काठमाडौँ जाने धेरै अघिदेखिको इच्छा थियो । कसै गरे पनि पूरा हुन सकेको थिएन ।अलिकति ऋण निकालेर फर्की आउने बितिक्कै दिन्छु भनी सापटी लिएरै भए पनि देशको राजधानी छिर्‍यो । त्यसभन्दा अघि खासै काम पनि केही परेन । काठमाडौँ जाने । यस पाली निकै भरोसाका साथ काठमाडौँ पुगेको छ ।

कैलासकुमार पाण्डेय

सपनाको सहर थियो काठमाडौँ । असंख्य सम्भावना पनि छन् । अवसरसँगै चुनौती पनि छन् । जेसुकै भए पनि उसको एकै काम थियो । उसको आस्थाको केन्द्र रहेको पटकपटक भोट दिई विजयी गरेको नेताप्रति ठुलो आस गरी पुगेको छ काठमाडौँ । राजनीतिको बामे सर्दा पार्टी विचार सिद्धान्तभन्दा तिनै नेतासँगको चिनजान र सम्पर्कबाट सदस्यता लिएको थियो । नेतासँगको गहिरो सम्बन्ध पनि छ ।

छ्यालीसको परिवर्तनसँगै निर्माण हुन लागेका पार्टीका तल्ला तहका संगठन संरचना निर्माण गर्न गाउँ पुगेका नेतासँग पहिलो परिचय भएको थियो । नेताजी र नेताजीका साथीहरू गाउँमा पुग्दा भव्य स्वागत गरेका थिए । गाउँ नजिकै रहेको पसलको माथिल्लो तलामा बस्ने व्यवस्था गरिएको थियो । व्ययवस्थापनमा जुटेका मध्ये महत्त्वपूर्ण भुमिका उसको थियो । जमुनाचौरको दलेको घरबाट खसी ल्याइयो । त्यसै गरी खैरमुडाबाट तीनपाने मगाइएको थियो । तीनपाने गिलासमा बाडेर हालेसँगै चेस गर्दै जगतप्रसादले उसको परिचय गराएको थियो ।

“गाउँमा राम्रै प्रभाव भएका, सानोतिनो व्यवसाय पनि छ । पार्टीको जिम्मेवार दिन एकदम उपयुक्त व्यक्ति हो वहाँ ।”

नेताजीले पनि उत्साह थप्दै, “निष्ठापूर्वक लाग्नु पर्‍यो । भविष्य यहाहँरुको हो ।”

त्यहीबाट पार्टी राजनीतिको यात्रा प्रारम्भ भएको थियो । रातिको भोजन, वासको प्रबन्ध मिलाइएको थियो । नेताजीको बिहान जुत्ता भेटिएन । कसले हो राति नै झ्याप मारी सकेको रहेछ । बिहान खोज्दा भेटिएन । आफ्नो पसलबाट जुत्ता दिएर कार्यक्रमतिर गएका थिए । नेताजी सँगको त्यो भेट अति नै महत्त्वपूर्ण रह्यो । राष्ट्रियस्तरको नेतासँग चिनजान पनि भयो । सम्भवतः आसन्न निर्वाचनमा जितेर मन्त्री बन्ने पनि पक्का भएका व्यक्तिसँग भएको चिनजानले जीवनमा नै नयाँ आयाम थपेको थियो । त्यही दिनबाट पार्टी राजनीति प्रारम्भ भएको थियो र स्थानीय स्तरमा नेताजी भनी नयाँ नामकरण समेत भएको थियो ।

