किन सौन्दर्य मात्रै अन्तर्राष्ट्रिय हुन्छ ? किन आँसु र पसिना अन्तर्राष्ट्रिय हुँदैन ? किन धनी र धन मात्रै अन्तर्राष्ट्रिय हुन्छ ? किन निर्मला र जुनकिरीहरुको चित्कार अन्तर्राष्ट्रिय हुँदैन ? नदी किनारमा घर भएका सबै मानिस माझी नै कहाँ हुन्छन् र ? मन्दिर वरिपरि बसोबास गर्नेहरू सबै पुजारी हुने भए श्री पशुपति नाथको मन्दिरका लागि भारतको भट्टलाई किन पुजारी नियुक्त गर्न पर्थ्यो र ! बोकाहरुले रुगेर दाइँ हुने भए गोरु नै किन चाहिन्थ्यो र ? बल्छी ध्रुवे यस्तै खोचे खोचे गफ गरेर गाउँका अल्लारे केटाहरुलाई अल्म्ल्याउँथ्यो । हातमा एउटा सानो लौरो र पछाडि माछा बोक्ने पेरुङ्गो भिरेर हिड्थ्यो ऊ ।
बल्छीमा पारेको माछा बेच्न ऊ गोर्खा लक्ष्मीबजार हुँदै बिरिन्चोक बार्हकिलो,अबुवा,खैरेनी ,मुग्लिङ,कुरिनटार,कुरिन घाट ,फिस्लिङ, मोवाखोला, चरौदी, मझिमटार, बेनिघाट पुग्छ । उसको घर मझिमटार हो । त्यो एरियामा चल्ने कुनै पनि यातायातले उसको भाडा लिँदैनन् । ऊ जतिबेला जहाँबाट पनि माइक्रो बस होस् कि ट्रक होस् या बस होस् चढ्न सक्छ । उसको पेरुङ्गोमा एक दुईवटा असला माछा जहिले नि हुन्छन् ।त्रीशूली नदीले उसलाई राम्ररी चिनेको छ । बल्छी ध्रुवे भनेपछि नदी पनि कोमल बनिदिन्छ । बर्खाको भेलमा त्रीसुली बाकटे हानेर तर्छ । आफू मात्रै होइन कहिलेकाहीँ आपतमा परेकालाई पनि तार्छ तर तारिदिए बापत कसैसग एक पैसो पनि लिँदैन ।
ऊ एक प्रकारको फकिरजस्तै छ । दयालु छ । कोमल मनको छ। ऊ कसैलाई बिझाउने गरेर भन्दैन । ऊ आफैँ कमाउँछ कसैसँग हात थापेर खाँदैन । पहाडको भुमे सिमे पुजा गर्छ । पहाड चढ्दा देउरालीमा फूल चढाउछ । मझिमटारको भूमिपुत्र हो । उसको जात छैन । सानै हुँदा उस्का बाबुआमालाई त्रीशूली नदीले बगायो । ऊ दुधे बालक हुँदा छिमेकीकी सानिकान्छी दमिनीले पालन पोषण गरिन् । जन्मियो बाहुन भएर , हुर्कियो दमाई परिवारमा र उसलाई ध्रुव परियार लेख्यो नाम थर आफ्नो स्कुलमा तर पछि पेशाबाट नागरिकता लियो धुर्व माझी । पछि एकजना सनक माझीलाई उस्ले बाउ पुज्यो । सनक पनि त्यस्तै दुखी थियो । अक्सर दुखीका साथी दुखी नै हुन्छन् , हुँदारहेछन। यस्तै भो सनक माझी र ध्रुवेको जीवनमा पनि । सबैले उसलाई चिन्छन् बल्छी ध्रुवे भनेर । सनक माझी बल्छी ध्रुवेलाई मेरो छोरो भन्थ्यो। सानैमा आमाबाबु गुमाएको बल्छीले सबैको माया पाएको थियो ।
