उनले मेरो डराएको अनुहार हेरेर फेरि फटाफट भने, “भाइ ! तपाईंले पनि कट्ठा बाँस भेट्नु भयो क्याऊ ! खुनैखुन छ त…! लु लु, छिटो जानु अब । पुलिस आउँछ.. !”
एकनासे गतिमा मेरो स्कुटीले मलाई तानिरहेको थियो । समय गोधुली थियो । सहरको एक पाटोमा म कुदिरहेको थिएँ । दिमागमा थुप्रै कुराहरू खेल्छन् यसरी एक्लै हिँड्दा । प्रश्न आफसेआफ उत्पन्न हुन्छ । उत्तर पनि आफैँ आउँछ। कति उब्जेको उत्तरको प्रश्न हुँदैन न त प्रश्नको उत्तर हुन्छ ।
बस् !
कुरा खेलिरन्छ।
बाटामा विपरीत दिशाबाट आउँदै गरेका चिनजानहरूले एकक्षण सोचाइ तानेर लान्छ। आफूलाई नाघेर जानेहरूले पनि त्यसै गर्छ । ध्यान खिच्छ । कुरा खेलिरहन्छ । रिस उठ्ने देखे मन बिग्रिन्छ । मिल्ने, आत्मिय देखे खिसिक्क हाँसो उठ्छ।
म यसरी नै अघि बढिरहेको थिएँ । एउटा पुलमाथि मानिसहरू थुप्रिएका थिए । देखे बिस्तारै गाडी, बाइक, स्कुटरको लस्कर बढ्दै थियो । भनौँ निक्कै जाम लागिसकेको रहेछ । गाडीको चेपचेप हुँदै म पुल छेउसम्म पुगेँ।
बुझेको: यहाँका स्थानीय केटाहरुको ग्याङ्ग लडाइँ रहेछ ।
सहरको यो रोग सबभन्दा घातक हो ।
एकाएक मर्दाङ्गी देखाउन यी बेकार झगडे युवाहरु नशामा धुत हुन्छन् अनि चपेटामा पर्छौं हामी निमुखा यात्रीहरू।
कतिलाई रमिता हुन्छ यस्तो घटना। एकक्षणमै मान्छेको भिड खचाखच हुन्छ। अहिले यस्तै भयो यहाँ । लडाइँको सम्मुख छु अहिले म । पछि फर्किने कुनै सम्भावना देखिनँ। यति जाम लागेको थियो। यो के आइलाग्यो ।
पुलको मध्य भागमा हानाहान जारी थियो । कट्ठा बाँस बजेको सुनेँ । मन ढुकढुक भयो । छेउको गाडीको ऐना फुट्दै थियो । रमितेहरूको सङ्ख्या निकै बढ्यो ।
त्यो लडाइँ मेरै अघि आइपुग्यो । अब के गर्ने ?
स्कुटी छोडेर भाग्न पनि सकिनँ ।
छेउकाहरूले छोड्दै भागे ।
सकिनसकी स्कुटीलाई देब्रेतिर फर्काएँ । स्यानो चेपबाट अलिक बाटोमुनि पुगेँ ।
त्यति बेलासम्म त्यो झगडाको झुण्डले पुल पार गरिसकेछ ।
अहिले स्कुटीबाट झरेर अलिक पर एउटा दोकानको अघि जम्मा भएको भिडको पछितिर पुगेँ । अलिक बुझ्नु पर्यो भनेर।
झगडाले रक्तपातको रूप लिइसकेको थियो ।
पुलतिर हेरेँ । अलिक खाली देखेँ। अब बाटो लागेको नै बेस लागेर स्कुटीतर्फ लागेँ।
कुद्दै थिएँ-
-“लु लु भाइ निस्किहाल्नु पर्छ।”को शब्द सुनेँ । पछि हेरेँ चिनजान दाज्यु रैछन्।
उसले मेरो डराएको अनुहार हेरेर फेरि फटाफट भने, “भाइ ! तपाईंले पनि कट्ठा बाँस भेट्नु भयो क्याऊ ! खुनैखुन छ त…! लु लु ! छिटो जानु अब पुलिस आउँछ..!”
दाज्यु बाइक चढेर कुदिहाले।
मलाई पर्यो आपत ! हन केको खुन छ त मेरो अनुहारमा ?
हुनसम्मको पीर पर्यो मलाई । हतार हतार स्कुटीको लुकिङ ग्लासमा हेरेँ…!
नाकको चेप अप्ठ्यारो ठाउँमा निस्केको डन्डिफोर बिहान फुटाएको थिएँ । स्कुटीको तेज गतिले त्योमाथि लागेको पाप्रा उडाए छ अनि खुन बगेर पनि सुकिसकेको रैछ !
हतार हतार पुछेँ।
बिस्तारै भिडलाई जित्दै पुलको पारिपट्टि पुगेँ। ढुक्क भयो। जतासुकै जेसुकै होस् भनेर तीव्र गतिमा अघि बढेँ ।अहिले शान्त भयो। तर एउटा कुरा फेरि मनमा खेल्न थाल्यो –
ती चिनजान दाज्युलाई कहिले भेटेर ठट्टा गर्दै भनौँ ?
“दाज्यु त्यो खुन त चालिसे उमेरको डन्डिफोरको पाे रहेछ हौ !”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।