सन्देश एक बैठकमा बसेको थियो । उसका आँखा वक्तातिर तेर्सिएका थिए । उदास मुहार लाएर बसेको उसको फोन बारम्बर उज्येलिन्थ्यो, एक छिनपछि पुनः उदास हुन्थ्यो । बैठक कक्षमा ऊसँगै बसेको साथीले साउती गर्यो, “सन्देश तिम्रो मोबाइलमा निरन्तर कल आएकोआयै छ ।“
“तिम्री भाउजू छे, नटिप्नुको अर्थ म मिटिङ्गमा छु भनेर उसले बुझ्नु पर्ने हो नि । तर खै, बुझ्दैन । फोन गर्यागर्यै छ ।” अल्छी मान्दै उसले फर्कायो । फोनको टिलिकपिलिक अझै रोकिएको थिएन । मुख बिगार्दै ऊ बैठक कक्षबाट बाहिर आयो । “कता हुनुहुन्छ, रामकुमार काका बित्नु भए ।” श्रीमतीले हड्बडाउँदै भनी । उसको स्वरमा अनौठो पीडा थियो । “हे भगवान् !” उसले यति मात्र फर्काउन भ्यायो । हतारहतार त्यहाँबाट हिँड्यो ।
रामकुमार काका उसका साखै काका थिएनन् । पिताजीका फुपू भाइ थिए । तर उनको व्यवहार साखै काकाजतिकै स्नेहपूर्ण रहन्थ्यो । उनको शारीरिक अवस्था दिनानुदिन जर्जर हुँदै गएको थियो । केही दिनअगाडि मात्रको कुरो हो । उनलाई भेट्न जाँदा उनको शारीरिक अशक्तता देखेर मन निकै कुँडिएको थियो । रामकुमार काकासित कुरो गर्न खोज्दा निकै मधुरो स्वरमा अड्कीअड्की बोल्न भ्याएका थिए ।
“अस्सी काटिसकेँ । जसरी पिताजी गए, यिनलाई पनि आज होइन भोलि त जानु नै छ ।”
स्वयंलाई फकाउँदै ऊ फर्किएको थियो । कम्तिमा चारपाँच महिना त बाँच्लान् भनेर उसलाई आस थियो । तर एक साता पनि काटेनन् । सन्देशका आँखाअगाडि रामकुमार काकाको स्निग्ध अनुहार प्रकट भयो ।
काकाको घरमा रोदनक्रन्दन चल्दै थियो । पाकाहरू सम्झाउने प्रयास गर्दै थिए, “किन रोएको ? उनी कष्टकर जुनीबाट मुक्त भएका छन् ।” रूनु पनि कसैकसैको लागि सहासको काम हुँदो रैछ । सन्देशले त्यो सहास जुटाउन सकेन । उसका आँखा द्रवितसम्म भएका थिए । ऊ दस वर्ष पुरानो घटना सम्झ्यो । उसका पिताजीले शरीर त्याग्दा रामकुमार काकाले उसका आँखा पुछ्दै यसरी नै सम्झाउने प्रयास गरेका थिए, “किन रोएको ? कृष्णा दाइ कष्टकर जुनीबाट मुक्त भएका छन् । तर उनी स्वयंका आँखाबाट बरर्र आँसु झर्दै थिए । सन्देशका पिताजी कृष्णहरि रामकुमार काकालाई निकै माया गर्थे । रामकुमार काका पनि कृष्णहरिलाई साखै दाइजतिको मान दिन्थे ।
आफ्नो बिहेको बेलामा रामकुमार काका असिनपसिन भई कामको धपेडीमा होमिएका दृश्य सन्देशका आँखाअगाडि झल्झल्ती प्रकट हुन थाले । उतिबेला आजजस्तै न बैंक्वेट हाउस हुन्थे, न त इवेन्ट मैनेजरहरू नै । उसको बिहेमा एक जिम्मेवार व्यवस्थापक मात्र होइन, स्टोरकिपर, भान्साकोठा इन्चार्ज, खजाञ्जी र निजी सचिव समेतको भूमिका रामकुमार काकाले नै निर्वहन गरेका थिए । उसका पिताजी पनि रामकुमार काकाको प्रत्येक माङ्गलिक कार्यक्रममा उतिकै समय दिन्थे । यथार्थमा दुबै जना एकअर्काका पूरक थिए । दिनको एक पटक एकअर्कालाई नभेटेसम्म पानीसमेत पच्दैनथ्यो । दस वर्षअगाडि उसका पिताजीले शरीर त्याग्दा रामकुमार काका निरन्तर तेह्र दिनसम्म उसको घरमा अहोरात्र खटेका थिए । देवघाटमा पिताजीको अस्तु विसर्जन गर्न पनि रामकुमार काका आफैँ गएका थिए ।
