभन्दा फरक व्यवहार गर्थ्यो । पसलमा जाँदा बस्नलाई कुर्सी दिन्थ्यो । आफूलाई चाहिने कपडाको विवरण सुनाएपछि ऊ आफैले मलाई सुहाउँदो कपडा रोजिदिन्थ्यो । भन्ने गर्थ्यो, “सर, तपाईं त कर्मचारी मान्छे । तपाईंलाई यस्तो रंगीचंगी सुहाउँदैन । यो कपडा लानुस्, थोरै महँगो त छ तर कपडा राम्रो छ ।” अरू पसलभन्दा दुई पैसा कमैमा मलाई कपडा बेच्थ्यो ।

उसले मास्टर्ससम्म पढेको थियो । घरको एक्लो छोरा थियो; भएकी एउटी बहिनीको भर्खर सात महीना अगाडी बिहे भएको थियो । परिवार सम्पन्नै थियो । गाउँमा प्रशस्त जग्गाजमीन थियो । दुःख भन्ने त्यस्तो केही थिएन । ऊ आएदेखि पसलमा व्यापार झन् बढेको थियो । छिट्टै बिहे गर्ने सोचमा थियो । मसँग सामाजिक, शैक्षिक, राजनीति लगायत हरेक विषयमा छलफल गर्थ्यो ।

ऊ भन्ने गर्थ्यो, “यत्रो आन्दोलन भएर देशमा संघीयता आयो । आफ्नो मधेश प्रदेश छ । हाम्रो प्रदेशमा जहिल्यै अनियमितताको खबर सुनिन्छ । अरू प्रदेशले कति-कति प्रगति गरिसक्यो । यसरी त यत्रो आन्दोलन गरेर ल्याएको संघीयताको के अर्थ भयो र !”

म भन्थे, “विकृति र विसंगति त देशैभरि छ । कतै कम त कतै बढीको कुरा हो । नयाँ-नयाँ व्यवस्था आएको छ, समय लाग्ला सबै कुरा सही हुन ।”

उसको सोच र विचार फराकिलो र ओजिलो हुने गर्थ्यो । एउटा बौद्धिक मान्छेले गर्ने किसिमले कुरा गर्थ्यो, लठयैत पारा थिएन । ऊ सँगको छलफल सार्थक र सान्दर्भिक लाग्थ्यो । मलाई पनि धेरै कुरा सिक्न पाएको अनुभूति हुन्थ्यो ।

उसको आत्महत्याको खबर पनि सेलाउन थालिसकेको थियो । दुःखद घटना भएको दिनदेखि कस्तो-कस्तो लागेर उसको पसलमा नगएको पनि ३/४ महिना भइसकेको थियो । एक दिन यत्तिका राम्रो सम्बन्ध थियो; गएर बुझौं न के स्थिति छ भन्ने भयो । दुःखको घडीमा टाढिनु त भएन भन्ने लाग्यो ।

पसल पहिलाजस्तो चहलपहल थिएन । ग्राहकहरू पनि एकाध मात्र थिए । पसल पनि प्राय: बन्द नै रहने गरेको सुन्न पाएँ । उसको पसलमा बुवा र एक-दुई जना कामदारहरू थिए । सबैको अनुहारमा शोक र दुःख प्रष्टै झल्किन्थ्यो ।

मलाई नमस्कार गर्नुभयो र सोध्नुभयो, “धेरै दिन भयो, मेरो पसलमा नाउनुभएको ?”

मैले ढाटें, “पहिल्यै थुप्रै कपडा किनेर राख्या छु । नयाँको आवश्यकता नै परेन ।”

उहाँसँग दुःख थियो । दुःख कसैसँग पोखौंजस्तो भइराखेको देखिन्थ्यो । शायद मलाई विश्वास गर्नुहुन्थ्यो कि – यो मान्छेले मेरो कुरा सुन्छ तर मलाई तौलिंदैन । हाम्रो प्रश्नोत्तर शुरू भयो ।

“उसले आत्महत्या नै गरेको हो ?”

“सबै प्रमाणले आत्महत्या नै भन्छ । हत्या कसरी भन्ने ? न कसैसँग झगडा गर्ने थियो न कसैको कुभलो गर्ने मान्छे थियो ।”

“अनि यत्रो घटना घटाउनुपूर्व त केही लक्षण त पक्कै देखायो होला नि !”

“शान्त मान्छे थियो । मसँग पनि कामले बोल्थ्यो । कहिल्यै मुखमुखै लाग्ने बानी थिएन । त्यस्तो व्यवहारमा शंकास्पद परिवर्तन देख्न सकिन ।”

“के लाग्छ तपाईंलाई, उसले किन यस्तो कदम चाल्यो ?”