सनकरामको पनि सन्तान कोही थिएनन् । पत्नी टिबि लागेर मरी। लगातार ओखती खाए टिबि निको हुन्छ भनेर के गर्नु ! गाउँ घरमा अझैसम्म पनि जीवन जल पाउन गाह्राे छ । हेल्थपोस्टमा न ओखती हुन्छ न डाक्टर नै । फुर्तिफार्ती गर्ने स्थानीय नेताहरू राजधानी जान्छन् पेट दुखे पनि । लुरेलाम्रे झुरेझाम्रे गरिबका दिन खोइ कहिले पनि आएन । प्रजातन्त्र लोकतन्त्र गणतन्त्र आखिर जे जे र जुन जुन तन्त्र आए पनि गाउँलेको जिन्दगी फुमन्तरकै भरमा चलेको छ आजको दिनसम्म । आजको दिनसम्म कति आमाहरु भोकै होलान् । आजको दिनसम्म कति बाबुहरु नाङ्गै होलान् । आजको दिनसम्म सुत्केरी हुन नसकेरै मरिरहेका छन् बिकट गाउँमा चेलीबेटीहरु ।
अजीवको छ बल्छी ध्रुवे । आफ्नै पाराको छ । रिसाउँदैन कहिले पनि । उसका प्रतिद्वन्दी कोही छैनन् । पायो भने मजाले खान्छ । पाएन भने खाँदैन। कति दिन खाँदैन। कति दिन सुत्दैन पनि । निन्द्रा भोक सुख सयल सपना बाल छैन उसलाई । भोकप्रति कुनै गुनासो छैन उसको। जीवनप्रति पनि कुनै गुन्जायस छैन उसको । दुखीहरु सुखी देखिन्छन् । चिन्ता त्यही एक पेट र एक जोर कपडाको त हो नि । धनीहरुको धेरै गुनासो हुन्छन् तर गरिबको एउटा मात्रै गुनासो नुनको । नुन खान नपाएकाहरु सुनको कुरा गर्दैनन् जुनको पनि कुरा गर्दैनन् । गुनासो गर्दैन कोहीप्रति । ऊ खोला किनार वन, जङ्गल, बगरसँग रमाउँछ अक्सर । ऊ साथीहरूसँग मित्रवत व्यवहार गर्छ ।
ऊ खोलाको तिरैतिर हिँड्छ । उसलाई मन पर्छ बिहान । चरासँग गीत गाउँछ । जंगली जनावरहरुसँग कुराकानी गर्छ । दुखेसो पोख्छ ढुङ्गामाटोसँग । आँसु मिसाउँछ त्रीशूलीसँग । ऊ फकिर। कमाउँछ पनि सक्काउँछ पनि । साथीहरू उसलाई खुवाउँदैनन् । बरु उसैको खाइदिन्छन् । बल्सी ध्रुवेले रक्सी ख्वाउँछ रे भनेपछि उसमा बालसखाहरु मझिमटारको देउराली भोजनालयमा जम्मा हुन्छन् । देउराली भोजनालयको साहुकी छोरी भर्खरैकी छे । त्यसैको जवानी हेर्न हुत्तिन्छन् केटाहरु । धुर्वे पेरुङ्गो थापेर पारेको माछा कहिलेकाहीँ त्यही पकाएर खान्छ ।साहुजीको छोरी जुनकीरी र ऊ सानोमा चित्रादेवी प्रा.वि सिउरिनीटारमा सँगै बाह्रखरी पढेका । ध्रुव यसरी आवरा भएर हिँडेकोमा उसलाई चिन्ता छ ।