मान्छेको जात यो संसारिक चोलोबाट मुक्त हुन लाग्दा केवल धनसम्पति अथवा नातागोता मात्र छोडेर जाँदैन, वरण हरेक आफन्तको मनमा पछुतोको सुइरो पनि छोडेर जाँदो रैछ । रामकुमार काकाको मन त पछुतोको सुइरोले ठूलै घाउमा बनाएको थियो, “कृष्ण दाइलाई अन्तिम समयमा भेट्न नसकेको पछुतोको घाउ ।” असलमा सन्देशका पिताजीले शरीर त्याग्नुभन्दा केही घन्टाअगाडि मात्र रामकुमारलाई भेट्न उनकै ढोकासम्म पुगेका थिए । तर संयोगवश त्यो दिन रामकुमार काका अन्यत्र कतै गएका थिए । रामकुमार काकाको मनोग्रन्थीभित्र लुकेको त्यो पछुतोको घाउ तमाम उमेर निको भएन । हरेक पारिवारिक जमघटमा उनी पुरानै कुरो दोहर्याउँथे, “कृष्ण दाइ अन्तिम दर्शन दिन स्वयम् ढोकासम्म आएका थिए । म पनि अभागो परेँ ।”
आज सन्देशको अन्तर्मनलाई समेत पछुतोको सुइरोले घोच्याघोच्यै छ, “हे भगवान् ! केही दिनदेखि काकालाई भेट्न जान्छु, जान्छु भनेर सोच्दै थिएँ । मौका नै नदिई उनी त हिँडेछन् ।”
अर्को दिन रामकुमार काकाको अन्तिम यात्राको तैयारी सुरू भयो । परिवारका सयौ मान्छेहरू भेला भएका थिए । समान्यतया सन्देशलाई मृत शरीरको नजिक जान पनि डर लाग्छ । तर त्यो दिन उसलाई डर लागेन । ऊ रामकुमार काकाको पार्थिव शरीर वरिपरि नै घुमिरह्यो । ऊ आफ्नो काकाको कपाल पुल्पुल्याउन चाहन्थ्यो । उनका गोडा मिच्न चाहन्थ्यो । त्यति गर्न सकियो भने ऊ रामकुमार काकाप्रति मात्र होइन, आफ्ना पिताजीप्रति समेत श्रद्धाञ्जलि अर्पण गर्न भ्याउँछ भनेर उसलाई विश्वास थियो । तर ऊ आँट गर्न सकेन । दाह संस्कार गर्ने बेलामा उसले मौका पायो । घिउ दल्ने बहानामा उसले रामकुमारकाको कपाल सुम्सुम्यायो । गोडा मिच्न भ्यायो । मनमनै प्रार्थना गर्यो, “हे ईश्वर ! रामकुमार काकालाई बैकुण्ठको बास प्राप्त होस् ।”
मसानघाटबाट फर्किएर नुहाइधुवाई सक्याउँदासम्म सन्देश थाकिसकेको थियो । बैठककक्षको सोफामा लम्पसार भएर रामकुमार काका र पिताजीबीचको स्नेहपूर्ण सम्बन्धबारे नै सोच्दै थियो । उसको फोन गुनगुनाउन थाल्यो । भुवनको फोन थियो । “सन्देश ! छोरोको बिहेमा जन्त जानेहरूसित फोलोअप गर्ने सम्बन्धमा हामीलाई एक पटक बस्नु पर्ला ।” उसको कुरो सुन्ने बित्तिक्कै सन्देशको कान ठाडो भयो । हुन्छ, भोलि बसौँ नि त भनेर उसले कुरो टुङ्ग्यायो । भूवन उसको बालसखा र सर्वाधिक मन मिल्ने साथी । सन्देशको हरेक सुखदुःखमा एकसाथ रहँदै आएको । अनि भुवनको छोरोलाई आफ्नै काखमा खेलाएको । साथीको छोरोको बिहेलाई लिएर ऊ र उसको श्रीमती समेतको मनमा पनि निकै ठूलो उमङ्ग र उत्साह थियो । बिहेको लागि नै भनेर बुढाबुढी, दुबैले नयाँ पहिरनहरू खरिद गरेका थिए ।