“त्यो त थाहा भएन सर । के थियो मलाई भनेन कहिले । तर एउटा कुराको पछुतो छ कि मैले मेरो छोरालाई चिन्न सकिनँ ।”

“छोरालाई चिन्न सकिन ? भन्न के खोज्नु भएको ?”

“हजुर । यो अनुशासनको पाठ पढाउँदा मैले के बिर्से भने छोराको उमेर पुगेपछि उसलाई साथीको व्यवहार गर्नुपर्छ । मैले मात्र सोचें, निर्देशन दिने हो अनि उसले मान्ने हो । शायद मैले यदि छोरासँग मित्रवत छलफल गर्ने परिपाटी बसालेको भए उसले यस्तो गलत कदम उठाउँदैनथ्यो।”

“केही अभाव, दुःख, तनाव थियो कि ?”

“अब अलिअलि अभाव, दुःख र तनाव त सबैसँग हुन्छ । तपाईंसँग नि छ, मसँग नि छ । ऋण थियो तर तिर्न नसकिने थिएन । ऊ जागिर छोडेर आफ्नै खुशीले आएको थियो । अरू कुरा थाहा भएन । घुम्न जाने अघिल्लो दिन मलाई यो पसल सार्नुपर्छ, साँघुरो ठाउँ भयो भनेर सुझाव दिंदै थियो ।”

यति कुरा गर्दागर्दै उहाँका आँखा टिलपिलाए । मैले पोलेको घाउमा नून छर्किन उचित ठानिनँ । मैले यति भनें, “ जे नहुनु थियो, त्यो त भैसक्यो । यही घटनाको कारणले परिवारमा थप दुःख आउन नदिनुहोला । भाग्य खराब भएपछि कसको के लाग्छ !”

पसलबाट एउटा टिसर्ट किनेर बाहिर निस्किएँ । गेटबाहिर चार/पाँच जना मान्छे हँसीमजाक गर्दै थिए । त्यो गफ गुप्ताको आत्महत्यासँग सम्बन्धित थियो । सबैले पालैपालो आत्महत्याको कारण बारे रमाइलो गर्ने हेतु अकडबाजी गर्दै थिए ।

“यसको एउटा युवतीसँग अफेयर थियो । युवतीले धोका दियो । चोट सहन नसकेर हो नि !”

“घरमा यसले ढाँटेको हो नि ! कहाँ जागिर छोड्या हो र ! जागिर खाँदा घुसमा रंगेहात समातियो । आजभोलि पोल खुल्ने डरले हो नि !”

“यसलाई जुवाको लत थियो । दुर्व्यसनीमा फसेको थियो । ऋण लागेको थियो । जेल पर्नेवाला थियो ।”

“अस्ति मेडिकल चेक गर्न जाँदा कहिल्यै निको नहुने रोग लागेको थाहा पायो रे ! सामाजिक रूपमा इज्जत जाने भएर हो ।”

म उनीहरूको आफ्नै साथीको बदनाम तथा मजाक उडाउने प्रवृत्तिदेखि सहन नसकेर कड्किएँ, “उसले तपाईंलाई कारण बताएर आत्महत्या गरेको हो ? अनि यसरी उसको आफन्तले सुन्नेगरी यसरी हावादारी कुरा गर्ने हो ? अहिले जे बोलिरहनु भएको छ, त्यसको प्रमाण छ ? आज जुन तरीकाले उसको मजाक उडाउँदै हुनुहुन्छ, भोलि तपाईं वा तपाईंको परिवारका सदस्यसँग यस्तो दुर्घटना भयो भने के गर्नुहुन्छ ? ऊ पनि तपाईं-हाम्रो समाजको मान्छे होइन ? उसले आत्महत्या गरेर जे गल्ती गर्‍यो, त्यसमा तपाईं-हामी पनि उतिकै जिम्मेवार छौं । हामीले यस्तो समाजको निर्माण गरिरहेका छौं, जहाँ एउटा व्यक्ति आफ्नो दुःख-पीडा, समस्या आफ्नो परिवार, साथीभाइ र समाजसँग शेयर गर्न पनि तीन चोटि सोच्नुपर्छ र आत्महत्या कुनै समस्याको समाधान हुन सक्दैन भन्ने कुरा बुझाउन सक्दैनौं ।’

उनीहरूको नजरमा भने तँ को होस् र भन्ने भाव झल्किरहेको थियो । भन्न चाहिं केही भन्न सकेनन् । सब तैं चूप मैं चूप भए । तर भ भने भारी मन लिएर भारी पाइलाका साथ जुन बाटो आएको थिएँ त्यै बाटो फर्किएँ ।