जुनकीरीको आमा पनि ऊ सानै छँदा बितिन् । सौतेनी आमाले उसको पढाइ रोकेर होटेलको भाडा मझाउन थाली । त्यही फुच्ची जुनकिरी अहिले ठुली भैसकी । कहिलेकाहीँ बल्छी ध्रुवे त्यतै खाना खान्छ । बल्छी ध्रुवे यदाकदा आउँछ त्यो देउराली होटेलमा । सौतेनी आमाको आँखा छलेर जुनकीरी उसको भागमा अलिकति माछाको रस बढी हाल्दिन्छे, चौटा हाल्दिन्न आमाले देखिन् भने रडाको मच्चाउन सक्छे। एकदिन माछाको टाउको हाल्दिएकी बल्छीको भागमा झन्डै मारेकी । डर लाग्छ उसलाई सौतेनी आमासँग । आमा त आमै हुन् तर किन सौतेनी आमा सबैलाई शत्रु लाग्छ। आफ्नी आमालाई बच्चाको माया हुने तर तिनै नारी हुन् । सौतेनी आमा किन यस्ता हुन्छन् ! जुनकिरीको आधा शरीर भैसकेको थियो सौतेनी आमाको गाली धम्की र गलौजले । उसको स्कुल छुटेको पनि एक वर्ष भैसकेको छ ।
जुनकिरीको बाबु पत्नी पीडित । ऊ स्वास्नीले जे भन्यो त्यही मान्छ । नमाने त फेरि बेलुकी भातको भाग लाग्दैन । कुकुरसँग सुत्नपर्छ चिसो पिँढीमा । अगुल्टो देखाउँछे आगो बल्दै गरेको ।
केही गल्ती गर्न पाइन्न । बिचरो दुखी छ । उसलाई जुनकिरीको माया छ । सानै भए पनि छोरीको बिहे गर्न पाए राडको गाली त खान पर्दैनथ्यो त्यसले । ऊ यही चिन्तामा थियो । फिस्लिङमा जुनकिरीको सानिमा थिई । ऊ कहिलेकाहीँ साली भएकोमा जान्छ र दुख बिसाउँछ । जुनकिरीले पढ्न पाइन । त्यसैले बिहे गरिदिने सुरमा छ ऊ । होटेलबाट अलिअलि कमाएको पैसा पनि उसैको कान्छीले कुम्लो पार्छे । दुई बाउछोरीलाई उही बिहान बेलुकीको भात मात्रै हो । भात पनि कहिलेकाहीँ त बासी पो खानुपर्छ । उसलाई अलिकति थाहा छ जुनकिरी बल्छीलाई माया गर्छे ।
बल्छी आफैँको भने कुनै घर छैन । ऊ सनक माझीकोमा बस्छ । एकदिन सनक माझीले बल्छी ध्रुवेलाई भन्यो, ” केटा त अब ठुलो भैसकिस्, बिहे गरी घरजम गर्नुपर्छ ।” बल्छीले जुनकिरी पाए मात्रै बिहे गर्नी कुरा गर्यो ।
एकदिन बल्छीलाई जुनकीरीले सोधी, ” ध्रुव मलाई कोही केटो माग्न आउँदैछ हाम्री आमाले भनेको । तर …मलाई बिहे गर्ने मन छैन ।”
जुनकिरीको कुरा सुनेर बल्छी दुखी भयो । माछाको झोलसँग खादै गरेको भात छोडेर उठेर हिँड्न लाग्यो । जुनकीरीले फकाई । “यसरी खाँदै गरेको भात कहिले छोडनुहुन्न दशा लाग्छ ध्रुव ।”
” केटीहरुलाई किन बिहै गर्न हतारो हुन्छ ह ?”
” केटीलाई होइन केटी जन्माउने बाउआमालाई पो हतारो ।”
” डोली चढ्न मन लागेको हो जुनकिरी ?”
” रातो डोली त होइन सेतो डोली चैँ हो ।”
” छि कस्तो अलिछिनी बोलेकी हो ।”
” तिम्लाई के थाहा मेरो व्यथा ।”
” अनि को हो रे त्यो केटो तिम्लाई माग्न आउने चैँ ?”