पार्टीका लागि नयाँ सदस्य भए पनि एउटा निष्ठावान कार्यकर्ता थिए । संस्थापक नेताले भने अनुरुप संकल्प पूरा गर्न समर्पण चाहिन्छ भनिएजस्तै एक समर्पित कार्यकर्तामा आफूलाई स्थापित गर्नमा लागि परे । पार्टीको प्रतिबद्ध कार्यकर्तालाई पार्टी सिद्धान्त ,पार्टीको आदर्शभन्दा माथि अरु केही हुँदैन भन्ने मान्यतामा दृढ थिए । लोकतन्त्र ,समाजवाद ,राष्ट्रियताका आदर्श र स्वतन्त्रता ,समानता र लोकतन्त्रको मूल्य मान्यताप्रति पूर्ण समर्पित लागेका थिए उनी । राजनीति परिवर्तनपछि आर्थिक ,सामाजिक परिवर्तन हुन्छ, जसका लागि पार्टी कार्यकर्ताले परिवर्तनलाई संस्थागत गर्न लाग्नु पर्छ भनी निरन्तर निरन्तर लागि रहे । नेताको आह्वानमा जीवन उत्सर्ग गर्न कार्यकर्ता तयार हुनु पर्छ भन्ने मान्यतामा अडिग रहे। पार्टी सिद्धान्त, आदर्श जति नै नेताप्रति पनि विश्वासको सगरमाथा थियो ।

पार्टीका हरेक गतिविधि तिनकै पसल माथिबाट चल्ने गर्थे । पार्टी कार्यालयको साइनबोर्ड पनि त्यही लगाइएको थियो । पार्टीका जे जति दस्तावेज ,पम्पलेट, पोष्टर जे जति आउँथे त्यही राखिन्थे । सबै चुनावको प्रचारप्रसार त्यहीँबाट भएको हुन्थ्यो।

उनी स्थानीय नेताकै रूपमा चिरपरिचित भइसकेका थिए । हरेक चिन्ने मानिस नेताजीको पसल भनी भन्ने गर्थे । जाहान परिवारको परिचय पनि नेतासँगै जोडिन थालो । नेताको छोरा, नेताको पत्नी, नेताको गाई, नेताको गोरु समेत भनिन लाग्यो । एक साल बर्खामा ठुलो बाढी आयो । नेताजीको सबै खेत खोलाले बगायो । पसल अघि बालुवा भरियो । बालुवाले पुरिएको पसललाई व्यंग्य गरी भन्नेहरु बालुवाटार भन्ने गर्थे ।

बाढीपीडितका लागि राहत सामग्री आयो । त्यो पनि त्यही बालुवाटारबाट वितरण भयो। बाढीबाट भएको क्षतिमा काठमाडौँबाट नेताजीको दु:ख व्यक्त गरेको पत्र र राहत सामग्री उनकै पसलमा पुग्दा खेत बगेको सबै चिन्ता दूर भएको महसुस गरेको थियो । पार्टीको सम्पर्क कार्यालयसँगै उनी सम्पर्क व्यक्ति थिए । योजना, सरुवा, बढुवा ,नोकरी सिफारिसका लागि उनी कहाँ हरेक दिन कोहि न कोही आएकै हुन्थे । आएका समस्या पार्टीको माथिल्लो तहमा पठाउथे ।

समय फेरियो । नयाँ सत्ता र पुरानो सत्ताको कुरा सुरु भयो । नयाँ सत्ता स्थापना गर्ने ससस्त्र विद्रोह सुरु भयो । विद्रोही जनमिलिसिया, जनसेनाहरु गाउँतिर सलबलाउन लागे । स्थानीय नेताजी भनेर चिनिएका पसलवालाको पसलमा एक साँझ झण्डै दसजना हतियारधारी मानिस पुगे । हामीलाई खाने बस्ने व्यवस्था गर भन्न लागे । ग्राहक आए भनेर खानेबस्ने व्यवस्था मिलाए ।

बिहान हिसाब गर्दा, “हामी क्रान्तिकारी संगठनका मानिस हौँ, तपाईं हाम्रो कारबाहीको सुचीमा भएकाले यो जानकारी मात्र हो अर्को पटक आउँदा साठी हजार जम्मा गरिराख्नु “।

“खाना खाएको त दिएर जानोस्, जुठा भाडा माजेको छ ।”