“ओहो, काकाको बाह्रौँ दिनको श्राद्ध र भुवनको छोरोको बिहेको दिनसित नजुधोस् । अन्यथा सबै थोक बर्बाद हुनेछ ।” सन्देशले मनमनै प्रार्थना गर्यो । तर भयो त्यही, जसको डर थियो । ठ्याक्क बिहेकै दिनमा बाह्रौँ दिनको श्राद्ध पर्यो । सन्देश भुवनका साथ दिनका दिन बस्थ्यो । जन्तिको तैयारीको विषयमा गफिन्थ्यो पनि । तर आफूभित्र जुर्मुराएको धर्मसङ्कट बारे चर्चा गर्ने आँट जुटाउन सकेन । एकातिर सर्वाधिक मन मिल्ने साथीको घरमा उसको जीवनको सबैभन्दा ठूलो उत्सवको क्षण । अर्कोतिर उसका पिताजीका सर्वाधिक प्रिय भाइको श्राद्ध कार्यक्रम । दुबै कार्यक्रम उसका लागि महत्त्वपूर्ण थिए ।
श्रीमतीसित सल्लाह गर्दा ऊ पनि धर्मसङ्कटको अवस्थामा थिई । तर एउटो कुरोमा स्पष्ट थिई, “दुबैमध्ये कुनै पनि ठाँउमा म एक्लीलाई प्रतिनिधि पात्र बनाएर पठाउँदा पनि काम चल्दैन । म तपाईँको अर्धाङ्गिनी हूँ, दुबै ठाँउमा तपाईँसँगै मेरो पनि उपस्थित रह्यो भने मात्र मेरो उपस्थितिको अर्थ हुनेछ । अन्यथा जबर्जस्ती क्षतिपूर्ति गर्न खोजेकोजस्तो हुनेछ । दुबै ठाममा तपाईँको कारणले मेरो नाता जोडिएको छ ।”
श्रीमतीका तर्क पनि आफ्नो ठाँउमा ठीक थियो । राती ओछ्यानमा उसको मनमा यिनै कुरा खट्किरहन्थे ।
अन्तिम दिन उसले आँट गर्यो, “होइन, मैले रामकुमार काकाको श्राद्ध कार्यक्रममा बस्नै पर्छ । प्रसाद पनि ग्रहण गर्नै पर्छ । यति गर्न सकियो भने रामकुमार काकाप्रति वास्तविक अर्थमा श्रद्धाञ्जलि अर्पण गर्न सकिन्छ । काकाका छोराहरूलाई सन्तोष हुनेछ । सायद मेरा स्वर्गीय पिताजीलाई पनि सन्तोष हुनेछ । यति पनि गर्न सकिएन भने मेरो अन्तर्मनभित्र एक नयाँ पछुतोले घरजम गर्नेछ । र, जीवनभरि नै घोचिरहने छ । बरू सबै काम सकिएपछि बुढाबुढी, दुबै भुवनको घरमै पुगेर छोराबुहारीलाई आशीर्वाद दिनेछौँ । रिस पोख्यो भने दुबै हात जोडेर क्षमायाचना गरिहाल्ने छौँ । भुवन र उसकी श्रीमती दुनियादारी बुझेको मान्छे हुन्, मेरो अन्तर्मनको दशा त बुझिहाल्छन् नि ।”
सन्देशले ठ्याक्क त्यही गर्यो । भुवनको घरमा बिहेबारीको धपेडी सकिएको महिनौ बितेछ, तर भुवन र उसकी श्रीमतीलाई सन्देशले आजसम्म फकाउन सकेको छैन । दुबै जना आजसम्म रूष्ट नै छन् । भुवनहरूको भनाइ पनि ठीक छ, “हाम्रो एक मात्र छोरोको बिहेमा त तिमीहरू सामेल भएनौ । यस्तो त हामीले सपनीमा पनि सोचेका थिएनौँ । यो पीडा हामीलाई जीवनभरि नै रहने छ ।” सन्देशले पनि के गरोस् ? रूष्ट भएका आफन्तलाई कसरी फकाउने भन्ने जुक्ति खोज्दै हिँडेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।