” छेपेटारको रे केटा दुवइमा जागिरे छ रे ।”
” लौ गर उसो भा ।”
” हेर न पापी कसरी भन्न सक्या अलिकति माया लाग्दैन मेरो ?”
” लागेर पो के गर्नु त। आफ्नो त न खाने ठाँउ न बस्ने बास ।”
” घरको भित्तोले माया गर्ने हो र ?”
” बगरमा सुत्छेस् त ?”
” मन परेको मान्छेसँग बगर त के चिहानमै सुत्न परे नि राजी ।”
” त्यसो भए बिहे गर्छेस् त मो सँग ?”
” गर्छु ।”
” भोलिपर्सि दुख पाइस् भने /लाउन खान पाइनस् भने चैँ मलाई छोडेर धनी केटा टपक्क टिपेर खुसुक्क पोइल जान पाइन्न नि ।”
” छि ! बोल्दा अलि मीठो बोल्नु नि कति टरो मोन्छे हौ ।”
” ल त्यसो भए आज त्रीशूलीमा बल्छी थाप्न सँगै जाम् ।”
” आमोइले मार्छिन् ।”
” म दुई चार दिन यतै माछा ल्याउँछु तेरी सौतेनी आमाको मन जित्छु। लगातार माछा देपछि त खुसी हुन्छिन् तिनी पक्कै ।”
खाना खाएर बल्छी ध्रुवे फिस्लिङतिर गयो। जुनकिरी खुसी भई । बालसखा ध्रुवेसँग जिन्दगी बिताउन पाए ऊ जस्तोसुकै दुख झेल्न पनि तयार भई । बल्छी भात खाएर एकछिन् पनि नबसी गयो । जुनकिरीको मन आज अलि बढी नै रमिएको छ । सधैं सुन्दै आएको सौतेनी आमाको कर्कसो आवाजले वाक्क भएकी जुनकिरीको मनमा आज अलिकति घाम लाग्यो । हिँड्ने बेलामा बल्छी अलिकति मुस्कुराएको सम्झी उसलृ । पहिलोचोटि हो ऊ केटा मान्छेको मुस्कानले पुलकित भएकी । नाम जुनकिरी भएर के गर्नु ऊ सधैं औँसी भएर बाचेकी छे । होटेलको जुठो भाडा माझ्दा माझ्दा सुन्निएको औला देखेर ऊ आफैँलाई धिक्कार्थी । उसकी आमाले राख्दिएकी जुनकिरी नाम । आमा हुँदा उसलाई यो नाम औधी प्यारो थियो तर अहिले नाम फेरेर औँसी राख्न पाए नि हुन्थ्यो जस्तो लाग्छ उसलाई ।
त्यो दिनदेखि दुई दिन भो बल्छी त्यो होटेलमा आएन । एक दिन छेपेटारको केटा आयो । केही अरु मान्छे पनि आएका थिए ऊसँग । केटाले जुनकिरीलाई मन पराएछ । जुनकिरीले केही बोल्न खोज्दा उसकी सौतेनी आमाले बोल्न दिनन् । ऊ मौन बस्नु पर्यो । खै कस्ता मान्छे हुन् उसलाई त शंका लाग्न थाल्यो । दुवैमा जागिर भएको जस्तो पनि लाग्दैन । आँखा हेर्दा त धेरै रक्सी पिउने जस्तो छ । जुनकिरीको बाउको पनि केही चल्दैन त्यो घरमा । जुनकिरीले चिया लगेर दिई । उसलाई बिहे गर्ने भन्ने केटोको मुखमा पुलुक्क हेरी लुकेर । अलिक नजिक गएर हातमा चिया दिँदा केटाको हात कामिरहेको थियो । दिउँसो नै रक्सी पिएको थियो उसले । जुनकिरीको मुखमा ह्वास्स गन्ध आयो । उसलाई चिन्ता पर्यो । बल्छी हराउनु । यता केटा हेर्न आउनु । चिया दिएर बाहिर आउँदा आमा र ती केटाहरु खासखुस कुरा गरिरहेको सुनी । केटाको स्वर लर्बरिएको थियो । अलिक भकभक गरेर बोलेको सुनी उसले । एउटा शब्द प्रष्ट सुनी, “अहिले यति चालिस हजार राख्नु,अरु चैँ काम सक्किएपछि व्यवस्था गरुँला ।”