“तोकेको जरविना जम्मा गरिराख्नु , त्यसै दिन हुन्छ हिसाव” भन्दै त्यहाँबाट हिँडे।

“ठुलो क्रान्तिको कुरा गर्ने निष्ठा र इमानको राजनीति हामीले पनि गरेका छौँ । यिनीहरुलाई सवक सिकाउनु पर्छ छोड्नुहुन्न “भन्दै आफैँ आफैँ मुर्मुरिएर पसल बन्द गरे । एउटा मन तिनीहरुलाई कारवाही गर्नु पर्छ कानुनको दायरामा ल्याउनु पर्छ । अर्को बन्दैछ रुकुम,रोल्पातिर धेरैलाई जनकारही गरी मारी सकेका छन् । रुकुम, रोल्पा मात्र होइन धेरै ठाउँमा त्यस्तो गरिसकेका छन् । दोधारमा रहेका बेला निर्णयमा पुगे ।

पुलिसलाई खबर गर्ने । खबर गर्न इलाका प्रहरी कार्यालय पुगे । प्रहरीमा निवेदन गरे । निवेदन लेखिरहेका बेला नै एउटा पुलिसले विद्रोहीमा खबर गरेका रहेछन् । तिम्रा विरुद्वमा उजुरी हाली सके । त्यो खबर के विद्रोही झन् आगो भए । पुलिसले हामी भोलि आउँछौँ भनेका थिए । राती नै एक ठूलो जमात घरमा आई लुटपाट,कुटपिट गरी घरमा आग्जनी गरेर गए । पर्सि हामीले तोकेको रकम जम्मा नगरे यही एउटा खाडल खन्छौँ , त्यसैमा तिमीलाई पुरेर जानेछौ। कुट्पिट गरी धम्की दिएर त्यो समूह गयो । कुटाइको पीडामा छटपटिँदै भोलिको योजना बनायो ।

त्यो गाउँ छोडेन भने अर्को दिन जीवित रहने आसा नै थिएन । परिवारका सबै सदस्य सहित तराई झरे । तराईमा बस्ने आफन्तसँग सबै पीडा पोखी बस्ने खाने प्रबन्ध मिलाए । उता गाउँमा गाउँ छाडेकै साझ घरमा आग्जनी गरेका रहेछन् । विस्थापित जीवन दुईवटा छोरा पत्नी र आफू स्वयं चार जनाको जोहो गरिरहेका थिए । उहिले पार्टीमा लाग्दाका बेला आस्थाका केन्द्र मानिएका नेता अहिले निकै महत्त्वपूर्ण जिम्मेवारीमा छन्, तिनैलाई भेट्नु पर्‍यो । पार्टीमा लागेकै कारण यो समस्या झेल्नु पर्‍यो। के दुश्मनी थियो र विद्रोही भनिएकाहरुसँग ।

लेनदेन पनि केही थिएन । त्यस्तै पुरानो भनिएको सत्तासँग घाँटी नै जोडिएको पनि थिएन । त्यो सत्ताको सत्तासीन भएर अकुत कमाएको भन्ने पनि थिए । सत्ताको अधिकतम उपयोग गरेको पनि थिएन । पार्टीले टिकट दिँदा वडा सदस्यसम्म पनि दिएको थिएन । माथिल्लो तहमा विश्वास गरेको थिएन । सदस्यता लिनु नै जति ठुलो जघन्य भनिए पनि त्यही मात्र थियो । कहीँ भनिए होला अधिनायकवादीहरु विश्वको कुनै देशमा टिकेका छैनन् । हाम्रो देशको विद्रोहको पनि तुक छैन । त्यही भनिएको अपराध हो भने सहनुको विकल्प थिएन तर पूर्वाग्रहको सिढी चढेर कारवाही नै गरिसक्यो ।
विस्थापित भई बसेको ठाउँमा उनकै विषयमा चर्चा चल्दै थियो । त्यही बाटो जाँदै गर्दा उनले पनि सुने।

“सुराकी रहेछ । कारवाही खाएर आएको छ ।” एउटाले भनेछ ।

“माननीयको मान्छे रहेछ, सत्ताको चलखेल निकै गरेको ।” अर्कोले जोडेछ।

“यस्ता सत्तामा लडिबुडी खेल्नेहरु त एक एक गरी छानीछानी कारवाही गर्नु पर्छ ।” तेस्रोले थप्यो।