खै कुन अर्थमा त्यसो भनेका हुन् जुनकिरीले बुझ्न सकिने ।
कहिलेकाहीँ सौतेनी आमाले होटेलमा आएर रक्सी पिएर मात्तिने केटासँग गएर सुत भन्थी । अनि ऊ बेस्सरी रुन्थी । जान्न थिई ऊ । रक्सी पिउन आउने सबै केटासँग टाँस्सिएर बस भन्थी ऊ । उसलाई गाह्रो हुन्थ्यो । तैपनि बसिदिन्थी । बिल डबल बनाउँथिन् आमा । रक्सी पिएका केटा देखेपछि उसलाई कस्तो घृणा लाग्थ्यो। तर उसको विवशता कि माथि देउथानकी देवीले बुझ्थिन् कि उसकी स्वर्गीय आमाले बुझ्थिन् । सौतेनी आमाका हातमा पैसो थमाएर उसलाई माग्न आउने केटाहरु त्यहाँबाट निस्किए । ऊ भाडा माझ्दै थिई । किन दिए त्यत्रो रकम उसले बुझ्न सकेकी छैन । अब उसलाई यति थाहा छ कि ऊ त्यो रक्स्याहासँग बिहे गर्दै छे । उम्किने बाटो पनि हराउन थाल्यो । दुई दिन अघि ध्रुवेले अलिकति मायाको आश देखाउँदा ऊ कति पुलकित भएकी थिई। तर के थाहा जिन्दगीले यति छिटो कोल्टे फेर्छ र दुखका पलहरु निम्तिन्छन् भन्ने !
अलिकति छोउला । अलिकति लजाउला । नदी किनारमा धुर्वसँगै बसेर खोलाको गीत सुनुँला । जिन्दगीका कथा भनुँला । नाचुँला ऊसँगै यो विराट धरतीमा । अलिकति आँखा चिम्लिएर उसलाई छामुँला । उसको निधारमा माया गरुँला । त्यो रुमानी पलमा एउटा गोधुली चिनो आँखामा भरेर म सधैं सधैं ऊसँग बाचुँला । यस्तै यस्तै धेरै सपनाहरू फुल्न र खेल्न थालेका थिए जुनकिरीको मनमा । जुनकिरीलाई पढ्न वञ्चित गर्ने तिनै आमा हुन् जसले नचिनेको पुरुषलाई उसको बैँस बेच्दै छे । जुठो भाडा माझेर बाचिरहेकी त थिई किन बेच्नै परेको होला । कुनै दिन डोली लिएर आउँला भनेर हिँड्ने ती पुरुषलाई उसैले बिदाइ गरेकी थिई घरदेखि । आज कति सौतेनी आमाहरू छोरी बेच्ने तरखरमा होलान्, खोइ कसले पो सम्झाउने ।
बिहेको अलिकति आशा देखाएर हिँड्ने उसको मनको प्रेमी ध्रुव त्यो दिनदेखि कहिले फर्केर आएन त्यो घरमा । त्यो अनाथ अकेली जुनकिरी सुन्निएका आफ्ना हातका औंलाले पारि भुम्लिचोक डाँडामा बलेको रातको बिजुली देखाउँदै घरको अँध्यारो आँगनमा पिल्पिले सपना खोजिरहन्छे । न उसका बाबुले उसको सपोर्टमा केही शब्द बोल्न सक्यो , न त्यो वरिपरि उभिएका पहाडले पनि जुनकिरीको छातीभित्र बाफिएर बाँचिरहेका सुनौलो खुसीका सपनाहरू बारे उभिएरै भए पनि बोल्ने साहास गर्न सके । केही बोलेन, सँगै बगिरहेको त्यो त्रीशूलीले पनि । केही बोलेनन् आँगनका फूलहरुले पनि । नि:शब्द बाँचिरहे काली पहराका ढुङ्गाहरु पनि ।
दुखीका लागि बोलिदिने किन कोही हुन्नन् यहाँ ? किन दुखी पात्रहरु स्मृतिको गर्तमा हराउँछन् र हराउँदै जान्छन् क्रमशः जसै हरायो ध्रुवे अनि उसको साइनोका सनक माझी … ! जुनकिरीले निद्रामा पनि खुसीको सपना देख्न छोडेकी छैन । जस्तै हिजोआज मकवानपुरकी शृङ्खलाले विश्व सुन्दरीको ताजको सपना देखिरहेकी छिन् । सुन्दरता मात्रै बिक्री हुने यो उपभोगवादी युगमा गरिबीले अर्धनग्न पारेका जङ्गलका जुनकिरीहरु उज्यालोमा होमिन आएका पुतलीझैँ मर्छन् । त्यसै गरी मर्दै छे जुनकिरी पनि जसरी मरी हिजो धुवाँ टोलकी निशानी परियार सामूहिक बलात्कारमा परेर । किन निशानी र निर्मलाहरुको आवाज जुनकिरीहरुको आवाज अन्तर्राष्ट्रिय हुन सकेन ? किन जुनकिरीहरु सधैं जुठो माझ्न र योनि सुम्पन मात्रै धरतीमा आउँदा छन् ?किन सौन्दर्य मात्रै अन्तर्राष्ट्रिय हुन्छ ? किन आँसु अन्तर्राष्ट्रिय हुँदैन ? किन गरिबी अन्तर्राष्ट्रिय हुन्न? किन फैसला गर्दैन पुरुष न्यायले स्त्री अन्याय विरुद्ध !
पर्सिपल्ट त आएछन् बैनाबट्टा गरेर गएका एक हुल पुरुष जुनकिरीलाई लिन । न त्यहाँ कुनै बाजा डोली थियो , न कुनै त्यहाँ सिन्दुर र सर्त थियो , न कुनै त्यहाँ साँस्कृतिक वाचावन्धन नै थियो । मानौँ गोठमा घास खुवाएर पालेर राखेको पशु बिक्री गरेझैँ बिक्री भई जुनकिरी पनि । उसकी सौतेनी आमा खुसी भई एउटा निश्चित मूल्य आएकोमा । बाब भने छोरीको पीरले घोप्टो परेर रुन थाल्यो । यस्तै नपुंसक पुरुष पनि हुन्छन् समाजमा जो आफ्नो छोरी बेचिँदा पनि चुपचापले बस्न विवश हुन्छन् । थुप्रै छन् यस्ता हुतिहरामहरु इतिहासदेखि नै जीवित छन् आजसम्म । आगनमा निर्वाध चारा खाएर बाँचेका कुखुरा परेवा वनपन्छीहरु रोए बरु जुनकिरीको अनुपस्थितिमा तर त्यो गाउँ रोएन ।
मझिमटारबाट एका बिहानै चिलले कुखुराका चल्ला टिप्यो भने हल्ला हुन्छ तर एका बिहानै कुनै चेली पासो लाएर मरिन्, त्रीशूलीमा फाल हालेर मरिन् वा बलात्कृत भइन् भने कसैले मतलब गर्दैन । निस्पपट्ट छ गाउँ । त्यहाँ पनि घाम लाग्छ ,त्यहाँ पनि बतास चल्छ ,त्यहाँ पनि फूल फुल्छ ,त्यहाँ पनि इन्द्रेणी पर्छ तर किन मानिसका चेतनालाई प्रकृतिले अलिकति पनि छुँदैन ! किन मानिस अचेत छन् र बिकिरहेछन् पैसामा !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।