“जनयुद्धले निकै उचाइ पाइसकेको रहेछ ।” अर्कोले भन्यो । उसले सुने नसुन्ने गरी त्यहाँबाट अगाडि गए । केही नबिराएको मा पनि यस्तो रहेछ मेराप्रतिको आमधारणा ।

एक दिन काठमाडौँ जाने सुर चलेछ । विस्थापितलाई सरकारले राहत दिँदैछ। त्यसैमा आफ्नो चिनेको नेता पनि सत्तामा छन् । आशाको ठूलो डोको बोकी राजधानी छिरेका थिए । एउटा विश्वास बोकेर गएका थिए । नेतालाई खबर गर्ने । खबर पाउने बित्तिकै भेट्न आँउछन् । मेरो समस्या सोध्नेछन् र सम्बन्धित ठाउँमा तत्काल आवश्यक कारबाहीका लागि पठाउने छन् । पूर्ववत चिनजान अनुरुप सौहार्द व्यवहार हुनेछ । त्यहाँ जेठोकाजी पनि छ । तल्लाघरे पण्डितको छोरा पनि त्यहीँ छ । काठमाडौँ पुग्दै गर्दा सबै आशा निराशामा परिणत भए । नेताको निवास धौ धौ खोजेर गेटमा पुग्दा त्यहाँ चिनेका कोही थिएनन् । कालो सिसा भित्रमा गाडीमा बसेका अपरिचित मात्रै देखिन्थे । नेताजीको सचिवालय नेताजीको व्यस्तताले भेटघाट बन्द भएको जानकारी पाए । सचिवालयमा बस्नेले समस्या के छ टिपाएर जानोस्, हामी समाधानको प्रयास गरौँला ।

आफूलाई एक्लो पाउन लाग्यो । त्यो सहर उसका लागि बिरानो थियो । त्यहाँ कसैसँग कुनै सद्भाव न त चिनजान नै । आफूले अँगालेको विचार र आबद्ध साथी आफ्नो हुन सकेन । जसका कारणले सर्वश्व भयो तिनै नचिन्ने भए भने यो बिरानो सहरसँग के को गुनासो । सहर कहिले पनि आफ्नो भएन । सहरप्रति हाम्रो ठुलो विश्वास हुन्छ । तर सहर सधैँ मालिक हुन्छ र हेयको दृष्टिले हेर्दछ।

सहरमा न कुनै छिमेकी हुन्छन् न त आफन्त नै । छन त छ विकास र समृद्धि छ तर बाहिर फोहोरको डुंङ्गुर छ भने भित्र एक्लो नितान्त एक्लो छ सहर । प्रशस्त रहर छ हेर्दै गर्दा बेरोजगारी ,आकाशिएको बजारभाउ छ । हुने खानेका लागि राम्रै छ। टोपी खस्ने गगनचुम्बी महल छन् । हजारौँको भिड छ । भिड बिचमा एक्लो छ सहर । कुनै आफन्त छैनन्, सबै सहरिया भइसके ।

अवसर पाई यहाँ पुगेका पनि सहरिया भइसक्छन् । उसले नेताजीलाई पनि सहरिया भएको देखे । सहर पुग्दा व्यक्तित्व फेरियो, व्यवहार फेरियो,रहन सहन फेरिए । हुन त सहरको स्वभाव पनि त्यस्तै हो । मानिसलाई घर परिवारबाट अलग, त्यस्तै गाउँबाट अलग, समाजबाट अलग, गर्दै जाँदा मानवताबाट अलग गर्दछ । त्यस्तै बिरानोपन पायो नेताजीमा । नेताजीमा मात्र नभई सत्ता ,शक्ति, सहरले मानिसलाई एक्ल्याउँदै जान्छ त्यस्तै भयो । क्रमशः बिरानो भइसकेको छ सहर ।